Monday, August 30, 2010

साकुरा, गिसा र आत्मसम्मानको देश जापान

अनवरत प्रवाहित जनसागर र सवारी साधनहरूको कमिलाताँति, सधैँ हतारहतारमा दौडिए झैं लाग्ने व्यस्त जापानीहरूको टोकियो देख्दा लाग्थ्यो– हामी आफुू कति सुस्त जीवन बाँच्दैछौं । त्यो व्यस्तता र दौडधूपमा बाँच्न त्यहीँकै मानिसाई समेत त्यति सहज र सरल थिएन सायद् । टोकियोबाहिरको जापान केही सहज थियो, विश्वकै अति महँगो र व्यस्त महानगर टोकियोमा भने बाँच्नु सोचेजति सहज देखिँदैनथ्यो । त्यसैले उनीहरूलाई हाम्रोजस्तो बेफ्वाँकको गफ चुटेर समय खेर फाल्ने फुर्सत छैन । मेसिनजस्तै घोटिनु पर्छ त्यहाँ समयसँग जीवन साट्न । कामको बेला काम र कामबाट फुर्सत पाएकोबेला केही मनोरञ्जन, केही बसिवियाँलो– लाग्थ्यो यो नै आम र बहुसंख्यक जापानीहरूको जीवनदर्शन हो ! हो, सीमित जापानीहरू पश्चिमा भाषा, संस्कृति र संस्कारप्रति आकर्षित हुन थालेका छन्, पपकल्चर र पश्चिमी जीवनशैलीका पूजारी पनि बन्न थालेका छन् । नयाँ पुस्तामा पहिलेकोमाजस्तो मोह देखिँदैन– आफ्नो भाषा–संस्कृतिप्रति र परम्पराप्रति ! त्योभन्दा बढी अङ्ग्रेजी भाषा र पश्चिमी संस्कृतिप्रतिको मोह जाग्दैछ उनीहरूमा । तर पनि ठूलो संख्या अझै पनि परम्परालाई साथै लिएर आधुनिक विश्वमा अग्रणी भविष्यको निर्माण गर्न जुटेको अनुभव हुन्थ्यो । देखावटीपन र पपकल्चरमा होइन आफ्नो पनसहितको परिवर्तनमा जापानको भविष्य खोज्दैछन् उनीहरू !

जापानी विदेशमन्त्रालयको निम्तामा गरिएको लगभग दुईहप्ते जापान भ्रमणको दोश्रो चरणमा थियौं हामी– उद्धब उपाध्याय, केदार शाक्य र मस्वयम् । टोकियो बाहिरका हिरोसिमा, क्योटो, नारा र ओशाकाको भ्रमण सकेर अघिल्लो साँझ फेरि टोकियो प्रत्यागमन भएको थियो हाम्रो । वजापान आएको आठौं दिनको त्यो विहान आसा गोहान अर्थात विहानको खाना वा ब्रेकफास्ट सक्दा नसक्दा सुश्री किहारा टोकियो प्रिन्स होटेल आइसकेकी थिइन् । उनको आजको जिम्मेवारी थिया हामीलाई जापान सोसलिष्ट पार्टीको कार्यालय पु¥याएर भेटघाट गराउनु । टोकियो र टोकियो बाहिर समेत हरबखत साथ रहेको मासारु वातानावेले हिजै भनेको थियो– भोलिको पहिलो कार्यक्रममा उसको साटो उसकै साथी किहाराले साथ दिनेछ ।

