Monday, August 30, 2010

मेरो मानसको उपनिवेस र रेलको लामो सफर

“तै आधा घण्टा मात्रै ढिलो भयो, कहिलेकाहीँ त आठदश घण्टासम्म पनि ढिलो हुन्छ भन्थे !” हामी चढेको गोरखपुर एक्सप्रेसले निर्धारित समयभन्दा आधा घण्टापछि गोरखपुरबाट यात्रा सुरु गरेपछिको मेरो प्रतिक्रिया थियो यो । शयन सुविधा सहितको स्लिपर आरक्षित रेल्वे बर्थमा झोलीतुम्बा थान्को लाएर सिटमाथि थचक्क बसेपछि अब हामी रेल नहिँडुञ्जेलको अनिश्चितता र अघिसम्मको अरु मानसिक तनावबाट मुक्तभएका थियौं ।

भारतको अविकसित मानिने राज्य उत्तरप्रदेशको बिहारसँग नेपाली यात्रीहरूले प्राय सुखद अनुभव लिन पाउँदैन् भनिन्छ । गोरखपुको यो अव्यवस्थित रेल स्टेसनमा हुने धक्कमधक्का र भीडभाडमा रेल चढ्नु हाम्रो लागि निस्चय नै तवनावपूर्ण अभ्यास थियो । धेरै नभए पनि बेलायत र जापानमा रेल यात्राको अनुभव थियो मेरो, तर मेरा ती पूर्व अनुभवले यहाँ सघाउँदैनथे । त्यहाँको सुव्यवस्था, सबैले लामबसेर आफ्नो पालो कुर्ने उनीहरूको अभ्यास र हर समस्याको समाधानमा तत्पर रेल्वे कर्मचारीहरू र स्पष्ट मार्गदर्शनका लिखित स्पष्ट निर्देशनहरू– कुनै समस्या र तनावको सामना गर्नु प।रेको थिएन मैले त्यहाँ । तर यो बेलायत एिनल न त जापान थियो यो ! यो थियो– भारतको पनि अति अविकसित र अव्यवस्थित उत्तरप्रदेश–बिहारमध्येको एउटा देहाती रेल स्टेसन । त्यसैले यहाँ सबै अव्यवस्थित लाग्थ्यो । सामान लैजान र हामीलाई आरक्षित सिटमा पु¥याएर थान्को लागाउन कुल्लीलाई मागे बमोजिमको ज्याला दिए पनि रेल भित्रको अँध्यारो र सामानको आधिक्यले अरु तनाव सिर्जना गरिदिएको थियो । जे होस्, आ–आफ्नो सिटमा विश्राम लिए पछि हामीले त्यो तनावमुक्तिको लामो सास फेरेका थियौं ।

हतार गर्नुभन्दा केही समय अगाडि नै पुग्नु राम्रो भन्ने सोचाइले भैरहवाबाट ८३० भारुमा एउटा टाटासुमो भाडामा लिएर हामी गोरखपुर हिँडेका थियौं । त्यसैले दुईतीन घण्टा रेल्वे स्टेसनको यात्रु विश्रामकक्षमा विनाकाम विताउनु कम धैर्यको कुरा थिएन । तर पनि भारतकै पछिडिएको भनिने गोरखपुरको यो रेल स्टेसन समेत मेरो आफ्नो देशको यस्तै ठाउँका भन्दा बढी सुविधाजनक र व्यवस्थित देखिन्थ्यो । यसले ममा केही लज्जाबोध समेत जन्माएको थियो–किन हाम्रा नेताहरू विहारलाई झल्लु राजनीतिको आदर्श मात्र बनाउँछन् ? यति मात्रै सिके पनि केही त हुन्थ्यो ! भारतका सबै प्रमुख ठाउँ पुग्ने रेलहरूका अनवरत आवागमन, यात्रुहरूको कहिल्यै नपातलिने भीडद्वारा निर्मित जनसागर– एउटा सिङ्गो सन्सार लाग्थ्यो स्टेसन । नेपाली यात्रुहरूको आधिक्यका कारण लाग्थ्यो, यो नेपालकै तराईको कुनै एउटा ठाउँ हो ।

“तपाइँहरू कता जान लाग्नु भएको नि ?”त्यही मानवसागरबीच हामै्र विश्रामकक्षमा आइपुगेका दुई नेपाली अनुहारसँग मैले आफ्नो जिज्ञासा राखेको थिएँ ।

