Tuesday, July 10, 2018

भानुभक्त र देवकोटाका भाषा

(संरचना पूर्णाङ्क ५, फागुन–चैत २०३८ मा प्रकाशित यो लेख नेपाली भाषाका महान् व्यक्तित्व भानुभक्तको स्मृतिमा यथावत पोष्ट गर्ने धृष्टता गरेको छु । ) भानुभक्त र देवकोटाको भाषा – विजय चालिसे आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका उत्तर मध्यकालका प्रतिनिधि कवि हुन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटा आधुनिक भाषा साहित्यका प्रतिनिधि कवि हुन् । त्यति मात्र नभएर भानुभक्तले नेपाली भाषालाई जसरी साहित्यको माध्यमको रूपमा प्रष्ठिा दिए देवोटाले स्वच्छन्दतावादी (रोमाण्टिक) धाराको पूर्णतः प्रतिनिधित्व गर्दै विकसित रूप पनि प्रदान गरे । प्रस्तुत चर्चामा भानुभक्त र देवकोटाका भाषाको छोटकरी छलफल गर्नु भएकोले अन्य प्रसंग कोट्याउनु शायद आवश्यक नपर्ला । देवकोट र भानुभक्तको भषामा तुलनात्मक विवेचना गर्नुभन्दा अघि के कुरा विचार गर्नु पर्छ भने भानुभक्तको भन्दा देवकोटाको समयमा युगचेतना र युग परिवर्तनको प्रवाहद्वारा नै पनि ज्यादै परिवर्तन आइसकेको पाइन्छ । त्यसैले पनि समयसापेक्ष दृष्टिकोणबाट हेर्ने हो भने भानुभक्तको समय भन्दा देवकोटाको समयमा औद्योगिक विकास, शैक्षिक विकास, राजनीतिक युगचेतना, संचार र साहित्यको विकास आदिले गर्दा अवश्य नै नवीन धाराको प्रयोग साहित्य र भाषा लगायत अन्य कुराहरूमा पनि भइसकेको पाइन्छ । तसर्थ उही परिप्रेक्षमा भानुभक्त र देवकोटाको प्रयोगलाई तुलना गर्न सकिँदैन । तर यसको अर्थ यो पनि होइन देवकोटा भानुभन्दा विशेष छन् या भानु देवकोटाभन्दा विशेष छन् र देवकोटालाई युगचेतना र समयले गर्दा नै महाकवि बनायो । भनाइको तात्पर्य कालसापेक्ष दृष्टिकोणबाट हेर्दा नेपाली साहित्यका यी दुवै महारथिहरूको योगदान नेपाली साहित्यमा प्रचूर मात्रामा रहेको छ भन्न सकिन्छ, जसको ऋण नेपाली साहित्यले तिर्न सक्तैन । किन भने भानुभक्तले विशुद्ध नेपाली साहित्यको जग बसाएर एउटै भाषा एउटै साहित्यको शंखनाद गरे भने देवकोटाले वेदान्त र आध्यात्म दर्शनको शास्त्रीय परम्पराबाट नेपाली साहित्यबाटै अत्याआधुनिकताको घेराभित्र पु¥याए । भानुभक्तको समयमा नेपाली भाषामा साहित्यको प्रयोग भर्खर भर्खरै मात्र हुन थालेको पाइन्छ । यसको फलस्वरूप उनको भावोद्घाटन गर्न वा भाव प्रकट गर्नको लागि अभिधाशक्ति नै पर्याप्त थियो । त्यसैले उनले प्रायः आफ्ना काव्यहरूमा अभिधाशक्ति वहन गर्ने शब्दहरूबाटै काम चलाएको पाइन्छ । यता देवकोटाको समयमा आइपुग्दा विचारको गहिराइ, जीवन, जगत र समाजका सूक्ष्मातीसूक्ष्म भावधारा र विवेचना तथा मनोविश्लेषण आदि प्रकट गर्नको लगि अभिधा मात्र पर्याप्त भएन र लक्षणा, व्यञ्जना र अन्य शक्ति समेतलाई वहन गर्ने शब्दहरूको आवश्यकता पर्न गयो । यी वास्तविकतापूर्ण तथ्यले पनि आनुभक्तकालीन साहित्य र भाषाले भन्दा देवकोटाकालमा नेपाली साहित्य र