Monday, August 30, 2010

टोकियोे बाहिरको जापान र हिरोसिमामा मृत्युदर्शन




“ओहो, मानव इतिहास यतिसम्म क्रूर पनि हुनसक्छ !” हिरोसिमा शान्तिस्मृति संग्रहालय (पिस मेमोरियल म्युजियम)ले दोश्रो विश्वयुद्धको बम विभीषिकालाई आँखा अगाडि जीवन्त रूपमा ल्याइदिएपछि मेरो मनमा उठेको पहिलो प्रश्न यही थियो । म्युजियममा प्रदर्शित आँकडा र भिडियो प्रदर्शनले हिरोसिमामाथि अमेरिकी बम विष्फोटपछिको मानवीय पीडालाई जीवन्त रूपमा देखाइरहेको थियो । हो, युद्धमा योद्धाहरू मर्छन, संघर्षमा द्वन्दरत पक्षका मानिसहरू मर्छन् । तर यो युद्धमा खसालिएको बमबाट मर्नेहरू लडाकू सिपाहीँहरूमात्र थिएनन्, त्यहाँ त हज्जारौं निर्दोष जापानी नागरिक थिए, जो कहिल्यै बन्दुक उठाएर उनीहरूसँग लड्न आएका थिएनन । नाबालक, केटाकेटी र अबोध शिशुहरू थिए जो शत्रु र मित्रुको भेद जान्दैनथे । त्यहाँ देखिएको मुत्युको वीभत्सले दृश्यले हाम्रो मात्र होइन, जोसकसैको पनि हृदय द्रवित तुल्याइरहेको थियो ।

म्युजियमले हामीलाई झण्डै साठी वर्ष अघि अर्थात सन् १९४५को अगस्ट ६ तारिखको विनाशकारी क्षणमा पु¥याएको थियो । हो, त्यही बिहानको सवा आठ बजे हिरोसिमाको केन्द्रमा भएको अमेरिकी आणविक बम विष्फोटनले नरसंहारको ताण्डव देखाएको थियो । हिरोसिमा अघिल्लो मध्यरातदेखि नै खतराको घण्टी बजाएर आफना नागरिकलाई आक्रमाको खतराबाट सतर्क रहन जनाउ दिइरहेको थियो त्यो बेला । बारम्बार बजेका ती खतराका साइरनको बीच विहान आठ बजेर तेह्र मिनेटजाँदा जापानी सेनाले खतरनाक आक्रमणको सङ्केत पायो र अन्तिम चेतावनी प्रसारणको तर्खरमा लाग्यो– शत्रुका तीनवटा लडाकु विमानहरू साइजो क्षेत्रमाथिबाट पश्चिमतिर बढ्दैछन्, सुरक्षाको लागि आवश्यक सिर्तकता अपनाउनू ! तर त्यो खतराको सन्देश प्रसार हुन पाि पाएको थिएन, बी–३९, एनोला गे नामको अमेरकी बमवर्षक विमानले खसालेको आणविक बमले हिरोसिमाको धरती रक्तरञ्जित बनाइदियो । सर्वसाधारण नागरिकले सुरक्षितस्थलमा पुगेर आफूलाई बचाउनसमेत समय समेत पाएनन् । चार टन वजनको बीस किलोटन बराबर विष्फोटक क्षमताको त्यो बम विष्फोट भए पछि त्यहाँको तापक्रम एक्कासी बढेर लाखौं डिग्र सेण्टिग्रेड पुग्यो, जताततै आगोको मुस्लोले ढाक्यो । धुवाँको मुस्लो कैर्यौ किलोमिटरमाथिसम्म फैलियो, असैह्य तापक्रम र विकीरणको लहर तुरुन्तै सबैतिर फैलियो । त्यसबाट सन् १९४५ डिसेम्बर अन्त्यसम्ममा मर्नेहरूको सङ्ख्या लगभग डेढलाख पुग्यो । झण्डै असी लाख गैह्र सैनिक नागरिकको मृत्यु भयो, पन्द्रहजार जति सख्त घाइते भए । तेह्र किलोमिटर क्षेत्र आगोले नष्ट तुल्यायो, अणुबमले ३० किलोमिटर क्षेत्रमा प्रत्यक्ष असर पु¥यायो । कुल ७३ किलोमिटर जति क्षेत्रभित्रको क्षतिग्रस्त बस्तीका तीनलाख भन्दा बढी जापानी नराम्ररी प्रभावित भए । बमबाट निश्रित आण्विक विकीकरणले वषौंवर्षसम्म पीडित असर गरि नै रह्यो, त्यसबाट रोग बेसाउने जापानीहरू अझै पनि फेला परिरहेका छन् । हिरोसिमा पिस मेमोरियल म्युजियम मा प्रदर्शित तथ्याङ्क र भिडियो प्रदर्शनहरूले हामीलाई पनि त्यो युद्ध विभीषिकाको पीडा प्रत्यक्ष नै अनुभव गराइरहेको थियो, मानौं हामी स्वयम् त्यस क्षणको मानवीय संहारक प्रत्यक्षदर्शी हौं ।

