Sunday, August 29, 2010

सधैं उपेक्षित मेरै नजिकको तीर्थ

हरेक सँझविहान नमः शिवायको पञ्चाक्षरीमन्त्र गुञ्जिरहने गोकर्ण र गोकर्णेश्वर मन्दिर मेरो जन्मदेखि मृत्युसम्म नै अभिन्न रुपमा मसँग गाँसिएको छ । त्यसैले पनि यसको मसँग भावनात्मक संबन्ध रहनु स्वाभाविक हो । सुरुमा संभवतः म जन्मँदाको बखत नै त्यहाँ पूजा पठाइयो होला । पछि चाहे उपनयन संस्कार होस् चाहे विवाह वा अरु शुभकर्म, गोकर्णेश्वरमा पूजा नपठाई ती कार्यहरू पूर्ण ठान्दैनन् यस भेगका बासिन्दारू । त्यसैले यो जन्मसँगै गासिएको छ मसँग । बीचको कालखण्ड त छँदैछ, मुत्युपश्चात समेत यससँगको मेरो अभिन्नता कायमै रहन्छ ! मेरो मात्र होइन म र मजस्ता धेरैलाई क्षणिक नै भए पनि श्मसान वैराग्य जगाइदिने गरेको छ यही ठाउँले । भन्छन् यस्तै ठाउँमा मानिसको नश्वरदेह विलीन भएको देखेपछि पटकपटक वैराग्य जागृत हुन्छ मान्छेमा । ऊ जालझेल र क्षणभङ्गूर सांसारिक भौतिक सुखको पछिलाग्नुबाट मुक्ति पाउन नसकिने सत्यबोध गर्छ र सुकर्ममा बाँच्ने प्रण गर्छ । तर त्यो प्रणलाई त्यहाँबाट निस्कनासाथ विर्सिदिन्छ, पुनः तिनै व्यवहारिक उँचनिचमा आफूलाई भुलाउँछ, यो अर्कै कुरा हो । सायद त्यही प्रवृत्तिलाई श्मसान वैराग्य भन्छन् विद्वान्हरू र यो ठाउँले सांसारिक क्षणभङ्गूरताको बोध गराएर सत्कार्यमा बाँच्ने सन्देश भने दिन छाडेको छैन ! यस भेगका प्राय सबै मानिसले अन्तिम विश्राम लिने यही थलोे गोकर्णेश्वरको पवित्र यही घाटनैं मुत्युपश्चात मलाई पनि पृथ्वी, जल, तेज, वायु, र आकाशरूपी पञ्चमहाभूतमा विलीन गराउने मुक्तिथलो हो ! मृत्युपश्चात पनि गाँसिने अटुट सम्बन्ध हो ।

चन्द्रभागा नदी र वाग्मतीको सङ्गममा रहेको ब्रह्मतीर्थ अर्थात उत्तर गयानिरै वाग्मतीको किनारामा रहेको गोकर्णेश्वर मन्दिरबाटै यो ठाउँको नाम पनि गोकर्ण रहनु स्वाभाविक थियो । यो मन्दिर र यी महानदेवको नाउँ गोकर्णेश्वर रहनुमा विभिन्न किम्वदन्ती सुनिने गर्छ । कृष्णप्रकाश श्रेष्ठ आफ्नो स्थाननाम कोषमा त्यस्तै एउटा किम्वदन्ती उल्ल्ेख गर्नुभएको छ– पाञ्चाल देशका राजा वृषकर्णका छोरा गोकर्णले आफ्ना बाबु र आफ्नो समेत मुक्तिका लागि गोकर्णेश्वर महादेवको स्थापना गरेकाले यो ठाउँको नाम नै गोकर्ण रह्यो । ती दुई बाबुछोराको बीचमा सधैं झगडा भइरहन्थ्यो रे । ती दुबै एकअर्कालाई यमपुरीमा बासहा्ेस भनी सराप्ने गर्थे र नभन्दै मृत्युपछि दुबै यमलोक नै पुगे । पछि एकजना बोधिसत्वको सल्लाह अनुसार गोर्णले यही ठाउँको वाग्मती किनारमा गोकर्णेश्वरको स्थापना गरेर भाद्रकृष्ण औंसी अर्थात गोकर्णे औंसीका दिन आफ्ना बाबुका नाउँबाट जलदान, पिण्डदान आदि गरे रे ! त्यसपछि उनका बाबु र उनी दुबैले यमलोकको त्यो नारकीय दुःखबाट मुक्ति पाए रे । त्यही कारण भाद्रकृष्ण औंसी वा गोकर्णे औंसी अर्थात कुशे औंशीका दिन यो उत्तर गयामा आफ्ना पितृहरूलाई श्राद्धतर्पण गरेर मुक्त गराउने विश्वासमा धर्मभीरु हिन्दुहरूको हज्जारौं सङ्ख्यामा भीड लाग्ने गर्छ ।

