Tuesday, August 17, 2010

बाल्यकालीन धुमिल क्यानभास र कोरिएको एउटा रेखाचित्र

आफ्नो बारेमा लेख्न कठिन हुन्छ, । त्यो भन्दा बढी आफन्त, त्यसमाथि आफ्नै पिताजीको बारेमा लेख्नबस्दा हुन्छ । यो सास्वत अनुभव हो । आफ्नो बारेमा लेख्दा जति इमान्दारी गुम्ला वा असन्तुलित बन्नजाला भन्ने डर हुन्छ, आफन्तका बारेमा लेख्न खोज्दा निजी आग्रह र स्नेहभावका कारण त्यति नै असन्तुलित र अबस्तुगत बन्ला भन्ने आशङ्का रहने गर्छ, यो स्वभाविक हो ।
मानिस, त्यो चाहे जतिसुकै महान होस्, उसमा पनि केही कमजोरी हुन्छ, हुनसक्छ ! आर्यसभ्यताका व्याख्याता व्यासले पूर्णमानवको रुपमा चित्रण गरेका महाभारतका प्रमुखपात्र कृष्णमा त सर्वगुणसम्पन्नता नपाइन सक्छ, अर्धविकसित–अर्धसामन्ती नेपाली सामाजिक परिवेशमा जन्मेर हुर्केको आजको मानिसमा त्यो सर्वगुणसम्पन्नता खोज्नु आफैंमा बस्तुगत ठानिँदैन । त्यसो नहुँदो हो त मानिसले आफ्नो कल्पनाको सर्वगुणसम्पन्न पूर्णमानव देख्ने रहर पूरा गर्न ढुङ्गाको देवताको सृष्टि गर्नुपर्दैनथ्यो होला । त्यसैले मानिस आफैंमा गुण र दोषको सम्मिलित स्वरूप हो; कमी– कमजोरी असल र खराब स्वभाव तथा चरित्रको समष्टि हो । उसमा असल–खराबमध्ये कुन पक्षको वाहुल्य छ भन्ने मात्र खोजिने विषय हो । समाजलाई रचनात्मक दिशातर्फ लैजान सघाउने पक्षमा कसैको योगदान बढी छ कि, समाजलाई अपसंस्कृति र मूल्यहीनता तर्फ धकेल्ने तर्फ– मानिसको मूल्याङ्कन त्यसैको आधारमा हुने गर्छ । यही सद्गुण र अवगुणको मात्राले मानिसलाई मानव र दानवको विम्बमा परिणत गरिदिन्छ ।
त्यसैले आफ्नो बारेमा लेख्दाको आफू होस् वा आफ्ना अति प्रिय र निकटतम आफन्तका बारेमा–जीवनको त्यो मानवीय यथार्थ उपेक्षित बन्नपुग्ने संभावना रहन्छ नै । आफ्ना राम्राकुरा मात्रै देख्ने मानवीय कमजोरी मनोविज्ञानसम्मत सत्य पनि हो । त्यसैले कसैका बारेमा सही विष्लेषण र मूल्याङ्कन गर्ने दायित्व त्यो व्यक्तिलाई नजिकैबाट चिन्ने तठस्थ द्रष्टाले जति जिम्मेवारीपूर्वक पूरा गर्नसक्छ, निकटतम आफन्त त्यति निस्पृह रहन सक्दैन, यो सत्य हो । अहिले शेषराज सिवाकोटीमार्फत रोचकदाइबाट आएको आफ्नै पिताजी रमेश विकलका बारेमा केही लेख्नै पर्ने आदेशजन्य अनुरोध पूरा गर्ने क्रममा लेख्न बस्दा मभित्र यिनै अन्तद्र्वन्दको वादल मडार्रिइरहेको छ । विज्ञापनको यो युगमा पीठोलाई बास्मती चामलको भ्रमदिएर–दिलाएर बेच्नसक्नु वणिकसफलता हो, यसको सफल प्रयोग साहित्यको क्षेत्रमा पनि पर्याप्त भइरहेको छ । बोकोलाई कुकुर र कुकुरलाई बोको सिद्ध गर्नसक्ने विज्ञापनकलाका आदिप्रयोक्ता नीति कथाका पात्रहरूको बोलवाला यो क्षेत्रमा पनि अहिले व्यापक छ । पैसा र प्रभावले आफैं आफ्नै पैसा खर्चेर वा आफना पदीय प्रतापबाट उद्योगी–व्यापारी दाता जुटाइदिएर विलौचिया मार्फत आफ्नै बारेमा प्रशंसाका सगरमाथा ठड्याउनेहरूको विगविगी प्रशस्त देखिँदै छ । लेखन क्षमताबाट होइन आर्थिक लगानीको क्षमता र पदीय प्रभावको आधारमा प्रशंसक–प्रचारकहरूको जमात खडा गराउनसक्ने क्षमताबाट आजको महानता सिद्ध हुन्छ, कृत्रिम इतिहासको शिलान्यास हुन्छ । तर समाजमा यस्तो गर्न नसक्ने र नचाहने पराई साधकहरूको वारेमा पनि श्रम–श्रोत खर्चेर लागिपर्ने व्यक्तिहरू पनि हुन्छन्, त्यस्तैमा पर्नुहुन्छ सायद शेषराज सिवाकोटी । शेषराजजीको लाभरहित यो समर्पण प्रंतिको कृतज्ञताभावका कारण पनि उहाँका केही पूर्व अनुरोधहरू जसरी पन्छिएथेँ, त्यसरी नै पन्छिन पाउने अवस्था अहिले छैन ।
पिताजीको रुपमा बाबालाई हेर्नुपर्दा सबैभन्दा पहिले मलाई मेरो बाल्यकालको सम्झना हनु स्वभाविक हो । संभवतः मेरो बाल्यकालको कालखण्ड उहाँको सार्वजनिक जीवनमा स्थापित हुने संघर्षको कालखण्ड थियो । गाउँमैं स्कुल खोल्ने, वरिपरिका केटाकेटी जम्मा गरेर कोठेकक्षा सञ्चालन गर्ने तथा आफूले बाल्यकाल विताएको चाबहिलसँगको सम्बन्ध कायम गर्ने अनि त्योभन्दा बाहिरको शहरसँगको सम्बन्ध विस्तार गर्ने कालखण्ड थियो त्यो । उहाँको राजनीतिक गतिशीलताको समेत कालखण्ड थियो र राजनीतिक संगठन, हस्तलिखित पत्रिका सञ्चालन तथा साहित्यिक सम्पर्क विस्तारको कालखण्ड पनि थियो त्यो । हजुरबाले पछि जोर्नुभएको चावहिल मैजुबहालको घर २००६ सालमा उहाँको निधनपश्चात विक्री भैसकेकोले हाम्रो जन्मपूर्व नै परिवारको बसोबास पैतृक थलो आरुबारी सरिककेको थियो । काठमाणौंको मुख्य केन्द्र बाहेक चाबहिललाई समेत शहर भनिँदैनथ्यो त्यतिबेला । अहिलेजस्तो सुविधा थिएन– न यति सजिलो बाटो थियो, न यातायातको कुनै साधन नै उपलब्ध थियो । घरदेखि चावहिलसम्मै आक्कलझुक्कल बाहेक घरहरू कमै देखिन्थे । बाटाका दुबैतिर नीलकाँडा र क्यात्तुके घारीका लाम हुन्थे । वर्सादमा त बाटो यति हिलो हुन्थ्यो, चाबहिलसम्म पुग्दा नै सबै कपडा खराब भैसकेको हुन्थ्यो । यो मेरो समयको समेत अनुभव हो, चार कक्षासम्म आरुबारीमैं पढेर चाबहिल स्कुल भर्ना भएपछिको समय अर्थात २०१७–१८ सालतिरको । त्योभन्दा पनि एक–डेढ दशक अघिको त्यो बाटो कस्तो थियो होला, सहजै अनुमान गर्नसक्छु म ! आरुबारीदेखि चाबहिल–काठामडौंसम्मको त्यो कालखण्डको यात्रा, त्यो पनि नियमित र रात–साँझ, निश्चय नै सहज र निरापद दुबै थिएन । त्यसैले उहाँ एकजोर कपडा चाबहिल सान्दाजु अर्थात कृष्णप्रसाद पौडेलको घरमा राख्ने गर्नुहुन्थ्यो रे, त्यहीं लुगा फेरेर शहर जाने र फर्केर फेरि हिले लुगामैं घर आउने गर्नुहुन्थ्यो रे !
त्यसैले रातको केही घण्टा बाहेक उहाँको प्राय समय घरबाहिरै वित्ने गथ्र्यो । कति दिसम्म त हामी, अर्थात म र दुई वर्ष जेठी मेरी दिदी, उहाँलाई देख्न समेत पाउँदैनथ्यौ । काखमा लुटपुुटिएर ंवात्सल्यको न्यानोमा सरोबर हुने कुरा त असंभवप्राय नै थियो । बिहान हामी उठ्नुभन्दा अगाडि नै सबेरै शहर अर्थात काठमाणौं लाग्नुहुन्थ्यो, राती एघार–बाह्र बजे घर फर्कनुहुँदा हामी सुतीसकेका हुन्थ्यौं । उहाँ त्यतिबेला राजनीतिक, सामाजिक र लेखकीय व्यक्तित्व निर्माणमा व्यस्त हुनुहुन्थ्यो र अधिकांश समय उहाँका भौगोलिक कार्यक्षेत्र– चावहिल र काठमाणौंमा नै बित्ने गथ्र्यो । पछि बलरामदाइ (स्व.वलराम श्रमजीवी) मलाई सुनाउनुहुन्थ्यो– आठ–नौ बजिसक्यो, एक्लै जानु छ, त्यति टाढा– दुई घण्टाभन्दा बढीको बाटो; ए अबेर भयो, अब जाऊ भन्यो कहिल्यै नहतार्रिने ! हातको बाँसुरी देखाएर भन्थे–यी साथी छँदैछ नि ! त्यसरी करिब मध्य रातमा बाँसुरी बजाउँदै घर फर्कनुहुन्थ्यो रे, वलरामदाइका साथै उहाँका अरू पनि साथीहरू पछि मलाई त्यतिबेला विगतका संंझना सुनाउनुहुन्थ्यो । त्योे परिस्थितिमा घर र परिवारले समय पाउन नसक्नु स्वभाविक थियो । पाविारिक जीवनको सान्निध्य वा भविष्यको आफ्नो व्यक्तित्व निर्माणका लागि बाह्य कार्यक्षेत्रको सक्रियता र सम्पर्क विस्तार–उहाँका अगाडि छनोटका यी दुईवटा मात्र विकल्प थिए सायद । तीमध्ये पछिल्लो विकल्प नछानेको भए संभवतः आजको उहाँको यो व्यक्तित्व र स्थान निर्माण हुन संभव पनि थिएन होला । तर बलरामदाइ उहाँका र मित्रहरूका कुरा सुनेपछि कहिलेकहीँ मलाई लाग्थ्यो– चाहेको भए त्यो व्यस्ततााभित्रै पनि परिवार र बाहिरी कार्यक्षेत्रका बीच केही समयसन्तुलन मिलाउन सक्ने सम्भावना भने नभएको होइन । जे होस्, यसरी हामीले आफ्नो शैशव पिताजीको सान्निध्य र वात्सल्य बेगर नै वितायौं, शिशुकालीन पितृवात्सल्यको पर्याप्त अनुभवबाट हामी बञ्चित्त नै रहनुप¥यो । किशोरवयमा शैशवकालीन त्यो रिक्तता र अभावको पूर्ति हुने कुरै थिएन । संभवतः यसले हाम्रो मनोविज्ञान र भावी व्यक्तित्वको निर्माणमा धेरथोर प्रतिकूल असर पनि पा¥यो । नजानेरै अन्तर्मुखी बनाएर समूहमा सहजै घुलमिल हुनमा सङ्कोचशील स्वभावको निर्माण ग¥यो । पछिसम्म हामी उहाँको अगाडि पर्नसमेत डराउँथ्यौं । केही कुरा भन्नु वा माग्नुपर्दा समेत आमा र भाइ वा बहिनीको मध्यस्थता खोज्थ्यौं हामी । भाइबहिनीमध्येमा पनि पौडी खेल्दा मिडिल स्कुल पढ्दापढ्दै हामीबाट विदा भएको भाइ शेखर र त्योभन्दा पछिकी बहिनी तारालाई हामी आफ्नो माध्यम बनाउँथ्यांै । बाबा उनी दुईको कुर। बढी खानुहुन्थ्यो । हामी छोराछोरीको मात्र नभएर घरको सम्पूर्ण व्वयवहार समेत आमाको थाप्लामा हुन्थ्यो । समाजसेवा र लेखनको नसामा बाबालाई एक अर्थमा घरको कुनै वास्तै थिएन । संभवतः जीवितमध्धे दिदी, म र बहिनी अम्बिका पछिको भाइ शेखरको जन्म पश्चात २०१६–१७ सालतिर आएर मात्र बाबामा केही परिवर्तन देखाप¥यो, घरप।िरवार र छोराछोरीप्रतिको दायित्वबोध देखिन थाल्यो । सायद अगाडिका सन्तानमाथि पोख्न नसकेको र नपाएको वात्सल्यको अभावको बोध उहाँको अन्तरमनमा भएकैले होला हामीभन्दा पछिका छोराछोरीमाथि उहाँको लगाव र वात्सल्य प्रशस्त देखिन्थ्यो र अझै छँदैछ ।
बाबाको व्यक्तित्व र व्यवहारमा कहिलेकाहीँ केही विरोधाभाषी द्वन्दात्मकता पनि पाउन नसकिने होइन, तर ती न्यून छन् । मानवीय पीडा र संवेदाबाट अति चाँडै पग्लिने भावुकतापूर्ण अति कोमल पक्षको वाहुल्यका बीच आफ्नो विश्वास र आस्थाको रक्षामा अडिग रहने तर कसै र केही प्रति चाँडैनै आफ्नो धारण बनाउने अनि त्यसमा एकोहोरो विश्वास गर्ने उहाँको स्वभावबाट सधैं अपेक्षित न्याय नभएको पनि हुनसक्छ । विश्वास र अविश्वासको अतिकेन्द्रितताबाट पूर्वाग्रहको जन्म हुनसक्छ, यो सत्य हो । अतिसंबेदनशीलताका कारणले हुनक्छ, परिवेशजन्य प्रभावमा त्यो परिवेशका निकटपात्र–चरित्रमध्ये केही वा कसैप्रति अति विश्वस्त बन्ने गर्नुहुन्छ, र आफूले गरेको त्यो विश्वासपात्रमा यदाकदा लुकेका स्वर्थ र कुत्सित नियतलाई केलाउनेतिर प्राय लाग्नसक्नु हुन्न । यो आवश्यक सचेतताप्रतिको उदाशीनता र कसैप्रति अन्धविश्वासको हदसम्मको पत्यारद्वारा निर्मित अर्को कसैप्रतिको धारणा र निर्णय कतिपय सन्दर्भमा ठीक नदेखिएको पनि हुनसक्छ । लेखनमा मनोविज्ञान र यथार्थको बस्तुगत सल्यक्रिया गरेर सत् असत् छुट्याउनसक्ने उहाँको त्यो क्षमता व्यवहारिक जीवनमा कहिलेकाहीँ त्यति नै खरो उत्रिएको देख्न पाइन्न र यसबाट कतिपय सन्दर्भमा केहीबाट उहाँले धोका पनि पाउनु भएको छ । मेरो दृष्टिमा व्यवहारिक जीवनमा देखिने यो द्वन्दात्मक विरोधाभाषपूर्ण अन्तर्विरोध उहाँका एक मात्र कमजोरी हो । यही कारण यदाकदा बस्तुगतभन्दा परिवेश र अरुद्वारा सिर्जित प्रभावमा चाँडै बग्ने र त्यसै अनुसार आफ्नो धारणा बनाउने बानी र सवेदनशीलताको अति कोमल पक्षका कारण नजिक–टाढा दुबै तिरकाले उहाँको सरलपनको गलत फाइदा समेत लिएका छन् र प्रतिकूल धारणा बनिनेहरूले विवेकपूर्ण न्याय पाउन नसकेका समय र सन्दर्भहरू पनि पाइनसक्छन् ।
