Wednesday, August 18, 2010

सङ्ग्रहमा नपरेका प्रकाशित कथाहरू

१. सपना र भ्रान्ति

“बधाइ, तपाईंको बिरामीले नयाँ जीवन पाउनुभएको छ ।” उसको होस खुल्नुसँगै कतै टाढाबाट आएजस्तै मधुरो अवाज कानमा परेका थिए । त्यो आवाज आफ्ना लागि थियो वा अरू कसैका लागि, त्यतिबेला खुट्याउन सकेको थिएन उसले । शरीरमा कमजोरी अनुभव गर्दै थियो ऊ र आँखा अझै राम्ररी ठम्याउन असमर्थ थिए । ऊ कहाँ छ र किन छ भन्ने पनि उसले राम्ररी सम्झन सकेको थिएन त्यतिबेला ।
“बाबु, कस्तो छ, तिमीलाई ? एक महिनापछि बल्ल होसमा आयौ नि मेरो बाबा !” एउटा ठूलो चिन्तामुक्तिले आश्वस्त आमाको खुसीमा सरोबर कम्पित आवाज चिन्यो उसले, र धमिलै भए पनि देख्यो आफ्नी आमाको खुसीमा छपक्कै भिजेका गह !
सुरुमा अनुमान गर्नै नसकेको नयाँ जीवनको कुरा कसका लागि भनिएको थियो भन्ने बुझ्न अब उसलाई कठिन परेन । आमाको आमाको त्यो स्नेहिल स्पर्श र खुसीमा भिजेको स्वरले त्यो उसकै स्म्बन्धमा भनिएको थियो भन्नेमा विश्वस्त भएको थियो । तर किन...? के भएको छ उसलाई ? दिमागमा जति जोड दिँदा पनि त्यसबारे चाहिँ केही सम्झन सकेको थिएन उसले ।
बिस्तारै सबै कुराको सम्झना हुँदै गएको थियो उसले– कसरी आन्दोलनमा सहभागी हुँदा अकस्मात गोली लागेर ढलेको थियो ऊ । त्यसपछि लामो समय अचेतनमै मृत्युसँग सङ्घर्ष गरेको थियो उसले ।
त्यसरी जनआन्दोलनमा घाइते भएर एक महिना अर्धचेत अवस्थामा रही होसमा आउँदा परिवार र शुभचिन्तक सबैमा हर्षको लहर चलेको थियो । होसमा आएपछि उसले सुन्यो, ऊजस्ता धेरै सामान्यजनको रगत बगेको थियो राष्ट्रको नयाँ रूपान्तरण सम्भव तुल्याउन भएको त्यो आन्दोलनमा । धेरैको बलिदान लिएको थियो युगान्तकारी परिवर्तनको यो चाहना प्राप्तिले । जे होस, त्यो रगत, त्यो वलिदान खेर गएन, त्यो नै खुसीको कुरो हो, उ असन्तुष्ट छैन ।
उसको स्वास्थ्यलाभमा खुसी प्रकट गर्ने आफन्तहरूबाट शुभकामना पाउँदै जान्छ ऊ । त्यसरी बधाइ र शुभकामना व्यक्त गर्न आउने अनुहारहरूमा त्यतिबेला उसलाई आन्दोलनमा प्राण उत्सर्ग गर्न हौस्याउनेमध्ये केही देखेको छैन उसले । अस्पतालमा पनि देखिएनन् रे ती कुनै अनुहार, आफन्तहरू सुनाउँथे । आन्दोलनका सबै नेतृत्वदायी शक्तिहरू नयाँ राष्ट्रको निर्माणको जिम्मेवारी पूरा गर्नका लागि क्रियाशील रहेकाले समय मिलेन होला, ऊ सबैको चित्त बुझाउने प्रयास गर्छ र आफ्नो पनि मन बुझाउँछ यस्तो बेला । सरकार चलाउन र आन्दोलनका भावनालाई कार्यरूपमा परिवर्तन गर्नु प्रमुख कुरा हो, ऊजस्ताको हालखबर लिनु होइन, उसले आर्फैँलाई भन्ने गरेको छ । त्यति गहन जिम्मेवारी बोकेका नेताहरूले ऊजस्ता सामान्य आन्दोलनकारीको स्वास्थ्यका बारेमा जानकारी लिएर समय खेर फाल्नु अवस्य नै उपयुक्त हुँदैन पनि । यस्ता काम त अरूले गर्दा पनि त हुन्छ ! त्यसैले ती अनुहारहरू नदेख्दा पनि उसलाई कुनै गुनासो रहेन । हो, अबको प्राथमिकता ऊ अर्थात् व्यक्ति होेइन, समष्टि हो र हो ऊजस्ताको सपनाको प्राप्तिमा समर्पण ।
अस्पतालको शय्यामा अर्धचेतन रहेको उसको अचेतन मनमा बारम्बार एउटा सपना आउने गथ्र्यो । त्यो सपनामा ऊ देख्थ्यो– सिंहदर्बार अगाडि पृथ्वीको समकक्ष बीसे नगर्ची र भानुभक्त पनि सगौरव उभिएका छन् साथै । त्यो देख्दा उसको नयाँ राष्ट्रले र एकीकरणका नायक मात्र सामन्ती नेतृत्व थिएन्, त्यसलाई सफल तुल्याउने अरु पनि थिए जनबल र भाषाशक्तिका प्रतीक सामान्यजन भन्ने स्वीकारेमा सपनामै अत्यन्त हर्षित हुने गथ्र्यो ऊ ! र विश्वस्त हुन्थ्यो–अब बीसे नगर्चीहरू उपेक्षित बन्ने छैनन्, इतिहासले उनीहरूप्रति अन्याय गर्न सक्ने छैन ।
त्यसरी नै सपनामा सहिद स्मारकका हिदहरू पुछारबाट शिरमा पु¥याइएका र उचित स्थान पाउन सफल बनेका छन् । त्यसरी आफैं स्थापित हुन पुगेको अनुभव गर्ने गथ्र्यो अचेतन सपनाको संसारमा ! त्रिपुरेश्वर, जमल सबैतिर त्यस्तै देख्थ्यो ऊ– पुराना सालिकका अनृुहार अन्दोलनकारी सहिदहरूका सालिकमा बदलिएका छन् । त्यो देख्दा अर्धचेतन अवस्थामैं पनि उसलाई लाग्थ्यो– बल्ल हाम्रा बलिदानका चाहनाले मूर्त रूप लिन थालेछन् ! यसलाई आफूजस्तै आन्दोलनकारीले चाहेको सामन्ती सत्ताशक्तिको सुरुआत ठान्थ्यो ऊ । त्यति मात्र नभएर सत्ता र शक्तिको गणेशपरिक्रमाबाट हुने मुल्याङ्कनको अब कतै अस्तित्व देख्दैनथ्यो ऊ सपनामा र तिनको ठाउँ अब योग्यता र क्षमताले लिएकोमा सपनामै अत्यन्त हर्षित हुन्थ्यो । देख्थ्यो–यसबाट सबैतिरको कार्यक्षमता र दक्षतामा बढेको छ, उत्पादकत्व बढेको छ, भ्रष्टाचार, चरित्रहीनता र कनसुत्ले प्रवृत्तिबाट राजनीतिक क्षेत्रले पनि पूरै मुक्ति लिएर मुलुक नयाँ आर्थिक भएछ । त्यस्ता प्रवृत्तिका चरित्रहरू सबैदलबाट बहिस्कृत–निष्काशित भएछन् । समाजबाट–सामाजिक क्रान्तितर्फ उन्मुख हुन थालेछ; सामाजिक भेदभाव हटेर मानवीय मूल्यमा ठूलो सांस्कृतिक परिवर्तन देखा पर्न थालिसकेको छ । बुद्धिजीवीहरू विवेक बोल्न थालेछन्, विवेकको बोलाइले समाजमा उच्च स्थान पाउन थालेछ । उसले सपनामा देख्ने गरेका ती दृश्य र अनुभूतिबाट ऊ सपनामै रमाउने गथ्र्यो । ती सबै आन्दोलनले पनि देखेका सपना थिए, त्यसैले आफूले अचेतनमै देखेका ती सबै सपना अवस्यै सत्य हुनुपर्छ, त्यो झुठो हुनै सक्तैन– चेतनामा आएपछि पनि ऊ विश्वस्त थियो ।
घर फर्केपछि पनि तङ्ग्र्रिनै लामैं समय लाग्यो उसलाई । शुभकामनाले मात्र उसको पथ्य र औषधि खेपिँदैनथ्यो । अस्पताल छँदा कुन हो एउटा संस्थाले केही सहयोग गरेको थियो रे, पछि ती पनि कहाँ हराए, सम्पर्क गर्न खोज्दा पनि सफल सम्पर्क हुन सकेनछ । हुन त उसले सुनेको थियो सरकार मात्र होइन, पत्रकारदेखि नागरिक समाज र कलाकारसम्मको सक्रियतामा खडा भएका जनआन्दोलन घाइते उपचार सहयोग कोषहरू अनगिन्ती थिए र तिनमा करोडौं रुपियाँ जम्मा नभएका पनि थिएनन् ! अहिले ती कहाँ छन्– धेरैलाई थाहा थिएन तिनको सक्रियता । तिनबाट सुरुमा उसको परिवारले पाएको सीमित सहयोगले अस्पतालको शुल्कसमेत धान्नको थिएन रे, महँगा औषधि र पथ्यको कुरा त कता हो कता । रिनपिन गरेर, भएको एक टुक्रा बाबुबाजेको जमिन बेचेर जेनतेन उपचार खर्च धानेर तङ्ग्र्राएका थिए परिवारले उसलाई । जे होस्, लामै विश्राम पछि ऊ अलि अलि हिँडडुल गर्नसक्ने भएको थियो ।
अस्पतालबाट घर फर्केर त्यसरी निकै दिन बिछ्यौनामा बिताउनु पर्दा ऊ टेलिभिजन हेथ्र्यो, रेडियो सुन्थ्यो र अखबार पढ्थ्यो । ती खबर सुन्दा, पढ्दा र हेर्दा लाग्थ्यो मुलुकले साँच्चै नै क्रान्तिकारी रूपान्तरण गरिसकेछ, परिवर्तनको लामो फड्कोे लिने प्रारम्भिक पाइला चलिसकेछ यसबीच । अब भने राष्ट्रमा दुहुनेको भन्दा भरणपोषण गर्नेको ठाउँ उँचो हुन थालेछ ! हिजो दृश्यमा रहेर सामन्ती संस्कृतिका प्रसारक पूर्व सत्तासञ्चालकहरूलाई सहयात्रीभन्दा नजिक ठानेर मनितो गर्दै शिर चढाउने सांसद्ले आन्दोलनको सञ्जिविनी पाएपछि पुराना अभ्यासलाई छाड्ने कसरत गर्ने उपक्रम सुरुगरेछ; युगान्तकारी निर्णयहरू गरेर राष्ट्रको पुनःसंरचनालाई संस्थागत तुल्याउने राम्रै प्रयास गरे छ ।
ती सबै कुरा पढ्दा, हेर्दा र सुन्दा ऊ अत्यन्तै प्रफुल्ल हुन्थ्यो– बल्ल मूर्त रूप लिन थाल्यो आन्दोलनमा देखेको लाखौंको सपनाले ! उसलाई ती सबै कुरा कहिले आफ्नै आँखाले हेर्न र मनले अनुभव गर्न पाइएला भन्ने थियो । त्यसैले उसका पाइला घर बाहिर निस्केर घुम्न व्यग्र थिए, आफ्नो सपनाको मूर्तिकरण आफ्नै आँखाले देख्न व्यग्र थिए । आज लामो बेडरेस्ट पछि तङ्ग्र्रिएको उसको यो चाहना पूरा हुँदै थियो । त्यसैले उसले आज आफ्नो पहिलो योजना बनायो– ती परिवर्तनहरूलाई आफ्नै आँखाले हेरेर अनुभूत गर्नेै । त्यो पहिलो योजनाअनुसार ऊ काठमाडौंका प्रमुखस्थानहरु हेर्न निस्कियो, आँखामा तीव्र उत्सुकता बोकेर ।
उसका पाइला बिस्तारै जमलतिर लागे । घरबाट बाहिर निस्कनासाथ उसको अप्रिय जम्काभेट घर छेउकै चौबाटोमा पहाड बनेर थुप्रिएको फोहोरको डुङ्गुरसँग भयो । बाटो चारैतिर कुहिएको फोहोरको अप्रिय दुर्गन्धले ढाकिएको थियो र बटुवाहरू सबै नाक थुन्दै हिँडिरहेका थिए ।
“त्यति ठूलो क्रान्ति र परिवर्तन ल्याउन सक्ने हामीले अझै आफ्नो सहरलाई भने फोरहोरमुक्त तुल्याउन सकेका रहेनछौं ?” उसको मनले आफैँसँग सोध्यो र आफैंले उत्तर पनि दियो– हुनसक्छ, ठूलो कुराको प्राप्तिमा लाग्दा सानातिना कुरा केही उपेक्षित भएका हुुनसक्छन् ।
फोहोेरकै बारेमा सोचेर अघि बढ्दै थियो, एक्कासि दुई–चार सय मान्छेको जुलुसले उसको मार्ग अबरुद्ध बनायो । अझै पूरै नतङ्ग्र्रिसकेको उसको शरीरमा त्यो भीडलाई ठेलमठेल गरेर अघि बढ्ने सामथ्र्य थिएन । त्यसैले ऊ केही टाढाबाट आउँदै गरेको जुलुस हेर्दै सुरक्षित ठाउँ खोजेर उभियो । उसले सोच्यो– यो जुलुस पक्कै आन्दोलनका चाहना अर्थात् जातीय–भौगोलिक सद्भाव, राष्ट्रिय सम्बृद्धि र अखण्डता, बाह्य हस्तक्षेपमुक्त स्वाधीनता र समग्रमा स्वाधीन–विकसित नेपालको कार्यान्वयनका लागि राजनीतिक शक्तिहरूलाई दबाब दिनका लागि निकालिएको जुलुस हुनुपर्छ !
जुलुस नजिकै आउँदा उसले त्यसमा लागेका नाराहरू स्पष्टै सुन्यो । त्यो सुनेर उसको मन भरङ्ग भयो– तिनमा एक अर्काप्रतिको सद्भाव बढाउने खालका अभिव्यक्ति कतै थिएनन् । राजनीतिक निकासको मूल प्रश्नमाथि कतै कुनै सम्बोधन थिएन । बरु थिए आपसी खाडल बढाउने अभिव्यक्ति, जातीय र भौगोलिक विद्वेषका डरलाग्दा आक्रोश ! उसलाई लाग्यो, हुनसक्छ यो पुरानै नेपालको सपना देख्ने कुनै समूहको आक्रोश होला । जातीय र भौगोलिक खाडल चर्काएर नयाँ सपनाहरूको विखण्डन उनीहरूको अभीष्ट हुनु अस्वाभाविक थिएन उनीहरूले त्यो उद्देश्य प्राप्तिमा असफल नै भए पनि प्रयत्न गर्नु पनि अनपेक्षित थिएन । यति ठूलो परिवर्तनमा यस्ता त्यसलाई नरुचाउने केही झिना स्वरहरू सुनिनु स्वाभाविक छ यो सङ्क्रमणको समयमा– उसले आफैँँलाई सम्झाउने प्रयास ग¥यो । त्यही सोचेर ऊ जुलुसका ब्यानर र जुलुसमा चर्को स्वर निकालिरहेका अनुहार नियाल्न थाल्यो तर यी अनुहारमा परिवर्तनका विरोधी अनुहारभन्दा हिजो परिवर्तनका लागि ऊसँगै होम्मिने अनुहारहरू नै पो देखिँदैछन् त ! के भएको हो यो, ऊ केही बुझ्दैन । ऊ देख्छ राष्ट्रको बृहत्तर स्वार्थ र आन्दोलनका मूल मागलाई भन्दा निहित समूहस्वार्थ र अधिकारलाई नै प्रमुख माग बनाइरहेका ती अनुहारहरूमा सबै देखिन्थे– आफूलाई प्रजातन्त्रवादी ठान्नेहरू, माक्र्सवादी दर्शन र आदर्श मान्छु भन्नेहरू, आफूलाई उदारवादी ठान्ने मध्यमार्गीहरू ! ती कोही कुनै दलबाट विधायिका संसद्को प्रतिनिधित्व गरिहेका थिए, कोही कुनै दलको । तिनका कुनै पनि माग र आवाज तिनले प्रतिनिधित्व गर्ने दलको नीति–सिद्धान्तसँग कतै मेल खाने खालको पाएन उसले । के त आन्दोलन पछिको राजनीति बृहत्तर दलगत र राष्ट्रिय दृष्टिकोणबाट भन्दा भोटको लोकप्रिय दृष्टिकोबाट निर्देशित हुँदैछ ? मनभित्र अनेकौं जिज्ञासाका ज्वारभाटा उठिरहेका थिए र कतैबाट कुनै उत्तर पाउन असफल थियो ऊ त्यतिखेर । अलमल्ल प¥यो ऊ त्यो सङ्कुचित विद्वेषका नारा लाउनेमा नयाँ राजनीतिक संस्कृतिका प्रवक्ता भनिनेहरू समेतलाई देख्दा ! लाग्थ्यो ती सबै आ–आफ्ना दलीय सैद्धान्तिक प्रतिबद्धताबाट भन्दा भोलिको मत सुरक्षणका लालसाले तनिएका छन् । त्यसैले भीडलाई नेतृत्व लिएर सही बाटो हिँडाउने आफ्ना नेताहरूमा उसले देख्न चाहेको गुण र नेतृत्व क्षमता अहिले स्वयम् भीडद्वारा निर्देशित र नियन्त्रित हुँदैथियो सायद ।
भीड पातलिएपछि मनमा अनेकौं कुरा खेलाउँदै उसका पाइला अघि बढे । संस्कृत छात्रावासनजिकै कमलादी मोडमा पुगेर ऊ आफूले सपनामा देख्ने गरेको परिवर्तन हेर्न टक्क उभियो । झ्वाट्ट हेर्दा कुनै परिवर्तन देखेन उसले । सालिकमा मात्र होइन त्यो सालिकलाई सधैंँ बोकेर बस्ने पीठिका समेत परिवर्तित भएको हुनुपर्छ, यस्तै सोचेको थियो उसले जस्तो उसले सधैं देख्ने गरेको सपना देख्ने गरेको थियो । आँखा गाडेर हे¥यो उसले– चौबाटोको त्यो विशाल पीठिका पहिले जस्तै चारैतिर साङ्लाले घेरिएरको थियो, एकदमै सुरक्षित, अपरिवर्तित ! अहँ, पीठिका वरिपरि त्यस्तो परिवर्तनको कुनै आभास पाएन उसले । फेरि सोच्यो, पीठिका उस्तै भए पनि सालिकले त पक्कै परिवर्तन गरेको हुनुपर्छ आफूलाई ! यसमा उसको मन ढुक्क थियो । त्यही निश्चिन्त मनले ऊ सालिकमा आफूले सपनामा देखेका परिवर्तन खोज्न थाल्यो ।
आँखा मिचीमिची हे¥यो– कतै लामो विमारीले आँखाको ज्योति त गुमेन उसको ? आफैलाई शङ्का लाग्यो । फेरि पनि आँखा मिचेर हे¥यो तर जति नै आँखा मिचेर हेरे पनि त्यहाँ कुनै परिवर्तन देख्न सकेन उसले । त्यो त्यस्तै मात्र देख्यो, जुन उसले आन्दोलनका क्रममा यही ठाउँमा गोली थाप्दाको क्षणमा देखेको थियो । धेरै पटक मिचेर हेर्दा अरू सबै कुरा ठीकठीक देखेको विश्वास भएपछि शङ्का गर्ने कुनै ठाउँ भेटेन उसले । अब उसलाई पूरै विश्वास भयो आँखामा कुनै खराबी छैन । तैपनि उसको मन आश्वस्त थियो– पीठिका त बाहिरी रूप न हो, सार त यसको उच्चशिखरमा अवस्थित गर्वाेन्नत सालिक पो हो त ! त्यो पक्कै पूर्ववत् छैन होला, त्यसमा अवस्यै परिवर्तन आएको हुनुपर्छ । त्यसको रूप अवस्यै बदलिएको हुनुपर्छ, सपनामा देखेजस्तै !
उसका दृष्टि सालिक रहेको त्यो विशाल पीठिकाको तलबाट बिस्तारै आधारस्तम्भ हुँदै माथिमाथि उठ्दै गए । अझै पनि उसले त्यहाँ आफूले सोचेजस्तै परिवर्तनवाहक जनविम्ब फेला पार्न सकेन । अझै पनि पुरानै शासकीय शक्तिप्रतीक नै गजधम्म ठडिएको थियो– गर्वोन्नत ! त्यो पुरानै प्रतीक र पुरानै अधिनायकी आधिपत्यको गर्वोन्नत विम्ब देखको कठोर कठोर सत्यले उसलाई नराम्ररी घोचे ! त्यो पहिलेजस्तै थियो– सामन्ती संस्कृतिको उच्चतम प्रतिनिधित्व गरिरहेको शिरपोशधारी त्यो सालिकको अनुहारमा अझै पूर्वकालीन दम्भको आभास पाइरहेको थियो– लाग्यो कतै सडकमा उभिएको उभिएको उसमाथि नै सनातन उपेक्षाको व्यङग्यभाव त फ्यालिरहेको छैन ऊ ! लाग्यो, ऊतिरै तेर्सिएको लामो दण्ड चेतावनी बोलिरहेको थियो– खबरदार शिर उठाएर हेर्लास् ! फरक यति मात्र देख्यो उसले– हिजो त्यो नीर्जिव सालिकको सुरक्षामा तीन–चारजना सजीव मूर्तिहरू तैनाथ देखिन्थे हातमा बन्दुक बोेकेर । आज भने ती थिएनन् । सायद सालिक तीबिना नै आफूलाई पहिलेभन्दा बढी सुरक्षित ठान्न थालेर अझै गर्वोन्नत खडा थियो स्मित व्यङ्ग्य हाँस्दै ।
“ए...के ट्वाल्ल परेर हेरिरहेको बीच सडकमा ? उता हट्....!” एउटा बर्दीधारी कर्कस आवाजले ऊ झसङ्ग भयो । त्यो अनपेक्षित आवाजले उसका भावतरङ्ग भङ्ग भए । यी हिजो पनि सालिककै सुरक्षामा सुरक्षाभित्र कर्तव्यपरायणता खोज्ने गर्थे, सायद आज पनि त्यही गर्दैछन् । सालिकले आज आफैं सुरक्षित ठाने पनि ऊ स्वयम् भने सुरक्षित ठान्न सक्तैन आफूलाई यतिबेला । त्यसैले यहाँ बसेर अफूलाई थप असुरक्षित ठान्नुभन्दा यहाँँबाट अन्तै लाग्नु उपयुक्त ठान्यो उसले; आफ्नो सपनामा देखेका अन्य ठाउँहरूको अपेक्षित रूपान्तण पनि त हेर्न बाँकी नै थियो । उसका अझै राम्ररी नतङ्ग्र्रिएका कमजोर पाइला अघि बढ्दै गए ।
त्यही बीच उसले सोच्यो, छोटो समयमा सबै कुरा एकैपटक परिवर्तन हुनु सायद सम्भव थिएन । त्यसैले यसको पालो आउनै बाँकी होला, सुरु अन्तैबाट पो भएको छ कि ? सबै आफैंले नहेरी ऊ कुनै दृष्टिकोण बनाउने पक्षमा थिएन । त्यही कारण उसले अब राज्यको मूल शासकीय केन्द्र हेर्ने इच्छाले आफ्ना पाइला त्यतैतिर बढायो ।
त्यहाँ पनि उसका आँखा सबैभन्दा पहिले विशाल सालिक रहेको पीठिकामा पुगेर अडिए । पीठिका त्यस्तै थियो, जतिबेला उसले त्यही बाटो परिवर्तनको शङ्ख घोष गर्दै शिरमा सेतो कात्रो बेरेर पटक पटक परिवर्तनका लागि आफूलाई बलिदानको मोहरीमा होमेको थियो । उसले आफ्ना आँखा त्यसरी नै त्यो पीठिकाको तलबाट पु¥यो बिस्तारै । उसका आँखाले त्यहाँ त्यो विशाल सालिकसँगै बीसे नगर्ची र भानुभक्तको प्रतिविम्ब खोज्यो । अहँ यहाँ पनि उसले त्यो देखेन– बीसे नगर्ची कतै देखिँदैनयो, भानुभक्त क्षतविक्षत मिल्किएका देखिन्थे त्यही गर्वोन्नत सालिकमुनि ! फेरि पनि आँखा मिचेर हे¥यो, दृश्य तिनै थिए पूर्ववत्, जस्तो उसले परिवर्तनभन्दा पहिले देखेथ्यो । उसका पाइला लर्खराउँदै सहिदगेट पुगे । त्यहाँ पनि स्वतन्त्रताका लागि रगत बगाउनेहरू खुम्चिएर तलै थिए । टुँडिखेल यस्तै थियो, र सैनिकमञ्च अझै शक्तिको परेड खेल्दै थियो । फरक यति थियो हिजो उसको प्रवेश वर्जित रत्नपार्कको खुला मञ्च आज उसका लागि वर्जित थिएन ।
उसले परिवर्तनका प्रतीक ठानेका ती सबै ठाउँमा परिवर्तनका कुनै सङ्केत नपाउँदा उसको मन भरङ्ग भयो । उसले ठान्यो यी सबै भौतिक परिवर्तनभन्दा मानसिक मनोवृत्तिको परिवर्तन सायद महत्वपूर्ण ठानिएको हुनुपर्छ । त्यसैले उसलाई हिजो आमूल परिवर्तनका लागि भनेर ऊजस्ताको नेतृत्व गर्ने राजनीतिक दल र तिनैबाट सञ्चालित सरकारी कार्यालय हेर्न चाह्यो । निश्चय नै राजनीतिक नेतृत्व र सरकारको कार्यशैली हिजैकोजस्तै छैन आज ! ऊ विश्वस्त थियो–उनीहरूको कबोलीमा मात्र होइन अब कार्यशैलीमैं पूर्ण लोकतान्त्रिक रूपान्तरण भएको हुनुपर्छ । त्यसैले उसलाई विश्वास थियो आजका नेताहरू हिजोजस्तै जनताले भ्रष्ट भनी चिनेका चरित्र र आफ्नै झोला बोक्ने पार्टी कार्यकर्ताबाट घेरिएका देखिने छैनन् । कार्यलयहरूमा कार्यकर्ता र दलीय स्वार्थलाई नै राष्ट्रको काम ठान्नेहरू पुरस्कृत हुने हिजोको अभ्यास योग्य, सक्षम र वरिष्ठको सही मूल्याङ्कन गर्ने संस्कृतिमा परिवर्तन भैसकेको होला । उसले चाहेको पनि त त्यही थियो– भाषणमा नभएर चरित्र र कार्यशैलीको गुणात्मक परिवर्तन । यति भए पछि त अन्य बाहिरी परिवर्तन अपरिहार्य भै नै हाल्छ । आखिर हिजोको समस्या लोकतन्त्रलाई जीवन शैलीमा ढाल्नुकै त थियो !
“होइन, यो मन्त्रालय त अरूलाई दिनै हुँदैन नेताज्यू, यो दिएर भोलि पार्टी कसरी चलाउने ? पार्टी चलाउन पैसा चाहिएन ! हाम्रो र कार्यकर्ताका पनि त पेट छ, सबैको चित्त बुझाउन नसके को बस्छ हाम्रँे पार्टीमा ?” सर्वाधिक प्रभावशाली नेताको कोठामा पस्नु अगाडि नै बाहिरैबाट सुनेको यो आवाजले ऊ झस्कियो । अलिकति खुलेको ढोकाको कापबाट चियाएर हे¥यो– ती सर्वशक्तिमान नेताज्यू तिनै हिजोका गनाएका अनुहारहरूबाट घेरिएका थिए ।
“हो त, यो पैसा आउने मात्र होइन सेना र प्रहरी परिचालन गर्ने मन्त्रालय पनि छाड्न मिल्दैन । भोलि चुनाव लड्नु छैन र हामीलाई ? यी शक्ति आफ्नो नियन्त्रणमा नहुने हो भने कसरी जितिन्छ संविधान सभाको चुनाव !” अर्को बदनाम अनुहार उकास्दै थियो आफ्ना सर्वशक्तिमान नेतालाई । नेताज्यूलाई भेट्ने आशामा लामै समय बाहिरै प्रतीक्षारत असङ्ख्य अनुहारहरूले भने भित्रबाट चुहिएका ती कुरा सुनेर लज्जाबोध गरिरहेको अनुमान ग¥यो उसले ।
त्यो वातावरण देखेपछि अब आफूले आदर्श मान्दै आएका सर्वशक्तिमान नेतालाई समेत भेट्ने जाँगर रहेन उसमा । अन्य कार्यालय पुगेर परिवर्तनको अनुभूति गर्ने उसका इच्छा पनि सेलाउँदै गए–कीटाणुग्रस्त मूलकाण्ड नै विकारग्रस्त र रोगी छ भने हाँगाबिँगाको हालत त्योभन्दा के नै फरक होला र ? के त आन्दोलन अझै सकिएको छैन, उसले मनमनै सोच्यो र शिथिल पाइलालाई बाहि¥यायो बिस्तार बिस्तारै ।

