Sunday, August 29, 2010

आफ्नैबाट उपेक्षित पाल्पा

नेपालको कास्मिर संवोधित पाल्पा राम्ररी घुम्ने रहर पुरानै थियो । धेरै वर्ष अघि एकरात विताएको तानसेन मनभरि हेर्ने अवसर यसपल्ट जुराइदिएको थियो प्रेस चौतारी नेपालले । २०६० साल वैशाखको अन्त्यतिर प्रेस चौतारी नेपालको तेश्रो अधिवेशन पाल्पामा गर्ने निर्णय भएको थियो । त्यसको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकारका हैसियतले मलाई पनि नगइनहुने आग्रह थियो, साथीहरूको । त्यही प्रयोजन र मूलतः पाल्पा राम्ररी घुम्ने इच्छाले काठमाडौं छाडेको थिएँ वैशाख २४ गते । सुरक्षाजाँचको सन्त्राशजन्य प्रक्रियाले यात्रा त्यति सुगम र वाधारहित थिएन । तर पनि सञ्चारकर्मीहुनुको नाताले अरु यात्रीभन्दा हामी सहुलियतमा थियौं । कमसेकम हामीले सवारीबाट ओर्लेर धेरै ठाउँमा आधा–आधा किलोमिटर बाटो हिँडेर पार गर्नुपरेको थिएन, नत सामान खोतलखातल नै गराउनु परेको थियो । तर पनि ठाउँठाउँको अवरोधले यात्रा अवधिलाई भने सामान्य भन्दा निकै लम्ब्याउनु स्वाभाविक थियो । यसकै फलस्वरुप विहान नौ बजे काठकमाडौं छाडेका हामी रातको नौ बजे मात्रै पुग्न सकेका थियौं पाल्पाको श्रीनगर ।

कालीगण्डकी र तिनाउले तीनतिरबाट घेरेको पाल्पा काठमाडौंबाट बसाइँ सरेका नेवारहरूले जोगाएका कला र संस्कृतिको झलक दिन अझै पनि समर्थ लाग्छ । पुराना खाले कलात्मक नेवारी घर र ढुङ्गा छापिएका सडकलाई अब विस्तारै ढलाने सिमण्टीका घर र अलकत्रे सडकले विस्थापित गर्दैछ । यो देख्दा यो पुरानो पहाडी नगर तानसेनले आफ्नो नेवारी वास्तुकलाको विशिष्ट प्रभावलाई कतिसम्म जोगाउन सक्ला, भन्न सकिँदैन । महाभारत पर्वत श्रृङ्खलाको दक्षिणी ढलोमा थुपुक्क बसेको पाल्पाले भारतीय सिमाबाट पोखराजस्ता पश्चिमी शहरहरू पस्ने व्यापारिक केन्द्रको भूमिका त मुग्लिन नारायणघाट बाटोको चल्तीसँगै गुमाइसकेको छ, अब नेपाली संस्कृति र प्रकृतिको अनुपनम वैभवलाई कतिसम्म जोगाउन सक्ने हो अहिलेको पाल्पालाई हेरेर यसै भन्न सकिँदैन । अहिल्यै पनि यसको जति आकर्षण छ, त्यति मात्रामा पर्यटक पर्यटक आकर्षित गर्न सफल देखिएको छैन पाल्पा !

“किन यस्तो, यति सुन्दर छ पाल्पा, सांस्कृतिक रुपले पनि सम्वृद्ध छ । आर्थिक–व्यापारिक र शासनसत्ता पहुँचको हिसाबले पनि पाल्पालीहरूको राजदरबारदेखि सिंहदर्बारसम्म वर्चस्व छ । तर पनि यति पुरानो नगर पाल्पाको किन यो अवस्था, किन पर्यटकीय आकर्षणको रुपमा विकसित हुन सकेन यो ?” समुद्री सतहदेखि १३५० मिटर जति उँचाइमा रहेर हिमाल हेरिरहेको तानसेन नेपालकै सबैभन्दा पुरानो नगरपालिका मानिएपनि राम्रो हेरचाहको अभावले पिच उप्किएको कालोपत्रे र टुटेफेटेको ढुङ्गे बाटो वरिपरि गाईबस्तुको आलो गोबर गोब्य्राएर यात्री लडाउने पासो थाप्न बाध्य देखिन्छ । भत्केर मर्मतको प्रतीक्षामा रहेका सडक, पानीको अभाव, पर्यटकीय सुविधा र सूचनाका अभाव, राम्रा होटेल—लजको सीमितता र विलाउँदै गएका पाल्पाली ढाका र करुवाजस्ता कलात्मक उद्योग र उद्यमीको यथार्थले त्यहाँको नाङ्लोले दिएको विदाइ रात्रिभोजका अवसरमा मलाई यो प्रश्न गर्न प्रेरित गरेको थियो ।

