Sunday, October 3, 2010

शरणार्थी समस्याः नागरिक हक र तेस्रो मुलुकमा व्यवस्थापनको प्रश्न

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री केपी ओली शर्मा ओलीले भोलि र पर्सि थिम्पुमा हुने भुटानी प्रधानमन्त्रीसँगको वार्तामा आफ्ना शरणार्थीहरू फिर्ता लान भुटान तयार छ वा छैन भन्ने कुराको अन्तिम जवाफ खोज्ने बताउनु भए पनि अल्मल्याउँदै पर्ख र हेरको नीति अवलम्बन गर्दै आएको भुटानका तर्फबाट स्पष्ट जवाफ पाउने संभावना कमै देखिन्छ । यस प्रश्नमा भुटानको सकारात्मक जवाफ प्राप्त भएमा शरणर्थीहरूको सम्मानजनक फिर्तीका लागि समयसीमा सिनर्धारणकमो अनुरोध गर्ने र नकरात्मक उत्तर पाएमा अन्य विकल्प खुला गर्ने भन्ने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीको भनाइ सार्व जनिक भै सकेकोछ । यसबाट शरणार्थी समस्यामा भुटानी ससरकारको सकारात्मक जवाफ आएमा दुई देश बीचको सम्बन्धमा कटुता उत्पन्न हुन सक्ने अनुमान गर्न सन्छि । साथै भुटानले आफैंद्वारा शरणार्थी बनाइएका आफ्ना नागरिकलाई फिर्ता लान नमानेमा नेपालले सोच्न सक्ने ती अन्य विकल्पमध्ये तेस्रो मुलुकमा पुनःस्थापन गर्ने शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग समर्थित अमेरिकी प्रस्ताव पनि पर्ने अनुमान गर्नु कठिन नहोला । स्मरणीय छ, नेपालले संयुक्त राष्ट्रसंघको मञ्चमा प्रकट गरेको भुटानी शरणार्थी समस्या भुटानी समस्या भएकोले उसैले सुल्झाउनु पर्ने धारणाप्रति भुटानले आफ्नो असन्तुष्टि व्यक्त गरेर नेपाल सरकारसमक्ष असहमति जाहेर गर्नुका साथै व्यस्ताको कारण भूटानी प्रधामन्त्रीले आफू बैठकका लागि काठमाडौं आउन नसक्ने जानकारी समेत गराए थियो । यसपल्टको १६ औं मन्त्रीस्तरीय बैठक क्रमअनुसार काठमाडौंमा हुनु पर्ने भए पनि भुटानी प्रधानमन्त्री आउन नसक्ने भनिएपछि नेपालले थिम्पुमैं भए पनि बैठक बस्न आग्रह गरेको थियो र त्यही अनुसार भोलि र पर्सिको मिति तय भएको हो । यसबाट पनि स्पष्ट हुन्छ भुटानी पक्षबाट नेपालले चाहेजस्तो हुन्छ वा हुन्नको भन्दा कूटनीतिक खाले गोमटोल खालकै जवाफ आउने संभावना बढी छ जसले गर्दा आफूमाथि लाग्दै आएको अन्य जाति र भाषा समाप्त गर्ने रणनीति अन्तर्गत निकालिएका भन्ने आरोपको सोझै पुष्टि नपाओस र सबै आफ्ना नागरिक विदेशमैं विलीन हुनुपर्ने वाध्यता सिर्जना हुनका लागि पनि पर्याप्त समय मिलोस् ।

स्मरणीय छ, नेपाली प्रशासनिक कमजोरीबाट लाभ लिएर कतिपय भुटानी नागरिक अहिल्यै नेपाली नागरिक बनिसकेका हुनसक्ने संभावा अस्वीकार गर्न सकिन्न । अर्कातिर पूर्वी नेपालमा शरणार्थी जीवन विताइरहेका भुटानीहरूमध्ये विभन्न क्याम्पका गरी चार वर्षभित्रमा ६० हजारसम्मलाई अमेरिकामा स्थायी बसोबास गराउने प्रस्तावले पनि यो भुटानी आन्तरिक चाहनाकै पूर्ति गर्ने निश्चित छ । शरणर्थीसम्बन्धी उच्चायुक्त लगायत युरोपेली संघले समेत यसको स्वागत गर्नु र क्यानाडा तथा अस्ट्रेलियाले केही हजार शरणार्थीहरूलाई आ–आप्mनो मुलुकमा स्थायी बसोबास गराउन सकिने उदारता देखाउनुले पनि भुटानी नागरिकका सम्मानपूर्वक आफ्नो मुलुक पान पाउने अधिकारको सम्मान नहुने स्पष्ट देखिइ सकेको छ । झट्ट हेर्दा तेस्रो मुलुकमा पुनःस्थापनको यो प्रस्ताव लामो समयदेखि अनिश्चित भविष्य बाच्दै नेपालका शरणार्थी शिविरहरुमा नागरिकता विहीन जीवन विताइरहेका भुटानीहरूको अवसर र भविष्यको निश्चितताका लागि सकारात्मक नै देखिन्छ । सस्तो मानवीय श्रमका लागि आप्रवासको उदारतापूर्वक ढोका खोल्ने अमेरिकी नीति अनुरुप त यो पटक्कै अस्वभाविक होइन पनि । अमेरिकी प्रस्तावपछि भुटानी शरणर्थीहरूबीच नै देखिएको विभाजित मतभेदले पनि यसको पुष्टी गरिसकेको छ । बिस्तारै नेपलभित्रै विलीन भएर जनसङ्ख्याको ठूलो भार थपिने संभावनाबाट सचेत नेपालका लागि पनि यो प्रस्ताव त्यति प्रतिकुल नहोला । तर देश र नागरिकता गुमाएर अर्को देशको दोस्रो तहको नागरितालाई भन्दा आप्mनै देशमा ससम्मान फर्कन पाउनु पर्छ भन्ने दृष्टिकोण राख्ने भुटानी शरणार्थीहलाई भने यस्तो प्रस्ताव र यस्तो खाले वैकल्पिक समाधान अवश्य पनि रुचिकर देखिएको छैन । त्यसैले उपप्रधामन्त्री ओलीले भन्नु भएजस्तै भुटानी शरणार्थी समस्या नेपालको होइन भुटान सरकार र भुटानी जनताको आन्तरिक समस्या हो । यसैले विश्व मानव अधिकार र प्रजातान्त्रिक हकका प्रवक्ता मानिने शक्तिराष्ट्रहरूले ससम्मान स्वदेश फिर्तिको मान्य समाधानका लागि भुटानलाई दवाव दिनु पर्ने हो । स्पष्ट छ, नेपालले त भुटानबाट खेदिएर भारत पसेका नेपाली मूलका ती शरणार्थीहरूले प्रजातान्त्रि मुलुक भारतमा समेत शरण नपाएर खेदिए पछि मात्र मानवीय आधारमा आश्रय दिएको हो । त्यसैले भुटानी नागरिकले आफ्नो देश ससम्मान फर्कन पाउनु नेै समस्याको वास्तविक समाधान ठानिनु पर्ने हो । तर आफूलाई प्रजातन्त्रको प्रवक्ता दावी गर्ने विश्व तथा क्षेत्रीय शक्ति राष्ट्रहरूको प्रयास पनि केही शरणर्थीहरूलाई आफ्नो मुलुकमा होइन नागरिकका हैसियतमा आप्mनो मुलुक फर्कन पाउने उनीहरूको नगरिक हक बहाली गराउने पक्षमा लक्ष्यियत हुनु पर्ने हो, तर यस विपरित उनीहरूबाट विडम्बनापूर्ण दोहोरो मापदण्ड प्रस्तुत भइ रहेको स्पष्टै अनुभव भएको छ । विश्व समुदाय र विशेष गरी भारतीय उदासीनताका कारण प्रारम्भ देखि नै यो समस्यालाई लम्ब्याउँदै जाने र शरणार्थीहरुलाई विलय हुने वाध्यात्मक स्थितिको सिर्जना गर्ने भुटानी रणनीतिमा यसपल्ट पनि खासै पविर्तन नआउने अनुमान त्यसैले सत्यको त्यति टाढा नहोला ।

हामी सुरुदेखि नै जानीनजानी उनीहरुको त्यही रणनीतिको जालमा फस्दै गएको छौं । प्रमाणीकरण, वर्गीकरण र त्यसपछि स्वदेश फिर्ता गर्नेे तरिका बारे सातौं मन्त्रीस्तरीय बैठक मंै सहमति भएर पनि यिनै कारण प्रमाणीकरण कार्यमा लामो समयसम्म भुटानले आनाकानी गर्दै आएबाट पनि यिो दृष्टिकोणको पुष्टिी हुन्छ । यो अनुमान असत्य सिद्ध होस, सबैको चाहना भने यही हो । भुटानले “कोही आफ्नो धनसम्पत्ति बेचबिखन गरी बसाइँ गएका, कोही आर्थिक समस्याका कारण शुरुमा भुटान पसी पछि फिर्ता गएका र कोही सरकारी कोष हिनामिना गरेर देश छाडेका हुनाले तिनीहरुलाई फिर्ता लिन नमिल्ने” पुरानै राग अलापिरहनुले पनि यो शंका बलियो तुल्याएकmे छ । तर यथार्थ यस्तो देखिँदैन र त्यो यथार्थलाई कित भुटानी शरणर्थी र हामीले पनि विश्व समुदायलाई बुझाउन सकेनौं कि उनीहरू बुझे र बुझ पचाउने काम गरिरहेका छन् । यथार्थमा सन् १९८०को अन्त्यतिर दक्षिणी भुटानबाट नेपाली मूलका नागरिकहरुलाई बलपूर्वक निकालेपछि शरणार्थीहरु भारतहुँदै नेपाल प्रवेश गरेकाहुन् । भुटान सरकारद्वारा एक राष्ट्र एकै भाषा, एकै संस्कृतिको नीति अनुसार नेपालीमूलका नागरिकहरुलाई बलजफती बन्दुक तेस्र्याउँदै मुलुक छाड्न बाध्य तुल्याएको आरोप शरणार्थीहरुले नै लाउँदै आएका छन् । भुटानले भने यो कुरा अस्वीकार गर्दै अधिकांश शरणार्थी अवैध आप्रबासी गैर नागरिक घुसपैठिया, आतङ्ककारी गतिविधिमा संलग्न र विखण्डनकारी भएको भ्रमलाई अन्तर्राष्ट्रि क्षेत्रमा अत्यधिक प्रचारप्रसार ग¥यो । भुटानको त्योे दुष्प्रचार विरुद्ध दरिलो रुपमा अडान देखाउने तर्फ शुरुमा कसैको ध्यान गएको देखिएन । त्यसबाट उत्साहित भुटानले अझ त्यो भन्दा पर गएर नेपालले उनीहरुलाई जबर्जस्ती त्यहाँ घुसाएको तथा अन्तर्राष्ट्रिय सहायत पाइरहने चालका रुपमा नेपालले नै यो समस्यालाई बल्झाएको भन्ने जस्ता गैर जिम्मेवार झुठा आरोप समेत लगायो । भुटानको यस्ताभ्रामक अन्तर्राष्ट्रिय दुष्प्रप्रचार विरुद्ध हामीले विश्वलाई समयमैं सचेत तुल्याउन नसक्दा हामी आफैं लामै समय प्रतिरक्षात्मक अवस्थामा रहन वाध्य भयौं । विसं २०४९मंसिरमा संपन्न ढाका साक शिखर सम्मेलनपूर्व आयोजित सर्वदलीय बैठकले द्विपक्षीय वार्ता गर्नेे, त्यसबाट समाधान नभएमा वा लम्बिने संभावना देखिएमा भारतीय संलग्नताको त्रिपक्षीय वार्ताको वातावरण बनाउने र त्यसबाट पनि समस्या नसुल्झिएमा अन्तर्राष्ट्रिय मञ्चमा लाने सहमति तय भएर पनि यस अनुरुप काम हुन सकेन, दुई पक्षीय वार्ताको रणनीतिमैं समस्या अल्मलिरह्यो ।

भारतीय सदासयता बेगर यो समस्याको सही समाधान हुनसक्दैन भन्ने जानेर पनि भारतलाई यसमा सहमत बनाउन ठोस कूटनीतिक प्रयत्नहरु भ्एन, अझै हुन सकेकमो देखिँदैन । भारत–भुटान मैत्री सन्धिको यथार्थ विर्सेर द्विपक्षीयताको रट लगाउने भारत र यस अबस्तुगत तर्कका बिरुद्ध प्रभावकारी कूटनीतिक प्रयत्न अघि बढाउन उचित ध्यान दिन नसक्ने हाम्रो कमजोरीमा सुधार गरी भारतलाई सहमत गराउाने तर्फ दरिलो प्रयास हुनु बाटै स्थायी समाधान निकाल्न सकिने यथार्थ अझै पनि विद्यमान छ । भूटानको सीमा नजोडिएको नेपालको पूर्वी सीमाना काँकडभिट्टामा शुरुमा भारतीय प्रहरील जवर्जस्ती ल्याएर छाडिएका भूटानी नागरिकहरुलाई भुटान फिर्ता गराउन भारतले सकारात्मक भूमिका खेल्नु पर्छ भन्ने कुरामा उसलाई सहमत गराउनुको सायद विकल्प छैन । आशा गरौं, यस पल्टको वार्ता समस्याको समाधानमा सफल बनोस, भुटानी शरणार्थीहरूको ससम्मान स्वदेश फर्कने चाहना पूरा होस् !

व्यङ्ग निबन्ध डाक्ट बन्ने रहर !

 सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के भेदका कारण सबैठाउँमा समान रुपमा लागु हुँदैन । दरबन्दी भएर डाक्टर सधै बेपत्ता हुने अस्पतालमा सिस्टर, हेल्पर, स्वीपर जुनबेला जो फेला प¥यो, त्यही डाक्टर हुन्छ । गाउँघरका स्वस्थकेन्द्र–चौकीहरुमा स्वास्थकर्मी, सहायक स्वास्थकर्मी साब्हरु जिल्ला सदरमुकाम,केन्द्र–मन्त्रालय–विभागको नाउँमा घर जानुभएको बेला (यो वर्षमा दश महिनै जस्तो हुनेगर्छ !) चौकी–केन्द्र रुङ्ने पालेदाइ नै सबैका पत्यारिला डाक्टरसाब् हुन्छन् । त्यसैले यो क्षेत्रका डाक्टरहरु पनि स्थानभेद अनुरुप जोकोही पनि हुन सक्छ ।
तर यहाँ कुरा गर्न लागेको रोगी (रोग लाग्ने रोगी होइन,लोभ लाग्ने रोगी)डाक्टरको होइन । हामी कहाँ डाक्टरको यस्तो पनि समूुह छ जो डाक्टरसाहेबको संबोधन बेगर तपाइँतर्फ फर्केर पनि हेर्दैनन् । यस्ता डाक्टरहरुमा रसायनशास्त्रदेखि मसलाशास्त्र सम्म र खन्ने भुत्ल्याउने देखि मस्काउने–सफागर्ने सम्मका विषयमा विध्यावारिधि गर्नेदेखि अमेरिका बसेर  मुस्ताङ्ग,हुम्ला,जुम्लासम्मका सामाजिक जीवनमा विध्यावारिधि गर्ने महापण्डित सम्म पर्छन् । त्यही देखेर मलाई पनि एकपल्ट नेपालै बसेर त्रिविविबाटै विध्यावारिधि गर्न मन लागेको थियो,त्यो पनि त्यहाँका आदिबासी रेडइण्डियनहरुको बानीबेहोराका सम्बन्धमा !
“के भन्दै हुनुहन्छ तपाइँ,अमेरिकी आदिबासी जातिको बारेमा अध्ययन गर्न नेपालबाटै कसरी संभव हुन्छ र ? तपाइँको विषय कसरी दर्तागर्न सक्छौं हामी ?”केन्द्रीय विभागका अधिकारीले ठाडै अस्वीकार गरिदिए ।
“किन संभव नहुने ? अमेरिकी विश्वविध्यालयबाट नेपालका भाषा–भाषी र संस्कृति जस्ता विषयमा विदेशी विद्वानहरुका महाज्ञानका उपज पोथीपत्रा पल्टाएर विध्यावारिधि गर्न पाइन्छ भने मैले अमेरिकी आदिबासी बारे त्यस्तै पोथीपत्रा पल्टाएर नेपालबाटै  विध्यावारिधि गर्न किन नपाउने” मैले अर्को प्रश्न तेस्र्याएँ  ।
“होइन तपाइँ किन जिद्दी गर्नुहुन्छ ! अमेरिका जस्तो ठाउँका विश्वविध्यालयमा नेपालको जुनसुकै  विषयमा विध्यावारिधि गर्न सकिन्छ । त्यसलाई हामी मान्यता दिन्छौं । हाम्रो विश्वविध्यालयले मान्यता दिन्छ । तर के गर्नु उनीहरुकोले हाम्रो विश्वविध्यालयले गराएको तपाइँले चाहेजस्तोा विषयको शोधलाई त उनीहरु मान्यता दिंदैनन् ! अनि के गर्नुहुन्छ, भन्नोस् त ? आजको युगमा नेपालमा बसेर नेपालको अनुसन्धान हुन सक्तैन क्या ! तपाइँ त्यति पनि बुझ्नुहुन्न !” उनले लामै व्याख्यान दिए ।
“तपाइँको कुरा मलाई पटक्कै चित्त बुझेन.....!”
“ बढ्ता नकराउनोस् तपाइँ,तपाइँको योग्यता नै पुग्दैन विध्यावारिधिमा दर्ता हुन ! चुप लागेर जानोेस् !” उनले बीचैमा मलाई पूर्णतः अयोग्य साबित गरिदिए ।
त्यसरी मेरो डाक्टर हुने इच्छा बीचैमा तुहिएको थियो । नामको अगाडि डा. झुण्याएर विशिष्ट बन्ने  सपना गर्भमैं तुहिन पुगेको थियो मेरो । झन् त्यसमाथि विदेशमा ढोकापाले भएर बिताएका दिन पनि सञ्चार विशेषज्ञको पदवि दिलाउन र विदेशी विश्वविध्यालयमा एमएस ( एमएस–अर्थात मस्काउने सफागर्ने विषयमा विध्यावारिधि) गरेर स्वदेश फर्कनासाथ ठूलाठूला पद(मन्त्री,सल्लाहकार,विशेषज्ञ आदि)को पगरी र महापण्डितको फेटा भिर्न पाइने देखेर त यो तुहिएको सपना सग्लो जन्मन नसकेकोमा आफंैलाई धिक्कारेर थाक्दिन  म !
नेपालको श्विविध्यालयले आफूलाई डाक्टर बन्ने योग्यता नपुगेको घोषणा गरेपछि मेरो मन छटपटिन थाल्यो–अब कसरी डाक्टर बन्ने ? डाक्टर नबनी यो जुनी त बेकारै जाने भयो !  “ किन चिन्ता गर्छस्,गुठुरी फुका न घरमैं आइपुग्छ डाक्टरको प्रमाणपत्र ! भन् न मात्र,ै कुन विषयमा डाक्टरेटको उपाधि चाहिन्छ तँलाई ? सजिलै विदेशी नागरिक (भारेभुरे देशको त के गन्ती, पढेलेखेका नेपालीहरुकको सपनाको देश अमेरिकाको हरियो पत्ता–ग्रिनकार्ड लिने उपाय समेत अहिले चर्चित शोधको विषय हुन सक्छ ) बन्ने विषयमा पिएचडी गर्ने हो कि,कसरी सफल राजनीतिज्ञ बन्ने भन्ने विषयमा । तैंले चाहेका विषयमा भनेको दिनमा आइपुग्छ, किन चिन्ता गर्छस् ! चाहे मात्र पुग्छ,बुझिस्,गुठुरी चाहिं अलि तगडा नै फुकाउनुपर्छ !” मेरो मनको चिन्ता बुझेर पहिले नै गुठुरी फोएर डाक्टर भैसकेका मेरै एकजना मित्रले बाटो देखाइदिए ।
“तर पछि थाहा भयो भने नि ?अहिले जताततै नक्कली शैक्षिक प्रमाण–पत्र छानविनको हल्ला मच्चिएको छ । त्यसमाथि घरमैं प्रमाण–पत्र ल्याइदिने कसैलाई आफूले चिनेको पनि छैन ।” मैले आफ्नो कठिनाइ र भविष्यमा गोप्य कुरा फुत्कन सक्ने आशंका व्यक्त गरें ।
“ यस्तो कुराको चिन्तै नगर न ! नक्कली प्रमाण–पत्रको हल्ला मच्चाउनेहरुले के नै पो लछार्न सक्छन् र । निर्णय गर्ने राजनीतिक तहबाटै हो क्यारे ! त्यो तहका कुर्सी हडप्नेहरु सबै जनताको नाउँमा नक्कली प्रमाण–पत्र(भोट)पाएरै आएका हुन् । अब भन् त आफ्नै सबर्गीहरुको छानबिन गर्लान् त उनीहरुले ? अर्को कुरा,त्यसरी प्रमाण–पत्र घरमैं ल्याइदिनेलाई तैंले नचिने मैंले चिनेको छँदैछु नि । तँ मसक्क आँट मात्रै सबै व्यवस्था  मिलाउने त म छँदैछुनि।” उसको तर्क काटने मैले कुनै ठाउँ नै भेटिन । तर त्यसका लागि ठूलै गुठुरीको जोरजाम गर्नुपर्ने रहेछ ,आफ्नो साबगासले त्यो नभ्याउने भएकोले मनमारें ।
मेरा अर्का मित्र डाक्टर थिए । पहिलेका त मित्रै हुन् तर अहिले चाहिं उनी मलाई त्यो दर्जा दिन चाहँदैनन् भन्ने कुरा मैले बुझेको थिएँ । कुनैसमय पहाडबाट भर्खरै शहर पसेका बेला उनी काम चलाउ लेखहरु लिएर आउँथे । म आफू कार्यरत अखबार र पत्रिकामा त्यो लेख काँटछाँट गरी जिनतिन छाप्न योग्य तुल्याएर छापिदिन्थें । त्यतिबेला उनी निकै गुन मानेजस्तो गर्थे,हात मल्दै बेलाबेलामा त्यस्तै कार्य संपादन गराउने गर्दथे । त्यसकै नाताले उनी पनि मलाई मित्र नै ठान्ने गर्दथे । तर पछि कुन पेच भिडाएर हो कुन्नि उनी पाताल भास्सिए । त्यसको पाँच–छ वर्ष पछि स्वदेश फर्किए–डाक्टरको याँ मानको पगरी गुतेर ! अमेरिकामा बसेर नेपालको दोस्रो प्रजातात्रिक आन्दोलन सफल गराउन ठूलै नेतृत्व गरेको ढ्वाङ पनि उनले साथै ल्याए । नपत्याउने कुरै भएन । नेपालका भाषा, संस्कृति,समाज,इतिहास भूगोल जुनसुकै विषयमा विद्यावारिधि दिन सक्ने अमेरिकाले जनआन्दोलनका नेताहरुको युरोप–अमेरिकी विकासे संस्करण तयार गर्न नसक्ने कुरै भएन । त्यहाँ नेपाली जनआन्दोलन नलडिएको भए कताबाट सफलता मिल्थ्यो ! फाट्या लुगालाउने निमुखा नेपाली जनता र नेता भनाउँदाहरुको मात्रै प्रजातन्त्र ल्याउन के पिताम ! त्यसैले त अमेरिकामा नेपाली जनआन्दोलन चलाउनेहरु मध्ये नै निकैले मुलुक फर्केर ठूलै मेवा फेला पारे । विश्वबैंकको ढोकापाले भएर आन्दोलनलाई सफल तुल्याउने हुन् कि नाइट ल्कबमा सुरा–सुन्दरीको रसास्वदन गरेर योगदान गर्नेेहरुहुन् मुलुक फर्केर विशेषज्ञता प्रदान नगरेका भए यतिचाँडै नेपाल कसरी सिंगापुर र न्युयोर्क सरह विकासको चुचुरोमा पुग्नसक्थ्यो र !
मेरा ती पूर्व मित्रसँगै त्यतिबेला अमेरिका बसेर नेपाली जनआन्दोलनको सहनेतृतव गर्नेेहरुमध्ये कोही आन्दोलनको सफलता पछि स्वदेश फर्केर राजदूत पड्काए,कसैले विदेशी थर त्यहीँं फालेर प्रजातान्त्रिक माइती नेपाल फर्केर ठूलाठूला कमिसन र समाजसेवी पासाकोे विकास गर्ने  सफलता पाए । मेरा पूर्व मित्रले भने त्यति ठूला सफलता हात पार्न नसकेकैले  पनि उनी दुई–चार जनाको जमघट हुनासाथ अमेरिका पुराणको वाचन गरेर सन्तोष लिन्थे–उता हाम्रो अमेरिकामा बसेर मैले जनआन्दोलनको यसरी नेतृत्व गरें आदि....आदि ....।
ज्नआन्दोलनका नेताको रुपमा राम्ररी पसल नचलेकाले उनी चाँडै नै त्योे विष्यमा प्रवेशमात्र गरेर अरु विषय तिर लागहाल्दथे । मेरा पूर्व मित्रको भनाइमा शिक्षा र सांस्कृतिक शोध उनको प्रमुख क्षेत्र भएकोले उनी त्यही क्षेत्रको चार्चामा नेतृत्व लिन्थे । आफूलाई महान बुद्धिजीबी ठान्थे,अरु सबै कि मूर्ख कि राजनीति अनुचर ! उनी भन्थे–बुझ्नुभो,हाम्रो अमेरिकामा त मजस्तै डाक्टर नभई कसैले बुद्धिजीबी र सफल पेशाजीबी मान्दैमान्दैन । तपाइँजस्ता   बल्लतल्ल एमएसम्म गरेकाको त कुनै भाउनै हुँदैन बझ्नुभो’ । त्यसमाथि तेस्रो श्रेणीमा ! तब त अमेरिका त्यति विकसित भयो,त्यति बौद्धिक हुन सक्यो,विज्ञान–प्रविधिको नेता हुन सक्यो । खोइ यहाँ...यहाँ त तपाइँजस्ता डाक्टर नभएका पनि शिक्षक,प्रोफेसर र बुद्धिजीबी,मजस्तो अमेरिकी विश्वविद्यालयबाट डक्टरेट गरेको मानिस पनि उही शिक्षक,प्रध्यापक र बुद्धिजीबी । यसरी कहिले हुन्छ यो मुलुकको विकास खोइ ? उनी आत्मबखान र परनिन्दाको गीताका सबै अध्याय सिध्याउँथे ।
मेरो मनले ठम्यायो–किन उनैलाई समातेर पाताल नभास्सिने र डाक्टरको पगरी हत्याउने उपाय नसोध्ने ? गएँ एक दिन डाक्टरसाहेबसँग समय मागेर । समय माग्नका लागि कठिन थिएन, उनी र म प्राइबेट क्यामपसमा सँगसंगै अध्यापन गथ्र्यौं । उनको सिद्धान्त लागिनसकेकोले मजस्ता सामान्य एमएले पनि अहिलेसम्म पढाउने पेशा गुमाइ हाल्नु परेको थिएन, नत्र डाक्टरको पगरी नभिरी प्राध्यापन गर्ने पाउने कुरै थिएन । डाक्टर बाहेकका अरु सब बेकार,अमेरिका रिटर्न बाहेकका सबै गँवार भन्ने डाक्टरसाहेबको नवीन सिद्धान्त थियो । पुराना भारत रिटर्न लाहुरेको मुखबाट निस्कने उधर हमारा हिन्दुस्तानमें भन्ने थेगो जस्तै हाम्रा डाक्टरसाहेबको मुखबाट हरेक वाक्य पिच्छे हाम्रो अमेरिका भन्ने थेगो झुण्डिएको हुन्थ्यो । हरकुराको तुलना उनी अमेरिकासँग गर्थे–हाम्रो अमेरिकाको प्रजातन्त्र,हाम्रो अमेरिकाको शिक्षा,हाम्रो अमेरिकाको पत्रकारिता, हाम्रो अमेरिकी बद्धिजीबी आदि....आदि....। ती सबै आदि,आदिका उदाहरण उनी आफैं थिए–एक्लो बादशाह ! अरु सबै गँवार । भारतीय दरबानी र सिपाहींगिरीबाट फर्केका मेरा छिमेकी लाहुरे दाइको मलाई कहिलेकाहीं संझना हुन्छ । उनी पनि मुखैमा झुण्डिएको थेगो बारम्बार दोहा¥याइ रहन्थे–उधर हमारे इण्डियामें, क्या बात कर्ता हे बाबु सबकुछ मिलता है ! क्या है ये गँवार नेपालमें ! तर अलि फरक थियो भारतीय दरबान–सिपाहीगिरी नगरेका उनका नजरमा गँवार हुन्थे, यिनका नजरमा डाक्टरी पगरी नगुतेका र उनको स्वप्नदेश युरोप–अमेरिका नपुगेका,त्यहाँ गएर डिएमएस(डेक्ची मस्काउने–सफा गर्ने),जिडी(ग्रेभ डिगिङ),सिभिसी(चिकन काट्ने–भुत्लयाउने) जस्ता विषयमा गहन प्रयोगात्मक सोधकार्य नगरेका जति सबै असभ्य,असक्षम र गँवार ठहरिन्थे ।
हो उनैसँग समय मागेर भेट्न पुग्नासाथ भनिहालें–लौ न डाक्टरसाहेब, मलाई पनि जीवन सफल तुल्याउने उपाय सिकाइदिनुहोस् । मलाई पनि जिन्दगीमा एकपटक तपाइँको स्वर्ग पुगेर शोध कार्य गर्नेे ठूलो रहर छ,कसरी पूरा गर्नेे त्यो रहर ?
“ यु मिन, यु वाण्ट टु गो टु द स्टेट्स् ? त्यसमाथि शोधकार्य गरेर डाक्टर बन्ने त्यो पनि संस्कृति आइमिन कल्चरमा ? नो चान्स, नट एट अल ! कल्चरसल्चर होइन,बरु डिएमएस,जिडी,सिभिसी जस्ता विषयमा प्रक्टिकल रिसर्चवर्र्क गर्न जाने भए भन्नोस । १०–१२लाखम्यानेज गर्न सक्नुहुन्छ भने म व्यवस्था मिलाई दिउँला । उनका कुरा सुनेर मेरा नौ नारी गले । घरमा सधैं आफ्नी भुण्टीलाई जोताएर ढल्या लोटा उठाउने कष्ट नगरेको आफू त्यहाँ गएर एमएस गर्नेे आँटै आएन । करेसो बारीसमेत कहिल्यै डिग नगरेकोले जिडी मा शोध गर्नेे कुरा त झनै मेरोे बुता भन्दा परको कुरा थियो । बाउनको छोरो सिभिसी मा रिसर्च गर्ने झन् कुरै भएन । केटाकेटीमा चिकेनको चल्लो छुँदा  समेत आमाले गाग्रोभरिको पानी खन्याएर जात फर्काएको सम्झँदा सिभिसीमा रिसर्च गर्ने कुरामा सफलहँुला भन्ने आँट गर्न सकिने झन कुरै थिएन । अर्काे जुनीमा भए पनि एकपटक डाक्टरसाहेबको स्वर्गमा अफू पनि पुगेर डाक्टरको पगरी कसो नफुत्काउँला भन्दै फर्कें,आफ्नै भुण्टीमाथि रिस फेर्न ।
                                               आरुबारी
                                          २१ असार २०५८
ड्ड