“मुम्बई, हामी त्यहीँ काम गर्छौं । टिकट नलिएकोले पछिल्लो रेल कुर्नु प¥यो ।” दुईमध्ये एकको जवाफ थियो त्यो । आफ्नो देशमा रोजीरोटी नजुटेर हामी कोही सातसमुद्रपरिका लाहुरे बनिरहेका छौं, कोही पुस्तौंदेखि हामीलाई लाहुरे बनाउँदै आएका भारतीय शहरहरूमा आफ्नो पसिना पोखिरहेका छौं । आफ्ना जनतालाई काम र सुरक्षा दिनु कुनै पनि राज्यको न्यूनतम दायित्व हो भनिन्छ । यति दायित्व पनि पूरा गर्न सकेको छैन मेरो मुलुकले, र त आफ्नो उमेरको सबैभन्दा उर्जावान कालखण्ड विदेशीका लागि रित्याउन निरन्तर लाम लाग्ने छौं हामी । हामी यस्तै नेपालीको प्रतिनिधि थिए ती दुई अनुहारहरू !

हामीसँग एउटा जगेडा टिकट थियो । सातजनाको जमात बनाएर हामी एउटा विवाह समारोहमा भाग लिन नासिक तर्फ जाँदैथियौं । यो पारिवाकि यात्रको योजना बन्दा ज्वाइँ कविन सहित आठजना सम्भावित सहभगी थियौं र, आठै वटा टिकट आरक्षण गराएका थियौं हामीले । अन्तिम समयमा अफिसको कारण कविनजी सहभागी बन्न नसकेपछिु उहाँको एउटा टिकट जगेडै थियो । गोरखपुर पुगेर रद्दगराउन खोज्दा चौबीस घण्टाअघिसम्म मात्रै रद्द गर्नमिल्ने भनेकोले त्यो खेरै गएको थियो । त्यसैले नासिकसम्मको त्यही टिकट उसलाई दिँदा उसको समस्या पनि टर्ने, आफ्नो नफर्कने पैसा पनि केही भए पनि फर्कने । तर मेरो त्यो सोचाइ एउटाको नामको टिकटमा अर्केले यात्रा गर्दा फेला परेमा टिकट ब्ल्याक गरेसरह दण्डभागी हुन्छ रे भन्ने सुनेपछि आफैंभित्र सीमित भएको थियो । उसलाई भन्ने आँटै गर्न सकेको थिइन मैले ।

जे होस्, आधाघण्टा ढिलो गरेर भए पनि हामीलाई लिन आइपुगेको रेलभित्र आश्रय लिएपछि हाम्रा अधिकांश तनाव समाप्त भएका थिए । आउँदो तीस–पैंतीस घण्टकालागि हाम्रो घर, होटेल, विश्रामस्थल जे भने पनि यही रेल थियो– यही रेलको डिब्बा ।

“सूचना देखेनौ तिमीले ? ल हिँड, म तिमीलाई रेल्वे पुलिसकहँ बुझाइदिन्छु ।” एक्कासी हिन्दीमा बोलिएको एउटा भारतीय कर्कस–असभ्य आवाज सुनेर हामी झसङ्ग भएका थियौं । रेलभित्र धूमपान गर्न मनाही गरिएको र यसको पालना नगरेमा मजिष्ट्रटद्वारा भारु २५० रुपियाँसम्म जरिवाना हुनसक्ने त्यो सूचना हामीले नपढेका पनि होइनौं । रेलकै क्याटरिङ सेवामा अर्डर गरेर रातको खाना खाएपछि आदतले लाचार हामी, अर्थात म र बद्री कक्ष बाहिरको शौचालय छेउकै ढोकानिर उभिएर चुरोटको तलतल मेट्दै थियौं । बट्टाबन्द खानाको पोको (डिनर प्याकेट) मा तात्तातो दाल, भात, एकथरी तर्कारी, दही र प्लाष्टिकको पाउचमा स्टेरिलाइजड पानी– प्रतिव्यक्ति पच्चीस रुपियाँमा ! कत्तिको स्टेरिलायज्ड थियो त्यो पानी, त्योे भगवान भरोसै थियो । तर खाना मेरो आफ्नै देशमा भन्दा निकै सस्तो, स्वादिलो र पर्याप्त थियो– आवश्यकताभन्दा बढी नै ! खाना पछिको चुरोटको तलतलले त्यो वित्ति निम्त्याउला भन्ने हामीले सोचेका थिएनौं । त्यो सूचानाको कारण पहिले त हामीले आँट गर्न सकेका थिएनौंं, तर त्यहीं अरू यात्री पनि त्यो सोख पूरा गर्न लागिरहेका देखे पछि हामीमा पनि आँट आएको थियो । मैले फालीसकेकोले नदेखे पनि वद्रीलाई चुरोट खाइरहेको देखेछ त्यो रेलको कर्मचारीले । सोख पूरा गरेर निवृत्त भै सकेका थिए अरू र बाँकी हामी मात्रै थियौं त्यतिबेला ।