शारदा मासिक वर्ष १ अङ्क ४,
२०६४ व्रशाख






२. तिमी मेरो छोरो भैद्या भए...!
“मास्टर बाजे, यो आराम गर्ने उमेरमा कति बूढो हाड घोटी रहनुहुन्छ ! थोरै भए पनि कौला त खानोस् । अनि पढाउनुहोला नि !” उसको स्वरमा नजानिँदो गुनासो थियो । यो बूढो आफैंलाई बिर्साउन सधैंँ यसरी नै काममा घोटिइरहन्छ । न खाने इच्छा छ, न बाँच्ने रहर नै ! ऊ बूढाले खानपिन र स्वास्थ्यको समेत बेवास्ता गर्दै आफैंलाई बिर्साउने कोशिश गरिरहेको देख्दा मनमनै चिन्तित हुन्थ्यो र उसको गुनासोमा त्यही चिन्ता लुकेको हुन्थ्यो ।
आफूलाई लिएर कृष्णेको यस्तो स्नेहले भिजेको गुनासो सुन्दा मास्टर बाजेको आँखा रसाउन पुग्थे । उनी बारम्बार सोच्थे– कुन जन्मको नाता रहेछ यो कृष्णसँग । बूढेस कालमा आफ्नैबाट एक्लिएका मास्टर बाजे त्यो नाता न साइनोको केटोले पोख्ने गरेको निःस्वार्थ सेवा र मायाका कारण थोरै भए पनि बाँच्ने प्रेरणा पाउँछन् । उनलाई लाग्छ, सन्सार भोगेजति स्वार्थी र निष्ठुरी मात्र रहेन छ ।
“छाड्द्यौ... कृष्ण...! केका र कसका लागि रोज्नु छ र अब लामो जीवन ! जति पथ पहरेजमा बसे पनि यो बूढो शरीर पलाउने होइन क्यारे । अब त जीवनको दंगल पूरै हारिसकेँ जस्तो लाग्छ, कृष्ण ! सबै भएर पनि कोही नहुनुको पीडाबोध बोकेर कति बाँच्नु र अब !” कृष्णेको गुनासोको जवाफमा चाहेर पनि आफ््नो निराशा लुकाउन सक्दैनन् उनी । आफ्नो त्यो निराशाको अभिव्यक्ति पछि आफैँसँग सोध्दथे, किन यति निराश हुन थालेको छ ऊ ? जिन्दगीको हर क्षण संघर्षलाई नै जीवन ठान्दै आएको ऊ किन जीवनको यो अन्तिम कालखण्डमा यसरी पराजयबोधबाट ग्रसित हुन थालेको छ ?
“त्यस्तो कुरा गरेर मात्र होला त । बेलामा नखाएर भोलि थला पर्नुभो’ भने अनि था’ होला ।” उनको कुरा सुनेर कृष्ण प्राय यसरी नै सम्झाउने गथ्र्यो ।
वर्षौं भयो, कृष्णले यो बृद्धाश्रममा भान्छेको काम गरेको । यस बीच यहाँ कति आए, कतिले यहीँबाट आफ्नो चोला बिसाए । कृष्णलाई तिनको सम्झना समेत छैन । सम्झना गरेर साध्यै छैन । तर किन किन यी मास्टर बाजे चाहिँ पहिलोपल्ट देखेदेखि नै आफ्नैजस्ता लागेका थिए उसलाई । मास्टर बाजेले आफैंलाई बिर्सेर हरबखत काममा भुलाउने चेष्टा गरिहेको चाहीँ पटक्कै मन पर्दैन उसलाई ।
सानैमा बाबु आमा गुमाउनु परेको टुहुरो कृष्णेलाई आफन बाबु आमाको अनुहारसम्म पनि सम्झना छैन । त्यसैले होला ती बृद्धमा ऊ आफ्नो बाबुको छाया देख्छ । अभिभावकत्वको अनुभव गर्छ, र बाबुकै सरह सम्मान पनि गर्छ उनलाई । सन्चो बिसन्चोको ख्याल गर्छ । ऊ ती मास्टर बाजेलाई देखेर आफूमा उर्लने माया देखेर कहिले काहीँ त आफैं छक्क पर्छ– किन यी बृद्धलाई अगाडि देख्नासाथ उसभित्र अपनत्व उर्लिन पुग्छ । कृष्णे मात्र होइन, मास्टर बाजे पनि त्यस केटाले आफूप्रति वर्षाउने स्नेहपूर्ण व्यवहाबाट भावुकतापूर्वक सँधै पग्लिने गर्छन् । त्यसैले घुर्की मिसिएको उसको मीठो घोचपेच र झर्कोफर्को पनि उनलाई प्रिय लाग्छ– आफ्नै अबोध सन्तानको बालहठजस्तै ।
गाउँको एउटा बौद्धिक परिवारमा गनिने मध्यम खालको सानै परिवार थियो मास्टु बाजेको । एक छोरी र दुई छोराका गरी सात–आठ जनाको परिवार । सानैदेखि सङ्घर्षपूर्ण जीवन बिताए उनले । यो वृद्ध उमेरमा पनि खाली बस्दैनथे । बाँच्नका लागि छोराछोरीको मुख हेर्न पर्दैनथ्यो । बरु सधैँ आफ्नो लागि नभएर समाज र सन्तानकै लागि बाँदै आए उनी । शिक्षकको सानो जागिर परिवार पाल्नैमा पुगेस पुगेस थियो । सानैदेखि परिश्रममा जोतिएकी पत्नी औषधीको भरमा मात्र अडिएकी हुन्थिन् । त्यसैले केही भएको पैतृक अचल जेथा औषधी उपचार र छोराछोरीको पढाइलेखाइमा घट्दै गएर यही घर र घडेरीमा साँघुरिएको थियो । जागिरबाट कमाएका केही सम्पत्ति र केही पैतृक जग्गाजमिन बेचेरै भए पनि सबै सन्तानको शिदीक्षा–विहेवारीमा मन फुकाएर खर्च गरे । भविष्यका लागि जोगाएर राख्ने पत्नीको अनुरोधलाई उनी हाँसेर उडाइदिन्थे ।
उनी बुढियालाई सम्झाउँथे– हिराजस्ता योग्य छोरा छोरी छँदैछन् नि, के को चिन्ता भविष्यको ! हेर न, बूढेस कालमा दूध भात ख्वाएर पाल्छन् यिनले हामीलाई । यिनलाई योग्य बनाउन गरेको खर्च भोलि यिनैले उठाउँछन् । चिन्तै नगर न ।
उनी ढुक्क थिए– छोराछोरीलाई राम्रै संस्कार दिएको छौं, बूढेसुकालमा ती छँदै छन्, केलाई सम्पत्ति जोगाउनु छ र !
तर उनका ती सबै आशा मिथ्या ठहरिए । मात्र कल्पना बने, यथार्थ बन्न सकेन । बूढेस कालमा छोराछारीको हातबाट दूधभात खाने उनको कल्पना यथार्थ बन्न सकेन, न त छोराछोरीको काखमा अन्तिम सास छाड्ने श्रीमतीको धोको नै पूरा हुन पायो । सन्तान हुनुको कुनै बर्तव्यबोधले रोक्न सकेन तिनलाई । आफ्नै सन्तानको भविष्य बनाउने नाउँमा बरु आश्रयविहीन छाडेर पलायित भए उनीहरू सबै नै !
आफ्नैबाट त्यसरी परित्यक्त मास्टरबाजे वृद्धाश्रमको त्यो भान्छे केटोले आफूमाथि पोख्ने स्नेह देखेर अनायास आँखा भिजाउने गर्छन् । उनी कहिले काहीँ आफैँसँग भन्ने गर्छन्– भौतिक महत्वाकांक्षाले अन्धा बनेका रक्तनाताको औपचारिक मायाभन्दा स्नेहशिक्त पराइ नाताको बन्धन बरु कसिलो हुँदो रहेछ ! आवश्यकताको बेला साथ नपाउने रगतको नाता आफ्नो कि, बिना नाताको यो निःस्वार्थ स्नेह आफ्नो ?”
अनि त्यही क्रममा उनी आफ्ना सन्तनसँगको विदाइका नमिठा क्षणहरू सम्झन पुग्छन्
“बाबा...छोरा छोरीको भविष्यका लागि पनि हामीले विदेश पस्ने निर्णय ग¥यौं । यो देशमा अब कुनै भविष्य देखिएन ! चिन्ता नगर्नोस्, छिमेकी काका काकीलाई सबै कुरा सम्झाएका छौं । उहाँहरूले हजूरहरूको राम्रो हेरविचभार पु¥याउनु हुने छ । हामी पनि बेलाबखत पोनमा कुराकानी गरिहाल्छौं, खर्च पठाएँछौं । बरु दुःख नगरिकन बस्नुहोला ! तपाइँहरूले कुनै दुःख गर्नुपर्दैन !” तर उनीहरूलाई के थाहा बृद्धावस्थामा असाहयबोधको असुरक्षा र पीडा पैसा, फोनमा हुने केही क्ष्णका कुराकानी र छिमेकीको हेरचाहले मात्र मेटिन सक्दैन ।
त्यसरी छोरा छोरी सबै नै एक पछि अर्को गर्दै बङ्गला, मोटकार अन्य सुखसयलको लोभ आकर्षणम फस्दै गए । विरामी वृद्ध बाबुआमालाई छिमेकीको जिम्मा लाएर विदेश उड्ने निर्णय एक पछि अर्को सुनाउने क्रम चलिनै रह्यो ।
“किन के पुगेन र यहाँ तिमीहरूलाई ?” उसले सङ्क्षिप्त प्रश्न गरेको थियो ।
“छोरा छोरीको भविष्यका लागि पनि हामीले यस्तो निर्णण गर्नुप¥यो !” सङ्क्षिप्त प्रश्नको उत्तर पनि सङ्क्षिप्त नै थियो उनीहरूको ।
“ किन तिमीहरूको आफ्नो भविष्य बिग्रिएको छ र ?“ तै पनि उसले अझै आफ्नो असन्तुष्टी पोखे प्रयत्न गरेको थियो ।
ंजवाफको अपेक्षा गरेको पनि थिएन, जवाफ नआउनु स्वभाविकै थियो । उनीहरूले रायमाग्नका लागि यो निर्णय सुनाएका पनि थिएनन्् । निर्णय सुनाउनका लागि मात्र थियो त्यो सूचना । त्यस कारण पनि उसले खासै प्रतिक्रिया जनाउनु आवश्यक ठानेको थिएन । र पनि अझै केही थप असन्तुष्टी पोखेका थिए– यो देशको के दोष, भन त । देश बनाउने र बिगार्ने जिम्मेवारी पनि त आखिर हाम्रै होइन र ? विदेशीका लागि ज्ञान बुद्धि र पसिना बगाएर बन्ला त देश ! अनि भविष्य नभएको देश त छाडौला, भविष्य नभएका आमाबाबुलाई के गर्छौ नि, भन त ?
उनीहरूको निर्णय सुनेपछि उसले आफैंसँग सोधेको थियो– के कमजोरी रह्यो यिनको लालन पालनमा ? किन यिनीहरूको आँखामा आमाबाबु र स्वदेश भन्दा भौतिक सुख र विदेशी भूमिप्रतिको मोह जाग्न पुग्यो । त्यस्तो संस्कार त दिएका थिएनौं हामीले ! के स्वदेशमैं बन्न सक्दैनथ्यो यिनका सन्तानको भविष्य ? आखिर यिनको यो विदेशिने क्षमता पनि त यही देशको माटोले नै त दिएको हो !
“किन रुनुभएको ? म भोलि...पर्सि आउँदा विदेशबाट धेरै औषधी, पैसा लिएर आउँला नि । नरुनोस् है, हजुरबा !” छोराहरूको कठोर मन प्रतिक्रियाविहीन बने पनि तोते बोली पनि राम्ररी नफुटीसकेको सानो नातीको अबोध संबोधले बिदाइका बखत उनलाई अरु कमजोर तुल्याइ दिएको थियो । त्यो अबोध नातिको वचनले उनलाई लागेको थियो, बचनले यति ढाढस दिने आफन्त पनि अब उसका अगाडि कोही रहने छैनन् । अत्यन्तै भावुक बनेका थिए उनी त्यस क्षण । अब कहिले देख्न पाइएला यिनलाई ? तिनलाई अब आफ्नो जीवनमा फेरि देख्न नपाइने आशंकामा उनी एकपल्ट भित्रभित्रै डाँको छाडेर रोएका थिए । बाहिर भने उनी आफैंलाई दह्रो देखाउने असफल प्रयास गरिरहेका थिए, विशेष गरी श्रीमतीले थाहा पाउली भनेर । आफैं रोएको देखी भने उसले कसरी मन बुझाउली !
“रोएको होइन, बाबु ! रुन बिर्सिसके यी आँखाले । बरु धुलो परेर रसाएका हुन बाबु यी आँखा !” दमको लहरे खोकी खोक्दै त्यतिबेला मन थामेर जवाफ दिएको थियो उसले त्यो अबोध नातिलाई । उसका निधार र जिउ भरि सुम्सुम्याउँदै आशिर्वादका स्पर्श छाडेर सोधेको थियो– “बिर्सन त बिर्सन्नौ नि हगि छोरा हामीलाई ....”
छोरा नातिहरूको विदाइका ती क्षण उनीहरूका लागि जिन्दगीको सबैभन्दा ठूलो पीडाका क्षण बनेका थिए । उसको बाबु मन केही कठोर देखिए पनि रोगी आमाको कोमल मन त अरु भिज्दै भिज्दै भल बनेर पोखिएक थिए दुबै आँखाबाट । मन आँखाबाट आँसुका भल बगाएर विदाइका क्षणसम्म पनि उनीहरूको बाटो छेक्न खोज्दै थिए सायद् । आजसम्म बूढेसकालका सहारा ठान्दै आएका छोरा नातिलाई बडो कठोर मनले लगाइदिएका थिए उनीहरूले विदाइको टीका ! यसरी नै एक पछि अर्को गर्दै छाडिँदै गए उनीहरू, उपभोक्तावादको तीब्र आकर्षणबाट खोसिँदै गए तिनका आधार र आश्रयहरू !
छोराछोरीको भविष्यका नाउँमा आफ्ना सन्तानले त्यसरी मोटर बंगला, छोराछोरीको विदेशी रहनसहनलाई देश र बाबु आमा प्रतिको कर्तव्यलाई भन्दा बेसी ठानेर लाहुरे बनेपछि तिनैको सम्झनामा उसकी श्रीमती सुर्ताउँदै गएकी थिइन् । केही समयपछि नै रोगाउँदै ओछ्यान समाउन पुगेकी उनमा बाँच्ने इच्छै बाँकी रहेन ।
छोरा छोरीको हातबाट एक घुट्को पानीको आशा समेत पूरा नहुने कुरा बुझेर पनि उनी अन्तिम समयसम्मै छोराछोरीको आउँछन् भन्ने आशा पालेर बसिन् । उनका कानमा विदाहुँदाका क्षण उनीहरूले दिएका मिथ्या वाचा गुन्जिइरहेका हुन्थे– आमा चिन्ता नगर्नोस्, आराम गरेर बस्नोेस् । अब दुःख गर्नु पर्दैन । तपाइँहरूलाई आरामसँग बसेर खान र औषधी उपचार गर्न पुग्ने पैसा पठाइहाल्छौं । विसन्चो भयो भने खबर गर्न अल्छी नमान्नुहोला, हामी भोलिपल्टै आइपुग्छौं ! पिर गर्नु पर्दैन ।
तर उसलाई भने त्यसको पटक्कै विश्वास थिएन । उनलाई थाहा थियो, त्यो उनीहरूको आश्वासन मात्र थियोे, जसमा पूरा गर्ने कुनै प्रतिबद्धता भेटिँदैनथ्यो । विचरी तिनकी आमा भने त्यही औपचारिक आश्वासनलाई विश्वासको दरिलो बज्रलेप गरेर प्रतीक्षामा आँखा ओछ्याइरहिन् ।
“पिर नगर्नोस्, उनीहरू पक्कै आउँछन् । म नभए पनि छोराछोरी छन्...तपाइँलाई एक्लै पक्कै छाड्दैनन् ।...म नभएपनि तपाइँ एक्लो हुनुहुने छैन ...!” बिरामी पत्नी उसलाई प्राय आश्वस्त तुल्याउने गर्थिन् । उसलाई छोडेर अनन्तमा विलीन हुनुपूर्व पनि उनी अझै आशावादी थिइन– उनीहरू पक्कै आउने छन् । बूढा बाबुको हेरचाह गर्ने छन् ।”
तर आमा अन्तिम अबस्थामा पुगेकी खबरले पनि उनीहरूलाई फर्काउन सकेन । कठोर मन पगाल्न सकेन । दूरभाषमा चिन्ताको औपचारिक प्रकटीकरण र केही डलरको मनी अर्डरसँगै प्लेनको टिकट नपाइएकोदेखि काम छाड्न नमिलेको बहानाका ओइरो मात्र लागे । त्यतिलाई नै सन्तान हुनुको कर्तव्य ठाने ।
उनलाई त्यो औपचारिकता र त्यही औपचारिकता पूरा गर्नका लागि पठाइएको पैसाको जरुरत थिएन । जरुरत थियो मुत्यु शैय्याम रहेकी पत्नी र सायद आफैंका लागि पनि आफन्तको माया र स्नेहपूर्ण सेवाको अनुभूति । चाहिएको थियो यो अशक्ततामा पनि हामी एक्लै छैनौं, सन्तनको मायाको दरिलो आड छ भन्ने अनुभूति । त्यो नै नभए पछि केही डलरको सहयोग स्वीकार्नुको कुनै अर्थ देखेनन् उनले । त्यसैले मनी अर्डर जस्तो आएको थियो त्यस्तै फर्काइदिएको थियो उसले ।
छोरा नाति विदेशिए पछिको उनका एकाकीपन र न्यास्रो श्रीमतीले छाडेपछि झनै असह्य बनेको थियो । श्रीमती छउन्जेल त खासै एक्लोपनको अनुभव भएन उनलाई, तर श्रीमतीले छाडेपछि भने उनी साँच्चि नै एक्लो भएको अनुभव गर्न थालेका थिए । यो विशाल संसारमा सबै भएर पनि उनी कोही नभएको अनभूतिले लखेटिन थाले । कोही नभएको घर दिउँसै तर्साउने भुताहा खण्डहर जस्तै लाग्थ्यो उसलाई । छिमेकी र काम गर्ने सानी केटीको आश्रयमा बिताइने एक एक सेकेन्ड उसका लागि काट्नै मुस्किल युग सावित भइरहेका हुन्थे । त्यही एक्लोपनबाट लखेटिएर उनले निर्णय गरेका थिए– पत्नी र सन्तानको सम्झनाले सधैँ लखेट्ने रगत पसिना सिन्चेर खडा गरेको त्यो आफ्नो ठानेको घरबाटै मुक्ति लिने । त्यो निर्णय गरेर उनले बाँकी घर सम्पत्ति यही वृद्धाश्रमलाई दान दिए, आफू स्वयम् त्यही वृद्धाश्रमको आश्रयमा आएका थिए । त्यसको जानकारी दिने पनि आवश्यकता ठानेनन् उनले आफ्ना ती लाहुरे सन्तानलाई !
यहाँ आएपछि उही आश्रमको सेरोफेरो उनको सिंगो संसार बनेको थियो। सानैदेखि परिश्रममा हुर्केका मास्टर बाजे यहाँ आएर पनि आफूलाई श्रममैं व्यस्त राख्थे, एकाकीपनबाट मुक्ति पाउने असफल प्रयत्नमा । उनी आएको लगत्तै आश्रमको एउटा कोठा कक्ष कोठामा बदलियो । बिहान बेलुकै आश्रमका बूढाबूढी र छेउछाउका असहाय श्रमिकका छोराछोरी जम्मा गरेर पढाउने काम थाले उनले र सबैले उनको नाम बिर्से, मास्टर बाजे बन्यो उनको नामको पर्याय । उनी बूढाबूढीलाई यसबाट आफूलेजस्तै सन्तानको उपेक्षा बिर्साउन मद्दत गर्थे, साना केटकेटीबाट आफ्ना सन्तानमा पाउन नसकेको आदर्श उमार्ने प्रयत्न गर्थे । उनीहरू तिनको अनुहारमा आफ्ना विदेशिएका नाती नातिनाका अनुहार देखेर सबै कुरा बिर्सन्थे पनि । तिनैलाई भएभरको स्नेह पोखेर आफ्ना नातिनातिनालाई माया गर्न नपाएको अभावपूर्ति गर्ने गर्थे ।
“होइन, के सोचिरहेनुभएको अझैसम्म । के टोलाएर बस्नुभएको ? अघि नै भन्या होइन, कौला खाएर मात्र पढाउन थाल्नोस् भनेर ! हेर्नोस् त, सेलाएर हिउँ भैसक्यो !” आफू कति काम सकेर फर्कँदा पनि बूढालाई त्यसरी नै आफैंमा हराइरहेको देखेर उसले फेरि गुनासो ग¥यो । कृष्णको आवाज सुनेपछि बल्ल उनी विगत स्मृतिबाट वर्तमान यथार्थमा आए थिए । उनी लामो निश्वास फाल्छन्– हिजोजस्तो लाग्छ गएका, चार पाँच वर्ष वितिसकेछ !
“कृष्ण....तिमी मेरो छोरो भैदिया भए.....!” उनको मुखबाट अनायास निस्कन्छ । सम्पूर्ण समय र सम्पत्ति खर्चेर शिक्षित र योग्य बनाएका बुढेसकालका सहारा मानिने छोरा छोरी सबै नै विदेश मोहमा परेर विदेशिँदै गएपछि उनमा आफन्तप्रति वितृष्ण जन्मनु स्वाभाविक थियो । अझ स्वाभाविक थियो अर्को कुनै अनुहारमा आफ्नो मनको अदर्श सन्तानको छाया खोज्नु । यस वृद्धाश्रममा आएदेखि नै नातागोेता इस्टमित्र सबैसँग सम्पर्क विहीन बनेर गुमनाम जीवन बिताइरहेका मास्टर बाजेको यो अनायास अभिव्यक्तिभित्रको मर्म कृष्णले बुझ्यो बुझेन, तर सुनेर उसले खुसीको भने अनुभव ग¥यो !
तनहुँको कौशिकी पत्रिकामा गएको
२०६६ असोज १५
आरुबारी


