Sunday, August 29, 2010

पुरानो स्पर्शको खोजीमा भौंतार्रिने आँखाहरू

तेइस–चौबीस सालतिर हुनुपर्छ, मैले पहिलोपल्ट पोखरालाई केटौले आँखाले देखेको । स्कुलको हिउँदे छुट्टीका बेला पोखरामैं सरुवा भएर सरकारी सेवा गरिरहनुभएका मेरा भिनाजुसँगै म जिन्दगीमां पहिलो पल्ट काठमाडौं उपत्यका छाडेर यस बाहिरको रोमाञ्चक यात्रामा निस्केको थिएँ । त्यसपछि पनि मैले धेरैपटक यो पोखराको रुमानी सौन्दर्यको चक्षुपान गरेकोछु, फेवालाई सुमसुम्याएर माया पोखेको छु र सेतीको गहिराईबाट जीवनको गहिराई नियाल्ने प्रयत्न गरेको छु । तर बीचका ती अरू कुनै पनि स्पर्शमा मैले त्यो पुरानो पोखराको प्रथम स्पर्शको रोमाञ्चकता भने फेरि दोश्रोपटक अनुभव गर्न सकेको छैन । लगभग साढे तीन दशकपछि अहिले २०५८ साल माघको अन्तिम हप्ता पोखरालाई चौथो–पाचाँैंपटक नजिकबाट स्पर्शगर्दा पनि त्यो पुरानो पोखराको विम्व कतै फेला पार्न सकेको छैन मैले ! त्यतिबेलाको पुरानो पोखरालाई कतै भेट्दिन म, न त ऊ नै मलाई पुरानो परिचित ठान्छे । त्यो मेरे पुरानो परिचित पाताले छाँगोलाई अहिलेको यो सिङ्गारपटारमा नौलो देखिने पोखराले डेविड फल्सको परचक्री नाउँसँग साटिसकेकी छ, फेवाकिनारको फराकिलो सोतोलाई लेकसाइड बनाइसकेकी रहिछ । सफा पानी आफ्नो गर्भगृहभरि थुपारेर त्यसैमा मेरो स्पष्ट छायाा देखाइदिने त्यतिबेलाको फेवाले आफ्नो त्यो निर्मलता गुमाइसकेछ । आज यो धमिलिएर भित्रपटिको लेप मेटिएको ऐनाजस्तै आफ्नै अनुहारसमेत देख्न नसक्ने भैसकेके छ । अहँ आजको यो पोखरामा म त्यतिबेलाकी किशोरी पोखराको निष्कपट र निःस्वर्थ आतिथ्यपूर्ण पे्रमभाव कतै पाउन नसक्दा विरक्त भएको छु, प्रेयसीको पुरानो माया गुमाउनुको पीडाबोध गरिहेको छु । त्यतिबेलाको उसको स्वाभाविक प्राकृतिक सौन्दर्य कङ्क्रिट जङ्गलको बनमाराले सखाप तुल्याइसकेको देख्छु म र व्यथित हुन्छु । त्यतिबेला शालीन सौन्दर्य र शिष्ट व्यवहारले मलाई मोहित तुल्याउने समर्पित प्रेमी झैं पोखराले आज रुपको बिस्कुन फिँजाएर फौबञ्जार जम्मा गर्ने रुपाजीवाको व्यवहार सिकक्दै गरेको देख्दा नमज्जा मानिरहेकोछु म यतिबेला ! त्यतिबेला सार्पित प्रेमीको प्रतीक्षामा आँखा ओच्छयएर बस्ने गरेकी मेरी प्रिय पोखरा आज बैंसालु यौवनमा धेरै प्रेमीहरूलाई पर्यटकका रुपमा झुत्ती खेलाएर आफ्नो रुप फिँजाएर बसेकी छ । यो देख्दा मन कटक्क काट्छ मेरो । अब उसलाई मजस्तो कम हैसियतको सामान्य प्रेमीलाई सम्झने फुर्सद नै कहाँ छ र ! उसलाई आज आफ्ना सुन्दर अङ्गउपाङ्गलाई सिँगार्ने नाउँमा कृत्रिम रङ्ग पोतेर क्रमश प्रौढतातर्फ उन्मुख सौन्दर्य लुकाउने असफल प्रयत्नमा नै फुर्सत छैन । त्यो उपक्रममा आफू झनै बिद्रूपताको प्रदर्शन गरिरहेकी छु भन्ने पनि अनुभूति छैन सायद् उसलाई, मलाई यस्ते अनुभव हुन थालेको छ आजको मेरो पोखरा देख्दा ।

