Sunday, August 29, 2010

कासाङ, सालिग्राम र कालीगण्डकीको सुसेलीमा हावाको नृत्य

“तिमी एक्ली केटी,यसरी हामीसँग हिंड्दा डरलाग्दैन ?”मैले त्यो युवतीलाई अरूले नसुन्ने मौका पारेर यो प्रश्न सोधेको थिएँ । मेरी श्रीमती लक्ष्मी र प्रतिभा भाउजुको अघिल्तिर यस्तो प्रश्न सोध्ने कुरै थिएन । त्यसैले उनीहरू केहीबेर विश्राममा रहेर कासाङबाट केही टाढा भएका बेला मैले उसलाई यो प्रश्न सोधेको थिएँ । यो प्रश्न सोध्दा म आफंैलाई पनि असजिलो नलागेको होइन । त्यो केटीले अन्यथा सोच्ने त होइन भन्ने डरले पनि सतर्क गराएको थियो मलाई । हुनत यो प्रश्न सोध्नुमा मेरो कुनै कुत्सित मनसाय थिएन,तर पनि यो प्रश्नको अर्थ भाउजु र मेरी श्रीमतीले पनि अर्कै लगाउन सक्थे । त्यसैले ऊसँग मात्रै गरेको थिएँ मैले त्यो प्रश्न ।

“के को डर ? हाम्रो काम नै तपाइँहरूलाई यहाँबाट माथि मुक्तिनाथ र मुक्तिनाथबाट तल जोमसोम ल्याउनेलाने गरी आफ्नो परिश्रमको मजदुरी लिने हो । तपाइँहरूजस्तै कतिकति नेपाली र विदेशीहरूलाई लिएर हिंडेकी छु,गनेर साध्यै छैन !”उसको सरल र निर्दोष उत्तरले म त्यतिबेला नाजवाफ बन्न पुगेको थिएँ ।

कासाङ–यो नाम र अनुहार मेरो मनको चित्रफलकमा सबैभन्दा गाढा रङ्ग कोरिएको सम्झना हो,मुस्ताङ यात्राको क्रममा ! यो यात्राक्रममा जम्का भेट भएकी युवती कासाङको छरितो शरीर, हाँसिरहे जस्ता चमकपूर्ण पानीदार अँखा,घामको लालिमाले सिन्दुर हालेजस्तो लालिमायुक्त हिँउरङको अनुहार र त्यसको बीच गालाका दुबै पट्टी पाकेका कास्मिरी स्याउ झैं रक्तिम आभायुक्त फक्रँदो जवानीकी कासाङ सँच्चिकै हिमपरीझैं लागेकी थिई मलाई ! मेरो प्रश्नको उत्तर दिनुभन्दा अगाडि ऊ मुसुक्क मुस्काएकी थिइ । त्यसरी मुस्काउँदा उसको ओठ न धेरै खुलेको थियो,न टम्म बन्द नै । त्यो मुस्कान र ओठको बीचमा देखिएका सेता दन्तलहर मोती झैं टलक्क टल्केका देखिन्थे–त्यहाँबाट वारिपारि देखिने हिउँका सेता हिमश्रृङ्खला जस्तै ! उसको प्राकृतिक सौन्दर्यमा आधुनिक सौन्दर्य प्रसाधन र सिङ्गारपटारको कुनै कृत्रिम हस्तक्षेप थिएन । यो हिमवालाको प्रकृतिप्रदत्त अनुपम सौन्दर्यसँग हाम्रा कथित आधुनिक सभ्य–सहरी सुन्दरीहरूको अर्धअनावृत्त र महङ्गा सौन्दर्य प्रसाधनमा पोतिएका कृत्तिम सौन्दर्यको के कुनै तुलना हुन सक्ला ?–त्यो देखेर मेरा मनमा स्वाभाविक प्रश्न उठेको थिया ।