बाँच्नमात्र होइन मर्नु पनि कठिन मान्छन् टोकियोबासीहरू । त्यसैले आफू जीवित छँदै आफ्नै मुत्युपछिको योजना बनाउँछन्, मृत्ुयपछिको सेवादायक संस्थाहरूसँग आफ्नै मुत्यु पछिको योजना बारे छलफल गर्छन ! मृत्युसंस्कारको तरिका, प्रयोग गरिने सामग्री, कतिसम्म मोलको मृत अवशेषपात्र (ग्चलक) र कुन पश्चिमी शैलीको शवाधार वा (कफिन) व्यवस्था गर्ने ? मृत्यु संस्कारमा बोलाउने अतिथिसूची, ख्वाइने खाना र साके, कस्तो खालको शोकसंगीत र आफ्नै मृत्युको घोषणा लेखिने टेबल र त्यसको स्थान सबै नै छलफलका विषय हुने गर्छन । आफ्नो त्यो भावि महाप्रयाणका लागि लाग्ने खर्च अनुमान, पनि छलफको मुख्य विषय बन्छ, त्यहाँ । मृत्युसंस्कारका यी सबै काम गर्न कम्तीमा पनि ४० हजार अमेरिकी डलरभन्दा कमले पुग्दैन रे ! त्यो रकम अधिकांश जापानीहरूका लागि थेग्न नसकिने भार हुनजान्छ, जुन बेहोर्नै पर्छ । त्यसैले टोकियोमा बाँच्नु भन्दा कम कठिन छैन मरेपछिको खर्च जगेर्ना गर्नु ! मृत्युसंस्कार पनि कम जटिल छैन उनीहरूको । जहाँ मरेको भए पनि मृत शरीरलाई घरमैं ल्याइन्छ । मलामीहरूले त्यो मृतात्मालाई बौद्ध मन्त्र पढ्दै विदा गर्छन् । मृतकका लागि स्मारकस्थल समेत किन्नुपर्छ – टोकियोको केन्द्रीय भागस्थित आयोमा चिहानमा शव गाड्नका लागि आवश्यक एउटा विच्छ्यौनाजत्रो आकारको जमिनलाई १ लाख ५२ हजार अमेरिकी डलर तिर्नुपर्छ रे !

हामीलाई जापान सोसल डेमोक्रेटिक पार्टीको कार्यलयमा पु¥याएकी थिई किहाराले । काठमाणौं छँदै जापानी दूतावासले उपलब्ध गराएको निर्धारित भ्रमण कार्यक्रम (आइटेनरी) अनुसार त्यहाँ सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी (एसडीजेपी)बाट माथ्लो सदनमा प्रतिनिधित्व गर्ने सांसद् यामादा केन–इचीसँग भेटघाट गर्नु थियो । केन–इची सार्वजनिक सूचना व्यूरोका निर्देशक र हाउस अफ काउन्सिलरका सदस्य पनि थिए । हामी पुग्दा उनी हाम्रै प्रतीक्षामा थिए । मीठो मुस्कानसहित उठेरै गरेको गरिएको उनको स्वगतबाट हाम्रालागि अप्रत्याशित थियो । आफ्नो देशमा पत्रकार वा अतिथिको उठेर स्वागत गर्नु त परै छाडौं, साधारण व्यक्तिसँग बोल्नु पर्दा समेत ओहदा गुमेको ठान्ने कतिपय मन्त्री र सांसद बेहोरेका हामीलाई त्यो अप्रत्याशित लाग्नु अस्वभाविक थिएन । केन–इचीबाट जापानी संसद् र पार्टीहरू बारे राम्रो जानकारी लिइसके पछि मैले उनीसँग एउटा अन्तर्वार्ता लिएको थिएँ, जुन पछि गोरखापत्रमा छापियो पनि ।

मेइजी काल (१८६८–१९१२) मैं दलीय प्रणाली सुरु भए पनि सन् १९३०–४०को युद्धकालीन जापानमा पार्टीहरू दबाइए । सन् १९४७ को संविधानले जापानी नगरिकहरूलाई पुनः पार्टी खोल्ने अधिकार दिएपछि लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी), सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे), क्लिन गभर्नमेण्ट पार्टी (कोमेइतो), डेमोक्रेटिक सोसलिस्ट पार्टी (डीएसपी), र जापान कम्युनिस्ट पार्टी (जेसीपी) अस्तित्वमा आए । वीसौं शताब्दी उत्तरार्धको लगभग सम्पूर्ण समय सत्तामा रहेकोे एलडीपी मूलतः व्यापारी र समाजका प्रभावशाली शक्तिसमूहद्वारा समर्थित अनुदारवादी पार्टी मानिन्छ । सन् १९४१देखि सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे) मा बदलिएको पुरानो जापान सोसलिस्ट पार्टी भने श्रमसंगठन र ठूला शहरका वासिन्दाद्वारा समर्थित रहेछ । लामो समयदेखि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको एसडीपीजेले सन् १९९३मा एलडीपीबाट फुटेर आएका सदस्यहरूसँग मिलेर एसडिपीजे–एलडीपी गठबन्धन बनाएर न्यु फ्रण्टायर पार्टी वा शिनशिन्तो गठन ग¥यो । त्यसपछि मात्र यो पार्टी एलडीपीको लामो प्रभूत्व समाप्त पार्न सफल भयो । बलियो प्रतिपक्षी मानिने कोमेतो भने मूलतः सोका गाक्की नामक धार्मिक संस्थाबाट समर्थित छ । डीएसपीको गठन सन् १९६०मा पुरानो जापान सोसलिस्ट पार्टीबाट फुटेर गएको दक्षिणपन्थी समूहबाट भएको हो भने अर्को जेसीपी सानो भए पनि जापानको प्रभावशाली दल मानिन्छ ।