केही लामो अन्तराल पछि फेरि आइपुगेको छु म पोखरा । यो पछिल्लो पोखरा यात्राको सन्दर्भ थियो प्रेस चौतारी नेपालको राष्ट्रिय भेला र गोष्ठी । प्रेस चौतारीले दुईवटा जिम्मेवारी दिएको थियो मलाई– प्रेस चौतारीद्वारा स्थापित ह्रृदयचन्द्र सिंह प्रधान पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाम चयनको संयोजन र पोखरा गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने । मेरो संयोजकत्वमा बनेको पुरस्कारकालागि नाम सिफारिस गर्ने समितिमा देवेन्द्र गौतम र सोमनाथ अर्याल सदस्य हुनुहुन्थ्यो । हामीले निकै छलफल र सोचविचार तथा सहरसल्लाह पछि वरिष्ठ पत्रकार मणिराज उपाध्यायको नाम सिफारिस गरेर त्यो दायित्व पूरा गरिसकेका थियौं । मेरो जिम्माको दोश्रो काम थियो पोखरामा हुने प्रेस चौतारी पश्चििमाञ्चल भेलाको अवसरमा पोखरामा हुने उच्चस्तरीय मिडिया आयोग विषयक गोष्ठीमा अवधारणापत्र प्रस्तुत गर्ने । आफैं संस्थापक संयोजक र अध्यक्ष्य भएर हुर्काएको संस्थाको कार्यक्रममा प्राप्त जिम्मेवारीबाट पन्छने संभावना थिएन । त्यसमाथि अवसर पाएसम्म घुमेर नयाँ अनुभव–अनुभूति ग्रहण गर्ने मोहले पनि मलाई संभव भएसम्म यस्ता यात्रामा सहभागी बन्न प्रेरित गरिहेको हुन्थ्यो । चौतारीले दिएको यही अवसरलाई सहर्ष स्वीकार गर्दै काठमाडौंदेखि २०० किलोमिटर लामो आरक्षित बसयात्राको लागि तयार पारेकमो थिएँ मैले आफूलाई । विहान साढे दश बजेतिर प्रेस चौतारीका कार्यकारी पदाधिकारीका अतिरिक्त हामी सल्लाहकारद्वय गोपाल थपरिया र मेरा साथै राजेन्द्र गौतम, अग्निशिखा, नारायण ढकाल, पूर्व सांसद् खगराज अधिकारी, देवेन्द्र गौतम आदि सहभागी भएका छौं यात्रामा । बसमा हामीबीच पत्रकारिताको भन्दा पनि प्राय साहित्यकै विषमा बढी कुराकानी भयो, जुन निकै रोचक पनि बनेको थियो ।