३. एउटा सपनाको अन्त्य

डिसेम्बरको चिसो बिहानीको ठण्डीभन्दा पनि मनभित्रको चिसो बढी पीडास्पद अनुभव गर्दै थिई ऊ । त्यो मनभित्रको चिसो कुहिरोजस्तै विगतलाई अप्रिय सपनाझैं सिनित्तै पुछेर फाल्ने यज्ञको पूर्णाहुतिमा अघि बढाउँदै थिई ऊ आफ्ना पाइलालाई ! सुरुमा स्वर्णिम सपना बोकेर पसेकी न्युयोर्क अहिले उसका लागि सबैभन्दा अप्रिय सपनाजस्तै बनेको थियो । त्यही न्युयोर्कलाई सधैंका लागि छाडेर अन्तर्राष्ट्रिय विमानस्थल जानका लागि ट्याक्सी समातेकी थिई उसले । कुहिरोले बाहिरको वातावरणलाई त अँध्यारो बनाएको थियो नै, उसको मन पनि विगतका अति तीव्र गतिमा घटित घटनाक्रममले अँध्यारै बनाइदिएको थियो । ट्याक्सीको सिसाबाट छिरेको मटमैलो उज्यालोले अँध्यारै बनाएको ट्याक्सीको पछिल्लो आसनमा आफूलाई थकित थकित मिल्काएर आँखा पूरै चिम्लेर ती विगत त्रासद समयलाई त्यहँ छाडिदिने उसको प्रयत्न त्यति सजिलो थिएन । डेराबाट निस्कनु कुनै अलमलको कुरा थिएन, न्युयोर्क उड्दा त्यतिबेला काठमाडौंमा घर र विमानस्थल दुवैमा उसको बिदाइका लागि भिजेका आँखा र उठेका हात कुनैको पनि अस्तित्व थिएन यहाँ । न त काठमाडौंदेखि न्युयोर्कसम्म त्यतिबेला पाएको लोग्नेको साथ नै थियो यतिबेला उसँग । कतै मोही थिएन– एक्लै थिई ऊ यतिबेला, नितान्त एक्लै ! एक्लै न्युयोर्कको त्यो अप्रिय सपनालाई सधँैको लागि पुछेर फाल्न हिँडेकी थिई ऊ त्यहाँबाट ।
हिजोको उसका यात्राका उत्साह, उमङ्ग र सुन्दर सपनाहरूको अन्त्य यसरी होला भन्ने कल्पनासमेत गरेकी थिइन उसले । अरुले उदार र जिवनको एकमात्र सपना ठान्ने गरेको सपनाको स्वर्ग अमेरिका उसको लागि भने अत्यन्त क्र,ूर र कहिल्यै नसुक्ने घाउ बनेको थियो । उसको तीनवर्षे न्युयोर्क प्रवास यसरी अन्त्य भएको थियो, उसका अमेरिका प्रवास, ऐश्वर्यभोगको सपना अर्थात सुखसयल र भौतिकजीवनको तृप्तिका कल्पना सबै नै समाप्त भएका थिए, पूरै नभए र उसको आफ्नै स्वाभिमानसँग पराजित भएर ।
यतिखेर ती सबै कुरा यसरी समाप्त होला भन्ने उसका लागि त्यति सजिलै पत्याउन सक्ने कुरा नभए पनि तर सत्य यही थियो । हो, जीवनको त्यो सुरुआतमा सबै ठीकै लाग्दै थियो उसलाई; एउटा नयाँ उत्साह, एउटा नयाँ रोमाञ्च र जीवनको एउटा नयाँ बिहानीका झिलीमिली सपना बोकेर सुरु भएको उसको जीवन यसरी तीन वर्ष पुग्दा नपुग्दै समाप्त होला भन्ने उसले त्यतिबेला सोच्ने कुरा पनि थिएन, तर भयो त्यस्तै । ती कालखण्डका प्रत्येक क्षण त्यसबाट मुक्तिका लागि छटपटाइरही ऊ !
ट्याक्सी विमानस्थल पुगेर रोकियो र “तपाईं आफ्नै देश फर्कँदै हुनुहुन्छ ?” भन्ने ट्याक्सी चालकको आवाज सुनेर मात्र ऊ पुनः वर्तमानमा फर्किएकी थिई ।
“हो, म आफ्नै देश फर्कँदै छु,, मेरो आफ्नै प्रिय देश जहाँ मेरा आफन्त छन्, मेरो माटोको. सुगन्ध र छ मेरो आफ्नो अस्मिता !” चालकको प्रश्नमा ऊ चाहिनेभन्दा बढी बोलिरहेकी थिई । उसको भनाइमा त्यो देशप्रति आक्रोश थियो कि साँच्चि नै स्वदेशप्रतिको अनुराग, ऊ आफैंलाई पनि स्पष्ट थिएन सायद ! त्यतिबेला ऊ आफ्नै शब्दहरू कमा कता टाढाबाट आएजस्तै लागेको थियो उसलाई । उसलाई त्यतिबेला छात्ती गह्रुङ्गो ढुङ्गाले थिचेझैं लागिरहेको थियो ।
ऊ ट्याक्सीबाट निस्किई, साथमा साना साना दुईवटा सुटकेस थिए र थिए मुटुभरिका घाउहरू तीन वर्षे अमेरिका प्रवासका आर्जन ! विमानस्थलका नियमित प्रक्रिया सकेर यात्रु विश्राम कक्षमा बसेर विमान उड्ने समयको प्रतीक्षा गर्दै रही ऊ । विश्राम कक्ष बिस्तारै भरिँदै थियो, फाट्टफुट्ट गर्दै नेपाली अनुहारहरू पनि थपिँदै थिए । कोही सायद ऊजस्तै सबै सपनाहरू चुँडिएर प्रत्यागमनका लागि पाइला उचालिरहेका, कोही उनकै लोग्नेको जस्तै देखाउन चाहिने पत्नीशिकारको खोजीमा स्वदेश फर्किरहेका, र कोही लामो समयपछि माटो नबिर्सिएको भ्रम छर्न आफन्त भेट्ने निहुँले बिदा मनाउन गइरहेका ! तर ती अनुहारहरूको कोही परिचित नहुनु उसको लागि सबैभन्दा ठूलो सन्तोषको कुरा थियो । नभए हरेकको जवाफमा दिनुपर्ने स्पष्टीकरणको अर्को पीडा खप्नुपर्ने थियो उसले !
पट्यारलाग्दो प्रतीक्षापछि विमान प्रवेश गर्ने सूचना प्रसारण हुनुसँगै लामकै एक अङ्ग भएर विमानको वेश सोपानसम्म पुगी ऊ । विमान प्रवेश गरे आफ्नो स्थानमा बस्नासाथ आँखा चिम्लिएर फेरि आफ्नो त्यो तीनवर्षे प्रवासलाई मनदेखि नै सिनित्तै पुछेर फाल्ने असफल कोशिस गर्न थाली उसले ।
“म्याडम ड्रिङ्क्स !” परिचारिकाको कता कताबाट आएजस्तो आवाजले उसलाई फेरि वर्तमानमा ल्याएर मिल्काइदिएको थियो त्यतिबेला । कुनै कुराको चाहना थिएन उसलाई । एकपछि अर्को गर्दै परिचारिकाहरूले सेवार्थ प्रस्तुत गरेका पेयपदार्थदेखि अखबार, सङ्गीत श्रवणार्थ हेडफोन, उपलब्ध सिनेमाका नामसूची पुस्तिका– कुनै कुरामा पनि रुचि देखाइन उसले । लाग्यो उसको मन सबै कुरासँग अघाइसकेका छन्, कुनै उत्समाह, उमङ्ग र रौस केही बाँकी छैन उसभित्र !
आँखा चिम्लेर सबै कुरा बिर्सने प्रयास गर्दा गर्दै पनि मनभरि विगत चित्रहरू एकपछि अर्को फैलँदै थिए । उसको पुस्ताका धेरैमा देखिने अमेरिका गमनको सपना उसको पनि सपना थियो । कलेजका साथीजस्तै उसले पनि अमेरिका प्रवेशको ढोका खोल्ने डाइभर्सिटी चिठ्ठा भर्ने अभ्यासलाई पढाइ छाडेरै हरेक वर्ष निरन्तरता दिएकी थिई । समाजमा चलेको द्वन्द्व, राज्यको उचित नीति र विकासप्रयासका अभावमा बढ्दो बेरोजगारी र पश्चिमी त्यसमाथि पनि अमेरिकालाई आजको स्वर्ग ठान्ने मानसिकताको गुमास्ताहरूका अमेरिका पुराणहरू सुन्दा सुन्दा उसलाई पनि यो देशमा बसेर केही हुँदैन, जे जसरी पनि अमेरिका पसेर मनग्गे धन कमाएर उतैको नागरिकता हात पार्नुपर्छ भन्ने इच्छाले हरबखत लेखेटिरहन्थ्यो । तर डीभीले भने कहिल्यै पत्याएन उसलाई । हुन त डीभी परेकै पनि कतिपय मानिस घरखेत बेचेर ठूलो रकमको शुल्क बुझाएर पनि प्रवेशाज्ञा पाउन नसकी विक्षिप्त बनेका नदेखेकी थिइन उसले । तर आफ्ना छिमेकी र नातागोताका सन्तानहरू एक एक गर्दै विभिन्न उपायले त्यतै हान्निँदै गरेको देख्दा ऊ स्वयम्. हीनताबोधले खुम्चिँदै गएकी थिई र त्यसरी नै खुम्चँदै थिए उसका बाबु आमा ! त्यसैले उनीहरू छोरीको अमेरिकामा घरजम भएको हेर्न चाहने जवान छोरीका अरू बाबुआमजस्तै उसका आमाबाबु पनि नेपाली केटी बिहे गरेर त्यहीँ लैजाने ग्रिनकार्डहोल्डर अमेरिकाबासी नेपालीको युद्धस्तरमा खोजी गर्दै थिए ।
डीभी चिठ्ठा वा अमेरिका पस्ने टिकटका रूपमा विशेष गरी शहरी नेपाली बिहेको बजार अमेरिकी ग्रिनकार्ड होल्डर वा अमेकिका रिटर्न केटाहरूको मागले गर्माउँदै थियो । प्राय शहरी पढेलेखेका युवतीहरू आफ्नो सपनाको राजकुमारका रूपमा अमेरिकाको स्थायी वा अस्थायी प्रवेशाज्ञाप्राप्त युवकहरू हुने गर्थे । त्यस्तो सपनाको राजकुमार बन्नका लागि योग्यतामा चरित्र, शिक्षा र सद्गुण गौण बन्दै जाँदो थियो, अमेरिकी ग्रीनकार्ड वा डीभी लटरी सबैभन्दा ठूलो योग्यता हुन्थ्यो र पहिलो प्राथमिकता पनि ! नभए दोस्रा–तेस्रा प्राथमिकतामा पर्थे युरोप र एसियाकै बेलायत, जापान, कोरिया, अस्टे«लियाजस्ता अन्य मुलुकहरू । छोरीहरूको त्यो सपनामा आधुनिक बाबु आमाको पनि पूरै आडभरोसा थियो । ‘मेरी छोरी त अमेरिका गई नि बिहे गरेर’ भन्न पाउँदा आमाबाबुहरू असीम गर्व र सन्तुष्टिको अनुभव गर्थे । शिक्षित र सुन्दर केटीहरू अमेरिकाबासी केटोद्वारा छानिनका लागि लाममा बस्न तयार देखिन्थे, आफूलाई अमेरिका आवासका लागि आवश्यक भाषा, रहनसहन र व्यवहारमा सानैदेखि अभ्यस्त तुल्याउँथे– बार, डिस्को र डान्समा अभ्यस्त तुल्याउँनु उनीहरूको पढाइजत्तिकै प्राथमिकता बन्दै थियो । अमेरिका बासी ज्वाइँको सपनामा रम्ने बाबु आमाहरू छोरीहरूलाई स्कृुल जाने उमेरदेखि नै ती काममा प्रोत्साहित गर्थे, जसबाट भोलि त्यस्ता केटाहरूद्वारा छानिन सहज होस् ! यस क्रममा उनीहरू बिहे गर्ने केटो अमेरिका बस्छ भन्ने बाहेक अरू कुरा जान्नेसमेत आवश्यकता ठान्दैनथे । अमेरिका शब्दको मोहनीले नै सबैकुरालाई योग्य सिद्ध गराइदिन्थ्यो । हतार हतार सातादशदिनमा बिहे सकेर छोरीलाई अमेरिका उडाउन पाए उनीहरू पाथी भात खाएको अनुभव गर्थे । अनि छोरी अनेकौं सप्तरङ्गी सपना बोकेर ऐश्वर्यको देश अमेरिका प्रवेश गर्थी ।
“दश वर्षदेखि अमेरिकामैं छ रे, अस्थायी नागरिकता लिइसकेको ! स्थायी नागरिकता पाउने भैसकेको छ रे ! त्यसले मान्यो भने त हाम्री छोरी राजकुमारी भएर बस्छे अमेरिकामा । त्यसैले कुनै हालतमा छाड्नुहुन्न त्यस्तो केटोलाई बुझ्नुभो !” ठीक त्यस्तै सपना देखिरहेका उसका बाबुआमाले पनि छेरीको बिहेका लागि अमेरिकी ज्वाइँको खोजी गरेका थिए । बिहेकै लागि नेपाल पसेको अमेरिकी ग्रिनकार्डहोल्डर कन्यार्थीको भएर आएपछि आमाको खुशीको लेखै थिएन ।
“हो, तर कस्तो हो ! अमेरिका बसेको भन्दैमा सबै राम्रा नै हुन्छन् भनेर भन्न सकिन्छ र ? चालचलन कस्तो छ, उतै गोरी राखेको पो छ कि, के थाहा । अलि अलि नबुझी उसले मान्यो भने नै पनि त्यसै दिइहाल्नु होला र ? त्यसमाथि हाम्रै छोरीसँग बिहे गर्छ भन्ने पनि के छ र ? उसलाई छोरी दिनखोज्ने हामीजस्ता अरू पनि त कति होलान् !” बाबुको दोधार पनि सुनेकी थिइन उसले त्यतिबेला र उसले बाबुको भन्दा आमाकै विचार ठीक ठानेकी थिई– त्यत्रो वर्ष अमेरिका बसेको मान्छे, अस्थायी भए पनि त्यहीँको नागरिकता पाइसकेको, के नै पो बुझ्न जरुरी होला र !
चाँडै नै सबै कुरा मिलेर विवाहको सूत्रमा बाँधिँदा असाध्यै खुशी भएकी थिई ऊ र सबै दौंतरीहरूका ईष्र्यापात्र बन्न पुगेकी थिई त्यतिबेला । केही समयपछि नै नयाँ नयाँ सपना बोकेर पाताल पसेकी थिई, नयाँ जीवनसाथीसँगै ।
सुखद सपना बोकेर पाताल पसेको तीनमहिना पनि नपुग्दै दाम्पत्यजीवनदेखि पाताल भोगका ती सबै कल्पनाहरू सपना मात्रै बन्नेछन् भन्ने कुनै शङ्का हुने कुरा पनि थिएन त्यतिबेला । तर त्यस्तै भयो, नयाँ सपना बोकेर पाताल पसेकोे तीन महिना पनि दुःस्वप्नभन्दा बढी ठहरिएनन् उसका लागि ।
“बाबु अमेरिकामा के काम गर्नुहुन्छ नि ?” उ सम्झन्छे आमाको प्रश्न थियो त्यो ।
“कम्प्युटर इन्जिनीयर छु, एउटा ठूलो फर्ममा ।” अमेरिकाका ठूलोे फर्ममा कम्प्युटर इन्जिनियरको जागिर भन्ने सुन्दासाथ अरू केही जान्ने आवश्यकता थिएन उनीहरूका लागि र खुशीसाथ ज्वाइँ स्वीकारेका थिए उसका आमाबाबुले । उसले आफ्नो बारेमा बताएका सबै कुरा आँखा चिम्लेर स्वीकारेकी थिई उसले । उसले मात्र होइन उसका आमाबाबुले पनि सबै कुरा सत्य माने । अमेरिकी जीवनमा सुखभोगको सपनामा चुर्लुम्म डुबेकी उसले त त्यतिखेर त्यो अपरिचित ग्रिनकार्ड होल्डरको कुरामा अविश्वास गर्ने प्रश्नै थिएन । हो जीवन बिताउने उसले नै बढी जान्नचाहनु पथ्र्यो, आफ्नो भावी जीवन साथीका बारेमा, अमेरिकाको जादुमा चुर्लुम्म डुबेकी उसले त्यसको आवश्यकता नै ठानिन ।
तर अमेरिका पसेको केही दिनपछि नै लोग्नेको वास्तविकतासँग परिचित हुँदै जाँदा छाँगाबाट खसेजस्तै भएकी थिई ऊ ! लोग्नेको शिक्षा, काम र अमेरिकामा उसको आर्थिक अबस्था कुनै कुरामा आंशिक सत्यसमेत फेला पार्न सकेकी थिइन उसले ।
“किन ढाँट्नुभयो हामीलाई, के सत्यबोल्ने हिम्मत समेत थिएन तपाईंमा ?” उसको सत्य थाहा पाएपछि आक्रोशित भएकी थिई ऊ ।
“के मैले तिमीसँग त्यहाँ सत्य भनेको भए तिमी बिहे गथ्र्यौ मसँग ? मलाई मेरा नातागोतालाई देखाउन पनि बिहे गर्नु आवश्यक थियो, यहाँको समाजमा इज्जतिलो भएर बस्न पनि मैले परिवार जोड्नु जरुरी थियो । त्यसमाथि यो सत्य के बताउन सक्ने सत्य थियो र ?” उसले आफ्नो झूटो व्यवहारलाई सामान्य रूपमा लिएर चित्त बुझाउन खोजेको थियो उसको ।
अफिसले दिएको सत्य नभए पनि एउटा ठीकैको अपार्टमेन्ट थियो उसको, त्यहाँ पुगेर श्रम बेच्ने धेरैले जस्तो दर्जनौंसँग दामासाही भाडाको अपार्टमेन्ट सेयर गर्नुपर्ने अवस्था थिएन उसको । त्यस्ता कतिपय अमेरिकामा स्वर्ग खोज्नेहरूको जस्तो १०ह१२ आकारको एउटै कोठालाई पूरा संसार ठानेर बितिरहेको देखेकी थिई उसले आएको केही दिनपछि नै । त्यही सानो कोठा उनीह्रूको सबैथोक थियो– बेडरुम, डाइनिङ रुम, किचन, ड्रङइङ् रुम सबै । पकाउने, सुत्ने, खाने र पाहुना बसाल्ने सबै काम त्यही कोठामा गर्न नचाहनेले पकाउन र खान साझा किचन खाली हुने प्रतीक्षा गरिरहेका देखिन्थे । त्यसरी अमेरिकी स्वर्गानुभूति गरिरहेका धेरैको अगाडि उसको लोग्ने सम्पन्न जीवन बाँचिरहेको थियो, उसले देखेकै सपनाजस्तो सम्पन्नता थियो घरमा । ऐश्वर्र्यभोगका सबै साधन उपलब्ध थिए, कुनै कुरोको कमी देख्दिनथी ऊ– राम्रै सिङ्गो घर थियो, घरमा आधुनिक सुविधाका सबै उपकरण थिए, महँगो मोटरकार थियो । सुरुसुरुमा सबै कुरा थाहा नपाउन्जेल त ती सबै देखेर उसलाई आफू संसारकै सुखी स्वास्नीमान्छे ठानेकी थिई जसले किशोरी अवस्थामा देखेका सबै सपना आज रातारात पूरा भएका छन् । त्यसैले आफना ती सबै सपना पूरा गरिदिने लोग्नप्रति भएभरको माया ओछ्याइदिने चाहना राख्थी ऊ, पूरै पूरै सर्मिर्पत तुल्याउन चाहन्थी ऊ ! तर किन हो लोग्ने भने ती सबै कुराबाट निस्पृह रहेझैं लाग्थ्यो उसलाई । उसको त्यो समर्पणलाई पूरै बेवास्ता गरिदिन्थ्यो ऊ र सधँै थकित थकित देखिन्थ्यो, लोग्नेस्वास्नीबीचको हर सम्बन्धबाट भागेजस्तो, पन्छन खोजे.जस्तो । आफैँसँग सोध्थी ऊ–किन कुनै उत्साह छैन उसमा । आखिर जति नै थाकेर आए पनि हर लोग्नेमान्छे आफ्नी पत्नीको सान्निध्य चाहन्छ, साथ चाहन्छ र चाहन्छ आफूप्रतिको सम्पूर्ण समर्पण । तर किन किन आफू यसरी पोखिन खोज्दा पनि डुब्न चाहँदैन ऊ उनीभित्र, किन यी केही चाहना देखिँदैनन् उसमा ? कहिलेकहीँ त शङ्कासमेत गर्थी ऊ– कतै शारीरिक र मानसिक दुर्बलताको शिकार त छैन उसको लोग्ने ?
त्यसपछाडिको यथार्थ जान्ने प्रयासमा जति जति उसको सत्यसँग साक्षात्कार हुँदै गयो त्यति त्यति नै उसलाई लोग्ने र स्वयम् आफ्नै जीवनदेखि वाकवाकी लाग्न थालेको थियो । आइटी इन्जिनियर भनेको लोग्नेले वास्तवमा यौन असन्तुष्ट धनी गौराङ्गनाहरूलाई आफ्नो कथित पौरुष बेचेर ती सबै सुखसयलका साधन जुटाइरहेको सत्यसँग परिचित हुँदा छाँगोबाट खसेजस्तै भएकी थिई ऊ । छिः पुरुषबेश्या ! यो धिनलाग्दो सत्यसँग परिचय भएदेखि नै उसलाई लोग्नेको अघिल्तिर पर्दासमेत घिन लागेर आउँथ्यो, वाकवाकी लागेर आउँथ्यो । उसँग बिताउनुपर्दाका हरेक क्षण कठोर यन्त्रणा बन्दै गएको थियो उसका लागि । आफ्नो समर्पणप्रतिको बेवास्ताको अर्थ यसरी बल्ल बुझ्दै गएकी उसले बिस्तारै । पैसाको लागि दिनहुँ तीनचार प्रौढ गौराङ्गगनाहरूसँग शरीर गिजोल्याएर थकित थकित घर फर्कने उसको लोग्नमा त्यो समर्पणको भावात्मक प्रत्युत्तर दिने तागत र उत्साह नै कहाँ बाँकी रहन्थ्यो र ! एक मनले भन्थ्यो– बाँच्नको लागि नै त बेचिरहेछ ऊ यसरी आफ्नो शरीर । तर त्यो तर्कले चित्त बुझाउन सक्दिनथी ऊ । बाँच्नका लागि त अरू काम पनि छन्, जसरी अरूले गरिरहेका छन्– कोही रेस्ट्राँमा भाँडा माझेर सपना किन्ने प्रयास गरिरहेछन्, स्वदेशमा घरमा श्रीमतीलाई र अफिसमा आफ्ना जुनियरमाथि हुकुम चलाएर खाइरहेको कोही डलर सम्मोहनमा फसेर यहाँ श्रमलाई चिहान खन्ने काममा साट्दै डलर कामइरहेका छन्, र कोही ग्यास स्टेसनमा ग्यासोलिनको प्रवाहसगै ज्याला थापिरहेका छन् डलरमा । स्वदेशको सम्मानजनक जीवनबाट पलायित अरू पनि त धेरै छन् जो डलरको सम्मोहनमा आफूलाई बिताइरहेका छन् । तिनमा बरु केही आत्मसम्मान बाँकी देख्छे ऊ आफ्नो लोग्ने र लोग्नेहरूजस्तै पैसाकालागि शरीर बेच्नेहरूभन्दा ।
”ओहो, यति ठूलो धोका । कसरी लोग्ने मानौं म पैसाको लागि पौरुषको व्यापार गर्ने लोग्नेमान्छेलाई ?”
”मैले जबर्जस्ती गरेको त थिइन, बिहे गर्न र यहाँ आउन !” आफ्नो सत्यबारे परिचित हुँदै गएकी स्वास्नीको आफूप्रति देखिने उपेक्षाभावबाट सुरुसुरुमा ऊ निकै चोट खाएको अनुभव गथ्र्यो । आफूसँग जम्काभेट हुँदासाथ स्वास्नीमा देखिने विद्रोहको लप्काबाट पिल्सिएको अनुभव गर्दा आफ्नो बचावट गर्ने प्रयत्न गथ्र्यो ऊ– हेर, यो भौतिकताको उपभोक्तावादी संसारमा सबै कुरा स्वाभाविक छ, आफूलाई बचाइ राख्न र ऐश्वर्यको उपभोग गर्न हर कुरामा सम्झौता गर्नै पर्छ । भन त के नै भयो, धन कमाउनैका लागि म सम्पन्न गौराङ्गनाहरूलाई यौन सन्तुष्टि दिन्छु, उनीहरूको गोप्य यौनसाथी बनिदिन्छु केही समयका लागि । चिहान खनेर र कुहिरेका जूठा भाँडा माझ्दै केही कमाउनुभन्दा आफूलाई मालिकझैं ठान्ने तिनैका पत्नीहरूलाई तिनबाट प्राप्त हुन नसकेको सुखभोग गराएर तिनलाई निचा देखाउनु बढी उपयुक्त लाग्यो मलाई । भन त के नै फरक छ र मेरो पौरुषबाट आनन्द प्राप्त गर्ने उनीहरूको अपार सम्पत्तिबाट केही अंश प्राप्त गर्नुमा अरु कामबाट गरिने आर्जनभन्दा ? आखिर केही न केही बेच्नैपर्छ केही कमाउन ! मैले तिमीलाई धोका दिएर अर्कीसँग लागेको त हैन नि । सम्झ कुुनै अफिसमा खाइने जागिर हो यो, जसमा इच्छुक महिलालाई केही यौन आनन्द दिएर डलर कमाउँछु म !
हो, उसको र उसका आमाबाबुको राजीखुसीमैं भएको थियो उसको विवाह । कुनै जबर्जस्ती थिएन त्यहाँ । कुनै कुरा दोषी थियो भने अमेरिकाजस्तो सम्पन्न मुलुक पसेर ऐश्वर्यपूर्ण जीवनभोग गर्न पाउनुलाई नै जीवनको एकमात्र अभीष्ट ठान्ने उसको अल्लारे मानसिकता दोषी थियो । त्यही मानसिकतामा त कुनै जानपहिचान, कुनै बुझबुझारथ खुसी खुसी बाँधिएकी थिई उसँग विवाह बन्धनमा । त्यसैले नराम्ररी घोचिएकी थिई ऊ उसको त्यो बिहे गर्न मैले कुनै जबर्जस्ती त गरेको थिन नि भन्ने भनाइबाट ।
“किन छैन, केही नभए पनि स्वाभिमान त छ, इज्जत त छ ! त्यही देशको माटोले त दियो विदेशमा रगत सिञ्चन सक्ने शक्ति । यसरी विदेशमा स्वत्व गुमाएर आफैं बेचिई बाँच्नुभन्दा स्वदेशकै माटो कोर्नु राम्रो होइन र ?” उसको भनाइ केही अंशमा सत्य भए पनि प्रतिकार गरेकी थिई उसले र पातालप्रतिको मोहभङ्गको उद्घाटनसमेत गरेकी थिई त्यतिबेला ।
“सजिलै यो भौतिक सुख कसरी प्राप्त गर्न सकिन्छ त्यो देशमा....! फर्केर आफ्नै देश जान पनि त सकिन्न । के नै छ र त्यहाँ पनि, सबै छाडेर त आई नै सकियो !” ऊ आफूलाई सही ठह¥याउने अरू तर्क गथ्र्यो ।
“भो चाहिएन मलाई यस्तो कामबाट कमाएको सुखभोग । के सुख भौतिक मात्र हो, मनले कुनै सुख र सन्तुष्टि पाउन पर्दैन ? आत्मसम्मान र आत्मसन्तुष्टि केही होइन ? भन्नोस् त, लोग्नेबाट पाउनुपर्ने कुनै मानसिक र शारीरिक सन्तुष्टि दिनसक्नु भएको छ मलाई आजसम्म ? चाहेर पनि त लिनसक्दिन म अब तपाईंसँग ती कुरा । सलबलाइरहेको देख्छु म तपाईंका शरीरभर घिनलाग्दा जुकाजस्तै पराइ स्वास्नीमान्छेका शरीरहरू र त्यो कल्पनाले मात्रै पनि तपाईंबाट म ती आनन्द र सन्तुष्टि अब चाहेर पनि पाउन सक्दिन बुझ्नुभो !”उसभित्रका विद्र्रोहाग्नि निभ्नुभन्दा अरू सल्किँदो थियो ।
तर पनि सुरु सुरुका दिनमा केही समयका लागि केही दिनको शीतयुद्धपश्चात् ऊ आफैंले युद्धविराम गथ्र्यो – ठीक छ, म अब यो छाडिदिन्छु, । म आपैंm पनि कहाँ चाहन्छु र यसरी बाँच्न, तर यो ठाउँमा बाँच्नु त प¥यो नै होइन र ?”
हो, बाँच्नु सोचेजस्तै सजिलो थिएन । उसले सुरुमा जे सोचेकी थिई, ती केही सत्य भए पनि त्यहाँ पस्नासाथ काम र डलरको ओइरो लाग्ने कुनै सम्भावना रहन्नथ्यो । गरिब देशका बलिया पाखुरीलाई सस्तो ज्यामीका रूपमा आकर्षित गर्दा त्यसका एजेन्टहरूले जे जस्तो सपनाका फूलझडी देखाउँथे, तर यथार्थमा त्यस्तो केही पाएकी थिइन उसले । वास्तवमा त्यही फूलझडीका इन्द्रेणी रङ्गमा रङ्गिएरै त उसले पनि त्यहाँको सपना देख्दै आएकी थिई । स्वप्नदर्शी वयका युवा–युवती मात्र होइन, अमेरिकाबासी छोरा–छोरीका आमा बाबु भनाउनुमा सामाजिक इज्जत ठान्ने दरिद्र मानसिकताका बाबुआमाको सपना पनि तिनै सप्तरङ्गी सपनामा रङ्गिदैं गएका थिए ।
नभन्दै केही दिन उसले आफ्नो त्यो घिनलाग्दो पेसाबाट आफूलाई अलग राखेको थियो । अर्को कामको खोजी पनि नगरेको होइन, गरेको थियो । ऊ आफैं पनि सानो तिनो काममा लागेकी थिई । तर त्यो कामले उसले चाहेको जीवन चलाउन सम्भव थिएन । त्यसमाथि स्वास्नी होइन, अन्य गौराङ्गना अधबैंसेसँगको यौनसुख उसको मनोवैज्ञानिक आवश्यकता बनिसकेको थियो । त्यसैले युद्धविरामकै अवधिमा समेत उसले कुनै शारीरिक सम्पर्कको प्रयत्न गरेन र त्यसबाट विभिन्न बहानामा अलग्गै रहन चाह्यो ।
लामै धैर्य र प्रतीक्षापछि पनि उसको मनोविज्ञान र मानसिकतामा कुनै परिवर्तन नदेखिएर बरु ऊ पुरानै पेशाप्रति पुनः आकर्षित हुन थालेपछि उसले भावी जीवन दिशाका बारेमा धरै सोचेकी थिई । उसको एउटा मनले आफू पनि कुनै विदेशी लोग्ने मान्छेसँग सम्बन्ध बनाएर उसलाई त्यागिदिने सोच पनि नबनाएको होइन । तर किन किन त्यसपछि उसलाई त्यो ठाउँमा बस्ने पटक्कै चाहना रहेन ।
“होइन मैले आफ्रनै देश फर्कनुपर्छ, यो आत्मसम्मान गुमाएर बस्न सक्तिन म !” एक दिन उसले निर्णय गरेकी थिई ।
“के तिमी साँच्चै नै छाडेर जान्छ्यौ त मलाई ?” लोग्नेलाई जानकारी नै नदिई आफूले जोगाएको खर्चबाट टिकटको व्यवस्था गरेकी थिई उसले र आजै मात्र विमानस्थलतिर लाग्दा मात्र त्यसको जानकारी दिएकी थिई उसलाई ।
“हो, मेरो यो निर्णयलाई अब कसैले बदल्न सक्तैन बुझ्नुभो । के नै सम्बन्ध छ र हाम्रो, लग्नमण्डपको सात फेरो र सिन्दूरको घेरोबाहेक विवाहपूर्व जस्ती थिएँ, त्यस्तै फर्कँदै छु म । हामी बीच वास्तवमा लोग्नेस्वास्नीको कुनै सम्बन्ध पनि त रहेन आजसम्म । तपाईंजस्तो मानसिक विकारग्रस्त मान्छेलाई अरूको आँखामा मात्र लोग्ने देखाएर अब म आफैंलाई धोका दिनसक्दिन बुझ्नुभो ! त्यसैले अब तपाईं जे गर्न पनि स्वतन्त्र हुनुहुन्छ ।” त्यति भनेर पछाडि फर्केर हेर्दा पनि नहेरी ट्याक्सी समातेर विमानस्थल लागेकी थिई ऊ ।
“कृपया सुरक्षा पेटी बाँध्नुहोला । नडराउनोस्, बाहिरको मौसम केही असामान्य भएकोले विमानमा कम्पन हुनसक्नेछ !” ध्वनिप्रसारक यन्त्रबाट आएको परिचारिकाको चेतावनीपूर्ण आवाजले ऊ विगत मानस यात्राबाट पुनः यथार्थ धरातलमा फर्केकी थिई । कति बेर ऊ त्यो विगत मानस यात्राको अप्रिय सम्झनामा हराई, त्यो पनि कुनै जानकारी थिएन उसलाई । एउटा नयाँ तर आत्मसन्तुष्टिको यात्रामा अग्रसर ऊ आफ्नो निर्णयप्रति पूर्ण सन्तुष्ट थिई र नै उसले सन्तोषको लामो सास फेरी !