“यस्तै हो सर पाल्पाको नियति, सबै छ पाल्पालीहरूसँग नभएको एउटै हो आफ्नो ठाउँलाई पनि केही गर्नुपर्छ भन्ने इमान्दारीपूर्ण इच्छा । त्यसैले भएर के गर्नु, केही भए पछि राजधानी पस्छन् हुने र वैभावशाली पाल्पालीहरू । केहीले यसलाई मुस्किलैले वर्षको एक पटक सम्झन्छन, त्यो पनि काठमाणौको गर्मी छल्ने वाध्यतामा !”मेरो प्रश्नंको जवाफमा आन्तरिक पीडा पोख्ने प्रहरी सेवाका एकजना उच्च अधिकारी थिए, पाल्पाली नै । त्यहीं कसैले सुनाएका थिए एकजना उच्चपदस्थ पाल्पालीसँग सम्बन्धित घटना– राष्ट्रिय जनमत सङ्ग्रह अघि नै तय भएको रहेछ श्री ५ वीरेन्द्रको पाल्पा भ्रमणसम्बन्धी कार्यक्रम । त्यति नै बेला जनमत घोषणा भएकोले स्थगित हुन पुगेको त्यो भ्रमणको फेरि योजना बनाउन जनमत सकिएपछि हुकुम भएछ । तर जनमतमा सुधारिएको पञ्चायतको पक्षमा पाल्पामा कम भोट खसेकोले पाल्पालकै कुनै दरबारका सचिवले त्यस्तो ठाउँमा सरकारको भ्रमण हुनु ठीक छैन भनेर रोक्ने प्रयास गरेछन् । त्यो भ्रमण कार्यक्रम अन्यत्र जिल्लामा सारियो रे ! रात्रिभोजको अवसरमैं अर्का एकजना पाल्पानिवासी जिम्मेवार सरकारी अधिकारीले सुनाएका यो कुरा सत्य–असत्य के हो, थाहा छैन । तर पाल्पामा जन्मने ठूलाबडाहरू पाल्पाको विकासमा कति इमान्दार छन् भन्ने अनुमान गर्न भने यसले मदत नै गर्छ ।

धौलागिरिदेखि पूर्वमा गणेश हिमालसम्मको अनुपम दुश्यका लागि प्रख्यात पाल्पाको श्रीनगर डाँडोले उपयुक्त पूर्वाधारको विकास र आवश्यक प्रचारप्रसार पाएमा पर्यटकीय नगरको रुपमा नेपाल आउने हरेक पर्यटकलाई आफूतिर तान्ने सामथ्र्य राख्छ । २०१५ सालतिरै नगरपालिका बनिसकेको पाल्पाको जिल्ला सदरमुकाम तानसेन पन्ध्रहजार जति पाल्पालीको प्यारो शहर भएर पनि राजधानीबासी सम्पन्न र शक्तिसाली पाल्पालीहरूबाट भने प्राय उपेक्षित रह्यो– यो पाल्पा भ्रमणले यस्तै छाप पारेको थियो ममा । आफूलाई पाल्पाली भनाउने महापुरुषहरू सिंहदरबारदेखि राजदरबारसम्म, उध्योगधन्दादेख व्यापारसम्म निकै संख्यामा राष्ट्रियस्तरमैं चारैतिर प्रभुत्व जमाउन सफल रहेका छन् । तर उनीहरूमा पाल्पालीबन्नुको गर्वबोध बाहेक यसको स्याहारसम्भारप्रति भने कुनै चासो रहन सकेन, पाल्पालीहरू नै यसै भन्छन् । स्याहारसुसार नपाएर बुढ्यौली खेप्न थालेको तानसेन पनि परोक्षमा यसैलाई पुष्टि गर्छ ।

