Monday, August 30, 2010

परम्परा र आधुनिकताका बीच सङ्घर्ष गर्दै छ जापान

यात्रानुभूतिले छाडेका डोबहरूलाई समयको लामो अन्तरालले पनि मेट्दोरहेनछ । झण्डै बाह्रवर्ष अघि जापानी विदेश मन्त्रालय, अन्तर्राष्ट्रिय प्रेस विभागको निमन्त्रणामा गरेको दुईहप्ते यात्राको यस्तै अनुभूतिले मलाई सधैं पच्छ्याइरहन्छ । हामी राणाको एकतन्त्रीय पञ्जाबाट फुत्किएकै समयतिर पश्चिमी संयुक्त सेनाको अमरिकी नियन्त्रणबाट मुक्त भएको जापान अहिले कहाँ छ र हामी कहाँ छौं ? भिन्नताको अनुभूतिले लज्जानत हुनु पर्ने मेरो नियतिको कारण अझै पहिल्याउन नसके पनि आफ्नै आँखाले देख्दाको यो भिन्नताले कताकता पीडाबोध गराएकोे थियो मलाई । यो अन्तर हाम्रो मानसिकता, राष्ट्रप्रतिको इमान्दारी, स्वभाषा–संस्कृतिप्रतिको उदासीनता र यथास्थितिप्रतिको मोहले ल्याएको थियो सायद ! सके यिनै कारण हामी अति हीनताबोधले ग्रसित पनि छौं, र त हामी विदेशमा समेत खुलेआम आफूलाई क्षुद्र र विदेशीलाई महान ठान्छौ । त्यो भ्रमणकै क्रममा जापानी मार्गदर्शकसँगको कुराकानीमा मेरा एक सहयात्रीले देखाएको हिनताबोध र आप्mनै देशप्रति प्रकट गरेका अनास्थाले मलाई यस्तै अनुभव गराएको थियो ।

२०४९ सालको जेठ २६ अर्थात सन् १९९२ को जुन ८ तारिखमा त्रिभुवन विमानस्थल छाडेदेखि नै जापानलाई आफ्नै आँखाले पहिलोपल्ट हेर्ने चाहना पुरा हुन लागेको रोमाञ्चले निथ्रुक्कै भिजेको थिएँ म । कुनै बेला तिनै अमेरिकी–युरोपेलीहरूको सैनिक प्रशासनद्वारा शासित हुनुको पीडा भोगेर पनि अहिले आफूलाई तिनकै हाराहारीमा उभ्याउन सफल जापानलाई आफ्नै आँखाले हेर्न पाउनुको रोमाञ्च अस्वाभाविक थिएन । जापानी विमान सेवाको जेएल– ७१८बाट जुन १० तारिखको विहान त्यहीँको समय अनुसार छ बजेर पाँच मिनेट जाँदा नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थियौं हामी– टोकियोबाट ६० किलोमिटर पर । त्यहाँदेखि नै हाम्रो पथप्रदर्शनका लागि खटिएको मासारु वातानावेको अति नम्र व्यवहार र सहयोगी स्वभावले प्रभावित हुन थालिसकेका थियौं हामी ! ऊ मात्र होइन हाम्रो पथप्रदर्शन र सहयोगमा खटिएका ऊ र अर्की महिला एस्कोर्ट माची ओकाजोए, आयुतारो हायासी र केइको नाकायामा सबैको अतिनम्र व्यवहार र औपचारिक सम्मान प्रदर्शनबाट कृतज्ञ थियौं हामी ! उनीहरूको त्यो अति नम्रतापूर्ण व्यवहार औपचरिक मात्र थियो कि त्यसमा हार्दिकता पनि मिसिएको थियो भन्ने अनुमान गर्नु सजिलो थिएन । सायद तालिम प्राप्त ती सहयोगीको पेशागत कर्तव्यकै अङ्गथियो त्यो । सरकारले इण्टरनेसनल हस्पिट्यालिटी एण्ड कन्फरेन्स सर्भिस एसोसिएसन भन्ने संस्थाबाट अतिथि सेवाकालागि लिने गरेका यस्ता सहयोगी हामीले चिया र खाना आफूसँगै खान अनुरोध गर्दासमेत मान्दैनथे । उनीहरूको स्टेटसले सरकारका पाहुनासँग सँगै बसेर खाँन दिँदैन रे, त्यसो गरेमा अतिथिको अपमान हुन्छ रे ! त्यो देख्दा मलाई लागेथ्यो कति स्टेटसकन्सस छन जापानीहरू, अभिवादनमा झुक्दा समेत आफूले अभिवादन गर्नेको स्थान वा स्टे्टस हेरेर कम र बढी झुक्ने गर्छन । विदेशीसँग बसेर खान पाए हामी दूतावासका सामान्य कर्मचारीले बोलाए पनि राष्ट्रिय मर्यादा छाडेर दौडिन्छौं । कसरी हाम्रा मन्त्रीहरू छिमेकी दूतावासका राजदूतको त कुरै छाडौं, द्वितीय सचिबले बोलाए पनि टाउकोले टेकेर सबै काम छाडेर पनि पुग्छौं । अर्थात हामी विदेशीको अनुग्रहका लागि कति लोभ्भिने गर्छौ र त्यसक्रममा कसरी राट्रिय स्वाभिमानलाई विदेशीको अगाडि होच्याइदिन्छौ भन्ने खायसै राख्दैनौं । तर उनीहरू....!ं आफ्नो मात्र होइन अर्काको आत्मसम्मानमा पनि चोट नलागोस भन्ने कुरामा हरबखत सचेत देखिन्छन, सतर्क रहन्छन् । हुनसक्छ यस्तै चेतनाले उनीहरूलाई राट्रिय गौरवलाई चुचुरोमा पु¥यायो, हामीलाई आत्मसम्मान गुमाएको भीखमङ्गामा !