कासाङ अर्थात मुक्तिनाथको एउटा सानो बस्ती झारकोटकी एउटी किसोरी । ऊ हाम्रो सामान र मेरी श्रीमतीलाई घोडामा बोकेर झारकोटदेखि जोमसोमसम्म पु¥याउन आएकी थिई ! घुँडाको समस्याले गर्दा हिजैदेखि हिंड्न कठिनाई अनुभव गरिरहेकी मेरी श्रीमतीलाई कसरी जोमसोम पु¥ण्याउने भन्ने समस्याको समाधानमा घोडाको खोजी भएको थियो । र,त्यसरी खेजीभएको घोडासँगै हामीलाई सुविस्तापूर्वक जोमसोम पु¥याउने अभिभारा बोकेर यात्रामा संलग्न हुन आइपुगेकी थिइ कासाङ ! हामीले अघिल्लै रात भोलि फर्कन एउटा घोडाको व्यवस्था मिलाई दिनका लागि अनुरोध गरेका थियौ,प्रकाश लजका मालिक छेवाङ आङ्मा गुरुङसँग । उनी विहान सबेरै हामी मुक्तिनाथको उकालो चढेपछि आफ्नो घोडा लिएर जोमसोङ झरेछन्–पर्यटक र उसको सामान खेप्न । मुक्तिनाथको दर्शन पछि फर्केर लजमा आउँदा छेवाङ जोमसोम हिंडिसकेको खवर पाउँदा एक पल्ट त म आत्तिइ नै हालेको थिएँ,घोडाको व्यवस्था नभए कसरी पु¥याउने लक्ष्मीलाई जोमसोमसम्म ! कसरी खोज्ने अब घोडा ? तर लज मालिक मानिस वचनका पक्का रहेछन्,उनले आफ्नी श्रीमतीलाई घोडाको व्यवस्था मिलाउने जिम्मा सुम्पििएका रहेछन् र हामीले खाना खाइनसक्दै एउटी बृद्ध महिला पारिश्रमिकको कुरा मिलाउन त्यहाँ आइपुगिन् । उनलाई देखेपछि बल्ल मेरो मन ढुक्क भएको थियो ।

“मेरी छोरीले लान्छ,तपाइँलाई । घोडा सुधो छ,डराउन पर्दैन । जुनपायो उही घोडाले आइमाइलाई बोक्न मान्दैन,तर्सिहाल्छ । यो घोडा त्यस्तो छैन ।”बुढियाले घोडाको निकै तारिफ गरिन् ।

“छोरी......!”घोडा लिएर छोरी आउँछे भन्ने ती बृद्ध महिलाको कुराले मलाई अल्मल्याएको थियो–त्यस्तो बाटो,घोडा चढाएर लैजानु पर्ने ! एउटी केटीको भरमा के यो यात्रा निरापद हुनसक्ला ? मेरो मनमा उठेको प्रश्नको प्रतिफल नै हुनुपर्छ त्यो मेरो विश्मयबोधक अभिव्यक्ति । तुरुन्तै मैले सोचेको थिएँ,अनुभवी प्रौढ महिला होलिन् यिनकी छोरी,त्यसैले फरक नपर्ला !

“स्वास्नी मान्छेलाई बोक्न घोडाले हत्पत्ति मान्दैमान्दैन,तर्सिन्छ । त्यसैले केटीमान्छेले नै स्याहार गर्ने सुसार गर्ने सुधो घोडा मिलाई दिएकी मैले । यो केटी कासाङ पनि सआध्यै सुधी र सहयोगी खालकी छ,तपाइँहरूलाई सुविस्तासाथ पु¥याएर राम्रो बासको समेत व्यवस्था गरेर आउँछे यसले ।”मेरो विश्म आशङ्ककयुक्त अभिव्यक्ति सुनेर छेवाङकी श्रीमती लजकी मालिक्नीले हामीलाई आश्वस्त तुल्याएकी थिइन । यसत बेला मात्रै उसको नाम सुनेका थियौं हामीले । अझैसम्म मेरो कल्पनामा हामीलाई घोडामा जोमसोम पु¥याउने केटी प्रोढ खालकी सालाखाला मुस्तङ स्वास्निमान्छे हाली भन्ने नै थियो ।