लगभग ६०० वर्षपूर्व स–साना रजौटामा विभाजित नेपालका बाह्र मगरातमध्येको एउटा राज्य पाल्पा इतिहासको गर्वबोध बोकेर बाँचेको छ । यस क्षेत्रका प्रथम बासिन्दा मगरहरूकै भाषाको वर्चस्व रहेको यो प्राचिन मगरात राज्यको उत्तरी बस्ती अर्थात तानसेनमा आज पनि मगरहरूको संख्या निकै देखिन्छ । भारतमा मुसलमानहरूको आक्रमण हुँदा त्यहाँबाट धेरै राजा र जातिका मानिसहरू भागेर उत्तरी पर्वतीय क्षेत्रमा शरण लिन आए । पन्ध्रांैं शताब्दीको अन्तिमतिर उनीहरू हिमाली क्षेत्रतिर पसे । तीमध्ये केहीले स्थानीय राजाहरूलाई हराएर आफ्नै राज्य स्थापना गरे । त्यो समयमा पाल्पामा रुद्रसेनद्वारा स्थापित सेन बंशका राजाहरूको अधिपत्य थियो, इतिहास यसै भन्छ । उनका छोरा मुकुन्द सेन (सन् १५१८–१५५३) को समयमा पाल्पा राज्यले आफूलाई पूर्वमा कोशी नदी, दक्षिणमा गोरखपुर, र पश्चिम–उत्तरमा आजका गुल्मी र कास्की जिल्लासम्म विस्तार गरेर तानसेनलाई आफ्नो राजधानी बनाएको थियो । त्यति बेलाको पाल्पा अति शक्तिसाली भएकोले काठमाणौं उपत्यका समेत मुकुन्द सेनको आक्रमण खेप्न वाध्य भएको थियो । तर काठमाणौंमाथि विजय गर्न पाल्पा सफल भने हुन पाएन । पैंतीस वर्षसम्म त्यहाँको शासन गरेका मुकुन्द सेनले पछि शासनभार छाडेर सन्तजीवन विताएका थिए ।

यसरी लामो समयसम्म प्रभावशाली र स्वतन्त्र रहेको राज्य पाल्पा सन् १८०६ मा आएर नेपाल अधिराज्यमा एकीकृत भयो । अब यो काठमाणौबाट नियुक्त प्रतिनिधिद्वारा शासित हुनाथाल्यो । हिमालको काखदेखि तराईको समथरभेगसम्म जोड्ने पोखरा–बुटबल राजमार्ग बन्नुअघिसम्म पनि तिब्बत तथा भारत अर्थात उत्तर–दक्षिण व्यापारको प्रमुख केन्द्र थियो पाल्पा, वरिपरिका जिल्लाहरूका लागि प्रमुख बजार थियो यो । अहिले आएर यसले आफ्नो त्यो स्थान र भूमिका गुमाएर साना उद्योग–व्यापार, हस्तकला र कृषिलाई आफ्नो प्रमुख व्यवसाय बनाएर चित्त बुझाएको छ ।

लगभग डेढ घण्टाको समयमा सबै हेर्न भ्याइने तानसेन शहरको बसपार्क नजिकै दक्षिणपूर्वी ढलोमा रहेको फराकिलो समथर टुँडिखेलले मानवीय सौर्यको विज्ञापन गरिरहेकोछ, माटो भरेर बनाइएको यो कृत्रिम चौरले मानिसले चाहेमा गर्ननसक्ने केही छैन भन्ने दृष्टान्त दिईरहेको जस्तै लाग्छ । उत्तरी छेउमा नगरपालिका भवन रहेको यो टुँडिखेल अहिले सैनिक अतिक्रमणको चापमा परेर नराम्ररी खुम्चिन पुगेको छ । त्यही टुँडिखेलको उत्तरपूर्वी कुनाको बाटो तल झरेर प्यागोडा शैलीको तीनतले अमरगञ्ज गणेश मन्दिरको दर्शनमा लाग्ने पाल्पालीहरूको ताँती होस् वा अरु मन्दिर–देवस्थलमा लागेका मानवभीड, पाल्पालीहरूको धर्मभीरुता र धार्मिक सहिष्णुताकै प्रतीक लाग्छ । भनिन्छ, आज स्कुल बनेको भवन पहिले त्यही गणेशमन्दिरको सत्तल थियो रे, जसमा एक हजार मानिस बास बस्न सक्थे रे । स्कुल परिसरको एकतले भैरव मन्दिरमा पूजा गरिने भैरवको मुखुण्डो वा मूर्ति राजा मुकुन्दसेनले काठमाणौंसँगको युद्धमा खोसेर ल्याएका रे, यही विश्वास छ यतातिर ।