गाउँका मेरो र म अगाडिको पुस्ताका केटारू उहाँप्रति अभिभावकको आदर गर्थे । आजजस्तो मनोरञ्जनको साधन केही थिएन त्यतिखेर । साना केटाकेटी जम्मा भएर खेल्ने खेल तेलकासा, लुकामारी, गट्टा आदि बाहेक अलि उमेर पुगेका केटाकेटी लात्ते भकुण्डो, कपर्दी, दण्डिबियो आदि खेलेर मनोरञ्जन गर्थे । भकुण्डो पनि कि त भोगटेको हुन्थ्यो, कि टालाटुली बेरेर गोलो बनाएको झुम्राको डल्लो । ती केही खेल बाहेक अरु खेलहुन्थे–खोपी, गुच्चा, तास र पाङ्ग्राको बाजी । बाटो छेउ वा साना चौरमा जम्मा भएर तास, खोपी, गुच्चा, पाङ्ग्राजस्ता खेल खेलीरहेका केटाकेटी मात्रै होइन ठूला मानिसहरू समेत बाबा आउनुभएको थाहा पाए भने त्यो खेल बन्द गर्थे र यताउता लाग्थे । केटाकेटीमा आफूभन्दा ठूला दाइहरूको भनाइ मानेर म पनि तास, खोपी, गुच्चाजस्ता खेल सिक्न खोज्थँे । त्यस्तै एक पल्ट तास हो वा खोपी खेलिरहेको फेला पारेर उहाँले दिनुभएको कठोर झापड, म अहिलेसम्म पनि सम्झन्छु । त्यो चड्कन पछि भने मैले आजपर्यन्त तास, जुवा खेलेको छैन, त्यस पछि सिक्ने जाँगरै रहेन । यो ममा मात्र होइन, मेरो गाउँका मेरा समकालीन र मभन्दा केही पाका उमेरका दाजु–काकाहरूमा पनि देखिएको हो । उहाँको मादक पदार्थ सेवन नगर्ने, जुवा तास नखेल्ने बानीको प्रभाव हामी छोराछोरीमा पनि प¥यो र ती लतबाट हामी अछुतै रह्यौं । त्यसरी उहाँको उपस्थितिमा ममात्र नभएर गाउँका प्राय सबै अनुशासित रहने प्रयास गर्थें र त्यो अनुशासनमा रहने प्रयासले हामीमध्ये धेरैलाई खराब लतमा फस्ने त्यो उमेरजन्य प्रबृत्तिका विरुद्ध उभिन ठूलो सघउ पु¥यो ।
पछि हाम्रो स्कुल जीवनसम्म पनि हामीलाई पर्याप्त समय दिन सक्नुभएन । त्यसो भएपनि हाम्रा आवश्यकता पूरा गर्ने काममा भने उदासीन हुनुहुन्नथ्यो । त्यसैकारण हामीले पढ्ने र आवश्यक बस्तुहरूको अभाव अनुभव गर्नु परेन । आफ्ना उमेरका केटाहरूमध्ये सबैभन्दा पहिले छालाको जुत्ता र कमिज पाइण्ट शरीरमा पर्ने गाउँमा सम्भवतः म नै पहिलो थिएँ । स्कुल पढ्दा खाजाको अभाव भोग्नु परेन मैले । तर आफ्नो हातमा पैसा भने देख्न पाइँदैनथ्यो । स्कुल पढ्दा कहिलेकाहीँ साथीभाइको हातमा पैसा देख्दा ईष्र्या लाग्थ्यो । बाबा भने पैसा हाम्रो हातमा कैल्यै दिनुहुन्नथ्यो । त्यतिबेला चाबहिलका दुईतीन खाजापसलमध्ये कुनै कहिले कुनै कहिले एकमा खाजा खाने महिनावारी ठेक्काको व्यवस्था गरिदिनुहुन्थ्यो । खाजा मनग्गे खान पाइने, पैसाको भने मुखै देख्न नपाइने । त्यसरी कहिले ढ्याङ्ग्रीको पसल, कहिले कलकत्ते बाजेको पसल र कहिले धनमामाको पसलका दैनिक एक सुकाको ठेक्का हुन्थ्यो । त्यो पच्चीस पैसाले मनग्गे खाजा पुग्थ्यो, कहिलेकाहीँ त त्यसैबाट आफूमात्र होइन साथीलाई बाँडेर पनि खाइन्थ्यो । पच्चीस पैसामा जङ्गी सेल वा मासको बारा, आलुचनाको तर्कारी, आधाकप चिया वा तिनको साटो अरु कुरा, जुन पर्याप्त हुन्थ्यो । पहिला हातमा पैसा नदिएर ठेक्का गरिदिएकोमा राम्रो लाग्दैनथ्यो । त्यसबाट आफूमा परेको राम्रँो प्रभाव र कुनै पनि दिन खाजा खान नपाउँदाको भोक भोग्न नपर्दाको कारण पछि मात्र त्यस अभ्यासको सकारात्मक पक्ष बुझ्न सकेको थिएँ मैले । हामीमा गलत बानी नबसोस् भन्ने कुरामा बाबा कति सोच्नुहुँदो रहेछ भन्ने बोध त्यो बुझाइ पछि मात्र हुनसकेको थियो ममा ! बाआमाले खाजाको लागि हातमा पैसा दिएर पठाउने मेरै साथीहरूमध्ये केही त्यो पैसा खाजामा खर्च नगरी ठण्डा बरफ, तितौरा, माडाजस्ता कुरामा खर्च गर्थे । अझ केही बानी विग्रेकाहरू त गुच्चा, खोपी र तासमा त्यसको दुरुपयोग गर्ने गर्थे । कहिलेकाहीँ बाबुआमासँग पैसा नभएको बेला रित्तै हात स्कुल आउन बाध्य हुन्थे, त्यतिबेला उनीहरू दिनभर भोकै पढेर घर फर्कनुपर्दाको निन्याउरो अनुहारले हाम्रो नियमित ठेक्काको महत्व बुझाइदिन्थ्यो । हातमा पैसा परेको भए म पनि साथीहरूको संगतमा परेर तिनै लतमा फस्न सक्थेँ । प्राय आर्थिक अभावमा दिन गुजार्ने मेरो घरायसी अवस्थामा बाआमाको हातमा सधैं पैसा रहँदैन्थ्यो । स्थितिमा विना पैसा नै स्कुल जानुपर्ने दिन नै बढी हुनसक्थ्यो । ती संभावनाहरू पनि प्रवल थिए, जसबाट म आजसम्म मुक्त रहन सकेको छु, स्कुल जीवनका दिनहरू खाजा विना विताउन परेन मैले । त्यसैले त्यति बेला ठीक नलागेको भए पनि पछि गएर बाबाको त्यो निर्णय मलाई गलत बाटोमा लाग्नबाट रोक्न कति सकारात्मक थियो भन्ने राम्ररी बुझ्न सकेको थिएँ ।
उहाँको सार्वजनिक जीवनको लामो कालखण्ड शैक्षिक–सांस्कृतिक जागरणमैं वित्यो । आफ्नै घरमा गाउँका केटाकेटी जम्मा गरेर पढाउने, चावहिलको चन्द्रविनायक प्राथमिक विद्यालय, गाउँकै अरुणोदय विद्यालय, गोकर्णको सहयोगी विद्यायल, जोरपाटीको चामुण्डा विद्यालय आदिको स्थापना, सञ्चालन र अध्यापन तथा चाबहिलकै कुनै बेला महत्वपूर्ण भूमिका निर्वाह गरेको मित्रवाचनालयको स्थापनामा उहाँको अग्रणी स्थान रह्यो । चावहिल र गाउँमा शिक्षा र संस्कृतिसंबद्ध सामाजिक संस्थाको स्थापना गरेर त्यसमार्फत सांस्कृतिक कार्यक्रमहरूको सञ्चालनमा उहाँको सधैं अग्रणी स्थान रह्यो । पछि पनि उहाँकै संरक्षकत्व र निर्देशनमा म लगायत गाउँका किशोर–युवा पुस्ताको सक्रियतामा ग्राम निर्माण बन्धुमण्डल क्लबको सञ्चालन हुन्थ्यो । त्यही क्लबको मार्फत हामी प्रत्येक वर्ष असोजतिर भव्य रुपमा कविता गोष्ठी, नाटक र सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गथ्र्यौं । ती नाटक हेर्न सहरसमेत टाढाटाढाबाट मानिसहरू आउँथे । त्यसरी गरिने बन्धु कवि गोष्ठीमा त राजधानीमा बस्ने नेपालका धेरै कविसाहित्यकारको सहभागिता रहेर त्यसले राष्ट्रिय गोष्ठीको स्वरुप लिन्थ्यो । तिनै गोष्ठीमध्ये २०३९–४० तिरको हुनुपर्छ दुई वटा गोष्ठीका कविताहरूको दुई सङ्ग्रह मेरै संपादनमा ब्लबद्वारा नै प्रकाशित समेत भएका छन् । ती गोष्ठीहरूको सम्झना अझै पनि प्राय साहित्यकार गर्ने गर्नुहुन्छ ।
त्यस अघिको प्रगतिशील साहित्यिक आन्दोलनका रुपमा आएको उत्साह गोष्ठीको केन्द्रमा पनि उहाँ नै हुनुहुन्थ्यो । पञ्चायत विरुद्धको आन्दोलनमा विभाजित भएर पनि कम्युनिष्ट शक्तिहरू आ–आफ्ना हिसाबले सक्रिय थिए । केही ससाना कम्युनिष्ट पार्टीहरू एकीकृत भएर नेकपा माले, जुन २०४६मा शक्तिसाली एमाले बन्यो, पुनर्गठन भए पछि नेपाली राजनीतिमा एउटा तीब्र लहर आएको थियो । त्यही क्रममा साहित्य–संस्कृतिको फाँटमा पनि प्रगतिशीलताका पक्षधरहरू संगठित हुने र आम पाठकसम्म पुग्ने माध्यमको खोजीमा थिए । त्यही क्रममा एउटा माध्यम बनेको थियो– उत्साह साहित्यिक गोष्ठी ! प्राय महिनाको एक पटक भेला भएर रचना सुनाउने र सुनाइएको रचनाको श्रोताद्वारा तत्काल आलोचनात्मक छलफल गरिने त्यो गोष्ठी हामीजस्ता केही समयअघिदेखि लेख्न थालेका र भर्खरै लेख्न सुरु गरेका नवोति तथा सिकारुका लागि अत्यन्तै उपयोगी थियो । त्यही गोष्ठीबाट लेख्न सुरु गरेका कतिपय व्यक्ति आज समकालीन नेपाली लेखनको क्षेत्रमा स्थापित हस्ताक्षर समेत बन्न सफल भैसकेका छन् । केही पछि त्यही गोष्ठीको विकसित रुप उत्साह त्रैमासिकका रुपमा आएको थियो । नेपाली प्रगतिशील साहित्यको विकास र संबृद्धिमा त्यसको आफ्नै विशिष्ट स्थान सुरक्षित रहेकोछ ।
यसरी शैक्षिक र अन्य जागरण, सुधार र चेतनामूलक आन्दोलनमा अधिकांश कालखण्ड वित्ने कारणले घरमा हामीलाई पढाइबारे आवश्यक रेखदेख गर्नका लागि उहाँसँग समय निस्कँदैनथ्यो । पढाइ आवश्यक खर्च र व्यवस्थाको सन्दर्भमा हामीले कुनै अभावको अनुभव गर्नु परेन, आवश्यकता अनुसार ट्युसनको समेत व्यवस्था गरिदिनुहुन्थ्यो । तर, उहाँ आफैं भने घरमा हाम्रो पढाइ बारे आवश्यक खोजखबर लिन भ्याउनुहुन्नथ्यो । समय नै हुँदैनथ्यो उहाँसँग । यसैको कारण हुनसक्छ हामी छोराछोरी पढाइमा सरदर (एभरेज) स्तरका विद्यार्थी मात्रै रह्यौं, फेल पनि नहुने, सर्वोत्कृष्ट स्थान लिन पनि नसक्ने ।
यी केही झलक मात्र हुन् बाल्यकालीन धुमिल संझनाको क्यानभासमा कोरिएको मेरा पिताजीको रेखाचित्रको ।
ड्ड












मेरो कथा यात्रा
सम्झनाको तरेलीमा मेरो तीनदशकीय कथा–यात्रा

सुरुमा लेख्दा मैले मेरो आफ्नो जीवन यापनको माध्यम नै लेखन हुनेछ,पत्रकारिता हुने छ भन्ने सायद कल्पना गरेको थिइन । न त त्यति बेला मेरो जीवन पनि साहित्य तर्फ नै उन्मुख हुनेछ भन्ने लागेको थियो । त्यतिबेला अर्थात विक्रम सम्वत २०२०–२०२१ सालतिर हाम्रै सक्रियतामा हाम्रो गाउँमा चारपाते क्लब सञ्चालन हुन्थ्यो । म त्यसको सचिव थिएँ । महिनाको अन्तिम हप्ता हुने त्यसको बैठकमा सबैले एकएकवटा रचना सुनाउनुपर्ने नियम म आफूले नै लगाएको थिएँ । आफैंले लगाएको नियमका वाध्यतामा मैंले जानीनजानी कतिबेला आफ्नो प्रारम्भिक साहित्यिक यात्रा सुरु गरेछु,पत्तै भएन ।
त्यही अभ्यासले २०२४–२०२५ साल तिर हाइस्कुलको वार्षिक प्रकाशन चारुमतिमा पहिलो रचना छापिएको थियो–कोपिला शीर्षक कविता ! हाइस्कुल पढ्दै गर्दा त्यो वार्षिक प्रकाशनमा छापिएको पहिलो कविताले मभित्र छापामा आफ्नो नाउँ पढ्ने मोहलाई पनि हुर्काउँदै गएको हुनुपर्छ । ठूलाठूला मानिससँगै आफ्नो समेत नाम छापामा साथसाथै छापिएको हेर्ने त्यो लोभको आकर्षण अस्वभाविक पनि त थिएन ! यसरी छापामा आफ्नो नाम देख्ने मोहलाई मेरो आफ्नै घरको वातावरणले झनै मलजल गरेको थियो–पिताजी रमेश विकल आख्यान साहित्यमा चर्चित नाम हुनुहुन्थ्यो । घरमा धेरै प्रकारका पुस्तक–पत्रपत्रिकाहरू आउने गर्थे । विद्यालयमा पढाइने गद्यपद्य सङ्ग्रहका साथै तिनै अन्य पुस्तक र पत्रपत्रिकाहरूमा मैले त्यतिबेला पढेका नामहरूमध्ये केही नामलाई मैले घरमैं सशरीर साक्षत्कार गर्ने अवसर पाइसकेको थिएँ । त्यतिबेला त्यसरी मैले साक्षत्कार गर्ने अवसर पाएका आदरणीय साहित्यकारहरूमा भूपि शेरचन,सिद्धचरण श्रेष्ठ,दानियल खालिङ,भैरव अर्याल,श्यामप्रसाद आदि हुनुहुन्थयो । अहिले यकिन भएन तिनैमध्ये कविवर माधवप्रसाद घिमिरे पनि हुनुभएजस्तो लाग्छ । उहाँहरूलाई देखेर पनि मैले अमूर्त प्रेरणा पाउँदै गएको थिएँ ।