यस्तै स्वस्थानीको कथासँग सम्बन्धित एउटा अर्को किम्वदन्ती उल्लेख गरिएको छ मेचीदेखि महाकालीको मध्यमाञ्चल खण्डमा । कुनै बेला महादेव मृगको रुप लिएर पुपतिको श्लेषमान्तक बनमा बसेछन् । उनलाई खोज्दै आएका ब्रह्मा र विष्णुले उनलाई चिनेर समाउन भनी ती मृगका सिङ समातेछन् । तानातानमा मृगको सिङ तीन तुक्रा भएर भाँचिएछ । त्यो भाँचिएको सिङको एउटा टुक्रा यही ठाउँमा प्रतिष्ठापन गरी शिवमन्दिर बनाइएको होरे !

पहिले मन्दिरको पूर्वी पादस्थल बाट बग्ने यो वागमती नदी बाहैमहिना आफ्नो दुबै किनाराभरि कञ्चन पानीको अजस्र श्रोत लिएर बग्थ्यो । पानीभित्र सेता वालुवा र चाराको खोजीमा यताउता नचिरहने असला, भूरा र अन्य माछाहरू हेर्दे आनन्दको अनुभव गनस् सिकन्थ्यो । हामीजस्ता केटाकेटी कहिलेकाहीँ ठूला मानिसको साथ लागेर लटठीमा मोटो बलियो धागो बाध्थ्यौं । त्यो धागोको टुप्पोमा दोब्य्राएको आल्पनि बाँधेर गड्यौंला उन्दै माछा मार्न बल्छी थाप्थ्यौं । त्यतिबेला यदि संजोगले कुनै माछा पो खुशी अहिले म कल्पना समेत गर्न पसिक्दन सायद् । अहिले त्यही वागमतीको गौरवपूर्ण रूपको म आफैंले हुर्मत लिइरहेको छु । त्यसको महत्व बुझ्न नसकेर सायद त्यसलाई गनाउने नाला र ढलमा परिणत गर्न सहयोग गरिरहेको छु । संभवत यो मेरो सभ्यता अवनतिको संकेत पनि हो । शिवपुरी लेकको पूर्व दक्षिण पानी ढलो क्षेत्रको करिब २७०० मिटर उँचाइमा रहेको वाग्द्वार बाट उत्पत्ति भएको यो नदी उपत्यकाको नागरि सभ्यताको विकासको मेरुदण्ड भएको यथार्थलाई हामी बिर्सन थालेका छौं हिजोआज ! यसले आफ्नो नाम संस्कृतको वाक्ҳमती शब्दबाट लिएको भनिन्छ । यो दुई शब्द सन्धिहुँदा वाग्मती बन्छ र वाग्को अर्थ वचन वा बोली हुन्छ । प्रल्हादको तपस्याबाट खुशीभएका शिवजी हाँस्दा उनको मुखबाट आवाजसँगै यी नदीको पनि उत्पत्ति भएको धार्मिक विश्वासबाटै यसको नाम पनि वाग्मती रह्यो– यो भनाइ निकै प्रचलित रहेको छ । नेपालमहात्यमा यसबारे भनिएको छ– हरहासाद्समुद्भूता निर्गता गिरिगह्वरात् ।