झिसमिसे, २०६३।१२।६

















४. यसरी जन्मिदिन्छ एउटा महान् प्रयोग

ऊ टोलकै भट्टीमा एक मध्यान्ह रक्सीको स्वादसँगै समय निलिरहेको थियो । उसले रक्सीको आधा भरिएको गिलाँस उठायो र एकै घुट्कोमा सबै रित्यायो । यी फटाहाहरूलाई पनि यही रक्सीजस्तै एकै घुट्कोमा निलिदिन पाए ! रक्सीमा सरोबर लर्बराएको उसको आवाज राम्ररी नबुझिए पनि ऊ के भन्दैछ भन्ने अनुमान लगाउन सकिन्थ्यो । त्यो अस्पष्ट आवाजसँगै ऊ धित मारेर मजासँग हाँस्यो– मानौं आफ्ना सबै आलोचकहरूलाई यही रक्सीको घुट्कोसँगै झैं उदरस्थ गरिदिन चाहन्छ ।
“साँच्चै त्यो आलोचक भनाउँदोलाई पनि यही भुटेको भट्मासजस्तै बेसरी चपाएर रक्सीको घुट्कोसँगै निलिदिन पाए ! हा...हा...!” ऊ मज्जाले मनमनै हाँस्यो । हाँस्दा उसको मुखबाट निस्किएको थुक र बगेको नाकबाट रसाएको सिँगानले उसकैे महान साहित्यिक प्रयोगजस्तै विशिष्ट बनाएको थियो उसलाई । अरुले विभत्स ठाने पनि उसका समर्थकहरू, जो प्राय उसकै उधारो खाताबाट रक्सीको आनन्दभोग गर्थे, यसलाई उसको अद्वितीय विशिष्टता ठान्थे । उनीहरू भन्थे त्यतिबेला उसका नाकबाट सूत्र बगिरहेका हुन्थे, मुखबाट स्वैरकल्पनाले साकार रुप धारण गरिरहेको हुन्थ्यो । पिएर रित्तिएको गिलाँसका बाँकी केही थोपाबाट उत्तर आधुकिकताको रसायन आप्लावित भइरहेका हुन्थे । कोट्याउन नभ्याएर दाँतका कुनामा अड्केका अड्कनबाट डायोस्पोरिक प्रयोगको प्राप्ति अर्थात, अन्तर्रािष्ट्रय पुरस्कारका केही डलर र अन्तराष्ट्रियस्तरको प्रसिद्धि रसाइरहेका हुन्थ्यो । अझ त्यतिबेला उसबाट लोकलको साटो विदेशी र भटमासो साटो नगदी स्न्याक्सको लागि खुसामद गर्नु पर्दा उनीहरूलाई लाग्थ्यो ऊ त्यतिबेला उत्तरआधुनिकताको जिउँदोजाग्दो रूप बन्थयो, स्वैरकल्पनाको आविष्कर्ता ठह¥याइन्थ्यो र एक मात्र अन्तराष्ट्रिय स्तरका उम्दा नेपाली प्रतिभा, जसको टक्करको अर्काु कुनै नेपाली जन्मेकै छैन ।
उसको यो सर्कलमा महान् पत्रकारदेखि महान् स्तम्भलेखक र अनुवादकहरूको बहुक्षेत्रीय प्रतिनिधत्व रहने गर्छ । त्यो प्रशंसकहरूको समूहमा महान् समालोचकहरूको पर्याप्त सहभागिता त रहने नै भइहाल्यो । फलतः उनी आफू सञ्चार माध्यममा सदाबहार चर्चित नायक त सिद्ध भएकै छन्, उनका पढ्नै नभ्याइएको कृति समेत छापिनु अघि नै मास्टर पिस ठोकुवा हुन्छ र बजारमा पुग्नु अघि नै बेस्ट सेलरको लिष्टमा सूचीकृत भैसक्छ । कुन संस्थामा कसको भनाइ बिक्छ, को निर्णयक भएमा आफ्नो नाममा पुरस्कार निर्णित हुन्छ र उसलाई मूल्याङ्कन समितिका संयोजक–सदस्य कसरी बनाउने भन्ने महान् लेखकीय प्रयोगको अभ्यास प्रारम्भ हुन्छ । यी सबैप्राप्तिमा उनको उदार मन र खुला खल्तीले निकै ठूलो भूमिका खेल्छ । खुला खल्ती र उदार मनको अतिरिक्त पर्दाखेरी कोरीको पनि पाउ मोल्नुपर्छ भन्ने पुर्खाको आहानको व्यवहारिक प्रयोग कहिल्यै बिर्संदैनन् उनी । त्यही प्रयोगमा उनी आफ्नो अनुकूल–प्रतिकूलता हेरेर प्रतिगामीलाई प्रगतिगामी र प्रतिगामीलाई प्रतिगामीको बिल्ला भिराइदिनसक्छन् । पसलेले आनाकानी गरे पनि त्यसका लागि उनी खुला दिलले भट्टीको खातामा हरेक साँझ उधारोको अङ्क बढाउन कन्जुसी गर्दैनन् । उनी व्यापारी होइनन्, तर लगानी नगरी प्रतिफलको प्राप्ति हुँदैन भन्ने व्यापारिक सूत्र कन्ठस्थै छ यनलाई !
“अँ साँच्चै आफूलाई महान ठान्ने त्यो के ठान्छ हँ आफूलाई ! तिमीजस्तो महान् प्रयोक्ता प्रथमपुरूषलाई आलोचना गर्ने आँट कसरी आयो उसमा ! लौ त त्यसले चाहेर पनि पाओस् सम्राटको उपाधि !” टेबिलको अर्को कुनामा विराजमान साथी अनुहारले त्यस्तै लर्बरिएको स्वरमो चोट खाएको उसका अहम्लाई राम्रैसँग सुम्सुम्याइदियो । धेरै प्रशंसक भए पनि एक–दुइ आलोचक त जसको पनि भइहाल्छन् । यी हाम्रा महान् साहित्यिक प्रयोक्ताका पनि धेरै उनीसँग रिझिएका प्रशंसक थिए भने, केही नरिझिएका आलोचक पनि थिए नै ! तिनै नरिझिएकामध्ये एकजनाले भर्खरै उनको कटु आलोचना छपाएका थिए, यनको बिरोधी एउटा पत्रिकामा । त्यही सम्झाउँदै छेवैमा बसेर उनका नाकमुखबाट आप्लावित महान् साहित्यक प्रयोगहरूको साक्षत् दर्शन गरिरहेका चम्चे अनुहारका एकजना प्रशंसक चिल्लो घस्ने मौका छोपेको थियो । तर प्रथम र महान् बन्ने दौडमा आफूलाई निकै पछाडि पारेर अघि बढेको त्यो महान् व्यक्तित्वलाई भित्तो पुग्ने गरी छापिएको त्यो आलोचना पढेर यो उसको प्रशंसक चम्चा अनुहार भित्र भित्रै कम खुसी भने थिएन । तर यति खुसामदकै भरमा मज्जाले स्कच र चिकेनको स्वाद लिन पाइन्छ भने देखावटी प्रसशंसाका केही बामेल बोलिदिँदैमा के नै पो बिग्य्रो र ? उ आफैंलाई चित्त बुझाउने प्रयास पनि गरिरहेको हुन्थ्यो ।
अर्कोदिन यही चम्चा अनुशार यीे प्रथमपुरूषको अनुपस्थितिमा उनका प्रतिद्वन्द्वी अर्को कुनै यस्तै प्रयोक्ता पूरूष मित्रले यसरी नै भट्टीसुख प्राप्त गराउँदा भने ऊ यी प्रथमपुरूषलाई चर्को स्वरमा बिरोध गर्छ । यसलाई गाली गर्दै नयाँ आतिथेयको प्रशंसामा एउटा अर्को रामायण रचना गरिदिन्छ । त्यही सुरमा भन्थ्यो– “के ठान्छ त्यो आफूलाई ! रक्सी ख्वाएको भरमा आफूलाई महान सम्राट र अरूलाई बामपुड्के घोषणा गराएर कति दिन महान् बन्न सकिन्छ ? तिम्रो कलमको शक्तिको अगाडि के हो ऊ ! यसको भन्दा तिमीले ल्याएको बढी भाषिक अराजकता के आफैंमा एउटा माइलस्टोन होइन ? तिम्रा विम्बमा सलबलाउने ख्याक चिन्तनको के एक छेउ भेट्नसक्छ त्यसले । के छैन, तिम्रो लेखनमा ?”
बेलामौकामा आफूलाई भट्टीसुख गराउने यी दुबै उसका अभिन्न मित्र हुन्, यी दुबैलाई चिढ्याएर ऊे निशुल्क सायम मस्तीको लाभ गुमाउन चाहँदैन । त्यसैले ऊ जतिबेला जसको साथ हुन्छ उसको परम प्रशंसक र अर्कोको कटु आलोचक भूमिका अभिनेतालेजस्तै जीवन्त रूपमा निकर्बाह गर्छ । यो चेत रक्सीको मातमा समेत भुल्दैन ऊ । यस मानेमा यो दोस्रो प्रयोक्ता पहिलोभन्दा पनि धूर्त देखिन्छ । समयको लाभ लिने चेत उसमा सँधैं जीवित रहन्छ, उसलाई कसैले भ्याउँदैन, यसै भन्छन् उसका अरू साथीहरू ।
“काले....!” टेबिल ठटाउँदै ऊ जोडले चिच्यायो “ ए, काले एक एक् पेग राख त ...छिटो ! अलिकति साँधेको भट्मास पनि लेरा है ।” लर्बरिएको स्वरमा उसले आदेश दियो ।
“होइन यार, कति भुटेको भट्मास चपाउँदै घुट्क्याउने यो एकपाने सोमरस ! भुटुन मगाऊ न, भुटुन । हामीले आफ्नो स्ट्याण्डर्ड पनि त बिर्सन हुन्न नि यार । आखिर हामी यो देशका महान सात्यिकार, अझ तँत यो देशको एकमात्र साहित्य सम्राट । कत्रो इज्जत छ हाम्रो समाजमा, त्यसको ख्याल राख्न परेन !” ऊ दाताको मन पगाल्न खोज्दै थियो । छेवैको अर्को टेबिलबाट आइरहेको भुटुन र मासुका परिकारको लोभलाग्दो बास्नाको मुखै रसाइदिने लोभ्याइलो दृश्यलाई अघिदेखि नै चोर आँखाले चिह्याइरहेको ऊ त्यसैबाट बढी पे्ररित देखिन्थ्यो ।
“स्साला.....!” ऊ आफूजस्तै महान् गालीको शब्दोच्चार गर्दै थप्छ “मफती खान पल्केका तिमीहरू, कहिलेकाहीँ आप्mनो खल्ती पनि त हलुका पार्ने गर् यार ! तँ कन्जुस्, ....भैगो, जे होस् साथी होस् । काले...ए काले दुई प्लेट भुटुन पनि लेरा त ।” ऊ पहिलाको भन्दा बढी लर्बरिँदो र चर्को आवाज निकालेर चिच्याउँछ ।
यतिबेला उसलाई पनि साथी चम्चाको माग थोरै भए पनि पूरा गरिदिउँ जस्तो लागेर अर्डर पनि गरिहाल्यो । ऊ आफैंलाई पनि यतिबेला कहिले काहीँ साहित्यको नाउँमा ठूलै झो थाप्नसक्नेहरूले तरे होटेलहरूमा धित मर्ने गरी ख्वाएका स्कच र नगदी स्न्याक्स सम्झि रहेको थियो । त्यो सम्झँदै चपाएको भट्मास तीनपानेको स्वदमा केही बेस्वादे लाग्दै पनि लाग्दै थियो फ आफैंलाई । त्यसैले भट्मासो स्न्याक्समा लोकल तीन पानेको चुस्की लिइरहेको उसलाई साथी चम्चाको माग थोरै भए पनि पूरा गरिदिउँ लाग्यो । ऊ आफैंले पनि त धेरै भयो न नगदी स्न्याक्स चाख्न पाएको छ, न दामी स्कच नै घुट्क्याउन पाएको छ । साला...धेरै पो भयो त साहित्यको उन्नयनका लागि त्यस्तो खानपान पार्टी नभएको । कि उसलाई मात्रै खबर नगरेका हुन ? मनमनै शङ्का पनि लाग्छ । तर तुरुन्तै सोच्छ–होइन,....नेपाल अगाडि रहेपनि हालीमुहाली अर्काकै हुने दुईदेशको नाउँ मिसिएको संस्थाले त उसलाई कहिल्यै छाडदैन । छाडोस् पनि कसरी, उसको उपस्थिति बिना नेपाली साहित्य पूर्णाङ्ग हुनै सक्दैन । त्यसमाथि आयोजक संस्थाका मुली छिमेकी आतिथेय उनलाई कति धेरै माया गर्छन, आफ्नै ठानेर । नगरुन् पनि किन, परेको बेला उनले आफू बिर्सेरै पनि त सघाएका छन् उसलाई । त्यसरी सघाउनु असल छिमेकी पन पनि त हो ! उसले पनि बेलामौका मा कोसली पात र गहु्रङ्गो खामको उपहार उठाउने गर्छ र छोरा टोरीलाई छात्रवृत्ति लिाएर आफ्नै देशमा पढ्न पठाइदिएकै छ । उनी फेरि मनमनै सम्झन्छन्– अँ, आफूलाई आन्तराष्ट्रियस्तरकै महान् नेपाली साहित्यकार ठान्ने आङ््लभाषी ठूला विद्वान्हरूका नेतृत्वमा चलेका क्षेत्रीय साहित्यिक संस्थाले त झन् बिर्सने कुरै भएन । तिनले आफूलाई जति नै ठूलो अन्तराष्ट्रिय साहित्यकार दावी गरे पनि आखिर देखाउन त मैंजस्तो महान सर्जक चाहिहाल्छ । त्यसैले ऊ किटान गर्छ, मलाई नबोलाएको होइन, कार्यक्रम गर्ने बजेटै पाएनन् होला ।
“काले...ए काले दुई प्लेट भुटुन पनि लेरा भन्या सुनिनस् ?” निकै बेरसम्म पनि उसको आदेश पालना नभएपछि अझै लर्बरिँदै ऊ फेरि ठूलो स्वरमा चिच्यायो । उसको चर्को स्वरले सबै ग्राहकका आँखा उसैतर्फ तानिए । तारे होटेलमा मनकारी आयोजकहरूको आतिथ्य स्कच र नानाभाँति स्न्याक्स सम्झँदा रसाएको उसको मुख साहु र कालेदेखि अरु ग्राहकसम्मले पनि त्यसरी आफूलाई उपेक्षा गरेको देखेर तमतम्याइँदो देखिएको थियो ।
उसको दोस्रोपटकको त्यो अर्डरलाई न भट्टीको बूढो साहुले खासै ध्यान दिन्छ, न काम गर्ने केटो कालेले नै उसको आदेश पालना गर्नु आवश्यक ठान्छ ।
“आज मात्रै हो र, जति जति मात चढ्दै जान्छ, यसको नयाँ नयाँ अर्डर पनि त्यति नै थपिँदै जान्छ । उधारो त्यत्रो पुगिसक्यो ।” साहु आफैंसँग भुतभुतायो ।
साहु र काले दुबैले दिनहुँजस्तो भोग्दै आएका यथार्थ थियो यो । त्यसैले उनीहरू सकभर बेवास्ता गरेरै उधारोको चार्ट नबढोस् भन्ने कुरामा बढी नै सचेत रहन्थे ।
साहुले भर्खरै पल्टाएको थियो उसको बहिखाता । उसको नाउँमा चढ्ेको भट्टीको उधारोको ग्राफ साहुलाई पसिना छुटाउन पर्याप्त थियो । त्यो उधारोको रकम जेठको तापक्रम र बजारको अनियन्त्रित महँगीलाई पछाडि पार्ने गतिमा माथि चढेको थियो । त्यसैले त्यो ग्राफको ठाडो रेखालाई अरु माथि चढाउने कुराम साहुको रुचि हुने प्रश्नै थिएन । कहिले कताबाट पुरस्कारको चाँजोपाँजो मिलाउला र तिर्ला यसले मेरो यो उधारो– साहु मनमनै सोच्दै थियो ।
उसले सुनेको थियो, हिजोआज त जिएम सिएमको रानजनीतिक नियुक्तिका लागि पनि धेरै तलुवा खियाउँदै छ रे । पटाउला नि कुनै न कुनै पार्टीका नेतालाई ! तर, यता आएर त्यो पनि त्यति सजिलो थिएन । कतै पनि नियुक्ति पाउन नाम र काम मात्र पर्याप्त थिएन । सम्बन्धित तालुकवाला पार्टीका साहित्यिक–सांस्कृतिक विभाग र तिनका किङमेकर नेताहरूको दरिलो सिफारिस पनि चाहिन्थ्यो । सम्बिन्धित क्षेत्रको योगदान र विज्ञता मात्र पर्याप्त थिएन, पार्टी सदस्यता पनि अनिवार्य थियो र अझ थियो गणेशपरिक्रमाको शाश्वत चाचुकला ! सरकारी प्राज्ञदेखि कुनै पनि पदको राजनीतिक नियुक्तिका लागि अनिवार्य गुण थियो त्यो । यी सबै गुण थियो उसमा, त्यसैले साहु ढिलो चाँडो यो महान् साहित्यकारले कतै न कतै कुनै ठूलै पद हात पानर्छ भन्ने कुरामा ढुक्क थियो ।
जे होस्, दुईचार पैसा हात प¥यो भने पहिला उसैको उधारो घटाउँथ्यो । यस मामिलामा भने इमान्दार छ ऊ– साहुले मन बुझायो । यही भएर नै त ऊ सकभर उसका लागि ढोकै बन्द गरिहाल्न चाहँदैनथ्यो । त्यसमाथि यस्ता महान् साहित्यकारको सेवा–सङ्गत पाएको आत्मतुष्टि पनि त थियो ! अझ साहुको आफ्नै आत्मजीवनी लेखिदिने बचन पनि दिएको छ उसले– साहुले त्यतिबेलै झट्ट सम्झ्यो । त्यसै लेख्दैन, लेखे वापत कतिदिन साँझ मफती रमझम पनि गराउनुपर्छ ऊ र उसका केही चम्चाहरूलाई ! पटक पटक गर्ज टार्ने नाउँमा मोटै दक्षिणा दिनु त छँदै छ । तर खर्च मोटै भएपनि आत्मजीवनी छापिएपछि आफूले पाउने इज्जत, मानसम्मान र पुरस्कारको अगाडि त्यो कति नै पो हो र ! उसकै आँखा अगाडि कति पैसावाल यस्तै ठूला लेखक–स्तम्भकार समातेर रातारात ठूला बनेका छन्, कति कति पुरस्कार र मानसम्मान पाएका छन् ! पुरस्कार सम्मान पाएपछिको धेरैको पहिलो जमघट हुने थलो पनि त यही हो नि, उसकै भट्टी ! सबैको अन्तरकथा थाहा छ उसलाई । सुरुमा गोप्यता खुला भन्ने डरले अल्पभाषी बन्न खोज्नेहरू पनि तीनपानेको नशाले करेप्दै ल्याएपछि त्यसैसँग सबै गोप्यता ओकल्दै जान्थे । ऊ ती सबैको आन्द्रा भुँडीजान्ने मौका पाउँथ्यो ।
त्यति ठूलो लेखकले लेखिदिएको आफ्नो आत्मजीवनीले भोलिको मदनपुरस्कार पाउने त निश्चितै छ । त्यसैले पनि ऊ उसलाई चिढ्याइहाल्न चाहँदैनथ्यो । उसलाई पूरै विश्वास थियो– मदन पुरस्कार स्तरको पुरस्कारका लागि आवश्यक पूर्वचर्चा र व्यक्तित्वप्रभाव संयन्त्र–प्रविधि जुटाउन सकिएन छ नै भने पनि कहलिएका अरु निबन्ध, संस्मरण वा त्यस्तै उस्तै भए पनि कुनै न कुनै पुरस्कार कसो हात नपर्ला ! हात पर्ने कुरामा ऊ ढुक्क थियो ।
यो लेखक उकजना मात्रै हो र, पुरस्कार छनोट गर्ने प्राय सबै महानायकहरू पनि त यहीँको मधुरसबाट ज्ञान–बुद्धिको अद्भूत प्रेरणा पाउने गर्छन् । उसको भट्टीको सुराशक्तिबाटै त तिनको ज्ञान र विद्वताको अद्भूत प्रतिभा प्रस्फुटन हुने गर्छ ! यही रक्सीको नशामा उनीहरू ठूला ठूला योजना तर्जुमा गर्छन्, सिद्धान्त प्रतिपादन गर्छन् र महान् विद्वताको रापले भर्भराउँछन् । साहित्य–संस्कृति मात्र होइन, सबै क्षेत्रका महान प्रतिभा उसकै रक्सीको नशामा पुष्पित–पल्लवित हुन्छन् । यस अर्थमा ऊ ठान्छ, तिनको विद्वता र सफतामा उसको आफ्नो पनि ठूलै हात छ । तिनीहरू मानुन, नमानुन्, ऊ भने यो सत्यमा विश्वस्त थियो ।
कमलाई गुन लाएको छु र मैले, त्यसको गुन कसो नतिर्लान् ? तिनका लागि पनि केही थप खर्च छुट्याउनुपर्ला, त्यति नहो !– ऊ चारैतिरबाट सन्तुष्ट देखिन्छ ।
“ए...काल्चा साहु, सुनेनौ मैले भनेको !” तीन तीनपल्ट चिच्याएर दिएको आफ्नो अर्डर पूरा नहुँदा रिसको पारो निकै माथि चढ्दै गएको थियो उसको । केही त्यो अवज्ञाको झोक र केही लोकल तीनपानेको करामतका कारण रात्तिएको तामसी अनुहार त्यतिबेला साँच्चिकै रौद्र देखिएको थियो, तान्डब मुद्रामा महारौद्र जटाजुट शिवको जस्तै । त्यही रिसमा मुर्मुराउदै ऊ टेबिलमाथि जोडले काँचको गिलाँस बजारिदिन्छ– झ¥याम्म !
देशको त्यति ठूलो साहित्यकार । यो भट्टी पसलेजस्तो क्षुद्र जीवको यसरी उपेक्षा गर्ने धृष्टता ? ऊजस्तो महान् व्यक्ति यहाँ आइदिनुबाट मात्रै पनि योजस्ताले कृतज्ञ हुनु पर्ने होइन र ? आज अर्डरसम्म पूरा गर्न पनि आलटाल गर्ने ! उसको रिसको पारो चढ्नु स्वाभाविक थियो ।
“झ¥याम्म !” टेबिलमाथि बजारिएको गिलाँस चकनाचूर भयो । त्यो फुट्दा निस्केको आवाज त्यहाँका सबैको ध्यान आफूतिर तान्न काफी थियो । नभन्दै सबै उसैतिर हेरिरहेका देखिन्थे ।
महान् साहित्यकारका अनुहार र हाउभाउमा यतिबेला साहित्यका सबै प्रकारका रस र भावहरू एक पछि अर्को गर्दै तप् तप् चुहिइरहेका थिए । त्यहाँ विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने नवै रसहरू एकपछि अर्को रसाएर तप्तपी चुहिँदै थिए । उनी स्वयम् नवरसका साक्षात् मूर्ति बनेका थिए त्यतिबेला । छेवैको टेबिलमा मित्र मिलनमा मस्त सुन्दरी ग्राहकलाई काँचै निलुँलाजस्तो उनको चेष्टाबाट भद्दा खाले शृङ्गार रसको वर्षा भइरहेको भान हुन्थ्यो । गिलास बजार्दा काँचले काटेर रगत बगिरहेको मुठ्ठीले कस्सिलो मुद्रामा वीर रसको वर्ष गराउँदै थियो । अनि साहुबाट त्यत्रो वीरताको समेत उपेक्षा हुनुका कारण उसको करुणामय देखिने अनुहारमा जन्मिएको निरीहताले करुण रस आप्लावित गरिरहेको थियो । बगेको नाक र बोल्दाखेरि ओठका कुनाबाट निरन्तर बगिरहेका ¥याल–थुकका धाराले उसभित्र हास्य, अद्भूत, भयानक, रौद्र र बीभत्स रसहरूलाई जीवन्त तुल्याइरहेका थिए । कराउँदा कराउँदा थाकेको उसको मुख र शारीरिक चेस्टाले यदाकदा शान्त रसको भान पनि दिन्थ्यो । त्यसैले लाग्थ्यो– वास्तवमा सबै रसभावको साक्षत् अवतार हो यो महान् सर्जक !
साहु भने अझै अलमलमैं थियो– के हो यसको पछाडिको रहस्य ? उसको अद्भूत प्रतिभा हो यो वा उसैको भट्टटीको तिनपानेको कमाल ?! जे होस् यस्तो बेला सिर्जनाको स्वयम् साक्षात् अवतार बनेको देखिन्थ्यो ऊ ।
त्यति हुँदा पनि उसको अर्डरमा कसैले ध्यान नदिएको देख्दा त्यति बेला साँच्चै नै रिस उठिरहेको थियो उसलाई । अब त साहु मात्र नभएर उसको उपेक्षामा हाँसिरहेका सबै ग्राहकसमेत यसको कोपभाजन बन्दै थिए । त्यो सबैको उपेक्षा उसभित्र अरु क्रोध जन्माउन पर्याप्त थियो । त्यही क्रोधमा ऊ फेरि अर्ध अश्लील भाषामा चिच्यायो– काले गधा, स्साले !
“आफूलाई सबैभन्दा ठूलो ठान्छ, स्वभाव भने यस्तो” भट्टीमा केहीबेर आफूलाई बिर्सने उद्धेश्यले पसेका ग्राहकमध्ये केहीको मुखबाट प्रतिक्रिया स्किन्छ । त्यो प्रतिक्रियात्मक टिप्पणी बग्दै बग्दै उसको कानसम्म आउँदा उसको अनुहार क्रोधले झनै विद्रूप देखिन्छ ।
“नकराऊ न....! हल्ला गर्नुहुन्न हुन्न क्या । हेर त सबैजना कसरी हामीलाई नै हेर्दैछन् । जे भए पनि हामी यो देशका महान व्यक्ति हौं नि त !” साथी चम्चा केही कम मात्तिएकोले हुनुपर्छ, थोरै भए पनि परिस्थितिको आकलन गरिरहेको देखिन्छ । त्यसैले ऊ परिस्थिति बिग्रन नदिने प्रयासमा उसलाई सम्भ्झाउँन खोज्छ । उसलाई थाहा छ, उसभित्रको महान व्यक्ति तिनपानेको बढ्दो ओजसँगै केही अस्लील केही हिंस्रक र केही झगडिया पनि बन्दै जान्छ ।
“स्स्लाला ! तँ पनि त कायरै होस्...। म छु, केको डर तँलाई ?” ऊ जतिजति लर्खराउँदै उठ्ने कोसिस गर्छ, साथी चम्चा त्यति नै आफू पनि बबालमा फसिने डरले उम्कने बाटो खोज्न थाल्छ ।
“खायो कि सधैँ सबैसँग निहुँमात्रै खोज्छ । यसको यही बानीले कतिपटक नराम्ररी गोदाइ पाइएको छ । यहाँ बसिरहने हो भने आज पनि....”– मनमनै आपूmंलाई निर्दोष सावित गर्ने प्रयास गर्छ ऊ । तर्कसँगै मिठो स्न्याक्सको मोह समेत त्यागेर उसलाई एक्लै त्यहीँ छाडी ढल्पलाउँदै बाहिरिन्छ !
महान् साहित्यकार अझै चिच्याइरहेको हुन्छ– ए साहु, के निहु खोज्या तिम्ले ? खोइ मेरो अर्डर ?
उसको बढ्दो उद्धण्डता सँगै साहुको पसल बन्द गर्ने समय नजिकिँदै जान्छ र साथै उसप्रतिको आक्रोश पनि । लेखक महानुभाव जतिसुकै महान् भए पनि साहुका लागि मात्र उसकोलागि पसल खुला राखिरहनु न सम्भव हुन्थ्यो, न व्यवहारिक नै । यो उसले प्राय सधैं नै बेहार्ने नियमित समस्या थियो, र यो समस्याको कारक धेरैजसो तिनै महान् प्रतिभा हुने गर्थे । त्यस्तोमा ऊ केनै न केनै उपाय खोज्न बाध्य हुन्थ्यो । आज पनि साहुले त्यही उपायको प्रयोग ग¥यो, जुन उ अघिपछि पनि गर्ने गथ्र्याे । अर्थात् ती महान् व्यक्तित्वलाई आफ्ना दुई कामदार लगाएर झ्याँकुटी पार्दै बाहिर नाली छेउमा लगेर समाधिस्थ छाड्न लगायो खुला आकाशमुनि । महान् साहित्यकार सोमरसको सर्वोच्चानन्दबाट आर्जित समाधिमा संभवतः अर्को एउटा महान् कृतिको प्लट आविष्कार गर्ने छन्, जुन नेपाली साहित्यकै एउटमअर्को महान् प्रयोग बन्ने छ –सोमरससूत्र महाख्यान् !
२०६६ वैशाख २०