यही वातावरण,यही मोहको पछि लाग्दै मेरो लेखन यात्रा विस्तारै अघि बढ्यो–कवितालाई छाडेर गद्यको दिशामा;साहित्य र बालसाहित्यलाई अँगालेर ! स्कुलको पत्रिकामा प्रकाशित त्यो कविता पछिको मेरो दोश्रो प्रकाशित रचना बन्न पुग्यो मधुपर्कको असोज अङ्कमा प्रकाशित अनुवाद कथा–दुई शत्रु । यसरी आफूले अनुवाद गरेको अमेरिकी कथाकार एच.एन.मुन्रोको कथा छापिएर त्यसबाट पच्चीस कि तीस रूपियाँ पारिश्रमिक समेत पाउँदा छापामा आफ्नो नाउँ छापिएको हेर्न चाहने मेरो रहरले अर्को दरिलो आकर्षण समेत फेला पारेको हुनुपर्छ । त्यतिबेला मधुपर्कमा छापिएको त्यो अनुवाद कथा वापत मैले पाएको पारिश्रमिक मेरालागि ठूलै पारितोषिक थियो,ठूलै आकर्षण थियो । लेखेर–अनुवादगरेर पैसासमेत पाइने,त्यो पनि मुलुक कै ठूलो सरकारी पत्रिकाबाट ! मेरो सिकारु लेखकका लागि त्यो अनुभव रोमाञ्चक हुनु स्वभाविकै थियो । त्यसपछि त कहिले कथा,कहिले बाल साहित्य,कहिले निबन्ध र कहिले अखबारी लेख–रचना लेख्ने–छााप्ने,छापिने क्रम चलिरह्यो र निरन्तर नै चलिरहेको छ । हो,सुरुमा आफ्नो छापिएको नाउँ हेर्दा हुने खुसी र रोमाञ्च भने अहिले हुँदैन र त्यतिबेलाको त्यो रोमाञ्चकता र खुसी सम्झँदा पनि अहिले अनौठो लाग्छ ।
यसरी अङ्ग्रेजी कथाको अनुवादबाट सुरु भएको मेरो कथायात्राको प्रारम्भविन्दुमा लेखनका हिसावले सम्भवतःमेरो पहिलो मैलिक कथा थियो–आँसुमा रुझेको जीवन ! हाम्रै सक्रियतामा सञ्चालित गाउँकै क्लब ग्राम निर्माण बन्धुमण्डलले विक्रम सम्वत २०२८ को अन्त्य वा त्यसको पछिल्लो वर्षको सुरुतिर साहित्य प्रतियोगिताको आयोजना ग¥यो । त्यो प्रतियोगिता पूर्वी भेग अर्थात चावहिल यताको क्षेत्रीय सहभागिता आमन्त्रण गरेर आयोजना गरिएको जस्तो लाग्छ । अहिले राम्रो सम्झना पनि रहेन । त्यतिबेलादेखि जनआन्दोलनपूर्व २०४३–४४सम्म नै यो क्लब अत्यन्त सक्रिय थियो । वर्षेनी नाटक खेलाइन्थ्यो,त्यो नाटक हेर्न टाढाटाढादेखि मानिसहरू आउँथे । मूलतः बाबाको सकिंयता र निर्देशनमा हुने नाटक प्रदर्शनी निकै चर्चित थियो । पछि नाटक प्रदर्शनीको त्यो चरण विस्तारै सेलायो र केही समय पूर्ण शिथिलता कायम रह्यो । पछि २०३९देखि २०४२सम्म झैं जस्तो लाग्छ,यो क्लवले राष्ट्रिय स्तरकै कविता सम्मेलन गरेर आफूलाई फेरि पुनर्जीवित गरायो । यसमा पनि बाबाको निर्देशन र पे्ररणा त रहेकै हुन्थ्यो,तर मूल खटाइमा भने म पर्थें । त्यतिबेला निकै चर्चित यो वार्षिक आरुबारी कविता गोष्ठीमा वाचित कविताहरूका दुईवटा सङ्ग्र्रह मेरै सम्पादनमा क्लबले नै प्रकाशित गरेको छ ।
त,त्यसरी आफ्नै क्लबले आयोजना गरेको कथा प्रतियोगितामा स्थानीय प्रतिनिधित्वको पनि आवश्यकता थियो नै । मलाई पनि त्यसमा सहभागी हुने हुटहुटी नहुने त झन कुरै भएन । यिनै पृष्ठभूमि र प्रेरक परिस्थितिले मलाई वास्तवमा त्यो पहिलो कथा लेख्न प्रेरित गरेको थियो । प्रतियोगितामा प्रथाम पुरष्कृत भएर संभवतः साहित्यकार फणीन्द्रराज खेतालाको हातबाट पुरस्कार लिएको त्यो कथा “आसुमा रुझेको जीवन” नै पछि नेपाल नेसनल कलेज (जुन पछि शङ्करदेव क्याम्पसको नाउँमा रूपान्तरण भयो) को वार्षिक साहित्यिक मुखपत्र जमरामा छापियो–२०३० साल असोज महिनामा । यसरी लेखनक्रममा यो कथा पहिलो भएर पनि छापिने क्रममा भने पछाडि प¥यो । योभन्दा पहिले छापियो कुहिरोमा रुमल्लिएको जिन्दगी शीर्षकको दोश्रो कथा,गोरखापत्रको ६ साउन २०३० को शनिवासरीय अङ्कमा । त्यसपछि २०३० सालकै असोज १३ गतेको गोरखापत्र शनिवासरीय अङ्कमा विद्रोह पग्लिंदै जान्छ शीर्षकको अर्को कथा छापियो । त्यसैले त्यही साल असोजमैं जमरामा छापिएको आँसुमा रुझेको जीवन शीर्षकको त्यो कथा प्रकाशनका दृष्टिले दोश्रो थियो वा तेश्रो,म आफैं भन्न नसक्ने स्थितिमा रहेको छु । मधुपर्कमा छापिएको पहिलो मौलिक कथा चाहिं सालिक भित्रको खोक्रो मान्छे नै हो,जुन २०३१साल फागुन महिनाको मधुपर्कमा प्रकाशित भएको छ । समालोचना र साहित्यका इतिहासहरुमध्ये केहीमा मेरो प्रथम प्रकाशित कथाका रूपमा आँसुमा रुझेको जीवनको उल्लेख भएको पाएको छु,यो मेरै कमजोरीका कारण भएको हुनसक्छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभाग र रत्नराज्य क्याम्पस,रामशाहपथ अन्तर्गत स्नातकोत्तर तहमा गराइएका मेरो व्यक्तित्व र कृतित्वका साथै बालसाहित्य सम्बन्धी दुई शोधग्रन्थहरू(क्रमशः २०५५ र २०५८ )मा भने यो गल्ती सच्चिएको छ ।
जे होस्,प्रकाशनको दृष्टिले पहिलो मेरो कथा कुहिरोमा रुमल्लिएको जिन्दगी पनि मेरा अधिकांश कथाहरूजस्तै यथार्थको भावभूमिमा आधारित कथा हो । यसको अनाम पात्र एउटा सडकबालक थियो जुन आज अनेकौं संख्यामा समाजसँग आफ्नो अस्तित्वको माग गरिरहेका छन् । नागरिक भएर पनि नागरिकता गुमाउन वाध्य छन् र आफ्नो बाँच्ने अधिकारको खोजीमा भौंतार्रिइरहेका छन् । आज यिनैका नाउँमा अन्तर्राष्ट्रिय स्तरमा सहयोगको खोलो बग्छ नेुनिन्छ,अनेकौं गैरसरकारी संस्थाहरू डलरको खेती गरिरहेकाछन् भनिन्छ । हुन पनि यस्ता संस्थाका सञ्चालकहरूको पजेरो र विलासी जीवशैली तथा पानीपधेँरो जस्तै विदेश भ्रमणको चटारो देख्दा र खातेहरूको जीवन भने लगभग उस्तै रहेको दख्दा भने ती आरोपहरूमा सत्यको कुनै अंश छैन भन्न सकिने ठाउँ भेटिंदैन । त्यति बेला यो कथा लेखिंदा यस्ता गैरसरकारी संस्थाको कुनै अस्तित्व समेत थिएन,डलर खेती त अझ पछिको कुरा हो ।
विसं २०२८–२०२९ सालतिरको कुरा हो,त्यतिबेला केही समय रत्नपार्कको सेरोफेरोमा विताउनु मेरो वाध्यता थियो । त्यति बेला प्रायजसो रत्नपार्कको त्यही सेरोफेरोमा देखिने गरेको एउटा सानो केटोको विम्ब मेरो मेरो मानसमा प्राय सधैं ठोक्किने गथ्र्योे । त्यही केटो र त्यसको विम्ब नै मेरो पहिलो कथाको आधारभूमि बनेको छ । त्यतिबेला म कीर्तिपुरको कलेज अफ एजुकेसनमा नर्मल तालिम लिन्थें । मैले पढाउने गरेको विद्यालयबाट म त्यो तालिममा पठाइएको थिएँ । दिउँसोको तालिम सकेर साँझमा रामशाहपथस्थित नेपाल नेसनल कलेजमा बीए पढ्दै थिएँ म त्यतिबेला । अहिलेको शङ्करदेव क्याम्पसलाई त्यतिबेला नेपाल नेसनल कलेज भनिन्थ्यो । घर निकै टाढा भएकोले घर गई पलेज फर्कने संभावना थिएन । त्यसैले कीर्तिपुरको तालिम सकेर कलेजको कक्षा सुरु नहुञ्जेल मेरो समय कटाउने ठाउँ त्यही रत्नपार्क,त्यसको बाहिरको होटेल–चमेनागृह आदि नै हुन्थे । त्यतै चिया चमेना ग¥यो,त्यहाँको गतिविधि हे¥यो,शाही नेपाल वायुसेवा निगमको भवनमा रहेको नेपाल–भारत सांस्कृतिक केन्द्रले चलाएको भारतीय पुस्तकालय (इण्डियन लाइब्रेरी) धायो,त्यहाँबाट ल्याएको पुस्तक पढ्यो । मेरो दिनचर्या प्राय यसरी नै वित्थ्यो र यही कालखण्डमा मैले धेरै भारतीय साहित्य,विशेष गरी आख्यान अर्थात उपन्यास र कथा साहित्य पढ्न भ्याएको छु ।
त्यही बेला शिक्षक आन्दोलन प्रारम्भ भएको थियो । हामी नर्मल वा आधारभूत शिक्षक तालिमका विद्याथ्ीैहरूको सक्रियतामा त्यतिबेला सिङ्गो कीर्तिपुर हडतालमा उत्रिएको थियो । म पनि त्यसमा सक्रियतापूर्वक लागेको थिएँ । अन्य साथीहरूमध्ये अहिले सम्झना भएसम्म मोहन दुवाल एकजना हुनुहुन्थ्यो,अरूको सम्झना छैन । लाग्छ,आशाकाजी वासुकला,जो जनआन्दोलन पछि सांसद् पनि हुनुभयो, त्यो अन्दोलनमा सँगै काम गरेको जस्तो लाग्छ । त्यति बेला सादा पोशाकमा हाम्रा पछाडि गुप्तचरहरू पनि लागिरहेको हुन्थे । उनीहरूबाट छुटकारा पाउन पनि मेरा लागि त्यही रत्नपार्क,त्यहाँका चिया पसल,भारतीय पुस्तकालय र क्याम्पस निकै सहयोगी बन्ने गर्थे ।
त्यसै कालखण्डमा प्राय याचनाको हात फैलाइरहेको देखिने त्यस बालकको कलिलो अनुहार मेरा आँखामा ठोक्किइरहन्थ्यो । म नजानेरै उसप्रति आकर्षित हुँदै गएको थिएँ । विस्तारै ऊसँग केही कुराहरू हुनथाले,कहिले एकदुई रूपियाँ उसको हातमा हालिदिन्थें । कहिले रत्नपार्कको चौरमा उसलाई पनि सँगै राखेर भुटेको बदाम खान्थें,ख्वाउँथें । मेरो सहानुभूतिपूर्ण व्यवहारबाट हुनसक्छ ऊ विस्तारै मसँग खुल्न थालेको थियो । त्यसरी मैले उसको बारेमा टुक्राटुक्रामा धेरथोर जानकारी पाएको थिएँ । उसका बाबुआमा वितिसकेका थिए । गाउँमा काका–काकीको उपेक्षा र अपमान सहन नसकेर ऊ गाउँबाट भागेको थियो । काठमाडौं पसेर निकै दिन सडकमा विताए पछि सबैले काका भन्ने गरेका एकजना मान्छेले उसलाई फेला पारेछ । त्यो काका भन्ने मानिस पनि पहिले ऊजस्तै सडकलाई नै आश्रय मानेर दुईचार पैसा माग्दै्र जीवन विताउँदो रहेछ । अहिले ऊ यस्तै केटाहरूलाई जम्मा गरेर माग्न लगाउँदो रहेछ । त्यही उनीहरूले मागेर जम्मा गरेका पैसा लिएर ऊ उनीहरूको खाने–बस्ने र लाउने थोत्रोथलुगा फाटोको व्यवस्था गरिदिंदो रहेछ । त्यो केटोको कुरा कतिसम्म सत्य थियो मँ भन्न सक्दिन,तर उसले त्यतिबेला सुनाएका कुरा तिनै थिए ।
त्यो काका भन्ने मानिसको डेरामा मैले भेट्ने गरेको उही मेरो परिचित केटोका साथै अरू ऊजस्तै आठ–दशजना थिए रे ! त्यो केटाको कुरा सुनेर,उसको अवस्था देखेर मलाई सपनामा समेत त्यो केटाको अनुहारले पच्छ्याउन थालेको थियो । मेरो मनमा प्रश्न उठ्ने गथ्र्यो–त्यो अवोध बालकलाई यो अवस्थामा पु¥याउने जिम्मेवारी कसको ? राज्य वा समाजको कुनै जिम्मेवारी छैन उसप्रति ! यही क्रममा मलाई कहिलेकाहीं यस्ता अबोध बालबालिकालाई माग्ने पेशामा लगाएर पेशा चलाउने त्यो कथित काका भनाउने अपरिचित दलालप्रति आक्र्रोश उत्पन्न हुने गथ्र्यो । प्रहरीलाई जानकारी दिएर उसलाई पक्डाइदिने विचार पनि आउने गथ्र्यो । तर लगत्तै सोच्थें,मजस्ताले समेत थाहा पाएको यो सत्य प्रहरीलाई थाहा नहोला र ! त्यो दलालको अमानवीय पेशाबाट उनीहरूले पनि हिस्सा ग्रहण गर्दैनन् होला र ? अनि अर्को मनले भन्थ्यो–उसले यति नगरेको भए त्यो केटाले मागेर जम्मा हुने थोरै पैसाले उसलाई खान,बस्न,लाउन र घाम–पानी शीत–तापबाट आश्रय लिन डेराको व्यवस्था संभव हुन सक्थ्यो होला र ? त्यसमाथि कसले दिन्थ्यो होला यो नाबालकलाई डेरा शहरमा । त्यसैले मेरो अर्को मन यो बालक र यो जस्तै अनेकौं नागरिकको जिम्मेवारी लिनुपर्ने राज्य र मेरो समाजको अपराधभन्दा त्यो काकाभन्ने मानिसको अपराधलाई बढी मान्न सक्दैनथ्यो । यसले सानै भएपनि आश्रय दिएर अकाल मृत्युबाट त बचाएको छ उसलाई ! अनि माग्नु के अपराध ! बाँच्नका लागि मानिसले हत्या,चोरी,डकैती गर्छ र समाजका सफेदपोसहरूले सम्पत्ति थुपार्न अनैतिक काम गरेर मानव समाजलाई नै अवनतिको खाडलमा धकेलिरहेका छन् भने यो बालकले मागेर के अपराध ग¥यो ? त्यो काका भन्नेले माग्न लगाएर के नै पो बढी अपराध ग¥यो र ! त्यो काका नामक दलालले त्यस्ता सफेदपोस अपराधीहरूको भन्दा ठूलो अपराध गरेको कसरी मान्ने ? त्यसैले यिनलाई अपराधी मान्ने अधिकार नै के छ मसँग र यो दलालको बिरुद्ध विष बमन गरूँ ! म सोच्ने गर्थें । त,त्यही अबोध माग्ने केटाको निर्दोष अनुहारले सधैं लखेटिइरहनुको परिणतिका रूपमा मेरो त्यो पहिलो कथाको जन्म भयो–कुहिरोमा रुमल्लिएको जिन्दगी ! र,मेरो आजको तीन दशकको कथालेखनको बीजारोपण पनि त्यसैबाट हुनपुग्यो ।