कार्यक्रम अनुसार टोकियो बसाइको पहिलो चरण सकेर जापान पुगेको चौथो दिन बिहानै हामी टोकियो प्रिन्स होटेल छाडेर बिहानै हिरोसिमाका लागि विमान समाउन टोकियो अन्तर्राष्ट्रिय विमानस्थल हानेदा पुगेका थियौं । हामी अर्थात जापानी विदेशमन्त्रालयको निमन्त्रणामा करिब दुई हप्ते जापान भ्रमणमा आएका गोरखापत्रका तीन पत्रकार उद्धब उपाध्याय, केदार शाक्य र म । टोकियोको कार्यक्रम बाँकी नै थियो, त्यही बीचमा आतिथेय विदेश मन्त्रालयको एसिया मामिलासम्बन्धी व्युरोले हिरोसिमा, क्योटो, ओसाका र नागोयाको भ्रमणको व्यवस्था मिलाएको थियो हाम्रालागि । त्यसैकालागि अन्नाको ६७५ उडानले सबा एघार बजे हिरोसिमा (जसको अर्थ जापानी भाषामा फराक टापु भन्ने लाग्छ) मा ओरालेको थियो । त्यहाँबाट सोझै हिरोसिमा शान्तिस्मृति संग्रहालय वा हिरोसिमा पिस मेमोरियल म्युजियम पुगेका थियौं हामी जोे टोकियोबाटै हाम्रो लागेको सहयोगी मासारु वातानावेको अगुवाइमा ।

त्यसरी नै हिरोसिमाको विगत इतिहासलाई आँखा अगाडि जीवन्त बनाएको थियो हिरोसिमा क्यासलले । लगभग सवाचारसय वर्ष अघि तत्कालीन सामन्त मोरी तोरुमोतोले निर्माण गराएका यो किल्लाको पुरानो नाम कार्प क्यासल थियो, जुन अहिले बदलिएर हिरोसिमा क्यासल बनेको छ । यो किल्लाले मोरी पुनर्जागरण कालमा जापानी सामन्तहरूको राज्य समाप्त भएपछि निकै उपेक्षा बेहो¥यो । यसका कतिपय भाग भत्काइए । सन् १९३१मा यसको ऐतिहासिक महत्व अनुभव गरेर राष्ट्रिय सम्पदामा समावेश गरी संरक्षण थालियो । यसको दुर्भाग्य भने अझै सकिएको थिएन । दोश्रो विश्वयुद्धको बमको प्रकोकले यसलाई पनि छाडेन । ३८ मिटर अग्लो यो पाँचतले किल्लालाई १९५८मा पुरानै वास्तु र संरचनामा पुननिर्माण गरियो । हिरोसिमाको जीवन र प्रगतिको जीवन्त परिचय दिने यो सङ्ग्रहालय मेइजी पुननिर्माण कालसम्मको सग्लो परिचय दिइरहेको थियो । हिरोसिमामा यति नै थियो हाम्रो निर्धारित कार्यक्रम । त्यसैले साँझ साढे छ बजे बुलेट ट्रेन समातेका थियौं, क्योटो जानकालागि । दुई घण्टाको रेल सफरपश्चात क्योटो स्टेसनबाट क्योटोस्थित एएनए होटेल पुगेर थकानपूर्ण यात्राले विश्राम लिएको थियो, त्यसदिन ।

भोलिपल्ट अर्थात सन् १९९२को जुन १४ तारिखको हाम्रो कार्यक्रम थियो क्योटोकोे दृश्यावलोकन ! भ्रमण कार्यक्रममा प्रमुख लक्ष थिए–क्योटोको बोटानिकल गार्डेन, क्योमिजु–डेरा, म्युजियम अफ मोडर्न आर्टस् र साञ्जुसाङ्गेनडो आदि । मियाको ओदोरी अर्थात चेरी नृत्य, कामोगावा अ‍ोदोरी वा कामोगावा नृत्य, कामीगामो र शिमोगामो मन्दिरका आयोयी मात्सुरी वा पवित्र नृत्य, ओई नदीको डुङ्गा मेला वा मिफुने मात्सुरी, हेन मन्दिरको ताकिगो नोह, यासाका मन्दिरको गियोन पर्व, आदि वार्षिक चाड–पर्वमा आफ्नो सांस्कृतिक धरोहर जोगाएर बसेको क्योटो आफैंमा जापानको जीवित सङग्रहालय लाग्छ ।