मुलुकमा विद्यमान् सशस्त्र द्वान्दको छायाले दुईसय किलोमिटर लामो यो यात्रामा पनि सुरुदेखि अन्त्यसम्मै पच्छ्याइरहेको थियो हामी र हामीजस्तै यात्रुलाई ! सुरक्षा जाँचको कडाई, बाटाका नाकानाकामा यात्रुलाई बसबाट उतारेर केही समय सडकमा पैदल हिँडाउने सुरक्षाकर्मीको नियमित अभ्यास, सडकछेउ अग्लोमा चारैतिर बालुवा भरिएका बोराभित्र घेरिएर सडकतिरै राइफलको नाल तेस्र्याउँदै बसेका सुरक्षाकर्मीहरू आदि दृश्य आम थियो, सामान्य थियो बाटैभरि । ती दसश्य देख्दा कमजोर मुटेको मानिस त्यत्तिनै आतङ्कित भएर बेहोस हुनसक्ने संभावना पनि त्यत्तिकै थियो सशस्त्र द्वन्द र सुरक्षा गतिविधि तथा सङ्कटकालको कालो छायामा छेपिएको यतिबेलाको नेपालका राजमार्गहरूमा । त्यसमाथि ती सुरक्षित उँचाइमा सुरक्षाकर्मीहरूले कब्जामा पारेका र आतमसमर्पण गरेका माओवादी लडाका र कार्यकर्ताहरूलाई सुरक्षाकर्मीहरूले आफूसँगै त्यहाँ राखेका हुन्छन् र बसबाट उत्रेर त्यसरी पैदल हिँड्दा कुनै माओवादी रहेछन् भने उनीहरूले चिनाइदिन्छन् अनि ती समातिन्छन् वा मारिन्छन् भन्ने सुनेदेखि प्राय सबैको मनमा अव्यक्त त्राश मडराइरहेको देखिन्थ्यो– तिनले लहडमैं हामीमध्ये कुनैलाई पनि देखाइदियो भने ? त्यति टाढाबाट हेर्दा उस्तैलागेर पनि औंल्याइदिनसक्छन्, र कुनै बेलाको आफ्नो रिसइवी परेका कोही रहेछन् यात्रामा भने उसले आफ्नो रिस साध्न सहजै माओवादी भनेर चिनाइदिसक्थ्यो यस्तोमा । त्यसैले कोही पनि सुरक्षित थिएन यो यात्रामा अप्रत्याशित शङ्काको घेरामा पर्नुबाट । त्यसैले हामीमध्ये जोकोही पनि जुनकुनै कारणले पनि सुरक्षाकर्मीको पञ्जामा पर्नसक्थ्यौं । नाइँनास्ती वा यताउता लाग्न खोजे फरार र मुठभेडको नाममा ज्यान गुमाउन पर्ने हुनसक्थ्यो । यी कुराको कल्पनासम्मले पनि हामी यात्राको आनन्द र रोमाञ्चबाट वञ्चित बनेका थियौं, निरस बनिरहेको थियो हाम्रो यो यात्रा । जे होस माओवादी द्वन्द र सरकारी सुरक्षा नाटकको तनावपूर्ण पट्यारलाग्दो लामो मानसिक–शारीरिक थकान बोकेरै आइपुगेका थियौं हामी फेवातालको ड्यामसाइडस्थित होटेल स्पोर्टस पोखरामा । थकित शरीरिलाई केहीबेर विश्राम दिपछि मात्र बल्ल केही स्फुर्ती अनुभव गर्न सकेको थियौं हामीले । रात छिप्पिँदै गैसकेकोले रात्रिकालीन निषेधाज्ञाको नगर पोखरामा त्यतिबेला केही हेर्ने, कतै घुम्ने सम्भावना पटक्कै थिएन । गोष्ठीमा भागलिन आउनुभएका प्रदीप नेपाल, एफइएसका प्रतिनिधि पी खरेल र पोखराका साथीहरू माधव शर्मा, पुण्य पौडेललगायत सबैसँग केहीबेरको भेटघाट– कुराकानी पछि होटेल आनन्दमा खाना खाएर सिाउने तर्खरमा लाग्यौं हामी त्यो रातलाई ।