त्यो केटो र त्यो जस्तै अनेकौ अनुहारहरूको अव्यक्त प्रश्न मेरो मनमा लामै समयदेखि उठ्ने गरेको भए पनि त्यसलाई अभिव्यक्ति भने दिन सकेको थिइन । त्यसैले यो कथा लेख्ने हुटहुटी दिलाउनमा त्यो बाल–माग्नेको अनुहारं प्रमुख कारण बनेको त छ नै,अर्को कारण ग्रामनिर्माण बन्धुमण्डल क्लबले गरेको साहित्य प्रतियोगितामा भाग लिने चाहना रहेको छ । त्यसको बारेमा माथि नै चर्चा गरिसकेको छु ।
भौगोलिक हिसाबले भैरव दाई (स्वर्गीय भैरवप्रसाद अर्याल) र हामी नजिकै बस्थ्यौं । उहाँको घर जोरपाटी बजारमा थियो भने,मेरो जोरपाटी कै अलिमाथि आरुबारीमा । कहिलेकाहीं उहाँ हाम्रो घरमा पनि आउनु हुन्थ्यो । त्यसैले पनि भैरव दाइसँग म परिचित थिएँ । त्योभन्दा अघि नै पनि बाबा मार्फत गएको मेरो एउटा अनुवाद कथा उहाँले छापिदिनु भएको थियो । त्यसैले त्यो कथा लिएर म भैरवदाइ कहाँ गोरखापत्रमा गएको थिएँ । बडो सङ्कोच मान्दै मैले त्यो कथा भैरव दाइलाई दिंदै हुने भए छापिदिन अनुरोध गरेको थिएँ । मेरो मन भन्दै थियो–के छापिएला र मँजस्तो सिकारु लेखकको यो पहिलो कथा, त्यो पनि गोरखापत्रजस्तो मुलुककै ठूलो अखबारमा ! मनमा पटक्कै आशा नभएर पनि छाडेर जाऊ,म हेरौंला । हुनेभए छापौंला भन्ने भैरव दाइबाट जवाफ पाएपछि म गह्रुङ्गो मन लिएर फर्केको थिएँ । हुनेभए छापौंला भन्ने भैरव दाइको भनाइबाट मेरो आशा झनै झनै क्षीण हुन पुगेको थिया,े त्यतिखेर ।
जे होस्,त्यो कथा दिएर आएपछि मैले बडो व्यग्रापूर्वक प्रतीक्षा गरेको थिएँ–गोरखापत्रमा छापिएको देख्न । हरेक शनिवारको गोरखापत्र किनेर ल्याउँथे ंर त्यसमा आफ्नो नाउँ र कथा नदेखेर निराश हुने गर्थें । तर २०३० साउन ६ गतेको झरीले भिजेको एक एउटा दिन भने मेरो जीवनमा न्यानो घाम छरेर आएको थियो । त्यति बेला गोरखापत्रमा आफ्नो नाम र त्यही आफ्नो पहिलो कथा छापिएको देखेपछि मैले आफूलाई अर्कै संसारमा पुगेको अनुभव गरेको थिएँ । अहिले त्यसरी छापिँदा कुनै रोमाञ्च,कुनै हर्ष अनुभव नगर्ने मेरो मन त्यतिबेला कति खुसी भएको थियो,सम्झँदा पनि मलाई अहिले आश्चर्य लाग्छ ।
त्यो कथा छापिनुमा सिकारु लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको उदार र भावनाको के कति भूमिका छ र मेरो कथाको स्तरीयताको के कति भूमिका,म यकिनका साथ भन्न सक्दिन । तर पनि अहिले हेर्दा विषयबस्तु राम्रो भएर पनि सिकारु लेखकको त्यो पहिलो कथा छापिनुमा कथाको प्रभावभन्दा पनि नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको महान् दृष्टिकोण कै बढी भूमिका रहेको स्वीकार गर्न मलाई कुनै सङ्कोचको अनुभव हुँदैन । त्यो कुरा स्वीकार गरिन भने बरू मेरो कृतघ्नता ठहरिने छ । मेरा पिताजीको प्रेरणा र सहयोग त स्वाभाविक हुने भयो नै,ममा भैरव दाइको प्रेरणा त्यसपछि पनि कम रहेन । साहित्यको क्षेत्रमा आवश्यक वातावरण र यो उत्पादक क्षेत्र बन्न नसकेको देखेर कहिलेकाहीं बाबा निराशामा भन्नुहुन्थ्यो–म साहित्यमा लागेर दुःख पाएँँ,यो पनि त्यतै लाग्दै छ । त्यो सुनेपछि भैरवदाईको प्रतिक्रिया हुन्थ्यो– यस्ता कुरा नसुन्नु है,लेख्न छाड्न हुन्न्न,लेख्दै जाऊ ! उहाँको त्यो भनाइले मलाई सधैं अघि बढ्न पे्ररित गरिरह्यो । यसर्थ पनि मैले उहाँप्रति कृतज्ञ बन्नै पर्छ । भैरवदाइ मात्र होइन गोरखापत्रमा नारायणबहादुर सिंह र केशवराज ंिपंडालीबाट पनि मैले राम्रै सहयोग र प्रोत्साहन पाएको हुँ । पछि विसं २०३७ जेठको सुरुदेखि त मेरा पनि गोरखापत्रमा उपसम्पादकका रूपमा प्रवेश भएपछि नारायण बहादुर सिंहको सहयोगी नै भएर मैले काम गर्ने अवसर पाएँ । र उहाँबाट मैले साहित्यिक पत्रकारिताको गम्भीरता र जिम्मेवारीको रामै्र अनुभव गर्न पाएको थिएँ । साहित्य,भाषा र हरेक विषयबस्तुमा उत्तिकै पकड भएको साहित्यिक पत्रकारमा संभवत नारायणबहादु सिहको नाउँ शीर्षस्थ थियो । त्यसैले मधुपर्कको स्तर पनि अत्यन्त माथि थियो । उहाँसँग काम गर्नु सजिलो थिएन,तर सिक्न पाउने पर्याप्त अवसर भने प्राप्त हुन्थ्यो । घटराज भट्टराई र स्वर्गीय बलराम श्रमजीविबाट पनि पाउँदै आएको सह्राहनाबाट प्राप्त प्रोत्साहनलाई म बिर्सन सक्दिन ।
प्रेरणाको कुरा गर्दा मीठा मात्र होइनन्,नमीठा सम्झना पनि छन् मेरा मनमा ! २०३० सालमा मैले एउटा जासुसी उपन्यास लेखें र पछिल्लो वर्ष त्यसलाई रत्नपुस्तक भण्डारले प्रकाशित ग¥यो । त्यस पछि मैले अर्को एउटा सामाजिक उपन्यास लेखेको थिएँ । त्यो उपन्यास लेखेपछि बाबाको सल्लाह अनुसार नै मैले केही सुझावका साथै मन्तव्यको आशा गरेर विद्वान् कुमारबहादुर जोशीलाई विनम्र अनुरोध सहति दिएको थिएँ । पहिले त रामै्र आश्वासन पाएँको हुँ,तर पछिको अनुभव भने त्यति प्रिय रहेन । लामो समय वितिससक्दा पनि मैले मन्तव्य र सुझावको त कुरै छाडौं,पाण्डुलिपि समेत फिर्ता पाउन सकिन ।
निकै समय पछि फिर्ता त पाएँ,तर पाण्डुलिपि मात्रै–जस्तो दिएको थिएँ, त्यही रूपमा । एक ठाउँमा मेरो असावधानीले हो वा अज्ञानका कारणले “निर्निमेष”भन्ने शब्द अशुद्ध भएर “निर्मिमेष” कि “निर्मिशेष” के हो,हुन पुगेको रहेछ । हुनसक्छ अरू पनि केही अशुद्धिहरू थिए होलान्,एउटा भर्खरै लेख्न थालेको सिकारु लेखकमा पूर्णताको अपेक्षा नै कतिसम्म गर्न सकिन्छ
होला र ! उहाँका आँखा सबैभन्दा पहिले त्यही शब्दमा परेछन् र उहाँले त्यसलाई अछूत सम्झेर अर्को पाना पल्टाउने कष्टसम्म गर्नुभएन छ । त्यतिसम्म पनि केही थिएन, तर उहाँको प्रतिक्रियाले भने मेरो सिकारु लेखकमाथि हतोत्साही अभिव्यक्तिको यति ठूलो प्रहार भयो,त्यो झेल्न मलाई निकै कठिन परेको थियो । म जानासाथ उहाँले भन्नुभयो–भाषा अशुद्ध भयो लैजानोस् । भाषै नजानी के लेख्नुहुन्छ ! उहाँको भाषिक चेतना स्वाभाविक थियो होला,उहाँबाट उपयुक्त ढङ्गमा प्राप्त सुझाव मेरा लागि लाभप्रद नै हुनपुग्थ्यो । मैले सुझावको अपेक्षा पनि राखेकै हुँ । तर उहँबाट जुन तरिकाले प्रतिक्रिया प्रकट भयो,त्यो भने मजस्ता साहित्यमा भर्खरै लाग्ने प्रयासमा रहेको एउटा सिकारु लेखकलाई पे्ररित गर्ने र सही बाटो देखाउने खालको मैले त्यतिबला अनुभव गर्न सकिन । त्योे बरू हतोत्साही बनाउने तर्फ नै बढी लक्षित रहेको मैले अनुभव गर्नु त्यतिबेला स्वाभाविक नै थियो । मेरो त्यो सोचाइ पूर्वाग्रहपूर्ण र व्यक्तिकेन्द्रित पनि हुनसक्छ, तर मैले इमान्दार भएर भन्नुपर्दा अहिले पनि म उहाँको त्यो व्यवहारलाई उपयुक्त र आफूभन्दा पछिल्लो पुस्तालाई माया गर्ने खालको थियो भनेर भन सक्दिन । त्यतिबेला त झन पहिलो औपन्यासिक प्रयासमा नै उहाँबाट पाएको त्यो कठोर प्रतिक्रियाले मलाई ठूलै चोट पुग्नु स्वभाविक थियो । त्यसरी मैले त्यो पाण्डुलिपि कुनै प्रतिक्रिया विना नै फिर्ता लिएको थिएँ ।
त्यसबाट मलाई एउटा फाइदा भने भएको थियो,त्या पाण्डुलिपिलाई फेरि दोहो¥याएर सकेसम्म भाषिक रूपमा शुद्ध बनाउने मैले अवसर पाएँ । तत्कालीन उपकूलपति कविवर माधवप्रसाद घिमिरे,साहित्य विभागका सदस्य मोहन कोइराला आदि अग्रजहरूको स्नेहपूर्ण सद्भावना र सदासयताका कारण त्यो उपन्यास पछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०३६सालमा प्रकाशित भयो । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित मेरो त्यो कृति नै अहिलेसम्मको पहिलो र अन्तिम कृति पनि बनेको छ । त्यस बेलादेखि मैले उपन्यामा हात खाल्न सकेको छैन । जनमत सङ्ग्रहको पृष्ठभूमिमा लगभग तीन खण्ड जति काम सकिसकेको एउटा उपन्यास पनि त्यसै थन्किइरहेको छ,अपूर्ण रूपमा । फुर्सद निकालेर त्यसलाई पूरा गर्नेछु भन्ने प्रतिबद्धता भने हराएको छैन ।
प्छि त्यस्ता कति गल्ती र अशुद्धिहरू मैले गोरखापत्रमा लामो समयसम्म मधुपर्क,गोरखापत्रको लेखरचना र शनिवासरीय परिशिष्टाङ्क आदिको मात्रै होइन साँङ्ग्रिला त्रैमासिकको सम्पादन गर्दा पनि धेरै ठूला स्वनामधन्य साहित्यकारहरूको रचनामा समेत फेला पारेर सच्याइदिएको छु । त्यसलाई मैले अस्वभाविक पनि ठानेको छैन,केही सानातिना गल्ती असावधानीबस छुटेको हुनसक्छ,र अज्ञानताबस नै पनि । त्यसैलाई ठूलो र एकमात्र कारण ठानेर मूल्याङ्कन गर्ने प्रबृत्तिबाट स्थापित ठूला लेखकलाई खासै फरक नपर्ला,उनीहरूको योगदान र व्यक्तित्वले त्यस्ता आलोचना र प्रतिक्रियालई सहजै पचाइदेलान् । तर त्यतिबेलाको मजस्तो प्रारम्भिक अवस्थाको लेखकलाई भने यस्ता प्रबृत्तिले कति असर पर्छसक्थ्यो होला,अनुमान गर्न कठिन पर्दैन ।
फुटकर सबै कथासम्बन्धी घटनाको उल्लेख सम्भव नहोला । यसो गर्ने हो भने यो संस्मरणत्मक सानो लेखनको आयतनमा समेटिन सक्दैन । तसर्थ मेरा प्रकाशित सङ्ग्रहमा रहेका केही कथाहरूका बारेमा मात्र संक्षिप्त चर्चा गर्नु उपयुक्त ठानेकोछु । मेरो पहिलो कथासङ्ग्रह (संयुक्त) त्रिविध भित्रका छवटा मध्येको एउटा अखबारका पन्नामा टाँसिएको अनुहारहरू शीर्षक कथाको घटना,पृष्ठभूमि,र पात्रहरू सुदूर पश्चिमको डोटीसँग गाँसिएको छ । त्यति बेला मँ त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दा अनिवार्य रूपमा सहभागी हुनुपर्ने राष्ट्रिय विकास सेवा अन्तर्गत डोटी जिल्लाको देहीमणौंमा कार्यरत थिएँ । मेरो डेराको छेवैमा एउटा चिया पसल थियो । त्यहाँ चिया मात्र नभएर रक्सीको पनि व्यापार हुन्थ्यो । त्यो पसल गाउँकै बुज्रुक मानिने एकजना बाहुनकी ल्याइते श्रीमती र झड्केली छोरीले चलाउँथे । तल्लो जातकी मतवाली परिवारबाट आएकी ती महिलाको अघिल्लो लोग्नेबाट जन्मेकी ती झडकेली छोरी अहिले जवान भइसकेकी थिइन् । तिनै आमा छोरीको भरमा त्यो पसल चलिरहेको थियो,अझ रक्सीभन्दा पनि त्यो तरुनी छोरीको मादक जवानी पिउने लोभमा ग्राहकहरू त्यहाँ बढी झुम्मिने गर्थे । आफूलाई लोग्ने र बाबु भनाउने त्यो धूर्त मान्छे उनीहरूकै कमाइमा मोजमस्ती गर्ने गथ्र्यो । आफ्नो उमेरको उत्तरार्धमा पाइला टेकेकी ती विचरी स्वास्नी मान्छे उसलाई त्यागेर हिंड्न पनि सक्दिन थिन् ।