६.वानर सेना

प्रोफेसर विवेकले आफ्नी डाक्टर पत्नी शीलालाई अनिवार्य स्वस्थ्य परीक्षण गर्न मातृशिशु अस्पताल जाने आजैमात्र सम्झाएका थिए । दुई वर्ष अघि विवाहबन्धनमा बाँधिएका विवेक र शीलामा सन्तानप्राप्तिको चाहना पलाएको थियो । त्यसैले आपसी सल्लाहमा शीलाले भर्खरै गर्भधारण गरेकी थिइन । उनी आफैं वरिष्ठ मेडिकल विशेषज्ञका रुपमा निजीस्तरको एउटा चिकित्सा अध्ययन संस्थानमा कार्यरत थिइन् । आफू कार्यरुत अस्पतालबाटै नियमित स्वस्थ्य परीक्षण गराइरहेकीले त्यही कामको लागि सरकारी अस्पतालमा जानु पर्ने खासै कारण थिएन । तर सरकारले भर्खरै प्रत्येक गर्भिणी आमाले सरकारी मातृशिशु अस्पतालमा अनिवार्य रुपमा आफ्नो नाम र्दा गराएर नियमित परीक्षण गराउनै पर्ने व्यवस्था लागु गरेकोले उनी पनि त्यहाँ जान वाध्य थिइन । नियम अनुसार त्यसो नगरे उनीहरू दण्डभागी बन्नसक्थे ।
निर्वाचित सरकार विभिन्न कारणले असफल भए पछि संवैधानिक विष्ोधाधिकारको प्रयोगद्वारा नयाँ सरकारको मनोनयन भएको थियो । नयाँ सरकार आएको लगत्तै केन्द्रस्थित एउटा विशाल सरकारी अस्पताललाई मातृशिशु सम्बन्धी अस्पतालको रुपमा विकसित गरिएको थियो । त्यो अस्पतालको विकास भए पछि केन्द्रीय शहरका प्रत्येक गर्भवती आमाहरूले त्यहाँ गएर नियमित रूपमा परीक्षण र उपचार गराउनै पर्ने अनिवार्य व्यवस्था लागु गरिएको थियो । अहिले राजधानीमा मात्र अनिवार्य गरिएको यो मातृशिशु कल्याण योजना नामको कार्यक्रम आगामी पाँच वर्षभित्र पाँच विकास क्षेत्र र त्यसको दश वर्षभित्र जिल्ला सदरमुकामहरूमा पु¥याउने सरकारको लक्ष्य रहेको थियो । जनस्वस्थ्य सरकारको जिम्मेवारी भएकोले भावी कर्णधार नवजात शिशुको जन्म स्वस्थ्य र सुरक्षित रुपमा होस, आमाको स्वास्थ्यमा पनि कुनै नराम्रो असर नपरोस् भन्ने उद्देश्यले यो अनिवार्य व्यवस्था मिलाइएको सरकारको भनाइको आम जनताले व्यापक रूपमा स्वागत पनि गरेका थिए । सरकारको यो व्यवस्थाका लागि सर्वसाधारण जनता कृतज्ञ देखिन्थे । कसै कसैले हुरा काटेको सुनिनु स्वभाविक थियो ।
“यस्तो कुरा पहिलेका सरकारले कहिल्यै सोचेनन् । अब कमसेकम महँगा अस्पताल जान नसक्नेले पनि राम्रो उपचार र मातृशिशु सेवा पाउने भए !” नयाँ व्यवस्थाबारे थाहा पाए पछि धेरैको प्रतिक्रिया यस्तै सुनिन्थ्यो ।
“यो हात्तीको देखाउने दाँतजस्तै हो ! यिनै त थिए नि लामो समयसम्म देश चलाउने,
त्यतिबेला के गरे यिनले, हामीले नदेखेका हौं र !” अर्काथरी अविश्वासी स्वर पनि सुनिने गर्थे ।
“जस्तो निर्देशन पाउँछ, त्यस्तै गर्ने त होनि सरकारले । सधैं सङ्का गरेर पनि त हुँदैन नि, कसो ? अहिले राम्रो निर्देशन पाएकाले केही गर्छ कि त !” केहीको तर्क सुनिन्थ्यो ।
मनले नचाहँदा नचाहँदै पनि शीलाले सरकारी मातृशिशु अस्पताल जाने समय मिलाएकी थिइन । अस्पतालका प्रत्येक कक्षको वातावरण शान्तिपूर्ण देखिन्थ्यो । वातावरण त साँच्चिकै अस्पतालमा हुनै पर्ने खालको रहेछ– शीलाले मनमनै प्रशंसा गरिन् ।
पहिलो काउण्टरमैं उनलाई एउटा लामो फाराम दिइयो । फाराममा मातृशिशु सेवाकोलागि आवश्यक जानकारी मात्र नभएर पारिवाकि पृष्ठभूमिदेखि सबैपरिवारको नालीबेली समेत उल्लेख गर्नु पर्ने रहेछ । त्यो देखेर शीलालाई आश्चर्य पनि लाग्यो– नियमित स्वास्थ्य परीक्षणमा किन यी अनावश्यक प्रश्नहरू ? जे भए पनि भर्नै पथ्र्यो, उनले पनि त्यो फाराम भरेर दिइन ।
त्यो फाराम दर्ता गरेपछि फाराम लिने मानिसको निर्देशन अनुसार उनी एक नम्बरको कोठामा पुगिन् । कोठा रित्तै थियो । केही बेर पछि मात्रै एउटा माव आकृति देखियो । उसको अनुहार पूरै नचिन्ने गरी कपडाको मास्कले ढाकिएको थियो । रोगको सङ्क्रमणबाट जोगिने सचेतता होला यो अस्पतालको, शीलाले सोचिन् । त्यो मानवाकृतिले सामान्य रूपमा एकसरो परीक्षण गरेपछि आइरन भ्याक्सिन भनेर इन्जेक्सन दियो । दुईहप्ता पछि उनलाई त्यही आइरन भ्याक्सिनको दोस्रो मात्रा लिन आउने निर्देशन दिइयो ।
“म आफैं डाक्टर हुँ । म पनि अस्पतालमैं काम गर्छु । फाराममा पनि सबै कुरा लेखेकीछु । यो सुई मैले आफ्नै अस्पतालमा लिए हुन्न ?” शीलाले सोधिन ।
“होइन... यहीँ आएर लिनुपर्छ ।” उसको जवाफ अनौठो लाग्यो । जहाँ दिए पनि हुने सामान्य आइरन भ्याक्सिन लिन समेत यही अस्पताल आउनु पर्ने कारण के हुन सक्छ ? उनको जिज्ञासा भने अनुत्तरित नै रह्यो ।
“खोइ म पनि केही बुझ्दिन, के नियम हो यो ! नगए दण्ड होला, केगर्ने...?”शीलाको त्यही जिज्ञासाले विवेकलाई समेत शङ्का र आश्चर्यमा परेको थियो ।
पहिलो मात्रा आइरन भ्याक्सिन लिएको दुईतिन दिनपछि नै शीलााले आफूमा विशेषप्रकारको परिवर्तन महसुस गरिन, जुन सामान्य आइरनको सुइबाट हुने कुनै संभावना थिएन । आफूले महसुस गरेको त्यो परिवर्तनका बारेमा उनले विवेकलाई बताइन । सामान्य आइरन सुइबाट त्यस्तो परिवर्तन आएको सुनेपछि विवेकको मनमा पनि प्रश्न उठे । स्वतन्त्र रुपमा मष्तिस्क प्रत्यारोपणसम्बन्धी शोध गरिरहेको विवेकको मनमा किन त्यस्तो भयो भन्ने जिज्ञासा मात्र होइन सङ्का पनि उब्जियो– कतै त्यो आइरनको सुईमा कुनै खराबी त छैन ?
“साधारण आइरन भ्याक्सिनले त्यस्तो त नहुनु पर्ने ! कि अर्कै केही पो प¥यो कि ? अब जाँदा तिमीलाई सुइ लगाएर फालेको सिरिञ्ज वा भ्याक्सिनको सिसी ल्याऊ, परीक्षण गरेर हेरौं ! कतै नक्कली भ्याक्सिन त परे न ! बजारमा नक्कली औषधिको विगविगी छ भन्ने हल्ला पनि छ ।” विवेकले सुझाव दिए ।
नभन्दै शीलाले त्यसै गरिन । अस्पतालका मानिसलाई थाहै नदिई त्यो ल्याउनु सजलो थिएन । अस्पतालका मानिस कसैलाई कोठामा एक्लै छाड्दैनथे । उनलाई सुइ दिएर हाात धेन गएइको मौका पारी शीलाले छेउकै रद्दी सासिमान फाल्ने टोकरीबाट उसको आँखा छलेर त्यो भ्याक्सिनको सिसी र सुइदिने निडल लिएर लुकाएकी थिइन । त्यति गर्दा उनी आफ्नो चारी पत्ता लाग्ने डरले पसिना पसिना भएकी थिइन । त्यो मानिसले उनको त्यो अवस्था देखे पनि खास कुरो थाहा पाउन पाएन । सामान्य रिङ्गटा लाग्यो, केही होइन– उसको एक्सरेजस्ता आँखा र तीखो प्रश्नको जवाफमा त्यो सङ्क्षिप्त जवाफ दिनसमेत उनलाई हम्मे हम्मे परेको थियो ।
विवेकले सिसी र सिरिञ्जमा बाँकी रहेको औषधिको सूक्ष्म परीक्षण गर्दा ती दुबैमा आइरन तत्वको कुनै अस्तित्व नदेखेर झनै आश्चर्यमा परेको थियो । त्यो प्रारम्भिक जानकारीले ऊ गंभीर चिन्तामा प¥यो– के हुँदैछ यो, आइरन भयाक्सिनको नाउँमा कस्तो औषधि दिइँदैछ शीला र शीलाजस्तै गर्भिणी आमाहरूलाई ? । उसले गंभी किसमबाट थप विश्लेण ग¥यो, नतिजा आश्चर्यलाग्दो र खतरनाक खालको पनि थियो । त्यो अवशेष साधारण आइरन तत्वको थिएन । सिसी र सिरिञ्ज दुबैमा स्मृति हस्तान्तरण भ्याक्सिनको तत्व थियो । त्यो आश्चर्यजनक र खतरनाक सत्य पत्ता लाग्नासाथ विवेक ज्यादै चिन्तित देखियो । चिन्ता स्वभाविक थियो– कुनै पनि मानिसको मस्तिष्कको जैविक सारतत्व झिकेर बनाएको यो भ्याक्सिन गर्भिणी महिलालाइर्् निश्चित मात्रा दिएमा उनबाट जन्मने शिशुमा त्यही भ्याक्सिनको सारतत्व झिकिएको मानिसका सबै स्वभाव, गुण र स्मृतिहरू विकसित हने संभावना थियो । त्यसरी जन्मने शिशुमा स्वतन्त्र व्यक्तित्वको विकास नभएर त्यही मानिसको व्यक्तित्व सथ्र्यो ।
विवेकले अब यो योजनाको बारेमा विस्तिृत विवरण थाहा पाउनु आवश्यक देख्यो । सरकारको त्यो गोप्य योजना थाहा पाउनु सजिलो थिएन । यसका लागि त्यो योजनासम्बन्धी कम्प्युटर फाइलको पत्ता लाउनु पहिलो आवश्यकता थियो । त्यस कामका लगि विवेकले आफ्नो मित्र आशिषलाई सम्झ्यो । आशिष कम्प्युटर विष्ोषज्ञ भएकोले यो काममा उसलाई मदत गर्न सक्थ्यो ।
“आशिष, म तिमीसँग एउटा अति गोप्य र डरलाग्दो योजनाको बारेमा जानकारी प्राप्त गर्ने काममा सहयोग चाहन्छु । अहिलेसम्मको अध्ययनबाट मैले पाएको जानकारी हेर्दा मातृशिशु सम्बन्धी अनिवार्य सेवा कार्यक्रम कुनै जनहितमा चालिएको सेवा नभएर निश्चित योजना अनुसार निहित स्वार्थ पूरा गर्न गरिएको गंभीर योजन। हो भन्ने स्पष्ट हुन्छ । मलाई लाग्छ यो सबै नवजात शिशुहरूमा आफ्ना बफदारहरूको स्मृतिहस्तान्तरण गरेर वैज्ञानिक रुपमैं कहिल्यै आफ्नो विरोध नगर्ने, बरु आफ्ना समर्थनमा ज्यान दिन पनि तत्पर नागरिकहरूको एउटा समूह तयार गर्ने खतरनाक योजन हो । जीवित यन्त्रमानवको समूह तयार गर्न मानिसलाई भ्रममा पारेर थालिएको यो योजना सफल भयो भने भोलिको मानवीय पुस्ताले आफ्नो स्वतन्त्र अस्तित्व गुमाएर दासवत जीवन विताउन अभिशप्त हुनु पर्ने छ । आफैं दक्ष चिकित्सक शीलाजस्ता आमाहरूमाथि त यस्तो प्रयोग गरिँदै छ भने अरू अनभिज्ञ आमाहरूमाथि कुन संख्यामा यो प्रयोग गरिँदै होला, सहजै आनुमान गर्न सकिन्छ । त्यसैले मलाइ त लाग्छ, ठूलो षडायन्त्र अन्तर्गत बडो विचार पु¥याएर गरिएको डरलाग्दो योजना हो यो । तर पर्याप्त प्रमाण फेला नपारी त्यसको तोड र विरोध दुबैले प्रतिकूल असर पु¥याउन सक्छ । त्यसैले तिमीबाट त्यो सरकारी योजनाको बारेमा जमानकारी हासिल गर्नेकाममा मदत आवश्यक छ, भन तिमी सहयोग गर्न तयार छौ ?”विवेकले सबै कुरा बताएपछि भन्यो ।
“तिमीले त ज्यादै डरलाग्दो कुरा पो सुनायौ, यो सत्य हो भने त स्वतन्त्र र विवेकशील मानवविकासको संभावना नै समाप्त हुनेछ । भाविपुस्ता कसैको निहित स्वार्थ पूरा गर्ने दासहरूको पुस्ताका रूपमा विकसित हुनेछ । र, यो मानवता विरोधी षडयन्त्र रोक्न सकिन्छ भने म पेशागत नैतिकताले नदिए पनि तिमे मद्दत गर्नेछु । आशिष पनि उसको कुरा सुनेर निकै चिन्तित थियो ।
सामान्य अवस्थामा बेठीक भए पनि आशिषले यो विशेष अवस्थामा कम्प्युटर ह्याक गरेर सरकारी गोप्य फाइलहरू पत्ता लाउने प्रयास ग¥यो । ह्याकिङजस्तो काम गर्नु गलत हो भन्ने उसलाई थाहा नभएको होइन । गलत नै भए पनि यो कामले सिङ्गो मानवताको स्वतन्त्रता रक्षामा सहयोग पु¥याउँछ भने त्यसलाई नराम्रो मान्नु हुन्न– त्यतिबेला उसलाई आफ्नै विवेकले सल्लाह दिएको थियो । त्यही विश्वासको आधारमा उसले त्यो गोप्य फाइल ह्याक गरेर खोल्यो । फाइल खोलेपछि थाहापायो– मातृशिशु सेवा नामको त्यो कार्यक्रमको भित्री उद्देश्य कम खतरनाक थिएन । त्यो खतरनाक योजना थियो– नीलकष्ठी सैन्य दल र राष्ट्रभक्त मठजस्ता आफ्ना बफादारहरूको संख्या बढाउनु । त्यही गोप्य योजना अनुसार बफदार वैज्ञानिकहरूले तिनै बफदारहरूको मस्तिष्कबाट विशेष तत्व निकालेर स्मृति हस्तान्तरण भ्याक्सिनको विकास गरेका रहेछन् । गर्भिणी महिलाहरूलाई र्गावस्थामैं एकएक हप्ताको अन्तरमा नियमित पाँचपटक दिएपछि
नवजात शिशुमा जसको मस्तिष्कको भ्याक्सिन लगाएको हो त्यही मानिसको गुण, बुद्धि, स्वभाव स्मृति सबै सथ्र्यो । यसरी आफ्ना बफदारहरूको स्वभाव, चरित्र र स्वामीभक्तिको गुण विकसति गराउने योजना अत्यन्तै खतरनाक थियो । यो योजना सफल भएमा मुलुक खतरनाक तानाशाहको नियन्त्रणमा पर्ने निश्चय थियो । यसरी जन्मने शिशु आफ्नो स्वतन्त्र विवेक र बुद्धिबाट नभएर जीवित यन्त्र मानवमा परिणत हुने निश्चित थियो । उनीहरूले यसको प्रयोग गरेर सफलता पाइसकेका थिए र आमरुपमा गर्नलागिएको भने यो पहिलो प्रयोग थियो । यतिखेरसम्म यो कुराको जानकारी तिनै सीमित वैज्ञानिक र त्यो अस्पतालमा कार्यरत प्रमुख चिकित्सकहरू बाहेक कसैलाई थिएन । यो योजनाको बारेमा थाहा पाउनेहरू स्वयम् नीलकष्ठी सैन्य दल र राष्ट्रभक्त मठका विशेष राजनीतिक व्यक्तिप्रति समर्पित विश्वासपात्र थिए ।
यो सत्य थाहापाए पछि ती वैज्ञानिक दम्पति मात्र होइन, आशिष समेत स्वतन्त्र विचारको सन्तान जन्माउन पाउने नागरिक अधिकार गुमाउनु पर्ने डरलाग्दो भविष्यबाट चिन्तित थिए । जन्मने कुनै पनि शिशुले स्वतन्त्र चिन्तन विकसित हुन पाउने हकबाट जन्मनुपूर्व नै वञ्चित हुनु पर्ने कुरा निश्चित थियो । जनविरोधी तानाशाही अवस्थाको सिर्जना गर्ने त्यो डरलाग्दो योजनाको कुनै पनि व्यक्तिगत स्वतन्त्रताको पक्षपाती मानिसले समर्थन गर्ने कुरै थिएन ।
अब के गर्ने ? उनीह्रूको अगाडि एउटा ठूलो प्रश्न थियो । आफूहरू त्यो भ्याक्सिनको वास्तविकताप्रति पूर्ण विश्वस्त भए पनि त्यो कुरा सार्वपनिक गरिदिनु खतरनाक हुनसक्थ्यो । त्यसमाथि अरु वैज्ञानिकहरूलाई त्यसको वास्तविकता बारे विश्वास दिलाउन आवश्यक तथ्य, विश्लेषण र तथ्याङ्कहरूको पर्याप्त प्रमाण र सामग्री जुटाउनु पनि आवश्यक थियो । त्यसको अभावमा उनीहरूले यति गंभीर कुरा सजिलै पत्याउने संभावना थिएन । गोप्य रुपमा गरिएको त्यो खतरनाक परियोजनामा काम गरिरहेका वैज्ञानिकहरू कुनै हालतमा पनि यो कुरा सार्वजनिक रूपमा स्वीकार गर्ने छैनन् । त्यसैले बुद्धि नपु¥याइकनै यो कुरा सार्वजनिक गर्नु आफूहरूमाथि सङ्कट निम्त्याउने कारण समेत बन्न सक्थ्यो ।
निकै सोचविचार पछि विवेकले एउटा उपाय सोचेको थियो । उसले पत्नी शीला र आशिषलाई त्यो उपाय सुनायो । उसको योजना थियो त्यो स्मृति हस्तान्तरण सुइको प्रतिरोधी तत्व यथाशीघ्र पत्ता लाउने । स्मृति हस्तान्तरण सुइ लाएका आमाहरूलाई गोप्य रुपमा आफ्नो योजनामा सहयोगी बनाएर त्यो प्रतिरोधी सुइ दिने र त्यो खतरनाक योजनालाई असफल तुल्याउने । त्यो योजनाको पोल खुल्यो भने उनीह्रूमाथि ठूलै विपत्ति आइपर्छ भन्ने उनीह्रूलाई थाहा थियो, तर मानवहितका लागि त्यो खतराको सामना गनु बाहेक अर्को कुनै उपाय त थिएन ।
“दोसो सुई लाउन पाँचदिन बाँकी छ होइन ? जे गर्नु छ, यही समयभित्रै गरिसक्नुपर्छ हामीले । म त्यो सुइको प्रतिरोधी एण्टीडट तयार गर्ने कोशिश गर्छु । मेरो प्रयास सफल भयो भने यो सुइले स्मृति हस्तान्तरण भ्याक्सिनको असर समाप्त पारिदिने छ । तिमीचाहिँ अस्पतालमा सुई लिन आउने गर्भिणी आमाहरूलाई विश्वास दिलाएर गोप्य रूपमा यहाँ ल्याउनु । तिनलाई पनि प्रंतिरोधी सुइ दिएर जोगाउने प्रयास गर्नेपर्छं ! त्यसपछि यो खतरनाक सुइ र योजनाको अन्तराष्ट्रिय स्तरमैं पोल खोल्ने कोशिस गरौंला, हुन्न ?“विवेकले शीलाको सहमति खोज्यो ।
”हुन्छ, हामीसँग अर्को उपाय पनि त छैन, यो छोटो समयमा प्रतिरोधक सुई तयार पार्न सकिएला ? यति गर्न सके भावि पुस्ताका शिशुहरूलाई दुर्भाग्यबाट बचाउन सकिने संभावना रहन्थ्यो ! यो कुरा खुल्यो भने हाम्रो उद्देश्य पूरा हुने त कता हो कता, हमी सबैको ज्यान समेत जानसक्छ ।“ शीला मनमनै डराइरहेकी थिइन् ।
रातदिनको परिश्रमबाट विवेक.प्रतिरोधक सुई तयार गर्ने काममा सफल भयो । तीनचार दिनभित्रै यसको प्रभावकारिता तथा संभाव्य प्रतिकूल असर पर्ने नपर्ने कुरा थाहा पाउनका लागि अरू जनावरमा परीक्षण गर्ने समय थिएन ऊसँग । यो अवस्थामा परीक्षणै नगरी शीलालाई नयाँ औषधिको सुइलगाउँदा यसले नराम्रो असर पार्न पनि सक्थ्यो ।
“हामीसँग समय नभएकोले म यो खतरा म लिनै पर्छ । त्यसैले तपाइँको आविष्कारको प्रथम प्रयोग म आफूमाथि नै गर्न राजी छु ! भावि शिशुहरूको स्वतन्त्रता र मानव हितका लागि आफ्नो जीवन नै गुमाउन परे पनि गौरव महसुस गर्नेछु । म स्वयम् चिकित्क हुँ, अरुको जीवन बचाउने मेरो सबैभन्दा पहिलो कर्तव्य हो ।” शीलाले विवेकलाई मनाइन् ।
विवेक आफैं पनि मानवीय हितका लागि आफ्नै जीवन वलिदान गर्न समेत पछि नहट्ने स्वभावको थियो । पत्नीको मानवीय स्वतन्त्रताप्रतिको त्यो समर्पणबाट अति प्रभावित विवेकलाई शीलाको त्यस भावनाको सम्मान नगर्दा उनको मन बढी दुख्छ भन्ने उसलाई थाहा थियो । त्यसमाथि उसलाई आफ्नो खोजीको सफलतामा पनि पूरै विश्वास थियो । त्यसैले ऊ पनि यो खतरा मोल्ने अठोटमा पुग्यो । सरकारी अस्पताल गएर स्मृति स्थानान्तरण सुइ लिनेभन्दा चौबीस घण्टा अगाडि नै उसले आफ्नी पत्नीलाई त्यसको प्रतिरोधी सुई दियो ।
अस्पताल जानुपर्ने दिनभन्दा अरु समय त्यहाँ देखिँदा उनीह्रूले शङ्का गर्न सक्थे । त्यसैले सुइदिन आउने अरु गर्भिणी आमाहरूलाई आफ्नो योजना बारे बुझाएर सहमत बनाउन आफू अस्पताल ुहँदाको सीमित समय मात्र थियो शीललासँग । अस्पतालमा उनीह्रूसँग भेटेर खेला कुराकानी गर्न सम्भव थिएन । त्यसैले उनी त्यो दिन विशान सबेरै अस्पतालको मुखैमा पर्ने एउटा गल्लीमा उनीहरूलाई पर्खेर बसिन । सुई दिन भनी जो आउँथे उनलाई उनी एकान्तमा सबै कुरा सम्झायने कोसिस गर्थिन् । कोही मान्थे, कोही उनको कुरालाई पागलपन ठान्थे । आफूलाई विश्वास नगर्नेहरूसँग उनको आग्रह हुन्थ्यो– मेरो कुृरामा पत्यार नभए पनि कृपण यो कुरा अस्पतालमा नभनिदिनुहोला । उनीहरू मुखले हुन्छ भन्थे, तर शीलालई यो योजना कुनै पनि बेला खुल्न सक्ने र त्यसले उनीहरूमाथि विपत्ति निम्त्याउन सक्ने डर थियो । उनको अथक प्रयत्नबाट गोप्य रूपले प्रतिरोधी सुई लाउन निकै सङ्ख्यामा तयार भए ।
अब उनीहरूसँग लामो समय प्रतीक्षा गर्नु बाहेक अर्को उपाय थिएन, प्रतिरोधी सुई कतिसम्म प्रभावकारी रह्यो र सरकारी अस्पतालको त्यो गुप्त षडयन्त्र धराशायी भयो भएन भन्ने चाहिँ सुई लिएका आमाहरूबाट जन्मने शिशुहरूको विकाससँगै प्रदर्शन हुने स्भाव र चरित्र हेरेर मात्र हेरेर मात्रै यकिन गर्न सकिन्थ्यो । अहिलेको लागि सन्तोषको कुरा प्रतिरोधी सुईले आमाहरूमा कुनै प्रतिकूल असर पारेको थिएन र यसले विवेक र शीलालाई आफ्नो योजना सफल हुने विश्वास दिइरहेको थियो । त्यही विश्वासको उज्यालोमा मानवीय स्वतन्त्रताको रक्षामा सार्पित यी दुई प्राँणी थप खोजी र अनुसन्धानमा लागे, सकारात्मक परिणामको प्रतीक्षामा !
२०६१ कात्तिक २६
आरुबारी