यस्तो यात्रामा कतिपटक म भीडको बीचमा समेत एक्लो हुने गर्छु, नितान्त एक्लो । भीडमा मिसिएर आफूलाई पनि त्यसैबको एउटा अङ्ग बनाउन सक्नु पनि ठूलै खुबी हो सायद्, जुनकोे ममा पूरै अभाव छ । त्यसमाथि अर्को प्रमुख कारण हुनेगर्छ मादकपदार्थ सेवनको आदत जुन मैले चाहेरै बसालिन । सुरा, तास र कथित ठूला साधुबाबाहरूसँगको संगत– यी अहिलेका यस्ता तीन ठाउँ र काम हुन् जहाँ तपाइँ आपूmलाई व्यस्त राख्नमात्र होइन शक्तिमा रहकेकाहरूसँग दोस्ती गाँसेर जायजनाजायज जस्तो पनि काम फत्ते गराउन सक्नुहुन्छ । त्यसकालागि आफूमा योग्यता, क्षमता र इमान्दारी छैन भनेर संकोच मान्नुपर्दैन । मात्र ठूला हाकिम, मन्त्री वा शक्तिमा रहेका मानिसको जाँड वा तासको साथीहुनु पर्छ । अथवा आफ्ना पाप, भ्रष्टाचार र चरित्रहीनताका काला दागहरू लुकाउन उनीहरू धाउने कथित साधुबाबाकहाँ तपाइँ पनि साथै धाउने गर्नुपर्छ, अनि त आफ्नो बाबाको एउटा चेलोलाई अर्कोले जेजस्तो पनि नगरिदिएर सुख्ख ! त्यसै भएर यस्ता नया पुराना साधुबाबाहरूकहाँ कति ठूला मानिस धाउँछन् त्यति नै भीडको आकार ठूलो हुँदैजान्छ । हाम्रा साइँभक्तहरूदेखि अन्यविभिन्न भक्त र चेलाचाँटीहरूमा यही प्रवृत्ति देखिने गर्छ, यस्ता ठाउँ प्राय मानिसको काम पटाउने अखाडा हुने गरेको देखिएका छन् ।

प्रेस चौतारीका सार्वजनिक भेला कार्यक्रममा मादकपदार्थको सेवन वर्जित हुने गर्छ । त्यसमाथि पनि प्रदीप नेपालको उपस्थिति रहेको कुनै पनि कार्यक्रम र अवसरमा त धेरै मानिस मादकपदार्थ सेवन गर्न आफैं डराउँछन् पनि । तर आदत आदत नै हो, त्यसबाट छुटकारा पाउनु सजिलो हुँदैन । अनि यसको सेवन पछि आफूलाई केही खुला छाड्नु, उदाङ्गो पार्नु स्वाभाविक हो । केही साथी आफूलाई नियन्त्रणमा राख्न सकिने गरि पिउँछन्, कोही पेयबाट आफै नियन्त्रित हुने गरी त्यसद्वारा पिइन्छन् ! । त्यस्तोमा आफू नपिउने मान्छेले उनीहरूको स्वभाव, दमित चाहनाको अभिव्यक्ति र शारीरिक हाउभाउ देख्दा रोचक लागे पनि आफूले अर्कै रुप र शालीनतामान देखिरहेको कुनै व्यक्तिलाई त्यसको ठीक विपरित त्यस्तो रुपमा देख्नुको पीडा भने बेग्लै अनुभव हुनेगर्छ मलाई ! यो साँझ पनि पोखराको बगरका कवि–कलाकार रमेश श्रेष्ठले सायंंकालीन रमाझमका लागि बेलाएका रहेछन् केही साहित्यकार साथीहरूलाई । निम्ता ल्याउने साथीले मलाई पनि सोधेका थिए, जाने कि भनेर । म आफू नपिउने भएकोले त्यस्तो जमघटमा जानुबाट सकभर उम्कने नै प्रयास गर्छु । त्यो बुझेका साथीहरू धेरै कर पनि गर्दैनन् । त्यसैले म त्यहाँ पनि सहभागी बनिन । साथीहरू चाँडै फर्कने कुरै भएन । राति निषेधाज्ञा छ पोखरा नगर क्षेत्रमा र आउनु छ बगरबाट लेकलाइडसम्म नशाग्रस्त अवस्था लुकाएर पनि लुक्ने कुरा होइन । विचरा साथीह्रू ठाउँठाउँमा सुरक्षाकर्मीहरूको तीखोप्रश्न र अवरोधबाट बल्लबल्ल आइपुगेछन् होटेलमा । उता अर्कै होटेलमा बस्नुभएका प्रदीप नेपाल को को साथी होटेल छाडेर आफूखुशी रमाउन हिँडेका छन् भन्ने जान्न राति ११बजे आएर कोठाकोठामा भेट्दैहुनुन्थ्यो सबैलाई ।