“भाइसाब, एकपल्टलाई गल्ती भयो, छोड्दिनोस् । अब फेरि यस्तो गल्ती हुँदैन ।”आफू चुरोट तान्दातान्दै फेला परिएको पाएर बद्रीले टुटेफुटेको हिन्दीमा विनम्र अनुरोध ग¥यो ।

“होइन, तिमीले मजिष्ट्रेटकहाँ त जानै पर्छ । मजिष्ट्रेट भोलिबिहान नभई आउँदैनन् । आज रातभर रेल्वे पुलिसको हिरासतमा राखेर भोलि मेजिष्ट्रटसामु पेस गर्छु, जे गर्ने हो उनैले गर्छन् ।” उसको कुरा सुनेर बद्रीको मात्र होइन मेरो पनि सातो उडिसकेको थियो । विषेष गरी युपी र विहारका देहाती भारतीयहरू हिन्दी, नेपाली बोल्नेलाई हेप्ने र अङ्ग्रेजी बोल्नेसँग हच्किन्छन् रे भनेको सुनेकाले थिएँ । त्यसैले मैले अङ्ग्रेजी छाँट्दै उसलाई सम्झाउने निकै प्रयत्न गरें । अर्को कुरा मैले ठानेको थिएँ त्यो मानिस हामीलाई तर्साएर जरिवानाको नाउँमा केही रुपियाँ हात पार्न चाहन्थ्यो । नियम छँदै छ, केही गरी साँच्चिनै पुलिसाई बुझाइदियो भने...? जे होस निकै कुरा गरे पछि बल्लबल्ल ऊ जरिवानाको नाउँमा एक सय रुपियाँ लिएर छोड्न तयार भयो । त्यसै गरी हामीले उसबाट छुट्कारा लियौं । एउटा बिँडीसम्म घुस खानेमा बदनाम भारतीय प्रहरीभन्दा कुनै अर्थमा फरक थिएन त्यो रेल्वे कर्मचारी पनि । रसिदसिद केही नदिई पैसा बगलीमा हालेर बरु तलतलमेट्ने उपाय बताएर गयो ऊ– चुरोट खान मन लागे शौचालय भित्र गएर खानू

। सय रुपियाँ जरिवाना तिरेर पाइएको त्यो अबैध सहुलियतको हामीले पूरै रेलयात्राभर उपयोग गरेका थियौं ।

रातको अँध्यारोमा सानाठूला स्टेसन आउँदा बाहिर देखिने उज्यालो र आउनेजाने यात्रुका साथै सामान बेचेर जीविकाको जगेर्ना गर्ने थुप्रै अनुहारहरूको दौडधूप–चहलपहलको आकर्षण अर्को थियो । चिया, बदाम, चुरोटसुपारी, खाना, नास्ता बेच्न आउने महिला–पुरुष, बालबालिकाको निरन्तरको आवागमन र चर्को आवाज, हरेक स्टेसनमा झर्ने र थपिने यात्रुहरूको कल्याङमल्याङ–एउटा विचित्रको थियो त्यो रेलको स्लिपर बर्थभित्रको सन्सार । विभिन्न रङ्ग, विभिन्न बनोट, विभिन्न भाषा र विभिन्न भेष; नयाँ नयाँ तर क्षणिक परिचय, कतै सामान चोरिएला भन्ने अव्यक्त भय– एउटा अनौठो अनुभव थियो त्यो । साना कक्षाका आवासीय विद्यालयहरूमा केटाकेटी सुताउन एकमाथि अर्को गरी राखिएका झैं बस्ने–सुत्ने सिटमा रेलको छक्...छक्...र यात्रु र सामान बेच्नेहरूको कहिल्यै नटुट्ने आवाज, टिकट जाँचकीहरूको समयसमयको आवागमनबाट सिर्जित व्यवधान आदिका बीच कतिबेला आँखा लाग्थ्यो, कतिबेला खुल्थ्यो निश्चित थिएन । जति रात छिप्प्ँिदै जान्थ्यो घरबाटै ल्याइएका तन्ना र कम्बल खापिँदै जान्थे, भित्रैसम्म कँपाउने चिसोले धावाबोल्दै जान्थ्यो । भुक्तभोगीहरूको सल्लाहमा ऊनीका पातला अ‍ेढ्ने र तन्नाहरू नबोकेका भए समस्यै पर्ने रहेछ, अहिले बुझिँदै थियो ।