Tuesday, September 14, 2010

नेपाली यात्रासाहित्यको प्रवृत्तिगत विश्लेषण र मूल्याङ्कन (वि.सं. १९९९—२०४६)

नेपाली यात्रासाहित्यको प्रवृत्तिगत विश्लेषण र मूल्याङ्कन (वि.सं. १९९९—२०४६)
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत
नेपाली विषयमा विद्यावारिधि (पीएच.डी.) उपाधिका निमित्त
प्रस्तुत
                                             शोधप्रबन्ध
                                               शोधकर्ता
                         वेदव्यास उपाध्याय (निर्माेही व्यास)
                                  अध्याय तीन
विदेशी परिवेशकेन्द्री प्रतिनिधि यात्रासाहित्यकारहरूको व्यक्तित्व र कृतित्वको परिचय तथा तिनका प्रतिनिधि यात्रासाहित्यिक कृतिकोे प्रवृत्तिगत विश्लेषण
 ३.४. यात्रासाहित्यकार विजय चालिसेको व्यक्तित्व र कृतित्वको परिचय तथा उनका प्रतिनिधि यात्रासाहित्यिक कृतिहरूको प्रवृत्तिगत विश्लेषण
     यसअन्तर्गत विजय चालिसेका प्रतिनिधि यात्रासाहित्यिक कृतिहरूको विश्लेषण गर्नुपूर्व उनका व्यक्तित्व र कृतित्वका विभित्र पक्षको सङ्क्षिप्त अनुशीलन पनि सान्दर्भिक देखिन्छ त्यसैले तलका उपशीर्षकमा क्रमशः उनका व्यक्तित्व र कृतित्वको अध्ययन गर्दै विश्लेष्य कृतिहरूको विवेचना गरिएको छ ।
३.४.१ विजय चालिसेको व्यक्तित्वको परिचय
 यात्रासाहित्यकार विजय चालिसे नेपाली साहित्यका बहुमुखी प्रतिभासम्पन्न स्रष्टा हुन् । उनको जन्म वि.सं. २००८ मा काठमाडौंको जोरपाटी, आरुबारीमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर, नेपाली तथा अङ्ग्र्रेजी भाषा शिक्षणमा बी.एड्. एवं बेलाइतको लन्डनबाट पत्रकारितामा ‘डिप्लोमा इन एडभान्स जर्नालिजम’ आदि शैक्षिक उपाधि प्राप्त गरेका छन् ।
 अरुणोदय प्राथमिक विद्यालय आरुबारीमा स्वयंसेवकका रूपमा सेवा आरम्भ गरी अरुणोदय माध्यमिक विद्यालय आरुबारीमा केही वर्ष अध्यापन गरेका विजय चालिसेको मूल व्यवसाय भने पत्रकारिता हो र उनले सहव्यवसायका रूपमा प्राध्यापनलाई ग्रहण गरेका छन् । लामो समयदेखि दैनिक समाचारपत्र गोरखापत्रको सम्पादन विभागमा कार्यरत चालिसे सम्प्रति उक्त समाचारपत्रको प्रधानसम्पादक पदमा सेवारत छन् ।
 उनी वि.सं.२०४२ देखि हालसम्म पशुपति बहुमुखी क्याम्पस, चाबहिलमा प्राध्यापन सेवामा समेत संलग्न रहँदै आएका छन् । चालिसे नेपाली साहित्यमा उपन्यासकार, कथाकार, संस्मरणकार, यात्रासाहित्यकार, बालसाहित्यकार तथा सम्पादकका रूपमा परिचित छन् भने साहित्य, पत्रकारिता र प्राध्यापनका अतिरिक्त समाजसेवा एवं विज्ञान तथा प्रविधिका क्षेत्रसित पनि सम्बद्ध छन् । साहित्यिक संस्थाहरूको स्थापनामा उनको उल्लेख्य भूमिका रहेको छ । उसैगरी विज्ञान सञ्चार सल्लाहकार समिति, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), त्रि.वि.का साथै अन्य कतिपय संस्थाहरूमा सदस्य तथा सञ्चालकका रूपमा उनको सक्रिय संलग्नता रहेको छ ।
 नेपाली वाङ्मयको समुन्नतिमा उल्लेख्य योगदान गरेबापत उनी साहित्यिक पत्रकारिता पुरस्कार, नेपाल बालसाहित्य पुरस्कार, तथा साझा बालसाहित्य पुरस्कारद्वारा पुरस्कृत एवं कतिपय सङ्घ–संस्थाहरूबाट सम्मानित भएका छन् ।
 चालिसेले नेपालका अधिकांश भागका साथै भारतका केही स्थान तथा पाकिस्तान, चीन, थाइल्याड र बेलाइत आदि देशका विभिन्न भागको भ्रमण गरेका छन् ।
३.४.२ विजय चालिसेको कृतित्वको परिचय
 विजय चालिसेका प्रकाशित पुस्तक, उनीद्वारा सम्पादित ग्रन्थ एवं पत्रिकाहरू निम्न लिखित छन् ः
यात्रासाहित्य ः अप्रिलको बेलायत ः हिमाली आ“खा (२०४५)
  मनको तूलिकामा स्मृतिका बिम्बहरू (२०६३)
उपन्यास ः होटल रा“कीमा हत्या (२०३१)
  अनि कुइरो फाट्छ (२०३६)
कथासङ्ग्र्रह ः त्रिविध (२०४४) संयुक्त
           प्रयोग र प्रत्यारोपण (२०५६)
  अग्निचक्र (२०६२)
बाल–साहित्यअन्र्तगत चित्रकथा ः दयालु राजकुमार (२०४३)
बाल–कथासङ्ग्रह ः हराएको मूर्ति (२०५६)
  टाटेपाङ्ग्रे, (२०५७) संयुक्त
  अमूल्य उपहार, संयुक्त (२०५८)
  किसानबाट शिक्षा –२०५८)
  चटकीको बा“दर (२०६०)
बाल–उपन्यास ः मड्डलग्रहमा विज्ञान (२०६०)
  मुस्ताङको गुफा (२०६१)
बाल–नाटकसङ्ग्रह ः बादलका बुट्टाहरू (२०५२)
जीवनी  ः सेवाका प्रतिमूर्ति दयावीरसिंह कंसाकार (२०४५)
   क्याप्टेन जेम्स कूक (एउटा साहसी समुद्र–यात्रीको जीवनी) (२०६१)
अनुवाद  ः अनौठो भूमिमा एलिस (उपन्यास) (२०५०)
   विश्वप्रसिद्ध बालकथाहरू खण्ड १, (२०५७)
   विश्वप्रसिद्ध बालकथाहरू खण्ड २, (२०५८)
   प्रसिद्ध चिनियाँ बालकथाहरू, (२०५८) संयुक्त
संस्कृति  ः डोटेली लोकसंस्कृति र साहित्य (२०३९)
पत्रकारिता ः समाचार लेखन तथा सम्पादन (२०४५)
   आम सञ्चारका विविध पक्ष, (२०५७)
   आम सञ्चार, द्वन्द्व र आतङ्कवाद (२०६०)
सम्पादित कृति र पत्रिका   ः सम्झना (भैरव–स्मृति अङ्क) (२०३७)
   बन्धुसड्ड्रम (कविता सङ्ग्रह)   १  (२०४१)
                             बन्धुसड्ड्रम (कविता सङ्ग्रह)   २  (२०४२)
  ः साङ्ग्रिला त्रैमासिक (२०३९–२०४७ जम्मा २७ अङ्क)
  ः मानव अधिकार (२०४८)
  ः गोरखापत्र शैली पुस्तिका (२०५५)
 ः द मोनिटर (अङ्गे्रजी समाचार बुलेटिन), (इ. १९९२)
 यसका साथै उनले गोरखापत्र संस्थान काठमाडौंबाट प्रकाशित हुने युवामञ्च, मुना आदि पत्रपत्रिकाको समेत सम्पादन गरेको पाइन्छ ।
 यस अध्ययनका निम्ति निर्धारित कालखण्डमा विजय चालिसेको अप्रिलको बेलायत ः हिमाली आ“खा शीर्षक एक मात्र यात्रासाहित्यिक ग्रन्थ प्रकाशित छ । त्यसमा बेलाइत देशका विभिन्न स्थानका यात्रासित सम्बद्ध र विविध शीर्षकमा आबद्ध निम्नलिखित स्फुट कृतिहरू सङ्गृहीत छन् ।
(१)  अप्रिलको बेलायत, ब्राउनिङका कविता र हिमाली आँखा
(२)  खोइ कहाँ छ मेरो नेपाल ?
(३)  तिमीले पनि बेलायतलाई चिनिनौ तोनेला !
(४)  हामी फरक फरक युद्ध भोग्दैछौं, भेरा !
(५)  टेम्स, राजहाँस र पर्यटक उल्लास
(६)  केम, राजहाँस र विमेन्स लिव्को केम्ब्रिज
(७)  गुरुगम्भीर केम्ब्रिज र वर्तमानको पीडा
(८)  हाँस्ने म वा अक्सफोर्ड ?
(९)  बेलायतमा दुई धाम
(१०)  एभोनमाथिको शहर शेक्सपियरको प्रतिबिम्ब
(११)  डिकेन्समय भएर हराउँछौं हामी
(१२)  भूतबंगला र भूतदर्शन
(१३)  लन्डन, गल्ली–गल्छेडा र साहित्य–कला अभियान
(१४)  मातृत्व ः सम्बन्धविच्छेद
(१५)  दुई अङ्ग्रेज परिवार ः दुई धरातल
(१६)  लन्डनमा हराएको रात
(१७)  ब्रिटिश म्युजियम, बुद्धप्रदर्शनी र नेपाली कलाकृति
(१८)  एल्जि, मार्वलविवाद र ब्रिटिश म्युजियमको अस्तित्व
(१९)  बेलायतको दुई प्रसिद्ध राजाप्रासाद
(२०)  प्रजातन्त्र र जनकल्याणकारी राज्य
 यस अध्ययनका निम्ति उपर्युक्त कृतिहरूमध्येबाट निम्नलिखित कृतिहरूको चयन गरिएको छ ः
          १)  अप्रिलको बेलायत, ब्राउनिङका कविता र हिमाली आँखा
२)  हाँस्ने म वा अक्सफोर्ड ?
३)  बेलायतमा दुई धाम
४)  एभोनमाथिको शहर शेक्सपियरको प्रतिबिम्ब
 ५)  लन्डनमा हराएको रात
    उपर्युक्त पाँचवटै कृति निबन्धात्मक (नियात्रा) वर्गमा वर्गीकृत हुन्छन् ।
३.४.३   विजय चालिसेका प्रतिनिधि यात्रासाहित्यिक कृतिको प्रवृत्तिगत विश्लेषण
      यस उपशीर्षकअन्तर्गत यात्रासाहित्यकार विजय चालिसेका क्रमशः ‘अप्रिलको बेलायत, ब्राउनिङका कविता र हिमाली आँखा,’ ‘हाँस्ने म वा अक्सफोर्ड ?’, ‘बेलायतमा दुई धाम’, ‘एभोनमाथिको शहर शेक्सपियरको प्रतिबिम्ब’ तथा ‘लन्डनमा हराएको रात’  शीर्षक जम्मा  पाँचवटा स्फुटरूप कृतिहरूको विषयवस्तुगत प्रवृत्ति, यात्रागत प्रवृत्ति, प्रस्तुतिगत प्रवृत्ति, वैचारिक प्रवृत्ति र भाषा–शैलीगत प्रवृत्ति, यी पाँच प्रवृत्तिका आधारमा विश्लेषण गरिएको छ
३.४.३.१ अप्रिलको बेलायत, ब्राउनिङका कविता र हिमाली आ“खा 
(क) विषयवस्तुगत प्रवृत्ति
 यस कृतिमा यात्राकार चालिसेले काठमाडौंदेखि भारतीय राजधानीनगर दिल्ली हुँदै गरिएको बेलाइतको राजधानीनगर लन्डनसम्मको यात्रामा प्राप्त द्विदिवसीय अनुभवहरूको अङ्कन गरेका छन् ।  त्यस क्रममा उनले आफू अध्ययनका क्रममा पाँच महिनाका लागि लन्डनतर्फको यात्रामा प्रवृत्त भएको उल्लेखका साथ वायुयानको झ्यालबाट साक्षात्कृत पथवर्ती मनोरम आकाशीय एवं भू–दृश्यहरूको चित्रण तथा आफ्नो तत्कालीन मनोदशाको वर्णन गरेका छन् । त्यस्तै उनले कृतिमा महानगर लन्डनअन्तर्गतका हिथ्रो विमानस्थल, भिक्टोरिया रेल्वे स्टेसन, वाटर लु रेल्वेस्टेसन, पार्लियामेन्ट हल, बिग वेन, काउन्टी हल, रोयल फेस्टिभल हल, एलिजाबेथ हल, न्यासनल थिएटर, न्यासनल ग्यालरी, सेन्ट पोल गिर्जाघर, सेन्ट मेरी ले बों, लन्डन ब्रिज, नर्मन, एवं बेलाइतका राजा–रानीको राज्याभिषेक गरिने परम्परागत स्थलका रूपमा रहेको तथा त्यहाँका राजारानी र प्रख्यात साहित्यकार, राजनीतिज्ञ आदिको समाधिस्थलका रूपमा समेत रहेको वेस्ट मिन्स्टर एब्बे नामक विशिष्ट गिर्जाघर आदि अनेक महत्वपूर्ण स्थान, बकिङ्घम प्यालेस रोड, पार्लियामेन्ट स्ट्रिट आदि अनेक सडक, गल्ली तथा बजार, पसल, घर, होटेल एवं टेम्स नदी आदिका साथै वैभवशाली लन्डनको अत्याधुनिक सुविधासम्पन्न नागर संरचना, स्वरूप र सौन्दर्य, यातायात व्यवस्था र यातायातका साधनबारे समेत चर्चा गरेका छन् । साथै कार्यव्यस्तताका कारणले खान समेत अवकाश नमिल्ले हुँदा लन्डनका कर्मचारीहरू हिंड्दै खाँदै वा खाँदै हिंड्दै गरिरहेको वर्णन गरी त्यहाँको अतिव्यस्त नागर जीवनको चित्र समेत प्रस्तुत गरेका छन् । यसका साथै उनले कृतिमा अङ्ग्रेजी साहित्यका विशिष्ट साधक शेक्सपियर र ब्राउनिङका काव्यिक अंश उद्वृत गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका छन् । यस प्रकार यात्राकारले यस कृतिमा लन्डनका भौगोलिक अवस्थिति, जलवायु, प्रकृति, इतिहास, समाज, संस्कृति, धर्म, कला, साहित्य आदि विविध पक्षमाथि प्रकाश पारेका छन् । समग्रमा उनले लन्डन महानगरबाट आफू अत्यन्त प्रभावित भएको आशय प्रकट गरेका छन् ।
(ख) यात्रागत प्रवृत्ति
 यस कृतिमा यात्राकाले काठमाडौंदेखि यात्राको आरम्भ गरेका छन् र लन्डन महानगरअन्तर्गतका कतिपय स्थानको भ्रमण–अवलोकनपश्चात् युनियन ज्याक क्लब नामक होटेलको आफ्नो कक्षमा पुगेर यात्राको अन्त्य गरेका छन् । कृतिमा दिल्लीको विमानस्थलका साथै लन्डनअन्तर्गतका हिथ्रो विमान स्थल, भिक्टोरिया रेल्वे स्टेसन, वाटरलु रेल्वे स्टेसन, वेस्ट मिन्स्टर एब्बे गिर्जाघर, सेन्ट पोल गिर्जाघर, पार्लियामेन्ट हल, बिग वेन, काउन्टी हल, रोयल फेस्टिभल हल, एलिजाबेथ हल, न्यासनल थिएटर, न्यासनल ग्यालरी, सेन्ट मेरी ले बों, लन्डन ब्रिज, टावर ब्रिज, नर्मन आदि स्थान, बकिङ्घम प्यालेस रोड, पार्लियामेन्ट स्ट्रिट, ब्रिज स्ट्रिट आदि अतिव्यस्त सडक र गल्ली, प्राचीन र नवीन शैलीका असङ्ख्य अट्टालिका, भवन, होटेल र पसलका साथै इङ्लिस च्यानल समुद्र, हरिया र पहेंला गहुँ र तोरीका विस्तृत फाँट, शान्त रूपले प्रवहमान टेम्स नदी एवं त्यसमा उसैगरी गतिमान् जहाज र नौकाविहाररत असङ्ख्य पर्यटक, रेल, बस, कार र मोटरसाइकल आदि असङख्य सबारी साधनका गतिमान् लहर, अपार जनसमूहको कोलाहल र चहलपहलमय बजार, कार्यव्यस्तताका कारणले खाँदै हिड्दै वा हिंड्दै खाँदै गरिरहेका कर्मचारीगण, मार्गमा उभिएर चुम्बन आदान–प्रदानमा मग्न युगल युवासमूह आदि विविध दृश्य तथा यात्राकारलाई टेम्स नदीतर्फ मार्गको निर्देश गर्ने पुरुष आदि कतिपय व्यक्तिपात्रलाई उपस्थापन गरिएको हुँदा र पठनका क्रममा नयाँ नयाँ स्थान, दृश्य एवं व्यक्तिपात्रलाई उपस्थापन गरिएको हुँदा कृति गतिमय बनेको छ । कृतिमा यात्राकारले सहयात्रीका रूपमा नरेश नामक आफ्ना एक जना नेपाली मित्रलाई उपस्थापन गरेका छन् । त्यस्तै उनले काठमाडौंदेखि लन्डनसम्मको यात्रा वायुयानद्वारा सम्पन्न गरेका छन् भने लन्डन नगरअन्तर्गतका कतिपय स्थानको भ्रमण रेल र मोटरद्वारा तथा कतिपय स्थानको भ्रमण पदयात्राका रूपमा सम्पन्न गरेका छन् । चालिसेको उक्त यात्रा सहयात्रीका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
(ग) प्रस्तुतिगत प्रवृत्ति
 यो लघुकाय कृति हो । आयतनका दृष्टिले यो कृति २०÷३० आकारका ८ पृष्ठमा विस्तारित छ । यसको प्रस्तुति निबन्धात्मक छ । यो प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ र यात्राकारको निजात्मक राग र अनुभूतिले अन्वित छ । त्यस्तै चित्रात्मकता, स्वच्छन्दता, आत्मीयता, कल्पनाप्रवणता, रोचकता आदि गुणले युक्त छ । यसमा सम्बद्ध यात्रा–प्रदेशको प्राकृतिक एवं सामाजिक परिवेशको चित्रण र वस्तुवर्णन आकर्षक रूपले गरिएको छ । उसैगरी कतिपय स्थलमा तथ्यात्मक विवरणको अङ्कन गरिएको छ । साथै कतिपय स्थलमा अत्यल्प मात्रामा संवादको प्रयोग गरिएको छ र संवाद स्वाभाविक र सजीव रूपमा प्रस्तुत छ । यसका अतिरिक्त, कृतिमा एक नेपाली लोककथाका पात्र र विषय–प्रसङ्गको स्मरण एवं अङ्ग्रेजी साहित्यका विशिष्ट साधक शेक्सपियर र ब्राउनिङका कवितांशको समावेशबाट कृतिको भावसौन्दर्यमा वृद्धि भएको छ । कालिक प्रयोगका दृष्टिले यो कृति प्रायः सामान्य वर्तमान कालिक शैलीमा लेखिएको छ ।
(घ)    वैचारिक प्रवृत्ति
       यस कृतिमा मानवतावादी स्वर मुखरित छ । साथै आफ्नो देशका ऐतिहासिक, सांस्कृतिक एवं वास्तुकलात्मक निधिप्रतिको प्रेम र तिनको संरक्षणप्रतिको व्यग्रतासमेत वैचारिक प्रवृत्तिका रूपमा प्रतिविम्बित छ ।
(ङ)    भाषा–शैलीगत प्रवृत्ति
 यस कृतिमा जम्मा १२ अनुच्छेद छन् र ती घटीमा ७ पङ्क्तिका र बढीमा ५० पङ्क्तिका   छन् । यसमा सरल, संयुक्त र मिश्र तीनै प्रकारका वाक्य तथा तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दको प्रयोग गरिएको छ । त्यस्तै निपातको पनि प्रयोग गरिएको छ । भाषाशैली सरल, शुद्ध, प्रवाहमय एवं सहजसम्प्रेष्य छ र कतिपय स्थलमा कवितात्मक समेत छ । कथन प्रभावकारी छ र कतिपय स्थलमा आलङ्कारिक समेत छ । एक स्थलमा अङ्ग्रेजी भाषाको उखानको प्रयोग गरिएको छ र त्यो अङ्ग्रेजी भाषा र रोमन लिपिमा नै प्रस्तुत गरिएको छ । उसैगरी अङ्ग्रेजी कविताका अंशलाई पनि यथावत् अङ्ग्रेजी भाषा र रोमन लिपिमा नै प्रस्तुत गरिएको छ । त्यस्तै अङ्ग्रेजीभाषी व्यक्तिपात्रका संवादलाई अङ्ग्रेजी भाषा र देवनागरी लिपिमा प्रस्तुत गरिएको छ । एक स्थलमा अङ्गे्रजी भाषाको शब्दलाई वर्णविन्यासगत स्पष्टताका निम्ति रोमन लिपिमा नै प्रस्तुत गरिएको छ । यसका साथै कृतिमा कतिपय स्थलमा कोष्ठक चिन्हको प्रयोग गरिएको छ ।
३.४.३.२  हा“स्ने म वा अक्सफोर्ड ?
(क)  विषयवस्तुगत प्रवृत्ति
 यस कृतिमा यात्राकारले बेलाइतको क्याम्ब्रिज नगरदेखि बेलाइतकै अक्सफोर्ड नगरसम्मको यात्रामा प्राप्त अनुभवको अङ्कन गरेका छन् ।  त्यस क्रममा उनले पथवर्ती स्थानहरूका प्राकृतिक र सामाजिक चित्र प्रस्तुत गरेका छन् । उसैगरी अक्सफोर्ड नगरअन्तर्गतका विश्वविद्यालय, महाविद्यालय, पुस्तकालय, सङ्ग्रहालय, गिर्जाघर, उद्यान, सडक, भवन तथा टेम्स र सर्वेक नामक नदी वास्तु–कलाकृति, नागर सौन्दर्य र वातावरण आदिबारे चर्चा गर्दै उनले त्यहाँको भौगोलिक, ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक र कला सम्बन्धी पक्षमाथि प्रकाश पारेका छन् । यस कृतिमा अक्सफोर्डको शैक्षिक सन्दर्भ मुख्य विषयवस्तुका रूपमा प्रस्तुत छ । त्यस सन्दर्भमा उनले अक्सफोर्डको नामकरण, स्थापना र संस्थापकबारे चर्चा गर्दै सात–आठ सय वर्षअघिदेखि वर्तमानसम्म अखण्ड रूपले सञ्चालित हुँदै आएको विश्वविद्यालय, महाविद्यालय र विद्यालयहरूको सुप्रतिष्ठित शैक्षिक परम्परा अक्सफोर्डको कीर्तिस्तम्भका रूपमा रहेको एवं अक्सफोर्ड बेलाइतको मात्र शिक्षाकेन्द्र नभई सम्पूर्ण युरोप महादेशकै पनि शिक्षाकेन्द्रका रूपमा रहेको तथ्यमाथि प्रकाश पारेका छन् । साथै उनले म्याथ्यु आर्नोल्ड, स्यामुएल जोन्सन, विन्स्टन् चर्चिल आदि विश्वप्रसिद्ध विद्वान्हरू अक्सफोर्ड विश्वविद्यालयकै उत्पादन भएको तथ्यको अङ्कनका साथ त्यस्तो लामो परम्परा भएको र प्रतिष्ठित शिक्षाकेन्द्रले पनि आफ्नो स्थापनाकालदेखि लिएर एक शताब्दीपूर्वसम्म पुरुषवर्गको पक्षपाती भएर नारीहरूलाई पठन–पाठनका निम्ति प्रवेश निषेध गरेको र इ. १९२० देखि मात्र महिलाहरूलाई पनि उपाधि प्रदान गर्न थालेको  कटु यथार्थमाथि प्रकाश पारेका छन् ।
 यसका साथै यात्राकारले सान्दर्भिक रूपमा पूर्वको सहस्राब्दियौंअघिदेखिको सुदीर्घ र सुप्रतिष्ठित गुरुकुलीय शैक्षिक परम्पराको श्रद्धापूर्वक स्मरण गरेका छन् । साथै त्यो विच्छिन्न र व्यतिक्रमित हुनाका कारणले र धार्मिक अनुदारता एवं भाषिक–सांस्कृतिक साम्राज्यविस्तार सम्बन्धी दृष्टिहीनताका कारणले समेत वर्तमानमा नामशेष भएको तथा त्यसभन्दा अति कनिष्ठ भए पनि अक्सफोर्डको शैक्षिक परम्परा धार्मिक उदारता एवं भाषिक–सांस्कृतिक साम्राज्यविस्तार सम्बन्धी नीति र दृष्टिसचेतताका कारणले वर्तमानसम्म पनि अविच्छिन्न रूपले आफ्नो देश र महादेशकै समेत गौरवमय शिक्षाकेन्द्रका रूपमा सञ्चालित भइरहेको प्रसङ्गको चर्चा गर्दै पूर्वीय सुदीर्घ र सुप्रतिष्ठित गुरुकुल–परम्पराको विलोपनप्रति खिन्नता प्रकट गरेका छन् तथा पूर्वीय शैक्षिक परम्पराप्रति सम्मान र आत्मीय भाव प्रकट गर्दै त्यस सन्दर्भमा धर्म सम्बन्धी पूर्वीय दृष्टिमा चिरन्तन परिमार्जन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
 उसैगरी कृतिमा उनले स्वदेशप्रेम प्रकट गरेका छन् । साथै नेपाली नागर समाजका कतिपय विकृत र विसङ्गत पक्षबारे, अक्सफोर्डमा पर्यटकका रूपमा साक्षात्कृत कतिपय नेपालीहरूबारे एवं आफ्ना सहयात्रीहरूबारे समेत चर्चा गरेका छन् । समग्रमा उनले आफू अक्सफोर्डबाट अत्यन्त प्रभावित भएको आशय प्रकट गरेका छन् ।
(ख) यात्रागत प्रवृत्ति
 यस कृतिमा यात्राकारले बेलाइतको क्याम्ब्रिज नगरदेखि यात्राको आरम्भ गरेका छन् र अक्सफोर्ड नगरको परिभ्रमणपश्चात् क्याम्ब्रिजतर्फ प्रत्यावर्तनको उपक्रमको सङ्केतका साथ त्यसको अन्त्य गरेका छन् । कृतिमा पथवर्ती नगर–स्थानका साथै अक्सफोर्डअन्तर्गतका स्पायर्स गिर्जाघर, उद्यान, सङ्ग्रहालय, अक्सफोर्ड विश्वविद्यालय, एक्सटर कलेज, ओरियन्ट कलेज, क्वीन्स कलेज, न्यू कलेज आदि अनेक शिक्षण–संस्थाका परिसरलगायतका विभिन्न स्थानका साथै विविध अन्नबालीयुक्त हरिया–पहेंला खेत–फाँट, चरिरहेका गाई र भेडाका बथान, सुनियोजित सुन्दर–स्वच्छ सडक, टायल र छ्वालीले छाएका विविध स्तरका कलात्मक घरहरू, पुष्पित उद्यान, शिक्षण–संस्थाहरूका परिसरमा भ्रमणरत पर्यटकसमूह एवं तिनलाई सम्बद्ध स्थानहरूको परिचय प्रदानमा व्यस्त पथप्रदर्शकको हावभाव आदि विविध दृश्य तथा पथप्रदर्शकका साथै विश्वविद्यालय परिसरमा साक्षात्कृत खगेन्द्र नेपाली र उनको परिवार आदि अनेक व्यक्तिपात्रलाई उपस्थापन गरिएको हुँदा र पठनका क्रममा नयाँ नयाँ स्थान, दृश्य एवं व्यक्तिपात्रका बिम्ब उपस्थित हुने हुँदा कृति गतिमय बनेको छ । कृतिमा यात्राकारले सहयात्रीका रूपमा आफ्ना दुई सहपाठी मित्र अस्ट्रियावासी युवक डा. उल्फग्याङ तथा बेल्जियमकी युवति नटेलीलाई उपस्थापन गरेका छन् । त्यस्तै उक्त यात्रा उनले आफ्ना सहयात्री डा. उल्फग्याङको मोटरद्वारा सम्पन्न गरेका छन् । चालिसेको उक्त यात्रा यात्राकार र सहयात्री बीचको सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
 यस कृतिमा चालिसे यात्राका क्रममा साक्षात्कृत स्थान, दृश्य, वस्तु र घटना–प्रसङ्गप्रति सूक्ष्म दृष्टि भएका गम्भीर र अनुशासित प्रकृति एवं गुणग्राही प्रवृत्तिका स्वच्छन्द–यात्राप्रेमी एवं सहयात्रीप्रति हार्दिकतासम्पन्न यात्राकारका रूपमा देखिन्छन् ।
(ग) प्रस्तुतिगत प्रवृत्ति
 यो लघुकाय कृति हो । आयतनका दृष्टिले यो कृति २०÷३० आकारका ८ पृष्ठमा विस्तारित छ । यस कृतिको प्रस्तुति निबन्धात्मक छ । यो प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ र यात्राकारको निजात्मक राग, अनुभूति एवं चिन्तनले अन्वित छ । साथै चित्रात्मकता, आत्मीयता, भावात्मकता, स्वच्छन्दता, रोचकता आदि गुणले युक्त छ । यसको आरम्भ यात्रारम्भसँगै नभएर यात्रामध्यदेखि गरिएको छ । यसमा सम्बद्ध यात्रास्थालकोे प्रकृतिचित्रण, सामाजिक परिवेशको चित्रण र वस्तुवर्णन आकर्षक एवं सजीव रूपले गरिएको छ । त्यस्तै कतिपय स्थलमा तथ्यात्मक विवरणको पनि अङ्कन गरिएको छ । साथै कतिपय स्थलमा स्वाभाविक रूपमले संवादको प्रयोग गरिएको छ । कालिक प्रयोगका दृष्टिले यो कृति प्रायः सामान्य वर्तमानकालिक शैलीमा लेखिएको छ ।
(घ)    वैचारिक प्रवृत्ति
       यस कृतिमा यात्राकारको मानवतावादी स्वर मुखरित छ । साथै भाषा र धर्म–संस्कृतिको साम्राज्य भौगोलिक साम्राज्यभन्दा शक्तिशाली एवं स्थायी हुने र राष्ट्रिय उत्रति एवं संस्कृतिको मूल आधार शिक्षा नै हो भत्रे मर्मको बोध तथा राष्ट्रका भाषाप्रति ओठे भक्ति नभएर हार्दिक प्रेम र हिन्दू धर्ममा चिरन्तन परिमार्जनको आग्रह एवं नेपालको शैक्षिक परम्पराको सुदृढीकरणको चाहनासमेत यात्राकारको मूलभूत वैचारिक प्रवृत्तिका रूपमा प्रतिविम्बित छ ।