छेवैको कञ्चन तलाउमा आफ्नो सौन्दर्य निहारीरहेको पश्चिम क्योटोस्थित किंकाकुजी मन्दिर अर्थात तीन तले गोल्डेन पेभिलियन चारैतिर रुखैरुखले घेरिएर बृद्ध तपस्वी झैं हाम्रो स्वागतमा उभिएको थियो । मन्दिरको एक छेउको तलाउ कियोकाकोे किनाराका बारमा अडेसिएर हामीले पन्ध्रौं शताब्दीको अनुपम संरचना त्यस सुन्दर मन्दिरको सौन्दर्यपान ग¥यौ– धित नमरुञ्जेल । हाम्र गाइड भन्थे ऐना जस्तै सफा र प्रतिबिम्ब दिने पोखरी हो रे कियाकाको शाब्दिक अर्थ । पोखरीको बीचमा देखिने एउटा सानो कृत्रिम ढुङ्गे टापुजस्तोमा उभिएका बृक्षद्वय मन्दिरको रखवारीमा डटेका बृद्ध तपस्वी झैं देखिन्थे । सन् १३९७ अर्थात चौद्धौ शताब्दीमा आशिकागा योसिमित्सु नामका सोगुनले बनाएका यो स्वर्ण पेभिलियनको गजुरमाथि एउटा स्वर्ण पंक्षी पखेटा फिँजारेर उड्नै लागेजस्तो मुद्रमा देखिन्थ्यो–विश्वभर शमान्तिको सन्देश फैलाउन । भनिन्छ, काष्ठनिर्मित यस मन्दिरको तेश्रो तलाका बार्दलीका बार, कोठाका भित्ता र सिलिङहरू सबै नै सुनका जलपले मोरिएका छन् रे । सुरक्षाको दृष्टिले होला भित्र गएर हेर्न निषेध रहेछ । यति सुन्दर सिर्जनाले पनि सन् १९५०मा अग्निदाहको पीडा भोग्नु परेछ, एउटा विक्षिप्त जापानी युवक पुरोहितको क्रूर मानसिकताका कारण ! त्यो अग्निदाहको पाँच वर्ष पछि पुनर्निर्माण भएको रहेछ मन्दिरको ।

बादशाह कामाडुले आफ्नो राधानी बनाएपछि सन् ७९४देखि १८६८सम्म को एकहजार वर्षभन्दा बढी समय जापानको शाही राजधानीका रुपमा मात्र रहेन, राजनीतिका साथै संस्कृतिक तथा कलाको पनि केन्द्र बन्यो क्योटो । यो स्थान अझै कायम राख्न सफल देखिन्छ यो शहर ! सुरुमा हेयान–का भनिने उत्तर र पूर्वतिर मनोरम पहाडहरूले घेरिएको यो पुरानो राजधानी क्योटोमा बुद्धधर्मसम्बन्धित १६०० वटा मन्दिरहरू छन् रे ! त्यसरी नै यहाँका २७० वटाजति सिन्तो धार्मिक स्थल–स्राइनहरू पनि उत्तिकै दर्शनीय देखिन्छन् । आकर्षक शाही प्यालेस र त्यसका दुईवटा मणिजस्तै भिल्लाले पनि कुनै बेला जापानको राजनीति र विकासमा क्योटोले खेलेको मूमिकालाई गौरवपूर्ण ढङ्गमा प्रदर्शित गरिरहे झैं लाग्छ । सन् १९८५मा १४ लाख जनसंख्या भएको जापानको सातौं ठूलो यो शहरलाई सुरुमा हेन्क्यो अर्थात शान्तिको राजधानी भनिन्थ्यो रे ! सुरक्षित रुपमा संरण गरिएका यसका परम्परागत कला, हस्तकला, वास्तुकला, कलासंस्कृतिको प्रभाव त विश्व कलामा परेकैछ । कलासंस्कृति बाहेक पनि बिद्युतीय तथा केमिकल उद्योग, क्योटो इण्टरनेसनल कन्फरेन्स हल, प्रसिद्ध विश्वविद्यालय र कलेजहरूले क्योटोलाई आधुनिक विश्व समक्ष परिचित गराइरहेका छन् । पश्चिमी क्योटोस्थित चट्टान र बालुवा सजाइएको सुन्दर बगैंचामा अवस्थित जैनप्रभाव देखिने र्योनाजी मन्दिर अर्को आकर्षण थियो क्योटोका । सन् १४७३मा सोआमीले डिजाइन गरेका यो मन्दिर धार्मिक महत्वका कारण मात्र होइन, वास्तुकलाको हिसाबले पनि महत्वपूर्ण लाग्थ्यो । र्योनाजी मात्र होइन सत्रौं शताब्दीमा निर्मित अर्का निजो र हिमेजी क्यासल पनि कम दर्शनीय थिएनन् ।