म आफ्नै डेराबाट पनि त्यो पसलको चहलपहल देख्न सक्थें । नजिकै अर्को चिया पसल नभएकोले कहिलेकाहीं मेरा लागि पनि चिया खाने ठाउँ त्यही पसल हुनेगथ्र्यो । त्यही क्रममा म उसको निर्दोष व्यवहार र उसमाथि स्वयम् उसको बाबु भनिने व्यक्तिबाट भएको शोषण देखेर उसप्रति केही आकर्षित भएको थिएँ,एउटा जीवन्त चरित्रका रूपमा उसलाई हेरेर । राजधानीबाट आएको सहरिया सभ्य कहलाइएको मप्रति ऊ आकर्षित हुनु त झनै अस्वाभाविक थिएन । त्यो भट्टीमा मद्यपान गर्न आउने ग्राहकहरूको अश्लील हेराइ,हाउभाउ र ठट्टा मात्र होइन मौका परेमा शरीरस्पर्शको आनन्द लिन आतुर उनीहरूको घरिघरिको चेष्टाबाट त्यो केटी त्रशित हुने गरेकी छ भन्ने अनुमान लगाउन कठिन पर्दैनथ्यो । यसमाथि त्यस्तो अवसरमा मेरो उपस्थितिले यसलाई झनै असजिलो स्थितिमा पु¥याइदिन्थ्यो । बिस्तारै मैले उनीहरूको बारेमा धेरै कुरा थाहा पाउँदै गएको थिएँ –आमाले कत्ति कर गर्दा समेत व्यापार सुक्ने डरले गर्दा त्यो कथित बाबु भनिने व्यक्ति त्यस केटीको विहे गरिदिने कुरै सुन्न चाहँदैन । विवाह गर्ने उमेर पुगेकी त्यो केटीमा लोग्ने र आफ्नो एउटा सुखी घर भएको देख्ने चाहना हुनु स्वभाविकै थियो । त्यसैले सहरको केटोसँग विहे गरेर वा पोइल गएर जीवन विताउने चाहनाले गर्दा त्यो केटी म मात्र होइन काठमाणौं र अन्य सहरबाट आउने जोकोहीसँग पनि आकर्षित हुनु स्वभाविक थियो । सायद उसको चाहना त्यो बाबु नामधारी मान्छेलाई पनि जानकारी थियो,त्यसैले ऊ प्राय त्यो केटीलाई कसैसँग पनि एक्लै छाड्दैनथ्या,विशेष गरेर सहरबाट आएका मजस्ता युवकहरूके उपस्थितिमा । आफ्नै अगाडि त्यो केटीमाथि गरिने अश्लील ठट्टालाई बरू उसबाट प्रोत्साहन मिल्ने गथ्र्यो । तै पनि आक्कलझुक्कल ऊ र अरू कोही नभएको मौका पारेर मसँग त्यो केटी अलि खुलेर कुरा गर्नेगर्थी र परोक्षमा आफ्नो चाहना प्रकट गर्थी । त्यस्तैमा एकदिन उसले मसँग आफूलाई पनि सँगै सहर लैजाने आग्रह गरेकी थिई । मलाई उसको त्यो प्रस्ताव स्वीकारयोग्य नलागेमा सहरसम्म लगरे छाडिदिए पनि ठूलो उपकार हुने उसको आर्त पुकार र आग्रहले मलाई अति नै कठिनाइमा समेत पारिदिएको थियो । त्यति मात्रै हुन सके पनि आफू त्यो नर्कबाट मुक्ति पाउन सक्ने उसको विश्वासलाई दरिलो आड दिन ममा साहस थिएन । मलाई धर्मको लोभ समेत देखाएकी थिई उसले त्यतिबेला । बदलामा म उसलाई सम्झाउँथें–जोसुकैसँग त्यरी हिंड्नु हुदैन,उस्तै मान्छेले विदेशमा लगेर बेचिदिन पनि बेर लाउँदैन । मेरो त्यो भनाइलाई उसले मेरो आफू पन्छने बहानाभन्दा बढी ठानेकी थिइन । त्यसको एक महिना जति पनि भएको थिएन,मैले सुनें त्यो केटी बिदामा गाउँ आएको भारततिर काम गर्ने कुनै एउटा जवान केटोसँग साथ लागेर भारत तिर भागी रे !
म काठमाणौं आएँ । बिस्तारै डोटी र डोटीका कुराहरू मेरो मनबाट विस्मृतिको गर्भमा छोपिंदै गए । त्यो केटीको सम्झना पनि त्यसरी नै विस्मृतिमा हराउनु स्वाभाविक थियो । त्यस्तैमा धेरै पछि,लगभग एक–डेढ वर्षपछि हुनुपर्छ मेरो आँखामा एउटा समाचार प¥यो । समाचार पे्रमजालमा फसेकी एउटी केटीलाई उसकै त्यो कथित प्रोमीले भारतमा लगेर बेचेको विषयमा थियो । त्यो समाचार देखेपछि किन किन मेरो मनको चित्रफलकमा मैले बिर्सिइसकेकी त्यही डोटीकी निर्दोष केटीको अनुहार झल्झल्ती आइरह्यो–कतै त्यो केटी पनि यसरी नै.... ! त्यो समाचार पढेदेखि नै मलाई त्यसको अनुहारले प्राय सधैं लखेट्न थाल्यो र त्यसैको भावभूमिमा मैले लेखे,अखबारका पन्नामा साटिएका अनुहारहरूं ! धेरै पाठकहरूले मन पराएर पत्रद्वारा र प्रत्यक्ष भेटमा प्रतिक्रिया जनाइएका कथाहरूमध्ये यो पनि पर्दछ ।
यसै सङ्ग्रहभित्रको देवकन्या शीर्षक कथा पनि धेरैद्वारा मन पराइएको कथा हो । यसको पृष्ष्ठभूमि र घटना पनि धेरै हदसम्म माथिको यही कथासँग मिल्दोजुल्दो रहेको छ । धनी मानिसको कथित देवभक्तिको भाकल पूरा गर्ने साधन बन्नुपर्ने वाध्यतास्वरूप केटाकेटीमैं देवकन्या बनेर कृतदासीका रूपमा मन्दिर भित्रिनुपर्ने त्यहाँको परम्परागत वाध्यता अहिले प्राय देखिंदैन । तर पूर्वदेवदासी वा देवकन्याको अवशेष भने अझै फेला पर्ने गर्दछ । यस्तै अवशेषको रूपमा देवकन्या भएपछि वैवाहिक अधिकारबाट समेत स्वतः वञ्चित भएकी एउटी नारीको कथा हो यो,जो युवावस्थाको यौनजन्य चाहना र कथित ठूलाबडाको प्रलोभनजालमा परेर कुमारी आमाको नियति भोग्न बाध्य बनेकी थिई । अँध्यारोमा र लुकिछिपी देवदासीको यौवनको न्यानो अँगालोमा लुटपुटिन चाहने समाजका सफेदपोस अनुहारहरूले नै उज्याालोमा तिनैलाई समाजको कलङ्क भन्दै तिरस्कार गर्ने अभ्यास हाम्रो समाजको यथार्थ हो । त्यही यथार्थबाट पीडित र समाजबाट तिरस्किृत एउटी जीवन्त पात्र नै यो कथाको पात्र हो । देवकन्याको अमानवीय परम्पराको अवशेष सुदूर पश्चिमका केही ठाउँमा संभवतः अझै पनि फेला पर्न सक्छन् ।
यस्तै एउटा अर्को कथाको सम्झना हुन्छ,म अनवरत पिटर खोजीरहन्छु ! यो कथा अनेपाली परिवेश र पृष्ठभूमिको भए पनि आजको हाम्रो कथित शहरी सभ्य समाजमा समेत देखा पर्न थालेको वात्सल्य प्रेमको भोकमा छट्पटाइरहेका अबोध शिशुहरूको साझा कथा हो । अबोध बालकमा रहने यही अभावका कारणले उज्जण्डता र विद्रोही स्वभावको जन्म गराइदिन्छ र यस्तो स्वाभाव असामाजिक गतिविधिको करक समेत बन्ने गरेको देखिएको छ । पश्चिमी व्यस्त समाजका बालकहरूको यो कथा हाम्रो समाजमा पनि दोहोरिने आशंका देखिंदै छ ।
छ महिनाको मेरो बेलायत प्रवासको अवधिमा मलाई एक महिनाका लागि ब्रिटिस काउन्सिलले एउटा बेलायती परिवारमा पैसा तिरेर लागिने पाहुना (पेइङ गेष्ट) बनाइदिएको थियो । म त्यति बेला पत्रकारितामा डिप्लोमा तालिम लिने सन्दर्भमा कोलम्बो प्लान अन्तर्गत बेलायत प्रवासमा थिएँ । बेलायतको शैक्षिक केन्द्र मानिने कोम्ब्रिज शहरको म पाहुना लागेको त्यो घरका युवा दम्पति अत्यन्त व्यस्त रहन्थे । लोग्ने बब फ्रेयर स्नानगृहको मर्मत सम्भार गर्ने प्लम्बरको व्यवसाय गथ्र्यो,रातसाँझसम्मै काम गरेर पनि उसलाई आफ्ना ग्राहकको माग पूरा गर्न धौःधौः पथ्र्योे । श्रीमती सुजी फ्रेयरलाई हामीजस्तै पैसा तिरेर ब्रिटिस काउन्सिलले लगाइदिने पाहुनालाई विहानको कौला(ब्रेकफास्ट),रातीको खाना(डिनर)को तारतम्य मिलाउने,बजार जाने र लोग्नेको व्यवसायको हरहिसाब राख्ने काममैं फुसंद हुँदैनथ्यो । त्यसबाट उब्रेको थोरै समय पनि उी हप्ताको दुई दिन विदामा अरूका केटाकेटी हेर्ने (बेबी सिटिङ ) काममा उपयोग गर्ने गर्थिन् । विहे गरेको भर्खरै दुई वर्ष भएका ती दम्पति आर्थिक रूपमा स्थापित भएपछि मात्र आफ्नो सन्तान जन्माउने योजना बनाएर धन कमाउने काममा अत्यन्त व्यस्त थिए । यो व्यस्ततामा उनीहरूलाई नवविवाहित जीवनको रस लिन समेत फुर्सद निस्कँदैनथ्यो । उनीहरूले रातको केही क्षण बाहेक सँगै समय विताएको समेत देखिंदैनथ्यो ।
हामीसँग पनि उनी रातको खाना खाने केही समय मात्रै साथमा हुन्थिन । विहानको कौला समेत उनी भोजनकक्षको टेबुलमा ठिक्क पारेर आफ्नो काममा लाग्थिन,हामी उनको निर्देशन अनुसार आफैं आ–आफ्नो अनुकूल समयमा निकालेर खान्थ्यौं । हामी अर्थात उनीकहाँ पाहुना लागेका तीनजना भिन्न मुलुकका नागरिकहरू । त्यसरी बेलायती परिवारमा पाहुना लगाउनुको उद्देश्य हामीलाई बेलायती समाजको पारिवारिक घरेलु जीवनसँग परिचित हुने वातावरण उपलब्ध गराउनु थियो । सुजी परिवारको त्यो व्यस्तताले ब्रिटिस काउन्सिलको त्यो उद्देश्य भने पूरा हुन पाएको थिएन । काउन्सिलले त्यस्तो परिवारलाई उनीहरूको पारिश्रमिक र खाना ख्ँवाए वापतको खर्च उलब्ध गराउनुभन्दा अगाडि हामीलाई हरेक हप्ता एउटा–एउटा फाराम भर्न लगाउने गथ्र्यो । त्यस फाराममा हामी पाहुनाप्रति परिवारले गर्ने व्यवहार,उनीहरूको पाहुनासँगको हेलमेल,आदिका बारेमा पनि प्रश्नहरू हुन्थे । दोश्रो हप्ताको फाराममा मैले उनीहरूले समय दिन नकेको भन्ने उल्लेख गरेको थिएँ । तेश्रो हप्तादेखि त मलाई अर्कै परिवारमा पो व्यवस्था मिलाईदिएछन्,त्यहीं सर्नुप¥यो । मैले त्यो कुराको उल्लेख गरिदिंदा विचरो त्यो परिवार ब्रिटिस काउन्सिलको कालो सूचीमा पर्ने छ र उनीहरू एकजनालाई पाहुनालाई राख्दा प्राप्त हुने आमदानी गुमाउनु पर्नेछ भन्ने भनकसम्म पाएको भएपनि म त्यो कुरा उल्लेख गर्ने थिइन । तर जे हुनु भइसकेको थियो । मैले उनीहरूलाई आजसम्मको आतिथ्यका लागि धन्यवाद दिंदै क्षमा याचना समेत गरेर विदा लिएको थिएँ ।
ब्रिटिस काउन्सिलकी एउटी सहयोगी युवतीले मलाई बब फ्रेयरको परिवारभन्दा राम्रो र हर हिसाबले परम्प।रागत घरेलु बेलायती परिवारमा नयाँ व्यवस्था मिलाइदिएको जानकारी गराएकी थिइन् । उनले भनेकी थिइन्–तिमी घरकैजस्तो पारिवारिक वातावरण (होम्ली फिल ) अनुभव गर्न पाउने छौ ! रहँदाबस्दा लोग्ने–स्वस्नी र ७–८ वर्षको एउटा छोरो,र ४–५वर्षकी एउटी छोरी भएको त्यो प्रैढ दम्पतिको परिवार सरदर बेलायती परिवार भएको मैले अनुभव गरेको थिएँ । दुबैको पेशा शिक्षण थियो । लोग्नेभन्दा केही बढी कमाउने श्रीमती चाहीं जब्बर खालकी थिइन,लोग्नेलाई असाध्यै कजाउने । लोग्ने चाहीं उनको अघिल्तिर सधैं भिजेको विरालोजस्तै देखिन्थ्यो,हाम्रो भाषमा भन्ने हो भने जोइटिङ्ग्रे ! आमाको त्यो व्यवहार देखेर छोराछोरी समेत उनलाई हेप्ने गर्थे । स्वास्नी त मेरै अघिल्तिर समेत लोग्नेलाई होच्याएर काम अह्राउँथिन् । त त्यो परिवार विशुद्ध रूपमा बेलायती परिवारको प्रतिनिधि त थियो थिएन मलाई थाहा भएन,पुरुषहरूबाट नारीहरू मात्र पीडित भइरहेको भनिने आजको (यो घटना सन् १९८५ को हो ) नारी आन्दोलन र लैंङ्गिक समानताको अभियानको युगमा श्रीमतीबाट हेपिएको र एक किसिमको पत्नीपीडित लोग्नेको ज्वलन्त दृष्टान्त दिने परिवार भने त्यो थियो नै !