टुँडिखेलबाट पश्चिम लागे पछि दायाँपटि बाटोको माथिल्लो छेउमा देखिने अमरनारायण मन्दिर तथा यसकै परिसरको पोखरी र बगैंचा पाल्पाका प्रथम तालुकदार अमरसिंह थापाको स्मृतिचिन्हका रुपमा जीवितै छ । प्यागोडा शैलीको तीन तले यो नारायण मन्दिरको मुनि पवित्र ताल लुकेको छ भनिंदो रहेछ । मन्दिर परिसरमैं पोखरीको पश्चिमपट्टी तलाउ छेउकै विष्णु र दक्षिण तर्फको सिँढीसँगै रहेको शिव मन्दिर आफ्ना भक्तहरूलाई अझै आकर्षित गरिरहेका छन् । यस मन्दिरको परिसरलाई घेरेर बनाइएको ढुङ्गाको विशाल पर्खाले पाल्पाकैे विशाल पर्खालको संबोधन पाइरहेको छ । माथि उल्लेख गरिएको गङ्गमन्दिरको जग पनि अमरसिंह थापाकै पालामा हालिएको थियो रे । नाङ्लो वेस्ट (रेष्टुराँ) को दक्षिणतिर असनटोलको शीतल पाटी खड्गशमसेरले बनाएका तानसेनकै प्रसिद्ध चोकका रुपमा अहिले पनि गर्वोन्नत देखिन्छ । चोकको मध्यमा निर्मित गोलाकार अष्टकोणीय संरचना वास्तुकलाको विशिष्ठताका रुपमा उभिएको छ । लुम्बिनी स्थित अशोकस्तम्भको उत्खननमा पनि यिनै खड्गशमसेरको अग्रसरता रहेको थियो रे ! पुरोनो नेवारी शैलीको परम्परागत घरलाई पुनःनिर्माण गेरेर चमेनागृहको रुप दिइएको नाङ्लो श्रृङ्खलाकै एउटा शाखा पाल्पालीद्वारा नै सञ्चालित चमेनागृहल नाङ्लो वेस्ट (रेष्टुराँ)ेले परम्परागत नेवारी भोजको शैलीलाई उपयोग गरेको छ । लामा सुकूल वा चकटीको साटो भुइँमा वरिपरि ओछ्याइएका लम्पट, बीचमा फराकिलो टेबिल र त्यसैमा पलेंटी कसेर खानबस्दा साँच्चै नै कुनै नेवारी भोजखाइरहेको भान भएको थियो त्यतिबेला ।