मेरो आँखामा कहिलेकाहीँ फङ्गस एलर्जीको समस्या देखिन्थ्यो । धूलो र कपाल कोर्दा आँखामा चायाँ परेर जन्मने त्यो समस्याले कहिले दःुख दिने हो, भन्नै सकिन्नथ्यो । रेलसम्म त्यसको समस्या नदेखिए पनि हावासँगै रेलभित्र पसेको धुलो, धुवाँ र अरु केके प्रदूषणले मेरो एलर्जीलाई मलजल गरिसकेछ–आँखा चिलाएर हेर्नै नहुने, मिच्दा रातो भएर सुन्निे । तै बद्रीले सिप्रोफ्लोक्सासिन साथमा लगेको रहेछ । त्यो हालेर तातचो चियाले सेकेपछि बल्ल केही सञ्चो भयो । गोरखपुरदेखि नासिकसम्मको यो मेरो यात्राको दीव्य ३६ घण्टे सन्सार यही रेलको सानो डब्बा र यदाकदा स्टेसनमा रेकिएको बेला त्यही स्टेसनको पल्ेटफर्मसम्म मात्र हो ! सुनौली गोरखपुरबाट उत्तरप्रदेश, मध्यप्रदेशहुँदै महाराष्ट्रस्थित नासिकसम्मको १५०८ किलोमिटर लामो हाम्रो यात्रा यही सीमित सन्सारभित्रै पूरा गर्नुपर्छ । यो रेलको लामो सफरको पट्यारलाग्दो मानसिकतालाई भारतको उत्तरी सीमानाबाट सिधै चिरेर अर्को छेउ अरब सागरको किनारामा बसेको पश्चिमी भारतीय महानगरी मुम्बईसम्मको यात्राको रोमाञ्चकअनुभवमा पन्छाउँदै थियौं हामी !

हाम्रो यात्राको रुट थियो–गोरखपुरबाट गोण्डा, लखनौ, कानपुर, झाँसी, भोपाल, होसङ्गावाद, इटारसी, भूषवल, मन्माड र त्यसपछि नासकि ! यिनै थिए बाटामा पर्ने ठूला शहर र रेल स्टेसन । बेलायती उपनिवेशकालीन शासनमै विजारोपण भएको भारतीय रेलको वर्तमान सञ्जाल आफैंमा एउटा उपलब्धि रहेको छ र भारतलाई सुदृढ अर्थव्यवस्थामा लैजान यसको सबैभन्दा ठूलो योगदान रहेको छ । सन् १८५३ अप्रिल १६ को साँझ सवा चार बजे बन्दुकको सलामीका साथ सुरुभएको बोरीबन्दर वा बम्बे (हाल मुम्वईमा नाम परिवर्तन)देखि तान्ना (हाल ठानेमा नाम परिवर्तन) सम्मको भारतीय रेल सेवाले आफूलाई यसरी विस्तार गर्नसक्ला भन्ने उनीहरूलाई नै विश्वास थियोथिएन, भन्न सकिँदैन । तर बीसौं शताब्दीको अन्त्यसम्ममा यसले नब्बेवटा रेल्वे संरचनामा विस्तारित भएर संपूर्ण भारतलाई एउटै सूत्रमा बाँध्न सफलता पाइसकेको छ । १४ वटा डिब्बामा ४जना पाहुनालार्ई लिएर करिब ५७ मिनेटको त्यो बम्बई तान्न बीचको लगभग ३४ किलोमिटर यात्रामा हिँडेको त्यो सानो रेलले आज आएर भारतको रुपान्तरण मैं गहकिलो भूमिका खेल्यो । विश्वमंै पहिलो रेल्वे प्रणालीे बेलायतमा सुरु भएको २७ वर्षपछि उसले आफ्नै उपनिवेश भारतमा अर्को रेल प्रणालीको बीजारोपण गरिदियो ।