यो परिवारमा आउनु अघिकै सुजीको घरमा बस्दाको घटनाबाट प्रेरित भएर लेखिएको कथा हो,म अनवरत पिटर खोजिरहेकोछु ! हरेक विदाको दिनमा सुजीले हेरचाहको जिम्मा लिएकी तीनजना केटाकेटीको व्यवहार र गतिविधि मात्र होइन अभिव्यक्तिसमेत सामान्य बालककोजस्तो लाग्दैनथ्यो । सानो सानो कुरामा पनि झगडा गर्ने,मारिदिन्छु भन्ने,खेलौना नै भएपनि बन्दुकजस्ता घातक हतियारबढी रुचाउनेजस्ता उनीहरूमा देखिने गरेको असामान्य प्रबृत्ति मलाई अनौठो लाग्ने गथ्र्याे । सुजी आफ्नै काममा व्यस्त हुन्थी,उनीहरूमाथि त्यति ध्यान दिने फुर्सद नै हुँदैनथ्यो उसलाई । केटाकेटी भने कहिलेकाहीं त हिंश्रक नै बन्नपुग्थे । विदाकै दिन घुम्न नगएको केही क्षण भए पनि म ती केटाकेटीसँग घुलमिल गर्ने प्रयास गर्थें । मेरो व्यवहारले उनीहरू पनि विस्तारै मसँग केही बेर खेल्ने गर्न थालेका थिए,केही खुलेर कुरा गर्न थालेका थिए । त्यही क्रममा मैले थाहा पाएको थिएँ–ती केटाकेटी वास्तवमा आमा बाबुको सान्निध्य र वात्सल्यप्रेमको भोका रहेछन् । दुबैजना जागिरे बाबाुआमाका ती तीन–चार वर्षका अबोध शिशुहरू हप्ताको पाँच दिन केटाकेटीको हेरचाह गर्ने व्यवसायिक संस्था दिवा शिशु केन्द्र (डे केयर सेण्टर )को जिम्ममा छाडिंदा रहेछन् । सम्भवतः केटाकेटीहरू हप्ताको दुई दिन नै भएपनि आमाबाबुसँग बस्न पाउनुपर्छ भनेर होला विदाको दुई दिन भने दिवा शिशु केन्द्रमा राख्न पाइँदैनथ्यो । यही कारणले ती केटाकेटीहरू त्यहाँबाट मुक्त भएपनि बाबुआमासँग भने बस्ने अवसर पाउँदा रहेनछन् । ती दुई दिन फेरि अर्कैको जिम्मा लगाइँदो रहेछ । अघिपछि त अफिस नै भयो,विदाका दिसमेत ती बाबुआमालाई घुमफिर तथा राती अबेरसम्मको पार्टी जीवनबाटै फुर्सद हुँदो रहेन छ । यसरी बाबुआमाको माया र सान्निध्यको भोकमा छटपटाइरहेका ती अबोध शिशुहरूमा नकारात्मक प्रबृत्ति र ढीठ विद्रोही स्वभावको विकास हुँदै गएको रहेछ भन्ने मेरो अनुमान थियो । उनीहरूलाई देखेदेखि लागूपदार्थका दुव्र्यसनी,हुल्याहा गुण्डगर्दी गर्ने युवा अनुहारहरू तिनै केटाकेटीहरूको अनुहारमा अनुवाद भएकोअनुभव गर्ने गर्थें म ! त्यही घटना र तिनै अबोध शिशुहरूको अनुहारबाट लखेटिएर मैले त्यो कथा लेखेको थिएँ ।
पौराणिक युगकी नारीलाई मात्र होइन आजकी नारीलाई पनि भोग्याको दृष्टिले उपभोग्य बस्तु मात्र ठान्ने पुरुष मानसिकता विद्यमान नै छ । कथित सभ्य र सचेत भनिने नारीहरू समेत विज्ञापनमा सजिनु र सभ्यताका नाउँमा आफूलाई सम्पूर्णमा नङ्ग्याउनुलाई नै नारी स्वतन्त्रता र नारी मुक्ति ठान्ने भ्रमित मानसिकताबाट ग्रसित देखिएका छन् । यी दुबै खाले प्रबृत्ति नारी अस्मिता र गौरव तथा नारी समानताको अवधारणसँग मेल खाँदैनन् । यही पौराणिक पृष्ठभूमिमा लेखिएक थिए,युगयुकी जानकी र द्रौपदी नियति शीर्षकका दुई कथा । युगयुगकी जानकी कथाको प्रमुख पात्र रामायणकी सीताको मानसिकता र सानो सानो कुरामा पनि लोग्ने र समाजको तीखो आँखा र प्रश्नको अग्निपरीक्षामा जलिरहनु पर्ने बाबु आमाद्वारा विवाह गरेर पठाइएकी आजकी एउटी स्वास्नीमान्छे अर्थात नारीको स्थिति–मानसिकतामा के भिन्नता छ,मैले फेला पार्न सकेको छैन । यही कुरा मैले यो कथामार्फत उठाएको छु ।
स्वयम्वरको वास्तविक अर्थ अनुसार कन्यालाई बर चयन गर्न दिने अधिकार खोसेर स्वयम्बरको नाउँमा जवर्जस्ती बाबुआमाद्वारा गरिदिइने परम्परागत विवाहको परम्पराले मेरो समाज व्याप्त छ । त्यही नियति भोगेका थिए सीतालगायत रामायणकालीन कन्याहरू, र यही नियति भोगिरहेका छन् आजको एक्काईसौं शताब्दीका आधुनिक कन्याहरू पनि ! मेरै वरिपरिको समाजमा बेलाबखत सुनिने कुनै स्वास्नी मान्छेको बारेमा अर्को कुनै लोग्नेमान्छेसँग गाँसेर हुने हिमचिम र संसर्गका हल्लाले समाजको व्यङ्ग र उपेक्षा सहन नसकी आत्महत्यासम्मको स्थिति भोग्न वाध्य भएका घटनाहरूले मलाई युगयुकी जानकी लेख्न प्रेरित गरेको हो । यस्तै महाभारतकालीन बहुपति प्रथाको अवशेष हाम्रै समाजका कुनै पक्षमा अझै पाइनुको यथार्थले त्यो बेलादेखि आजसम्मको नारी अनुभूति र अवस्थाम पूर्ण परिवर्तन नआएको स्पष्ट हुन्छ । बहुपति प्रथाको वाध्यतामा परेर तीन–चारजना लोग्नेकी एउटै साझा स्वास्नी वा मनाङ–मुस्ताङ जहाँकी भए पनि एउटी स्वस्नी मान्छेको मानसिकता त्यस्तै वाध्यता भोगेकी महाभारती द्रौपदीको मानसिकता र नियतिभन्दा कति भिन्न हुन सक्ला र ! धेरै समयसम्म मनमा उठिरहेका यस्तै प्रश्नका काँडाबाट घोचिएर मैले यी दुई कथा लेखेको थिएँ । त्यसैले यी कथाहरू पनि मरो समाजका यथार्थ हुन् । यी दुबै कथा मेरा पाठकले निकै मन पराएका कथाहरूमध्ये पर्दछन् । यस्ता कथा मैले अरू पनि लेखेको छु,तिनका आ–आफ्नै जन्मकथा लेख्न सकिन्छ । जुन यो संक्षिप्त संस्मराणत्मक आलेखमा संभव छैन ।
यी मात्र होइनन् मेरा प्राय कथाहरू चरित्र,घटना र परिवेशजन्य अनुभूतिबाट प्रेरित भएर नै लेखिएका छन् । सुदूर पश्चिमकी पारुको कथा होस् वा फेरी लाउने जोगी र सारङ्गी रेट्ने काले गाइने होस् ती सबै मेरो समाजका जीवन्त पात्र हुन्,जसले समाजप्रति औला ठड्याइरहेका छन् । केही नबुझ्ने कार्यालयको पाले हर्के होस् कि आफ्नो दुखः–पीडालाई कथित ठूलाबडाको बैठक कोठासम्म पहुँच भएको भ्रममा आफैंलाई भुलाउन खोज्ने अतीतका व्यथाहरूको एउटा बृद्ध चरित्र होस्,ती सबै नै मैले साक्षात्कार गरेका पात्रहरूको अनुभूतिजन्य कथाबस्तु हुन् । तसर्थ मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन्,मेरो अर्थात मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्राय सबै कथा समाजबाटै टिपिएका पात्र,घटना र परिवेशबाट प्रेरित रहेका छन्,ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव,चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ र समाजका हर कुराले मलाई प्रभावित गर्नु पनि स्वाभाविक हो ।
म साहित्य साहित्यको लागि हो भन्ने स्वान्तसुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिन । हो,कथा होस् वा साहित्यका अन्य विधा,लेखनबाट मलाई आनन्दबोध हुन्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्,प्रतिष्ठा होस् भन्ने भित्री चाहना हुनु अस्वभाविक पनि होइन । यो जोसुकै मानिसमा हुन्छ र ममा पनि निश्चय नै छ । यस अर्थमा लेखन स्वान्तसुखाय वा आफ्नै आनन्दका लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला,तर त्यो अप्रकाशित रहुञ्जेलको अवस्थासम्म मात्र हो । जब त्यो प्रकाशित हुन्छ,व्यक्तिगत सोख,सुखानुभूति र लहडको मात्र विषय हुन सक्तैन । त्यो पाठक र समाजप्रति समर्पित हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय भनेर जिम्मेवारी विहीन हुन पाउँदैन । जब त्यो समाजको लागि समर्र्पित हुन्छ,पाठकको लागि हुन्छ,स्वभाविक रूपमैं त्यो जिम्मेवार हुनु आवश्यक पर्छ । यसर्थ मेरो स्पष्ट धारणा छ–मेरो कथा मरै कथा हो,म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा,ती समाजनिरपेक्ष हुनसक्दैनन् । त्यसैले यो म अर्थात जीवनको लागि हुनुपर्छ,म बाँचेको समाज,राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविश्यको चाहनाबाट प्रेरित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो,यसमा अरूको सहमति रहनै पर्छ भन्ने मेरो आग्रह होइन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । कथा अर्थात साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुनसक्तैन । मानवीय सम्वेग–आवेग,आर्थिक–सामाजिक,सा्रस्कृतिक आदि विविध विसङ्गतिबाट जन्मने सम्वेदना र सहअनुभूतिको सहजसम्बेद्य अभिव्यक्ति मेरो धारणामा कथा हो । यसर्थ यसमा कथात्मक,कलात्मक र अनुभूतिजन्य सामान्यीकरणको पूर्वशर्त त रहन्छ नै । तसर्थ जीवनको कुनै विशेष कालखण्डमा मानवीय आवेग–संवेग,आफू बाँचेको परिवेश र आर्थिक–सामाजिक विसङ्गति तथा उत्पीडनबाट जन्मिने अनुभूतिको सहजसम्बेद्य कलापूर्ण प्रकटीरण नै मेरो धारणामा कथा हो । त्यसैले कथा मेरा लागि हुनुपर्छ । र, म भनेको जीवन हो;म बाँँचेको समाजको यथार्थ हो । यसर्थ मेरो कथा पनि म अर्थात मानिस कै लागि हुनुपर्छ । सम्पूर्ण बहुसंख्यक र समाजका उत्पीडित हाम्रो अन्तस्चेतना र आत्मबोधको उद्बोधनका साथै प्रतिकारमा दृढ रहनसक्ने आत्मबलको निर्माण मेरो कथाको उद्देश्य हो ।
कुनै पनि विशेष घटना वा विचारले ले मेरो मनमा तीब्र प्रभाव पारेर त्यसले मलाई उद्वेलित तुल्याएपछि मेरो मनबाट त्यो विषय वा घटना लामैसमयसम्म मेटिन सक्दैन । कहिले त्यसलाई तुरुन्तै कथाको रुप दिइहाल्छु,कहिले लामो समयसम्म त्यसै रहन्छ । त्यो घटना वा विषय मनमा धेरै मन्थन भएपछि त्यसलाई लेखनमा उतार्ने गर्छु म । पत्रकारिताको पेशा र लेखनमा तत्काल गनुपर्ने कामहरूले प्राय सिर्जनात्मक लेखनमा व्यवधान पु¥याइरहेका हुन्छन् । पत्रकारिताका लेखन र कार्यपत्र,तालिम आदिको लेखन सक्र्रियतामा पाइने राम्रो पारिश्रमिकको आकर्षण र जीवनयापन तथा परिवार पालनका लागि त्यसको अपरिहार्यताले यी कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने मेरो वाध्यता पनि हो । सिर्जनात्मक साहित्य लेखनमा संस्थागत केही प्रकाशन बाहेक पारिश्रमिक दिने पत्रपत्रिका नै पाइँदैनन् । संस्थागत प्रकाशन मैं पनि साहित्यलाई भन्दा अन्य लेखनलाई बढी पारिश्रमिक दिइन्छ । संस्थागत बाहेकका अन्य प्रकाशनमा पारिश्रमिक दिने शर्तमा मागिए पनि पछि त्यो बाचालाई सम्झनुपर्ने कुनै आवश्यकता अनुभव गरिंदैन । पत्रिका प्रकाशनमा अहिलेसम्म निशुल्क उपलब्ध हुने निरिह जीव लेखक मात्र हो,उसमाथि शोषण गर्ने अधिकार प्रत्येक सम्पादकको हो भन्ने मान्यता अझै मेटिएको छैन । सामान्य सङ्केत (टोकन) को रुपमा भएपनि पारिश्रमिक दिने अभ्यास सुरु हुनु पर्ने हो,त्यो अझै भएको छैन । २०३९साालदेखि २०४६सालसम्म साङग्रिला त्रैमासिक चलाउँदा हामी अर्थात तेजप्रकाश श्रेष्ठ,अमरकुमार प्रधान र मैले पच्चीस रूपियाँ मात्रै भए पनि अनुरोधमा प्राप्त रचनालाई ससम्मान पारिश्रमिक प्रदान गर्ने गरेका थियौं । त्यसको सह्राहना पनि भएको हो ।