वातानावेले विमानस्थलबाट सोझै टोकियो प्रिन्स होटेल पु¥याए । लामो विमान यात्राबाट थाकेका हामीलाई नुहाइधुवाइ गरेर ताजा हुनुका साथै केही बेरको विश्राम र खानपिन पहिलो आवश्यकता थियो । त्यो पुरा भएपछि बल्ल टोकियोको संक्षिप्त दृश्याललोकनबाट जापान हेर्ने क्रम थालिएको थियो । हामी पुगेको दुईमहिना अगाडि मात्रै मनाइएको रहेछ जापानी सम्राट हिरोहितोको ९२औं जन्मदिवस अप्रिलमा ! यही वर्ष उनले जापानी सम्राटको ताज पहिरेको ६६ वर्ष पुगेको थियो । जापानीहरू पनि राजालाई ईश्वरको अंशावतार मान्छन् । जापानाको सबैभन्दा पुरानो लिखित सामग्रीमध्ये अलिकति इतिहास र अलिकति किम्बदन्ती समेटिएका पुराना अभिलेख त्यसैभन्छन्, जापानीहरूले आप्mना सम्राटप्रति देखाउने स्वतःस्फूर्त श्रद्धा र सम्मानले त्यही देखाउँछ । त्यो सम्मान र श्रद्धाप्रकटीकरणमा कुनै वाध्यताको छनक भने देखिँदैन, करकापको कुनै गन्ध आउँदैन त्यसमा ! त्यसैले लाग्छ शासन र शक्तिको त्राशले जन्माएको होइन त्यो श्रद्धा र सम्मान । सायद जापानी सम्राटको उदारता, आफ्ना जनाता र जनप्रतिनिधिहरूप्रतिको सम्मान तथा आफूलाई शक्तिवानभन्दा सम्मानीत बनाएर जनताको हृदयमा बस्ने व्यवहारिक प्रतिबद्धताको आर्जन थियो त्यो जनसम्मान ! परम्परा र शास्त्रीय मान्यताले मात्र त्यो सम्मान र स्थान जोगाउन सक्तैन, जापानी सम्राट यो सत्यसँग राम्ररी परिचित थिए र नै उनले शक्ति होइन आफ्ना जनताको सम्मानलाई सर्वोपरी ठाने । अट्ठारौं शताब्दीको सुरुतिर लेखिएका कोजिकी (प्राचिन सामग्रीको अभिलेख) र निहोन शोकी (क्रोनिकल अफ जापान) ले प्रथम बादशाह जिम्मुलाई ईश्वरीय शक्ति अर्थात सौर्यदेवता अमातेरासु–ओमीकामीको अंशावता मान्यो । त्यो मान्ने क्रम उनीपछिका सबै राजाहरूमा पनि कायमै रह्यो ।