७. विज्ञानको कैदी

निद्राबाट विउँझिए पनि आष्किारका आँखा निद्रालु नै थिए । अरु सबै कुरा कम्प्युटर र मिसिनहरुद्वारा पूरा हुन्थे । तर भोक, निद्रा र सरीरका अरु आवश्यकता भने तिनको नियन्त्रणमा थिएनन्् । त्यसैले राती निद्रा नपुगेर उसका आँखा निन्याउरै देखिन्थे । इण्टरनेटमा आफ्ना पितापुर्खाका चाखलाग्दो मात्र होइन लोभलाग्दो इतिहास हेर्दाहेर्दै रात छर्लङ्गै वितेको उसले पत्तै पाएको थिएन । त्यसमा बाधा पर्छ भनेर उसले समय भयो अब सुत भनेर संझाउने मिसिन जानीजानी बन्द गरेर राखेको थियो । मिसिनले दिने यसोगर,यसो नगर,यो खाऊ, योे नखाऊ भनेर जेकुरामा पनि आदेशपूर्ण सल्लाह उसलाई पटक्कै मन पर्दैनथ्यो । सबैकुरा मिसिनले अराएर गर्नुपर्दा उसलाई आफू तिनै मिसिनको कैदी भएजस्तो लाग्थ्यो । हिजो बाजेबराजुको इतिहास हेरेदेखि उसलाई सबै कुरा मिसिनको भर नपरी आफैं गर्नेे उनीहरुको जीवनसँग लोभ लागेको थियो ।
विसं २०१० को कात्तिक महिनाको ओसिलो विहानीले उसको कोठा भित्र कुनै असर पु¥याउन सकेको थिएन । सिंगो प्रकृति मिसिनको माध्यमबाट विज्ञानको मुट्ठीमा थियो । सबै कुरा मिसिनद्वारा नियन्त्रित थिए । प्रकृतिसँग सोझै सम्पर्क गर्न पाउनु स्वर्ग पाउनु सरह थियो ।
कोठा दूधिलो उज्यालोले ढाकिएको थियो । कोठामा कतै बत्ती बलेको देखिंदैनथ्यो । कोठाका झ्याल ढोका समेत सबै बन्द थिए । तर पनि कोठामा मनग्गे उज्यालो थियो । यो सबै विज्ञानको करामतबाट मात्र संभव भएको थियो । यो करामत उसका बाबुबाजेका पालामा कल्पनासमेत गर्न सकिंदैनथ्यो । गए राती इण्टरनेटमा उसले हेरेको बाबुबाजेको पालाका घर , बस्ती र कोठाहरु देखेर उसलाई यस्तै लागेको थियो ।
आविष्कारले ओछ्यानमा पल्टिएरै कम्प्युटरमा आउने ई–समाचारको स्विच थिच्यो । अघिल्लो शताब्दीमा उसका बाबुबाजेले पढ्नेजस्तो कागजका अखबारहरु अहिले पाइँदैनथ्यो । किताब,पुस्तक,पत्रिका सबै कम्प्युटरका पर्दामा स्विच थिचेर मन परेको छान्दै पढ्न सकिन्थ्यो । त्यस्ता पुराना पुस्तक–अखबार अहिले कम्पयुटर म्युजियममा मात्र देख्न पाइन्थ्यो ।
टिभी अखबारमा समाचारका केही शीर्षकहरु पढेर ओछ्यानमा पल्टिएरै उसले छेउको एउटा स्विच थिच्यो । त्यसो गर्नासाथ कोठाका पूर्व,दक्षिण र उत्तरतिरका तीनै भित्ताहरु परदर्शी बनेर झ्यालको रुप लिए । ती झ्यालहरुलाई अर्काे स्विच थिचेर खुल्ने आदेश दिनासाथ मुख्य कम्प्युटर क्रियाशील बन्यो र झ्यालमा प्रकाश छेक्ने गाढा रङ्ग हटेर पूरै पारदर्शी भयो । बाहिरको उज्यालो कोठा भित्र आएर बाहिरको दृश्य समेत छर्लङ्ग देखियो । कोठाको तापक्रम आफैं सन्तुलित बन्योे । बाहिरबाट पसेको सक्कली उज्यालो कोठाभित्रको दूधिलो उज्यालो सँग मिसिएर कोठा झनै चहकिलो देखियो । ताजा सितल हावाको मन्द प्रवेशले आविष्कारको अघिको अल्छीपना हटेर अनिंदोपनलाई समेत उडाएर लग्यो । आविष्कारलाई आफ्नो शरीर नै हलुको अनुभव भयो ।
आविष्कारले झ्यालबाट बाहिर हे¥यो । चारैतिर अग्लाअग्ला पहाडले घेरेको काठमाणौं उपत्यका विहानीपखको कमलो–पहेंलो घाम पोतिएर सुनौलो रङ्गमा रमणीय देखियो –हेरिरहुँजस्तो ! अरु दिशातिर अग्लाअग्ला गगनचुम्बी भवनहरुले ढाकेर केही नदेखिने भएपनि बौद्धनाथ,स्वयम्भूनाथ,पशुपतिनाथ क्षेत्र भने केही खुला राखिएका थिए । स्वयम्भू र बौद्धनाथका गजूरहरु विहानको त्यो पहेंलो घाममा टल्किएर सुनौलो रङ्गमा पोतिए झैं देखिन्थे । विशालविशाल आकारका घरहरुको बस्ती उपत्यकाको दक्षिण–पूर्व र पूर्व–उत्तरतिर ढाकेर फैलिएका थिए । अघिल्लो शताब्दीको जस्तो धूवाँ–धूलो र फोहरमैलाको बादल र पहाड कतै देखिंदैनथ्यो । सबै घर,टोल र बस्तीहरु योजनाबद्ध ढंगमा बनाइएका थिए । काठमाणौंको आकार पनि टाढाटाढासम्म शहरको रुपमा फैलिएर विशाल बनिसकेको थियो । पाटन,भक्तपुर,कीर्तिपुर सबै मिलेर काठमाणौं एउटै महानगर बनेको थियो । त्यो हेर्दा अविष्कारलाई आफू त्यही महानगरको सिमेण्ट–कङ्क्रिटहरुको जङ्गलमा हराएजस्तो लाग्यो । प्रकृतिलाई नजिकैबाट हेर्न र छुन पाए कति आनन्द हुन्थ्यो होला ! घरकै छानामा उमारिएका कलमी विरुवा र फूलबाहेक प्राकृतिक उद्यानका बोटविरुवा,वनस्पति र फलफूलहरु देख्न नपाएको जुगै भइसकेको थियो । फुर्सत भए पो ! त्समाथि उपत्यकाभित्र त्यस्तो प्राकृतिक उद्यान कतै थिएन,जे जति थिए ती सबै विज्ञान निर्मित नक्कली थिए,कृत्रिम थिए । अर्काे कुरा यो विज्ञानको नक्कली संसारमा हराएपछि सक्कली संसार हेर्ने समय नै कहाँ पाइँदो रहेछ र,आविष्कारले सोच्यो !
कहिलेकाहीं त उसलाई दिक्कै लाग्छ –आफैं पनि पूरै मिसिन जस्तै भएकोमा । अझ मिसिनको सहायता बिना एक पाइलो चाल्न नसक्ने भएकोमा अपाङ्ग ठानेर आफैंमाथि दया लाग्छ उसलाई । के यही हो त उसको ससभ्यताको विकास र उन्नतिको उत्कर्ष ? यो मिसिनको कैदी हुनुभन्दा त त्यो हिजो इण्टरनेटमा हेरेको बाजेबराजुको पालाको खुला प्राकृतिक जीवन कति सुन्दर होला जस्तो लाग्छ ! यो देखेर उसलाई आफ्नो पुर्खाको उही पुरानो समयमा फर्कन रहरलागेको थियो,तर केगर्नु त्यो युग अब फर्काउन पनि त सकिन्न ।
आविष्कार सानो गोजी कम्प्युटर हातमा लिएर त्यसको पर्दामा पछिल्लो समाचार हेर्दै भान्छा कोठातिर लाग्यो । ल्यापटपको जमाना बितेर गोजी कम्प्युटुको युग सुरुभएको पनि धेरै भैसकेको थियो । अहिले कफी खाने इच्छाले उसलाई त्यता पु¥याएको थियो । कोठामा पुगेर उसले स्विच थिचेर विशेष किसिमको सेन्सर कप निकाल्यो । इण्टरनेटको भान्छा यन्त्रमा विश्वभरका उत्पादन सयभन्दा बढी प्रकारका कफीहरुको नामसहित लाम देखिए । कुनचाहिं खानेहोला ? एकछिनसम्म घोरियो र अर्काे स्विच थिचेर सेन्सर कपमा इलाम कफी भ¥यो । कफीको मीठो र तात्तातो स्वादले उसमा अघि भन्दा केही फुर्ति आयो ।
आवश्यक बस्तु किन्न बजारजाने युग बाजेबज्यैसँगै बितिसकेको थियो । कम्प्युुटरको माध्यमद्वारा वेभसाइट मार्केट वा इ–मार्केटबाट जेचाह्यो स्विच थिचेको भरमा त्यो सामान कोठामैं उपलब्ध हुन्थ्यो । वितरण प्रणली र यन्त्रहरुको जालो प्रत्येक व्यक्तिको घरको कोठासम्मै फैलिएको थियो । त्यसरी पाइने बस्तुहरुको मोल बस्तु उपभोग गर्नेे मान्छेको बैक खाताबाट काटिएर त्यो बस्तु बेच्ने कम्पनीको खातामा आफैं जम्मा हुन पुग्थ्यो । यी सबै कामको व्यवस्था कम्प्युटर आफैंले पूरा गथ्र्याे ।
अविष्कार यसलाई इण्टरनेट वा मेडिया नेट भन्नेगथ्र्याे । यो इण्टरनेट वा मेडियानेटले मानिसको कामगर्ने तौर तरिकामा पूरै फेरबदल ल्याइदिइको थियो । व्यापार होस् कि सञ्चार, सबै काम घरमैं बसेर यसबाटै गर्न सकिन्थ्यो । खेलकुददेखि लिएर लेखपढसम्म सबेकुरामा बाजेबराजुको पालामा जस्तो मानिस आफैंले दौडधूप र परिश्रम गर्नुपर्दैनथ्यो ।
क्रिङ...किङ्र...क्रिङ....अविष्कारको कानमा चेतावनीकोे चर्काे तरङ्गपूर्ण आवाज गुञ्जियो । उसले संझ्यो–आइ–कम्प्युटरमा चिप्स ब्याट्री सकिएछ ।
उसको घाँटीमा सानो जन्तरजस्तो लकेट झुण्डिएको थियो । वास्तवमा यो मनचिन्ते झोलीजस्तै एउटा मिसिन थियो । यस मिसिनलाई आइ–कम्प्युटर भन्थ्यिो । यसभित्र आफूलाई चाहिने ,आवश्यक पर्ने संपूर्ण आवश्यकताका सबैकुरा,संपूर्ण सूचना,आदेश र तथ्याङ्कहरु भरिएका हुन्थे । यसकै निर्देशनमा दैनिक जीवनमा आइपर्ने सानाठूला यावत काम कार्बाही चल्ने गर्थे । यो मिसिन बालुवामा पाइने अभ्रखजस्तो चिप्स नामको ब्याट्रीबाट चल्दथ्यो । त्यो चिप्स ब्याट्री समय समयमा फेर्नुपथ्र्याे । त्यो ब्याट्री सकियो र कम्प्युटर बन्द हुनपुग्योे भन सारा संसारै शून्य भए जस्तै हुनपुग्थ्यो । केही पाउन सकिन्नथ्यो, कतै जान सकिन्नथ्यो,केही खान सकिन्नथ्यो र असहाय निरुपाय बन्नु पथ्र्याे । त्यतिबेला मानिस यतिसम्म निरुपाय र असहाय पनि हुनसक्ला भन्ने सायद पहिलेका पुर्खाले कल्पनासमेत गर्नसकेका थिएनन् होला । खुसीको कुरा ब्याट्री थाहै नपाइ भने सकिंदैनथ्यो,एकैचोटि झ्वाट्ट सकिंदैनथ्यो । सकिनु अगाडि यस्तै तरङ्गपूणै संकेत दिएर दुईपल्टसम्म सतर्क तुल्याउँथ्यो । तर उनीहरु कुनैबेला संपूर्ण प्रणाली अवरुद्ध भएर मानव सभ्यता नै समाप्त हुने संभावनापूर्ण आशंकाबाट पनि त्रश्त थिए । त्यसको बचावटमा वैकल्पिक प्रणाली निर्माण गर्ने तर्फ उनीहरु प्रयत्नशील नभएका होइनन्.। तर पनि अहिलेसम्म त्यस्तो विशेष प्रणाली र उपायकोे खोजी भने सफल भैसकेको थिएन ।
आइ–कम्प्युटरले ब्याट्री सकिन लागेको सूचना दिएपछि आविष्कारले त्यसैमा भएको एउटा स्विच थिच्यो । त्यति गर्नासाथ त्यसमा रहेको पुरानो चिप्स ब्याट्री रिचार्ज भएर फेरि नयाँ बनिसकेको थियो । अब आइ–कम्प्युटरको निर्देशनमा चल्ने सबैकाम कुराहरु विना बाधाअवरोध चलिरहन्थे । एक किसिमले कम्प्युटरनै उसको सिंगो संंसार थियो –हाँस्ने, खेल्ने,खाने,पढ्ने, मनोरञ्जन गर्ने,सबै काम यसैद्वारा हुन्थो । कम्प्युटर बाहेक उनीहरु न कुनै कुरा सोच्न सक्थे न केही गर्न नै सक्थे । हिजो राती इण्टरनेटमा बाजेबराजुका जीवनीसंबन्धी सचित्र इतिहास हेरेपछि आविष्कारका मनमा अनेकौं कुरा खेलीरहे । आहा उनीहरुको जस्तै आाफूले चाहेका कुरा आफ्नै चाहना बमोजिम आफ्नै इच्छाले आफ्नै हातखुट्टा चलाएर गर्न पाए ! उनीहरु प्रिवारका सबैजना सँगै बसेका, सँगै हाँसखेल गरेका देखेर आविष्कारलाई लोभ लागेको थियो । त्यति बेलाका केटाकेटीको झैं सुन्दर बगैंचा र फूलबारीमा पुतलीहरुसँगै रमाइलो मान्दै नाच्दै उफ्रिंंदै खेल्न पाए ! आविष्कारले सोच्यो–कति खुला र स्वतन्त्र रहेछन् उनीहरु । आफू भने कसैसँग सोझै संपर्क समेत गर्न सकिंदैन । आमाबाबालाई आमनेसामने नदेखेको एक जुग भैसक्यो, भेटघाट,बोलीचाली जे हुन्छ आइ–कम्प्युटर कै माध्यमबाट कम्प्युटरको पर्दामा मात्र हुन्छ । साथी भाइको त कुरै छाडौं ।
यस्तै कुरा सोच्दासोच्दै कोठाको सिडी रेकर्डमा आफैं सुममधुर संगीत बज्न थालेछ, उसलाई पत्तै भएन । जव उसको मन त्यो सोचबाट हट्यो उसलाई मनपर्ने कार्यक्रम टेलिभिजनको पर्दामा आफैं शुरु भयो । र उसको मस्तिष्कमा टक्...टक्...टक्...गरेर तरङ्गयुक्त आवाज फैलिन थाल्यो । यो तरङ्ग उसको लागि चेतावनी थियो–तिमी धेरै तर्कना गर्न थाल्यौ, यसले चिन्ता बढाउँछ र तिमी बिरामी पर्नेछौ । त्यसैले चिन्ता छाड । होइन भने तिम्रो मस्तिष्कलाई मैले लामो समयसम्म निष्कृय पार्नुपर्ला !
कोठाको सिडी रेकर्ड बज्ने,टेलिभिजनमा उसको मनपर्ने कार्यक्रम छान्ने,र मस्तिष्कमा तरङ्गयुक्त चेतावनी फैलाउने सबै काम उसकै आइ–कम्प्युटरको माध्यमद्वारा भएको थियो । मनको कुनै कुनामा कुनै पनि चिन्ता र इच्छा उब्जनासाथ त्यो सूचना मानसिक तरङ्गका रुपमा आइ–कम्प्युटरले समात्थ्यो र त्यो इच्छा पूरा गर्नुका साथै चिन्ताको मात्रा बढे अनुसार मीठो संगीत सुनाएर चिन्ता हटाउनेदेखि धेरै चिन्तित छ भने चेतावनी दिएर मस्तिष्क शून्य तुल्याउनेसम्मका कामहरु त्यही आइ–कम्प्युटरले आवश्यकता अनुसार पूरा गर्दथ्यो । अहिलेका यी सबै गतिविधिहरु पनि यसै अनुसार भएको थियो ।
–नाइँ, यसरी म मरेसरी निष्कृय काँच्न चाहन्न ! आविष्कारले मनमनै सोच्यो । यस्तो चेतावनी आएको यो दोस्रो पल्ट भैसकेको थियो । अब एक पटक बाँकी छ,तेस्रो पल्ट पनि चेतावनी आयो भने कम्प्युटरले नै मेरो मस्तिष्कलाई लामो समयसम्म निष्किृय तुल्याइदिनेछ । त्यो भन्नु एकप्रकारकोे मेरो मृत्यु नै त हो । सरीर नगले पनि आखिर लामो समयसम्म निष्चेष्ट बेहोसीको अवस्थामा रहनु मरेसरह नै त हो ! आविष्कालाई अरु चिन्ता थपिन्छ । मनमा केही सोच्न र तर्कवितर्क गर्न समेत नपाउने ऊ आफूलाई कम्प्युटरको दास ठान्दछ ।
उसलाई लाग्दछ–के फरक भयो र हाम्रा बाजेबराजुका पालाका कमारा–कमारी, दास – दासी र मेरो स्थितिमा ? उनीहरु आफूजस्तै मानिसहरुको आदेश बिना केही गर्न सक्तैनथे,म कम्प्युटरको आदेश विना केही गर्न पाउँदिन । मेरालागि त मैले नै बनाएको कम्प्युटरले मेरै मालिकको स्थान लिंदैछ भने म उसको दास नभएर के हुँ त !
चेतावनी पाएर पनि आविष्कारको मनबाट चिन्ता हट्दैन । आफ्ना पुर्खाको जीवन इण्टरनेटबाट हेरेदेखि नै उसको मन आज निकै उद्विग्न भएको छ । घर घरजस्तो नलागेर बन्दीगृहको यातनाकक्ष जस्तो लाग्न थालेको छ उसलाई । मानिस भनिने ऊ मानिसको संपर्क–संसर्गका लागि छट्पटिएर पनि त्यो संपर्क र संसर्ग पाउँन सक्दैैन । विज्ञान सिर्जित कृत्रिमतामा आकण्ठ ढाकिएर ऊ स्वयम् विज्ञान यन्त्रको एउटा पुर्जाको कठपुतली बनेको छ । कहाँ छ उसभित्रको मानिस....? लाग्छ,यो आइ–कमप्युटरलाई,कोठाको मास्टर कम्प्युटरलाई र गोजी कम्प्युटर सबैलाई मिल्काइदिऊँ र चकनाचूर हुनेगरी धूलोधूलो बनाइदिऊँ । उसलाई लाग्दछ,यो मायानगरीबाट भागेर टाढाटाढा निर्जनमा जाऊँ र यो एक्लो कैदी जीवनबाट मुक्ति पाऊँ । बाजेबराजुको त्यो जीवनमा फर्कन पाए ऊ कति खुसी हुनेथियो । तर के गर्नु, त्यो संभव नै छैन । उसलाई थाहा छ,यो चक्रव्यूहको भूलभुलैयाबाट उम्कने कुनै उपाय छैन । यान्त्रिक शून्यताको मृत्युमा पुग्ने क्षण पलपल उसको नजिकै आइरहेको छ र ऊ चिन्तामुक्त भएर त्यसबाट बच्ने प्रयासमा पूर्णतः असअफल बनिरहेको छ । त्यसैल ऊ आफूलाई यन्त्रकै कैदको नियतिमा छाडिदिन्छ ।