(घ)    भाषा–शैलीगत प्रवृत्ति
 यस कृतिमा जम्मा १० अनुच्छेद छन् र ती घटीमा ९ पङ्क्तिका र बढीमा ३७ पङ्क्तिका   छन् । यसमा सरल, संयुक्त र मिश्र तीनै प्रकारका वाक्य तथा तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दको प्रयोग गरिएको छ । भाषाशैली सरल, शुद्ध, प्रवाहमय र सहजसम्प्रेष्य छ तथा प्रायः कवितात्मक समेत छ । त्यस्तै कथन प्रभावकारी छ र कतिपय स्थलमा आलङ्कारिक पनि छ । अङ्ग्रेजी भाषाका संवादलाई पनि नेपाली भाषामा नै  प्रस्तुत गरिएको छ । साथै अङ्गे्रजी भाषाका कतिपय वस्तु र व्यक्तिका नामलाई वर्णविन्यासगत स्पष्टताका निम्ति देवनागरी लिपिका साथै कोष्ठभित्र रोमन लिपिमा समेत प्रस्तुत गरिएको छ । यसका साथै अन्य कतिपय स्थलमा कोष्ठक चिन्हको प्रयोग गरिएको छ ।
३.४.३.३  बेलायतमा दुई धाम
(क) विषयवस्तुगत प्रवृत्ति
 यस कृतिमा यात्राकारले अङ्ग्रेजी साहित्यका तीन विशिष्ट साधक विलियम वर्डस्वर्थ, स्यामुएल टेलर कलरिज र चाल्र्स डिकेन्सका वासस्थल रहेका समर्सेट लेक डिस्ट्रिक र टेक्सटाइल भिलेज एवं टेम्स साइड भिलेज नामक दुई स्थानमा भिन्न भिन्न मितिमा गरिएका एक–एक दिवसीय यात्रामा प्राप्त अनुभवको अङ्कन गरेका छन् ।  त्यस क्रममा उनले सर्वप्रथम वर्डस्वर्थ र कलरिजको वासस्थल रहेको समर्सेट लेक डिस्ट्रिक र टेक्सटाइल भिलेजको सेरोफेरोको यात्राको वर्णन गरेका छन् । क्याम्ब्रिज नगरमा अवस्थित आफ्नो आवासबाट यात्रा आरम्भ गरेका यात्राकारले समर्सेट लेक डिस्ट्रिक र टेक्सटाइल भिलेज क्षेत्रअन्तर्गतका क्रमशः नेदर स्टोवे, ग्रासमेयर, क्वान्टोक, बिनकोम्ब कम्ब, फेलर्डस, डेन्सबारो, होल्फर्ड आदि अनेक ग्राम–स्थानको भ्रमण–अवलोकन गरी उपर्युक्त साहित्यकारहरूका संरक्षित वासस्थल, साधनास्थल एवं तिनका विश्वप्रसिद्ध कृतिहरूका काव्यिक परिवेश र पात्रहरूबारे समेत चर्चा गरेका छन् र त्यहाँको भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा कलासम्बन्धी पक्षमाथि प्रकाश पारेका छन् । साथै उनले उपर्युक्त साहित्यकारका जीवनका कतिपय पक्षबारे, उनीहरूको पारस्परिक आत्मीय सम्बन्धबारे एवं उनीहरूद्वारा अङ्ग्रेजी साहित्यमा गरिएको योगदान आदिबारे चर्चा गरेका छन् । उसैगरी उनले वर्डस्वर्थको नाममा स्थापित सङ्ग्रहालय एवं उनका स्मृति र सम्मानमा आयोजित प्रदर्शनीबारे चर्चा गरेका छन् र कलरिजको निवासको एक भागमा हाल भट्टीपसल सञ्चालित भएको उल्लेख गर्दै त्यस स्थितिप्रति खिन्नता प्रकट गरेका छन् ।
 त्यस्तै अर्का विशिष्ट साहित्यकार चाल्र्स डिकेन्सको प्रेरणास्थल र वासस्थलका रूपमा रहेको बेलाइतको अर्को महŒवपूर्ण स्थान टेक्सटाइल भिलेजको यात्रा सन्दर्भमा पनि यात्राकारले उक्त रमणीय स्थानको प्राकृतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, साहित्यिक र कलासम्बन्धी पक्षबारे चर्चा गरेका छन् । साथै उनले डिकेन्सको जीवनका कतिपय कटु–मधु प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ उनका नाममा स्थापित ‘चाल्र्स डिकेन्स केन्द्र, एवं त्यहाँ तत्काल सञ्चालित डिकेन्स महोत्सव’ आदिबारे उल्लेख गरी उक्त स्थानसित सम्बन्धित डिकेन्स सम्बन्धी विविध पक्षमाथि प्रकाश पारेका छन् ।
 यात्राकारले कृतिमा उपर्युक्त तीन जना साहित्यकारका जन्मस्थल–वासस्थल रहेका दुवै स्थानलाई धाम वा तीर्थस्थलको संज्ञा दिएका छन् तथा स्वयंलाई एक श्रद्धालु तीर्थयात्रीकै रूपमा प्रस्तुुत गरेर उक्त स्थानहरूप्रति अपार श्रद्धा र सम्मान प्रकट गरेका छन् । यसका साथै उनले उक्त सन्दर्भमा नेपाली साहित्यका मूर्धन्य स्रष्टाहरूका जन्मस्थल र वासस्थल उपेक्षित एवं असुरक्षित अवस्थामा रहेको कटु प्रसङ्गको स्मरण गरेका छन् । त्यस्तै तीर्थयात्राका लागि नेपालीहरू विदेशका देवस्थलहरूमा समेत धाउने गरेको र स्वदेशका साहित्यिक तीर्थस्थलहरूको सम्मान, सुरक्षा र सम्भारप्रति कतैबाट पनि ध्यान नदिइएको र तत्परता नदेखाइएकोमा खिन्नता प्रकट गरेका छन् । साथै त्यस सन्दर्भमा नेपालीले अङ्ग्रेजहरूबाट शिक्षा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । समग्रमा उनले उक्त स्थानहरूबाट आफू अत्यन्त प्रभावित भएको आशय प्रकट गरेका छन् ।
(ख) यात्रागत प्रवृत्ति
 यस कृतिमा यात्राकारले दुईवटा यात्राको वर्णन गरेका छन् र दुवै यात्राको आरम्भ क्याम्ब्रिज नगरमा अवस्थित आफ्नो आवासबाट गरेका छन् भने अन्त्य पनि सम्बद्ध यात्राप्रदेशबाट क्याम्ब्रिजतर्फ प्रत्यावर्तनको उपक्रमसँगै गरेका छन् । कृतिमा पहिलो यात्राको वर्णन–सन्दर्भमा समर्सेट लेक डिस्ट्रिक क्षेत्रअन्तर्गतका नेदर स्टोवे, ग्रासमेयर, क्यान्टोक, बिनकोम्ब कम्ब, फेलर्डस, पुसाम, डेन्सबरो, होल्फर्ड तथा कलरिजको घर, वर्डस्वर्थको घर र सङ्ग्रहालय,न्यू क्लियर पावर स्टेसन, गिर्जाघर, भट्टीपसल, बजार, अल्फोक्सटन पार्क, हरिणपार्क, घर, होटेल, उद्यान, वन, केल्भिन सागरतट, सरोवरहरू, आरोह–अवरोहमय विस्तृत र सङ्कीर्ण मार्गहरू, हरियालीपूर्ण वृक्षपङ्क्ति आदि स्थान, दृश्य र अनेक व्यक्तिपात्रलाई तथा दोस्रो यात्राको वर्णन–सन्दर्भमा टेक्सटाइलभिलेज र त्यसको सेरोफेरोअन्तर्गतका केस्टको–रोचेस्टर, गाड्स हिल प्यालेस र हनिमुन कटेज नामक चाल्र्स डिकेन्सका घरहरू, कुलिङ् चर्च, चक चर्च, चाल्र्स डिकेन्स सेन्टर, बजार, पसल आदि स्थान र भवनहरू एवं बजारमा क्रेता–विक्रेताको व्यस्त भीड, विभिन्न खेलको प्रदर्शन र प्रदर्शनीमा राखिएका विविध सामग्री आदि बहुविध दृश्यका साथै अनेक व्यक्तिपात्रलाई उपस्थापन गरिएको हुँदा तथा पठनका क्रममा नयाँ नयाँ स्थान, दृश्य र व्यक्तिपात्रका बिम्ब उपस्थित हुने हुँदा कृति गतिमय बनेको छ । कृतिमा यात्राकारले पहिलो यात्राका सहयात्रीका रूपमा अस्ट्रियाली युवति लुचिया, सोमालियाली युवति रुकिया र स्विजरल्यान्डेली युवक सान्द्रो आदि आफ्ना सहपाठी मित्रहरूलाई तथा दोस्रो यात्राका सहयात्रीका रूपमा आफ्नी अर्की सहपाठी मित्र अङ्ग्रेज युवति सुजानलाई उपस्थापन गरेका छन् । यात्राकारले उक्त यात्राका साधनबारे कृतिमा कतै पनि उल्लेख गरेका छैनन् । उनका उक्त दुवै यात्रा सहयात्रीहरूका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका छन् ।
 यस कृतिमा यात्राकार चालिसे साहित्यकारहरूसित सम्बद्ध एवं साहित्यिक कृति र पात्रहरूसित सम्बद्ध स्थानहरूलाई तीर्थस्थलका रूपमा, ती स्थानका यात्रालाई तीर्थयात्राका रूपमा र त्यस्ता स्थानका यात्रा–सन्दर्भमा आफूलाई तीर्थयात्रीकै रूपमा लिने एक अत्यन्त श्रद्धावान् र भावुक यात्रीका रूपमा देखिन्छन् ।
(ग) प्रस्तुतिगत प्रवृत्ति
 यो लघुकाय कृति हो । आयतनका दृष्टिले यो कृति २०÷३० आकारका १० पृष्ठमा विस्तारित छ । यस कृतिमा भिन्न भिन्न मिति र स्थानमा गरिएका दुईवटा यात्राको वर्णन गरिएको छ । कृतिको आरम्भ यात्रारम्भबाट नभई तद्विषयक भूमिकाबाट गरिएको छ । यसको प्रस्तुति निबन्धात्मक छ । यो प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ तथा यात्राकारको निजात्मक राग, अनुभूति र चिन्तनले समन्वित छ । त्यस्तै आत्मीयता, भावात्मकता, स्वच्छन्दता, रोचकता, कल्पनाप्रवणता आदि गुणले युक्त छ र प्रशस्त मात्रामा चित्रात्मक छ । प्रकृतिक र सामाजिक परिवेशको चित्रण तथा वस्तुवर्णन आकर्षक एवं सजीव रूपले गरिएको छ । उसैगरी कतिपय स्थलमा तथ्यात्मक विवरणको पनि अङ्कन गरिएको छ । कतिपय स्थलमा संवादको प्रयोग गरिएको छ र त्यो स्वाभाविक र सजीव छ । कृतिमा दुवै यात्राका वर्ष र महिनाको मात्र उल्लेख गरिएको छ दिनाङ्कको छैन । कालिक प्रयोगका दृष्टिले यो कृति प्रायः सामान्य वर्तमानकालिक तथा अपूर्ण र पूर्ण भूतकालिक संयुक्त शैलीमा लेखिएको छ ।
(घ)    वैचारिक प्रवृत्ति
       स्वदेशका तीर्थस्थलको उपेक्षा गरी पुण्यार्जनका निम्ति विदेशका तीर्थस्थलतर्फ मात्र धाउने प्रवृत्तिको विरोध,स्वदेशी सांस्कृतिक वैभवहरूप्रति अपार प्रेम तथा पर्यटनका सन्दर्भमा स्वदेशका धार्मिक, साहित्यिक, सांस्कृतिक एवं पर्यटकीय महŒवका स्थलहरूलाई प्राथमिकता दिनुपर्ने र राष्ट्रका गौरवका रूपमा रहेका साहित्यिक विभूतिरूका निवासलाई पनि तीर्थस्थलकै रूपमा लिएर तिनको सुरक्षा, सम्भार र सम्मान गरी विदेशी पर्यटकहरूलाई समेत तीप्रति आकर्षित तुल्याएर आफ्नो राष्ट्रका त्यस्ता अमूल्य सांस्कृतिक वैभवहरूको प्रतिष्ठा विस्तार गर्नुपर्ने आग्रह यस कृतिमा यात्राकारका वैचारिक प्रवृत्तिका सारका रूपमा प्रतिविम्बित छन् ।
(ङ)    भाषा–शैलीगत प्रवृत्ति
 यस कृतिमा जम्मा २० अनुच्छेद छन् र ती घटीमा ५ पङ्क्ति तथा बढीमा ३३ पङ्क्तिका   छन् । यसमा सरल, संयुक्त र मिश्र तीनै प्रकारका वाक्य तथा तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दको प्रयोग गरिएको छ । भाषाशैली सरल, शुद्ध, प्रवाहमय र सहजसम्प्रेष्य छ र प्रायः कवितात्मक समेत छ । त्यस्तै कथन प्रभावकारी छ र कतिपय स्थलमा आलङ्कारिक पनि छ । अङ्ग्रेजी भाषाका संवादलाई पनि नेपाली भाषामा नै  प्रस्तुत गरिएको छ । त्यस्तै कृतिमा कतिपय स्थलमा निपात र अनुकरणात्मक शब्दहरूको प्रयोग गरिएको छ । साथै कतिपय स्थलमा अङ्गे्रजी भाषाका नामिक पद र पदावलीलाई देवनागरी लिपिमा प्रस्तुत गर्नुका साथै वर्णविन्यासगत स्पष्टताका लागि कोष्ठभित्र रोमन लिपिमा समेत प्रस्तुत गरिएको छ । कोष्ठक चिन्हको प्रयोग कृतिमा अन्य कतिपय स्थलमा पनि गरिएको छ ।
३.४.३.४  एभोनमाथिको शहर ः शेक्सपियरको प्रतिबिम्ब
(क)  विषयवस्तुगत प्रवृत्ति
 यस कृतिमा यात्राकारले लन्डनदेखि अङ्ग्रेजी साहित्यका विशिष्ट साधक शेक्सपियरको जन्मस्थान ‘स्ट्र्याटफोर्ड अपन एभोन’ सम्मको एक दिवसीय यात्रामा प्राप्त अनुभवको अङ्कन गरेका छन् ।  त्यस क्रममा उनले शेक्सपियरको जन्मस्थलको भ्रमण–अवलोकन गर्नका निम्ति आफू लामो समयदेखि लालायित रहँदै आएको आशय अभिव्यक्त गर्दै र आफ्नो उक्त यात्राकालीन आल्हादपूर्ण मनोभाव समेत व्यक्त गर्दै शेक्सपियरकालीन गाउँ र उत्तरकालीन नगर स्ट्र्याटफोर्डको भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं साहित्यिक पक्षमाथि प्रकाश पारेका छन् । साथै उक्त नगरअन्तर्गतका होस् हेन्ली सडक, शटरी आदि स्थानमा अवस्थित र वर्तमानसम्म यथावत् रूपमा सुरक्षित शेक्सपियरको जन्मघर, उनले अध्ययन गरेको ग्रामर स्कूल, वृद्धावस्थामा निवास गरेको घर न्यू प्लेस, उनको समाधिस्थल भएको होली ट्रिनिटी चर्च, उनका नाममा स्थापित शेक्सपियर अध्ययन केन्द्र, शाही शेक्सपियर नाट्यशाला, शेक्सपियर इन्स्टिच्युट, उनको पैतृक सम्पत्तिका रूपमा रहेको आर्डोन जङ्गल आदि शेक्सपियरसित सम्बन्धित अनेक स्थलहरूका साथै उनकी माता मेरी आर्डेन हुर्के–बढेको घर, उनकी पत्नी एन ह्याथवेको घर, उनकी छोरी सुजानका पतिको घर, उनकी नातिनी एलिजाबेथको घर आदि उनका परिवारजनका निवासहरू तथा पेरिस चर्च, एभोन नदीको पुल, आदि ऐतिहासिक, पुराताŒिवक, धार्मिक, सांस्कृतिक, कलासम्बन्धी र वास्तुकलासम्बन्धी विविध महŒवपूर्ण र सुरम्य स्थलहरूका बारेमा चर्चा गरेका छन् । त्यस्तै उनले शेक्सपियरको जीवनका विभिन्न प्रसङ्गका बारेमा समेत चर्चा गरेका छन् । साथै शेक्सपियरको जन्मस्थल वर्तमानमा पनि पूर्णतः शेक्सपियरमय रहेको उल्लेख गर्दै उक्त स्थानलाई ‘साहित्यिक तीर्थस्थल’ संज्ञा दिएका छन् र उक्त स्थानको भ्रमण–अवलोकनका निम्ति प्रतिवर्ष असीवटा देशका गरी तीन लाखभन्दा बढी पर्यटक आउने गरेको प्रसङ्ग उल्लेख गरेका छन् । यसैगरी यात्राकारले कृतिमा शेक्सपियरका पूर्ववर्ती बेयर्ड, डोल्यान्ड, बेकन, स्पेन्सर, मार्लो आदि अङ्ग्रेजी साहित्यका विशिष्ट नाटककारहरूका बारेमा पनि चर्चा गरेका छन् । साथै उनले सान्दर्भिक रूपले नेपालका कतिपय साहित्यिक विभूतिहरूको स्मरण गर्दै तिनका वासस्थलको समुचित संरक्षण, सम्भार नगरिएको र तिनलाई साहित्यिक तीर्थस्थलका रूपमा प्रतिष्ठा प्रदान गर्ने दिशातर्फ हालसम्म कुनै प्रयास नभएको तथा ती नितान्त उपेक्षित अवस्थामा रहेको कटु प्रसङ्गको चर्चा गरेका छन् र त्यस सन्दर्भमा अङ्ग्रेजहरूबाट नेपालीले शिक्षा ग्रहण गर्नुपर्ने धारणा प्रकट गरेका छन् ।
 समग्रमा उनले उक्त स्थानको भ्रमण–अवलोकनबाट आफू अत्यन्त प्रभावित एवं आल्हादित भएको आशय व्यक्त गरेका छन् ।
(ख)  यात्रागत प्रवृति
 यस कृतिमा यात्राकारले लन्डनदेखि यात्राको आरम्भ गरेका छन् र स्ट्र्याट्फोर्ड नगरअन्तर्गतका विभिन्न स्थानहरूको परिभ्रमणपश्चात् लन्डनतर्फ प्रत्यावर्तनको उपक्रमको सङ्केतका साथ त्यसको अन्त्य गरेका  छन् । कृतिमा पथवर्ती वारविक शायर आदि स्थानका साथै स्ट्र्याटफोर्ड अपन एभोन नगरअन्तर्गतका होस् हेन्ली सडक, शटरी नामक बस्ती, शेक्सपियरको जन्मघर र सङ्ग्रहालय, वृद्धावस्थामा निवास गरेको घर न्यू प्लेस, उनले अध्ययन गरेको विद्यालय, उनको समाधिस्थल भएको होली ट्रिनिटी चर्च, पेरिस चर्च, शेक्सपियर अध्ययन केन्द्र, शाही शेक्सपियर नाट्यशाला, शेक्सपियरको पैतृक उद्यान, उनकी माताले बाल्यकाल बिताएको घर, उनकी पत्नीको माइतीघर, छोरी–जुवाइँ र नातिनीका घर, एभोन नदीको पुल, प्रवहमान एभोन नदीमा नौकाविहाररत पर्यटकसमूह र जलक्रीडारत राजहंसहरू, बहुविध फूलले शोभायमान उद्यान, गतिमान् रेलगाडी आदि अनेक स्थान र दृश्यलाई उपस्थापन गरिएको हँुदा तथा पठनका क्रममा नयाँ नयाँ स्थान र दृश्यहरूका बिम्ब उपस्थित हुने हुँदा कृति गतिमय बनेको छ । यात्राकारले लन्डनदेखि स्ट्र्याटफोर्ड सम्मको यात्रा रेलगाडीद्वारा सम्पन्न गरेका छन् भने स्ट्र्याटफोर्ड नगरअन्तर्गतका विभिन्न स्थानको परिभ्रमणका सन्दर्भमा कृतिमा कुनै पनि सवारीसाधनको उल्लेख नगरिएको हँुदा उक्त परिभ्रमण उनले पदयात्राकै रूपमा सम्पन्न गरेको प्रतीत हुन्छ । त्यस्तै सहयात्रीका रूपमा कुनै पनि व्यक्तिलाई उपस्थापन नगरिएको हँुदा उक्त यात्रा उनले एकाकी रूपमा सम्पन्न गरेको देखिन्छ ।