पश्चिमी प्रशान्त महासागरको बीचमा २४ सय किलोमिटर लामो फैलिएको टापुहरूको श्रृङ्खला हो जापान । तीन लाख ७७ हजार ८३५ क्षेत्रफल भूभाग ओगट्ने जापानका होन्सु, होकाइडो, क्युसू र शिकोकु प्रमुख चार टापु मध्ये सबैभन्दा ठूलो होन्सुको पूर्वी केन्द्रमा रहेको थियो राजधानी टोकियो । बीस वर्ष उमेर पुगेका वालिग जापानी मतदाताहरूद्वारा चुनिएका जनप्रतिनिधिहरूबाट गठन हुने संसद्को प्रतिनिधि सभामा १३० संसदीय क्षेत्रबाट प्रत्येक चार वर्षका लागि ५११ जना प्रतिनिधिहरू छानिन्छन् । छ वर्षका लागि चुनिने सल्लाहकार सभाका २५२ मध्ये आधा संख्यकाको निर्वाचन प्रत्येक तीन–तीन वर्षमा हुने गर्छ ।

सन् १८६८सम्म इडोको नाउँले चिनिँन्थ्यो आजको महानगर टोकियो ! केन्दी्रय जापानको हान्सु टापुस्थित टोकियो खाडीकै उत्तर र पश्चिम किनारामा अवस्थित टोकियोको केन्दीय भाग बाहेक सीमावर्ती प्रिफेक्चरहरू उत्तरको सितामा, पूर्वको सिवा र दक्षिणको कानागावाभित्रका सबै भाग ग्रेटर टोकियोभित्रै समेटिएका छन् । टोकियो नगरले सामान्यता नगरकेन्द्रका २३ वडा (कु) लाई बुझाउँछ । विशाल टोकियोभित्र शहर र बजार मात्र छैनन्, नगरको पश्चिमी क्षेत्र र इजु टापुमा टोकियो खाडीकै मुखबाट दक्षिण तर्फ पसार्रिएको ग्रामीण र पहाडी भाग पनि देखिन्छ । महानगरीय क्षेत्रमा अरु तीन प्रमुख शहरहरू पनि छन्– जापानकै दोश्रो ठूलो शहर योकोहामा, टोकियो र योकोहामाको बीचमा चेपिएको औद्योगिक नगर कावासाकी र सिवा । यामातालाई भेटेपछि घुम्नु बाहेक अर्को काम थिएन, यस क्रममा जापान र टोकियोका बारेमा निकै कुरा जान्ने अवसर पनि पाएका थियौं हामीले । होटेल फर्केर चियापना पछि केहीबेर आफू खुसी नजिकै सायंभ्रमण र हिरु गोहान अर्थात बेलुकीको खाना खानु बाहेक अरु केही थिएन अब आजको कार्यक्रम ।