अहिले जिल्लाप्रशासन कार्यालयका रुपमा पाल्पाको प्रशासनको बाग्डोर सम्हालेको १९२७ मा निर्मित तानसेन दर्बारको दोश्रो तलास्थित गद्दीबैठक र मुख्य प्रवेशद्वार अर्थात बग्गीढोकाले जोकोहीकोलाई आकर्षित गर्छ । नाङ्लो वेष्टको दक्षिण तर्फ रहेको नेपालकै सबैभन्दा ठूलो र अग्लो मानिने यही आकर्षक ढोकाबाट यहाँका जात्राहरूमा रथ प्रवेश गराइन्छ रे । शीतलपाटीको पश्चिमपटि शहरकै पुरानो मानिने भीमसेन मन्दिर मात्र होइन, बग्गी ढोकाबाट केही परको दरबार चौरबाट दायाँतिर रहेको भगवतीमन्दिरले पनि यात्रीहरूलाई लोभ्याइरहेका हुन्छन् । भनिन्छ यो देवी मन्दिर सन् १८१५मा कर्णेल उजिर सिंह थापाले बुटबलको युद्धमा अङ्ग्रेजलाई हराएको खुशियालीमा बनाएका थिए रे । यो मन्दिर निर्माणसम्बन्धमा एउटा किम्बदन्ती पनि रहेछ । बुटबलमा युद्धरत अङ्ग्रेजी फौजको सङ्ख्या र शक्ति नेपाली फौजको भन्दा असंख्य बढी भएकोले सोझो पाराले लडेर हराउन सम्भव थिएन, पराजय निश्चित थियो । त्यही पराजय भोग्नु पर्ने चिन्ताका बीच एकरात कर्णेल उजिर थापाले सपना देखेछन् । सपनामा उनलाई भगवतीले धेरै सङ्ख्यामा बस्तुभाउ जम्मा गरेर तिनको सिङमा चिल्लोले भिजाएको कपडा बेरी बाल्नु र रातको समयमा बुटबलतिर लखेटिदिनु भन्ने उपाय सिकाइछन् । उनले पनि त्यसै गरेछन् । रातको अँधेरोमा सिङमा बालेको बत्तीले तर्सिएका ती गाईबस्तु लखेटेतिरेै बेतोडले भागे । उता अङ्ग्रेजहरूले रातको अँधेरोमा ती गाइबस्तुलाई हातमा दियालो बोकेर आफैंतिर आक्रमण गर्न आएका हज्जारौं गोर्खाली सिपाहीँ भन्ठानेछन् । त्यसरी विशाल संख्यामा गोर्खालीहरू आक्रमण गर्न आएको संझेर उनीहरूले तिनमाथि आक्रमण गरेछन् । एक त सिङमा बलेको आगोले तर्सिएका बस्तुभाउ, त्यसमाथि पनि आफैमाथि आक्रमण हुँदा झनै तर्सनु स्वभाविक थियो । त्यसरी तर्सेर यताउता भाग्दा अङ्ग्रेज सिपाहीँहरूको धेरै नोक्सानी भए छ । रातभर त्यसरी लडेर थाकेका अङ्ग्रेज सिपहीँहरूलाई बिहानै नेपाली फौजले लखेटेर भगाएछन् । त्यही भएर नेपाली पलौजको मदत गर्ने देविको सम्झनामा उनले त्यो मन्दिर बनाएका रे !

यी सबै हेर्दा बारम्बार एउटा प्रश्न उठथ्यो मेरो मनमा– इतिहास कति पक्षपाती छ हगि ? पाल्पाको जीवन्त संस्कृति–इतिहास र यहाँका वास्तुकलाको हामी चर्चा गर्छौं । तिनको निर्माण, संरक्षणमा, संबद्र्धनमा कतै वास्तविक योगदान गर्नेको नाम आउँदैन, सुनिँदैन न त लेखिन्छ । यहाँ पनि म पाल्पा र पाल्पाका यी कलाकृति, मन्दिर, टुँडिखेल आदि जेजति निधि छन् तिनको निर्माणमा मुकुन्दसेनको नाम सुनिरहेकोछु, अमरसिंह थापाको नाम सुनिरहेकोछु, खड्गशमसेरको नाम सुनिरहेकोछु र सुनिरहेकोछु, कर्णेल उजिरसिंह थापामगरको नाम ! ख्वै कहाँ छ उनीहरूको आदेशमा ज्यान अर्पेर राष्ट्रिय अस्मिता जोेगाउने अरु असंख्य योद्धको नाम ? ख्वै कहाँ छ उनीहरूको आदेश शिरोधार्य गरेर आफना हातका सिपले अमर कलाकृति र वास्तकलाका अनुपम नमुना सृष्टि गर्ने वास्तविक कलाकारहरूको नाम ? कतै अस्तित्व भेटिँदैन तिनीहरूको इतिहासमा, कतै कुनै किम्बदन्तीले जोगाएको छ भने मात्र कहीँ कतै फेला पर्छन् बिसेनगर्चीहरू । हुन पनि कहाँ पो लेखिएको छ र साना मानिसको इतिहास । इतिहास त त्यसको लेखिन्छ जो शक्ति र वैभवको हतियारले बहुसंख्यकमाथि कजाइँ गर्छ, जो सुरक्षित किल्लाभित्र बसेर हुकुमी आदेश दिन्छ । पाल्पा पनि यसको अपवाद हुने कुरै थिएन, त्यसैले पाल्पालाई अनुभव गर्नेक्रममा म मनमनै ती महान व्यक्तिहरूप्रति स्रद्धानत हुन्छु ।