फेनोर्मिमाला धवला नदी पुण्यजलामला ।।

शंकरो वचनं चेदं बहिर्याता यतोनदी ।

अतोकस्या वाग्मती नाम भविष्यति न संशय ।।

–नेपाल महात्म्य, अध्याय ७ श्लोक ५७। ५८ ।

बागद्वारबाट पहाडी खोँच खोल्सा हुँदै सुन्दरीजलको सुन्दर प्रकृतिमा जलनृत्य गरेर केही पर पुगुञ्जेल पनि अझै आफ्नो स्वरूप त्यतिबिन गुमाएको छैन बागमतीले । तर जति दक्षिण हान्निँदै आफ्नो गन्तव्य भेट्न खोज्छ यो, त्यति नै मानवीय दुव्र्यवहारबाट अपमानित हँुदै जान्छ, आफ्नो पवित्रता र निर्मलता गुमाउँदै जान्छ ।

जे होस्, जन्ममृत्यु संस्कारसँग त गाँसिएकै छ गोकर्ण, मेरो बाल्यकालीन भावनासँग समेत रामैसँग गाँसिएको छ यो र यसको सेरोफेरो ! राजधानीे केन्द्रबाट लगभग बाह्र–तेह्र किलोमिटर उत्तर–पूर्वस्थित अर्धनागरी चरित्र बोकेको गोकर्णेश्वरसँग सम्बन्धित अनेकौं धूमिल कोलाजहरू एकपछि अर्को खात लागेका छन् मेरा स्मृतिपट्मा ! मेरो घर आरुबारीबाट पन्द्र–बीस मिनेट मात्रको पैदल दूरीमा रहेको यससँग मेरा प्रिय–अप्रिय दुर्बै खाले संझना गाँसिएका छन् । केटाकेटीछँदा कुशेऔशीको साँझ गोकर्णेश्वर मन्दिर वरिपरि बालिएका महाद्विपको उज्यालोमा जगमगाएको भव्य गोकर्णेश्वर मन्दिरले मेरो बालमनमा एउटा अलौकिक दृश्यको नमेटिने गरी छाप छाड्थ्यो । मेरा पुर्खाले स्थापना गरेका शिवमन्दिरमा बत्ती बाल्नम पनि आमा वा अरु कोहीसँगै आउने गर्थें, बत्तीबाल्नुपूर्व ब्रह्मणद्वारा सङ्कल्प गराउनु पर्ने हुँदा पनि बाबा नहुँदा मेरो आवश्यकता अनुभव गरिन्थ्यो र मैले अवसर पाउने गर्थें । त्यस्तै कहिले काहीं श्राद्ध आदि गर्दा बाबाआमाको साथ लागेर पनि हामी गोकर्णेश्वर पुग्ने गथ्र्यांैं । त्यतिबेलाको पुराना संझना धेरै मेटिइसके, तर पनि बाँकी केही पुराना विम्बहरू अहिलेको गाकर्णसँग कमैमात्र मिल्ने गर्छ । परिवर्तन स्वभाविक प्रक्रिया हो, त्यसैले त्यो पुरानो विम्ब अहिले नमिल्नुमा पनि कुनै आश्चर्य होइन । तर परिवर्तन सकारात्मक हुनु पर्ने हो, रचनात्मक हरनु पर्ने हो । त्यो भने म कतै देख्दिन अहिलेको गोकर्णेश्वरमा ! गोकर्णेश्वर मन्दिरको दक्षिण–पूर्वस्थित गोकर्ण गाउँमा हुने जात्रा र त्यसको खटयात्रा हेर्न रौसिएर जाँदाको धुमिल संिझना र त्यतिबेलाको त्यो गाउँको चित्र पनि अहिलेकोसँग पटक्कै नमिलेको पाउँछ र मेरो मानस त्यो पुरानो गोकर्ण गाउँ अर्थात राजामानदेवको संभाव्य दरबार सहितको राज्य खोज्नमैं तल्लिन रहने गर्छ ।