उनको माग दुई हजार रूपियाँ थियो,त्यहाँबाट जोमसोमसम्म पु¥याइदिन । हिजो जोमसोमबाट मुक्तिनाथसम्म घोडाको कुरा गर्दा तेह्र्र–चौद्ध सय रूपियाँ भनेको थियो । त्यो हेर्दा यो रकम निकै नै बढी थियो । तर मलाई यही पनि जान नमान्ला र अर्को नपाइएला भन्ने डरले सताइरहेको थियो । घोडा नपाए लक्ष्मीलाई हिंडाउने सम्भावना नै थिएन । हाम्रो टोलीका चारजनामा तेजर भाउजुलाई कुनै समस्या थिएन,उनीहरू स्थानीय मुस्तङीहरूसँग होड थापेर हिंड्न सक्षम थिए । उनीहरूको तुलनामा केही कमजोर ठहरएि पनि म पैदलै यात्राको लागि तयार थिएँ । तर लक्ष्मीे अलिकति पनि पैदल हिंड्न सक्ने अवस्थामा थिइन । त्यसैले मैले होटेलकी मालिक्निीलाई मध्यस्थता गर्न अनुरोध गरें । उनले अठाह्र सय रूपियाँ दिनोस् न त भनिन्,तेज र मेरी श्रीमममती त्यति धेरै रूपियाँ तिर्न मञ्जुर थिएनन् । उनीहरू अन्कनाउँदै अरू घटाउने मानसिकतामा थिए । उनीहरूले केही बोल्नुभन्दा अगाडि नै मैले अठाह्र सय रूपियाँ दिने सहमति जनाएको थिएँ । त्यसो गरे बापत मैले पछिसम्म पनि तेजको गाली खाइरें ।

“तिमी त्यसै हतार्रिएर बोल्छौ,अनाहकमा बढी पैसा तिरेर !”उसको त्यो भनाइमा मेरी श्रीमतीको समर्थन नहुने कुरै थिएन । त्यो बेलादेखि मैले सम्पूर्णकुराको जिम्मा तेजलाई सुम्पिएँ–ल..ल अब यस्तो कुरामा म बेही बोल्ने छैन,भयो हब त ! मेरो त्यो अब कुनै कुरामा पनि आफूअघि नसर्ने बचनबद्धता पछि मात्रै उनीहरूको असन्तुष्टी रोकिएको थियो ।

त त्यसरी मोल छिनेर ती बृद्ध महिला गएको केही बेरमैं एउटा घोडा डोहो¥याउँदै आएकी थिई कासाङ । उसलाई देखे पछि हामीलाई पु¥याउन आउने महिलाको बारेमा मैले गरेको अनुमान पूर्णतः असत्य ठहरिएको थियो । एक मन लागेको थियो,यो भर्खरकी किशोरीले घोडा डोहो¥याउँदै कसरी जोमसोम पु¥याउली हामीलाई । कतै घोडा नियन्त्रणमा नआएर लडाइदिने त होइन लक्ष्मीलाई ! त्यस्तो भयो भनेत भनै समस्यामा परिन्छ । तर लज मालिक्निीले पहिले नै दिएकी आशसन सम्झेर मैले मेरो आशङ्कालाई थामथुम पारेंं । मनको अर्को कुनै कुना भने आफूले कल्पना गरेको अनाकर्षक प्रौढ स्वास्निमान्छेको ठाउँमा एउटी सुन्दरी किशोरीलाई सहयात्री पाएर प्रफुल्ल पनि नभएको होइन । मैले त्यो मेरो मनको मिश्रित धारणलाई भने हाफूभित्रै दबाएको थिँएँ त्यतिखेर ।

कासाङले घोडामा हाम्रा सामान र लक्ष्मीलाई बोकेर हिंडे पछि हामी उसकै पछि पछि लागेका थियौं । महझैं उसको मीठो बोली र निश्छल प्राकृतिक हिमाली सौन्दर्यको मोहनीयुक्त आकर्षणले म उसको गतिलाई पछ्याउन सकिनसकी आफ्नो गति पनि बढाइरहेको थिएँ । छरितो शरीर,हाँसिरहेजस्ता चमकपूर्ण पानीदार अँखा,हिँउरङको गोरो अनुहारको बीच गालाका दुबै पट्टी पाकेका कास्मिरी स्याउ झैं रक्तिम आभायुक्त फक्रँदो जवानीकी कासाङको छरितो हिंडाइको गतिलाई भेट्न मलाई हम्मेहम्मे परिरहेको थियो । निश्छल प्रकृतिक हिमाली सौन्दर्यको मोहनीयुक्त आकर्षणले म उसको गति पच्छ्उन सकिनसकी आफ्नो गति बढाइरहेको थिएँ । उसको विजुली चालर मिजासिलो,मधुर व्यवहारले ममात्र होइन सायद उसलाई देख्ने जोकोही यसरी नै आकर्षित हुन्थे होलान्–मेरो यस्तै अनुमान थियो । कासाङ ओरालो आएपछि काठीको पछाडि र उकालोमा अगाडि समाउन लक्ष्मीलाई निर्देशन दिइरहेकी हुन्थी । घोडा डोहो¥याउँदै घोडाको अघिअघि छरितो चालमा हिंडेकी उसको गतिलाई भेट्न मलाई हम्मेहम्मे परिरहेको थियो । घोडाकै तालमा कहिले अघि,कहिले पछि घोडामा सवार यात्रीको सुविस्तामा मात्रै ध्यान दिइरहेकी कासाङ साँँच्चि नै आफ्नो काम र कतैव्य प्रति पूर्ण इमान्दार र समर्पित देखिन्थी ।