यरी सिर्जनात्मक लेखन दोश्रो प्राथमिकतामा परिदिंदा मनमा त्यसरी कैयौं दिनदेखि परिपाक भएका पतिपय कथाबस्तुहरू समयक्रममा बिर्सिइएर मूर्तता पाउन नसकी बिस्मृतिका गर्भमैं लोप हुन पुगेका पनि छन् । कतिपय समयमा सुरुमा एकप्रकारले सोचिइएका कथानकले धेरै समयपछि लेखनको रूप लिंदा अर्कै स्वरू र पुनर्र्सरचित पनि भएका छन् । ती घटनाहरू लेखनमा आउँन माग र आग्रहको दवावले पनि भूमिका खेल्ने गरेको छ । दिइएका कथाहरू नछापिई फिर्ता भएका छैनन,दिंदा छापिन्छ पनि । तर आग्रह बेगर रचना नपठाउने मेरो कमजोरी (घमण्ड नठानियोस्,त्यो चाहि होइन)का कारणले पनि प्राय आग्रह–अनुरोध आएपछि मात्रै लेख्ने अल्छी बानीले ममा प्रोत्साहन पउँदै गएको छ । यसर्थ मैले धेरै संख्यामा कथा लेख्न सकेको छैन । यसरी मनमा गुम्सिएका कतिपय विषय र कथाबस्तु पछि बिर्सिइएर लेखनप्रक्रियाको चरणमानै नपुगी हराएका पनि छन् । कहिलेकाहीं मनमा ताजा विषयबस्तु नरहेको बेलामा अनुरोध आउँदा सोचाइका क्रममा तिनै पुराना विषय र कथाबस्तु स्म्ृतिपटमा पुनः सदृश्य स्मरण भएर लेखिएका पनि छन् । कथा र अन्य रचनाका लागि अनुरोध आएपछि भने मैले प्राय बेवास्ता गरेको छैन,व्यक्तिस्तुितका संस्मरणहरूको यस्तो अनुरोधलाई भने मैले पूरा गर्न सकेको छैन ।
यसरी म कमै लेख्नेमा पर्छु । माथि भनेजस्तै बाँच्ने पेशा पत्रकारिता र अध्यापन भएकोले अखबारी लेखन,ती विषयका कार्यपत्रहरू,तालिम–प्रशिक्षणहरूका अतिरिक्त अन्य कामहरूले सिर्जना गरेका व्यवधानका अतिरिक्त नमागी दिन सङ्कोच मान्ने मेरा कमजोरी आदि नै मूलतः कम लेखिनुका कारण बन्ने गरेका छन् । अरूका दृष्टिमा यो मेरा बानी नराम्रो र कमजोरी ठहरिन सक्छ,तर यसलाई मैले अझै छाड्न सकेको छैन र अब आएर छाड्न सक्दिन पनि ! यही बानीका कारण मैले अझैसम्म गोरखापत्र संस्थानका प्रकाशन बाहेक अन्य पत्रिकामा नमागी आजसम्म कुनै रचना दिएको छैन,न त कुनै पैतियोगितामा सहभागी बनेको छु । पुरस्कार,मानसम्मान र कदरपत्रका लागि आत्मनिवेदन र व्यक्तिगत विवरण पेश गर्दै हिंड्न पनि मेरो यही सङ्कोची स्वभाव र आत्मसमानले छेक्ने गरेको छ । कुनै बेला आफू सल्लाहकार सम्पादक रहेको गरिमामा समेत अनुरोधमा बाहेक मैले कुनै रचना दिएको छैन ।
आफ्नो मूल्याङ्कन आफैंले गराउने,आफूलाई विज्ञापित गराएर चर्चित बनाउने तथा आफ्ना लेखहरूमा आफ्नै चर्चा आपैmंले गरेर आत्ममूल्याङ्कित हुने चाहना न कहिले भयो,न कुनै गुट–उपगुट र समूह बनाएर आपसमा एकअर्काको अहोरूप अहो ध्वनिको मन्त्रपाठ गर्ने तर्फ नै ध्यान गयो । यसो भन्दा विश्वास नलाग्न सक्छ,तर मेरा लागि यो वास्तविकता हो । त्यसैले अचर्चित र अमूल्याङ्कितमध्येमा मैले आफूलाई पाएर पनि कुनै पश्चाताप अनुभव भएको छैन । राजकीय प्रज्ञाप्रतिष्ठानको समकालीन साहित्यमा म एक पल्ट मात्रै छापिएको छु जस्तो लाग्छ । अविनाशजीको मौखिक आग्रह (लिखित होइन,त्यस्तो आग्रह मैले आजसम्म पाएको छैन र मैले आफूलाई त्यसको योग्य ठानेको पनि छैन !) समेत मैले आजसम्म पूरा गर्न सकेको छैन । यस्तै मौखिक आग्रह कृष्णचन्द्र दाइ त्यसको प्रधान संपादक रहनुहँुदा पनि उहाँबाट पाएको थिएँ । दिन्छु भन्दाभन्दै उहाँको समय सिद्धियो र पछि फेरि दिने कुरा भएन । प्रज्ञाप्रतिष्ठान मजस्ता व्यक्तिगत सम्बन्ध नराख्ने फुच्चे लेखकका लागि एउटा छुट्टै टापुको रूपमा रहेकोले पनि यस्तो भएको हुनु पर्छ । यिनै कारणले म कथित केही स्थापित र अन्य धेरै पत्रपत्रिकामा छापिएको छैन । यस्तैमध्ये पथ्र्यो–अभिव्यक्ति त्रैमासिक ! त्यसमा मेरो एउटै पनि रचना छापिएको थिएन । अभिव्यक्तिबाट नमागिने,नमागी दिन म सङ्कोच मान्ने । रचनामा समेत रोचक दाइले एकपटक भन्नुभएर दिए बाहेक मैले दिएको छैन,छापिने त कुरै भएन । तर यस्तैमा गएको वर्ष अभिव्यक्तिका सम्पादक नगेन्द्र दाइको अप्रत्याशित फोन आयो–अभिव्यक्तिमा तपाइँको आजसम्म एउटा पनि कथा छापिएको रहेनछ,त्यसैले एउटा कथा दिनोस् न ! उहाँको त्यो अनुरोधको सम्मान नगर्ने कुरै थिएन । दिएँ,छापियो । तर उहाँले अभिव्यक्ति मैं लिखित घोषणा गर्नुभएको“मागिएका रचनालाई पारिश्रमिक दिने”प्रतिबद्धता पूरा हुने क्षणको भने अझै प्रतीक्षामा छु । पारिश्रमिकभन्दा ठूलो हार्दिकता हो,पारिश्रमिकको मोहबाट मात्र लेखिंदैन,दिइँदैन । तसर्थ पारिश्रकिम मोहका कारण मैले यसो भनेको पनि होइन । लिखित प्रतिबद्धताको कुरा मात्र उठाएको हुँ मैले !
मेरो तीन दशकको लेखन यात्रामामा मैले लगभग सयवटा जति कथा मात्र लेखेंहुँला र तीमध्ये अठ्तीसवटा कथाहरू मात्र तीनवटा सङ्ग्रहमा सङ्कलित रहेका छन् । अरू फुटकर रूपमैं प्रकाशित छन् । तीमध्ये केही समसामयिक साझाकथा(साझा प्रकाशन),नेपाली कथाका समसामयिक सन्दर्भ(नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान),कथायन र मधुपर्कलगायतका केही साहित्यिक पत्रिका कथा विशेषङ्कहरूमा प्रकाशित रहेका छन् । सङ्ग्रह प्रकाशित गर्ने इच्छा भएर पनि पहुँच र गूटीय प्रभावको अभावमा प्रकाशन–प्रतिष्ठानहरूको ढोका ढक्ढक्याउन नसकेको कारण संभव हुन सकको छैन र यस्तो योग्यता बढाउन पनि मैले सकेको छैन ।
जे होस् आफ्नो कथायात्राको विगत तीन दशकीय आरोह–अवरोहमा जे जति लेखेको छु,निश्चय नै सबैबाट म आफैं पनि सन्तुष्ट छैन । आफ्ना प्रारम्भिक केही कथाहरू हेर्दा मलाई अहिले आफैंलाई छाप्न हतार्रिएछु भन्ने पनि लाग्छ । केही कथालाई पाठकहरूले मन पराएर पत्रद्वारा सह्राइएको छु,केही पत्रिकाका पाठक प्रतिक्रिया मार्फत मेरा पाठकले प्रशंसा गरेका छन् । यसरी पाठकद्वारा मन पराइएका कथाहरूमा प्रयोग–प्रत्यारोपण,एउटा आत्मस्वीकृति मृत्युको शैय्याबाट,प्रश्न अझै अनुत्तरित छ, मृत्यु–सन्त्रास,देवकन्या,अखबारका पानामा टाँसिएका अनुहार,म अनवरत पिटर खोजिरहेछु, जन्म दिन, युगयुगकी जानकी, रगतको फूल, हर्के केही बुझ्दैन,द्रौपदी नियति,जोगी मामा,सम्पूर्ण क्रान्ति,गर्भ,मेनका,सिर्जना,विज्ञानको कैदी,भग्न आस्थाको खण्डहर आदि हुन्,जसको बारेमा मैले पाठकहरूबाट निकै उत्साहप्रद प्रतिक्रियाहरू प्राप्त गरेको छु ।
जहाँसम्म आफूलाई चित्त बुझ्नु–नबुझ्नु अर्थात मन पर्नु र नपर्नुको प्रश्न छ,सम्पूर्णमा सन्तुष्ट हुने त कुरै भएन । यसो भयो भने त अरू लेख्नै परेन । त्यसैले म आफ्ना कथाहरूबाट पूर्ण सन्तुष्ट छैन र राम्रा कथाहरू लेख्ने चाहना छँदै छ । अघि नै भनें,आफ्ना केही प्रारम्भिक कथाहरू छाप्न हतार गरेछु भन्ने आज मलाई अनुभव भइरहेको छ र मेरो यो स्वीकारोक्ति स्वयम्मा आफूलाई मन चित्त नबुझेको अभिव्यक्ति पनि हो । त्यसको अर्थ मेरा पछि लेखिएका सबै कथाहरू राम्रा छन्,चित्त बुझ्छन् भन्ने होइन । मलाई मन पर्ने आफनै कथाका नाउँ लिनु पर्दा द्रौपदी नियति,युगयुगकी जानकी,जोगी मामा,पारू,एउटा निर्दोष प्रश्न,भग्न आस्थाको खण्डहर,प्रयोग–प्रत्यारोपण,एउटा आत्मस्वीकृति मृत्युको शैय्याबाट,म अनवरत पिटर खोजिरहन्छु,जन्म दिन,अखबारका पन्नामा टाँसिएका अनुहार,देवकन्या आदिको सम्झना हुने गर्छ । समग्र समालोचकीय मूल्याङ्कनकालागि योग्य नभइसकेकोले होला मेरो कमै मात्र समालोचना भएको जस्तो लाग्छ । समालोचना गराइन आवश्यक कसरत मबाट हुन नसकेको कारण पनि यस्तो भएको हुनसक्छ । मेरा पुस्तकको कृति समीक्षा गरिदिनुहुने महानुभावहरूका अतिरिक्त घटराज भट्टराई,गोपीन्द्र पौडेल,डा.ऋषिराज बराल,भुवन अकिञ्चन,इस्माली,किसन थापा अधिर,गणेशबहादुर प्रसाइँ,रामप्रसाद दाहाल,जयदेव भट्टराई प्रभृत्ति समालोचक–साहित्यकारहरूबाट मेरा कथालेखनका बारेमा चर्चाहरू भएका छन् भने रमेश विकल,मोहनराज शर्मा,दयाराम श्रेष्ठ संभव,राजेन्द्र सुवेदी,कृष्णप्रसाद पराजुली,महेश प्रसाइँ,रमेश गोर्खाली,डा.रामदयाल राकेश,कृष्ण गौतम,पुरूषोत्तम सुवेदी,जस्ता लेखक–समालोचकहरूले मेरो कथालेखनका सम्बनधमा अलि समग्रतामा लेख्नु भएको छ । वास्तविक मूल्याङ्कन पाठकहरूबाटै हुनेछ र समयले गर्छ भन्ने कुरामा मेरो विश्वास रहँदै आएको छ ।
मैले समाजका विविध पक्षलाई कथाको विषय बनाएको छु । आर्थिक,सामाजिक र राजनीतिक विसङ्गतिमात्र होइन,नारी समस्या र समानतामा पनि मेरा कथा लेखिएका छन् । यसै क्रममा मैले सांस्कृतिक पृष्ठभूमिका कथाहरू पनि लेखेको छु र यस्ता कथालाई मेरा पाठकले अझ बढी मन पराउनुभएको पाएको छु । त्यसैले यता आएर मलाई सांस्कृतिक पृष्ठभूमिका कथाहरू लेख्नमा रुचि बढ्न गएको छ । त्यस्ता केही कथाबस्तु मेरा मानसमा मथिइरहेका पनि छन् । सायद पछि लेखिने मेरा कथाहरू सांस्कृतिक पृष्ठभूमिका पनि हुनेछन् ।

जेठ१,२०५९


गौरव गुमाउँदै छ गुरू गोरखापत्र

कुनै बेला गोरखापत्रको आकर्षणले मलाई सम्मोहित बनाउाथ्यो । सानैदेखि लेख्ने बानी परेको म आफ्ना लेख र साहित्यिक रचनाहरू लिएर कहिलेकाहीँ त्यो सम्मोहक गोरखापत्रको सं्रपादकीय कक्षमा पुग्ने गर्थें । बाहिरैबाट देखिने लामो कौसीयुक्त दुईतले गोरखापत्रको संपादकीइ कक्षमा उत्तिकै भव्य व्यक्तित्वहरू कार्यरत रहन्थे । त्यहाँ सुरुसुरुमा मेरा परिचित दुईजना हुनुहुन्थ्यो– भैरव दाइ (स्वर्गीय भैरव अर्याल) र वलराम दाइ (स्वर्गीय वलराम श्रमजीवी) । प्रसिद्ध निबन्धकार श्यामप्रसादले आफ्नो एक घण्टा विताउन शीर्षक निबन्धमा घडीको सुईको गतिमा चल्ने साथीको संज्ञा दिनुभएका वलराम श्राजीवी साँच्चिकै घडिको सुइको भरमा चल्ने अर्थात समयको महत्व बुझेका मानिस हुनुहुन्थ्यो र नेपाली भाषा साहित्यमा अत्यन्त राम्रो दखल भएको व्यक्ति ! सुप्रसिद्ध निबन्धकार भैरवदाइ कुसल सम्पादक मात्र नभएर सिकारु लेखक–साहित्यकारहरूका लागि प्रेरणापुञ्ज नै हुनुहन्थ्यो । उहाँहरूले नै चिनाइदिनुभएका श्रद्धेय व्यक्तित्वहरू दाताराम शर्मा, ऋषभदेव शास्त्री, नारायणबहादुर सिंह, केशवराज पिँडाली आदि नामबाट भने अगाडि नै परिचित हुनुहुन्थ्यो । ती सबै नाम मेरालागि श्रद्धास्पद थिए र तिनै नामहरू मेरालागि गोरखापत्रलाई श्रद्धा र मोहनीयुक्त बनाउन पर्याप्त थिए । तीमध्ये पछि नारायणबहादुर सिंहसँग निकै समय साहित्यिक पत्रकारिताको व्यवहारिक ज्ञान पाएको थिएँ– उहाँको सहयोगीका रुपमा लेखरचना सम्पानद गर्दा । त्यो ठाउँ त्यस्तो थियो जहाँ भाषा, संस्कृति, साहित्य, ज्ञानविज्ञान, पत्रकारिता र अन्यक्षेत्रका मुलुकै शिखरपुरूषहरूको आवागमन हुन्थ्यो । आगन्तुकहरूको उपस्थितिमा मात्रै होइन सहकर्मीहरू कै बीच पनि भाषा, साहित्य, कला–संस्कृति र पत्रकारिताका विविध पक्षमा गंभीर कुराकानीहरू हुन्थे, चिन्तनमनम हुन्थ्यो । यसरी गोरखापत्र साँच्चै नै एउटा बौद्धिक थलोको रूपमा आफूलाई उभ्याइरहन्थ्यो, जुन अहिले एकादेहको कथा बनेको छ । कहिलेकाहीँ जाने मजस्ता फुच्चेहरू त्यो वातावरण देखेर अभिभूत हुनु स्वाभाविक थियो, आकर्षित हुनु स्वभाविक थियो । त्यसमाथि गोरखापत्र आफैं गुरू थियो, मेरो र मजस्ता स्कुल कलेज पढ्ने हज्जारौं सिकारु लेखक र विद्यार्थीहरूका लागि । निबन्ध कसरी लेख्ने, गोरखापत्र हेरेर सिक– गुरूहरू भन्ने गर्थे । वर्णविन्यास गोरखापत्र हेरेर सिक, गुरूहरू यसै भन्थे । गोरखापत्र नै हाम्रालागि शब्दकोष थियो, व्याकरण थियो, र थियो सर्वोपरी गुरू ! त्यसैले लाग्थ्यो, यस्तो ठाउँमा यस्ता विद्वान्हरूको सान्निध्यमा काम गर्न पाए....!