नेपाली खेलकुद क्षेत्रमा राष्ट्रिय स्थान सुरक्षित राखेका खड्क रानाभाटको रहेछ यो होटेल स्पोर्ट पोखरा ! होटेल मालिकको व्यवसायमा रहेपनि निकै आत्मीय व्यवहार थियो उनको । त्यो आत्मीयतापूर्ण आतिथ्यमा रात विताएर भोलिपल्ट उठ्दा पोखराको धरती प्रभाती उज्योलोमा पुरै नुहाइसकेको थियो । झ्याको पर्दा हटाउँदासाथ बाहिर फिँजारिएका मेरा आँखामा धौलागिरि र अन्नपूर्णदेखि मनासलुसम्मको पर्वत श्रृङ्खलाका पृष्ठभूमिमा आफ्नो सौन्दर्यको बिस्कुन फिँजाइरहेको थियो पोखरा उपत्यका । आफूले देखेको तीन दशक पुरानो त्यो अक्षत यौवन कायम राख्न नसके पनि पोखराले अझै आफ्नो सौन्दर्यको केही कृत्रिम, केही पुरानै प्राकृतिक मादकता छरी नै रहेको थियो ! पोखरा उपत्यकाको त्यो अभिराम दर्शनबाट मेरा आँखा थकाइ मार्न चारिहेका थिएनन् त्यतिबेला पनि । हिमाच्छादित हिमश्रृङ्खलाका अनुपम दृश्य, अनुकूल हावापानी र फेवा, बेगनास, रुपाजस्ता मोहक तालहरूको नगर पोखरा केही पुरानो, केही नयाँ स्वरूपमा अझै हजारौ स्वदेशी–विदेशी पर्यटकलाई मोहनी लगाउन सफल छ, सफल भइ नै हरनेछ । यो मेरो विश्वास थियो ।

ंअघि तामाङ र मगरहरूका ससाना बस्ती मात्र थियो रे पोखराको यो प्रमुख केन्द्र ! त्यही तामाङ र मगरहरूका ससाना बस्तीलाई देशान वा एकप्रकारको डरलाग्दो सरुवा रोगले उजाड पारेछ इतिहासको कुनै कालखण्डमा । त्यसपछि उपत्यका तीनै शहर र पनौतीबाट नेवारहरू आएछन् यहाँ र देशान पूजा गरेर त्यो वित्तिबाट छुट्कारा दिलाएछन् । उनीहरूले नै छत्तीस कुरीयाको बस्ती बसालेछन् रोगले खाली तुल्याएको त्यो ठाउँमा । छत्तीस कुरियाको बस्ती बसेकोले पछिसम्म नै छत्तीस कुरयिा भनिन्थ्यो रे पोखरालाई । एकथरीको भनाइमा हल्लने ढुङ्गादेखि माथि र विन्ध्यवासीनीदेखि तल बसालिएको थियो त्यो बस्ती । अर्को भनाइमा भने गणेशस्थानदेखि साँघुमुखतिर आउने तेर्सो बाटो, तेर्सापट्टिको गणेशस्थानदेखि नदीपुर, पोडेटोलतिर जाने तेर्सो बाटोदेखि माथि र लामाचौताराको मन्दिर नभएको गणेशस्थानदेखि तलको भेगमा थियो यो बस्ती । अहिले पनि पोख्रेली नेवार समाजमा वर्षेनी वैशाख–जेठतिर देश वा देशानपूजा गर्ने चलन हराएको छैन । हुनसक्छ यो देशान पूजाको चलन त्यही पोखराले भोगेको रोगको दुखद प्रहारको संझनामा अब त्यस्तो नहोस भन्ने कामनाका लागि भइरहेको होस् !