भोलिपल्ट अर्थात भ्रमणको नवौं दिनका कार्यक्रम प्राय औपचारिक थिए– ठूलो प्रकाशन डायोनिप्पोन जाने, प्रतिनिधिसभा डायट घुम्ने र डायट प्रेस सेण्टर हेर्ने । विहान दश बजेतिर टोकियोस्थित ठूलो प्रकाशन डायोनिप्पोनको अवलोकन पश्चात हामीलाई वातानावेले डायट हाउस र डायट प्रेस सेण्टर पु¥याएकोथियो । डायटमा केही बेर संसद् सञ्चालनका प्रक्रियाहरू हेरेपछि डायट सञ्चालन र यसका बारे थप जानकारीका लागि हामी पुग्यौं डायट प्रेस सेण्टर । त्यहाँका निर्देशक मुराता मात्र होइन आशाही सिम्बुनका स्टाफ राइटर एफ. योसिमुरा र सोही अखबारको क्याविनेट तथा संसदीय रिपोर्टिङ सम्बन्धी सहव्यवस्थापक वाकामियाबाट पनि निकै उपयोगी जानकारी पायौं हामीले । डायटको सूचना केन्द्र र त्यसमा संंसद् तथा क्याविनेट रोपोर्टिङमा खटिएका समाचार संकलनमा धेरै भोटो फटाएका अनुभवी पत्रकारहरूको उपस्थितिले मलाई मेरो संसद भवन र त्यहाँ समाचार संकलनमा रोबदाव देखिने आलाकाँचा सिकारु पत्रकारहरूको चलखेल सम्झाइरहेको थियो । उनीहरू लामो अनुभव र अन्य क्षेत्रमा धेरै काम गरेपछि मात्र वरियताको क्रममा संसद् र सरकारसम्बन्धी समाचार विचार संकलनको जिम्मेवारी पाउँदछन् । त्यसैले सरकार र संसद्मा उनीहरूको मर्यादा पनि निकै उच्च छ, जुन हामी कहाँ अपेक्षा गर्न सकिँदैन ।

औपचारिक कार्यक्रमको समाप्तिपश्चात आज मजासँग घुमियो गिन्जा । टोकियोको चोउ वडामा रहेको यो विश्वप्रसिद्ध प्रमुख व्यापारिक केन्द्र गिन्जाले आफ्नो नाउँ चाँदी अर्थात जापानी भाषामा गिन र गिल्ड वा व्यापारिक समुदाय अर्थात जालाई मिलाएर लिएको रहेछ । सुरुमा चाँदीको व्यापारमा कहलिएको यो ठाउँ सन् १६१२देखि चाँदीको सिक्कामा टकमारी गर्ने सरकारी टकसारमा प्रयोग भएछ । जापानी टकसार गिन्जाले मलाई मेरै काठमाडौं र पाल्पाका टकसारको सम्झना दिलाएको थियो त्यतिखेर । दक्षिणपश्चिमको शाही दरबारस्थित मैदान नजिकैको क्यो पुलदेखि न्युब्रिजसम्म फैलिएको गिन्जा बजारले लगभग अढाई किलोमिटर क्षेत्रफल ओगटेको थियो । फुटकर पसल, बहुकक्षीय शपिङ सेण्टर, बहुतले विशाल बजार र जापान र बाहिर विदेशबाट समेत आकर्षित पर्यटक र खरिदकर्ताहरूको कहिल्यै नटुट्ने ताँति–साँच्चिकै मोहनीरुप थियो गिन्जा । अझ रातको गिन्जा त रङ्गीविरङ्गी बत्तीको उज्यालोमा नयाँ बेहुलीजस्तै सिङ्गारिएर ग्राहक लोभ्याइरहेको देखिन्थ्यो ।

टोकियो टावरपुग्नु अघि विशाल तोसोगु मन्दिर अर्थात टोजाजी टेम्मपल र शिवाकोएन पार्क पर्यटक लोभ्याइरहेका थिए । टोकयो महानगरको मध्यकालीन ती दर्शनीय स्थलहरूले जोकोहीको आँखा तान्थे र मन प्रफुल्लित गराई दिन्थे । विश्वकै सबैभन्दा पुरानो मानिने काष्ठसंरचना वा काठबाट बनेको मन्दिर हो¥युजी अझ कम आकर्षक छैन । भनिन्छ धेरै पुरानो होइन, गगनचुम्बी भवन निर्माणको जापानी परम्परा ! सरकारी मन्त्रालयहरू रहेको ठीक दक्षिणपटि सन् १९६८मा छत्तीस तले कासुमिगासेकी भवन बनेपछि नै सुरु भयो यो परम्परा । १० तलासम्ममा मात्रै सीमित थिए जापानी भवनहरू त्यतिखेर । गगनचुम्बी भवनहरूको ताँति सबैभन्दा बढी भने सिञ्जुकी रेल स्टेसनको दक्षिण तर्फ देख्नपाइन्छ ।