भाषाले अर्कै केल्टे फेरिसकेको हुन्छ । भानुभक्तो समयको समाज र जनजीवन जति सरल थियो देवकोटाको समयसम्म आइपुग्दा त्यो उति नै जटिल हुँदै गएको छ । यसले गर्दा समयसापेक्ष रूपमा कुनै पनि कालको भाषा र साहित्यले आफ्नो जनजीवन र समाजको पूर्ण प्रतिनिधित्व अवश्य नै गर्नु पर्ने हुँदा भानुभक्तको समयको भन्दा देवकोटाको समयको भाषा र साहित्यको निर्माण तथा विकासमा त्यही अनुरुप भिन्नता आइसकेको हुन्छ । भानुभक्तकालीन युगमा शिक्षाको प्रचार कम थियो भने देवकोटाको समयमा आइपुग्दा तुलनात्मक रूपमा शिक्षाको प्रसार प्रशस्त मात्रामा भइसकेको पाइन्छ । फलतः भानुभक्तको समयमा विदेशी भाषा र साहित्यसँगको परिचय नहुँदा त्यसको प्रभाव पनि शून्यप्राय थियो भने देवकोटाको समयमा आइपुग्दा त्यसको प्रभाव पनि स्वभावतः बढिसकेको थियो । त्यसैले गर्दा पनि देवकोटाकालीन नेपाली भाषा र साहित्यमा विशेष भाव वहन गर्न सक्ने शब्दहरूको बढी प्रयोग र विदेशी शब्दहरू बढी भित्रिनुका साथै विभिन्न साहित्यिक वादहरूको प्रयोग र प्रभाव नेपाली साहित्यले आफूभित्र समेटिसकेको पाइन्छ । भानुभक्तपछिको नेपाली भाषा र साहित्यमा अलिअलि गर्दै विदेशी भाषाका शब्दहरूको प्रचलन हुन थालेको पाइन्छ । मोतीराम भट्टको पालामा नै केही मात्रामा उर्दू शब्दहरूको प्रचलन बढेको भेटिन्छ भने श्री ५ शुरेन्द्रको पालामा भएको मुलुकी ऐेनको प्रचलनले उर्दू–फारसी भाषाको शब्दहरूलाई बढी मात्रामा नेपाली शब्दभण्डारमा प्रवेश गरायो । त्यसको प्रभाव पछि पनि शाही–दरबारी भाषा र अड्डाअदालतमा प्रयोग गरिने भाषामा प्रचूर मात्रामा अझै पाइन्छ । यसरी नेपाली भाषाले उर्दू–फारसीका शब्दलाई आत्मसात ग¥यो भने अङ्ग्रेज तथा अन्य पर्यटकहरूको आवागमन, विदेशी साहित्यको पठन पाठन र प्राविधिक–वैज्ञानिक उत्पादन उपलब्धिको आगमन प्रयोगबाट अन्य भाषाका शब्दहरू पनि नेपाली भाषामा भित्रिन पुगे । जसबाट देवकोटाकोटा मुक्त हुनसक्ने प्रश्नै थिएन । त्यसैले पनि भानुभक्त र देवकोटाको भाषामा महत्वपूर्ण भिन्नता हुने नै भयो । यिनै कारणहरूले गर्दा पनि भानुभक्तको भाषा र साहित्यमा जुन सरलता, सुवोधता र सहजसंप्रेषणीयत पाइन्छ देवकोटाका सबै कृतिमा र तिनका भाषामा पाइँदैन । युग र परिवर्तनको गतिलाई हेर्दा तिनै कुरा पाउने अपेक्षा राख्न पनि सकिँदैन । अनि देवकोटाको समयमा नेपाली भाषा आगन्तुक र संस्कृतका तत्सम, तद्भव आदि शब्दको प्रचलन र नेपालीकरण आदिले गर्दा पनि भानुभक्तले प्रयोग गरेको नेपाली भाषाको तुलनामा निक्कै धनी भइसकेको थियो । अर्को तर्फ भानुभक्तलाइ संस्कृत व्याकरणको नियममा चल्नुका साथै त्यसको सीमारेखा भंग गर्नु पर्दा संस्कृतका विद्वानहरूको चर्कोे खप्की खानु पर्ने डर थियो । व्याकरणसम्मत एकरूपताको प्रश्नै थिएन भने देवकोटासम्म आइपुग्दा नेपाली भाषाले हेमराजको चन्द्रिका र सोमनाथको मध्यचन्द्रिका जस्ता व्यारण (संस्कृत व्याकरणमा आधारित भए