सन् १८४४मैं रेल्वे कम्पनी स्थापना गरेर त्यसको सञ्चालक समितिमा वाष्प इञ्जिनका आविष्कारक जर्ज स्टिफेन्सनलाई समेत समावेश गर्नुले नै सायद भारतीय रेलकोको सुन्दर भविष्य देखाइरहेको थियो । मुम्बई–ठाने रेलसेवाको ऐतिहासिक प्रारम्भको पछिल्लै वर्ष यसले आफूलाई भारतको पूर्वी र दक्षिणी भाग हावडादेखि हुग्लीसम्म विस्तार ग¥यो । त्यही विस्तारलाई भारतका तीन प्रमुख बन्दरगाह नगर बम्बे, कलकत्ता र मद्राससँग केन्द्रित गरेपछि भारतीय रेल्वे भारतीय यातायात सेवा र आर्थिक विकासको मेरुदण्ड बन्यो । उपनिवेशकालमा बेलायती शासनले भारतीय रेल्वेको पूर्वाधार मात्र खडा गरेन सन् १८९०सम्ममा यसलाई २६ हजार ३१५ किलोमिटर लामो ब्रोड गेज र ६ हजार ६०८ किलोमिटर मिटर लामो छोटीलाईनको सञ्जाल समेत फिँजाइदियो । औपनिवेसिक शासनले खडा गरेर विकसित तुल्याएको भारतीय रेल्वे सेवाको सञ्जाललाई स्वतन्त्र भारतको नेतृत्वले अरु अघि बढायो ।

६३ हजार रुट किलोमिटरभन्दा बढी नौ क्षेत्र (जोन) र कलकत्ताको मेट्रो तथा ७ हजारभन्दा बढी स्टेसनको सुव्यवस्थाद्वारा प्रतिदिन १ करोड तीस लाख भन्दा बढी नै यात्रु र दशलाख भन्दा बढी सामान ओसारपसार गर्न पाएको भारतको त्यो सफलता मित्रदेशले उपहारमा दिएको साझा र विजुली बस, अर्थात २९ किलोमिटरको ट्रलीबसको समेत व्यवस्थापन गर्न नसक्ने मेरालागि विश्मयकारी कुरा थियो । राणकालीन नेपालले समेत कोसेली छाडेको जयनगर–जनकपुर रेल्वेकै जस्तो पछाडि धकेलिने नियति भोगिरहको म एउटा असफल नेपालीका लागि भारतीय छिमेकी मित्रहरुको सफलता विश्मयकारी हुनु अनौठो थिएन साद् । तर मलाई थाहा छ, यो विश्मयले मेरो आफ्नो क्षमता विस्तार गर्न सक्दैन, मेरो यथास्थितिबादी मानसिकतालाई परिवर्तन गर्न सक्दैन ! मानसिक रुपमा सयौंवर्षदेखि उपनिवेशभन्दा बढी औपनिवेशिक मानसिकता हुर्काउँदै आएको म प्रकटरुपमा कहिल्यै उपनिवेश बन्न नपरेकोमा गौरव मान्ने गर्छु । पूर्व ब्रिटिस उपनिवेश घुम्ने अवसर पाउँदा भने मेरो मनले आफैंसँग प्रश्न उठाउने गर्छ– के पाएँ मैले यो भ्रमित गर्वबोधबाट ? भौगोकि रुपमा उपनिवेश बनाएर शासन नगरे पनि १०३ वर्षको राणा शासनकाल प्रत्यक्ष बेलायती प्रभाव मैं रह्यो । २००७ को परिवर्तनले प्रजातन्त्र ल्याए पनि भारतीय प्रभावको औपनिवेशिक मानसिकता पनि साथसाथै उपहार ल्यायो । मेरो वर्तमान त झन विश्वग्रामको नागरिकको गर्वबोधमा आफ्ना सबै गुमाएर अरुको जडाउरी भिर्नुमैं गौरब मान्न थालेको । अमेरिकी प्रभावविस्तारका बलिया हतियार विश्वबैंङ्क–अन्तर्राष्ट्रिय मुद्राकोष र पश्चिमी उपभोक्तावादी संस्कृतिका संवाहक बहुराष्ट्रिय निगमको खेलौना बन्नुमैं गौरब ठान्छ मेरो वर्तमान । आफूभित्र आर्थिक–शैक्षिक–सांस्कृतिक उपनिवेस हुर्काएर सभ्य–समृद्धिको दिग्भ्रम बाँच्न चाहन्छ मेरो वर्तमान । हिजोको प्रत्यक्ष उपनिवेस भारतले बरु विकासका सुदृढ पूर्वाधार पायो, सबल भारतीय प्रशासनले बलियो संस्थागत स्वरुप ग्रहण गर्ने आधार पायो र पायो, शिक्षाको बलियो आधार । सबैभन्दा महत्वपूर्ण कुरा त उपनिवेश हुनुको पीडाबाट विकसित राष्ट्रियताको मर्मबोध पायो उसले । उपनिवेश नभएकै कारण गर्व गर्ने मैले के पाएँ...न त त्यो स्वतन्त्रताबोध नै जोगाउन सकेँ, तब के नै अर्थ रह्यो र त्यो गर्वबोधको !