सन् १९७३मा बनेको योकोहामाको ७० तले टोकियो टावर जापानकै सबैभन्दा अग्लो संरचनाको गौरव बनेको छ । फुजी टेलिभिजन भवनको स्पष्ट पहिचानले पनि सिन्जुकु र ओदाइवा क्षेत्रलाई सजिलै चिनाइरहेको देखिन्छ । टोकयो टावरस्थित मैन संग्रहालय अर्थात मैन म्युजियमको अर्कै आकर्षण थियो । विश्वका परिचित अनुहारहरूको पूर्णकद मूर्तिहरू साँच्चै नै बोलिहाल्लान र हातै मिलाउन आउलान् जस्तो ! एक्वेरियम केटाकेटीदेखि ठूलासम्म सबैको अर्को आकर्षण थियो टावरमा । टावरमा रहेका दर्शनीय संग्रहालयहरू, यहाँबाट देखिने आकर्षक टोकियोको दृश्य निहार्दै कसिपको चुस्कीमा पाइने आनन्द, आफैंमा अनुपम अनुभव थियो पर्यटककालागि ।

हाम्रा जापानी सहयोगी केनले प्रतिव्यक्ति चारसय येन तिरेर छिराएका थिए टोकियो नेसनल म्युजियम । जापानको सबैभन्दा ठूलो यो संग्रहालयमा ८० हजार बस्तुहरु प्रदर्शित छन् रे । म्युजियमको मूलढोकादेखि नै अनुपम कलादशर्नको अवसर पाइएको थियो । मूल ढोकाबाट केही पश्चिममा रहेको इडोकालीन कलात्मक कुरोमोन् वा कालो ढोका, त्यो कुरोमोन मूलढोकाबीच छापिएका छानाका कलात्मक टायल सबै नै अरु सामग्री हेर्नका लागि कुत्कुत्याइ रहेका थिए । संग्रहालयको पुरातात्विक बस्तुहरू प्रदर्शित यो ह्योकेइकान ग्यालरी १९०८मा बनेको रहेछ । त्यसको पछाडि, चिनियाँ क्विङ बंशको काल्पनिक सिंहजस्तै देखिने दुईवटा जनावरको शिलामूर्ति– सिसी प्रदर्शित थिए । सिसीको वायाँतर्फ कोरियाली यिन बंशकालीन दुई कर्मचारीको बोल्लानजस्तै शिलामूर्ति उभिएका थिए । जापान र अन्य पूर्वीय मुलुकहरूका कलाकृतिहरूको अनुपम संग्रह रहेको टोकियोको उनेओ पार्कस्थित यो टोकियो नेसनल म्युजियम जापान सरकारद्वारा स्थापित र सञ्चालित, जापानकै ठूलो र पुरानो संग्रहालय मानिँदो रहेछ । चारवटा प्रदर्शन खण्डमा ४२वटा प्रदर्शन कक्ष थिए यसमा । पेन्टिङ, स्कप्चर, क्यालिग्राफी, धातुका कलाकृतिहरू, प्राचिन हात हतियारहरू, मृत्तिकाकला वा सेरामिक्स, ल्याक्योेर आर्ट, टेक्स्टाइल, पुरातत्व, जातीयकला जस्ता जापानी काmलकृतिका साथै जापानबाहिरका अन्य पूर्वि मुलुकहरूका कलाकृति पनि समेटिएका थिए संग्रहालयमा । यसको प्रबन्ध, यसको हेरचाह देख्दा मलाई मेरा संग्रहालयहरूका दुावस्था र निरिहताको हरबखत सम्झना भइरहेथ्यो । उनेओ पार्कस्थित जापानको पहिलो यो टोकियो नेसनल म्युजियम अर्थात टोक्यो कोकुरित्सु हाकुबुत्सुकानमा पहिलो मौलिक संग्रह सन् १८७१मा सुरु भएको थियो र सुरुमा यी बस्तु एउटा आवासीय भवनमा अस्थायी रुपमा राखिएका थिए । सन् १८८२मा यो नयाँ भवनमा सरिएको यो संग्रहालयको रेखदेख त्यसको चार वर्ष पछि शाही हेरचाह मन्त्रालयले गर्न थल्यो । १८८९देखि १९००सम्म टोकियो इम्पेरियल म्युजियमको नाउँबाट चिनिँदै आएको यो संग्रहालयले त्यसपछि सन् १९४७सम्म नै टोकियो इम्पेरियल हाउसहोल्ड म्युजियमको नाउँ पायो ।