साराङकोटको फेदीदेखि दक्षिणबाहेक तीनैतिर डाँडाले घेरेको सानो उपत्यका पोखरा बेँसी विन्ध्यवासिनी मन्दिरको पश्चिमपटि थुपुक्क बसेको छ । यही बेँसीमा पहिले जयमुल नामको एउटा पोखरी थियो रे । त्यही पोखरीको नाउँबाट आफ्नो नाउँ पायो रे पोखराले । किम्बदन्ती अनेकौं हुनसक्छन्, नाम ग्रहणका अनेकौंं संभावना हुनसक्छन् । त्यो केलाउने जिम्मा विज्ञलाई नै छाड्नु उपयुक्त हुन्छ सायद् । तर पनि अनुमान र किम्बदन्तीले पिछा छाड्दैन । त्यस्तै एउटा अर्को किम्बदन्तीसँग फेरि जम्काभेट भएको थियो मेरो भीमढुङ्गा बारे । पोखराको भीमकाली पाटन मा रहेको विशाल ढुङ्गा भीमढुङ्गका बारेमा एउटा यस्तै किम्बदन्ती सुनेको थिएँ मैले । महाभारत कालको कुनै बेला भीमसेन राह्रै रिसाए रे ! त्यसरी रिसाएर उनले पृथ्वीलाई नै ध्वस्त पार्ने हिसाबले यही ठाउँमा एउटा विशाल ढुङ्गो उचालेर ठेलो फाल्न खोजे । त्यो देखेर देवताहरूले उनको हात समातेर रोकेछन् । त्यसैले भीमसेनले उचालेका त्यो विशाले ढुङ्गा यही ठाउँमा खस्यो र अझै यही ठाउँमा रह्यो । अर्को किम्बदन्ती अनुसार भने भीमसेन यही ढुङ्गोलाई भकुण्डो बनाएर खेल्ने गर्थे रे । त्यसरी भीमसेनले भकुण्डो खेल्ने ढुङ्गो भएकाले यसको नामै भीमढुङ्गो रह्यो ! उनले घकुण्डो खेल्दा एक टुक्रो चोइटिएर तेर्सापट्टि पुग्यो र अहिलेको हल्लने ढुङ्गो त्यही एउटा चोइटो हो । अर्काे टुक्रो लामापाटन पुग्यो, अहिलेको मान्द्रे ढुङ्गा भकुण्डोबाट चोइटिएर उछिट्टिएको त्यही अर्को टुक्रो हो । आदिर विश्वास नहो, पोखरेलीहरू अहिले पनि यस्तै विश्वास गर्छन, सायद् गरिनै रहनेछन् । तालबाराही पनि कम छैन आफ्नो किम्बन्ती जोगाउन । त्यसैले यो सुनाउँछ, कुनै बेला वरिपरिका सबै गाउँहरू फेवातालको गर्भभित्र पुरिएछन् । कताकताबाट माझको थुम्को भने डुब्नबाट जोगिएछ । त्यो थुम्कोमा एउटा नाग बस्ने गरेकोले त्यो गाउँलाई पानीले डुबाउन सकेन रे । त्यही विश्वासका कारण उनीहरूले त्यही ठाउामा बराह वा पानीबाट निस्केका देवता स्थापना गरे रे । तालमा रहेका बराह भएकाले यी देवी र यो ठाउँको नाम पनि तालबाराह नै रहनपुग्यो कालान्तरमा ।