(ग)  प्रस्तुतिगत प्रवृति
 यो लघुकाय कृति हो । आयतनका दृष्टिले यो कृति २०÷३० आकारका ७ पृष्ठमा विस्तारित छ । कृतिको आरम्भ सोझै यात्रारम्भबाट नभई तद्विषयक भूमिकाबाट गरिएको छ । यसको प्रस्तुति निबन्धात्मक छ । यो प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ तथा यात्राकारको आत्मराग र अनुभूतिले समन्वित छ । साथै आत्मीयता, भावात्मकता, स्वच्छन्दता, कल्पनाप्रवणता, रोचकता आदि गुणले युक्त छ र पर्याप्त मात्रामा चित्रात्मक छ । यसमा प्रकृतिचित्रण, परिवेशचित्रण एवं वस्तुवर्णन सजीव रूपमा गरिएको छ । त्यस्तै कतिपय स्थलमा तथ्यात्मक विवरणको अङ्कन गरिएको छ र यात्राको दिनाङ्कको पनि अङ्कन गरिएको छ । कालिक प्रयोगका दृष्टिले यो कृति प्रायः सामान्य भूतकालिक शैलीमा लेखिएको छ ।
(घ)    वैचारिक प्रवृत्ति
       यस कृतिमा यात्राकारले बेलाइतले शेक्सपियरको निवासका साथै उनले प्रयोग गरेका सामग्रीहरूको श्रद्घापूर्वक समुचित संरक्षण–सम्भार गरी उनको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको प्रतिष्ठा प्रदान गरेजस्तै प्रत्येक राष्ट्रले साहित्यिक क्षेत्रका आफ्ना महान् विभूतिहरूका आवासको संरक्षण एवं तिनले प्रयोग गरेका सामग्रीहरूको सङ्ग्रह र सम्भार गरी तिनका जन्मस्थललाई राष्ट्रका गौरवमय र महिमामण्डित साहित्यिक तीर्थस्थलको प्रतिष्ठा प्रदान गरेर विश्वका श्रद्घालु पर्यटकहरूको आकर्षणका केन्द्रका रूपमा परिचित तुल्याउनुपर्ने सन्देश प्रस्तुत गरेका छन् । उनको यस कृतिमा प्रतिविम्बित वैचारिक प्रवृत्तिको सार पनि यही नै हो ।
(ङ)    भाषा–शैलीगत प्रवृत्ति
 यस कृतिमा जम्मा १५ अनुच्छेद छन् र ती घटीमा ४ पङ्क्ति र बढीमा २१ पङ्क्तिका छन्। यसमा सरल, संयुक्त र मिश्र तीनै प्रकारका वाक्यको एवं विशेष गरी सरल र संयुक्त वाक्यको प्रयोग गरिएको छ । त्यस्तै तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दको प्रयोग गरिएको छ । यसमा प्रयुक्त भाषाशैली सरल, शुद्ध, प्रवाहमय र सहजसम्प्रेष्य छ तथा कतिपय स्थलमा कवितात्मक समेत छ । उसैगरी कथन प्रभावकारी छ र कतिपय स्थलमा आलङ्कारिक समेत छ । अङ्ग्रेजी भाषाका कतिपय नामिक पद र पदावलीलाई देवनागरी लिपिका साथै वर्णविन्यासगत स्पष्टताका लागि कोष्ठभित्र रोमन लिपिमा समेत प्रस्तुत गरिएको छ । यसका साथै कोष्ठक चिन्हको प्रयोग अन्य कतिपय स्थलमा पनि गरिएको छ ।
३.४.३.५ लन्डनमा हराएको रात
(क)  विषयवस्तुगत प्रवृत्ति
 यस कृतिमा यात्राकार चालिसेले लन्डन महानगरअन्तर्गतको केनिङ्टन रोड नामक स्थानदेखि निकोल रोड नामक स्थानमा गएर पुनः केनिङ्टन रोडमा प्रत्यावर्तित हुँदासम्मको रातभरिको यात्रामा प्राप्त अनुभवको अङ्कन गरेका छन् ।  त्यस क्रममा उनले आफू लन्डन महानगरमा बसेका अवधिमा एक साँझ बी.बी.सी. लन्डनको नेपाली सेवामा कार्यरत खग्रेन्द्र नेपाली नामक एक प्रख्यात नेपाली सज्जन र उनको परिवारद्वारा निमन्त्रित भएर उनीहरूको आतिथ्य ग्रहण गर्नका लागि केनिङ्टन रोडमा अवस्थित आफ्नो लजबाट प्रस्थान गरी लन्डनको केन्द्रीय भागदेखि बाहिर निकोल रोड नामक स्थानमा अवस्थित नेपालीको तत्कालीन निवासमा गएर राति त्यहाँबाट आफू बसेको लजतर्फ प्रत्यावर्तनका क्रममा त्यस महानगरको भूगोलबारे अनभिज्ञ र दिग्भ्रान्त समेत हुनाका कारणले चार घण्टासम्म हराएको र एक अङ्ग्रेज सज्जनको सौजन्य र सहयोग प्राप्त गरी येनकेन प्रकारले बिहानीपख आफ्नो लजको कोठामा आइपुगेको सन्त्रासपूर्ण घटना–प्रसङ्गको वर्णन गरेका छन् । त्यस्तै उनले यस कृतिमा लन्डन महानगरको केन्द्रीय एवं बाह्य भागअन्तर्गतका यात्राकृत केनिङ्टन रोड ल्याम्बेथ नोर्थ, पार्लियामेन्ट स्ट्रीट, वेस्टमिन्स्ट्र् ब्रिज, टेफलगार स्क्वायर, हार्लेस्डेन, निकोल रोड, युस्टन, वाटरलु, एलिफन्ट एन्ड क्यासल, ग्रिनबिच आदि स्थानहरूको उल्लेखका साथै लन्डनको भौगोलिक अवस्थिति, जलवायु, नागर सौन्दर्य, यातायात व्यवस्था, रेल, भूमिगत रेल, बस आदि यातायातका साधन र तिनका अनेक विश्रामस्थल तथा त्यहाँ रातका समयमा हुने आपराधिक गतिविधि आदि विविध पक्षमाथि प्रकाश पारेका छन् । यसका साथै उनले लन्डनमा कार्यरत र हार्दिकतासम्पन्न अनेक नेपाली जनका बारेमा चर्चा गरेका छन् । उसैगरी उनले कृतिमा लन्डन महानगरसित सम्बद्घ आफ्नो पूर्वस्मृतिको अङ्कनका साथै अन्य श्रुत घटना–प्रसङ्गको समेत उल्लेख गरेका छन् तथा त्यहाँ मध्यरातमा चार घण्टासम्म हराउँदाको आफ्नो भयग्रस्त मनोदशाको चित्र सजीव रूपमा प्रस्तुत गरेका छन् ।
 समग्रमा यात्राकारले उक्त यात्रा–प्रसङ्ग आफ्नो जीवनको अविस्मरणीय घटनाका रूपमा रहेको उल्लेख गरेका छन् ।
(ख)  यात्रागत प्रवृत्ति
  यस कृतिमा यात्राकारले लन्डन महानगरको कनिङ्टन रोडको ल्याम्बेथ नोर्थ नामक स्थानमा अवस्थित एउटा लजबाट यात्राको आरम्भ गरेका छन् र त्यस महानगरको निकोल रोडमा अवस्थित खगेन्द्र नेपालीको निवासमा पुगेर पुनः केनिङ्टन रोडको त्यसै लजमा प्रत्यावर्तित भई यात्राको अन्त्य गरेका छन् । कृतिमा केनिङ्टन रोड, पार्लियामेन्ट स्ट्रीट, वेस्टमिन्स्टर ब्रिज, ट्रेफल्गार स्क्वायर, हार्लेस्डेन, निकोल रोड, युस्टन, वाटरलु, एलिफन्ट एन्ड क्यासल, ग्रिनबिच, अनेक ट्युव स्टेसन, बस विश्रामस्थल, आदि स्थान र झिलिमिली बलिरहेका सडक–बत्ती, धावनरत भूमिगत रेलगाडी, मादक पदार्थ सेवन गरेर लर्खराउँदै गरेका कतिपय यात्री आदि दृश्यका साथै लन्डनमा कार्यरत र यात्राकारद्वारा साक्षात्कृत पूर्वपरिचित जगदीश घिमिरे तथा खगेन्द्र नेपाली नामक नेपाली सज्जन र तिनका परिवारजन, सहयोगी प्रवृत्तिका बस कन्डक्टर, रातिको समयमा महानगरमा  हराएर सङ्कटमा परेका यात्राकारलाई आफ्नो मोटरमा राखेर रेल्वे स्टेसनसम्म पु¥याई सहयोग गर्ने एक अपरिचित अङ्ग्रेज सज्जन एवं यात्राकारलाई आत्मीयतापूर्वक स्वागत गर्ने लजका कर्मचारी ग्राहम आदि अनेक व्यक्तिपात्रलाई उपस्थापन गरिएको हुँदा र पठनका क्रममा नयाँ नयाँ स्थान, दृश्य तथा व्यक्तिपात्रहरूका बिम्ब उपस्थित हुने हँुदा कृति गतिमय बनेको छ । कृतिमा यात्राकारले सहयात्रीका रूपमा कसैलाई पनि उपस्थापन गरेका छैनन् । उनले गमन कालमा सार्वजनिक बसको तथा प्रत्यावर्तन कालमा केही टाढासम्म आतिथेय खग्रेन्द्र नेपालीको मोटरकारका साथै सार्वजनिक बस, एक अपरिचित अङ्ग्रेज सज्जनको मोटरकार र पुनः सार्वजनिक बसको प्रयोग गरेका छन् । यात्राकार चालिसेले उक्त यात्रामा गमनकार्य सामान्य मनोदशामा र प्रत्यावर्तन कार्य प्रायः आतङ्कित र सन्त्रस्त रूपमा सम्पन्न गरेका छन् ।
(ग) प्रस्तुतिगत प्रवृत्ति
 यो लघुकाय कृति हो । आयतनका दृष्टिले यो कृति २०÷३० आकारका ५ पृष्ठमा विस्तारित छ । कृतिको आरम्भ यात्रारम्भबाट नभई तद्विषयक भूमिकाबाट गरिएको छ । यसको प्रस्तुति निबन्धात्मक छ । यो प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ र यसमा पाठकलाई द्वितीय पुरुषको आदरार्थी सर्वनामद्वारा सम्बोधन गरिएको छ । यो प्रायः वर्णनात्मक छ र निजात्मकता, चित्रात्मकता, रोचकता आदि गुणले युक्त छ । यसमा कतिपय स्थलमा संवादको पनि प्रयोग गरिएको छ । संवाद स्वाभाविक र सजीव छन् । त्यस्तै वस्तुवर्णन आकर्षक रूपले गरिएको छ तथा कतिपय स्थलमा तथ्यात्मक विवरणको पनि अङ्कन गरिएको छ । साथै कतिपय स्थलमा पूर्वस्मृतिको अङ्कन समेत गरिएको छ । त्यस्तै कृतिमा यात्राको मितिको अङ्कन पनि गरिएको छ परन्तु त्यस सन्दर्भमा महिना र दिनाङ्कको मात्र अङ्कन गरिएको छ, वर्षको अङ्कन भने गरिएको छैन । कालिक प्रयोगका दृष्टिले यो कृति प्रायः भूतकालिक  शैलीमा लेखिएको छ ।
(घ)    वैचारिक प्रवृत्ति
        यस कृतिमा यात्राकारको मानवतावादी स्वर मुखरित छ । साथै नवीन स्थानको  यात्रामा भित्र परिवेश र समयका कारणले सृजित हुनसक्ने दिग्भ्रम एवं दृष्टिभ्रमबाट जोगिनका निम्ति यात्रीहरू सदा सजग र सचेत हुनुपर्ने सन्देश समेत प्रस्तुत छ ।
ङ) भाषा–शैलीगत प्रवृत्ति
 यस कृतिमा जम्मा १३ अनुच्छेद छन् र ती घटीमा २ पङ्क्ति एवं बढीमा १९ पङ्क्तिका छन् । यसमा सरल, संयुक्त र मिश्र  तीनै प्रकारका वाक्यको प्रयोग गरिएको छ । तीमध्ये मिश्र वाक्यको प्रयोग प्रायः न्यून मात्रामा गरिएको छ । त्यस्तै तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दको प्रयोग गरिएको छ । भाषाशैली सरल, शुद्ध, प्रवाहमय एवं सहजसम्प्रेष्य छ । कथन प्रभावकारी छ र कतिपय स्थलमा आलङ्कारिक समेत छ । अङ्ग्रेजी भाषाका संवादलाई पनि नेपाली भाषामा नै प्रस्तुत गरिएको छ । यसका साथै एक स्थलमा लोकोक्तिको पनि प्रयोग गरिएको छ । उसैगरी कतिपय स्थलमा कोष्ठक चिन्हको समेत प्रयोग गरिएको छ ।
३.४.४ विजय चालिसेको प्रवृत्तिगत मूल्याड्ढन
       विदेशी परिवेशको यात्रावर्णन, युरोपको बेलाइत देशका विभिन्न स्थानको भ्रमण तथा सम्बद्ध यात्रास्थलहरूको बहुपक्षीय चित्रण, शैक्षिक पक्षबारे तथा साहित्यकार र तीसित सम्बन्धित स्थानहरूबारे विशेष चर्चा, शैक्षिक र साहित्यिक सन्दर्भमा बेलाइत र नेपालको तुलना तथा बेलाइतको समुन्नत शैक्षिक एवं साहित्यिक संस्कृतिबाट प्रभावित भएर स्वदेशमा त्यस प्रकारको संस्कृतिको निर्माणका निम्ति अपार व्यग्रता, बेलाइतको राजधानी महानगर लन्डनमा कार्यरत कतिपय नेपालीका बारेमा चर्चा, स्वदेश, स्वभाषा एवं स्वजाति–प्रेमका साथै स्वदेशका ऐतिहासिक, सांस्कृतिक, साहित्यिक एवं वास्तुकलाका निधिप्रति अपार प्रेम र तिनको संरक्षणको आग्रह, भाषा र धर्म–संस्कृतिको साम्राज्य भौगोलिक साम्राज्यका अपेक्षा अधिक शक्तिशाली एवं स्थायी हुने मर्मको बोध, हिन्दू धर्ममा चिरन्तन परिमार्जनको आग्रह विजय चालिसेका मूलभूत विषयवस्तुगत प्रवृत्ति र उपलब्धि हुन् ।
      यात्रास्थलका रूपमा नगराञ्चल एवं ग्रामाञ्चलको चयन र विशेषतः शिक्षा एवं साहित्यसित सम्बन्धित स्थानहरूको चयन, साहित्यकारहरूसित सम्बद्ध एवं साहित्यिक कृति र पात्रसित सम्बद्ध स्थानहरूप्रति तीर्थस्थलका रूपको श्रद्धाभाव, यात्राका क्रममा साक्षात्कृत स्थान, दृश्य, वस्तु एवं घटनाप्रसङ्गप्रति सूक्ष्म दृष्टि, स्वच्छन्द यात्राप्रियता, गुणग्राहिता एवं सहयात्रीप्रति सुह्द्भाव चालिसेका मूलभूत यात्रागत प्रवृत्ति र उपलब्धि हुन् ।
      त्यस्तै लघु आकार, प्रथम पुरुष दृष्टिविन्दु, निबन्धात्मकता र संस्मरणात्मकता, निजात्मक राग, अनुभूति र चिन्तनको समन्विति, चित्रात्मकता, भावात्मकता, कल्पनाप्रवणता, स्वच्छन्दता, रोचकता आदि गुणको, समावेश, वस्तुवर्णनमा आकर्षकता, तथ्यात्मक विवरणको अङ्कन, पूर्वस्मृतिको अङ्कन, अल्प मात्रामा संवादको प्रयोग, लोककथाका पात्र र विषय–प्रसङ्गको तथा कतिपय कविहरूका कवितांशको समावेश र प्रायः सामान्य वर्तमानकालिक एवं सामान्य भूतकालिक शैलीमा विषयवस्तुको उपस्थापन उनका मूलभूत प्रस्तुतिगत प्रवृत्ति र उपलब्धि हुन् ।
      यथार्थवादी जीवनदृष्टि,मानवतावादी विचार,यथास्थितिको विरोध  तथा सुधारको आग्रह  चालिसेका मूलभूत वैचारिक प्रवृत्ति र उपलब्धि हुन् ।
     उसैगरी छोटो र छरितो अनुच्छेदविन्यास, प्रायः सरल र संयुक्त वाक्यको प्रयोग, तत्सम, तद्भव र आगन्तुक तीनवटै प्रकारका शब्दको प्रयोग, सरल, शुद्ध, प्रवाहमय, एवं सहजसम्प्रेष्य भाषाशैली, प्रभावकारी र आलङ्कारिक कथन, स्वल्प मात्रामा लोकोक्तिको प्रयोग, कतिपय स्थलमा रोमन लिपिको समेत  प्रयोग तथा कोष्ठक चिन्हको पनि प्रयोग  उनका  मूलभूत  भाषा–शिल्पगत प्रवृत्ति र उपलब्धि हुन् ।
३.५   निष्कर्ष
       यस अध्यायमा प्रतिनिधि यात्रासाहित्यकारका रूपमा चयन गरिएका स्रष्टाहरूमध्ये आ–आफ्ना विशेषताका दृष्टिले सबैमा उच्चता छँदै छ तथापि सापेक्षित अध्ययनबाट के  निष्कर्ष निस्कन्छ भने कोही विषयवस्तुगत प्रवृत्तिका दृष्टिले, कोही यात्रागत प्रवृत्तिका दृष्टिले, कोही प्रस्तुतिगत प्रवृत्तिका दृष्टले र कोही भाषा–शैलीगत दृष्टिले सबल र दुर्बल देखिन्छन् ।
 उपर्युक्त चार जना प्रतिनिधि यात्रासाहित्यकारमध्ये विषयवस्तुगत प्रवृत्तिका दृष्टिले बहुविध विषय प्रयोग तथा बहुआयामिक विषय क्षेत्रको प्रयोगका आधारमा लैनसिंह बाङदेलको प्रथम स्थान रहेको छ । यस सन्दर्भमा बाङदेलपछि क्रमशः यादव खरेल, गङ्गाप्रसाद उप्रेती र विजय चालिसे विवेचित भएका छन् ।
 यात्रागत प्रवृत्तिका दृष्टिले यात्राको क्षेत्रगत विस्तार एवं निरन्तरताका आधारमा लैनसिंह बाङदेलको प्रथम स्थान रहेको छ । यस सन्दर्भमा उनीपछि क्रमशः यादव खरेल, गङ्गाप्रसाद उप्रेती र विजय चालिसे विवेचित भएका छन् ।
 त्यस्तै प्रस्तुतिगत प्रवृत्तिका दृष्टिले यादव खरेलको प्रथम स्थान रहेको छ । यस सन्दर्भमा खरेलपछि क्रमशः लैनसिंह बाङदेल, गङ्गाप्रसाद उप्रेती र विजय चालिसे विवेचित भएका छन्  वैचारिक प्रवृत्तिका दृष्टिले लैनसिंह बाङदेलको प्रथम स्थान रहेको छ । उनीपछि क्रमशः गङ्गाप्रसाद उप्रेती, विजय चालिसे र यादव खरेल विवेचित भएका छन् भने भाषा–शैलीगत प्रवृत्तिका दृष्टिले यादव खरेलको प्रथम स्थान रहेको छ । उनीपछि क्रमशः विजय चालिसे, गङ्गाप्रसाद उप्रेती र लैनसिंह बाङदेल विवेचित भएका छन् ।
 यस प्रकार विविध प्रवृत्तिगत दृष्टिले तुलनात्मक आधारमा यी चार जना प्रतिनिधि यात्रासाहित्यकारमध्ये यात्रासाहित्यको गुणात्मकताको निर्वाहका आधारमा क्रमशः लैनसिंह बाङदेल, यादव खरेल, गङ्गाप्रसाद उप्रेती एवं विजय चालिसे विवेचित भएका छन् ।