क्योटोका कारासुमा सबवेस्थित ओइके स्टेसनबाट तीन मिनेट पर रहेको क्योटो सङ्ग्रहालय हरेक जापानको मुटु मान्छन् जापानीहरू । क्योटो आफै सिङ्गै आफ्नो इतिहास र कलासंस्कृतिको जिवन्त संग्रहालय भए पनि यो सङ्ग्रहालयले छोटै झलकमा क्योटोलाई बुभ्m र सम्झन मदत गरेको छ, तिनको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९४मा हेयान–को स्थापना (सन् ७९४को) १२सयौ स्थापनादिवस मनाउने क्रममा यसको स्थापना भएको थियो सन् १९८८मा । यसले मनोरञ्जन मात्रै गराउँदैन, क्योटोको सम्वृद्ध सांस्कृतिक परम्पराको अध्ययन गर्नेलाई राम्रो अवसर समेत दिन्छ । क्योटो शहरको केन्द्रमा रहेको यो संग्रहालयले यसको एक हजार वर्षको इतिहास मात्र नभनेर भावि क्योटोको समेत रूपरेखा देखाउँछ । जापानका प्राचीन नगर नारा, क्योटो र कामाकुरा मध्ये क्योटो हेर्ने रहर नसिध्ँिदै दिनले विदा मागिसकेको थियो । अब होटेल एएनए फर्केर भोलिलाई पर्खनु सिबाय हामीसँग अर्को विकल्प थिएन ।

क्योटोभन्दा पनि पुरानो शहर नाराले जापानको पहिलो स्थायी राजधानीको गौरव समेत बोकेकोथियो । पाचौं सम्राट कम्मले सन् ७९४ मा राजधानीलाई क्योटो नसारुञ्जेल नारा राजधानी नै थियो जापानको ! त्यसअघि जुनठाउँको बादशाहले शासन गर्छ, राजधानी पनि त्यहीँ सर्ने गथ्र्यो । जापानको रानीतिक शक्ति वा राजधानी पनि बंशानुगत रुपमा नाराबाट क्योटोहँुदै कामाकुरा र ओसाका तथा अन्तमा इडो वा टोकियो सर्दैगयो । सन् १८९७मा विभिन्न दवाबकाबीच शोगुनले प्रशासनिक शक्ति जापानका १२४औं सम्राट वर्तमान हिरोहितोका बाजे मेइजीलाई हस्तन्तरण गरे । सातशताब्दीभन्दा बढीको शोगुन शासनको त्यसपछि अन्त्य भयो मेइजीले नै राजधानीलाई क्योटोबाट टोकियोको इडो दरबामा सारे । इडो दरबार सुरुमा तोकुगावा शोगुनहरूको आवास थियो । मन्दिर, बौद्ध तथा जैन तिर्थस्थल र सांस्कृतिक निधिको अमूल्य भण्डार नाराले कला–हस्तकला उद्योगको विकासमा सुरुदेखि नै पर्याप्त प्रोत्साहन दियो । यसको उदाहरण अहिले पनि रामै अनुभव गर्न सकिन्थ्यो । जापानी इतिहासमा नारा काल अल्पसंख्यक सिन्तो धर्मका साथै बुद्धधर्मको संस्थापन र दुबैसंग सम्बन्धित संस्कृतिको संबद्र्धनमा पनि महत्वपूर्ण रहेको मान्छन जापानीहरू । राजधानी क्योटो सरेपछि नाराको प्राचिन तेम्पोइ संस्कृति चिनिया र जापानी संस्कृतिबाट प्रभावित हुँदै गएर काव्य, पेण्टिङ, स्कप्चर तथा वास्तुकलामा जापानी विशिष्ट शैलीको स्वरू विकसित हुँदैगयो । सन् ७१९देखि ७९४को पछिल्लो नारा काल मूलतः चिनीया संस्कृतिबाट प्रभावित मानिन्छ र यस कालका अधिकांश सांस्कृतिक निधिहरू नाराको शासोइन ट्रेजर हाउसमा सुंरक्षित छन् । यही समयमा एकजना दरबारी महिलाले लेखेकी उपन्यास “गेञ्जी मोनोगात्री” वा गेञ्जीको कथा विश्वकै सबैभन्दा पुरानोमध्येको उपन्यास मानिन्छ । विश्वकै सबैभन्दा पुरानो विश्वप्रसिद्ध होरयुजी मन्दिर र संसारकै सबैभन्दा ठूलामध्येको एक मानिएको टोडाइजी मन्दिर र तिनका काष्ठसंरचनाले नाराको विगत सांस्कतिक सम्पन्नताको अहिले पनि साक्षी बेकिरहेका छन्, कुनै पनि दर्शकले यस्तै अनुभव गर्छ सायद ।