मलाई प्राय आक्रमण गर्न आउने यो प्रश्न मेरो मुलुकको भाग्यविधाता शासक, योजनाकार र प्रशासकहरूलाई पनि कहिले काहीँ घोच्छ कि घोच्दैन, मलाई थाहा छैन । जे होस् म भने गोरखपुरदेखि नासिकसम्मकै रेलयात्रामा भारतीय रेलको सफलताको कथा सुन्दै यिनै प्रश्नहरूबाट निरन्तर लखेटिइरहें । यो लखेटाईलाई कहिलेकाहीँ हाम्रै सहयात्री रविना र गुड्डु विश्वकर्मासँगको कुराकानीले केही विर्साइदिन्थ्यो । नेपालमैं काम गरेर वर्षको धेरै महिना विताउने एकजना गोरखपुरे बाबुका यी छोराछोरी गुड्डु र रविनाको गन्तब्य थियो– नासिकको आसपासकै कोनार । गुड््डु भाइ थियो, दुई वर्ष अगाडि कोनारमा विबाह भएकी आफ्नी दिदी रविनालाई उसको घर पु¥याउन आएको । सिनेमाप्रिय रविनाका हातमा यात्राभर नै सिनेमाका गीत र कथाबस्तुका पाठ्साम्री छुटेको थिएन, आफ्नो नाम रविना पनि ऊ आफैंको छनोट थियो–भारतीय अभिनेतृ रविनाको नक्कल । जे होस्, त्यो लामो यात्रामा हामी दुबै थरी एकआपसमा निकै घुलमिल भएका थियौं र, यसले हाम्रो त्यो पट्यारलाग्दो लामो रेल यात्रालाई सरस बनाउन योगदान गरेको थियो ।

आखिर यो लामो पट्यारलाग्दो यात्रा अनुमान गरेभन्दा लगभग छ घण्टा अगाडि नै समाप्त भयो । २०५९को माघ १९ गते साँझ सबा सात बजे गोरखपुर स्टेसन छाडेको हाम्रो रेलले भोलिपल्ट २० गतेको मध्यरातमा ठीक सबा बाह्रबजे ठीक ३० घण्टा पछि नासिक रेलस्टेसनमा पुगेर अडियो । हामीलाई लिन आएका अशोक कर्णिक अर्थात मेरा साढुभाइ र छोरो जय हामै्र प्रतीक्षामा रेल्वे प्लेटफर्ममा उभिइरहेका थिए । त्यो देखेर लामो यात्रमका सबकै तनाव समाप्त भएको अनुभव ग¥यौं हामीले ! भेटपछि उनीहरू विशेष गरेर जयको खुशीले हामीलाई पनि आनन्दित तुल्याएको थियो । जानुकाकाको घर कर्णिक बङ्कलो पुग्दा छोरी प्रियाको विबाहको सङ्गीत र मेहँदीको आजको विधि भर्खरै सकिएर आफन्तहरू विदाहुँदै थिए ।

रचना, वर्ष ४३ पूर्णाङ्क ७८, पुस–माघ २०६०

No comments:

Post a Comment