गोकर्ण वजार अर्थात ठूलाठूला सत्तल र देवीदेवताका मूर्तिहरूले वारपार ढाकेको एउटा सानो बजार, अर्थात् बजारको नाउँमा केही पसल र चिया–मिठाइ पसलका पातलो समूह । गोकर्णेश्वर मन्दिरको उत्तर वाग्मतीको पश्चिमी किनारमा रहेको यो बजारमा त्यतिबेला देखिने ती पुराना ठूलाठूला सत्तलपाटी अहिले कतै अस्तित्वमा छैनन् । बजारकै तल गुप्तीगणेशको प्राकृतिक मूर्ति र मन्दिरमुनि त्यसतबेला मैलेसम्म देख्ने अवसर पाएको भीमसेन थापाको विशाल सत्तल र त्यसको परिसरका हात्ती बाँधेने ठाउँ तथा ठूलो पोखरी अहिले धेरैकालागि एकादेशको कथा लाग्न सक्छ । तीर्थयात्रीहरूका लागि आश्रय वा धर्मशालाका रुपमा पुर्खाले बनाइदिएका ती कृतिहरू हामीले जोगाउन सकेनौं, बरु तिनलाई मासेर ती ठाउँहरूलाई निजीसम्पत्तिमा परिणत गर्दैगयौं । त्यसैले पहिले सत्तल पाटी देखिने बजारका ती ठाउँहरूमा अहिले निजी भवनहरू ठडिएका छन्, गुम्वज र अन्य आफ्नै शैलीका ती सत्तलपाटी र ससाना मन्दिरहरूका ठाउँमा वास्तुसौन्दर्यविहीन कङ्क्रिटका बेछन्दे घरहरू ठडिएका छन् । हो, केही यता आएर स्थानीय मानिसहरूको गोकर्णेश्वर सुधार समितले केही घाट सुधारमा केही गरिरहेको छ, यसले केही आशा पनि जगाएको देखेको छु मैले !

गोकर्णेश्वरको पश्चिम तर्फ गर्वोन्नत उभिएको शिखर जगडोल रामायणकालीन घटानाको किम्बदन्तीसँग पनि गाँसिएको छ । योभन्दा बढी अझ मेरो वाल्यकालदेखि पछिसम्मकै कालखण्डसँग अभिन्न गाँसिएको अर्को स्मृति पताका हो यो जगडोल डाँडो । केटाकेटी छँदा एउटा किम्बदन्ती सुन्ने गर्थें म– रावणको हो वा उनका परिवारका कुनै सदस्यको हो विवाहमा यही जगडोल डाँडोमा जन्ती आएको थियो रे ! ती जन्तीलाई भोज पकाउने काम यसकै केही दक्षिणस्थित मेरै गाउँभन्दा केही परको एउटा ठाउँमा भएको थियो रे । त्यस ठाउँमा अहिले पनि ठूलाठूला ढुङ्ग गाडिएको चूल्हो देखिन्छ र त्यसैको नाउँबाट यसलाई अहिले पनि तीनचुले भन्ने गरिन्छ । यही जगडोल डाँडामा देवताहरूको श्राप परेर त्यहाँ आएका सबै जन्ती ढुङ्गामा परिणत भएका थिए रे । त्यहाँ अझसम्म नै सेता दर्शन ढुङ्गाका लाम देखिन्छन् । ठूला दाइदिदीहरू ती ढुङ्गालाई जन्ती ढुङ्गा भनेर चिनाउने गर्थे हामीलाई ! किम्वदन्ती किम्वदन्ती नै हो, त्यसको ऐतिहासिक पुष्टी हुनसक्दैन । तर यो लोक विश्वास मेट्न पनि सिकँदैन, यो पनि सत्य हो ।