टोकियोको केन्द्रमा अन्दाजी २८४ एकड वा १५ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको त्यही सम्मानीत राजसंस्थाको आवासीय शाही दरबार जापान र विशेष गरी टोकियो घुम्ने अरुकोजस्तै हाम्रो पनि रुचिको विषय हुन स्वाभाविक थियो । दुबार चारैतिर भव्य खाडलले घेरिएको थियो । जापानका अरु ठाउँमा पनि देखिन्छन्, महत्वपूर्ण दरबार र यस्ता संरचनाहरू त्यसरी नै घेरिएका । बेलायत घुम्दा पनि प्राचिन किल्लाहरू यसरी नै गहिरा खाडलले घेरिएका देखेको थिएँ । दर्बारलाइ शत्रुको आक्रमणबाट जोगाउन सुरक्षाको हिसाबले किल्ला को रूप दिनु सायद यसको एउटा कारण हुनुपर्छ । यस्ता खाडल प्राय पानीले भरिएका हुन्थे र त्यसबाट शत्रुहरू सजिलै पार पाउन सक्दैनथे । झण्डै २८० वर्षसम्म तोकुनावा शोगुन बंशको निवास रहेको यो दरबारले सन् १८६८मा मेजी शासन सुरुभएदेखि नै शाही निवासका रुपमा आफूलाई गौरवान्वित तुल्याइरह्यो । सन् १९६८मा वर्तमान प्यालेसको निर्माण आधुनिक निर्माण सामाग्रीबाट भएपनि सरल परम्परागत संरचनालाई यसले त्यागेन ।

जापानीहरू भन्छन्– जापानी राजपरम्परा कला–संस्कृतिको विकास र संरक्षणमा पनि उत्तिकै चासो राख्छ । यही परम्परा जोगाउन यो दरबार परिसरमा वर्षको दुर्इंपल्ट गागाकु अर्थात प्राचिन जापानी नृत्य तथा संगीतको आयोजना गरिन्छ रे ! गागाकु अर्थात पाँचौंदेखि नवौंं शताब्दीबीचका एसिया महादेशका नृत्य संगीत र दशौ शताब्दीका मन्त्र शैलीका गायन । आठौं शताब्दीतिरै जापानीहरूले विशिष्ट जापानी शैलीमा विकसित गरेका कविता शैली हो वाका, जसलाई शाही परम्पराले त्यसरी नै संवद्र्धन गर्दै आएको छ । शाही दर्बारमा प्रत्येक वर्ष आयोजना गरिने शाही वाका वाचन समारोहले यसलाई मर्न दिएको छैन, बरु विकसित हुन सघाएको छ । जापानीहरूको यो धारणा असत्य लाग्दैन । त्यो समारोहमा बाहिरका कविहरूले सहभागिताका लागि पठाएका ३००० जति वाका कवितामध्येबाट छानिएका केही मात्र होइन शाही परिवारका सदस्य समेत वाका कविता लेखेर यसै अवसरमा वाचन गर्छन्, हाम्रो सहयोगी यसै भन्थे । बाहिरका छनोटमा परेकालाई आफ्नो कविता वाचन गर्न त्यो दिन दरबारले आफ्नो तर्फबाट निम्तो गर्छ, त्यस्तो निम्तोका लागि त्यहाँका सबै कविहरू लालायित रहन्छन् रे । नाचगान र काव्यवाचन मात्र होइन, वर्षको एकपटक कला, साहित्य, संस्कृति, सामाजशास्त्र, प्रकृति विज्ञानजस्ता विषयमाहरूमा समेत दरबारमैं विद्वान्हरू बोलाएर राजा र राजपरिवारको उपपस्थितिमा प्रवचनको आयोजना गरिन्छ रे । यसरी कविताको वाचन र विद्वानहरूलाई दरबारमैं आमन्त्रण गरेर प्रवचन गराई जापानी शाही परम्पराले आफूलाई साहित्य–संगीत र ज्ञानविज्ञानको संरक्षकका रूपमा मात्र स्थापित गरेको छैन, यसको संरक्षण र सम्मानमा समेत महत्वपूर्ण पे्ररणा प्रदान गरिरहेको छ । यस्तै लागेको थियो हामीलाई ।