मुक्तिनाथको कठिन ढुङ्ग्यान ओरालो बाटोमा फुर्रफुर्र यताबाट उता उडिरहेको पुतलीजस्तै छरितो गतिमा हिंडीरहेकी कासाङलाई देख्दा त्यति बेला साँच्चिकै हिमकन्या वा पर्वतराज हिमालयकी छोरी पार्वतीजस्ता पुरा कथाका सौन्दर्य विम्बहरू आफ्नो अगाडि साकार अनुभव गरिरहेको थिएँ म ! त्यो दृश्यले मलाई बारम्बार किरातपुरुुष महादेवलाई रिझाउने किसोरी हठमा तपस्यारत स्वस्थानीकी सुन्दरी पार्वतीको काल्पनिक विम्ब यथार्थमा मूर्तिकरण भएको त होइन भन्ने भान दिलाइरहेथ्यो ।

कासाङ निश्चय नै असामान्य केटी होइन,ऊ पनि अरू केटीहरूजस्तै सामान्य केटी नै थिई । यो तल्लो मुस्ताङमा जन्मिएकी कासाङले पनि यहाँका अरू केटीहरूले जस्तै वर्षको झण्डै आठ महिना ढाक्ने हिउँसँग लाप्पा खेलेकी छ । अरूले जस्तै उसले पनि भेडा र खच्चरको लामसँगै चरन र बस्तीको अनगिन्ति यात्रा भोगेकी छ । बाबु मुस्ताङी ठकुरी,आमा तामाङकी छोरी ! मुस्ताङ ठकुरीहरूको आचार–व्यवहार र सबै कुरा तिब्बती मूलका शेर्पाहरूसाग मिल्छ भन्ने सुनेको थिएँ मैले । ठकुरीहरू त्यो संस्कृतिमा सम्मिलन वा एसिमिलेट भएका हुन वा त्यहाँको शेर्पा वा तामाङहरू मध्ये राजघरानाकाले देखासिकी आफूलाई ठकुरी भन्न थालेका हुन्,त्यो अध्ययन हाम्रो क्षमता र चासोबाहिरको कुरा थियो । जे होस् त्यो अन्तरजातीय परिवारकी जेठी छोरी कासाङसँग किसोर वयको रुमानी सपना सँगालेर कल्पनाको राजकुमारसँग बादल पारिको सयर गर्ने कल्पना बुन्नका लागि फुर्सत छैन । उसमाथि यौवनको चढावसँगै बुढा बाबुआमा र सानो भाइको जिम्मेवारी पनि बढ्दै गएको छ । यिनै जिम्मेवारीले उसलाई पनि सानै उमेरदेखि अरू युवायुवतीजस्तै यायावरी बनाइदिएको छ । हिउँदका धेरै महिनाहरू ऊ यही कारण केही कमाउनका लागि छिमेकी भारतका सहरहरूमा भौतार्रिइसकेकी छ,पोखरा र नेपालालकै अन्य सहरहरूमा उसले कामसँगै आफ्नो जीवनका कतिपय बहुमूल्य क्षणहरू साटिसकेकी छ ! त्यहाँ के गरिन उसले होटेलमा भाँडा माझिन कि,सडक छेउमा हिमाली जडीबुटी फिंजाएर बेच्न बसिन कि ऊ ! त्यस क्रममा आफूमाथि आइपर्ने अनेकौं कुत्सित प्रहार र आक्रमणको पनि सामना गरेकी छ उसले ।