Monday, August 30, 2010

साङ्घाइका तीन रात

प्रधानमन्त्री मनमोहनको औपचारिक चिन भ्रमणको पहिलो चरण पूरा गरेर दोश्रो चरणमा सांघाइतर्फ लाग्दैथियौं हामी । सामाजवादी बन्द चिनको राजधानी बेइजिङ आफैं नै पढेको र सुनेकाभन्दा कता हो कता खुला र आधुनिकतामा रङ्गिएको पाएको थिएँ मैले । त्यसैले मेरो मनमा तीब्र कौतुहल थियो– नखुलेको बेइजिङ त त्यति खुला छ भने चिनकै खुला अर्थव्यवस्थाको प्रतीक मानिन थालेको सांघाइले कति खुलाएको होला आफूलाई ! त्यही हेर्न बेइजिङलाई विदा गरेर हामी चिनिया औद्योगिक विकास र खुला अर्थव्यवस्थाको प्रतीक सांघाइ तर्फ लाग्दै थियौं ।

ग्रेटहलमा चिनिया जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष ली रुइह्यानसँग भेटवार्ता सकेर प्रधानमन्त्री मनमोहन अधिकारी आइपुग्नुहुनासाथ चिनिया वायुसेनाको विशेष विमान हामीलाई बोकेर सागरमा कावा खान थालिसकेको थियो । चिनिया अधिकारीहरूले विमानमा मीठो खाना मात्र ख्वाएनन्, यात्रा दलका प्रत्येक सदस्यहरूलाई साङ्घाइको होङ्क्विआओ विमानस्थलमा ओराल्नु अगाडि नै संझनाको चिनो उपहार पनि दिए । उपहार देखाउने मात्र होइन, राम्रा र निकै उपयोगी पनि थिए । बेलामौकामा कतै जानुपर्दा काम दिइरहेको त्यही उपहारमध्येको एउटा राम्रो र बलियो हवाइ व्यागमा देख्नासाथ अहिले मेरा आँखा अगडि बेइजिङ र साङ्घाईका संझनाहरू एकपछि अर्को तरेली खेल्दै दृश्यपटमा आउने गर्छन । व्याग मात्रै होइन, व्यागभित्र अरु पनि उपयोगी उपहार थिए– अटुट ृंझनाका कोसेलीहरू । यस्तै उपहार बेइजिङबाट हिँड्नु अघि पनि पाएका थियौं– चिनिया प्रधानमन्त्रीको नामबाट । चिनिया प्रधानमन्त्रीको नाउँबाट पाएका दामी चिनिया शिल्कको टाइ, स्कार्फ र अन्य बस्तुहरूको न्यानोमाथि यो अर्को पनि कोसेली थपिएको थियो, यात्रालाई अविस्मरणीय तुल्याउने क्रममा । त्यो अनुभव पनि आफैंमा एकप्रकारको रमाइलो अनुभव थियो हाम्रालागि ।

विमानस्थलको सामान्य स्वागतसत्कारको कार्यक्रा पछि सोझै साङ्घाइको जिङजियाङ टावर होटेल पुग्यौं हामी । बेइजिङमा सबै ठाउँ देख्न नपाएकोले होकी भन्न सक्दिन, विमानस्थलबाट होटेल पुगुञ्जेलको यात्रामा त्यहाँकाभन्दा अग्ला गगनचुम्बी भवनहरूको उपस्थिति निकै बढी जस्तो लागेको थियो मलाई साङ्घाइमा । कुनै बेला साइकलै साइकलको शहर भनिने बेइजिङ आफै त कारैकारले ढाकिएको देखिएको थियो भने, सांघाइमा त साइकललाई कारले उछिन्ने नै भयो । सुविधानजक व्यापारिक केन्द्रमा रहेको ४३ तले त्यो पाँचतारे होटेलको तीसौं तलाको ३०२२ नम्बरको भव्य कोठा मेरो प्रतीक्षामा थियो, सांघाइमा रहुञ्जेल दुइरातको आश्रय दिन ! होटेलकासबैभन्दा माथ्लो दुई तलामा रहेको ब्लु हेभेन घुम्ने रेष्टुरेण्टबाट सङ्घाइलाई सबै कोणमा नियाल्दै खाना खानुको आनन्दै अर्को थियो ।

चिनको सबैभन्दा लामो नदी याङ्त्से चिनको यही पूर्वीतटीय नगर सांघाइमा आएर समुद्रसँग एकाकार भएको थियो । कूल क्षेत्रफल १७ हजार ९सय वर्गकिलोमिटर भएको बेइजिङको तुलनामा एकतिहाइभन्दा कम अर्थात ६३४० वर्ग किलोमिटर क्षेत्रफलभन्दा केही बढी ठाउँ ओगटेको सांघाइंभित्रै चिनको तेश्रो ठूलो टापु छोङमिङ पनि रहेको थियो । याङ्त्से मात्र होइन स्याङ्सु प्रान्तको ताइहु तालबाट बग्दै आएका प्रमुख दुई नदी ह्यवाङपाओ र उसोङले पनि यसका भित्री भागहरूसँग सम्पर्क राख्नमा सघाएका थिए, सांघाइको समृद्धिमा सहयोग गरिहेका थिए । लामो ऐतिहासिक परम्परा रहेको विश्वकै अति घनामध्ये एउटा महानगर सांघाईको प्रशासनिक क्षेत्र १३औं शताब्दीको मध्यतिरै स्थापना भइसकेको थियो । त्यतिखेरबाटै यसको व्यापारिक बन्दरगाहका रुपमा विकासत हुँदै गयो । सोह्रौं शताब्दीको सुरुमा चिनकै ठूलो कपडा उद्योगका रुपमा प्रतिष्ठा पाइसकेको साङ्घाइ अहिले चिनकै ठूलो खुला नगर बनेको छ । साङ्घाइले आफूलाई महत्वपूर्ण औद्योगिक, वित्तीय, वाणिज्य तथा सूचना र प्रविधि केन्द्रको रुपमा पनि स्थापित गरेको छ । विश्वकै १० ठूलामध्येको एउटा विशाल बन्दरगाह नगर पनि हो साङ्घाइ !

यही गौवमय नगरका फुदोङ क्षेत्र, उर्जा, स्टिल र यस्तै केही विशाल फ्याक्टरी, प्रख्यात पुल र टावरहरूको अवलोकन हाम्रा औपचारिक कार्यक्रम अन्तर्गत पर्दथे । त्यसैले दिउँसोको खाना होटेलमैं खाएर हामी लागेका थियौं नापु पुल हुँदै फुदोङनयाँ क्षेत्रतर्फ । सन् १९९०को दशकमा चिनले खुला उदार आर्थिक नीति अवलम्वन गरेपछि एक दशकमैं आफ्नो स्वरुप परिवर्तन ग¥यो अर्थिक विकासमा विश्वलाई चकित तुल्याउँदै फड्को मा¥यो । भनिन्छ अहिले यसको वार्षिक विकास दर लगभग नौप्रतिशत रहेकोछ, जुन विश्वमैं सर्वाधिक मानिन्छ । सांघाई यो विकासको जीवन्त प्रतीक बनेकोछ । साङ्घाई आज विश्वकै अग्रणी औद्योगिक तथा व्यापारिक केन्द्रका रुपमा स्थापित भएको छ । लगभग ५२३ वर्गकिलोमिटरमा फैलिएको पूर्वीसाङ्घाईको न्यु फुदोङ क्षेत्रअन्तर्गत रहेको यो छिन्छिआओ निर्यात प्रशोधन केन्द्र (व्ष्लत्रष्बय भ्हउयचत एचयअभककष्लन श्यलभ० खुला अर्थव्यस्थाप्रतिको चिनिया यात्राको प्रतीकस्थल झैं लाग्थ्यो । सो क्षेत्र विकास कम्पनीका महाप्रबन्धक झु सियाओेमिङले उक्त क्षेका बारेमा विस्तृत जानकारी दिएका थिए हामीलाई । विश्वकै आर्थिक, व्यापारिक र वित्तीय केन्द्रका रुपमा यो क्षेत्रलाई विकसित तुल्याउने चिनिया लक्ष्य सहित सन् १९९०मा स्थापना गरिएको यो फुदोङ नयाँ क्षेत्र विकास कम्पनी आफ्नो लक्ष्यमा धेरै अगाडि बढिसकेको देखिन्थ्यो पनि । त्यस क्षेत्रभित्रका केही उद्योग तथा प्रशोधन केन्द्रहरू घुमेपछि हामी एसियामै कहलिएको विशाल याङ्पु सस्पेन्सन ब्रिज हेर्न केही समय अलमलिएका थियौं ।

वाङफो नदीको पूर्वी किनारामा अवस्थित फुदोङ औद्योगिक क्षत्रकैभित्रै पर्ने ४६८ मिटर अग्लो साङ्घाइ ओरियण्टल पर्ल टावर सांघाइको गौरवका रुपमा आकाश भेट्ने होड गरिरहे घmैं लाग्थ्यो । विश्वमै तेस्रो अग्लो मानिने यो टिभी टावर अग्लो मिनार मात्र थिएन, आफैंमा सिङ्गो र पूर्ण संसार थियो यो । साइन्स फेन्टासी वल्र्डदेखि विशाल सभा कक्ष, घुम्ने रेष्टुराँ, वजार, पसल र डिस्को हल; के मात्रै थिएन त्यहाँ । टावरको ६३ मिटर माथिको उचाइमा उभिएर चारैतिर घुम्दै साङ्घाइलाई संपूर्णमा ाियाल्नु आफैंमा एउटा अभूतपूर्व अवसर थियो, सुखद् अनुभव थियो ।

सांघाइको ग्रामीण तथा शहरी विकास र प्राचिन जनजीवनको इतिहासलाई जीवन्त रुपमा आँखा अगाडि ल्याइरहेको थियो टिभी टावरको भुइँतलामा रहेको संग्रहालयले। । १०हजार वर्ग मिटरमा फैलिएको यो प्रदर्शनीस्थलले सांघाइको इतिहास, संस्कृति र कलापरम्परालाई मात्र जीवन्त पारेको थिएन, चिनको ग्रामीण तथा आधुनिक शहरी जीवनलाई समेत जीवन्त रुपमा सुरक्षित राखेको थियो । चिनका सबै क्षेत्र र भागका परम्परागत जीवनशैली देख्न पाइन्थ्यो त्यहाँ । पराले छाप्रामा बसेका चिनिया र पसलमा किनबेच गरिरहेका आमनागरिकहरूको झाँकीले हामी कतै चिनकै कुनै पुरानो गाउँमा त छैनौं भन्ने भ्रम पारिरहेका थिए । त्यो देख्दा लाग्थ्यो– हामी आफैं अहिले चिनिया गाउँको प्राचिन जीवनशैलीका प्रत्यक्ष द्रष्टा हौं ! उत्तम परिधानमा सुसज्जित जोडीहरू, बारमा नृत्य गरिरहेका संभ्रान्त चिनिया नागरिकहरू– सबै झाँकीहरू झाँकी नभएर यथार्थको आभाष दिन सफल थिए ।

सन् १९३०को दशकमा चिनमा आधुनीकिकरण प्रारम्भ शुरु भयो । आधुनिकतासँगै पुरानो संस्कृति र जीवन शैली लोप हुने खतरा स्वभाविक हो । चिनमा पनि त्यो संभावना देखियो । आफ्नो परम्परागत जीवनशैली, कला संस्कृति र स्वामिानमाथि गौरव गर्नेहरू ती परम्परालाई सकभर व्यवहारमैं जीवित राख्ने प्रयास गर्छन, नभए स्मारक, संग्रहालय आदिका रुपमा भविपुस्ताका लागि सुरक्षित राख्ने प्रयत्न गर्छन् । यही प्रत्नको प्रतिफल थियो यो सङ्ग्रहालय । सर्वसाधारणका लागि भने भर्खरै मात्र खुला गरिएको थियो यो सङ्ग्रहालय । हरेक दिन १० हजार मानिस आउँछन् रे यो संग्रहालय हेर्न । ती मध्ये ८० प्रतिशत दर्शक चिनियाहरू नै हुन्छन् रे । त्यो देख्दा लाग्थ्यो आफ्नो परम्परागत संस्कृतिको जगेर्नामा पनि पछि छैन चिन, जसबाट हामीले सिकेदेखि सिक्नु पर्ने कुरा असंख्य छन् । हामीकहाँ पनि कहिलेकाहीँ खबरहरू आउने गर्छन– कुन्नि कहाँ जनतीय संग्रहालय खुल्दै छरे, अनि कता परम्परागत बाजाहरूको संग्रहालय बन्दै छ रे ! तर राज्यबाट खासै ध्यान नदिइने यस्ता कुराहरू प्राय समाचामैं सीमित हेने गर्छन, यथार्थमा अनुवाद भएका देखिँदैनन् । यो हाम्रो विडम्बना नै हो ।

सांघाइकै एउटा भाग– बण्ड ! विश्वभरका मुस्लिम, एसियन, युरोपियन र अन्य संरचनाहरू रहेका छन् रे त्यही बण्डमा । यात्रीहरू ह्वाङ्पु नदीको किनारामा रहेको त्यही बण्डको फराकिलो पैदलमार्गमा बहिरहेको मन्दमन्द शीतल हावामा टहलिंदै स्वर्गीय आनन्दको अनुभव लिइरहेका देखिन्थे । रातको समयमा रङ्गीविरङ्गी प्रकाश फालिरहेका त्यहाँका बत्तीहिरू बण्डलाईनै रङ्गिन तुल्याइरहेका हुन्छन् रे, अविस्मरणीय र रोमाञ्चक बनाइ दिन्छन् रे त्यो ठाउँलाई ।

आधुनिक चिनका राष्ट्रपिता सनयात सेनको बारेमा मैले धेरै अगाडि पढेको थिएँ । बाल पाठकका लागि उनको जीवनी पनि लेखेको थिएँ धेरै अगाडि बालक पत्रिकामा । तिनै सनयात सेन १९१८ देखि १९२४सम्मको छ वर्षसमम बसेका घर पनि सुरक्षित राखेको छ सांघाइले स्मारकको रुपमा । सरकार आफैंले त्यो घरलाई उनको मृत्युपश्चात राज्यकै सांस्कृतिक निधिका रुपमा स्मारक बनाएर सुरक्षित ग¥यो । त्यो देख्दा मलाई आफ्ना राष्ट्रपुरुषहरूको संझनाले कटक्क चिमोट्यो– मैले पनि त्यसरी नै जीवन्त राख्नु राख्नुपथ्र्यो मेरा पृथ्वानारायण शाह, मेरा भानुभक्त, मेरा लेखनाथ, सम, देवकोटा र अरु पनि राष्ट्रिय गौरवहरूलाई । जे होस्, बाहिरैबाट भए पनि ती महान् प्रतिभाको त्यो पुरानो निवास हेर्ने अवसर विर्सन नसकिने क्षणहरूमध्येकै एउटा थियो मेरा लागि । त्यस्तै अर्को अवसर थियो–साहित्यकार लु सुनको स्मारक दर्शन ! ती महान् लेखक साङ्घाइ आउँदा भाडामा लगभग १० वर्ष बिताएका घर र क्षेत्रलाई नै स्मृति हलको रुपमा सुरक्षित राखेको छ सांघाइले । सन् १९३६ अक्टोबर १९ को साँझ पाँच बजेर पच्चीस मिनेट जाँदा त्यही घरमा भएको थियो रे उनको मुत्य । ती महान् साहित्यकारको त्यो पवित्र तीर्थस्थल टाढैबाट भए पनि देख्ने अवसर मेरा लागि फेरि खोजेर नपाइने अमूल्य अवसर थियो । त्यसबाट मैले अनौठो तृप्तिको अनुभव गरेको थिएँ त्यतिखेर । उनको शाओशिङको मूल घरकै नमूनामा बनाइएको त्यो स्मारक भवनमा लु सुनका पाण्डुलिपि, उनले छाडेका बस्तुहरू, र साहित्य का साथै उनको जीवनवृत्त आदि सुरक्षित राखिएका छन्– उनको मृत्युको समयसूचक पाँच पच्चीस बजाइरहेका घडी सहित ।

धेरै थिए सांघाइमा हेर्नुपर्ने दर्शनीय स्थलहरू । हेर्नका लागि समय भने निकै थोरै थियो हामीसँग । लोङ्घुवा रोडको लोङ्घुवा बुद्धमन्दिर र इँट र काठबाट बनाइएको त्यस अगाडिको सातले प्यागोडा तिनैमध्येको एउटा थियो । धार्मिक दृष्टिलेमात्र होइन, पुरातत्व र वास्तुकलाका दृष्टिले पनि चिनकै प्राचिन सांस्कृतिक निधि मानिन्थ्यो सन् २५२ बनेका त्यो प्यागोडा ! चिनकै प्रमुखमध्यको उउटा मानिने जेड बुद्धमन्दिर अर्को त्यस्तै महत्वपूर्ण सांस्कृतिक निधि थियो सांधाइको । सन् १८८२मा बनेको त्यो मन्दिरले जेड पत्थरबाट बनेका दुई बुद्धमूर्तिबाटै आफ्नो नाम पाएको थियो– जेडमन्दिर । हेनान रोडको सांघाइ म्युजियम पनि चिनकै ठूलोमध्येको एउटा अलासंग्रहालय थियो । भनिन्छ यहाँ धातु र माटोका कलाकृतिकलाकृतिका साथै सबै कालका क्यालीग्राफी र पेण्टिङहरू लगायत प्राचिन चिनिया स्कप्चरहरूको १ लाख १२ हजार वटा बस्तु राखिएका छन् । त्यो हेर्ने अवसर भने थिएन हामीसँग ।

साँझमा हामी बसेकै होटेलको मङ्गोलिया हलमा प्रधानमन्त्री मनमोहन अधिकारीको सम्मानका आयोजित रात्रिभोज थियो– सांघाइका मेयर स्यु खाङ्दीले दिनुभएको । त्यही उनको शिष्टाचार भेट र रात्रिभोजका अवसरमा मेयरले दिएका स्वागतभाषणले नेपालप्रति चिनको सद्भाव मात्र होइन चिनको विकासप्रयास र त्यो विकासक्रममा आफ्नो पन गुम्लाभन्ने कुरामा रहेको अत्यधिक सचेतता पनि स्पष्ट अनुभव भएको थियो । रात्रिभोजका अवसरमा स्वगत गर्दा मेयरले भनेका थिए– क्रान्तिपश्चात चिनमा धेरै सकारात्मक परिवर्तन भएका छन् र चिनका नेता दङ सियाओ फङको नया नीतिअन्तर्गत चिनले गरेको तीब्र विकास देखेर पश्चिमी मुलुकहरू समेत आश्चर्यचकित छन् । यो चिनको मूलभूत सिद्धान्त समाजवाद अन्तर्गत चिनिया चरित्र अनुरुपको खुला पन तथा विकासको गतिलाई समेट्ने मौलिकतापूर्ण नितिगत कार्यक्रमको सफलता हो । हामी विकास चाहन्छौं, तर त्यसको मूल्यका रुपमा हामी आफ्नो नैतिक स्तर र सभ्यताका मूल्यमान्यतालाई गुमाउन चाहँदैनौं । सामाजिक विकास र खुला अर्थव्यवस्थालाई सहकारी भूमिका खेल्न सक्ने अवस्थामा मात्र विकसित गर्न चाहन्छौं हामी !

रात्रिभोजपश्चात सांघाइको दृश्यावलोकन र सांघाइ फ्रेण्डसिप स्टोरमा किनमेलको कार्यक्रम थियो । चिनिया सिल्क र छालाका सामानहरूका साथै अन्य सामान किनमेलका लागि प्रसिद्ध यो स्टोर निकै सस्तो पनि लागेको थियो मलाई । किन्न पर्ने धेरै कुरा थिए, किन्ने चाहना पनि थियो । तर वाधा थियो भाषाको । प्रधानमन्त्रीकालागि त दोभाषे तम्तयार थिए, हामीलाई त्यो सुविधा उपलब्ध हुने कुरै भएन । खुला अर्थव्यवस्थामा प्रवेश गरेर अमेरिकी ग्ल्यामरप्रति आकर्षित हुनथालेका चिनिया किशोर किशोरीहरूमा अङ्ग्रेजी भाषा सिक्ने लहर चलेको थियो त्यतिबेलाको चिनमा । अङ्ग्रेजी सिकाउने भाषाशिक्षण केन्द्रहरूको निकै व्यापार चल्दै थियो रे चिनमा । तर यो भर्खरै सुरुको अवस्था थियो, त्यसैले हरेक पसलमा अङ्ग्रेजी बुझने मानिस थिएनन् । हामी चिनिया बुझ्दैनथ्यौं । त्यही समस्याले आआफ्ना रुचि र आवश्यकताका सामान किन्न समस्या परेको थियो हामीलाई । तै पनि दुईतीनवटा चिनिया सिल्क सारी र एउटा कोट र एउटा छालाको ज्याकेट भने किनेको थिएँ मैले सांघाइमा । मेरो लागि ज्याकेट छानिदिने काममा भने सांसद् अर्जुन नर्सिह केसीबाट सहयोग पाएको थिएँ । हरेक हिउँदमा मलाई त्यो छालाको ज्याकेटले चिन र केसीजीको सहयोग सम्झाइदिने गर्छ ।

भोलिपल्ट बिहान बाओसान आाइरन एण्ड स्टिल फ्याक्ट्रीको भ्रमण मेरालागि खासै रुचिको विषय नभए पनि त्यसले चिनको विकासको एउटा रामै्र झल्को दिएको थियो । त्यसपछिका दुई कार्यक्र भने मेरालागि रुचिकर र स्मरणीय बनेका थिए । पहिलो थियो याङ्त्सेको नान्सीस्थित गड टेम्पलसँगै संरक्षित यु गार्डेन अर्थात युउआन निकुञ्ज । त्यो निकुञ्जलाई मिङ र क्विङ बंशका बादशाहहरूका समयको निकुञ्जको संरचना र सजावट शैलीलाई नै जीवन्त रुपमा राखिएको बताइएको थियो हामीलाई । सभ्यता सौन्दर्यसँग सम्बन्धित छ र सभ्यजातिको परिचय यस्तै सौन्दर्यसूचक पार्क बगाँचा, वनउपवन र मानिकालागि नभैनहुने खुला ठाउँको प्राचूर्यले नै दिन्छ सायद् । मैले घुम्ने अवसर पाएका मध्ये जापान र हङकङ मात्र होइन मेरै छिमेकी भारतका नयादिल्ली लगायतका शहरहरूमा समेत जता गए पनि त्यस्ता पार्क र खुला ठाउँहरू भेटेको थिएँ । तर मेरो देश यसको अपवाद थियो– पुर्खाले जोगाएर राखेका सार्वजनिक खुला ठाउँलाई हामीले त्यस्तै पार्क, बगौचा र उद्यानका रुपमा विकसित गर्न सकेनौं । बरु निहति लाभ लिएर निजी बनाउन सहयो ग¥यो मेरो प्रशासनले । राजधानीबीच देखिने टुडिखेल समेत चौटालाम्टा भयो, कुनै चौटा कसले लुछे, कुनै कसले । त्यसरी खुला सास लिन नपाएर पनि बाँचिरहेको छ मेरो राजधानी, त्यसबाहिरको त कुरै भएन । सांघाइको यो युउआन निकुञ्ज मात्र नभएर कहिँको पनि सभ्यतासूचक यस्ता उद्यमानहरू देखेपछि हीनताबोधले थिच्ने गर्छ मलाई । तर यही हिनताबोधमा बाँचनु मेरो नियति नै हो, धेरै कुरामा यसरी नै हीनताबोध गर्नु परेको छ मैले कुनै विदेशीसँग आमनेसामने हुनुपर्दा !