ड्ड






८. प्रलयको तयारीमा

पृथ्वीमा हिमयुगको आगमन हुने नेपाली वैज्ञानिक केदारको भविष्यवाणीले सामान्य मानिसमा भयको लहर फैलाइदियो । उसको लामो अध्यनको परिणाम थियो– पृथ्वीमा बढ्दो प्रदूषण, रासायनिक प्रतिक्रिया, विकीकरण र अन्य गतिविधिका कारण सूर्य र पृथ्वीको बीचको वातावरणमा नयाँ खालको एउटा पर्दाको निर्माण भइरहेको छ । क्रमिक रूपमा घना बन्दैगएको यो पर्दा ले विस्तारै पृथ्वीमा आउने सूर्यको प्रकाश र तापालाई रोक्ने प्रक्रिया सुरु गरिसकेकोले केही वर्षभित्रै पृथ्वीको तापक्रम कम हुँदै गएर चिसोको मात्रा बढ्दै जानेछ ।
सर्वसाधारण मानिसलाई यो खबरले अत्याए पनि संसारका ठूला वैज्ञाननिकहरूले भने यो कुरामा विश्वास गरेनन् । उनीहरूले केदारको कुरालाई हावामा उडाइदिए । उनीहरूको भनाइ थियो– पृथ्वी निदप्रतिदिन गर्माउँदै गएको छ । यही क्रममा गर्माउँदै गयो भने हिम युग होइन बरु सिङ्गै पृथ्वी तातेर आगोको गोला बन्न बेर छैन । आणविक विष्फोट, हरितगृह प्रभाव, सवारी साधनबाट निश्रित ताप, धुवाँ र धूलो तथा मानवीय चापका कारण भइरहेको बनजङ्गलको विनाश आदिले शीतयुगको होइन, तापयुगको संभावना चाहिँ प्रवलछ ।
उता केदारको भनाइ थियो– हो, यही सुरुको तापीकरणबाट निस्कने वाष्फप्रक्रिया नै वास्तबमा पृथ्वीमा शीतयुग आउने प्रारम्भिक कारण बनिरहेको छ । यही बढ्दो तापक्रमले पृथ्वी र सूर्यको बीचको वातावरणमा एकप्रकारको रासायनिक प्रतिक्रिया उत्पन्न गरेर रासायनिक पर्दा खडा गर्दै छ । यो तापिकरणको निश्चित प्रक्रिया पूरा नहुञ्जेल पृथ्वी गर्माउने क्रम जारी रहनेछ । त्यो प्रक्रिया पूरा भएपछि चाहिँ त्यही रासायनिक पर्दाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट पूरै व्यवधान खडा गर्ने छ । त्यस पछिको कल्पान गर्नोस् त, हिमयुगको अगमन होला कि, तापयुगको ! त्यसैले अझै पनि समय छ, सबै वैज्ञानिक मिलेर उपाय गरौं !
तर उनको भनाइ अरण्यरोदन मात्रै बन्यो, उनको कुरा पत्याउन कसैले चाहेन । हुन पनि अघिल्लै शताब्दीको अन्तिम कालखण्डदेखि नै ऊर्जाको रूपमा प्रयोग हुँदै आएको दाउराजस्ता इन्धनद्वारा निस्कने कार्वन डायो अक्साइड, बनजङ्गलको निमर्मम विनाश, औद्योगिक प्रतिष्ठानबाट निस्किने कार्बन र अन्य रासायनिक ग्यास आदिका कारण सिङ्गो व्योममण्डल वा बायोस्फियर नै प्रभावित बनिरहेको थियो । वायुमण्डलमा त्यस्ता ग्यासहरू मिलेर यसको रासायनिक संरचनामैं ठूलो परिवर्तन ल्याइदियो । पृथ्वीको जलवायु नराम्ररी प्रभावित बने । यसबाट हरितगृह प्रभाव बढ्यो र वायुमण्डलको ओजोन तह पातलिँदैजाँदा अधिकपरावैगनी विकीरण अत्यधिक मात्रामा पृथ्वीमा प्रवेश ग¥यो र यहाँको जीववनस्पतिमैं प्रतिकूल असर पर्दै गएको थियो । यी सबैको परिणाम पृथ्वीको औसत तापक्रम बढ्दै गएर घातक असर हुन थालेको थियो । यसरी सबैतिरबाट केदारको भविष्यवाणी र वैज्ञानिक निस्कर्ष सत्य हुँदै गए पनि समय छँदै विश्वका अरु वैज्ञानिकहरूले उसको भविष्यवाणीको गंभीरता बुझन सकेका थिएनन् ।
आफ्नो कुरा संसारका ठूला भनिने वैज्ञानिकहरूले नपत्याए पछि सुरुमा ऊ निकै निराश भयो । उसलाई लाग्यो सायद नेपालजस्तो भर्खरै विकासको गति लिन थालेको देशको वैज्ञानिकको खोजको कुनै मूल्य थिएन उनीहरूका लागि । विज्ञान तथ्य र तर्कका आधारमा निस्कने क्र्यिोल हो, त्यसैले धेरै अगाडिदेखि विकसित मुलुकका वैज्ञानिकले मात्रै त्यस्ता खोजी गर्नसक्छन् भन्ने सोचाइ आफैंमा गलत थियो । तर अमेरिका र युरोपतिरका ती वैज्ञानिकहरूले उनको खोजको तथ्य र तर्कपूर्ण निस्कर्षलाई समेत गम्भीरतापूर्वक नलिएकोमा उसलाई साह्रै दुखः लाग्यो । ती वैज्ञानिकहरूको गलतसोचाइ र आफूबाहेक अरुको खोज सत्य हुँदैन भन्ने दम्भपूर्ण संकुचित धारणाले पृथ्वीभरका मानव जातिकै नाश हुनसक्ने संभावना नजिकिँदै थियो, उसक लागि सबैभन्दा चिन्ता र दुःखको कुरा यही थियो । तर उसले गर्नसक्ने कुनै उपाय बाँकी थिएन, उनीहरूलाई सम्झाऊन बुझाउन भरमग्दुर नगरेको पनि होइन । उनीहरू तापीकरणको आफ्नो निस्कर्ष विपरित पृथ्वीमा हिमयुगको कुनै संभवना छैन भन्ने निस्कर्षमैं अडेपछि सम्झाउने अरु उपाय पनि थिएन । त्यो आसन्न सङ्कटबाट पृथ्वी र मानवजातिलाई जोगाउन सकिने उसको उपायको कार्यान्वयन न उसको न उसको देश नेपालकै साधन, श्रोत र प्रयासबाट मात्र सम्भव थियो ।
त्यही चिन्ताका बीच उसले अरु केही उपाय छकि भनेर निकै सोच्यो । उसको अनुमान थियो पृथ्वीमा हिमयुगको प्रक्रिया आउँदो तीन वर्षभित्रै पूरा हुने छ र त्यसपछि सुरु हुनेछ मानव विनाशको दुखःद इतिहास । यति छोटो समयमा ऊ आफ्नै बुताको भरमा सिङ्गो मानवतालाई बचाउने कुनै उपाय कार्यान्वयन गर्न सक्दैनथ्यो । कुनै बेला पृथ्वीमा राज गर्ने डायनोसोर, ट्राइनोसोरजस्ता भीमकाय विशाल जीवसमेत पृथ्वीबाट लोप भएको इतिहास सम्झेर आफ्नो भनाइलाई ती अगुवा भनिने वैज्ञानिकहरूले गंभीरतापूर्वक लिइदिएका भए ! ऊ अझै पनि सोचिरहेको थियो । त्यसैले अब आफू र आफ्नो परिवारलाई मात्रै भए पनि जोगाएर भावि श्रृष्टिको संभावनालाई जीवित राख्ने प्रयास गर्नु एकमात्र उपाय थियो र ऊ त्यही लक्षमा केन्द्रित रह्यो । उसले सोचेको उपाय थियो– हिमयुगको असर पुग्ननसक्ने पृथ्वीको अन्तरगर्भमा एउटा आश्रय निर्माण गर्नु ! तर कुरा त्यति सजिलो थिएन, पृथ्वीमा हिमयुगको असर समाप्त भएर फेरि मानिसले बस्न सक्ने वातावरण तयार हुन लाखौं करोडौं कति वर्ष लाग्ने हो त्यसको अनुमानसम्म पनि कठिन थियो । त्यति लामो समयसम्म पृथ्वीको अन्तरगर्भमा आश्रय निएर बस्ने कुरा आफैंमा चमत्कारी कल्पना मात्र सिद्ध हुनसक्थ्यो । यो सत्यबाट समेत ऊ अनभिज्ञ थिएन, तर कुनै प्रयासै नगरी विपत्तिको प्रतीक्षामा निस्कृय बस्नुभन्दा संभावनाको खोजीमा लाग्नु नै बुद्धिमानी हुन्छ उसको सोचाइ थियो । यस अर्थमा यो उपायलाई यथार्थमा अनुवाद गर्ने उसको कोसिस अनुउपयुक्त ठान्न सकिँदैनथ्यो । आफ्नो योजना सफ नै हुन्छ कि हुँदैन, त्यसको पनि उसलाई कुनै निश्चित जानकारी थिएन । यो मात्र एउटा संभावना थियो, जसको सफलतारूविफलता आधाआधाप्रतिशत हुनसक्छ भन्ने उसको सामान्य अनुमान थियो । जे भए पनि कुनै उपाय नगरी निष्कृय मृत्यको प्रतीक्षा गर्नुभन्दा कोसिस गर्दागर्दै मर्नु बुद्धिमानी हुनजान्थ्यो । यही सोचाइले उनी आफ्नो योजनाको कार्यान्वयनमा मरिमेटेर लागेका थिए ।
पृथ्वीको भित्री गर्भमको वातावरणमा जीवहरू बाँच्नसक्ने वातावरण थिएन । पृथ्वीको अन्तरकेन्द्र अतितापले पल्गिएका धातुहरूको सागरका रूपमा रहेको यथार्थबाट ऊ अनभिज्ञ थिएन । त्यो अन्तर केन्द्रभन्दा माथिको चट्टानी भाग नै उसको योजनाको लागि उपयुक्त हुनसक्थ्यो । ऊ साधनहीन एक्लो मानिसका लागि त्यो ठाउँसम्म पुग्न उत्खनन्को संभावना थिएन । त्यसैले उसले गर्भगृहको रूपमा एउटा यस्तो क्याप्सुलको निर्माण गर्ने योजना बनाएको थियो, जसभित्रको वातावरणमा समय र जीवन स्थिर होस् । त्यहाँ भोकप्यास, जरामृत्यु कुनैको पनि प्रभाव नरहोस् । त्यसभित्र अनवरत जीवन वायु अर्थात अक्सिजन प्रवाह गर्ने स्वचालित यन्त्र जडान गर्नु आवश्यक थियो, जसले त्यो स्थिर जीवनमा निरन्तर जीवन वायुको आवश्यकता पूर्ति गरोस् । गर्भगृहका रूपमा त्यो क्याप्सुल तयार भए पछि त्यसलाई अन्तरिक्षमा रकेट प्रक्षेपण गरेजस्तै पृथ्वी छेडेर भित्रको चट्टनी भागसम्म पुग्ने गरी घुसाउन सक्नु पथ्र्योे । त्यसैले उसका अगाडि दुईवटा प्रमुख काम थिए– पहिलो त्यस्तो क्याप्सुलको निर्माण जसभित्र जीवन र समय स्थिर भएर करोडौं वर्षसम्म पनि जीवन नष्ट नहोस् र दोश्रो, त्यस्तो प्रक्षेपकको निर्माण गर्नु थियो जसले त्यो क्याप्सुललाई पृथ्वीको गर्भभित्र प्रक्षेपण गरेर भित्री चट्टानी भागसम्म पु¥याउन सकोस् । ऊ त्यही काममा रातदिन एकै गरिरहेको थियो ।
उसको प्रयास चल्दाचल्दै भविष्यवाणी सत्य हुँदै गएर पृथ्वीमा हिमयुगको प्रभाव देखा पर्न थालिसकेको थियो । अब अरु वैज्ञानिकहरूले समेत उसको कुराको सत्यता अनुभव गर्न थालिसकेका थिए । तर समय भिड्किसकेकोले पछुताउनुबाहेक कुनै उपायको संभावना थिएन । त्यसैबीच अमेरिकाले गुप्त ढङ्गबाट बनाएको अहिलेसम्मकै अति शक्तिसाली परमाणु बम आकस्मिक दुर्घटनामा परेर विष्फोट भएपछि त्यसले पृथ्वीमा फैलाएको विकीरणले बलिरहेको आगोमा घिउ थपेझैं भएको थियो । त्यो विकीरणले सूर्य र पृथ्वीको वातावरणमा बनिरहेको रासायनिक पर्दालाई अरु घना बनाइदियो । परिणामस्वरुप सूर्यको प्रकाशलाई त्यो रहस्यमय पर्दाले पूरै रोकिदियो र पूरै अन्धकारमय भई सम्पूर्ण पृथ्वीमा हाहाकार मच्चियो । सौर्यप्रकाशको तापको अभावमा चीसो एक्कासी बढेर मानिसहरू भटाभट मर्न थाले नदीनाला, समुद्रहरू चीसोले जम्दै गए । संसारभर हाहाकार मच्चियो ।
केदारको घर वरिपरिका सबै घर, बगैंचा र सानातिना बोट विरुवा र पोथ्रपाथ्री अलि अलि गर्दै हिउँमा ढाकिँदै थिए । केही दिन अघिको त्यो मनोरम उसको बस्ती अहिले चारैतिर हिउँ नै हिउँको अपार सागरमा परिणत हुँदै थियो । मानिसहरू त्यो हिमपात र त्यसको असरबाट सिर्जित प्रचण्ड तापबाट आपूmलाई जोगाउने भरमग्दुर प्रयास गर्दागर्दै पनि जाडोले कठ्याङ्ग्रिएर धमाधम मृत्युको काखमा पुगिरहेका थिए । घरभित्र तापसिर्जना गर्ने सबै साधन समाप्त भैसकेका थिए, विद्युत आपूर्ति रोकिएको त हप्तौं वितिसकेको थियो । घरमा भएको अन्नपात सकिएर हप्तौं भाकै बस्दाको कमजोरीले बुढाखाडा त्यसै भकाभक मर्देथिए ।
केदारको आफ्नो तयारी आजै पूरा भकोले अब ऊ एउटा अनिश्चित भविष्यको यात्राकोलागि तयार थियो । उुसको घरमा पनि जगेडा खाने कुरा र ईन्धन आजैबाट पूर्ण रुपमा सकिएको थियो । अब घर कुरेर बस्नु मृत्युको निष्क्रय पर्खइभन्दा केही हुनसक्दैनथ्यो । त्यसैले अब उसले निर्णय ग¥यो– आज उसले परिबार सहित अज्ञात गर्भगृहको यात्रामा प्रस्थान गर्ने पर्छ । उसले सोच्यो, प्रयोग सोचेजस्तै सफल सिद्ध भयो भने भावी श्रृष्टिको सूत्रधार हामी स्वयम् बनौंला, नभए यहाँ मर्नु र पृथ्वीभित्र गर्भगृहमा मर्नुमा के नै अन्तर छ र !
त्यही सोचेर केही बेर अघि नै उसले आफ्नी पत्नी र एकएक छोराछोरीलाई त्यो गर्भगृह अर्थात टाइमक्याप्सुलभित्र पठाइसकेको थियो । केहीबेर ऊ निकै भावुक भएर विनाशको सङ्घार तर्फ क्रमशः बढिरहेको आफ्नो प्रिय संसारलाई हे¥यो । उसका आँखामा विदाइका केही थोपा आँसु प्रष्टै देखिए । पाइला गहु्रगोसित गर्भगृह अर्थात टाइमक्याप्सुलभित्र लागे, र त्यो क्याप्सुललाई सिधै पृथ्वीभित्र प्रक्षेपण गराउने यन्त्र चालु गर्न त्यसको घुण्डी अर्थात स्विचमाथि पुगेर थिचियो । तीब्र आवाज सहित क्याप्सुल पृथ्वीको कडा सतह छिचोल्दै भित्र पस्यो । ऊ अब एउटा अनन्त यात्रामा थियो, श्रृष्टिको वीजरुप जोगाउने महान् यात्रामा । उसको यो महाप्रस्थान सफल असफल के हुने हो, ऊ केही भन्न सक्दैनथ्यो !
२०६१ कार्तिक ५
आरुबारी


















९. सायद प्रेम मरेको छैन

एक साता लामो विदेश यात्राबाट घर फर्केको रमेश घरबाहिर आइपुग्नासाथ उसको कम्प्युटरचालित कार आपैंm विस्तारै रोकियो र कारको ढोका आफैं खुल्यो । कार उसले विमानस्थलकै सुरक्षित पार्किङमा छाडेर गएको थियो । ऊ बडो अल्छीलाग्दो पाराले कारबाट ओर्लियो, कारको ढोेका आफैं लाग्यो र कार स्वचालित तवरले ग्यारेज तर्फलाग्यो । रमेश घरको मूल ढोकामा पुग्नासाथ ढोका आफैं खुल्यो र घरभरि सुमधुर संङ्गीतको मद्धिम लहर गुञ्जियो । त्यो सुमधुर सङ्गीत लहरीका साथै धेरै दिनपछिको प्रत्यागमनमा ‘तपाईंलाईस्वागत छ’ भन्ने मधुर आवाज तरङ्गित हुँदै ऊसम्म आइपुग्यो । यदि उसको साटो अर्को कोही नौलो मान्छे आएको थियो भने स्पिकर र माइकयुक्त ई–चौकीदार सफ्टवेयर जडित कम्प्युटरले विद्युतीय स्वरमा प्रश्न गर्ने थियो– तपाईं को ? कहाँबाट आउनुभयो ? कोसँग के काम छ ? आदि । त्यो आवाज घरभित्रका मानिससम्म पनि प्रसार हुन्थ्यो र आवाज सुनेर कोठामा जडित क्लोजसर्किट क्याराको माध्यमबाट बहिरको मानिसबारे सबै प्रकारको जानकारी प्राप्त हुन्थ्यो । अनि मिल्नुपर्ने आगन्तुक रहेछ भने बसेकै ठाउँबाट ई–चौकीदारलाई सुइच थिचेर आदेश दिएपछि यन्त्रमानवले त्यो आगन्तुकलाई प्रतीक्षाकक्षमा लगेर बसाउँथ्यो, अनपेक्षित आगन्तुक रहेछ भने चौकीदारले नै घरमा कोही नभएकोले फिर्ता जान आग्रह गथ्र्यो । उसको अनुमति बेगर घरभित्र पस्ने कुनै उपाय थिएन ।
रमेशको विद्युतीय परिचय भने कम्प्युटर सफ्टवेयरमै रहेकोले उसले आफ्नो मालिकलाई सुरुमैं चिन्यो । प्रश्न गर्नुको साटो उसको स्वागतमा ढोका खोलिदियो । घरभित्रका बत्तीहरू सबै आफैं बल्दै गए, घरका सबै कोठाहरूमा दूधिलो प्रकाश छरियो । इप्याडको माध्यमबाट उसले घरको वातानुकूलन यन्त्र बाटैमा चालु गरिसकेको थियो । त्यसैले घरभित्र पसुन्जेलमा त्यहाँको तापक्रम उसको अनुकूल बनिसकेको थियो । बाहिर मोटर बाहिरको मुटु कमाउने चिसोको कुनै अस्तित्व थिएन घरभित्र । ऊ सरासर शयनकक्षमा पस्यो र लुगा फेरेर स्नानका लागि स्नानकक्षतर्फ लाग्यो । स्नानभन्दा अघि वास्लेटयुक्त नित्यकर्मबाट निवृत्त हुनु जरुरी थियो । त्यसैले ऊ स्नानकक्ष अगाडि शौचकक्षको (ट्वाइलेट) वास्लेटतिर लाग्यो । त्यो शौचकक्षमा दुर्गन्धको नामनिसान थिएन, बरु मीठो मनमोहक सुगन्धले स्वागत गरिरहेको थियो उसलाई । ऊ नजिकै पुग्नासाथ वास्लेटको ढक्कन आफैं खुल्यो । आरामदेह सिटमा बसेर निवृत्त हुँदा उसले आनन्दको अर्कै दुनियाँमा पुगेको अनुभव ग¥यो । वास्लेटबाट उठ्नासाथ गरम हावा प्रवाहित स्वचालित ब्लोअरमा हात सेकायो । त्यस अघि नै उसले मधुमेहजस्ता विभिन्न संम्भाव्य समस्याले छोएको त छैन भन्ने कुरामा निश्चिन्त हुन वास्लेटमैं जडिएको स्वचालित प्रयोगशाला परीक्षणसम्बन्धी विद्युतीय संयन्त्र चालु गर्न सुइच थिचिसकेको थियो । त्यस्तो केही समस्या रहेछन् भने वास्लेटमा जडिएको स्वचालित परीक्षण संयन्त्रले आफैं उसको मलमूत्रको परीक्षण गरेर गर्ने छन् र कुनै समस्या देखिएमा त्यसको परीक्षण नतिजा अर्थात् रिपोर्ट उसको घरेलु चिकित्सक कम्प्युटरमा पठाइन्छ । केही समस्या देखियो भने कम्प्युटरले नै त्यसको निदान गर्छ र औषधि तथा पथ्यको सिफारिस गर्छ । सूचना प्रणालीको विस्फोट, कंम्प्युटर चालित रोबोटको निर्माणदेखि जिनोम परीक्षणसम्मका उपलब्धि र गतिविधिले बिमारीमाथि यतिबेला लगभग नियन्त्रण राख्ने काममा सफलता पाइसकेको थियो । यन्त्रद्वारा नै खानपान, पथ्य, रक्तचापजस्ता नियमित परीक्षण सम्पन्न गरिन्थे । मानिस मानिस तथा शारीरिक, कष्ट र बिमारीबाट मुक्त हुने क्रममा थियो, सबै अङ्गप्रत्यारोपण सम्भव भैसकेका थिए र सबै प्रकारका रोगको निदान र उपचार गर्नमा इमेडिसिनले पूरै सफलता पाइसकेको थियो । मानिस एक ग्रहबाट अर्को ग्रहका साथै आकाशगङ्गामा आवागमनको युगमा प्रवेश गर्दै थियो । अघिल्लो युगमा बेलायती रिडिङ विश्वविद्यालयको साइबरनेटिक्सका प्राध्यापक प्रोफेसर केविन बार्विकको त्यो परिकल्पना अहिले आएर सत्य भैसकेको थियो । उनकै कल्पना अनुसार आजको यो सन् २०५० मा आइपुग्दा रमेशको पुस्ता आधा मानिस र आधा मेसिनको साइवर्ग युगमा प्रवेश गरिसकेको थियो ।
विशेष तन्त्रिका प्रणालीयुक्त रोबोटको विकासले यन्त्रमानवमा पनि मासिनको मस्तिष्कमा जस्तै कमन सेन्सका लक्षणहरू रामै्रगरी विकास भैसकेका थिए । यी विचारवान यन्त्रमानवहरू आदेश पालना गर्ने मात्र होइन, ती आदेश पालन गर्दा आफ्नो समझ वा विवेकको समेत प्रयोग गर्न थालिसकेका थिए । अब काँकी थियो भने यिनै विचारवान रोबोटबाट विश्वका प्रथम इलेक्ट्रोनिक कृत्रिम जीवनको प्रारम्भ हुन बाँकी थियो जो आफ्नो लागि आफैं सफ्टवेयर प्रोग्राम तयार गर्न आफैं सक्षम बनोस् ! इण्टरनेटमा आभाषी सत्य अर्थात् भच्र्युअल रियालिटी प्रविधिको विकासले आभाषी चित्र तयार हुने क्रम समान्य भइसकेको थियो । च्याटवाट भनिने ती आभाषित चित्रहरू अनुहारमा मानिसकै जस्तो भाव प्रकट गरेर बोलचाल गर्थे, कुराकानी गर्थे । यिनलाई हर्दा जोकोही सजिलै झुक्किनसक्थ्यो वास्तविक मान्छे ठानेर ! यस्तै आभाषी समाचारवाचक र प्रस्तोताहरूले टेलिभिजनमा समाचारवाचन र कार्यक्रम प्रस्तुत गर्ने काम पूरै मात्रामा जिम्मा लिइसकेका थिए । ती मानिस थिएनन्, तर मानिसकै नाम लिएर पर्दामा देखिने ती आभाषी समाचारवाचक र कार्यक्रमप्रस्तोताहरूका चित्रलाई कसैले पनि मानिस होइन भन्न सक्दैनथ्यो ।
यसरी पुर्खाले कल्पना गरेका ब्रह्मामाथि नै आजको यो पुस्ता र विज्ञान प्रविधिले ठूलै चुनौती दिइरहेको थियो । सबै कुरा मेसिनबाटै गरिने भएकोले मानिसका मांसपेशी र अङ्गप्रत्यङ्ग भने केही शिथिल बन्दै गएको देखिन थालेको थियो । त्यसैले मानसि आफ्नो शारीरिक श्रम गर्नु नपर्ने अवस्थाबाट सिर्जना भएको यो समस्या समाधान गर्न प्राचीन योगपरम्परालाई आधुनिक शारीरिक व्यायामको रूपमा सामूहिक उपयोग गर्दै थियो । साना समूहका भाषा लोप हुँदै जाँदै थिए, साना समूहका संस्कृति र जीवनपद्धति इतिहासका विषय बन्दै थिए । तिनका ठाउँ विज्ञान र प्रविधिलाई आफ्नो नियन्त्रणमा राख्न सफल ठूला शक्तिराष्ट्रका एकल भाषा र संस्कृतिले लिँदै गएका थिए ।
वास्लेटबाट उठेपछि थकाइ पखाल्ने विचारले ऊ मनतातो पानीको बाथटबभित्र आरामले पल्टेर निष्चेष्ट आफूलाई अतीतको सम्झनामा भुलाउने प्रयास गर्छ ।
आज उसलाई अघिदेखि नै अतीतका सम्झनाहरूले सताइरहेका थिए । उसको मनमा धेरै समयदेखि सम्पर्कमा नरहेकी शान्तिको घरीघरी सम्झना आइरहेको थियो । एक युग नाघिसक्योहोला, उसँग कुनै सम्पर्क नभएको । ऊ कहाँ छे, के गर्दै छे उसलाई कुनै जानकारीसमेत थिएन । कुनै बेला टेस्टट्युबभित्र सँगै अस्तित्व लिएका उनीहरू दुबैको बाल्यकाल सामूहिक बालविकास गृहमा साथसाथै हुर्केको थियो । ऊ र शान्तिसँग किन हो त्यतिबेला अरूभन्दा बढी निकट रहेका थिए । उनीहरू एक अर्कासँग बढी नजिकिन्थे, एक प्रकारको आकर्षणमा बाँधिएजस्तै देखिन्थे उनीहरू ! अहिले सोच्छ ऊ, के उनीहरूलाई त्यसरी नजिक ल्याउने कुरा ? के थियो त्यो आकर्षण ? प्रेम भन्ने कुरा त उसको यो यान्त्रिक पुस्ताले जानेकै थिएन ।
किशोर वय पूरा गरेपछि उनीहरूको जीवन मार्ग बदलियो । ऊ भूगोलको एउटा कुना, नेपालमैं रह्यो, शान्ति अर्कैं पश्चिमी गोलाद्र्ध पुगी भन्नेसम्म सुन्यो, कहाँ भन्ने पनि थाहा भएन उसलाई ! त्यतिबेलादेखि नै शान्तिसँग कुनै सम्बन्ध–सम्पर्क रहेन उसको । उनीहरूको त्यो आकर्षण र एकको सनन्निध्यमा अर्कोले पाउने एउटा अव्यक्त आनन्दको भाव पनि पछि बिस्तारै विस्मृतिको गर्भमा छोपिंदै गयो । सायद त्यस्तै भयो होला शान्तिलाई पनि ! त्यस बेलादेखि उनीहरूका बीच कुनै सम्पर्क कायम हुन सकेको थिएन । अझ भनौं दुवैले एक अर्कासँग सम्पर्क गर्ने कुनै चेष्टा नै गरेका थिएनन् । जिन्दगीको तीव्र गत्यात्मक दौडधुपमा हराएको थियो ऊ आफैं आफैं यन्त्र बनेर । त्यो किशोर वयको अव्यक्त आकर्षण सम्झेर बस्ने समय पनि थिएन ऊसँग सायद । शान्तिलाई पनि सायद उसलाई सम्झने र सम्पर्क राख्ने फुर्सत थिएन वा आवश्यकता नै देखिन उसले । शान्तिलाई उसको सम्झना समेत छ, छैन ऊ उकिन भन्न सक्दैनथ्यो ।
तर आज किन उसलाई यसरी तीव्र रूपमा सम्झना भइरहेछ शान्तिको ! विज्ञान र आर्थिक उन्नतिको दिन दुई गुना, रात चौगुना विकाससँगै आफूलाई गतिवान बनाउने होडमा ऊ र ऊजस्ता सबैका लागि आज त्यस्ता रुमानी प्रेम र सम्बन्धको बारेमा सोच्ने समय नै उपलब्ध छैन । त्यसमाथि ऊ आज प्रेम र सम्बन्ध सबैलाई भौतिक रूपले मात्र हेर्ने गर्छ, जैविक र शारीरिक आवश्यकतापूर्तिको एउटा समान्य प्रक्रिया र नियमित क्रियाभन्दा बढी केही होइनन् ती उसका लागि ! सृष्टिको क्रम अघि बढाउन वैवाहिक सम्बन्ध र स्त्री पुरुषबीचको यौनसम्पर्क अपरिहार्य हुने युग अहिले थिएन । त्यतिबेला ती कुरा अस्तित्वमा थिए होलान्, आज ती आवश्यक पनि छैनन् । शारीरिक यौनको भोक मेटाउन पर्दा आज ऊ र उसको यो युगका सबै नारी पुरुष यौन बंैकमा पुग्छन् र त्यस बैंकको सदस्यता कार्ड उपयोग गरेर आफूलाई मन पर्ने यौनसाथी छान्छन्, सहवासको आनन्द लिन्छन् । आफूजस्तै हाड मासुको मानिस स्वास्नीमानिससँगको सहवासमा रुचि नहुनेहरू अत्यधिक विकसित स्त्री–पुरुषसदृश यन्त्रमानव–मानवीसँग सहवास गरेर आनन्दभोग गर्छन्, आफ्नो जैविक आवश्यकताको पूर्ति गर्ने गर्छन् । आजको उसको युगमा अघिल्लो युगको जस्तो मान्छे आमाको गर्भबाट जन्मँदैन, प्रयोगशालाका टेस्टट्युबमा विकसित हुन्छ उनीहरूको भ्रूण र प्रयोगशालामा जन्म लिन्छन् उनीहरू । सामूहिक बालविकास गृहमा हुर्किन्छ उनीहरूको शैशव र बाल्यकाल । त्यसैले हिजोको पुस्ता र वंशपरम्पराबाट पूरै छुटकारा पाइसकेको उसमा प्रेम र भावनात्मक आशक्ति हुने प्रश्नै थिएन । सबै यान्त्रिक नियन्त्रणमा चल्ने आजको जीवनमा उसले प्रग्ऐतिहासिक मानिसका दन्त्य कथामा पाइने ती परिबार, अनुृभूति, प्रेम र आत्मिक आनन्दजस्ता सबैलाई चुँडालेर फालिसकेको छ । मान्छे पनि कहाँ रह्यो र पूरा ऊ, ऊ त अर्धयन्त्र बनिसकेको छ आज ! त्यसैले ती कुनै कुराले कुनै अर्थ राख्दैनन् आजको उसको जीवनमा र पनि किन शान्तिको यति साह्रो सम्झना भइरहेछ उसलाई ? त के अझै बाँकी छ उसभित्र जिनहरूमा ती उसका पूर्व पुस्ताका वंशानुगत गुणतत्वहरू ? आफैंसँग प्रश्न गर्छ ऊ ।
शान्तिको सम्झनामा रुमल्लिएको ऊ बाथटबबाट बााहिर निस्कियो । मनतातो पानीको जलशयनले उसलाई आफ्नो शरीर पूरै फुर्तिलो भएको अनुभव भयो । लामो यात्राबाट महसुस भएको शारीरिक थकान अब थिएन । शयनकक्षकै विद्युतीय रुमाल अगााडि उभिनासाथ उष्णलहर फैलाएर शरीर र हात सुकाउने विद्युतीय यन्त्ररुमाल आफैं सक्रिय बनेर बाथ टबको पानीले भिजाएको उसको शरीर राम्ररी पानी सुकायो ।
त्यति गरेर शयनकक्षमा पुग्दा पनि उसको मनबाट शरीरको थकानजस्तै शान्तिको सम्झना भने मनबाट पखालिन सकेन । उसको एउटा मनले सोध्यो पनि– किन यति तीव्र रूपमा सम्झि रहेछ ऊ आज शान्तिलाई । किन उसको सम्झनालाई पुछेर फाल्न सकिरहेको छैन ऊ आफ्नो मनबाट । के उसभित्र पनि तिनै आदिम मानिसको मनभित्र पाइने भनिएको प्रेम र आकर्षणले जन्म लिँदैछ ? कसरी हुनसक्छ, यसो त नहुन पर्ने । उसको यो युगमा ती सबै कुरा इतिहास बनिसकेका थिए । उसलाई थाहा छ, ऊ मानवीय भावनाको संवेदनशीलतालाई विज्ञानको कसीमा नघोटी कुनै पनि कुराको विश्वास नगर्ने यान्त्रिक दैनन्दिनमा जेलिएको एउटा यन्त्रसदृश मानिस हो । त्यसैले उसलाई त्यस्ता आदिम मानवका संवेदना, प्रेम र आकर्षणप्रति कुनै विश्वास छैन, ती मात्र रासायनिक क्रिया–प्रतिक्रियाको वैज्ञानिक कार्यकारण मात्र हुन् । होला, त्यो युगमा मानिसको विश्वास थियो होला प्रेम आकर्षण र रुमानी सम्बन्धजस्ता कुरामाथि । तर आजको आधुनकि मानवलाई के वास्ता यस्ता विज्ञानले पुष्टि गर्ननसक्ने कुरामाथि ? समय नै कहाँ छ र यस्ता कुरामा ध्यान दिन– आखिर सबै कुरा यान्त्रिक रूपमैं उपलब्ध हुनसक्छन् । आज सबै कुरा विज्ञान र यन्त्रको इशारामा चल्ने युगको उसकालागि लागि ती सबै प्रागैतिहासिक मानिसका अविकसित इतिहास मात्र हुन्, जुन ऊ पढ्ने मात्र गर्छ, अनुभव पटक्कै गर्न सक्दैन ।
आधुनिक बौद्धिक तथा वैज्ञानिक उसको मन एकातिर यस्तो तर्कगरिहेको हुन्थ्यो र मनको अर्को कुनै कुनामा भने आज अनायास धेरै वर्षपछि सम्झिएको शान्तिको सम्झनाले केही विचलित पनि बनिरहेको अनुभव गर्दै थियो र त्यो मन शान्तिको सान्निध्य पाउन छटपटाइरहेझैं लाग्थ्यो उसलाई, उसको मधुर आवाज सुन्न खोजिरहेजस्तो लाग्दै थियो र लागिरहेथ्यो उससँग सम्पर्कको हुट्हुटी । त, किन यस्तो भइरहेछ आज ? के त जति सुकै भौतिक र यान्त्रिक भए पनि उसभित्रको त्यो आदिम मानवको भावात्मकता अझै मरिसकेको छैन ? उसको तार्किक मनलाई आजको प्रयोगमा आधारित वैज्ञानिक शिक्षाले कुनै स्थान नदिएको त्यो प्रेम र आकर्षणजस्ता भावात्मक अनुभूतिमा आधारित भनिने अतार्किक मनले किन बारम्बार शान्तिको सम्झना गराएर चुनौती दिन खोजिरहेछ ? ऊ यस प्रश्नको कुनै चित्त बुझ्दो जवाफ नै पाउन सक्दैन । के त हर कुरालाई प्रयोगशालाको जोडघटाउमा सही उतारेर मात्र उसलाई विश्वास गर्न सिकाउने उसको आजको विज्ञानको हार हो त यो ? के उसको विज्ञानको प्रयोगशालाभित्र गरिने प्रयोगले सिद्ध गर्ने तथ्यभन्दा पनि अरू केही अनुभूति र अनुभवहरूको अस्तित्व छ त यो संसारमा ? जवाफ कतैबाट फेला पार्न सक्दैन ऊ !
त्यो अन्तद्र्वन्द्वबाट मुक्त हुने चाहनाले ऊ कम्प्युटर नेटवर्कबाट डिजिटल अखबार र पुराना इतिहासका पुस्तक डाउनलोड गरेर तिनै ई–बुकका विद्युतीय पन्नामा अलमल्याउँछ आफूलाई । तर आज उसको मन ती विद्युतीय पुस्तकहरूमा पनि अड्दैनन्, जति नसम्झौं भन्दा पनि घरि घरी शान्तिकै सम्झनामा हराउन पुग्छ ऊ ।
त्यसरी एक्कासि उसको सझनामा आएकी शान्तिलाई मनबाट हटाउन नसकेपछि उसले आफूलाई विद्युतीय सम्ंपर्क कायम गर्ने कोसिसमा ब्यस्त तुल्यायो । संंसारको कुनै पनि कुनामा कहिल्यै सम्पर्क नभएका मानिससँग समेत सम्पर्क राख्नु कठिन थिएन त्यतिबेला, त्यसरी सम्पर्क राख्नु असम्भव थिएन त्यो युगमा । विज्ञानले धेरै उन्नति गरिसकेको थियो । आफूले सम्पर्क राख्न चाहेको व्यक्ति कहाँ छ, कुन ठाउँमा छ भन्ने थाहा पाउने इच्छा भएमा उसको कुनै थरठेगान नै नभए पनि इएमभी (इलेक्ट्रो म्याग्नेटिक भ्वाइस) को माध्यमबाट संसारको कुनै पनि कुनामा त्यो अज्ञात ठेगानाको मानिससँग सम्पर्क राख्न सकिन्थ्यो । हो, आफूले सम्पर्क राख्न चाहेको व्यक्तिसँग पनि इभीएम भ्वाइस उपकरण भने हुनु जरुरी हुनथ्यो । यो उपकरण यतिबेला आम बनिसकेको थियो, कुनैबेलाको सामान्य मोबाइल फोनजस्तै प्राय हरेकको साथमा हुन्थ्यो । यो यन्त्र मोबाइल फोनकै विकसित रूप थियो, जसबाट सञ्चारका हर आवश्यकता पूरा गर्न सकिन्थ्यो । त्यसको सहायताले उसको आवाज संसारको कुनै पनि कुनामा सम्पर्क राखिएको मानिसले राम्ररी सुन्न सक्थ्यो, उसलाई देख्न सकिन्थ्यो र उसले पनि आफूलाई सजिलै देख्थ्यो । अन्यत्रबाट आएको आवाज सँगैको अर्कोले मानिसले भने सुन्न सक्दैनथ्यो ।
“हेलो......हेलो....शान्ति तिमी कहाँ छौ, म रमेश– सामूहिक बालविकास गृहको साथी ! म तिमीसँग सम्पर्क राख्न चाहन्छु, के तिमी मेरो आवाज सुन्दैछ्यौ ?” त्यही अन्यमनस्कता र अन्तद्र्वन्द्वको भुमरीमा घुमिरहेको रमेश अनायास विद्युतीय सम्पर्क कायम गर्न सफल भएको थियो ।
“हेलो....हेलो...म..म शान्ति बोल्दैछु, तपाईं रमेश रे, को रमेश ? मैले त चिन्न सकिन नि !” निकै बेरको प्रयास पछि इलेक्ट्रो म्याग्नेटिक भ्वाइस डिभाइसद्वारा सम्पर्क राख्न सफल भयो रमेश । त्यो आइभीएम यन्त्रको रिसिभरबाट आएको मधुर स्वर राम्रोसँग बुझिने भए पनि त्यसको पर्दामा देखिएको शान्तिको तस्बिर भने त्यति प्रस्ट थिएन, निकै धमिलो थियो । तर त्यति मुस्किलले सम्पर्क राख्न सफलता पाए पनि शान्तिले आफूलाई नचिन्दा भने उसको मन भरङ्ग भयो । नचिन्नु पर्ने त होइन, कसरी बिर्सी त उसले !
“म रमेश, काठमाडौबाट क्या ! यति चाँडै बिर्सिसक्यौ मलाई....सामूहिक बालविकास गृहका ती दिन सम्झ त, अवश्यै मेरो सम्झना आउने छ तिमीलाई !” उसले आइभीएमको फ्रिक्वेन्सी र लेन्स राम्ररी मिलाएर यताको आवाज र तस्बिर उता प्रस्टसँग जाने र उताको पनि राम्ररी समात्ने प्रयासको साथसाथै शान्तिलाई भूतको गर्भमा लगेर पुराना सम्झना दिलाउने कोशिस ग¥यो –“राम्ररी हेरेर सम्झ त, अब चिन्छ्यौ कि ?” ।
रमेश आफ्नो आइभीएम पर्दामा राम्ररी नै देख्दैथियो, शान्ति निकै गम्भीरतापूर्वक उसको तस्बिर हेरेर चिन्ने प्रयत्न गर्दै थिई । निकै बेरको उसको त्यो प्रयासपछि रमेशको कानमा उल्लसित खुसी मिसिएको स्वर ठोक्कियो– “ओ...रमेश ! तिमी पो ? धेरैपछि स्वर सुन्दा र तिमीलाई देख्दा कसरी सजिलै चिन्न सक्छु त ! अनि कसरी आयो आज एक्कासि मेरो सम्झना !”
“म आफैं पनि छक्क परिरहेको छु, किन आज मैले आफ्नो मनबाट तिम्रो सम्झना मेट्नै सकेको छैन ?” उसले भन्यो !
“हो, केही दिनदेखि मेरो मनमा पनि कसैको सम्झना आइरहेको थियो । त्यो को थियो, खुट्याउन सकेकी थिइन । लाग्छ, त्यो तिमी नै थियौ ।” उसको आवाजमा पनि केही आश्चर्य थियो ।
“सायद टेलिप्याथी भयो हामी दवैलाई । मलाई भने मेरो सम्झनामा आउने तिमी नै हौ भन्ने कुरामा कुनै शङ्का थिएन र नै यसरी सम्पर्क बनाएँ । कतै म पनि हाम्रा पुर्खाजस्तै तिम्रो प्रेममा फस्न त पुगिन ?” उसले केही आश्चर्य, केही आशङ्का मिसाएर भन्यो ।
“हुनसक्छ, मनको कुनै कुनामा केही आकर्षण बाँकी थियो, चाहे त्यसलाई पुर्खाले भन्ने गरेका प्रेम नाम दिउँ, चाहे अव्यक्त भावात्मक सम्बन्ध !” उसले पनि स्वीकारी त्यो अव्यक्त आकर्षणलाई ।
“हो, अवश्यै हामी त्यही अकर्षणमा बँधिएका छौं सायद ! आखिर यन्त्र अभ्यस्त भए पनि रोबोट नै त होइनौ नि हामी । त्यसैले हामीभित्र मानिसको त्यो प्रेम भावना साँचिएको पनि त हुनसक्छ । मभित्र पनि तिमीलाई भेट्ने उत्कट चाहना पलाइरहेछ, के भेट्न चाहन्छ्यौ मसँग ?”
“अवश्यै, तिम्रो आवाज सुनेपछि मा पनि तिमीसँगको आकर्षण तीव्र भएको छ । सायद प्रेम अझै मरिसकेको छैन ! त्यसैले नै म पनि यस्तै त्यही प्रेमको आन्तरिक आकर्षणबाट तानिने कोही कसैको प्रतीक्षामा थिएँ र त्यो तिमी नै थियौ सायद ।” शान्तिको जवाफले उसलाई आन्तरिक आनन्द मिल्यो । चाँडै नै भेट्ने सहमतिमा सम्पर्क राख्ने सल्लाह मिलाएर अहिलेलाई उसले त्यो सम्पर्क समाप्त ग¥यो ।
शान्तिसँगको त्यो सम्पर्कपछि उसको मनमा उठेका सबै व्यग्रता शमन भए । ऊ चाँडै शान्तिसँग भेट हुने आशामा अनन्दको निद्रा सुत्यो ।
मिर्मिरे कथा अङ्क
अङ्क १ वर्ष ३६ पूर्णङ्क २६०, २०६४