टोकियो नेसनल म्युजियम मात्र होइन, टोकियो विश्वविद्यालयद्वारा व्यवस्थित कोइसिकावा असोकुबुत्सुएन बोटानिकल गार्डेन पनि कम दर्शनीय थिएन । ५ हजारभन्दा बढी प्रजातिका बोट विरुवा सहित १६ हेक्टर जमिनमा फैलिएको यो उद्यानको मुख्य विशेषता पूर्वी एसिया र संसारका विभिन्न भागमा पाइने वनस्पतिका प्रजातिहरू देख्न पाइनु रहेछ ।

अन्तिम अन्तिमको दशौं दिनले जापानको उन्नतिका धेरैमध्ये एउटा कारण अनुमान गर्न सघाएको थियो हामीलाई । त्यो भ्रमण कार्यक्रम थियो– विज्ञान तथा प्रविधि केन्द्र । उक्त केन्द्रको कार्यक्रम तथा नीति विभागका सहायक प्रमुख सियोमित्सु, जनसम्पर्क निर्देशक मिनोरु हाकामागी र अनुसन्धान विभागका उपनिर्देशक नोरिको सियोमुत्सुले दिएका जानकारीबाट हामीले त्यो अनुमान गरेका थियौं । जापान विज्ञान र प्रविधिलाई अत्यन्त महत्व दिन्छ, हरेक कार्यलय, उद्योग तथा निकायहरूमा आफ्नै विकास तथा अनुसन्धान निकाय कार्यरत छन् । सबै कार्यालय र औद्योगिक–व्यापारिक प्रतिष्ठानले प्रविधि विकास तथा अनुसन्धानका लागि निश्चित बजेट छुटयाउनु अनिर्वा छ । त्यसैले उनीहरू कुनै पनि कार्यक्रम र उत्पादन व्यापक अध्ययन–अनुसन्धान नगरीकन प्रयोगमा ल्याउँदैनन । हाम्रोजस्ता तदर्थ र हचुवा निर्णय हुँदैन, न त सोचविचार नगरी कुनै काम थान्छि त्यहाँ । विज्ञान–प्रविधि केन्द्रबाट फर्केपछिको नेपाल–जापान संसदीय मैत्री संघका अध्यक्ष तथा तत्कालीन यातायात मन्त्री किया ओकुदासँगको भेट पनि निकै रमाइलो र प्रेरक थियो । नेपालका मित्र मानिने ओकुदालाई नेपालको बारेमा हामीलाई भन्दा बढी जानकारी भएको पाउँदा हामीलाई निकै खुशी लागेथ्यो ! उनीसँग लिएको एउटा अन्तर्वार्ता नेपाल फर्केपछि मैले गोरखापत्रमा प्रकाशित पनि गरेको थिएँ ।

जापान भ्रमणको लगभग पुछारमा आइसकेका थियौं हामी, अब जापानको बसाइ दुई दिनमात्र बाँकी थियो हामीसँग । त्यसैले ओकुदाकहाँबाट फर्केपछि साँझमा विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस डिभिजनका निर्देशक मोरीमोतोले हामीलाई दिने विदाई रात्रिभोजमा सहभागी हुनु थियो । उनी, सेइजी तानिगुची र नाम विर्सिएका अर्का एकजना अधिकारीको व्यवहारमात्र होइन जापानी परम्परागत खाना र त्यसको विवरण पनि हाम्रा लागि अविस्मरणीय बनेको थियो । परम्परागत जापानी भोजनालयमा जापानी शैलीको त्यो भोजमा पस्किइने पकिारका क्रमबद्धता, निस्तो भातदेखि प्राय सी फुडको आधिक्यता, कतिपय अवसरमा उनीहरूको भोजन संस्कार र प्रक्रिया नबुझ्दा हामीमा देखापरेको अलमल– सबै नै सम्झन लायक थिए । उनीहरूले खाएको हेरेर आफूपनि त्यसैको सिको गर्दै हामी आफ्नो अलमलबाट मुक्ति लिने प्रयास गरेका थियौं त्यतिखेर । अझ काठमाडौंमै हामी जापान प्रस्थान गर्नुपूर्व नेपालका लागि जापानी राजदूतले दिएका रात्रिभोजमा देखेर सिक्न गरेको केही प्रयासले त्यति बेला निकै केही मदत पु¥याएकोथियो, नत्र त खानुभन्दा जिल्ल परेर बस्नुबाहेक अर्को उपाय थिएन हामीसँग !