यही जगडोलको पश्चिमी शिखरमा बसेको बाहुनबस्ती मेरा पुर्खाको इतिहाससँग पनि सोझै गाँसिएको छ । मध्यपश्चिमको चाल्साबाट उपत्यका पसेका मेरा पुर्खा चालिसेहरू केही समय काठमाडौंको बाहिरी भागमा बसेर काभ्रेको जरायोटार पुगे बसोबासको क्रममा ! पछि त्यहाँबाट उपत्यका पसेर यही जगडोेललाई आफ्नो बस्तीमा विकसित गरे । उनीहरूका साथ उनका पुरोहित पौडेल ब्राह्मणहरू पनि आएका थिए रे । पछि मेरा पुर्खाले त्यो ठाउँ उनीहरूलाई नै छाडिदिएर आफू मेरो अहिलको गाउँमा झरे । चालिसेहरूकै बाहुल्य रहेकोले अझै यो मेरो गाउँलाई चालिसे गाउँ भनिने गर्छ । पछि यहाँबाट कोही चापागाउँ पुगे, कोही बेसीगाउँ । कोही कटुञ्जे पुगे, कोही सिमलटार र फैका मडिखाटार आदि । यसरी नै उनीहरू उपत्यका र उपत्यकाबाहिरका विभिन्न ठाउँमा फैलिँदै गए, बसाइँ सर्दै गए ।

म सानै छँदा दूध खानकालागि एकपटक मेरो घरमा एउटा भैंसी पालिएको थियो । विद्यायल जानु नपरेको बेला म मेरी दिदीसँगै त्यही जगडोल डाँडामा त्यही भैंसी चराउन जाने गर्थे । त्यतिबेला त्यस ओरिपरिका गोकर्ण गाउँ, जगडोल, पैयुँटार, आरुबारी र अन्य नजिकका गाउँका गाइबस्तु र तिनका गोठालाले जगडोल डाँडो छपक्कै ढाकिएको हुन्थ्यो । गाउँका स्वास्नीस्मान्छे–लोग्नेमान्छे गाइबस्तुलाई सोत्तर हाल्न सल्लेभीर अर्थात सल्लाका सुरिला पात साहोेर्नका लागि बिहानैदेखि डाँडाभरि फैलन्थे । त्यस ठाउँमा गाइबस्तु चराउने काममा अत्यन्त कमी आए पनि सल्लेभीर सोहोर्नेहरू अझै देखिने गर्छन, ती पुराना संझनालाई जीवन्त तुल्याउँदै ! त्यो आफ्नै अनौठो संसार थियो, हामी त्यसका कहिलेकाहीँ मात्र उपस्थित हुने अनियमित पात्र थियौं । गाउँका आफूभन्दा ठूला दाजु–भाउजु र दिदीहरूसँग सल्लेभीर टिप्दा र गाइभैंसी चराउँदा अनि त्यही भैंसीको पिठ्यूमा चढेर उसको हिँडाइको तालमा झुम्दाको आनन्द त्यतिबेला स्वर्गीय आनन्द भन्दा कम हुँदैनथ्यो हाम्रालागि । त्यसरी यो जगडोल डाँडाको मोह पछि सम्म पनि कामै रह्यो । बाल्यकालीन त्यो आनन्दलाई पछि साथीहरूसँगको सायंभ्रमणले स्थानापन्न गर्दै गयो । साँझपख हामी त्यही डाँडाको थाप्लोमा बसेर शीतल हावा सेवन गथ्र्यौं, अस्ताउन लागेको साँझपखको सुनौलो घाममा नुहाएर स्निग्ध देखिने दक्षिण तर्फका आरुबारीदेखि बौद्ध, त्रिभुवन विमानस्थल, काठमाणौं र स्वयम्भूसम्मका अनुपम सौन्दर्यलाई एकोहोरो नियाल्ने गथ्र्यौं । त्यो आनन्द अब सायद खोजेर पनि पाउन सक्दिन म ! त्यसपपछिको कालखण्डलाई दुई युुवामनका प्रेमी भावनाको एकान्तिक साहचार्यले पनि विर्सन नसक्ने तुल्याएको छ । अनेकौं अपूर्ण प्रेमवाचाका साक्षी पनि बन्यो यही जगडोल डाँडो र त्यो पूरा गर्ननसक्दाको विषादको साक्षी पनि बोक्यो यही जगडोल र यसका वृक्षवनस्पतिले ! प्रौढताको सोपान उक्लनुको क्रमसँगै प्राय मेरो प्रातःभ्रमणको यात्रामार्ग बन्ने गरेको छ अहिले यही जगडोल डाँडो र गोकर्णेश्वर मन्दिरको सेरोफेरो ।