कुनैबेला ढाकाका टोपी र कपडा किनबेचका लागि भीड रहने तानसेनको प्रमुख बजार मखनटोलमा अहिले लगभग सून्य छ । पाल्पाका प्रसिद्ध पाल्पाली करुवा, हुक्का, रक्सी हाल्ने अन्तीजस्ता धातुका कलात्मक सामान र हस्तकलाका अरु बस्तु उत्पादन गर्ने टक्सारको पूर्व आकर्षण पनि अहिले त्यही रुपमा छैन । त्यही टक्सार सिलखाना छेउको एउटा होटेल स्नोलेकमा बसेर म बाहिर नियाल्छु, लाग्छ यसले पनि आफ्नो पूर्व गौरव थेग्न सकेको छैन । घट्दो माग र कार्खानामा बहुतायत उत्पादन हुने यस्तै नक्कली बस्तुको सस्तो मोल र सङ्ख्यासँग यी कलात्मक श्रमले प्रतिस्पद्र्धा गर्न सक्ने कुरा थिएन र नै अहिले पाल्पाको यो उद्योग आफ्नो अस्तित्वको धुकधुकीमात्र जोगाएर बाँचेको छ ।

शितलपाटीको नाङ्लो वेष्टलाई दायाँ पारेर ठाडो गल्ली उक्लँदै ठाडै माथि लागेपछि निकै समयमा हिँडेपछि आउने श्रीनगर डाँडो भनिन्छ नेपालको प्रसिद्ध हिलस्टेसनहरूमध्येको एउटा हो । सफा मौसममा डाँडाको पूर्वी भागबाट देखिने पश्चिम धौलागिरिदेखि पूर्व गणेश हिमालसम्मका उच्च हिमश्रृङ्खलाको सुन्दर दृश्यले कुन चाहीँ पर्यटकको मन सहजै नलोभ्याउला ? धौलागिरि र नीलगिरिको बीच उत्तरतर्फ तिब्बती पठारभित्र पसेको विशाल कालिगण्डकी उपत्यकाको अपूर्व दृश्यले कसको मन नलोभ्याउला ? त्यहाँबाट केही पर लगभग पैंतालीस मिनेटजति बन छिचोलेर टाढा पुगेपछि आँखामा ठोक्किने श्रीनगर उद्यान, पार्कको पूर्वतर्फको मार्ग नछाडी जाँदा केही परको थाई बौद्धभीक्षुले उपलब्ध गराएका बाँदर र हात्तीसहितको बुद्धको मूर्ति, सबैकुरा सक्षम छन् पयणर््टक मनलाई विश्रान्ति दिन श्रीनगरमा ! किम्बदन्ती भन्छ, भगवान बुद्ध तीनमहिना जति कुनै जङ्गलमा ध्यानस्थ रहँदा एउटा बाँदर र हात्तीले उनको सेवा गरेका थिए रे । तिनै हात्ती र बाँदरको प्रतीक यो बाँदर र हात्तीसहितको बुद्धमूर्ति बौद्धधर्मावलम्वीहरूका लागि आज पनि पवित्र र दर्शर्नीय रहेको छ ।