नेपाल फर्कने अघिल्लो दिन डिस्नेल्याण्ड देखाउन छुट्याइएको थियो हाम्रा कार्यक्रममा । विहान दशै बजे वातानावे र ओकाजोए माची आइपुगे, डिस्ने ल्याण्ड लैजान । बीसौं शताब्दीभर केटाकेटी र युवाहरूका बीच अत्यन्त लोकप्रिय मनोरञ्जक चलचित्र र पार्कहरूको उत्पादक–व्यवस्थापक मानिएको अमेरिकी वाल्ट डिस्ने कम्पनीका प्रस्तुतीहरू रोचक मात्र नभएर शिक्षाप्रद पनि थिए । सन् १९२९मा चलचित्रका एनिमसन कलाकार वाल्ट डिस्ने र उनका व्यापारी भाइ रोयले क्यालिफोर्नियामा सुरु गरेका यो कम्पनीको जापानस्थित स्निेल्याण्ड एम्युजमेण्ट पार्क टोकियो नजिकै सन् १९८३मा खोलियो । एनिमेसन कार्टुन फिल्मका लागि प्रख्यात डिस्ने कम्पनीका मिकी माउस, मिनी माउस, डोनाल्ड डक र प्लुटो आदिले प्रारम्भमैं विश्वव्यापी लोकप्रियता पाए । त्यसबाट पे्ररित भएर यसले बनाएका स्नो ह्वाइट र सात बामपुड्केहरू, डम्बो, फेण्टेसिया, सिण्ड्रेला, अझै पनि त्यत्तिकै लोकप्रिय देखिन्छन् । त्यसपछि यो कम्पनीले क्यालिफोर्नियाको अनेहिममा सर्वप्रथम डिस्नेल्याण्ड मनोरञ्जन पार्कको स्थापना ग¥यो । लगभग त्यसकै अनुकृति भनिने टोकियो डिस्ने एम्युजमेण्ट पार्कमा विभिन्न विषयमा विभाजित खण्डहरू छन् । स्थल, जल र अन्तरिक्षको रोमाञ्चक यात्रामा स्वयम् सहभागी बनेको अनुभूति आफैंमा रोमाञ्चक अनुभव थियो । त्रिआयामिक माध्यमबाट विचित्रको अनुभव दिने यो मनोरञ्जन पार्कको यात्रा साँच्चि नै अभूतपूर्व थियो हाम्रालागि पनि ।

चेरी र बुद्धिष्ट कलाका लागि मात्र होइन लोग्ने मानिसलाई मनोरञ्जन गराउने कामलाई नै परंपरागत पेशा बनाउने गिसाको बारेमा पनि सुनेको थिएँ मैले । यहाँ गिसाबारे पाएको जानकारीले मलाई दाङ र नेपालगञ्जको गगनगञ्ज सम्झाउन पुगेका थिए । हामी वादी भन्छौं, उनीहरू गिसा– यी दुई उही नभएर पनि उस्तै यस्तै लागेका थिए मलाई ! आखिर दुबै सिमानाका यी नारीहरू एउटै नियति न भोग्दै थिए, भोग्दै छन् । दुबै देशको मूलमा सामन्ती संस्कारछ, जसमा स्वास्नीमान्छेहरू मात्र गिजोलेर आनन्द लिने बस्तु ठानिन्छन् । त्यसैले बाँच्नका लागि मात्र पनि शरीर गिजोल्याएर केही आर्जन गर्ने पेशालाई परंपरा बनाउनु पर्छ तिनले । उदार पश्चिमीहरू पनि चोखा छैनन्, उनीहरू त शरीरलाई गिजोल्ने मात्र होइन सोकेशमा सजाएर पनि फेरि फाइदै लिन खोज्छन् । त्यसैले मानवीय प्रवृत्ति र नारी नियति कमोबेस उस्तै हुन्छ सायद् । समाजको सँगै अहिले गिसाहरूको परम्परागत रुप फेरिंदै गएको छ । हिजो उनीहरू लोग्ने मान्छेको मागमा घरघरै पुग्थे, लोग्ने मान्छे गन्ध सुँघ्दै उनीहरूकोमा आफैं पुग्थे र कार्यव्यापार सम्पन्नहुन्थ्यो । आज पनि उनीहरू त्यही गर्छन । लोग्ने मानिसलाई नै खुसी तुल्याएर बाँच्ने साधनको खोजी गर्छन् । तर घरघरमा होइन, आज उनीहरू व्यापारीहरूको पार्टीमा होटेल, रेष्टुराँ र चियापसलमा आफ्नो त्यो सेवा उपलब्ध गराउँछन्, कलगर्लका रुपमा सेवा दिन्छन् र पारिश्रमिक लिन्छन–साधिकार । यो रुपान्तरण हाम्रा पनि ठूलासाना होटेल, राजमार्ग छेछाउका होटेल–चियापसलतिर देख्न पाइन्छ । समयसँगै सबैकुराले आफ्नो अनुहार बदलेर नवीन रुप लिनु सायद विकासवादको स्वाभाविक गति हो । त्यसैले त्यो जति जापानमा देखिन्छ, उति नै नेपालमा पनि भेटिन्छ ।