कतिपय प्रमाणविहीन इतिहास यस्तै किम्बदन्तीबाटै निर्माण हुन्छन् । त्यसैले यिनलाई विश्वास नगरी पनि धर पाइँदैन । तर पनि किम्बदन्तीमा मात्र रमाउने मेरो उद्देश्य होइन । थोरै समयमा धेरै अनुभव र अनुभूतिको कोसेली बटुल्ने मात्र हो मेरो उद्देश्य । त्यसैले यसैमा मात्र अल्मलिने फुर्सत पनि कहाँ पाउँछु र म ! भोलिपल्ट विहानै उठेर सामान्य कौला पछि केहीबेर भए पनि प्रातभ्रमणको नित्य अभ्यासलाई निरन्तरता दिने प्रयास गरेको थिएँ मैले । दिउँसो त मूल कार्यक्रम छाँदैथियो सम्मेलन र गोष्ठीको । केही मानिसहरू जुनसुकै कार्यक्रम र मञ्चलाई पनि आफ्नो हित र स्वार्थमा प्रयोग गर्न पछि पर्दैनन् । यहाँ पनि त्यस्तै अनुभव गरियो । बक्ता चयनदेखि डायसमा ससम्मान राख्नेसम्मका सबै कुरामा यस्तै देखिनु स्वभाविक थियो । पोखरामा अरु पनि एफएम थिए, तर पनि एकजना अलि प्रचारप्रेमी स्टेसन मेनेजरलाई मञ्चमा स्थान दिए उद्घोषकले अतिथि वक्ताकारूपमा ! गाइँगुइँ कुरा भयो, काम भइसकेको थियो । यसको उद्देश्य पछि मात्रै थाहाभयो र म आफैं पनि उपयोग गरिएँ त्यस उद्देश्य पूर्तिमा । त्यो उद्घाटन कार्यक्रमपश्चात आनन्द होटेलमा गोष्ठिी सकिएपछि विस्तारित बैठक बसेको थियो प्रेस चौतारी भेलाको । सल्लाहकार भएकाले म पनि त्यो बैठकमा आमन्त्रित थिएँ । बैठक चल्दै थियो । बैठकको बीचैमा ती उद्घाटन कार्यक्रमका उद्घोषक मित्रले भने– दाइ, फलानोले फलानो एफएममा साहित्यसम्बन्धी चर्चाको प्रत्यक्ष कार्यक्रम राखेका छन् । दाइलाई भन्न भनेर मलाई विहानै भनेका थिए, विर्सिएछु । एकै छिन पुगेर आउँ न हुन्न ? मैले अस्वीकार गर्नु स्वाभाविक हुँदैनथ्यो । त्यसैले स्वीकृति दिएँ, हामी हामी त्यतै लागेका थियौं । त्यहाँ पुगे पछि पो थाहा पाएँ त्यो कार्यक्रम समग्र सात्यि चर्चा नभएर तिनै पूर्व कार्यक्रमका उद्घोषक मित्रको सद्यप्रकाशित एउटा लघुकथा संग्रहको परिचर्चा पो रहेछ ! उनले आफ्रनै चर्चा गराउन ती स्टेसन मेनेजरलाई रिझाएर त्यो कार्यक्रमको तारतम्य मिलाएका रहेछन् । मैले नराम्रो ठानें भनेर होला ती मित्रले. फर्कँदा पछि भनेका थिए– दाइ साहित्यको समग्रताका बारेमा कार्यक््रम होला भन्ने सोचेको थिएँ, यस्तो पो गरे ! तर मलाई यो योजना र कार्यक्रम तिनै मित्रको हो भन्नेमा कुनै शङ्का थिएन, र छैन पनि । पहिले नै सत्यकुरा बताएका भए केही विग्रने थिएन । भनिसकेपछि मैले नाइँ भन्ने कुरा पनि हुँदैनथ्यो, उनको काम त त्यसै पनि बनिहाल्थ्थो ।

“के भयो नारायणजी गालामा । कसरी लाग्यो यो घाउ ?” पर्सिपल्टको विहान प्रातभ्रमणमा सँगै जाँदा नारायण ढकालको गालामा घाउ देखेर सोधेको थिएँ मैले । हिजोसम्म केही नभएको मित्रको गालामा जलेकोजस्तो घाउ देख्दा मेरो त्यो प्रश्न अस्वाभविक थिएन सायद ।

“कपाल रङ्गाउँदा एसिड लागेछ गालामा, घाउ बनाइहाल्यो ।” नाराणजीको सङ्क्षिप्त जवाफ थियो त्यो । यिनै कारणले म कृत्रिमता रुचाउँदिन । मलाई पनि कपाल रङ्गाउने सल्लाह आउने नगरेको होइन । सन् १९८५मा छ महिना बेलायत बस्दा त्यहाँको अति चिसो वातावरणमा नुहाउनु सजिलो थिएन मेरा लागि । त्यसैले भक्भकी पाकेझैं तातो पानीमा सिङ्गै कोठा बाफले छोपिनेगरी नुहाउने मेरो नित्यको बानी नै भएको थियो । त्यसरी धेरै तातो पानीमा नुहाउनु लाभदायी हुँदोरहेनछ, स्वदेश फर्कको लगत्तैदेखि त्यसले आफ्नो परिणाम देखानउन थालिहाल्यो । कपाल जति सबै ह्वात्तै फुल्यो मेरो सेतै भएर । त्यसैले मेरो फुलेको कपाल देखेर धेरैजना सल्लाह दिन्थे– रङ्गाएर कालो पार्नोस् न, राम्रो हुन्छ । मलाई भने प्रकृति नै ग्राह्य थियो, नक्कली रङ्गमा रङ्गिएर म आफूलाई सुन्दर, विद्वान् र बुद्धिमान् भनाउनुभन्दा आफू जे छु त्यसैमा राम्रँे मान्नुमा सन्तुष्ट थिएँ । अहिले ढकालजीको कपाल रङ्गाउँदा लागेको गालाको झर्झराउँदो घाउले मलाई मेरै निर्णय ठीक रहेछ भन्ने लाग्यो– किन आफ्नो वास्तविक स्वरुप र प्रकृति लुकाएर विनासित्तीको झ्याउलो मोल्ने !