यी कुरा उसले मसँग भनेकी होइन । त्यसरी मन खोेलेर ऊ मसँग यस्ता कुरा भन्न पनि सक्दिन थिई होली । म मात्रै भएको भए त्यो किसोरी हिमवाला कासाङको भित्री वेदना बुझ्न सक्ने थिइन होला ! बाहिर देखिने उमेरजन्य स्वभाविक खुसी,मृगशावकको झैं स्वभाविक झैं लाग्ने यसको चञ्चलता र निर्दोष अभिव्यक्तिहरूभित्र असमयमैं यतिविन प्रौढ,परिपक्व र पारिवारिक दायित्वको भारीले थिचिएकी अर्की कासाङ पनि साथै बाँचेकी होली भन्ने अनुमानसम्म पनि लगाउन सम्भव थिएन । नारी स्वतन्त्रता र समानताको नाउँमा आफूलाई विञापनको बस्तु बनाउने मेरा सहरी–सभ्य सुकिला एनजिओवादी नारीआन्दोलनका नेतृरूले कस्तो स्वतन्त्रताको उपहार दिने कासाङहरूदलाई ? कुन अशको भाग लगाइदिने कासाङहरूलाई जसको अंशमैं खानेखेल्ने उमेरमैं परिवारको जिम्मेवारीको गोवद्र्धन पहाड शिरमाथि उचाल्नु पर्ने वाध्यता पैतृक सम्पत्तिकै रूपमा जन्मसँगै साथ लाग्ने गर्छ–आफ्ना बाबुआमासँग यो भन्दा अरू के नै सम्पत्तिको दावी गरोस् विचरी कासाङ !

नजनेरै यस्तो अन्तर्वार्ता लिन मेरी श्रीमती निकै कुसल छ । उसैले झारकोटदेखि जोमसोमसम्मको त्यो यात्राको कुराकानीका क्रममा कासाङको जन्मपत्री उधिनेकी रहिछे । उसका बारेमा धेरै कुरा बुझेकी रहिछ । साँच्चि भन्ने हो भने मेरी श्रीमतीमा एउटा पत्रकारमा हुनुपर्ने अरुबाट जानकारी लिनसक्ने राम्रो गुण र जिञासापूर्ण दृष्टिकोणको अभाव छैन । ऊ पत्रकार होइन,एउटी साधारण गृहिणी हो ! तर पनि उसले जति कुसलतापूर्वक कासाङसँग उसको बारेमा पूर्ण जानकारी लिएकी थिई त्यो देखेर तेज पनि प्रभावित भएको थियो । त्यसैले उसले बेलुकी मुक्तिनाथ लजमा विश्राम गर्दा लक्ष्मीले कासाङको बारेमा बताएकी वार्तालापका अंशहरू हामीलाइृ सुनाए पछि तेजको प्रतिक्रिया थियो–भाउजु,तपाइँ लेख्न थाल्नोस् । तपाइँले यस्तै सम्झना र आफ्नै जीवनको बार्मा लेख्नुभयो भने पनि मलाई लाग्छ,त्यो लेखन सफल हुने छ । तेजले उसलाई संस्मरणहरू लेख्न मात्र भनेन,मलाई उसको लेखनमा मदत गर्न समेत उसले त्यति बेलै आदेश समेत गरेको थियो ! तर त्यस्तै हो,यात्राको समाप्ति पछि लक्ष्मीमा त्यो जाँगर अझै देखिएको छैन ।

कासाङको भाइ पनि अब केही ठूलो भइसकेको छ । कासाङसँगै ऊ पनि आठ महिना घर अर्थात मुस्ताङमैं दिदी तथा बाबुआमाको काम सघाउँछ । मंसिर महिना लागेर त्यहाँको डाँडाकाँडालाई हिउँले पूरै ढाकेपछि उनीहरु गाउँ छाड्छन् । त्यस पछिको बाँकी चार महिना मदेश तराई वा भारतका विभिन्न ठाउँमा गएर काम खोज्ने,व्यापार गर्ने र केही कमाएर ल्याउने गर्छन । मंसिरदेखि फागुनसम्मको बढी हिउँ पर्ने त्यो चार महिनाको समयमा इण्डियातिर व्यापार गर्ने जानेको संख्या पनि कम हुँदैन । भारतमा पुगेर कोही भाँडामाझ्ने,कोही मोटर सफागर्ने,कोही होटलमा काम गर्ने र कोही मृुस्ताङबाट लगेका हिमाली जडिबूटी र सालिग्रामहरुको व्यापार गर्छन्–कासाङले यस्तै बताएकी थिइ रे ! तर अब मुस्ताङका जडीबुटी र काल्किा किनाराका सालिग्राममा समेत उनीहरूको एकाधिकार खेसिंदै छ,सालिग्राम र जडीबुटी पनि अहिले भारतीयहरु आफैं मुस्ताङसम्मै आएर बोराका बोरा भारत ओसार्दै व्यापार गर्न थालेका छन् । पश्चिामा गुरूहरू र विश्वबैंङ्कको खुलाअर्थव्यवस्थालाई मात गर्ने हाम्रो सरकारी उदारताको नियन्त्रणहीन महानताको मार भने मुस्ताङी मात्र नभएर धेरै साधनहीन नेपालीले बेहोर्नु पपरिरहेको छ । यो अवसर पनि हामी मित्र राष्ट्रका ठुल्दाजुहरूलाएै सहर्ष प्रदान गरेर खुलापनका मसिहा बन्ने होडमा आफूलाई पूरै नङ्ग्याउनमा गर्वबोध गरिरहेका छौं र बासाङहरूको बाँच्ने साधन खोस्न अग्रस छौं ! त्यसैले अहिले उनीहरूको विदेश यात्रा र सीमित व्यापार पनि खोसिंदै छ,पहिले जति आमदानी अब हुन छाडेको छ । यो पीडा कासाङको मात्र पीडा होइन,ऊजस्ता धेरै कासाङहरूको साझा पीडा हो यो !