गिसाशब्दको जापानी शान्दिक अर्थले चाहिँ यौनजन्य पेशासँग कुनै साइनो राख्दैन । कलाकार बुझाउने यो शब्दले सामिसेना भनिने हाम्रो बाँसुरीजस्तै एकप्रकारको बाजा बजाउँदै गाउने, नाच्ने र लोकनाटक गर्ने कलाकारको बोध गराउँदोरहेछ । गिसाहरू पुष्पउत्सवमा फूल सजाउने, चिया समारोहमा चिया बनाउने र त्यसमा सघाउने, परम्परागथ चित्र तयार गर्नेजस्ता कामका लागि पनि प्रयोग गरिन्छन्, तर पनि उनीहरूको मूल काम भने आफ्ना धनी मालिक वा ग्राहकका लागि रमाइलो र मनोरञ्जक वातावरण बनाइदिनु नै हो । समाजका धनीमानी र तत्कालीन शासक समुराइहरूको यौन चाहना पूरा गराउने तथा मनोरञ्न गराउने परंपरागत समूह तयार पार्ने उद्देश्यबाट शत्रौं शताब्दीतिर सुरुगरिएको रहेछ गिसा परम्परा । सुरुमा यो स्वेच्छिक पेशा मानिए पनि पछि यो यौनपेशा बन्दै गयो ! गरिब बाबुआमा आफैंले आफ्ना छोरीहरू सानैमा गिसागृहमा लगेर बेच्न थाले । ती गृहहरू केही वर्षसम्म तिनलाई लालनपालन गरेर सबै काममा तालिम दिन्थे र गिसा पेशामा लगाउँथे । त्यसपछि उनीहरू कारयुकाई समुदायका सदस्यमा समावेश हुन्थे, आफ्ना बाबुआमाको ऋण तिर्ने र भविष्यका लागि कमाउन थाल्थे ! कारयुकाइको अर्थ हुन्थ्यो–फूल र पुतलीहरूको संसार ! यो सुन्दा मलाई भारतीय यौन बजारमा बेचिने नेपाली चेलीहरूको संझना भइरहेथ्यो– उनीहरू मध्ये पनि त कतिपय बाबुआमाको गरिबीका कारण भारतीय यौन बजारमा लगेर बेचिन्छन्, उनीहरूको ऋण तिर्न र माइती घरमा टिनको छाना लगाइदिन आफू नारकीय यन्त्रणा भोग्छन् । धनी व्यापार र प्रभावशाली राजनीतक व्यक्तिहरूबाट संरक्षित ती गिसाहरू मूलतः टोकियो क्योटोमा केन्द्रित थिए रे ।

भोलिपल्ट विहान सातै बजे होटेल छाड्नुछ, नेपाल फर्कनका लागि । आउनजान प्राय आकामैं विताइएका दुई दिन छाडेर आफ्नै आँखाले भोगेको जापान र आफ्नै कानले सुनेको जापान रोचक थियो र कौतुकमय पनि । हुन त दश दिनमा एउटा देश र तिनका मानिसबारे के र कति नै जान्न सकिन्छ र ! जति जानियो त्यो पनि कम थिएन मेरालागि । त्यसैले त यति पछिसम्म पनि ती दृश्य, ती घटना र जापानले पछ्याउन छाडेका छैनन मेरो स्मृतिलाई !

जेठ २०६१

मिर्मिरे, वर्ष ३३ अङ्क १२, पूर्णाङ्क २५३, चैत २०६१

No comments:

Post a Comment