क्योटोबाट उत्तरबाट पश्चिमतर्फ फैलिएको पहाडले काटेर छुट्याइएको नारा आफैंमा सजिव बौद्ध तपस्वी झैं लागेको थियो मलाई त्यतिखेर । जताततै मन्दिर, तीर्थस्थल र तिनै तीर्थस्थलका पवित्र वनकाननमा विचरण गरिरहेका मृगशावकहरूले हाम्रै प्राचिन काव्यको संझना गराइरहेका थिए । नारा पार्कमा विचरण गरिरहने मन्दिरहरूकै संरक्षणमा पालिएका हरिणहरूको निर्भिक र निर्वाध विच।रण प्राचिन काव्यको कण्वआश्रम तथा मृगशावकसँग खेल्दै दुष्यन्तको प्रेमविरह विर्सने प्रयत्नमा हराएकी शकुन्तलाको सम्झना हुनु स्वभाविक थियो मेरालागि ! नारा पार्क अर्थात हरिण पार्कमा विचरण गरिरहेका हजारभन्दा पनि बढीसङ्ख्यामा अनुमान गर्न सकिने हरिणहरूसँगै आनन्द लिइरहेका सयौं शकुन्तला र दुश्यन्तहरू देखेको थिएँ मैले त्यतिखेर । सयौं शिद्धार्थहरू बुद्धत्व प्राप्तिको कठोर साधनामा लोभ, मोह, मद्, मात्सर्य सबै त्यागेर आत्मलीन देखेथेँ. मैले नारामा र अन्तरमनदेखि नै गुञ्जिएका शान्ति मन्त्रहरू सुनेको थिएँ मैले नाराका आकाशभरि !

नारापर्क र वरिपरिका मन्दिरका कलाकौशलबाट अभिभूत हामी त्यो सम्मोहनबाट नउम्किँदै फेरि सन् ७१०मा शक्तिसाली फुजीवरा परिवारले पारविारिक मन्दिरका रुपमा बनाएका कोफुकुजी मन्दिरदेखि नारा नेसनल म्युजियमसम्मका स्थलहरूले बौद्ध कला र परम्पराको अभूतपूर्व परिचय दिइनै रहन्छन् । आठौं शताब्दीको मध्यतिर बनेको तोइजी मन्दिरको विशाल बुद्धमूर्ति र सन् १७०९मा बनाइएको विश्वकै सबैभन्दा ठूलो दावी गरिने काष्ठनिर्मित विशाल हलले प्रत्येक विदेशी दर्शकलाई जापानको कला–संस्कृतिको महानता दिग्दर्शन गराइरहेका छन्, नाराकोमात्र नभएर जापानकै प्रमुख आकर्षण बनिरहेका छन् । पुनःनिर्मित स्वरूपमा एक तिहाइ आकार गुमाएर त यो यति भव्य देखिएको छ भने मौलिक तोइजी मन्दिर कति विशाल र कति भव्य थियो होला, म मनमनै कल्पना गर्दैथिएँ त्यतिबेला ।

सिन्तोधर्मावलम्बिीहरूकालागि जापानभरकै तीन प्रसिद्ध तीर्थस्थलमध्येको एक कासुगा ताइसा मन्दिरले नारालाई अरू भव्यता प्रदान गरिरहेको थियो । सन् ७६८मा र्मिाण भएको यो स्थलमा देखिने मन्दिरहरूले सिन्तो धर्मावलम्बीहरूका चारै संप्रदायलाई प्रतिनिधित्व गरिरहेका थिए । भनिन्छ, यहाँ साँझपख बजाइने ड्रमको मधुर आवाज सुनेर हरिणहरू झुम्मिन आउँछन । ११औं शताब्दीदेख श्रद्धालु दाताद्वारा राखिएका तीनहजारभन्दा बढी ढुङ्गा, पित्तल र ढलोटका लाल्टिनजस्तै देखिने बत्तीदानीहरूले देख्दा लाग्छ मन्दिर विश्वलाई नै अँध्यारोमुक्त गर्न प्रेरित गरिरहेको छ । हरेक २०–२० वर्षमा गरी ५७औं पटक पुनर्निर्माण गरिए पनि जापानी वास्तुविद्हरूले यसको प्रारम्भिक मौलिक संरचना अर्थात मध्य आठौं शताब्दीको बास्तुकलाको नमूनालाई सधैंनै जोगाइ रहेकाछन् । कासुगा ताइमात्र होइन, कासुगा तिसा मन्दिरको दक्षिण–पश्चिमअवस्थित तीन तले भव्य शिन–याकुसिजी मन्दिरको पूर्वी प्यागोडाले छ तलाको भान दिए झैं लागेथ्यो त्यतिखेर । सन् ७४७मा सम्राज्ञी कोम्योले बनाउन लाएकी यो मन्दिरले जापानी मृत्तिका कलाको सुन्दर नमूना प्रदर्शन गरिरहेको थियो । नवौं शताब्दीको याकुसी–न्योराई कालीन बुट्टा कुँदाइको सिप प्रदर्शन गर्नमा सक्षम शिन–याकुसिजी मन्दिरका १२जना दैवी सरदारहरूको गोलाकार मूर्तिहरूले मृत्तिकाकलाको अनुपम जापानी क्षमता देखाइरहेका थिए । विद्यमान् प्राचिन मन्दिरहरूमध्ये निसिनोक्यो क्षेत्रको अर्को विशाल तोसोदाइजी मन्दिरका निर्माता चिनियाँ पुजारी गान्जिन आपूmभने अन्धा रहेछन् ! सन् ७५९मा निर्मित यो मन्दिरका प्रमुख आकर्षण थिए– बुद्ध र सहस्रबाहु वा हज्जार हात भएका कान्नोनको कलात्मक बृहताकार मूर्ति । नाराकालीन बास्तुकलाको नमूना मानिने यो मन्दिरको वर्तमान प्रवचन कक्ष नारा शासनकालमा अदालत कक्षको रुपमा प्रयोग हुनेगथ्र्यो रे । यसरी नै होरीयुजी मन्दिर परिसर र त्यहाँको होरीयुजी इष्ट मन्दिर इतिहास, वास्तुकला, कलाकृति र भित्तीचित्रका दृष्टिले आफैंमा सिंगो संग्रहालय थियो । यो मन्दिर परिसरका ४५वटा भवनहरू सातदेखि सत्र शताब्दीसम्मको अवधिमा बनेका रहेछन् र तीमध्ये पाँच तले प्यागोडा सहित केही काष्ठ संरचना विश्वकै प्रचिनमध्येका मानिँदा रहेछन् । सम्राज्ञी सुइकोका राजप्रतिनिधि राजकुमार शातोकुद्वारा सन् ६०७मा स्थापित यो परिसरबाटै शातोकुले बुद्धधर्मको प्रबद्र्धन र सत्र धाराकोयुक्त सम्बिधानको घोषणा गरेका थिए रे !