त्योभन्दा बढी आनन्द आएको थियो मलाई साङ्घाइनगरसँगै जोडिएको एउटा एउटा चिनिया गाउँ छि–छोङ् पृुग्न पाउँदा ! हामीजस्ता निर्धारित कार्यक्रममा सीमित समय विदेश जाने अवसर पाएकाहरूका लागि कुनै पनि देशका ग्रामीण जनजीवजन देख्ने अवसर कमै मात्र मिल्ने गर्छ । त्यस्तै कमै मात्र पाइने मध्येको एउटा अवसर थियो त्यो मेरालागि । भर्खरै सामूहिक सम्पत्तिको उपभोगबाट निजी संम्पत्तिको उपभोग गर्न प्रयोगमा रहेको यो एउटा चिनिया गाउँ, गाउँजस्तै लाग्दैनथ्यो । मेरो शहरको उन्नत भनिने टोल–बस्तीमा नपाइने सुविधा भोगिरहेबको देखिन्थ्यो त्यो सानो चिनिया गाउँ । सम्पन्न देखिन्थ्यो त्यो– के सबै चिनिया गाउँहरू यत्तिकै सम्पन्न र सुविधाजनक होलान् ? त्यो गाउँ देखेपछि मेरो मनमा उठेको स्वाभाविक प्रश्न थियो त्यो । उत्तर पाउन कठिन थियो, नभए पनि यस्ता कुरा उनीहरू एउटा विदेशी पाहुनाका अगाडि निश्चय नै भन्न चाहँदैनथे । त्यसैले प्रश्न अनुत्तरित नै रह्यो । तर पनि चिनले गरेको समानुपातिक विकासलाई हेर्दा परिमाण र गुणस्तरमा केही कमोबेस भएपनि मेरोजस्तै विपन्न छैनन् होला चिनिया गाउँहरू भन्ने अनुमान गरेरै मैले आफ्नो चित्त बुझाएको थिएँ त्यति खेर । साँचिच नै त्यो नमूना गाउँ गाउँजस्तै लागेको थिएन मलाई । गाउँ भए पनि सबै सुविधाहरु उपलब्ध थिए त्यहाँ– विद्यालय थियो, स्वाथ्थ्य केन्द्र थियो, सामुदायिक सांस्कृतकि स्थल थियो, इन्डोर र आउटडोर खेलकूद स्थल थिए र थिए क्याफे, र्ष्टुरेण्ट सबै आधुनिक सुविधाका कुराहरू । मेरो शहरले पनि पाउन सकेको छैन, ती सबै कुरा । लगभग तीनसय परिवारको बस्ती त्यो छि–छोङ् गाउँमा प्रत्येक परिवारका लागि एकैखाले सुविधाजनक दुईतले घर उपलब्ध थिए । हरेक घरमा आधुनिक स्नानगृह, शौचालय, र खानाखाने कोठासहितका भान्छा उपलब्ध थिए । सबै मिलाएर छःसात कोठा थिए देखिन्थे ती प्रत्येक घरहरूमा । पछि मित्र प्रमोद प्रधानको चिनसम्बन्धी एउटा संस्मरण पढेर फेरि एकपटक सम्झन पुगोको थिएँ मैले त्यो सुन्दर छि–छोङ्लाई ! हामीभन्दा केही वर्ष पछि त्यही गाउँमा पुग्नुभएका मित्र प्रमोदले प्रधानले त्यहाँको एउटा सामुदायिक बैठक कक्षमा मनमोहन अधिकारीलाई नेपालका प्रधानमन्त्रीका रुपमा चिनाइएको उहाँको फोटो टाँगिएको देख्नु भएको उल्लेख गर्नुभएको थियो आफ्नो संस्मरणमा । निश्चय नै त्यो फोटो हामी त्यही गाउँमा छँदाको थियो । उहाँको त्यो संस्मरण पढेपछि नै यति पछि चिन यात्रालाई आफ्नो मनको चित्रपटमा एकएक गरी फुकाउने जाँगर चलेको थियो मलाई !

यसोउसो गर्दैमा सांघाइमा दुई दिन वितिसकेछ, पत्तै नभई । भोलिपल्ट स्वदेश फर्कने क्रममा हङकङप्रस्थान गर्नु थियो सांघाइबाटै हामीलाई । मङ्गोलिया जाने प्रधानमन्त्रीको भ्रमण टोली फेरि बेइजिङभएर त्यसतर्फ लाग्ने कार्यक्रम भएकोले आजै बेइजिङ प्र्रथान गर्दै थियो । उहाँहरूलाई विमानस्थलमा विदा गरेर हामी मङ्गोलिया जान नपाउनेहरू भोलि विहानको प्रतीक्षामा पर्केका थियौं, त्यही जिङ्जियाङ टावर होटेल । भोलिपल्ट प्रधानमन्त्रीको टोली १०.३५मा मङ्गोलियाको राजधानी उलान बाटोरका लगि उड्दै थियो भने त्यसको एक घण्टा पछि हामीले सांंघाइबाटै चिनसँग दिा लिएका थियौं ।

२०६१ जेठ १६, आरुबारी

गोरखापत्र शनिवासरीय, १२ असार २०६१
बेइजिङ, मनमोहन र नमेटिएका डोबहरू



रेशम, पङ्खा, कागज र मुद्रणका आविष्कारक महान् छिमेकी चिन छिमेकमैं भएर पनि मेरालागि अगम्य थियो । अर्कातिर लुसुन, सनयात सेन र युगपुरुष माओको देश पुग्ने सपना भने मनभरि तैरिइरहेका थिए । दूतावास धाउने र रिझाउन सक्नेका लागि त्यो कुनै कठिन कुरा थिएन । वर्षको एकपल्ट सिन्ह्वा र दूतावासको निम्तोमा आउजाउ गर्ने पत्रकारहरू पनि हाम्रो सामु नै थिए । त्यो बाटो मेरालागि परिचित र अभीष्ट बाटो थिएन, त्यसैले मेरा लागि चिन भ्रमण सुदूरको सपना मैंै सीमित थियो ।

तर त्यस्तैमा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको छिमेकी दुई मुलुक भारत र चीनको औपचारिक राजकीय भ्रमण निर्धारण भयो । पत्रकारको टोलीमा गोरखापत्रबाट म र युवनाथ लम्साल समावेश गरियौं । प्रधानमन्त्रीको भ्रमण टोलीमामा भारत छँदै चिनका लागि कूटनीतिक राहदानी र प्रवेशाज्ञा बनाउन तुरुन्तै नागरिकताको प्रतिलिपि उपलब्ध गराउनू भनी काठमाठौंबाट आएको खबरले आफ्नो त्यो लामाने सपना पूरा हुने आशा पलाएको थियो । त्यसले ममा हर्षको लहर फैलिनु स्वाभाविक थियो ।

२०५२ सालको पहिलो दिन अर्थात नयावर्षको राति नौ बजेतिर भारतभ्रमणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको पर्सिपल्टै चिनकालागि प्रस्थान गर्ने कार्यक्रम तय थियो । पर्सिपल्टै चिनकालागि हिड्नु पर्नें भएकोले एकै दिनमा सबै तयारी गर्नु कम समस्या थिएन । त्यसमाथि त्योदिन शनिवार परेकोले झनै समस्या थियो । तर शनिवारको विदा भएपनि परराष्ट्र मन्त्रालय र चिनिया दूतावास खोलेर सहयोग गरेकाले सोचेजति समस्या भने भएको थिएन । सुनाइ र पढाइमा मात्रै सीमित त्यो महान् साम्यवादी मुलुकलाई आफ्नै आँखाले हेर्न र आफ्नै पाइलाले छुन पाउने खुसीका अगाडि त्यो हतारो र दौडधूप केही थिएन । थोरै दिनमा गर्नुपरेको तयारीको त्यही हडबडीकै बीच वैशाख तीन गते हामीले प्रधानमन्त्री अधिकारीको भ्रमणदलको सदस्यका रुपमा काठमाणौं छाडेर हङकङको कोलुनस्थित नाथन रोडको इम्पेरियल होटेलमा रात विसायौं ।

वैशाख ४ गते हङकङबाट ड्रागन एयर को विमानले स्थानीय समय अनुसार एघार बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्दा प्रधानमन्त्रीको स्वागतका लागि चिनिया कोइलामन्त्री वाङ सेन हाव र सहायक विदेशमन्त्री दाङयिङ फङ विमानस्थलमैं उपस्थित हुनुहुन्थ्यो । साथमा हुनुहन्थ्यो, दुईपक्षीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अगाडि नै चिन पुग्नुभएका अर्थमन्त्री भरतमोहन अधिकारीे र चिनका लागि नोपाली राजदूत तुलसीलाल अमात्य । सामान्य औपचारिक स्वागत पश्चात हाम्रो यात्रा टोलीको गन्तव्य थियो–दिआयोउताइ स्टेट गेस्ट हाउस अर्थात त्याओ यु थाई राजकीय अतिथिशाला । बाह्रवटा विशेष सवारीको त्यो ताँती बेइजिङको फराकिलो सफा सडकमा निर्वाध अघि बढिरहेको थियो । सडक–पेटीमा हिँडिरहेका बेइजिङबासीहरू जहाँछन् त्यहीँ टक्क रोकिएर सम्मान्य अतिथिको स्वगतमा आआफ्ना हात हल्लाइरहेका थिए । त्यहाँ न त हाम्रोमाजस्तो घण्टौं अगाडिदेखि सडक रोकेर अस्तव्यस्ताको सिर्जना गरिएको देखिन्थ्यो, न कुनै आतुरता देखिन्थ्यो ! सबै कुरा स्वाभाविक थिए, सामान्य र स्वतःस्फूर्तता बाहेक औपचारिकता र देखावटीपनको कतै कुनै गन्ध थिएन । सडक छेउमा ठाउँठाउँमा चिनका राष्ट्रिय ध्वजासँगै मेरो आफ्नै सूर्यचन्द्र अङ्कित रातो राष्ट्रिय झण्डा फर्फराइरहेका थिए । त्यो विदेशी भूमिमा त्यसरी गर्वोननत फहराइरहेको आफ्नो प्रिय सूर्यचन्द्राङ्कित राष्ट्रिय ध्वजा देख्दामात्रै पनि मनमा अनौठो आनन्द लाग्दोरहेछ, त्यस्तै अनुभव भएको थियो मलाई ।

हाम्रो सवारीको ताँती अतिथिशालातर्फ गतिमान थियो । माइलौं फैलिएको अत्याधुनिक शैलीका गगनचुम्बी भवनहरूको श्रृङ्खला र सवारी साधनहरूद्वारा खचाखच भरिएका फराकिला सुकिला–सफा सडक– यही थियो मेरो बेइजिङ देखेपछिको पहिलो प्रतिक्रिया । त्यति भीड र व्यस्तताका बीच पनि आफूलाई अति नम्र, इमान्दार र सौहाद्र्र देखाउने चिनीयाहरूमा हामीमाजस्तो अनुशासन भत्काएर त्यसको सीमाबाहिर जाने छटपटी कतै देखिँदैनथ्यो । सुनेको थिएँ, वैयक्तिक सम्बन्ध अर्थात उनीहरूको भाषामा ग्वाङ्सी विना कसैसँग निकटसम्बन्ध राख्न नचाहने चिनियाहरू सामान्यतया सोझै नाइँ वा हुँदैन भन्दैनन् रे ! तर उनीहरूको शिष्ट अस्वीकृति नै यति दृढ र दरिलो हुन्छ, त्यो सुनेपछि कसैले पनि दोहो¥याएर आग्रह गर्नसक्दैन ।

बेइजिङको सान लि हे लुरोडको पूर्वी प्रवेशद्वारबाट अतिथिगृह भित्र पस्नासाथ अर्कै संसारमा पुगेझैं लागेथ्योे मलाई– शान्त, सुन्दर, मनोरम । अतिथिशालाका विभिन्न शैलीका ठूलासाना १५वटा भिल्ला अर्थात नगरबाहिरका शान्त आवासले मात्र होइन, मनोरम बगँैचा, ताल–तलाउ र जीववनस्पतिका मोहक उपस्थिति देख्दा त्यो सिङ्गो क्षेत्र नै कल्पनाको स्वर्ग झैं भान हुन्थ्यो । सन् १९५९देखि मित्रराष्ट्रबाट आउने राष्ट्रप्रमुख, सरकारप्रमुख, तथा अन्य सम्मान्य अतिथिहरूका लागि अतिथिशालाको रुपमा प्रयोग हुन थालेको यो पुरानो सुन्दर आवासले आफ्नो पुरानो प्रभाव र रुप पनि त्यागेको छैन । क्विङ बंशका बादशाह क्विङ लङको लगभग ८०० वर्ष पुरानो यो शाही निवासलाई मूलतः उही रुपमा राखिएको छ रे । अहिले भने सम्मान्य अतिथिमात्र नभएर विष्ोष पर्यटक टोलीका लागि पनि उपलब्ध गराइन थालिएको रहेछ यो आतिथि सदन । सुन्दर वाटिकामा तपस्यारत वृद्ध तपस्वी जस्तै देखिन्थ्यो– सुन्दर वार्दलीले घेरिएको याङयुआन हलसहित देवदार र बाँसका हरियालीपूर्ण शितल छहारीमार्गमा थकाइ मारेर बसिरहेको क्विङलु चोक । सुदूर पश्चिमी पहाडबाट बगेर यु उआन तलाउहुँदै आइपुगेको छहरे पानीले सबै भिल्ला र घरहरूलाई फनक्कै फन्को मारिरहेका थिए । बोटरिुवा र तिनमा पुष्पितपल्लवित सुवासित फूल र तिनका डालीडालीका नाच्दै स्वागत गानमा मग्न चराचुरुङ्गिको चिर्विरले सिङ्गै वातावरणलाई सङ्गीतमय तुल्याइरहेका थिए । ती सबै देख्दा लाग्थ्यो, हाम्रा धर्मग्रन्थमा सिपलाएर बयान गरिएको इन्द्रको कानवनभन्दा रत्तिभर कम छैन यो अतिथिशालाको सिङ्गो उपवन । अतिथिशाला परिसरभित्रै क्लब, उपहार पसल, हुलाक, विदेशी मुद्रा सटही काउण्टर, ट्याक्सी बिसौनी र सूचना तथा सञ्चारका आवश्यक सबै सुविधा उपलब्ध थिए । निकै पर पश्चिम पहाडको मिया यु युआन तालदेखि ल्याइएको पानीद्वारा बनाइएका झरना, फोहरा र पुष्पसरोबर कुनै पनि कृत्रिम लाग्दैनथे । यो नै यहाँको धेरैमध्येको एउटा विशेषता हो उनीहरू यसै भन्थे । देवदारु र अन्य विभिन्न वनस्पतिका शीतल छहारी र तिनै छहारीमा लुकेर चिर्विराइरहेका चरचुरुङ्गी– साँच्चि नै बडो आनन्दमय थियो त्यो वातावरण ।

सबैभन्दा ठूलो १८ नम्बरको भिल्लामा प्रधानमन्त्री मनमोहन अधिकारी र उहाँकी श्रीमती साधना अधिकारीका साथै अङ्गरक्षक–सुरक्षाकर्मी, शिष्टाचारमहापाल र अशोक राई, ईश्वर पोख्रेल, मुख्यसचिव ईश्वरप्रसाद उपाध्याय, राजदूत तुलसीलाल अमात्य, डा. अरुण सायमी आदिलाई राखिएको थियो । त्यसैको पश्चिम पटिको ८ नं भिल्लामा हामी थियौं– भरतमोहन अधिकारी, सांसद् शरद्सिंह भण्डारी, खोमारी राय, वामदेव गौतम, काशीनाथ अधिकारी, विष्णु पौडेल, गोल्छे सार्की, तथा श्री ५को सरकारका अधिकारी र व्यापारीहरूका साथै हामी पत्रकार !

अतिथशालाको खानपिन र केही छिनको विश्राम पछि पहिलो कार्यक्रम थियो प्रधानमन्त्रीद्वारा छिङ्ह ऊनी कार्खानाको निरीक्षण । सन् १९०८मा स्थापना भएको त्यो कार्खानाले विश्वका ६०भन्दा बढी मुलुकमा आफ्नो उत्पादन निर्यात गर्छ रे । मेरो आफ्नै देशमा पनि कोदारीहुँदै चारैतिरका बजारमा फिँजारिएका थिए ती सामान ! त्यसैले ती उनी सामान र चिनका अनेकौं उत्पादन मेरालागि नौला थिएनन् । हिजो एकतर्फी भारतीय बस्तुकोमात्र ओइरोहुँदा तिर्नुपर्ने एकाधिकारपूर्ण चर्को मूल्य र वञ्चित रहनु पर्ने छनौटको अवसरबाट पनि आम नेपाली उपभोक्ताको बोझ हलुको बनाइरहेका थिए ती चिनिया उत्पादनले । म आफू किलो बनाउन नसक्ने लाचार नेपालीलाई सियोदेखि कम्प्युटरसम्म, कपडादेखि सौन्दर्य प्रसाधनसम्म सस्तो मोलमा उपलब्ध गराइरहेको थियो चिनिया बजारले ।

ऊनी कार्खाना र त्यस्तै एकदुई ठाउँको अवलोकन भन्दा अरु खासै कार्यक्रम थिएन त्यो दिन । भोलिपल्ट दुईदेशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर गर्ने आपसी सहयोग–सहमतिका विषयलाई अन्तिम रुप दिन दुई देशका मन्त्रीस्तरीय बैठक सम्पन्न भैसकेको थियो । हामी सँग केही समय खाली थियो, कोही त्यो समयलाई आफूखुसी घुमफिरमा उपयोग गर्दै थिए, कोही आराम र गफगाफमा । हामीलाई भने घुम्नुभन्दा बढी आवश्यक थियो आआफ्ना माध्यममा समाचार पठाउनु । त्यसैले टेलिभिजन र रेडियोका साथीहरू भूउपग्रहीय सम्पर्कको खोजीमा चाइनिज टेलिभिजन स्टेसन, दूरसञ्चार र सिन्ह्वा समाचार संस्था तर्फ लागे, हामी छापामाध्यमका साथीहरू दिनभरको समाचार लेखेर फ्याक्स गर्नेतिर व्यस्त भयौं । काठमाणौंको समय यहाँकोभन्दा तीनचार घण्टा अगाडि भएकोले समय छोप्न अर्थात डेटलाईन भेट्न भने त्यति चटारो परेन ।

त्यो साँझ बेइजिङको प्रसिद्ध परम्परागत रेष्टुराँ हेपिङमेन क्वान्जुदे डक रेष्टुरेण्टमा स्वागत समितका अध्यक्षले रात्रिभोजको आयोजना गरेका रहेछन् । त्यसैले त्यो साँझ अतिथिशालामा खानपिनको व्यवस्था पनि थिएन । तर हामी पत्रकारले भने त्यस्तो कुनै निम्तो पाएका थिएनौं । निमन्त्रणका लागि अतिथिहरूको सूची उपलब्ध गराउँदा हाम्रो दूतावासले पत्रकार जतिको नामै छुटाएछ, त्यसैले हाम्रो नाममा निम्ता आउने कुरै भएन ।

निम्तै आउनु नपर्ने भएकोले हामीलाई पनि सँगै जाने हाम्रो टोलीकै केही जिम्मेवार सदस्यहरूको आग्रह थियो । तर त्यो उपयुक्त नहुने हाम्रो निक्र्योल थियो र अग्न्शििखा र मैले भन्यौं– विदेशमा प्रत्ेयक नेपाली आफ्नो राष्ट्रको प्रतिनिधि हो । हामी पत्रकारमात्र होइनौं, पाहुना पनि हौं । त्यसैले बिना निम्ता हामी सहभागी हुँदैनौ, यो राष्ट्रिय स्वाभिमानको पनि कुरा हों । हाम्रा कुरासँग सुरुमा अरु पत्रकार साथीहरू पनि सहमत देखिन्थे, तर पछि भने उनीहरू विना निम्तो नै सहभागी भए, नजानेमा हामी दुईभाइ रह्यौं– अग्निशिखा र म स्वयम् । आज उपवास नै बस्ने निधो सहित कतै निस्केनौं हामी, त्यो साँझ । बेलुका भोजबाट फर्केर टेलिभिजनका किरण चित्रकारले आफूसँग भएका केही फलफूल खान दिए, त्यसैमा वितायौं हामीले त्यो रात ।

किनमेलका लागि प्रसिद्ध बेइजिङका दुई प्रसिद्ध क्षेत्र ल्यू–ली चाङ र तिएन–छिआओ बजारमध्ये पहिलो क्युरियो, पुरातात्विक बस्तु, पुराना पुस्तक, पेण्टिङ, चिनिया क्यालिग्राफका प्राचिन कलाकृतिका साथै परम्परागत कलाकृतिहरूका लागि कहलिएको रहेछ भने अर्को चाहिँ सोह्रौं शताब्दीतिरै पुराना बस्तुहरूको किनबेचबका लागि प्रख्यात रहेछ । पछि भने त्यसले मासु, फफूल, तर्कारीका लागि मात्र होइन, गरिबहरूको सस्तोमा मनोरञ्जन गर्ने ठाउँका रुपमा समेत प्रसिद्धि पाउँदै गएछ ।

मुख्य कार्यक्र नै भोलिपल्ट भोलिपल्ट थियो । विहानको चमेनापछि प्रधानमन्त्रीसँगै यात्रादल ग्रेटहल अफ द पिपुल तर्फ लाग्योे– निर्धारित कार्यक्रम अनुसार नै । पहिलो कार्यक्रम नै त्यो हलको पूर्वी चोक वा प्लाजामा हाम्रा प्रधानमन्त्रीको औपचारिक स्वगतका कार्यक्रम थिए । जल, स्थल र वायु सेनाका संयुक्त टुकडीको तोपसलामी तथा गारत सम्मानप्रदान पश्चातका अरु नियमित औपचारिक कार्यक्रमहरू पश्चात हाम्रा प्रधानमन्त्री र चिनिया प्रधानमन्त्री लि पेङका बीचमा विनासहयोगी लामै वार्ता भयो । त्यसको लगत्तै दुबै प्रतिनिधिमण्डलकाबीच सामूहिक वार्ता र सम्झौता–सहमतिपत्रहरूमा हस्ताक्षर गर्ने काम पनि सकियो ।

त्यसपछि त्यहीँ नै चिनिया प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नुभएको थियो– हाम्रा प्रधानमन्त्रीको सम्मानमा । अप्रिल १८, १९९५को अपरान्ह ११.३० वजे प्रधानमन्त्री मानमोहन अधिकारीको सम्मानमा चिनिया प्रधानमन्त्री लि फङले दिनुभएको त्यो दिवाभोजको निम्तो भने हामीलाई अघिल्लैदिन प्राप्त भइसकेको थियो । चिनियाँ र अङ्ग्रेजी भाषामा छापिएको प्रधानमन्त्री लि फङको नामको त्यो निम्तोसँगै डिनरको मिनु पनि उपलब्ध गराइएको थियो र खाना प्राय समुद्री परिकारहरू नै थिए– सार्क फिन, माछा, प्राउन, क्य्राबका साथै चिकन सुप, भेजिटेबल, हरिया र खाँदेको बाँसका टुसा , फलफूल, आदि । चिनिया जनमुक्तिसेनाको सैनिक व्याण्डद्वारा सञ्चालित संगीतको मधुर आवाज हलभरि गुञ्जिएको छ । निम्तोपत्रमैं निर्दिष्ट नम्बरका टेविलमा हामी यात्रादलका सदस्य र चिनिया विशेष अधिकारी तथा प्रतिनिधिहरूलाई एक अर्कासँग घुलमिल हुनसक्ने गरी व्यवस्था मिलाइएको छ । दुई सम्मान्य व्यक्तित्व– दुवै देशका प्रधानमन्त्रीसँग एउटै कक्षमा चिनिया मित्रसँग कुराकानी गर्दै दिवाभोजको आनन्द लिईरहेका थियौं हामी ! त्यो दिवाभोज मेरो जीवनकै अविस्मरणीय अवसर थियो, भारतमा प्रधानमन्त्रीसँगको यात्रामा यस्तो अनुभव पाउन सकेको थिइन मैले ! अझ विभिन्न चिनिया धून र परंप।रागत संगीतको बीचबीचमा नेपाली लोक र आधुनिक गीतहरूसंगीत बजिरहेको सुन्न पाउँदाको आनन्दै अर्क थियो त्यतिखेर ! चिनिया राष्ट्रपति र प्रधानमन्त्रीद्वारा विदेशी विशिष्ट अतिथिहरूको औपचारिक स्वागत गरिने प्रसिद्ध थलोमात्र होइन यो तियानमेन चोकको पश्चिमपटि रहेको यो ग्रेटहल अफ द पिपुल । हरेक वर्ष चिनिया राष्ट्रिय जनकांग्रेसको अधिवेसन हुने महत्वपूर्ण थलो पनि हो हो यो । १० हजार सिट भएको बैठक कक्ष, ५ हजार मानिसले एकैसाथ खाना खानसक्ने विशाल भोजनकक्ष वा ब्याङ्क्वेट हलका साथै असंख्य साना बैठक कक्षहरू पनि छन् यसभित्र ।

हामी तियानमेन चोक मैं थियौं । त्यो चोक र त्यसकै अर्को एक छेउमा रहेको माओ त्सेतुङको स्मारक हेर्ने भने कुनै कार्यक्रम थिएन हामीलाई उपलब्ध गराइएको प्रधानमन्त्रीको अ‍ैपचारिक भ्रमण कार्यक्रमसूचीमा । प्रधानमन्त्री मनमोहन अधिकारी धेरैपल्ट चीन आइसक्नुभएकोले उहाँका लागि ती ठाउँ अपरिचित थिएनन् सायद । त्यसैले कार्यक्रम तय गरिँदा उहाँले हेरिसक्नुभएका बाहेकका नया ठाउँ र चिनिया विकासका परिचायक उद्योगधन्दाहरूले प्राथमिकता पाएका थिए होलान् । हाम्रोलागि त यो नै पहिलो अवसर थियो, पछि यस्तो अवसर आउँछआउँदैन निश्चित थिएन । यहाँ आएर पनि पश्चिमा प्रेसले चर्चाको शिखरमा पु¥याइदिएका त्यो ऐतिहासिक चोक र लाखौं विश्व नागरिकले तीर्थको रुपमा हेर्नेगरेका माओ स्मारक एकपटक नहेरी चिनबाट फर्कनु पर्ने अवस्था हाम्रालागि सुखद अनुभव हुनसक्दैनथ्यो । तर जाने पो कसरी, कार्यक्रमको बीचमा हिँड्न पनि नहुने, कार्यक्रम सकिएपछि अरु नै कार्यक्रमा लाग्नुपर्दा समय नपाइने । त्यसमाथि भोलिपल्ट बिहानै सांघाइकालागि उड्नु थियो । हामी त्यही चिन्तामा थियौं र त्यही बीच दुई प्रधानमन्त्रीको छलफलको समय हाम्रो खास काम थिएन । केही समयका लागि हामी खाली थियौं । अग्निजी र मैले त्यही सीमित समयको मौका छोप्ने अठोट ग¥यौं र खुसुक्क निस्कियौं कसैलाई पत्तै नदिई त्यहाँबाट । मनमा भने डर थियो, थाहा पाए भने कसैले केही भन्ने हो कि ? जे त पर्ला, मसक्क आँटेर औपचारिक समारोहस्थल छाडी तियानमेनभ्रमणमा निस्केका थियौं हामी त्यतिबेला ।