संयोगबस कालान्तरमा म आफू पनि संबद्धहुन पुगे, यही गुरू गोरखापत्रको एउटा सामान्य कर्मी भएर । गोरखापत्रमा तीन पत्रको लिखित र अर्को मौखिक परीक्षा दिएर आउँदा त्यही समयमा लोक सेवाको लिखित परीक्षा उत्तीर्ण गरेर पनि गोरखापत्रको आकर्षणले सम्मोहित मैले लोकसेवाको अन्तर्वालाईभन्दा यसको परीक्षालाई बढी महत्व दिएको थिएँ । हुनसक्छ त्यसैले लोकसेवाको अन्तवार्तामा नाम ननिस्किएको दुःखभन्दा गोरखापत्रमा पं्रवेश पाएकोमा मलाई बढी खुसी लागेको थियो त्यति बेला । आज लगभग पच्चिस वर्षको आफ्नो जीवन यसैको सान्निध्यमा विताइ सकेको छु र यो क्रममा यसभित्र देखेका नकारात्मक वातावरण र गुमाउँदै गएको भूमिका देखेर दुःख पनि लाग्ने गर्छ !
त्यसरी दुःख लाग्नुको कारण हो– अहिले ती आफूले देखेका प्रारम्भिक आकर्षण र बौद्धिक वातावरणको कुनै नामोनिशाना नरनु । न आफूलाई भाषा, साहित्य र संस्कृतिको विशुद्ध उपासक नै बनाइरहन सक्यो यसले, न त्यो बौद्धिक वातावरण जोगाउन नै सक्यो यसले ! प्रकाशनको प्रारम्भदेखि २००७ सालसम्मै नेपाली अखबारी पत्रकारिताको एकच्छत्र नेतृत्व गरेको गोरखापत्रको त्यो प्रभाव र नेतृत्व प्रविध, आकार, प्रसारसंख्या तथा पहुँच क्षेत्रका दृष्टिले निजी क्षेत्रका ठूला आकारका दैनिक अखबारहरू नआउञ्जेल अर्थात विक्रम सम्वत् २०४८सम्म धेरथोर कायम रह्यो । २०३२–३३ सालतिर त्रिभुवन विश्वविद्यालयले औपचारिक कक्षा सञ्चालन नगरुञ्जेल पत्रकारिताको विश्वविद्यालयको समेत भूमिका निर्वाह गरेको गोरखापत्र २०४६को जनआन्दोेलनले ल्याएको खुला वातावरणबाट ठूला आकारका दैनिक अखबार प्रकाशनमा नआउञ्जेलसम्मै पत्रकारिता शिक्षाको एकमात्र प्रयोगको कर्मथलो पनि रह्यो । यसैबाट दीक्षित–प्रशिक्षित पत्रकारहरू नै सुरुमा ती प्रकाशनहरूका भरपर्दा जनशक्ति बने । रामराज पौडेलले प्रारम्भ गर्नुभएको पत्रकारिता पाठ्यसामग्री लेखनको राष्ट्रिय दात्वि पूरा गर्ने काममा यसैसँग सम्बद्ध व्यक्तित्वहरूको योगदान रह्यो, केही मात्रामा रहँदैछ । कुनैबेला यसकै संपादकीय–व्यवस्थापकीय नेतृत्वमा रहेका व्यक्तित्वहरू आमसञ्चार–पत्रकारितासम्बद्ध विभिन्न प्रतिष्ठान, संघसंस्थाका सफल सञ्चालक रहे । पत्रकारिता र आमसञ्चार शिक्षा, तालिम, पाठ्यसामग्री लेखन सबै क्षेत्रमा विगतदेखि वर्तमानसम्मै यससँग संलग्न प्रतिभाहरूकै बर्चस्व रह्यो । त्यो कालखण्डमा गोरखापत्र मात्र प्रकाशनगृहको रुपमा रहेन, पत्रकारिता क्षेत्रमा जनशक्ति आपूर्तिको प्रमुख केन्द्र रहँदै आयो, अध्ययन, अनुसन्धान र पत्रकारितासम्बन्धी प्राज्ञिक अभ्यासको थलो पनि बन्दै आयो । राष्ट्रिय भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनका साथै पत्रकारिताको संस्थागत विकास र यसको शिक्षा तथा प्राज्ञिक विकासमा यसको योगदान जति नै मेटाउन खोजे पनि सम्भव छैन । यसको उचित मूल्याङ्कन विना नेपाली पत्रकारिताको इतिहास पूर्ण हुनसक्दैन, यो सत्य लुकाउन खोजेर पनि सकिँदैन सायद् ।
त्यतिञ्जेल विनाप्रतिस्पद्र्धा एक्दो दौड दौडिरहेको गोरखापत्र हर कोणमा अगाडि हुनु अस्वाभाविक पनि थिएन । निजी क्षेत्रमा आधुनिक प्रविधि र ठूलो पुँजी लिएर व्यवसायिकता र स्वतन्त्र प्रेसका नाउँमा आएका प्रकाशनहरूसँग प्रतिस्पर्धामा जान यससँग आवश्यक पूर्वाधार र दक्ष जनशक्ति पर्याप्त नभएको होइन, यसलाई पुरानै शासकीय कालखण्डको मानसिकतामा चलाउने सरकारी स्तरमा रहेको अभ्यासको निरन्तरताले भने यसको व्यवस्थापकीय र संपादकीय नेतृत्व क्षमतालाई कमजोर पार्दैगयो । हर कुरामा विद्यमान् सरकारी नियन्त्रण र निर्देशनबाट कुनै उन्मुक्ति नै नदिई गोरखापत्रलाई निजी क्षेत्रको प्रेससँग समाचार–विचार प्रक्षेपणदेखि व्यवस्थापकी कुसलतासम्मका सबै क्षेत्रमा खुला प्रतिस्पद्र्धा गर्नुपर्ने वाध्यताको सिर्जना गरियो । सरकारी विज्ञापन समेतमा यसको पहुँच घट्यो । सरकारले न यसलाई स्वतन्त्रता वा स्वयत्तता दिनुपर्ने आवश्यकता देख्यो, न आवश्यक आर्थिक संरक्षण । गोरखापत्रको एकमात्र जिम्मेवारी रह्यो सरकारका कुराहरू एकोहोरो रुपमा प्रक्षेपण गर्ने, सरकारले पठाएका योग्य–अयोग्य जे जस्ता भए पनि सडकबाट टिपिएका कथित व्यवस्थापक पत्रकारहरूलाई मालिक ठानेर उनीहरूकै गलतसलत सबै कुरा र व्यवहार सहेर बाँँचनु पर्ने । यसरी पेशागत सीप, दक्षता र क्षमतालाईभन्दा सत्ता निकट शक्तिकेन्द्रको निकटतालाई नेतृत्व चयनको आधार बनाइने र नीतिलाई नभएर व्यक्तिगत लहड र तदर्थवादलाई नै संस्था र प्रकाशन सञ्चालनको आधार बनाउने आजसम्मैको गलत अभ्यासले यसको क्षमतामा ह्रास आउनु स्वाभाविक थियो । क्षमताहीन बारिया पार्टी पत्रकार र जीहजुरीवाला कनिष्ठहरूलाई संपादकीय–व्यवस्थापकीय नेतृत्व सुम्पने प्रवृत्तिले बीसौं वर्ष यसैमा पसिना बगाएका बरिष्ठ पत्रकार–कर्मचारीहरूको मनोबल गिर्दै जानु अस्वाभाविक थिएन, जसको प्रभाव यसको प्रकाशनमा पनि क्रमशः पर्दै गयो । यी सबै प्रवृत्ति र सडकबाट टिपेर ल्याइएका कथित नेतृत्वको प्रयास प्रकाशन र संस्थानको उन्नति र विकास तर्फभन्दा आफूलाई नियुक्ति गर्ने मालिक रिझाउने र भोलि यसबाट हट्नुपर्दा पनि पर्याप्त आर्थिक र अन्य लाभ नगुमोस् भनेर शक्तिकेन्द्रका प्रभावशाली मानिसको गुणगान र चाकरीमा नाङ्गो तरिकाले प्रकाशनलाई उपयोग गर्ने तर्फमात्रै केन्द्रित रहनु स्वाभाविक थियो । अहिलेसम्मै जारी यो प्रवृत्तिका कारण यस्ता नेतृत्व संपादकीय स्तरवृद्धि र सामुहिक नेतृत्वको कार्यशैलीलाई भन्दा एकल निर्ण लाद्ने र प्रकाशनलाई आफ्नो निजी हित र स्वार्थमा प्रयोग गर्ने तर्फ क्रियाशील रहन थाले । उनीहरूको प्रयत्न प्रकाशनको स्तरवृद्धि तर्फभन्दा शक्तिकेन्द्र रिझाएर बढीभन्दा बढी समय पदमा टिक्नुमैं केन्द्रित रहँदै गयो । परिणामस्वरूप यसले आफ्नो ऐतिहासिक भूमिका र गौरव क्रमशः गुमाउँदै गयो, संस्थान र यसका सयौ कर्मचारीको भविश्यमाथि खेलबाड हुँने क्रम निरन्तर जारी रह्यो ।
राजनीतिक नेतृत्वमा मात्र होइन, व्यवस्थापकीय र संपादकीय नेतृत्वमा समेत इमान्दारी, आफ्ना सहयोगी–सहकर्मीलाई सँगै लिएर जाने गुण, सबैको कुरा सुनेर सही निर्णय दिनसक्ने क्षमता र एकल निर्णय लाद्नुको सट्टा सामुहिक छलफल र निर्णयबाट अघि बढ्ने कार्यशैलीको आवश्यकता पर्छ । तर दुर्भाग्य गोरखापत्रको संपादकीय नेतृत्वमा दुईचार विशेष शब्दाली घोकेको भरमा विश्लेषण र विचाररहित एकपक्षीय गालीगलोजलाई नै महानतम लेखन र पत्रकारिताको प्रमाणपत्र ठान्ने कुपमण्डुकहरूले नै यसलाई आफ्नो कमोत ठान्ने अभ्यास गर्ने छुट पाए, पाइरहेका छन् । सत्तासीनहरूले पनि यस्तै कुपमण्डुक तिहुनचखुवाहरूलाई नै महान् र सक्षम ठान्ने र जिन्दगी यसकै सेवामा अर्पित गर्ने स्वाभिमान र सक्षम पत्रकार–कर्मचारीहरूलाई सधैं अपमानित गर्ने काम गरि रहे । यस्तो शासकीय प्रवृत्तिले पत्रकार–कर्मचारी सबैको मनोबल समाप्त पा¥यो, कामबाटभन्दा शक्तिकेन्द्र चहारेर पद, प्रतिष्ठा र पदोन्नति लिने प्रवृत्तिले प्रश्रय पाउँदै गयो । यसरी टिपेर ल्याइएकाहरूबाट आफ्ना सहकर्मीहरूसँग सँगै बसेर प्रकाशनलाई आफ्नो सीमाभित्रै रहेर पनि कसरी अरुसँग प्रतिस्पद्र्धी बनाउन सकिन्छ, पठनीय बनाउन सकिन्छ, सुरुचिपूर्ण बनाउनसकिन्छ भन्ने विषयमा छलफ गर्ने, चिन्तन गर्ने र बौद्धिक अभ्यासको वातावरण बनाउने काम कहिल्यै भएन । यस हिसाबले वर्तमान कालखण्ड त सबैभन्दा कमजोर रह्यो । उनीहरूको एकमात्र अभीष्ट गुटउपगुट सिर्जना गराएर पर्दाभित्रबाट नेतृत्व गर्ने, अनुभव, क्षमता, पद, योगदान सबैमा कनिष्ठतम केहीलाई गोटी बनाएर बरिष्ठहरूको मानमर्दन गर्ने खालको शकुनी पासा फ्याँक्नुमैं सीमित रह्यो । जसले गर्दा प्रकाशनको स्तरवृद्धि गर्नेतर्फभन्दा यसलाई स्तरहीन र कमजोर बनाउने तर्फ नै बढी योगदान पुग्यो ।
यी सबै कारणले आज गोरखापत्रलाई आफ्नो जीवनको सबैभन्दा कठोर र संकटपूर्ण समया धकेलेका छन् । अझै पनि यी विकृतिहरूबाट मुक्त नतुल्याइने हो भने सय वर्षभन्दा लामो गोरखापत्रको गौरवपूर्ण इतिहास मात्र इतिहासको पन्नामा सीमित हुनपुग्ने आशङ्का बढ्दैछ । यस संभाव्य खतराबाट बचाउन अव कि सबै दायित्व सरकारले लिएर मुखपत्रकै रुपमा चलाउने आँट गर्नु प¥यो, कि व्यवस्थापकीय र संपादकीय स्वायत्तता दिएर खुला प्रतिस्पद्र्धामा लाग्न सक्ने वातावरण बनाइदिनु प¥यो । बेलायती नमुनाको बीबीसीजस्तै सरकारी सञ्चारमाध्यमहरूलाई स्वायत्त बोर्डको रुपमा पनि चलाउन नसकिने होइन । यसको ऐनमा विद्यमान् प्रावधान अनुसार सीमित संख्यामा नै सेयर प्रवाह गरेर सरकार र निजी क्षेत्रको संयुक्त व्यवस्थापनमा चलाउने हो भने पनि आवश्यक नियन्त्रण र सन्तुलनको अवस्था सिर्जना भई यसको अवस्था र प्रभावकारितामा केही सुधार आउन सक्थ्यो । खुट्टा बाँधेर दौडमा भाग लिनुपर्ने अहिलेको अवस्थामा भने यसको स्थायित्वप्रति त्यति विश्वस्त हुन सकिँदैन । व्यवस्थापन र संपादकीय पक्षमा नयाँ योजना र भिजन दिनसक्ने नेतृत्व चयन हुन सकेमा केही सुधारको संभावना नरहेको होइन, तर यसले पनि दीर्घकालीन स्थायित्व दिन भने त्यति संभव देखिँदैन । तर सोच्ने कसले, प्रश्न अनुत्तरित नै छ सायद् !
ड्ड

No comments:

Post a Comment