पश्मिाञ्चल भेलाकै बीच प्रेस चौतारी कास्कीका सभापति पुण्य पौडेले एउटा घोणा गर्नुभयो– प्रेस चौतारी नेपालका सस्थापक अध्यक्ष विजय चालिसेको सम्मान तथा अभिनन्दन गर्ने काश्की प्रेस चौतारीको कार्यक्रम छ । यो कार्यक्रम नबिर्सने खालको होस भनेर हामीले यस निर्णयलाई अहिलेसम्म गोप्य नै राखेका थियौं । अब हाम्रो यो सम्मान–अभिनन्दन स्वीकार गर्न संस्थापक अध्यक्षलाई हामी अनुरोध गर्दछौं !

नभन्दै यो घोषणा मेरालागि अप्रत्याशित घोषणा थियो त्यो । साहित्य र पत्रकारितामा तीन दशकको निरन्तर सक्रिय योगदान भए पनि न म आफैं सम्मान, पुरस्कार र अभिनन्दनको पछाडि लागेँ, न सम्मान, पुरस्कार र अभिनन्दन नै मेरा पछाडि लागे । तिनलाई पछि लगाउन कुनै गुटउपगुट र शक्तिपीठहरूको विरुदावली गायन र परिक्रमामा पनि लागिन म । त्यसैले यस्ता सम्मान अभिनन्दनको न मैले कुनै अपेक्षा राखेको छु, न तिनलाई पाउन नसक्नुलाई नै आफ्नो असफलता ठानेको छु । आफैंले दोसल्ला किनेर सबै खर्च भरी कुनै शिखण्डी संस्थालाई अभिनन्दन गराएर आफू महान् भएको आत्मश्लाघा बोक्ने कुनै रहर छैन ममा ! त्यसैले यो सबै जिम्मा थोरै समकालीन र धेरै पछिको पुस्ताका बहुचर्चामा रहन सफल अनुहारहरूलाई नै छाडिदिउँ र यस्तै कार्यव्यापारले जन्माउने सम्मान पुरस्कारको अकाल मृत्यु हेर्दै आफूलाई शोकगीतमा डुबाइरहूँ ! यो बाहेक अर्को कुनै इच्छा छैन मेरो । यो अनिच्छाका बीच यो अहिलेको सम्मानलाई सुखद् ठानौं कि के, म ठम्याउन सकिरहेको थिइन । जे होस् यो मेरा पत्रकार साथीहरूको एउटा संझना थियो, आफूभन्दा अग्रजका लागि एउटा मायाको चिनो थियो । त्यसैले पनि मैले यसलाई स्वीकार्नु पथ्र्यो, म खुशी थिएँ । उहाँहरूले ओढाइदिनुभएको दोसल्लाको भन्दा पनि उहाँहरूका साथै सिङ्गो पोखरा र कास्कीको दिएको मनको न्यानो सम्झेर मेरो मन न्यानो हुनपगेको थियो भित्रैसम्म ! अभिभूत भएको थिएँ म त्यतिबेला ।

पुरानो स्पर्शको खोजीमा भौंतार्रिएका मेरा आँखाहरू आजको नया पोखरामा पूर्ण तृप्त हुनु सायद संभव थिएन । जे जति पाएँ त्यसैमा सन्तुष्ट हुनु मेरो सीमा थियो, मेरो वाध्यता थियो । यही सीमित प्रप्तिका बीच पोखरासँग विदाइको हात मिलाउने समय आइसकेको थियो र हामीले पनि पोखरासँग विदा माग्यौं ।

२०६१ साउन ३,आरुबारी

No comments:

Post a Comment