तियानमेन नामक विशाल शिलाबाटै आफ्नो नाउँ ग्रहण गरेको बेइजिङको केन्द्रीय भागस्थित तिएन–आन मेन क्वाङ–छाङ खुला चोक चिनको मात्र नभएर विश्वकै ठूलामध्येको एउटा सार्वजनिक चोक मानिन्थ्यो । तिएन–आन मेनको शाब्दिक अर्थ हुन्छ रे– स्वर्गीय आनन्दको द्वार । सन् १६५१मा बनेको यो चोकलाई पछि विस्तार गरेर चारगुण ठूलो पारियो रे । ४०.५ हेक्टर भूभाग ओगटेको थियो अहिले यसले । चोकको बीचमा बनेको दुईतले सिंहमर्मरको वेदीले चिनिया मुक्ति र स्वतन्त्रताका जननायकहरूको सम्मान र सम्झना गराइरहेको थियो । अर्कातिर सन् १९६१देखि सर्वसाधारणका लागि खुला गरिएको चोकको पूर्वतर्फ रहेको संग्रहालयले चिनिया क्रान्ति र चिनको गौरवमय इतिहासलाई आँखा अगाडि जीवन्त तुल्याइरहेको थियो । चोकको दक्षिण तर्फ रहेको माओ स्मृतिकक्षमा आधुनिक चिनका निर्माता माओ त्सेतुङको जीवित झैं लाग्ने सुंक्षित शवको दर्शनले एउटा अर्कै अनुभूति दिइरहेको थियो । विश्वकै ठूलोमध्येको एउटा नागर चोक र सबैभन्दा भीडभाडको पर्यटकीय क्षेत्र तियान्मेन चोकमा माओको स्मारकभन्दा पनि दक्षिण तर्फ मिङ वादशाहको शासनकाल अर्थात सन् १४०२–१४२४ तिर बिनेको एउटा विशाल मूल द्वार देखिन्थ्यो भने पश्चिमपटि ग्रेटहल अफ द पिपुल सगौरव उभिइरहेको थियो ।

चोकको अर्को पर्यटकीय आकर्षण केन्द्र थियो– जु–छिन् छेङ् वा जिजिन छेङ् शाही दरबार परिसर । सन् १४०६ तिर निर्मित यो दरबार परिसर निषेधित वा वर्जित नगर (फर्विडेन सीटी) का नाउँले पनि विश्वभर प्रसिद्ध थियो । कुयाङ बंश (१६४४–१९११) का सम्राटहरूको दरबारका रुपमा प्रयोग हुँदै आएको यो दरबार क्षेत्रमा आमजनताका लागि प्रवेशको अनुमति नभएकोले नै निषेधित वा वर्जित नगर अर्थात फर्विडेन सिटी बन्यो यो । हुन पनि बादशाह बाहेक शाही परिवारका सदस्य र सरकारी अधिकारीहरूले समेत इच्छा अनुसार सबै ठाउँमा प्रवेश पाउँदैनथे रे । लगभग पाँच शताब्दीसम्म चिनिया शक्तिको प्रतीक रहेको १७८ हेक्टर क्षेत्रफलमा विस्तिारित यो थलो विशिष्ठ वास्तुकला, र वर्तमानमा बंशानुगत कलाकृति र इतिहास संग्रहालयको रुपमा प्रयोग भएकाले पनि अहिले युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ ।

यो पुरानो वर्जित दरबार परिसर पश्चिमाहरूका लागि पछि गएर बन्द समाज अर्थात साम्यवादी चिनको प्रतीक बन्न पुग्यो, उनीहरूले सिङ्गै चिनलाई वर्जित शहरका रुपमा प्रचार गरे । निकै अगाडि पढेको एकजना पश्चिमा लेखकको फर्विडेन सिटी शीर्षकको उपन्यासको घरिघरी संझना आइरहेथ्यो मलाई त्यतिखेर ! उनीहरूको उद्धेश्य नै साम्यवादी चिनलाई नागरिक स्वतन्त्रताविहीन बन्द समाजको रुपमा चित्रण गर्नु हुन्थ्यो सायद । त्यसैले नै त्यो र पश्चिमाहरूले लेखेका अरु पनि चिन र चिनिया समाजलाई विषयबस्तुृ बनाएर लेखेका युरोपेली कृतिहरूमा मैले त्यहाँको धमिलो चित्र मात्र पाएको थिएँ । यतिबेला आफ्नै आँखाले चिन र यसको राजधानी बेइजिङल हेर्दा भने पश्चिमाहरूको फर्विडेन सिटीको विम्ब त्यही परिसरको ऐतिहासिकतामा बाहेक अन्त फेला पार्न सकेको थिइन मैले । जसरी पश्चिमाहरूले स्वतन्त्रता विरोधीको प्रतीकका रुपमा उभ्याएको तियानमेन चोक त्यति स्वतन्त्रता विरोधी होलाजस्तो लागेन मलाई । साम्यवादी समाजको विरोधमा भएभरको शक्ति लगाएर युद्धघोष गर्दै आएको पश्चिमा पुँजीवादी समाज र तिनैका विचारमा दीक्षित पश्चिमीहरूको एकपाटे चिन्तन, बनीबनाउ दृष्टिकोण त थिएन त्यो– त्यतिबेला भर्खरै आर्थिक र सामाजिक खुलापनको प्रयोग गरिरहेको चिनको बेइजिङ र लगत्तै साङ्घाई देखेपछि मेरो मनमा उब्जेको प्रश्न थियो यो ! बेइजिङ र सांघाई धमाधम रात्रिक्लब र डिस्कोहरूमा जाग्राम बस्न थालिसकेको थियो । चिनिया किशोर किशोरीहरू सार्वजनिक बागबगँैचामा लठार्रिंदै निर्धक्क म्वाइसाटासाट गर्दै कथित पश्चिमा स्वतन्त्रताको निर्वाध उपभोग गर्न थालिसकेका थिए । युवतीहरूका पोशाक छोट्टिँदै संवेदनशील अङ्गहरूको झलक दिएर युवामनका लोभी आँखाहरूलाई कृतार्थ तुल्याउन थािलसकेका थिए । त्यो स्वतन्त्रताउन्माद कतिसम्म पर जाने हो, चिनले आधुनिकता र खुला समाजको नाउँमा यसलाई कतिसम्म बढाउने हो केही भन्न सकँदैनथ्यो । तर केही चिनियाहरू भने तीब्र गतिमा बढिरहेको यो प्रवृत्तिबाट चिन्तित देखिँदैथिए । उनीहरूको मौन आँखामा नाचिरहेका प्रश्न देखिन्थे– के यही हो पश्चिमाहरूले भनेको स्वतन्त्रता ? के यही हो आधुनिक विकासको परिचय ? यिनै प्रवृत्तिबाट आफ्नो पन गुमाउँदै गएको म नेपालीलाई उनीहरूको त्यो मौन प्रश्न मेरो आफ्नै अन्तर्मनले मसँगै गरेको प्रश्न जस्तै लागेको थियो त्यसबेला !

माओपछिको चिनलाई विश्वसामू अजेय आर्थिक र राजनीतिक शक्तिका रुपमा स्थापित गर्नेमा सायद् धेरैको पसिना चुहिएको छ । क्रमशः खुलापनको महायात्रामा निरन्तर अघि बढिरहेको महाचिनलाई विना कृुनै अवरोध विश्वसामू प्रतिस्पद्र्धी रुपमा उभ्याउन बन्द समाजको पूर्वरुप सायद् उपयुक्त हुँदैनथ्यो । त्यसैले चिनीया नेताहरूले क्रमशः संक्रमणको विन्दुलाई थेग्न सक्ने हिसाबले अघि बढाए, चिनियाहरू यसै भन्थे । पश्चिमी पूँजीवादी आक्रमणको निरन्तर संगठित प्रहारका बीच सोभियत रुसमा गोर्भाचोभले विचार नपु¥याई एकैपल्ट पश्चिमी नमूनाको पूँजीवादी प्रजातन्त्रका लागि सबै ढोका खोलिदिँदा कुनै समयको शक्तिसाली र गौरवमय रुसले आप्mना सबै गौरव र शक्ति गुमाएको इतिहास थियो चिनका अगाडि । पुरानो संरचना र संयन्त्र र एकैचोटी भत्काएर नया संरचना र संयन्त्र निर्माण गर्ननसक्दा देखिएको रुसी नियति चिनको अगाडि ठूलो पाठका रुपमा पनि खडा थियो । त्यसैले उसले आफ्नो प्रणाली र संरचनाभित्रै थेग्न र व्यवस्थापन गर्न सकिने हिसाबले आर्थिक र अन्य खृुलापनलाई प्रवेश गराउँदै गयो । त्यसकै फलस्वरुप आज अर्थिक र अन्य हिसाबले एक मात्र शक्तिराष्ट्र भनिने विश्व शक्ति अमेरिकालाई उछिन्ने होडमा सफलतापूर्वक अघि बढिरहेको छ चिन । तर राम्रोसँगै नराम्रा कुरा पनि हुलमुलमा छिर्छन्, राम्राभन्दा नराम्रा कुराले नै मानिसलाई बढी लोभ्याउँछ । त्यही नियतिको पूर्वाभ्यास गर्दै थियो सायद चिन पनि । खुलापन र स्वतन्त्रताको नाउँमा क्रमश नाङ्गिँदै गएको आफ्नो अस्मितालाई पनि टुलुटुलु हेर्दै वाध्य बन्दै थियो त्यो ! धेरै हेर्ने र बुझ्ने समय थिएन हामीसँग, मूल उद्देश्यबाट केही समय चोरेर सुटुक्क आएका हाम्रालागि मन फुकाएर घुम्न पाउने कुनै संभावना थिएन । त्यसैले हतारहतार ग्रेटहलको समारोहस्थल फर्केका थियौं हामी । उता औपचारिक हस्ताक्षर कार्यक्रम सुरु भइसकेको थियो, साथीहरू हामीलाई खोज्दै थिए । जे होस् कार्यक्रम पनि भ्याइयो, एउटा दुइटा भए पनि हेर्नै पर्ने ठाउँ हेरियो । चिन घुमेर चिनको विशाल पर्खाल नहेरी फर्कनु पर्ने हाम्रो वाध्यता भने आफ्नो ठाउँमा छँदैथियो । जे प्राप्त भयो त्यसैमा चित्त बुझाउन वाध्य थियौं हामी ।

त्यस अपरान्हको अर्को कार्यक्रम थियो– तयारी पोशाक कार्खाना अर्थात बेइजिङ सर्ट फ्याक्ट्रीको हेर्ने । त्यहाँबाट फर्केपछि प्रधानमन्त्री मनमोहन अधिकारी चिनिया राष्ट्रपति चियाङ च मिनसँग शिष्टाचार भेटका लागि यिङताई जोङ्नानहाइ राष्ट्रपति भवन जानुभयो । त्यहाँ यात्रादलका सीमित सदस्यहरुको मात्र सहभागिता रहने भएकोले हामी दिनभरका कार्यक्रमको समाचार बनाएर आआफ्ना संस्थामा पठाउने तर्खरमा लागेका थियौं । राष्ट्रपतिसँगको भेट सकिएपछि प्रधानमन्त्री र भ्रमणदलको सम्मानमा हाम्रो दूतावासले आयोजना गरेको रात्रिभोजमा जाने तर्खरमा थिए सबैजना । अग्निजी र मेरो भने हिजोको रात्रिभोजमा दूतावासले पत्रकारको नाम छुटाएकोमा सांकेतिक विरोधकोस्वरुप त्यो रात्रिभोजमा सहभागी नहुने सल्लाह थियो । त्यो कार्यक्रमको समाचार पठाउनु पर्ने वाध्यताका कारण टेलिभिजनका साथीहरू गए पनि हाम्रोसाथै पत्रकार साथीहरू पनि नजाने सुरुको सहमति भने पालना भएन, नजानेमा म र अग्निशिखा मात्रै प¥यौं । दूतावासको रात्रिभोजमा बीबीसी नेपादली सेवाका तर्फबाट भ्रमणबारे आफ्नो अनुभव सुनाउन लण्डनबाट खगेन्द्र नेपालीले मसँग सम्पर्क राख्न खोजेका रहेछन् । भोलिपल्ट भेट्दा बल्लभमणि दाहालले उक्त जानकारी दिएर त्यहाँ भेट हुन नपाएकोमा खिन्नता प्रकट गर्नुभएको थियो ।

भोलिपल्ट बिहानै चमेना पछि सांघाइ प्रस्थान गर्ने तयारीमा लाग्दै थियौं । एउटा खबर आयो– म र अग्निजीलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ । सुरुमा त केही डर पनि लाग्यो, हिजो र अस्तिको रात्रिभोज वहिष्कार गरेकामा हव्प्काउन त बोलाउनु भएको होइन प्रधानमन्त्रीले ? जे भए पनि प्रधानमन्त्रीले बोलाउनुभएपछि जानै पथ्र्यो, डराउँदै पुग्योैं हामी उहाँको अगाडि । ईश्वर पोख्रेल र डाक्टर सायमी लगायत धेरै हुनुहुन्थ्यो त्यहाँ । त्यहाँ पुगे पछि थाहा भयो– अघिल्लो रात्रिभोजमा हामी पत्रकारलाई निम्ता नआएको र त्यही कारण हामी नेपाली दूतावासको रात्रिभोजमा नगएको जानकारी भएपछि उहाँलाई पनि नमज्जा लागेछ । दूतावासका नेपाली अधिकारीहरूको त्यो लापर्वाही प्रति म तपाइँहरूसँग क्षमा चाहन्छु भन्ने त्यो महान् व्यक्तित्वको भनाइले हामी आफैंलाई लज्जित तुल्याएको थियो त्यतिखेर । मुलुकको सम्माननीय प्रधानमन्त्रीको त्यो विनम्रताले हामी पानी पानी भएका थियौं । मनमनै लागेको थियो, त्यो विरोध गरेर हामीले ठीक गरेनछौं कि ? तर आत्मसम्मान गुमाएर त्यहाँ जानु अन्तरात्माले ठीक ठानेको थिएन र हामीले त्यही अन्तरात्माको अवाज सुनेका थियौं । मुलुकको सर्वोच्च कार्यकारी प्रमुखले त्यो घटनालाई त्यति संवेदनशील ठानेर हाम्रो आत्मसम्मनाको रक्षा गर्दा समेत दूतावासका अधिकारी र परराष्ट्रका अधिकारीहरूले भने त्यसबारे कुनै गल्ती महसूस गरेको पाइएन, सामान्य शिष्टाचार निर्वाह गरेको देखिएन । त्यो चाहिँ अनौठो लागेको थियो हामीलाई । हाम्रो ब्युरोक्रेसीको विशेषता नै हो त्यो सायद् । मनमोहन अधिकारीको त्यो सादापन, महानता र अर्काको आत्मसम्मानप्रतिको संवेदनशीलता अनुपम थियो । तिनै स्वभाव, आदर्शले नै त मनमोहनलाई महान बनाएको थियो सायद ।

साङ्घाइ प्रस्थान गर्ने क्रममा आआफ्ना झोलातुम्बा चिनिया अधिकारीहरू

जिम्मालाएर अन्तिम चमेनाको स्वाद लियौं हामीले बेइजिङमा । प्रधानमन्त्रीको ग्रेटहलमा चिनिया जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष ली रुइह्यानसँग भेटवार्ता सकेर सोझै विमानस्थल आउनुहुने कार्यक्रम थियो । चिनभ्रमण सकिएपछि प्रधानमन्त्री मङ्गोलिया को औपचारिक भ्रमणमा जानुहुने कार्यक्रम थियो । सन् १९६१मा स्वर्गीय श्री ५ महेन्द्रको राजकीय भ्रमण पछिको यो उच्चस्तरीय औपचारिक मङ्गोलिया भ्रमणमा प्रधानमन्त्री र श्रीमती अधिकारीका साथमा अशोककुमार राई, प्रमुख सल्लाहकार ईश्वर पोख्रेल, सांसद् द्वय शरद्सिंह भण्डारी र खोभारी राय, परराष्ट्रका सहसचिव जनक शहादुर शाह, चिकित्सक अरुण सायमी र अङ्गरक्षकहरू मात्र सहभागी हुनुन्थ्यो । बाँकी हामी साङ्घाइबाटै काठमाडौंका लागि हङकङ उड्ने कार्यक्रम भएकोले बेइजिसँग अन्तिम विदा लियौं हामीले– विदा बेइजिङ, विदा !

२०६१ जेठ १९

आरुबारी

गरिमा, वर्ष २२ अङ्क १०पूर्णङ्क २६२ असोज २०६१

साकुरा, गिसा र आत्मसम्मानको देश जापान

अनवरत प्रवाहित जनसागर र सवारी साधनहरूको कमिलाताँति, सधैँ हतारहतारमा दौडिए झैं लाग्ने व्यस्त जापानीहरूको टोकियो देख्दा लाग्थ्यो– हामी आफुू कति सुस्त जीवन बाँच्दैछौं । त्यो व्यस्तता र दौडधूपमा बाँच्न त्यहीँकै मानिसाई समेत त्यति सहज र सरल थिएन सायद् । टोकियोबाहिरको जापान केही सहज थियो, विश्वकै अति महँगो र व्यस्त महानगर टोकियोमा भने बाँच्नु सोचेजति सहज देखिँदैनथ्यो । त्यसैले उनीहरूलाई हाम्रोजस्तो बेफ्वाँकको गफ चुटेर समय खेर फाल्ने फुर्सत छैन । मेसिनजस्तै घोटिनु पर्छ त्यहाँ समयसँग जीवन साट्न । कामको बेला काम र कामबाट फुर्सत पाएकोबेला केही मनोरञ्जन, केही बसिवियाँलो– लाग्थ्यो यो नै आम र बहुसंख्यक जापानीहरूको जीवनदर्शन हो ! हो, सीमित जापानीहरू पश्चिमा भाषा, संस्कृति र संस्कारप्रति आकर्षित हुन थालेका छन्, पपकल्चर र पश्चिमी जीवनशैलीका पूजारी पनि बन्न थालेका छन् । नयाँ पुस्तामा पहिलेकोमाजस्तो मोह देखिँदैन– आफ्नो भाषा–संस्कृतिप्रति र परम्पराप्रति ! त्योभन्दा बढी अङ्ग्रेजी भाषा र पश्चिमी संस्कृतिप्रतिको मोह जाग्दैछ उनीहरूमा । तर पनि ठूलो संख्या अझै पनि परम्परालाई साथै लिएर आधुनिक विश्वमा अग्रणी भविष्यको निर्माण गर्न जुटेको अनुभव हुन्थ्यो । देखावटीपन र पपकल्चरमा होइन आफ्नो पनसहितको परिवर्तनमा जापानको भविष्य खोज्दैछन् उनीहरू !

जापानी विदेशमन्त्रालयको निम्तामा गरिएको लगभग दुईहप्ते जापान भ्रमणको दोश्रो चरणमा थियौं हामी– उद्धब उपाध्याय, केदार शाक्य र मस्वयम् । टोकियो बाहिरका हिरोसिमा, क्योटो, नारा र ओशाकाको भ्रमण सकेर अघिल्लो साँझ फेरि टोकियो प्रत्यागमन भएको थियो हाम्रो । वजापान आएको आठौं दिनको त्यो विहान आसा गोहान अर्थात विहानको खाना वा ब्रेकफास्ट सक्दा नसक्दा सुश्री किहारा टोकियो प्रिन्स होटेल आइसकेकी थिइन् । उनको आजको जिम्मेवारी थिया हामीलाई जापान सोसलिष्ट पार्टीको कार्यालय पु¥याएर भेटघाट गराउनु । टोकियो र टोकियो बाहिर समेत हरबखत साथ रहेको मासारु वातानावेले हिजै भनेको थियो– भोलिको पहिलो कार्यक्रममा उसको साटो उसकै साथी किहाराले साथ दिनेछ ।

बाँच्नमात्र होइन मर्नु पनि कठिन मान्छन् टोकियोबासीहरू । त्यसैले आफू जीवित छँदै आफ्नै मुत्युपछिको योजना बनाउँछन्, मृत्ुयपछिको सेवादायक संस्थाहरूसँग आफ्नै मुत्यु पछिको योजना बारे छलफल गर्छन ! मृत्युसंस्कारको तरिका, प्रयोग गरिने सामग्री, कतिसम्म मोलको मृत अवशेषपात्र (ग्चलक) र कुन पश्चिमी शैलीको शवाधार वा (कफिन) व्यवस्था गर्ने ? मृत्यु संस्कारमा बोलाउने अतिथिसूची, ख्वाइने खाना र साके, कस्तो खालको शोकसंगीत र आफ्नै मृत्युको घोषणा लेखिने टेबल र त्यसको स्थान सबै नै छलफलका विषय हुने गर्छन । आफ्नो त्यो भावि महाप्रयाणका लागि लाग्ने खर्च अनुमान, पनि छलफको मुख्य विषय बन्छ, त्यहाँ । मृत्युसंस्कारका यी सबै काम गर्न कम्तीमा पनि ४० हजार अमेरिकी डलरभन्दा कमले पुग्दैन रे ! त्यो रकम अधिकांश जापानीहरूका लागि थेग्न नसकिने भार हुनजान्छ, जुन बेहोर्नै पर्छ । त्यसैले टोकियोमा बाँच्नु भन्दा कम कठिन छैन मरेपछिको खर्च जगेर्ना गर्नु ! मृत्युसंस्कार पनि कम जटिल छैन उनीहरूको । जहाँ मरेको भए पनि मृत शरीरलाई घरमैं ल्याइन्छ । मलामीहरूले त्यो मृतात्मालाई बौद्ध मन्त्र पढ्दै विदा गर्छन् । मृतकका लागि स्मारकस्थल समेत किन्नुपर्छ – टोकियोको केन्द्रीय भागस्थित आयोमा चिहानमा शव गाड्नका लागि आवश्यक एउटा विच्छ्यौनाजत्रो आकारको जमिनलाई १ लाख ५२ हजार अमेरिकी डलर तिर्नुपर्छ रे !