“हिउँदका चारमहिना जति त जिल्लैमा बुढाबूढी र साना नानीहरू बाहेक कोही हुँदैन । त्यतिबेला तन्नेरा–तन्नेरीहरु सबै भारत वा नेपालकै अरुठाउँमा काम र व्यापार गर्न विदेशिन्छन्, गाउँ प्राय रित्तो हुन्छ ।”लक्ष्मीले कासाङको भनाइलाई शब्दशः दोहो¥याएकी थिई !

हुन पनि हिउँको बाक्लो पत्रले सबै ढाकेर जाडोले घरबाहिर निस्कनै नसकिने त्यो बेला सङ्गिो मुस्ताङ घरभित्रको चैघेराको भूमिगत जीवनमा सीमित रहनु र तन्नेरा–तन्नेरीहरू गाउँघरमा काम नहुने त्यो समयलाई विदेशिएर केही भए पनि अतिरिक्त आमदानीको खोजीमा लाग्नु स्वभाविकै थियो । कासाङ र कासाङहरू आफूहरू विदेशलग्नुपूर्व त्यो अवधिभरकालागि पुग्ने गरी बूढाखाडाहरूलाई आवश्यक पर्ने पीठो,सात्तु,चिया आदि आवश्यक खानेकुरा र दाउरापातको व्यवस्था गरिदिन्थे । त्यही खाएर उनीहरू घरभित्रै जीवन विताउँथे र घरको छानाको सानोदूलोबाट झरेको हिउँ पगालेर खान,खानेकुरा पकाउन र चिया पकाउन पानीको अवश्यकता पूर्ति गर्र्थेे । त्यो कुराको प्रथम श्रोता लक्ष्मी मात्र होइन हामी सबैले पछि त्यो कुरा सुनेर उनीहरूको कष्टकर जीवनको अनुमान गरेर कहालिएका थियौं–ओहो यस्तो जीवनसँग पनि हार मान्दैदद् यिनीहरू ! हामी त विलासी जीवन पो बिताइरहेका रहेछौं यिनको तुलनामा !

कासाङको थोरै भए पनि खेतबारी छ । आमा निकैै बूढी छन्,स्वस्थ्य पनि त्यति राम्रो नभएकोले खेतीपातीको काम त्यतिबिन गर्न सक्दिनन् । बाबुचाहिं आमाभन्दा केशी जेठा भए पनि अझै खेतको काम गर्छन् । त्यसैले कासाङले मात्र होइन सानो भाइ पनि खेतीपातीको काममा बाबुलाई सघाउनु पर्छ । खेतीको कामबाट फुर्सत भएको बेला पनि उनीहरू कामबाट मुत्तिल पाउँदैनन् । उनीहरू तल जोमसोम बजारबाट गाउँमा सामान ल्याएर खेलो गछनर््,त्यसबाट पनि केही अमदानी गरेर घरखर्च टार्छन् । यसै वर्षदेखि कासाङले भाइलाई पढ्न पठाउन थालेकी छ,त्यसबाट पनि उसको काम अरू थपिन पुगेको छ । बासाङको भनाए थियो–के गर्नु,आफूले त पढ्न पाइएन,पाइएन भाइले भए पनि दुईचार अक्षर पढोस् !