क्योटोजस्तै जापानको यो प्रचिन नगर तथा धार्मिक केन्द्र नारा पनि कान्साईका सातवटा प्रिफ्क्चरमध्ये नै पर्नेरहेछ । ती प्रिफेक्चरमध्ये नारा पछि ओसाका हाम्रो भ्रमण कार्यक्रममैं पथ्र्यो । कान्साईलाई सुरुमा किन्की भनिँदोरहेछ । क्योटोका विशेष दर्शनीय ठाउँहरू हेरेर भोलपिल्ट अर्थात जापान आगमनको छैटौं दिन विहानै नौ बजे होटेल छाडेर हामी लागेका थियौं बाटोमा ओसाका नगर घुम्ने र ओसाकाकै दाइतो–सि स्थित सान्यो–चोमा रहेको सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेडको डाइतो ल्पाण्ट हेर्ने कार्यक्रम लिएर । सािँझ पाँचबजेसम्म ओसाकामा विताएर फेरि साँझतिर नागोयाका लागि हिकारी सुपर एक्सप्रेस समात्नु थियो हामीलाई ।

योजना अनुरुप नै हामीले क्योटो छाड्यौं, ओसाका दृश्यावलोकनअन्तर्गत हाम्रो कार्यक्रममा परेका थिए ओसाका क्यासल म्युजियम र अरु केही दर्शनीय ठाउँहरू । पार्कसहित करिब १लाख ७हजार वर्गमिटर ठाउँ ओगटेर बसेको ओसाका क्यासल इडो कालमा निर्मित आफ्ना तेह्र आकर्षक भवनसहित गौरवले हिर उठाइरहेको थियो । तीध्येको प्रमुख भवन तेन्सु–काकुमा संग्रहालय र ओसाका क्यासल हल आदि थिए । किल्ला पस्नुपूर्व नै हामीलाई किल्लाको ओते–मोन नामक भव्य पुरातत्विक मूल प्रवेशद्वारले जोकोहीलाई आकर्षित गथ्र्यो । संग्रहालयको तेस्रो तला कामाकुरादेखि सोगुनहरूपूरै समयका सातसय वर्ष समेट्ने जापानी लडाकु वर्ग अर्थात समुराइहरूको जीवन र संस्कृति झल्काउने ऐतिहासिक सामग्रीहरूले भरिएका थिए । समुराजीवन मात्र होइन ती प्रदर्शित बस्तुले प्राचीन जापानको सिङ्गो जीवनलाई सजिव रुपमा प्रस्तुत गरेका थिए । चौथो तला ओसाका क्यासलका निर्माता हिदेयोसी तोयोतामीकालको मोमोयामा संस्कृति झल्काउने फर्निचरहरूले भरिएका थिए, पाँचौं तलामा उनकै जीवनकालका उपलब्धी देखाउने बस्तुले भरिएका थिए । आठौं तलाबाट देखिने ओसाका नगरको भव्यताले यसको समृद्धि स्पष्ट पारिरहेको थियो ।