पनि) पाइसकेको थियो । जसले गर्दा नेपाली भाषाको एकरूपता र नियमबद्धता तथा शब्दको वाहुल्यताले गर्दा पनि भानुभक्तको समयको र देवकोटाको समयको भाषामा निक्कै भिन्नता र समृद्धि आइसकेको थियो । देवकोटाले संस्कृतका अति क्लिष्ट शब्दहरूको समेत प्रयोग गरेका छन् जसको अर्थ संस्कृतमा राम्रो ज्ञान नभएका पाठकलाई लाग्न सक्तैन । यसको कारण देवकेटाको गहिरो प्रतिभा र कल्पनाशीलताले गर्दा उनलाई सामान्य शब्दभण्डार पनि अपर्याप्त भएको हुनसक्छ । फलतः उनी संस्कृत शब्दलाई पर्याप्त मात्रामा तद्भव बनाएर र नयाँ शब्दको निर्माण समेत गरी प्रयोग गर्न पछि हट्दैनन् । त्यति मात्रै नभएर उनी भाव र कल्पनाको प्रवाहमा वहँदा व्याकरणको नियमबाट समेत फुत्किन खोजेको पाइन्छ । यसरी देवकोटाकालीन भाषा र साहित्य नेपाली साहित्यको सम्वृद्ध भाषा र साहित्य मान्नमा शायद अतिशयोक्ति नहोला, जसले अर्थशक्तिमा व्यञ्जना र लक्षणालाई अँगालेर भाव संप्रेषण गर्न सफलता पाएको छ । अन्त्यमा भानुभक्त र देवकोटामा पाइने केही भाषिक विशेषताहरूको उल्लेख गर्दै प्रस्तुत चर्चा रोक्नु ठीक पर्ला । (क) भानुभक्तका केही विशेषता १. संस्कृत भाषाका ज्ञाता भएर पनि संस्कृत व्याकरणको प्रयोग नगरी अलिखित प्राकृत–नेपाली व्याकरणको प्रयोग गर्नु । २. संस्कृतका तत्सम र हिन्दी, उर्दू शब्दहरूो हलन्त र अन्य प्रयोगद्वारा नेपालीकरण गरी नेपालीपन दिने प्रयास गर्नु जस्तो– राम्, दिन् आदि । ३. अरु कुनै कुनै कविहरूले गरेको गरे झैं छन्द मिलाउनको लागि मात्रै सबै हलन्त उच्चारण हुने होस्, गर्छन् जस्ता क्रियाको अजन्त र आरान्तलाई ऐकारान्त बनाई प्रयोग गर्नु । ४. नेपाली भाषा अँगालेर विशुद्ध नेपाली भाषाको प्रयोग गर्नु । ५. संस्कृतको ज्ञाता भएर पनि पाण्डित्य प्रदर्शन गर्नपटि नलागि सामान्य जनताले बुझ्ने भाषामा साहित्य श्रृजनाको श्रीगणेश गर्नु । (क) देवकोटाका विशेषता १. उपसर्ग र परसर्गको प्रशस्त प्रयोग गर्नु– भानुभक्तले पनि यसको प्रयोग नगरेका होइनन्, तर उनी लगायत पछिका अरु पनि कविहरूले उपसर्ग र परसर्गको प्रयोगमा ज्यादै कम ध्यान दिए भने देवकोटाले यसको पर्याप्त पयोग गरेको पाइन्छ । २. संस्कृतका प्रत्ययान्त र समस्त शब्दहरूको प्रचूर प्रयोग देवकोटाले गरेका छन् जसको प्रयोग भानुभक्तले गरेको पाइँदैन । ३. देवकोटाले भाषालाई पनि बाढीका रूपमा लिएका छन् जसमा भावको धमिलो र कञ्चन दुवै पन पाइन्छ, त्यसैले उनी साहित्यमा व्याकरण र छन्दको नियमलाई पनि गौण मान्दछन् । ४. देवकोटाले स्वनिर्मित भाषाको पनि प्रयोग गरेका छन् । जस्तो– फुलारु, मान्द्रिलो, टोप्पिएर आदि । ५. कालको प्रयोगमा भानुभक्तले सामान्य कालको मात्र प्रयोग गरेको पाइन्छ भने देवकोटाले विभिन्न कालको प्रयोग गरेका छन् । ६. देवकोटाले हलन्तको पयोग हटाए पनि लोकछन्दमा चाहिँ लेख्य रूपमा अजन्त प्रयोग उच्चारणमा हलन्तको प्रयोग गरेको मुनामदनमा पाइन्छ ।