“कासाङको बाबु मुस्ताङ्गी ठकुरी,आमा तामाङ । त्यसैले भाइ बाबुतिर गएर ठकुरी भयो,म आमातिर गएकीले तामाङ !“लक्ष्मीका अनुसार कासाङले बताएकी उनीहरूको परिवारिक संरचना पनि हाम्रोलागि अलि अनौठो थियो ।

जे होस्,कासाङको त्यो मोहनी चाल र व्यवहारबाट डोहोरिएर तीब्र हावाको बेगले उडाएको बालुवा र माटोको धुलोसँग सङ्घर्ष गर्दै कतिबेला त्यो कष्टर ओरालेको यात्रा पूरा ग¥यौं,प्त्रै भएन । कागबेनी र एक्लेभट्टीको बीच कालीगण्डकीको किनारा टेके पछि पो लाग्यो,ए कष्टकर ओरालोको यात्रा त पूरा गरिसकेछौं हामीले ! हिजो यही उकालो उक्लँदाको कठिनाइ सम्झँदा अहिले सम्म कहाली लाग्छ । तर त्यही यात्रा ओर्लंदा खासै कठिनाइ नहोला भन्ने मनैमा थिएन । ओरालेको कारण त्यसो भएको भनुँ भने आँखा हेर्न नदिने हावा र हावाले उडाएको धूलोको प्रहारमा आज पनि कुनै कमी थिएन । बाटोको प्रकृति र जटिलता हिजोको भन्दा कम कठिनाइपूर्ण थिएन,बरू कति ठाउँमा त्यो भन्दा अप्ठ्यारो थियो । तर पनि आजको यात्रा कठिन नलनग्नुको म कुनै कारण खोज्न सकिरहेको थिइन । मेरो मन भने यसको श्रेय कासाङलाई दिइरहेको थियो,उसको उपस्थितिलाई दिइरहेको थियो । उसको मोहक–मादक आकर्षणमा हामीलाई त्यो कष्टकर यात्राको अनुभूति नै हुन पाएन,यो मेरो निस्कर्ष थियो त्यति बेला !

काली गण्डकीको धीरगम्भीर प्रवाह र त्यसको गत्यात्मकताले रचना गरेको संगीतमय कलकललाई निरन्तर चलिरहेको हावाको सुइँसुइँ अवाजले अरू संगीतको सुर थपिरहेको अनुभव हुन्थ्यो । कासाङको निश्छल गतिको आकर्षण र भिरपाखामा छुनुमुनु छुनुमुनु गर्दै एउटा बुटाबाट अर्को बुटा चर्ने बाख्रापाठाहरूकै गति झैें उसको चाल प्रकृतिको त्यो लयात्मक सांगीतिक मोहकता कै अभिन्न अङ्ग झैं लागिरहेका थिए मलाई ! त्यो सबै सम्मिलित प्राकृतिक स्वरूपले एउटा स्वप्निल संसारको अनुभूति दिइरहेका थियो त्यति बेला ।

मुक्तिनाथको मन्दिर अर्थात समुद्र सतहभन्दा अठ्तीस सय दुई मिटरको उँचाइबाट ओरालो झदै हामी कागबेनी र एक्लेभट्टीको लगभग बीचभागमा आइपुग्दा जोमसोम तर्फबाट कालीगण्डकीको दुई किनाराका अग्ला पहाडहरूमा ठोक्किएर खोंचैं खोंच तीब्र बेगमा प्रवाहित हावाको चाप असहनीय अनुभव भइरहेको थियो । मानिसलाई नै उडाउला झैं त्यो हावाको तीब्र वेग र त्यसले उडाएको धुलोबाट बच्ने संघर्ष गर्दागर्दै पनि तेज र भाउजु प्रतिभा प्रत्येक पाइलामा निहुरिएर बगरबाट सानासाना ढुङ्गा टिप्दै त्यसलाई फुटाएर परीक्षण गर्दै फेरि बगरमैं फाल्दै थिए । उनीहरू सालिग्राम भएको अनुमानमा टिपेको ढुङ्गालाई अर्को ढुङ्गामा बजारेर फुटाउँथे । नफुटे त्यसभित्र कुनै आकृति छ,छैन थाहा नभएर सालिग्रामको पहिचान नहुने । फुटेमा पूजाको लागि गोग्य नठहरिने ! सालिग्रामको यो नियति मुस्ताङकै नियति लागिरहेको थियो मलाई । यसको सौन्दर्य पूजायोग्य छ, तर यसले दिएको जीवन भने यहीं बसेर बाँचे वाध्यतामा अति नै कष्टकर । त्यसैले मलाई लागेको थियो–सालिग्राम र मुस्तारू दुवैको नियति समान छ । नफुटाई नचिनिने फुटाएर पूज ागर्न नसकिने !