पछाडि सुन्दर मादी उपत्यकालाई पृष्ठभूमिमा राखेर सन् १९६०को दशकमा बनाइएको त्यहाँबाट ओर्लँदा देखिने विशाल युनाइटेड मिसन अस्पताले पाल्पाको दर्शनीयता आर्फै प्रमाणित गरिरहे झैं लाग्छ । सफा विहानीमा यो मादी उपत्यका कुहिरो र बादलले ढाकिएर स्वेततालझैं देखिन्छ रे । सूर्योदयको बेला यो अनुपम दृश्य हेर्ने हाम्रो संजोगमा थिएन सायद ! समय र अवसरले साथ दिएन, दिएको भए हर्ने अरु पनि धेरै ठाउँ थिए पाल्पा वरिपरि । अति डरलाग्दो भएकाले मूर्ती देख्न नपाइने ताननसेनबाट करिब नौ किलोमिटर पश्चिको डाँडोमा रहेको भैरव मन्दिर समय भएको भए हेर्नैपर्ने यस्तै अर्को एउटा ठाउँ थियो । अति डरलाग्दो भएकोले यी भैरवलाई मानिसले हेर्न सक्दैनन् रे, यो हेर्ने मानिसको डराएर मृत्यु समेत हुनसक्छ रे । त्यसैले पुजारीले समेत पर्दापछाडिबाट मात्रै पूजा गर्छन रे ! यस्तै अरु ठाउँ थिए सत्यवती ताल र रानीघाट दर्बार । पाल्पाबाट विहानै बुटवल जाने बस समातेर चौबीस माइलमा उत्रिनु पथ्र्यो, त्यहाँबाट तिनाउ नदीको किनारा छिचोलेर घना जङ्गलको उकालो लाग्दै पहाडको टुप्पोमा रहेको सत्यवती ताल पुग्न । कार्तिक महिनाको पूर्णिमाको रात ठूलो मेला लाग्ने यो तालमा कान नसुन्ने पराभौतिक शक्तिसम्पन्न सत्यवती बज्यै नाम गरेकी प्राचीन देवी रहन्छिन रे, यो स्थानीय विश्वास हो ! वरिपरिका पहाड र तराइका मानिसहरूको भीड लाग्छ रे मेलाका समयमा र तीनपटक तालको परिक्रमा गर्दै ती धर्मभीरु श्रद्धालुहरू तिनै काननसुन्ने देबीलाई सुनाउन ठूलो स्वरमा चिच्याएर आ–आफ्ना चाहना पुराहोस् भनी प्रार्थना गर्छन रे । आफ्नो इच्छा पूरा गराउन परेवा छाडेर, बोका कुखुराको बलि चढाएर र पूजा गरेर उनीहरू बूढी बज्यैलाई प्रशन्न तुल्याउने भरमग्दुर कोसिस गर्छन रे । समय पुगेर पनि बोल्न नसकेका साना केटाकेटीलाई यो तालको पानी ख्वाएपछि बोल्न थाल्छन् रे । धेरै छन् सत्यवती तालसँग गाँसिएका यस्ता जनविश्वासहरू ! तर हामीसँग यतिबेला समय थिएन, यसलाई नजिकैबाट अनुभव गर्ने । यस्तै हामीसँग पुग्ने समय नभएको अर्को दर्शनीय स्थल थियो एउटा लोग्नेद्वारा आफ्नी प्यारी पत्नीको नाउँमा निर्माण गराइएको प्रेमस्मारक– रानीघाटको रानी महल । पाल्पाका बडाहाकिम खड्गशमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा यदाकदा कालीगण्डकीको छालले चुम्वन गर्ने गरी किनारैमा बनाउन लगाएका रानीमहल पाल्पाको अर्को एउटा प्रमुख आकर्षण थियो । कलकत्ताबाट बोलाइएका बेलायती बास्तुविद्द्वारा डिजाइन गरिएको भनिने यो महल सन् १९९७मा मर्मत गरिए पनि हेरचाहको अभावमा जीर्णअवस्थामा पुग्दै छ रे । तानसेनबाट ठाडो ओरालो झरेर जाँदा दुई घण्टा लाग्ने रानीघाट सक्नेहरूले प्रेमकै नाउँमा भए पनि ठड्याएका कलास्मारकका रुपमा संरक्षित हुनु पर्ने एउटा सांंस्कृतिक निधिका रुपमा जोगिनु पर्छ, यसको बारेमा सुने पछि यस्तै लागेको थियो मलाई ।

ज्योति, वर्ष १ पूर्णङ्क १, भदौ २०६१

No comments:

Post a Comment