प्रिय मात्र होइन अप्रिय र दुखद संझनाका नमेटिने खतहरू पनि बसाएको छ गोकर्णले मेरो मनमा ! पहिला,े अप्रिय संझना मेरो अनुजसँग गाँसिएको छ, जो यही गोकर्णेश्वर मन्दिरको काखबाट बहने वाग्मतीको पानीमा पौडीखेल्दाखेल्दै हामी सबैलाई छाडेर गएको थियो, मुक्तिको मार्गतर्फ । दोश्रो, मेरा अग्रजमात्र नभएर नेपाली भाषासाहित्य र पत्रकारिताका शीर्षस्थ पुरुष भैरवदाइ अर्थात भैरव अर्यालले पनि आफ्नो मुक्तिको साधनका रूपमा यही वाग्मतीलाई रोज्नु भएको थियो । विक्रमको २०२६ र २०३२का ती दुई घटना मेरो मानसमा गोकर्णप्रतिको नमेटिने घाउ बनेर उकुच पल्टीरहन्छ ।

यही गोकर्ण पछि केही समयका लागि कर्मभूमि पनि बन्यो मेरो । संभवतः विक्रमसवपत् २०२८ देखि २०३२ सम्म निम्न माध्यमिक शिक्षकका रुपमा आएको थिएँ म यही गोकर्णेश्वरको सहयोगी निम्न माध्यमिक विद्यालयमा । यो त्यही स्कूल थियो जसको जग मेरै पिताजी रमेश विकल लगायत त्यहाँका केही शिक्षाप्रेमीहरूले केही सुरुमा मन्दिर दक्षिणको एउटा सत्तलमा बसालेका थिए । पछि अहिलेको स्थान अर्थात गोकर्णेश्वर मन्दिरको पश्चिम पर्ती जग्गामा भवन बनाएर यसलाई सारिएको थियो । त्यति बेलाको त्यो स्कूल कार्यालय भन्दा बढी एउटा पारिवारिक थलो थियो । हेडमास्टर बासुदेव माड्साब, रामचन्द्र गुरू, श्याम गुरू आदि आदि नविर्सने नाउँ र अनुहार थिए त्यतिबेलाका मेरा अगैज सहकर्मीहरू । आज त्यही स्कुल माध्यमिक मात्र होइन, उच्चमाध्यमिक विद्यालयमा परिणत भएको छ र कतिपय त्यतिबेलाका मेरै सिवद्यार्थीहरू पनि त्यहीँ शिक्षकका रुपमा कार्यरत देखिन्छन् । त्यो देख्दा अर्कै आनन्द आउँनु सायद स्वभाविकै हो । २०६१ असार २६, आरुबारी

No comments:

Post a Comment