कवि शिरोमणि लेखनाथले कृष्णा अर्थात कालीगण्डकीको तटका सबै ढुङ्गा देवता अर्थात सालिग्राम कहलाउने बताउनुभए पनि उनीहरू सालिग्राम फेला पर्न नसकेकोमा आफ्नो अनुहारमा निराशाको रेखा लुकाउन सकिरहेका थिएनन् । उनीहरूसँगै म पनि सालिग्रामको आविष्कारमा संलग्न गराइरहेको थिएँ । तर सबै ढुङ्गा उस्तै लाग्थे,सालिग्रामको आविष्कारमा एक्ले भट्टीसम्मकै हाम्रो प्रयास असफलतामा टुङ्गिएको थियों हाम्रो यात्रामा । भनिन्थ्यो म्याग्दी जिल्लाको बेनी बजानरदेखि उत्तर तिर कालीगण्डकीको किनारै किनार मुस्ताङको दामोदर कुण्डसम्मैं सालिग्राम पाइने भनाइ हाम्रो लागि सत्य सिद्ध हुन सकेन । मुस्ताङको टुकुचे बगर,दामोदर कुण्ड र कागबेनीमा प्रशस्त सालिग्राम पाइने कुरा सुनेका थियौं हामीले । दामोदर कुण्ड नजिकैेको लोमान्थाङक्षेत्र सालिग्रामको खानी नै हो रे ! तर हााम्रो यात्राको समयस्मिाका साथै अन्य परिस्थितिले लोमान्थाङ हाम्रो गन्तव्य बनन सक्ने सम्भावना थिएन यति खेर । जे होस् सालिग्रामको खोजी अपूर्ण नै रह्यो हाम्रालागि । मुक्तिनाथको मन्दिर तल स्थानीय मुस्ताङ्गीहरूले बाटो छेउमा बेच्न राखेका सालिग्राम न सकनेका भए बिना साल्रिाम रित्तै हात फिर्नु पर्ने रहेछ,त्यति बुद्धि भने पु¥याएछौं हामीले । यो असफलता पछि मैंले तेजसँग भनें पनि । हामीले पुज्ने गरेका सालिग्राम भूगर्भ शास्त्रीहरूको विज्ञानमा जमिनमा लाखौं वर्ष थिचिएर बनेका आकृति अर्थात जीवाश्म मात्र हुन् । त्यही करोडौं वर्ष पुरानो जीवाश्म अर्थात एमिनोइड एसिडलाई देवता मानेर हामी पूजा गर्छौ । भूगर्भशास्त्रीहरू जे भनून्, भूगर्भ शास्त्रले जे भनोस्,यो हाम्रो आस्था हो,यो हाम्रो विश्वास हो ! प्रकृतिको रहस्यबाटै वास्तवमा ईश्वरको आविष्कार भएको हो भने यसलाई अरूले जे ठानुन्,त्यो हाम्रो सरोकारको विष पनि थिएन ।

सालिग्रामको खोजीका हिसाबले असफल हाम्रो यात्रा अरू हिसाबले भने असफल थिएन । कालीगण्डकीको साङ्गितिक सुसेली,हावाको तीबै राग र सालिग्रमाको असफल खोजीको बीच कासाङको उपस्थितिले सहज बनाएको हाम्रो यात्राको गति एक्ले भट्टीमा पुगेर केही बेरका लागि विश्राममा अलमलियो । त्यहा हिजो एउटा होटेलबाट मागेर लगेको लट्ठी बुझाउनु पनि थियो हामीले । लक्ष्मीको यात्रालाई धेरै हदसम सजिलो र सम्भव बनाउने त्यो गुनिलो लट्ठी फिर्ता नगरी जानु हाम्रो कृतघ्नता पनि हुने थियो सायद !



गरिमा, वर्ष २०, अङ्क १२ पूर्णाङ्क २४०, मङ्सिर २०५९

No comments:

Post a Comment