हामीलाई जापान सोसल डेमोक्रेटिक पार्टीको कार्यलयमा पु¥याएकी थिई किहाराले । काठमाणौं छँदै जापानी दूतावासले उपलब्ध गराएको निर्धारित भ्रमण कार्यक्रम (आइटेनरी) अनुसार त्यहाँ सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी (एसडीजेपी)बाट माथ्लो सदनमा प्रतिनिधित्व गर्ने सांसद् यामादा केन–इचीसँग भेटघाट गर्नु थियो । केन–इची सार्वजनिक सूचना व्यूरोका निर्देशक र हाउस अफ काउन्सिलरका सदस्य पनि थिए । हामी पुग्दा उनी हाम्रै प्रतीक्षामा थिए । मीठो मुस्कानसहित उठेरै गरेको गरिएको उनको स्वगतबाट हाम्रालागि अप्रत्याशित थियो । आफ्नो देशमा पत्रकार वा अतिथिको उठेर स्वागत गर्नु त परै छाडौं, साधारण व्यक्तिसँग बोल्नु पर्दा समेत ओहदा गुमेको ठान्ने कतिपय मन्त्री र सांसद बेहोरेका हामीलाई त्यो अप्रत्याशित लाग्नु अस्वभाविक थिएन । केन–इचीबाट जापानी संसद् र पार्टीहरू बारे राम्रो जानकारी लिइसके पछि मैले उनीसँग एउटा अन्तर्वार्ता लिएको थिएँ, जुन पछि गोरखापत्रमा छापियो पनि ।

मेइजी काल (१८६८–१९१२) मैं दलीय प्रणाली सुरु भए पनि सन् १९३०–४०को युद्धकालीन जापानमा पार्टीहरू दबाइए । सन् १९४७ को संविधानले जापानी नगरिकहरूलाई पुनः पार्टी खोल्ने अधिकार दिएपछि लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी), सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे), क्लिन गभर्नमेण्ट पार्टी (कोमेइतो), डेमोक्रेटिक सोसलिस्ट पार्टी (डीएसपी), र जापान कम्युनिस्ट पार्टी (जेसीपी) अस्तित्वमा आए । वीसौं शताब्दी उत्तरार्धको लगभग सम्पूर्ण समय सत्तामा रहेकोे एलडीपी मूलतः व्यापारी र समाजका प्रभावशाली शक्तिसमूहद्वारा समर्थित अनुदारवादी पार्टी मानिन्छ । सन् १९४१देखि सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे) मा बदलिएको पुरानो जापान सोसलिस्ट पार्टी भने श्रमसंगठन र ठूला शहरका वासिन्दाद्वारा समर्थित रहेछ । लामो समयदेखि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको एसडीपीजेले सन् १९९३मा एलडीपीबाट फुटेर आएका सदस्यहरूसँग मिलेर एसडिपीजे–एलडीपी गठबन्धन बनाएर न्यु फ्रण्टायर पार्टी वा शिनशिन्तो गठन ग¥यो । त्यसपछि मात्र यो पार्टी एलडीपीको लामो प्रभूत्व समाप्त पार्न सफल भयो । बलियो प्रतिपक्षी मानिने कोमेतो भने मूलतः सोका गाक्की नामक धार्मिक संस्थाबाट समर्थित छ । डीएसपीको गठन सन् १९६०मा पुरानो जापान सोसलिस्ट पार्टीबाट फुटेर गएको दक्षिणपन्थी समूहबाट भएको हो भने अर्को जेसीपी सानो भए पनि जापानको प्रभावशाली दल मानिन्छ ।

पश्चिमी प्रशान्त महासागरको बीचमा २४ सय किलोमिटर लामो फैलिएको टापुहरूको श्रृङ्खला हो जापान । तीन लाख ७७ हजार ८३५ क्षेत्रफल भूभाग ओगट्ने जापानका होन्सु, होकाइडो, क्युसू र शिकोकु प्रमुख चार टापु मध्ये सबैभन्दा ठूलो होन्सुको पूर्वी केन्द्रमा रहेको थियो राजधानी टोकियो । बीस वर्ष उमेर पुगेका वालिग जापानी मतदाताहरूद्वारा चुनिएका जनप्रतिनिधिहरूबाट गठन हुने संसद्को प्रतिनिधि सभामा १३० संसदीय क्षेत्रबाट प्रत्येक चार वर्षका लागि ५११ जना प्रतिनिधिहरू छानिन्छन् । छ वर्षका लागि चुनिने सल्लाहकार सभाका २५२ मध्ये आधा संख्यकाको निर्वाचन प्रत्येक तीन–तीन वर्षमा हुने गर्छ ।

सन् १८६८सम्म इडोको नाउँले चिनिँन्थ्यो आजको महानगर टोकियो ! केन्दी्रय जापानको हान्सु टापुस्थित टोकियो खाडीकै उत्तर र पश्चिम किनारामा अवस्थित टोकियोको केन्दीय भाग बाहेक सीमावर्ती प्रिफेक्चरहरू उत्तरको सितामा, पूर्वको सिवा र दक्षिणको कानागावाभित्रका सबै भाग ग्रेटर टोकियोभित्रै समेटिएका छन् । टोकियो नगरले सामान्यता नगरकेन्द्रका २३ वडा (कु) लाई बुझाउँछ । विशाल टोकियोभित्र शहर र बजार मात्र छैनन्, नगरको पश्चिमी क्षेत्र र इजु टापुमा टोकियो खाडीकै मुखबाट दक्षिण तर्फ पसार्रिएको ग्रामीण र पहाडी भाग पनि देखिन्छ । महानगरीय क्षेत्रमा अरु तीन प्रमुख शहरहरू पनि छन्– जापानकै दोश्रो ठूलो शहर योकोहामा, टोकियो र योकोहामाको बीचमा चेपिएको औद्योगिक नगर कावासाकी र सिवा । यामातालाई भेटेपछि घुम्नु बाहेक अर्को काम थिएन, यस क्रममा जापान र टोकियोका बारेमा निकै कुरा जान्ने अवसर पनि पाएका थियौं हामीले । होटेल फर्केर चियापना पछि केहीबेर आफू खुसी नजिकै सायंभ्रमण र हिरु गोहान अर्थात बेलुकीको खाना खानु बाहेक अरु केही थिएन अब आजको कार्यक्रम ।

भोलिपल्ट अर्थात भ्रमणको नवौं दिनका कार्यक्रम प्राय औपचारिक थिए– ठूलो प्रकाशन डायोनिप्पोन जाने, प्रतिनिधिसभा डायट घुम्ने र डायट प्रेस सेण्टर हेर्ने । विहान दश बजेतिर टोकियोस्थित ठूलो प्रकाशन डायोनिप्पोनको अवलोकन पश्चात हामीलाई वातानावेले डायट हाउस र डायट प्रेस सेण्टर पु¥याएकोथियो । डायटमा केही बेर संसद् सञ्चालनका प्रक्रियाहरू हेरेपछि डायट सञ्चालन र यसका बारे थप जानकारीका लागि हामी पुग्यौं डायट प्रेस सेण्टर । त्यहाँका निर्देशक मुराता मात्र होइन आशाही सिम्बुनका स्टाफ राइटर एफ. योसिमुरा र सोही अखबारको क्याविनेट तथा संसदीय रिपोर्टिङ सम्बन्धी सहव्यवस्थापक वाकामियाबाट पनि निकै उपयोगी जानकारी पायौं हामीले । डायटको सूचना केन्द्र र त्यसमा संंसद् तथा क्याविनेट रोपोर्टिङमा खटिएका समाचार संकलनमा धेरै भोटो फटाएका अनुभवी पत्रकारहरूको उपस्थितिले मलाई मेरो संसद भवन र त्यहाँ समाचार संकलनमा रोबदाव देखिने आलाकाँचा सिकारु पत्रकारहरूको चलखेल सम्झाइरहेको थियो । उनीहरू लामो अनुभव र अन्य क्षेत्रमा धेरै काम गरेपछि मात्र वरियताको क्रममा संसद् र सरकारसम्बन्धी समाचार विचार संकलनको जिम्मेवारी पाउँदछन् । त्यसैले सरकार र संसद्मा उनीहरूको मर्यादा पनि निकै उच्च छ, जुन हामी कहाँ अपेक्षा गर्न सकिँदैन ।

औपचारिक कार्यक्रमको समाप्तिपश्चात आज मजासँग घुमियो गिन्जा । टोकियोको चोउ वडामा रहेको यो विश्वप्रसिद्ध प्रमुख व्यापारिक केन्द्र गिन्जाले आफ्नो नाउँ चाँदी अर्थात जापानी भाषामा गिन र गिल्ड वा व्यापारिक समुदाय अर्थात जालाई मिलाएर लिएको रहेछ । सुरुमा चाँदीको व्यापारमा कहलिएको यो ठाउँ सन् १६१२देखि चाँदीको सिक्कामा टकमारी गर्ने सरकारी टकसारमा प्रयोग भएछ । जापानी टकसार गिन्जाले मलाई मेरै काठमाडौं र पाल्पाका टकसारको सम्झना दिलाएको थियो त्यतिखेर । दक्षिणपश्चिमको शाही दरबारस्थित मैदान नजिकैको क्यो पुलदेखि न्युब्रिजसम्म फैलिएको गिन्जा बजारले लगभग अढाई किलोमिटर क्षेत्रफल ओगटेको थियो । फुटकर पसल, बहुकक्षीय शपिङ सेण्टर, बहुतले विशाल बजार र जापान र बाहिर विदेशबाट समेत आकर्षित पर्यटक र खरिदकर्ताहरूको कहिल्यै नटुट्ने ताँति–साँच्चिकै मोहनीरुप थियो गिन्जा । अझ रातको गिन्जा त रङ्गीविरङ्गी बत्तीको उज्यालोमा नयाँ बेहुलीजस्तै सिङ्गारिएर ग्राहक लोभ्याइरहेको देखिन्थ्यो ।

टोकियो टावरपुग्नु अघि विशाल तोसोगु मन्दिर अर्थात टोजाजी टेम्मपल र शिवाकोएन पार्क पर्यटक लोभ्याइरहेका थिए । टोकयो महानगरको मध्यकालीन ती दर्शनीय स्थलहरूले जोकोहीको आँखा तान्थे र मन प्रफुल्लित गराई दिन्थे । विश्वकै सबैभन्दा पुरानो मानिने काष्ठसंरचना वा काठबाट बनेको मन्दिर हो¥युजी अझ कम आकर्षक छैन । भनिन्छ धेरै पुरानो होइन, गगनचुम्बी भवन निर्माणको जापानी परम्परा ! सरकारी मन्त्रालयहरू रहेको ठीक दक्षिणपटि सन् १९६८मा छत्तीस तले कासुमिगासेकी भवन बनेपछि नै सुरु भयो यो परम्परा । १० तलासम्ममा मात्रै सीमित थिए जापानी भवनहरू त्यतिखेर । गगनचुम्बी भवनहरूको ताँति सबैभन्दा बढी भने सिञ्जुकी रेल स्टेसनको दक्षिण तर्फ देख्नपाइन्छ ।

सन् १९७३मा बनेको योकोहामाको ७० तले टोकियो टावर जापानकै सबैभन्दा अग्लो संरचनाको गौरव बनेको छ । फुजी टेलिभिजन भवनको स्पष्ट पहिचानले पनि सिन्जुकु र ओदाइवा क्षेत्रलाई सजिलै चिनाइरहेको देखिन्छ । टोकयो टावरस्थित मैन संग्रहालय अर्थात मैन म्युजियमको अर्कै आकर्षण थियो । विश्वका परिचित अनुहारहरूको पूर्णकद मूर्तिहरू साँच्चै नै बोलिहाल्लान र हातै मिलाउन आउलान् जस्तो ! एक्वेरियम केटाकेटीदेखि ठूलासम्म सबैको अर्को आकर्षण थियो टावरमा । टावरमा रहेका दर्शनीय संग्रहालयहरू, यहाँबाट देखिने आकर्षक टोकियोको दृश्य निहार्दै कसिपको चुस्कीमा पाइने आनन्द, आफैंमा अनुपम अनुभव थियो पर्यटककालागि ।

हाम्रा जापानी सहयोगी केनले प्रतिव्यक्ति चारसय येन तिरेर छिराएका थिए टोकियो नेसनल म्युजियम । जापानको सबैभन्दा ठूलो यो संग्रहालयमा ८० हजार बस्तुहरु प्रदर्शित छन् रे । म्युजियमको मूलढोकादेखि नै अनुपम कलादशर्नको अवसर पाइएको थियो । मूल ढोकाबाट केही पश्चिममा रहेको इडोकालीन कलात्मक कुरोमोन् वा कालो ढोका, त्यो कुरोमोन मूलढोकाबीच छापिएका छानाका कलात्मक टायल सबै नै अरु सामग्री हेर्नका लागि कुत्कुत्याइ रहेका थिए । संग्रहालयको पुरातात्विक बस्तुहरू प्रदर्शित यो ह्योकेइकान ग्यालरी १९०८मा बनेको रहेछ । त्यसको पछाडि, चिनियाँ क्विङ बंशको काल्पनिक सिंहजस्तै देखिने दुईवटा जनावरको शिलामूर्ति– सिसी प्रदर्शित थिए । सिसीको वायाँतर्फ कोरियाली यिन बंशकालीन दुई कर्मचारीको बोल्लानजस्तै शिलामूर्ति उभिएका थिए । जापान र अन्य पूर्वीय मुलुकहरूका कलाकृतिहरूको अनुपम संग्रह रहेको टोकियोको उनेओ पार्कस्थित यो टोकियो नेसनल म्युजियम जापान सरकारद्वारा स्थापित र सञ्चालित, जापानकै ठूलो र पुरानो संग्रहालय मानिँदो रहेछ । चारवटा प्रदर्शन खण्डमा ४२वटा प्रदर्शन कक्ष थिए यसमा । पेन्टिङ, स्कप्चर, क्यालिग्राफी, धातुका कलाकृतिहरू, प्राचिन हात हतियारहरू, मृत्तिकाकला वा सेरामिक्स, ल्याक्योेर आर्ट, टेक्स्टाइल, पुरातत्व, जातीयकला जस्ता जापानी काmलकृतिका साथै जापानबाहिरका अन्य पूर्वि मुलुकहरूका कलाकृति पनि समेटिएका थिए संग्रहालयमा । यसको प्रबन्ध, यसको हेरचाह देख्दा मलाई मेरा संग्रहालयहरूका दुावस्था र निरिहताको हरबखत सम्झना भइरहेथ्यो । उनेओ पार्कस्थित जापानको पहिलो यो टोकियो नेसनल म्युजियम अर्थात टोक्यो कोकुरित्सु हाकुबुत्सुकानमा पहिलो मौलिक संग्रह सन् १८७१मा सुरु भएको थियो र सुरुमा यी बस्तु एउटा आवासीय भवनमा अस्थायी रुपमा राखिएका थिए । सन् १८८२मा यो नयाँ भवनमा सरिएको यो संग्रहालयको रेखदेख त्यसको चार वर्ष पछि शाही हेरचाह मन्त्रालयले गर्न थल्यो । १८८९देखि १९००सम्म टोकियो इम्पेरियल म्युजियमको नाउँबाट चिनिँदै आएको यो संग्रहालयले त्यसपछि सन् १९४७सम्म नै टोकियो इम्पेरियल हाउसहोल्ड म्युजियमको नाउँ पायो ।

टोकियो नेसनल म्युजियम मात्र होइन, टोकियो विश्वविद्यालयद्वारा व्यवस्थित कोइसिकावा असोकुबुत्सुएन बोटानिकल गार्डेन पनि कम दर्शनीय थिएन । ५ हजारभन्दा बढी प्रजातिका बोट विरुवा सहित १६ हेक्टर जमिनमा फैलिएको यो उद्यानको मुख्य विशेषता पूर्वी एसिया र संसारका विभिन्न भागमा पाइने वनस्पतिका प्रजातिहरू देख्न पाइनु रहेछ ।

अन्तिम अन्तिमको दशौं दिनले जापानको उन्नतिका धेरैमध्ये एउटा कारण अनुमान गर्न सघाएको थियो हामीलाई । त्यो भ्रमण कार्यक्रम थियो– विज्ञान तथा प्रविधि केन्द्र । उक्त केन्द्रको कार्यक्रम तथा नीति विभागका सहायक प्रमुख सियोमित्सु, जनसम्पर्क निर्देशक मिनोरु हाकामागी र अनुसन्धान विभागका उपनिर्देशक नोरिको सियोमुत्सुले दिएका जानकारीबाट हामीले त्यो अनुमान गरेका थियौं । जापान विज्ञान र प्रविधिलाई अत्यन्त महत्व दिन्छ, हरेक कार्यलय, उद्योग तथा निकायहरूमा आफ्नै विकास तथा अनुसन्धान निकाय कार्यरत छन् । सबै कार्यालय र औद्योगिक–व्यापारिक प्रतिष्ठानले प्रविधि विकास तथा अनुसन्धानका लागि निश्चित बजेट छुटयाउनु अनिर्वा छ । त्यसैले उनीहरू कुनै पनि कार्यक्रम र उत्पादन व्यापक अध्ययन–अनुसन्धान नगरीकन प्रयोगमा ल्याउँदैनन । हाम्रोजस्ता तदर्थ र हचुवा निर्णय हुँदैन, न त सोचविचार नगरी कुनै काम थान्छि त्यहाँ । विज्ञान–प्रविधि केन्द्रबाट फर्केपछिको नेपाल–जापान संसदीय मैत्री संघका अध्यक्ष तथा तत्कालीन यातायात मन्त्री किया ओकुदासँगको भेट पनि निकै रमाइलो र प्रेरक थियो । नेपालका मित्र मानिने ओकुदालाई नेपालको बारेमा हामीलाई भन्दा बढी जानकारी भएको पाउँदा हामीलाई निकै खुशी लागेथ्यो ! उनीसँग लिएको एउटा अन्तर्वार्ता नेपाल फर्केपछि मैले गोरखापत्रमा प्रकाशित पनि गरेको थिएँ ।

जापान भ्रमणको लगभग पुछारमा आइसकेका थियौं हामी, अब जापानको बसाइ दुई दिनमात्र बाँकी थियो हामीसँग । त्यसैले ओकुदाकहाँबाट फर्केपछि साँझमा विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस डिभिजनका निर्देशक मोरीमोतोले हामीलाई दिने विदाई रात्रिभोजमा सहभागी हुनु थियो । उनी, सेइजी तानिगुची र नाम विर्सिएका अर्का एकजना अधिकारीको व्यवहारमात्र होइन जापानी परम्परागत खाना र त्यसको विवरण पनि हाम्रा लागि अविस्मरणीय बनेको थियो । परम्परागत जापानी भोजनालयमा जापानी शैलीको त्यो भोजमा पस्किइने पकिारका क्रमबद्धता, निस्तो भातदेखि प्राय सी फुडको आधिक्यता, कतिपय अवसरमा उनीहरूको भोजन संस्कार र प्रक्रिया नबुझ्दा हामीमा देखापरेको अलमल– सबै नै सम्झन लायक थिए । उनीहरूले खाएको हेरेर आफूपनि त्यसैको सिको गर्दै हामी आफ्नो अलमलबाट मुक्ति लिने प्रयास गरेका थियौं त्यतिखेर । अझ काठमाडौंमै हामी जापान प्रस्थान गर्नुपूर्व नेपालका लागि जापानी राजदूतले दिएका रात्रिभोजमा देखेर सिक्न गरेको केही प्रयासले त्यति बेला निकै केही मदत पु¥याएकोथियो, नत्र त खानुभन्दा जिल्ल परेर बस्नुबाहेक अर्को उपाय थिएन हामीसँग !

नेपाल फर्कने अघिल्लो दिन डिस्नेल्याण्ड देखाउन छुट्याइएको थियो हाम्रा कार्यक्रममा । विहान दशै बजे वातानावे र ओकाजोए माची आइपुगे, डिस्ने ल्याण्ड लैजान । बीसौं शताब्दीभर केटाकेटी र युवाहरूका बीच अत्यन्त लोकप्रिय मनोरञ्जक चलचित्र र पार्कहरूको उत्पादक–व्यवस्थापक मानिएको अमेरिकी वाल्ट डिस्ने कम्पनीका प्रस्तुतीहरू रोचक मात्र नभएर शिक्षाप्रद पनि थिए । सन् १९२९मा चलचित्रका एनिमसन कलाकार वाल्ट डिस्ने र उनका व्यापारी भाइ रोयले क्यालिफोर्नियामा सुरु गरेका यो कम्पनीको जापानस्थित स्निेल्याण्ड एम्युजमेण्ट पार्क टोकियो नजिकै सन् १९८३मा खोलियो । एनिमेसन कार्टुन फिल्मका लागि प्रख्यात डिस्ने कम्पनीका मिकी माउस, मिनी माउस, डोनाल्ड डक र प्लुटो आदिले प्रारम्भमैं विश्वव्यापी लोकप्रियता पाए । त्यसबाट पे्ररित भएर यसले बनाएका स्नो ह्वाइट र सात बामपुड्केहरू, डम्बो, फेण्टेसिया, सिण्ड्रेला, अझै पनि त्यत्तिकै लोकप्रिय देखिन्छन् । त्यसपछि यो कम्पनीले क्यालिफोर्नियाको अनेहिममा सर्वप्रथम डिस्नेल्याण्ड मनोरञ्जन पार्कको स्थापना ग¥यो । लगभग त्यसकै अनुकृति भनिने टोकियो डिस्ने एम्युजमेण्ट पार्कमा विभिन्न विषयमा विभाजित खण्डहरू छन् । स्थल, जल र अन्तरिक्षको रोमाञ्चक यात्रामा स्वयम् सहभागी बनेको अनुभूति आफैंमा रोमाञ्चक अनुभव थियो । त्रिआयामिक माध्यमबाट विचित्रको अनुभव दिने यो मनोरञ्जन पार्कको यात्रा साँच्चि नै अभूतपूर्व थियो हाम्रालागि पनि ।

चेरी र बुद्धिष्ट कलाका लागि मात्र होइन लोग्ने मानिसलाई मनोरञ्जन गराउने कामलाई नै परंपरागत पेशा बनाउने गिसाको बारेमा पनि सुनेको थिएँ मैले । यहाँ गिसाबारे पाएको जानकारीले मलाई दाङ र नेपालगञ्जको गगनगञ्ज सम्झाउन पुगेका थिए । हामी वादी भन्छौं, उनीहरू गिसा– यी दुई उही नभएर पनि उस्तै यस्तै लागेका थिए मलाई ! आखिर दुबै सिमानाका यी नारीहरू एउटै नियति न भोग्दै थिए, भोग्दै छन् । दुबै देशको मूलमा सामन्ती संस्कारछ, जसमा स्वास्नीमान्छेहरू मात्र गिजोलेर आनन्द लिने बस्तु ठानिन्छन् । त्यसैले बाँच्नका लागि मात्र पनि शरीर गिजोल्याएर केही आर्जन गर्ने पेशालाई परंपरा बनाउनु पर्छ तिनले । उदार पश्चिमीहरू पनि चोखा छैनन्, उनीहरू त शरीरलाई गिजोल्ने मात्र होइन सोकेशमा सजाएर पनि फेरि फाइदै लिन खोज्छन् । त्यसैले मानवीय प्रवृत्ति र नारी नियति कमोबेस उस्तै हुन्छ सायद् । समाजको सँगै अहिले गिसाहरूको परम्परागत रुप फेरिंदै गएको छ । हिजो उनीहरू लोग्ने मान्छेको मागमा घरघरै पुग्थे, लोग्ने मान्छे गन्ध सुँघ्दै उनीहरूकोमा आफैं पुग्थे र कार्यव्यापार सम्पन्नहुन्थ्यो । आज पनि उनीहरू त्यही गर्छन । लोग्ने मानिसलाई नै खुसी तुल्याएर बाँच्ने साधनको खोजी गर्छन् । तर घरघरमा होइन, आज उनीहरू व्यापारीहरूको पार्टीमा होटेल, रेष्टुराँ र चियापसलमा आफ्नो त्यो सेवा उपलब्ध गराउँछन्, कलगर्लका रुपमा सेवा दिन्छन् र पारिश्रमिक लिन्छन–साधिकार । यो रुपान्तरण हाम्रा पनि ठूलासाना होटेल, राजमार्ग छेछाउका होटेल–चियापसलतिर देख्न पाइन्छ । समयसँगै सबैकुराले आफ्नो अनुहार बदलेर नवीन रुप लिनु सायद विकासवादको स्वाभाविक गति हो । त्यसैले त्यो जति जापानमा देखिन्छ, उति नै नेपालमा पनि भेटिन्छ ।

गिसाशब्दको जापानी शान्दिक अर्थले चाहिँ यौनजन्य पेशासँग कुनै साइनो राख्दैन । कलाकार बुझाउने यो शब्दले सामिसेना भनिने हाम्रो बाँसुरीजस्तै एकप्रकारको बाजा बजाउँदै गाउने, नाच्ने र लोकनाटक गर्ने कलाकारको बोध गराउँदोरहेछ । गिसाहरू पुष्पउत्सवमा फूल सजाउने, चिया समारोहमा चिया बनाउने र त्यसमा सघाउने, परम्परागथ चित्र तयार गर्नेजस्ता कामका लागि पनि प्रयोग गरिन्छन्, तर पनि उनीहरूको मूल काम भने आफ्ना धनी मालिक वा ग्राहकका लागि रमाइलो र मनोरञ्जक वातावरण बनाइदिनु नै हो । समाजका धनीमानी र तत्कालीन शासक समुराइहरूको यौन चाहना पूरा गराउने तथा मनोरञ्न गराउने परंपरागत समूह तयार पार्ने उद्देश्यबाट शत्रौं शताब्दीतिर सुरुगरिएको रहेछ गिसा परम्परा । सुरुमा यो स्वेच्छिक पेशा मानिए पनि पछि यो यौनपेशा बन्दै गयो ! गरिब बाबुआमा आफैंले आफ्ना छोरीहरू सानैमा गिसागृहमा लगेर बेच्न थाले । ती गृहहरू केही वर्षसम्म तिनलाई लालनपालन गरेर सबै काममा तालिम दिन्थे र गिसा पेशामा लगाउँथे । त्यसपछि उनीहरू कारयुकाई समुदायका सदस्यमा समावेश हुन्थे, आफ्ना बाबुआमाको ऋण तिर्ने र भविष्यका लागि कमाउन थाल्थे ! कारयुकाइको अर्थ हुन्थ्यो–फूल र पुतलीहरूको संसार ! यो सुन्दा मलाई भारतीय यौन बजारमा बेचिने नेपाली चेलीहरूको संझना भइरहेथ्यो– उनीहरू मध्ये पनि त कतिपय बाबुआमाको गरिबीका कारण भारतीय यौन बजारमा लगेर बेचिन्छन्, उनीहरूको ऋण तिर्न र माइती घरमा टिनको छाना लगाइदिन आफू नारकीय यन्त्रणा भोग्छन् । धनी व्यापार र प्रभावशाली राजनीतक व्यक्तिहरूबाट संरक्षित ती गिसाहरू मूलतः टोकियो क्योटोमा केन्द्रित थिए रे ।

भोलिपल्ट विहान सातै बजे होटेल छाड्नुछ, नेपाल फर्कनका लागि । आउनजान प्राय आकामैं विताइएका दुई दिन छाडेर आफ्नै आँखाले भोगेको जापान र आफ्नै कानले सुनेको जापान रोचक थियो र कौतुकमय पनि । हुन त दश दिनमा एउटा देश र तिनका मानिसबारे के र कति नै जान्न सकिन्छ र ! जति जानियो त्यो पनि कम थिएन मेरालागि । त्यसैले त यति पछिसम्म पनि ती दृश्य, ती घटना र जापानले पछ्याउन छाडेका छैनन मेरो स्मृतिलाई !

जेठ २०६१

मिर्मिरे, वर्ष ३३ अङ्क १२, पूर्णाङ्क २५३, चैत २०६१