१०. सुपर अर्थ

“विप्...विप्....विप्....” रोनाष्टस्थित अन्तरिक्ष प्रयोगशालाको प्रयोगकक्षमा रहेको अन्तरिक्ष ध्वनिग्रहण यन्त्रले दिएको त्यो सङ्केतले त्यहाँ उपस्थित सबै खगोलशास्त्रीहरूमा खुसीको लहर फैलाई दियो । विक्रम सम्वत् २१६१ को त्यो दिन नेपाली वैज्ञानिकहरूका लागि साँच्चि नै खुसीको दिन थियो । यो कालखण्डमा आइपुग्दा नेपाल सय वर्ष अघिको नेपाल थिएन । त्यतिबेला विश्वका अतिकम विकसितमध्येमा पनि पुछारमा गनिने नेपालले यस अवधिभित्र सबै क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेको थियो । विज्ञानको क्षेत्रमा पनि अभूतपूर्व विकास भएको थियो । रोनाष्टको नेतृत्व र संयोजनमा भौतिक विज्ञान लगायत चिकित्सा, अन्तरिक्ष र अन्य क्षेत्रमा समेत ठूला ठूला अनुसन्धान सम्पन्न भएका थिए ।
“हुर्रे.....यो अन्तरिक्षका हामीले अरु जीवलाई पठाएको सङ्केतकै जवाफ हुनुपर्छ । त्यसो भयो भने यो हाम्रो अभूतपूर्व सफलता हुने छ !” त्यो विप् विप्को आवाज सुनेर खुसीले उत्तेजित हुन पुगेका वैज्ञानिकहरूमध्ये एकजनाको आवाज कोठाभरि गुञ्जियो ।
अन्तरिक्ष विज्ञानले ज्यादै ठूलो फड्को मारेको भए पनि पृथ्वी बाहेक अरु कुनै ग्रहमा जीवको अस्तित्व छ वा छैन यकिन थिएन । त्यस्ता जीव भएमा पनि ती हामीभन्दा पनि बढी बुद्धिमान् छन् कि विकासको सुरु चरणमैं छन् भन्ने थाहा हुनु त अझ परको कुृरा थियो । अन्तरिक्षबाट आएका अज्ञात उडन तस्तरी वा अनआइडेण्टिफाइड फ्लाइङ अब्जेक्ट (युएफओ) र तिनबाट अनौठा जीव पृथ्वीमा ओर्लिएको देख्यौं भन्ने मानिसहरू फेला परे पनि त्यसको वैज्ञानिक पुष्टि अझसम्म हुन सकेको थिएन । त्यसैले पृथ्वी बाहेक अन्य ग्रहमा जीव हुनसक्ने कुरा संभावनाको मात्रै विषय थियो । विश्वब्रहण्डमा भएका अनुमान गरिएका कराडौं ग्रहताराहरूमध्ये मानिसले यतिबेलासम्म नजिकका दुई सय पनि पत्ता लगाइसेको थिएन । तीमध्ये लगभग ६० प्रशित ताराहरूमा हाम्रो पृथ्वीकैजस्तो उपयुक्त तापयुक्त वातावरण भएको त्यो वातावरणमा जीवको विकासमा हुनसक्नेसम्म चाहिँ पुष्टी भैसकेको थियो । त्यसको आधारमा तीमध्ये पनि कुनैमा पनि जीवको अस्तित्व हुनसक्ने संभावना वैज्ञानिकहरूले स्वीकार गरेका थिए । वैज्ञानिकहरू गोल्डीलक जोनमा पानीको अस्तित्व पाइने संभावना हुँदा त्यहाँ जीवको विकास हुनसक्ने मान्यतामा थिए । गोल्डी लक जोन वा क्षेत्र तारा र ग्रहबीचको त्यो दूरीको क्षेत्रलाई भनिन्थ्यो जहाँको तापक्रम न अति नै तातो थियो, न अति नै चिसो । त्यसैले त्यहाँको उपयुक्त तापक्रम र पानी समेत हुनुक्ने संभानाका कारण ग्रहको त्यस्तो वातावरण जीवका लागि उपयुक्त मानिन्थ्यो । तसर्थ गोल्डीलक क्षेत्रमा रहेका ताराहरूको कक्ष (अर्विट) मा परिक्रमा गर्ने पत्ता लागेका र अहिलेसम्म पत्ता नलागेका अरु असङ्ख्य ग्रहतारामध्ये कुनैमा पनि हामीजस्तै वा हामीभन्दा अझ विकसित र बुद्धिमान् जीव हुन सक्थे । अहिलेसम्म पत्ता लागेका बाहेक यो विश्वब्रह्माण्डमा असङख्य सााना ठूला ग्रहतारा र सौर्यमण्डलहरुका बारे पृथ्वीका मानिस अनभिज्ञ नै रहेको अवस्थामा जे पनि संभावना हुनसक्थ्यो । त्यस्ता अदृश्यमध्ये कुनै एक वा अनेकमा ग्रहमा जीवका लागि उपयुक्त वातावरण र जीवनको विकास असंंभव थिएन ।
अघिल्लो शताब्दीदेखि नै विश्वका अधिकांश अन्तरिक्ष अनुसन्धान केन्द्रहरू पृथ्वी बाहेक अरु ग्रहमा जीव छन् कि छैनन् भन्ने अनुसन्धानमा लागेका थिए । त्यस्ता जीव भए तिनको बारेमा जानकारी लिने र नभए पृथ्वी बाहेक अरु कुनै ग्रह उपग्रहमा जीवको विकास हुनसक्ने वातावरण छ छैन भन्ने थाहा पाउनु उनीहरूको अनुसन्धानको मुख्य विषय थियो ।
नासाले यस अघि नै चन्द्रमामा मानिस उतारिसकेको थियो, मङ्गगल ग्रहमा यान पठाएर त्यहाँ हिउँको रुपमा जमेको पानी हुनसक्ने संभावना पहिल्याइसकेको थियो । यदि मङ्गल ग्रहमा पानीको अस्तित्व प्रमाणित भयो भने त्यहाँ करोडौं वर्ष अघि जीवको अस्तित्व हुनसक्थ्यो भन्ने संभावनाको पुष्टि हुन्थ्यो । नभए त्यहाँ जीवको विकास हुनसक्ने संभावन प्रमाणित हुन्थ्यो । अहिले त नासाले चन्द्रमामा मानिसको बस्ती नै बसाइसकेको थियो– प्रशस्त पैसा हुनेहरू चन्द्रमामा घुमफिर गर्न जान थालिसकेका थिए । उनीहरूको सोचाइ थियो– मङ्गल ग्रहमा मानिसलाई सुहाउने वातावरण रहेछ भने त्यहाँ पनि मानिसको आवागमन संभव हुनसक्छ । त्यसैले मङ्गल ग्रहमा थप अनुसन्धान गर्न अमेरिका, रुस, चिन, जापान, फ्रान्स, बेलायत, जर्मनी र भारतजस्ता मुलुकहरू समेत एकअर्कोलाई उछिन्ने हिसाबले गुप्त रुपमा लागिरहेका थिए । उनीहरूको अर्को महत्वाकंक्षी योजना थियो, अरु ग्रहमा पनि पृथ्वीकोजस्तै कृत्रिम वातावरण विकास गरेर मानव वस्ती बसाउने ।
तर पनि हामीजस्ता भर्खरै यस क्षेत्रमा अनुसन्धान गर्न लागेका मुलुकका लागि अझै नासाको सहयोग लिनु पर्ने आवश्यकता थियो । त्यसैले अन्तरिक्ष जीवको खोजीसम्बन्धी यो परियोजनामा नेपालले नासाको सहयोग लिएको थियो । पृथ्वीमा सबैभन्दा अग्लो हिमाल सगरमाथामा अन्तरिक्ष ध्वनि–प्रकाश ग्रहण यन्त्र राखेर नेपाललाई त्यससम्बन्धी केन्द्र बनाउन सके बढी प्रभावकारी हुने देखेपछि अमेरिका र नासा नेपालसँग मिलेर काम गर्न राजी भएका थिए । त्यसैले अमेरिकाको क्यालिफेर्नियामा मुख्य कार्यालय र अनुसन्धान केन्द्र रहेको नासाको अन्तरिक्षका जेहेन्दार जीवको खोजी अर्थात सेटी ९क्भबचअज ायच भ्हतचब त्भचचभकतचष्ब िक्ष्लतभििष्नभलअभ( क्भ्त्क्ष्० अध्ययन संस्थानले यो परियोजनामा अनुसन्धान गर्न सघाएको थियो । सगरमाथाको चुचुरोमा सेटीले विकास गरेको अति शक्तिसाली दूरदर्शक यन्त्र वा टेलिस्कोप र ध्वनि–प्रकाश ग्रहण यन्त्र जडान गरिएको थियो । यो टेलिस्कोपले अन्य ग्रहबाट आउने प्रकाश र ध्वनिको विश्लेषण गरेर त्यसबारे सूक्ष्म अध्ययन गर्न सघाउँथ्यो । त्यसले चौबीसै घण्टा त्यस्ता प्रकाश र ध्वनि सङ्केत ग्रहण गरेर तिनलाई तुरुन्तै रोनाष्टको प्रयोगशालामा पठाउँथ्यो । त्यहाँ अनुसन्धानरत नेपाली अन्तरिक्ष वैज्ञानिकहरू अन्तरिक्षबाट आएका प्रकाश र ध्वनि सङ्केतहरूको वैज्ञानिक विश्लेषण गर्थे । परियोजनाको आर्थिक र अन्य आवश्यक सहयोग सेटीले गरेको भए पनि यो अध्ययन परियोजनाका सम्पूर्ण काम कुरा नेपाली वैज्ञानिकहरूबाटै सञ्चालन भइरहेको थियो ।
“ निश्चय पनि बाह्य ग्रहबाट आएको सङ्केत नै हुनुपर्छ यो ! यो सत्य हो भने त अरु ग्रहका जीवसँग सम्पर्कमा नयाँ इतिहासको निर्माण गर्न सफल हुनेछौं हामी, त्यो इतिहास निर्माणमा जगको पहिलो ढुङ्गा राख्ने नेपाल नै हुने छ !” त्यो बिप् बिप् आवाजसँगै खुसी र उत्तेजानामा भिजेको पहिलो वैज्ञानिक स्वर सुन्नासाथ अर्कोले प्रशन्नता व्यक्त ग¥यो । साँच्चि नै अत्यन्तै खुसी देखिएका सबैजना त्यतिबेला ।
उनीहरू अन्तरिक्षबाट आएको त्यो ध्वनि सङ्केतबाट खुसीले जति उत्तेजित थिए, त्यति नै सचेत र गंभीर पनि । विज्ञानका प्राप्ति उत्तेजना र हचुवा तथा प्रारम्भिक सूचना तथा जानकारीका भरमा हुनसक्तैनथ्यो । त्यो ध्वनिसङ्केत र प्रकाशको सूक्ष्म तथा गहन विश्लेषण गरेर मात्रै कुनै निष्कर्षमा पुग्न सकिन्थ्यो । यस अगाडिको घटना उनीहरूले विर्सिएका थिएनन् । केही वर्ष अघि पहिलो दोलक तारा वा पल्सर पत्तालाग्दा अन्तरिक्षबाट प्राप्त सङ्केतलाई अर्को ग्रहका साना हरित मानव (लिटिल ग्रिनम्यान) ले पठाएका सङ्केत ठानेको र पछि त्यो असत्य प्रमाणित हुँदा लज्जित हुनु परेको घटना उनीहरूले बिर्सिएका थिएनन् । हुन त आफ्नो अक्षमा अति छिटो घुम्ने पल्सर अथवा दोलक ताराहरूले प्रति सेकेण्ड ३०सम्म रेडियो सङ्केत प्रसारण गर्न सक्ने र ती अति स्थुल भएका कारण एउटा सलाइको बट्टामा अट्ने ती तारकाका कुनै पनि बस्तु हाम्रो पृथ्वीमा ल्याउने हो भने त्यसको वजन एक करोड टन बराबरको हुने कुराको खोजी आफैंमा ठूलो कुरा थियो । तर पनि त्यो आवाज साना हरित मानवको हो भन्ने हतार्रिएर दिइएको सूचना गलत भएकाले निकै लज्जित हुन परेको थियो । त्यसैले उनीहरू अहिलेको यो जानकारीको राम्रो पुष्टि गर्ने दरिला तथ्याङ्क र आधार फेलनपरुञ्जेल यसलाई गोप्य नै राख्न चाहन्थे । यही कारण उनीहरूले अघिपछिजस्तो त्यो ध्वनि सङ्केत र खबरलाई नासाको अन्तरिक्ष केन्द्र र सेटीमा समेत पठाएनन् । यसलाई त्यहाँ पठाउनु अघि उनीहरू आफैं यो केहो भन्ने स्पष्ट हुन चाहन्थे, अनुमानको भरमा कुनै दाबी गर्न चाहँदैनथे । तसर्थ उनीहरूमध्ये कोही त्यो ध्वनि सङ्केतलाई रेकर्ड गरेर सामान्य भाषामा परिवर्तन अर्थात डिकोड गर्ने प्रयासमा लागे, कोही ध्वनिसँगै प्राप्त प्रकाशको विश्लेषण गर्नमा व्यस्त भए ।
सगरमाथामा जडान गरिएको टेलिस्कोपले ग्रहण गरेर पठाएको ध्वनि तथा प्रकाशको लामो र गंभीर विश्लेषण पछि पाएको सूचना र तथ्याङ्कको आधारमा उनीहरूले शक्तिशाली टेलिस्कोप सही दिशातिर लक्षित गरेर त्यसको सूक्ष्म अवलोकन गरे । नभन्दै पृथ्वीबाट करिब ५०० प्रकाश वर्ष टाढा एउटा अज्ञात नयाँ तारा देखियो । त्यो अति चम्किलो तारालाई एउटा ग्रंहले हाम्रो पृथ्वीले सूर्यलाई परिक्रमा गरेजस्तै परिक्रमा गरिरहेको थियो । त्यो परिक्रमा क्षेत्र दक्षिणी तारासमूह अर्थात वा नक्षत्र वा कन्टेलेसनमा रहेको देखियो । थप अध्ययन गरेर उनीहरूले यो नयाँ ग्रह हाम्रो पृथ्वीभन्दा १४ गुणा सानो भएको र त्यसले साढे पाँच दिनमैं बेगिलो गतिमा त्यो क्षेत्र र तारालाई परिक्रमा गरिसक्ने अनुमान गरे । प्रकाशको विश्लेषण र टेलिस्कोपबाट हेरेर उनीहरूले यो नयाँ ग्रह अरुजस्तो ग्यासबाट मात्रै बनेको नभएर हाम्रो पृथ्वी, मङ्गल र शुक्रजस्तै चट्टानी ग्रह भएको जानकारी पाए । उनीहरूको अनुमानमा यसको दशौं भाग जतिमात्रै ग्यास हुनुपर्छ । त्यसैले यो ग्रह जीव र पानीको अस्तित्वका लागि उपयुक्त देखिन्थ्यो । तर पनि यो गोल्डी लक क्षेत्र अर्थात ठिक्क तापक्रम हुने क्षेत्रमा रह्ेको नरहेको थाहा पाउन भने अझै थप अध्ययन आवश्यक थियो । उनीहरू यो कुरा थाहापाउन र त्यो ध्वनि सङ्केतको अर्थ लगाउनुका साथै डिकोड गर्न अरु गहन अध्यनमा लागे ।
लामो अध्ययनबाट त्यो आवाज पृथ्वीबाट करिब ५०० प्रकाश वर्ष टाढाको त्यही अज्ञात ग्रहबाट आएको र ग्रह गोल्डी लक क्षेत्रमैं रहेको निष्कर्षमा पुगेपछि भने उनीहरूको खुसीको सीमा रहेन । उनीहरूले त्यो नयाँ ग्रहलाई ह्यापी अर्थको नाम दिए । अन्ततः उनीहरू त्यो अन्तरिक्षबाट प्राप्त ध्वनि सङ्केतलाई डिकोड गर्न पनि सफल भए । त्यो ध्वनि सङ्केतलाई देबनागरी मा परिवर्तन अर्थात डिकोड गर्दा स्पष्ट सन्देश देखियो– पृथ्वीका मानिसलाई हाम्रो अभिभावदन, हामी मित्रता चाहन्छौं !
अब उनीहरूको हर्षको सीमा थिएन । नेपाल र नेपाली वैज्ञानिकका लागि यो ऐतिहासिक क्षण थियो, अत्यन्त खुशीको क्षण थियो । उनीहरूले त्यो शुभ समाचार विश्वका सबै अन्तरिक्ष अनुसन्धान केन्द्र र प्रमुख अन्तरिक्ष वैज्ञानिकहरूकहाँ तुरुन्तै पठाए । तथ्य, तथ्याङ्क र वैज्ञानिक विश्लेणका पूर्ण विवरण सहितको त्यो सूचना अध्ययन गरेपछि विश्वभरका वैज्ञानिकहरूले पठाएका बधाइ सन्देशको ओइरो लाग्यो– बधाई तपाइँहरू अन्तरिक्ष विज्ञानमा नेपाल र आफ्नो नाम अमर बनाउन सफल हुनुभयो !
२०६० भदौ १३
आरुबारी




आभारः
१ (क). प्रयोग प्रत्यारोपण
१. विज्ञानको कैदी,गोधुलीबसन्त शिशिर २०५८
२. तृप्ति, मधुपर्क यौनकथा विशेषाङ्क, भदौ २०६०,वर्ष ३६ अङ्क ४ पूर्णाङ्क ४११ (भी वशिष्ठको नाउँमा प्रकाशित) ।
३. सुपर अर्थ, विज्ञान कथा,गोरखापत्र २०६१ भदौ १५
४. प्रलयको तयारीमा, विज्ञानकथा, गोरखापत्र २०६१ पुस ३, वर्ष १०४ अङ्क २२१ ।
५.ं वानरसेना, विज्ञानकथा, युगान्तर साहित्यिक चौमासिक, सम्पादक, श्रीराम श्रेष्ठ, प्रकाशक बट्टार युवाक्लब, विदुर, नुवाकोट, वर्ष ३, अङ्क ५, २०६१ चैत(२०६२ असार ।
६. सायद प्रेम मरेको छैन, विज्ञान कथा, मिर्मिरे कथा पूर्णङ्क २६० वर्ष ३६ अङ्क १, २०६४ वैशाख
७.सपना र भ्रान्ति, शारदा मासिक वर्ष १ अङ्क ४, २०६४ वैशाख ।
८. एउटा सपनाको अन्त्य, झिसमिसे, .........
९. तिमी मेरो छोरो भैद्या’ भए................कथा विशेशाङ्क–२०६६, पृ.१३३–१३६, प्रधान सम्पादक शेषमणि आचार्य, शुक्ला साहित्य सङ्गम, तनहुँ ।

No comments:

Post a Comment