ओसाकाको सामान्य भ्रमण सकेर वातानावेले हामीलाई मध्यान्हतिर सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेडको अडियो–भिजुयल विजिनेस हेड्क्वाट्र्स पु¥याएको थियो । टेलिभिजन उत्पादन विभागक अन्तर्गत सामान्य योजना शाखाका मुख्य संयोजक कात्सुयोसी (केन) ताकाहासीको पूर्ण औपचारिक स्वागतपछि हामीलाई कम्पनीका महाप्रवन्धक मासाहिको इवासाको कक्षमा पु¥याइएएको थियो । महाप्रवन्धक टेलिभजनको निर्माणप्रक्रिया र त्यसको विक्री–वितरण प्रणालीबारे बताउँदै जान्थे, केन त्यसलाई अङ्ग्रेजीमा उल्था गरेर हामीलाई बसझाउँथे । पछि थाहा पाएका थियौं ती महाप्रवन्धक आफैं राम्ररी अङ्ग्रेजी बोल्न जान्दथे । तर राम्ररी अङ्ग्रेजी बोल्न जाने पनि यस्ता जिममेवारीमा रहेका जापानीहरू अफिसियल भेटघाटमा जहिले पनि अङ्ग्रेजी नबोलेर आफ्नै राष्ट्रिय भाषा बोल्दारहेछन् । हामीलाई जति पनि ठाउँमा लगियो, भेटघाट गराइयो ती सबै ठाएँमा जिम्मेवार कसैले पनि अङ्ग्रेजी बोलेको सुनिएन, भलै उनीहरू अङ्ग्रेजी नजान्ने थिएनन् । सबै ठाउँमा दोभाषेले त्यसलाई अङ्ग्रेजीमा उल्था गरेर बुझाउने गर्थे । त्यो देख्दा लागेथ्यो, जसले आफ्नो भाषा, भेष र संस्कृतिप्रति गर्व गर्नसक्दैन त्यो जहिले पनि पछौटे मानसिकतामा बाँच्दछ, जस्तो हामी बाँचिरहेका छौं । आफ्ना प्रधानमन्त्रीदेखि सरकारी अधिकृत र नेताहरूसम्मै औपचारिक कार्यक्रममासमेत नेपालीको साटो बरु पाङ्दुरे पाराको सबै हाँस्ने गोर्खाली उच्चारण र शैलीमा नै किन नहोस् अङ्ग्रेजी छाँट्न गौरव मान्ने देखिरहेका हामी जापानीहरूको त्यो राष्ट्रभाषाप्रतिको सम्मान देखेर निकै प्रभावित भएका थियौं । विदेशी सञ्चारमाध्यममा सार्वजािनक अन्र्तावार्ता दिँदासमेत हाम्रा नेताहरू बरु हिन्दी बोल्न रुचाउँछन्, आफ्नो राष्ट्रभाषा नेपाली बोल्न रुचाउाँदैनन् । अरु सबै कुरा विदेशीबाट सिक्न खोज्ने हामी यस्ता कुरा चाहिं किन सिक्न चाहँदैनौं, सायद अध्ययनकै विषय हुनसक्छ । टेलिभिजनको दायतो प्लाण्टबाट फर्केर हामी नागोयाकालागि हिँडेकाथियौ साँझ पाँच बजे ।ं लगभग एक घण्टाको रेल सफरपछि नागोया क्यासल होटेल पुगेर यात्रालाई विश्राम दिएकाथियौं त्यो दिनकालगि !

टोकियो बाहिरको अन्तिम कार्यक्रम अन्तर्गतको हाम्रो निर्धारित योजना थियो– टोयोटा नगरको प्रख्यात टोयोटा मोटर कर्पाेरेसन र जापानको एउटा प्रसिद्ध पोर्सिलिन उद्ययोग रहेको सेतो–सी भन्ने ठाउँ हेर्ने । त्यही अनुरुप जापानभ्रमणको सातौं दिन हामी विहानै नागोया क्यासल होटल छाडेर टोयोटा कर्पोरसनको मुख्य कार्यालय पुगेका थियौं । प्रवेशद्वाराकै माथि राखिएको विद्युतीय संयन्त्रमा हामी तिनै जनाको नामसहित आजका अतिथिलाई टोयोटा कर्पोरेसनमा स्वागत भन्ने विद्युतीय आलेखले एनिमेसन चम्किीईरहेको थियो । कम्पनीको सार्वजनिक सञ्चार विभागका सहायक प्रवन्धक तोसियुकी आसामी, उनका सहयोगी नाओकी सुगावारा र मिस एच. साइतो हाम्रो प्रतीक्षामा थिए । जापानको गौरव मानिने टोयोटा मोटर कम्पनीको बारेमा आवश्यक जानकारी पछि उनीहरूले दिएका स्मृतिचिन्ह त्यो कम्पनीको पहिलो मोटरको प्रतिकृति (मिनीएचर)ले अझै पनि मेरो बैठक कोठामा सजिएर मलाई जापान भ्रमणको सम्झना गराइरहन्छ ।

टोयोटा अटोमोबायल म्युजियम देखाउने जिम्मा दिइएको थियो साइतोलाई । स्वचालित सबारी साधन वा अटोमोबाइलको इतिहास सम्झाउन स्थापना गरिएको यो म्युजियमले ग्यासोलिनबाट चल्ने कारको प्रारम्भिक विकासदेखि इञ्जिनचालित सवारी साधनसम्मका एकसय वर्षको विकासलाई क्रमबद्ध तरिकाले प्रस्तुत गरेको थियो–जीवन्त नमूनासहित । हज्जारौं वर्षसम्म घोडागाडीबाट अघि बढेको मानव यातायात साधनको इहिास आधुनिक युरोपको औद्योगिक क्रान्तिसँगै अघि बढेको थियो । यो विकासको क्रम दिनप्रतिदिन तीब्र हुँदैछ । एउटा पूर्जासम्म नबन्ने मुलुकको नागरिक म आफ्नो सडकमा गुड्ने टोयोटा कारका असंख्य नमूनासँग अपरिचित थिइन । म्युजियममा प्रदर्शित सन् १९३६को पहिलो टोयोटा एए सिडान कारको नमूनाभन्दा अहिले मेरै देशमा गुड्ने टोयोटाहरू पनि आश्चर्यजनक रुपले विकसित देखिन्थे । संग्रहालयकै प्रतीकका रुपमा यो पहिलो कारको नमूनालाई प्रस्तुत गरिएको थियो । सङ्ग्रहालयमा सवारी प्रमुख नमूनामात्र नभएर यसको विकासबारे जानकारी दिने करिब १० हजार पुस्तक र भिडियोको सङ्ग्रह गरिएका थिए सने १९८५मा खोलिएको यहाँको विशाल पुस्तकालयमा । यो मात्र होइन, बेलायतकाजस्तै जापानका हरेक संग्रहालय, पुरातात्विक तथा सांस्कृतिक महत्वका ठाउँहरूमा आवश्यक प्रवेश शुल्क र सवारी विश्रामस्थल शुल्क (पार्किङ शुल्क) लिइन्छ र त्यसबापत आवश्यक सेवा र सूचना प्रदान गरिन्छ । यहाँ त हामी पाहुना नै थियौं, शुल्क तिर्ने कुरा थिएन । लगभग दुईहप्ताको जापान बसाइमा अन्यत्र पनि ती शुल्क तिर्ने, हामीलाई चाहिएको कुरा किनिदिनेदेखि यावत काम हाम्रा सहयोगी वातानावे र उनी नभएका बेला अर्का सहयोगीले नै गर्ने गर्थे । सुन्दा अनौठो लाग्ला, जापान बसाइको त्यो अवधिमा मैले जापानी येन देखिन भन्दा हुन्छ । टोकियोमा एउटा घडी किन्दा आफूले लगेको अमेरिकी डलरको ट्रेभलर चेक साटेपछि मात्रै मेरो हातमा केही एन परेको थियो ।

१९सौं शताब्दीको उत्तराद्र्ध देखि १९४०सम्मका अमेरिकी–युरोपेली ५०भन्दा बढी नमूनालाई सङ्ग्रहालयले पाँच वर्गमा राखेको थियो । पहिलो वर्गमा सन् १८००को अन्त्यदेखि १९१०सम्मको प्राथमिक कालखण्डकका सवारी साधनका नमूना थिए । १९औं शताब्दीको उत्तरार्धमा इण्टरनल कम्ब्युसन इञ्जिनको सफल प्रयोग पछि युरोपमा ग्यासोलिन बाट चल्ने कारको विकास भएको थियो । १८८६मा तीन पाङ्ग्रे बेञ्जकार बनेपछि नै ग्यासोलिन इञ्जिनको जन्म भएको थियो । मूल्यको हिसाबले फोर्डको टी मोडेल सर्वसाधारणको पहुँचसम्म पुग्न सफल भयो । दोश्रो वर्गले १९१०को दशकदेखि १९२०को दशकसम्म आम उत्पादनमा आएका साधनका नमूना राखिएका देखिन्थे । यसबेलादेखि नै यिनको लोकप्रियता निकै बढेको थियो । तेश्रो वर्गमा सन् १९३०को दशकमा अमेरिकामा विकसित बढी सुविधायुक्त र आकर्षक नयाँकारका मोडेलहरू राखिएका थिए, यिनैबाट सवारी साधनको चयन फेसनको रुपमा समेत हुन थालेको मानिन्छ । चौथो वर्गमा सन् १९००देखि १९३०सम्मका रेसिङ कारहरू थिए । यस्ता रेसिङ कारको पहिलो रेस सन् १८९४मा भएको थियो रे ! पाँचौं वर्गमा भने सन् १९१०देखि १९३०सम्म विकसित लक्जरी कारका नमूनाहरू प्रदर्शित थिए । जापानी कारहरू छुट्टै कक्षमा राखिएका थिए । सन् १९३६को पहिलो टोयोडा मोडेल एए सिडानदेखि सन् १९७०सम्मका विभिन्न ५० मोडेलहरू प्रदर्सनमा राखिएका देखिन्थे । भनिन्छ सन् १९००तिर जापानमा विदेशी कार आएदेखि नै जापानीहरू आफ्नै कार बनाउने प्रयासमा लागेका थिए ।

मिहिनेती, स्वाभिमान, केही कोमल तर आत्मसम्मान र संस्कृति जाोगाउने काममा निकै कठोर जापानीहरूको चरित्र यो संग्रहालयले देखाउने उनीहरूको सफलताबाट पनि राम्रै अनुभव भइरहेथ्यो, त्यतिखेर ।

No comments:

Post a Comment