जापानी शाही दरबारले अमूल्य वास्तुकला तथा कलाकृतिहरूको संरक्षण, जीर्णाेद्धार र प्रदर्शनमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । बारम्बार आगोबाट नष्ट भएका क्योटोको शाही दरबारको पुनर्निर्माण जापानको शाही परिवारबाटै भयो । सन् ७६१तिर निर्मित तोदाइजी मन्दिरस्थित सोसोइन ट्रेजर हाउसको संरक्षणमा पनि शाही परिवार नै अघि स¥यो । यी केही उदारहण मात्रै हुन् जापानी शाही परिवार आफ्नो मोजमजा र आमोदप्रमोदमा मात्र होइन राष्ट्रिय कलासंस्कृति र सांस्कृतिक परम्पराको विकास–संरक्षणमा पनि निजी कोष खर्च गर्न पछि पर्दैन भन्ने देखाउन । कार्यकारी अधिकार रहित जापानी राजा त्यहाँको संविधान ले दिएको अधिकारको सीमाभित्र बस्नुमैं आफ्नो सम्मान ठान्छन । संवैधानिक अधिकारमैं सन्तुष्ट देखिन्छ जापानी राजसंस्था, त्यसैले कहिल्यै आफ्नो सीमा अतिक्रमण गर्ने प्रयास गर्दैन ऊ ! यी कार्य सम्पादनको क्रममा राजाले क्याविनेटको सल्लाह र निर्णयको पूर्ण सम्मान गर्नुपर्छ, गर्छन पनि ।

साँझ वातानावेले नै हामीलाई आतिथेय मन्त्रालयको विदेश विभाग अन्तर्गत एसियाली मामिला सम्बन्धी व्युरो पु¥याएका थिए । त्यहाँ हामीलाई स्वागत गर्ने एसिया विभाग हेर्ने व्युरोका महानिर्देशक सेइजी मोरीमोतो हुन् कि अन्तर्राष्ट्रिय प्रेस विभागका उप–महानिर्देशक शिगेयो ताकेनाका र उपनिर्देशक ताएको ताकाहासी, सबैेको स्वागतमा न्यानोपन र हार्दिकता थियो, जुन औपचारिकता मात्रै लाग्दैनथ्यो । हुनसक्छ यो उनीहरूको अभिनयकुशलता होस् वा कूटनीतिक दक्षता । त्यसो हो भने त्यसको अनुभव हुन नदिनु पनि कम खुबीको कुरा होइन । अन्तर्राष्ट्रिय प्रेस विभागकै अधिकृत हिरोका तानीगुची र दक्षिण पश्चिम एसिया विभागका प्रमुख मिस्तुताका नुमाहाता सबै नै हार्दिक लागेका थिए हामीलाई । अझ नुमाहाताले नेपाली नजाने पनि केही समय भारतमा रहँदा सिकेका हिन्दी बोलेर अरु रमाइलो बनाएका थिए त्यस क्षणलाई । हाम्रा प्रोग्राम अफिसर ओटा र ओकानाका पनि कम सहयोगी र रमाइला थिएनन् ।

भोलिपल्ट अर्थात दोश्रो दिन विहान वातानावेले निर्धारित भ्रमण कार्यक्रम अनुसार नै केही बेरको टोकियो दृश्यावलोकन गराएर चिरप्रतीक्षित जापानी प्रेस संस्था, प्रेस र प्रकाशन उद्योग देखाउन लगेका थिए हामीलाई । पहिलो पाइलो थियो फरेन प्रेस सेण्टर, जसले नेपाली पत्रकारहरूलाई बर्सेनी जापान बोलाएर त्यहाँको प्रेस बारे जानकारी गराउने गथ्र्यो । यो संस्था हाम्रो लागि पनि अपरिचित थिएन, गोरखापत्रका पनि केही पत्रकार यसको निमन्त्रणामा जापान पुगेर फर्केका थिए । पछि गोरखापत्रका केही पत्रकारले औपचारिक निम्ताको समय सकिएपछि पनि लुकेर जापान बस्ने गलत प्रवृत्ति देखाए पछि सिङ्गो पत्रकार जगतको बद्मान भएर यस्तो निम्तै आउन छाडेको थियो ।

हामी निहोन प्रेस सेण्टर पुग्दा सेण्टरका म्यानेजिङ डाइरेक्टर फुमियो कितामुरा र सन्दर्भ सामग्री तथा अनुसन्धान विभागका निर्देशक हिसाहिदा सातो स्वगतका लागि तम्तयार थिए । उनीहरूबाट सेण्टरको बारे जानकारी र उपहारका रुपमा केही प्रकाशन मात्र होइन जापानी प्रेस प्रणाली बारे समेत धेरै कुरा जानकारी पाएका थिर्यौ हामीले । प्रेस सेण्टरपछि होटेल फर्केर खानपिन पश्चात अर्का दुई आकर्षक कार्यक्रमले लोभ्याइरहेका थिए प्रसिद्ध दैनिक अखबार आसाही सिम्बुनको अफिस अवलोकन साँझमा काबुकी–जा थिएटर गएर प्रख्यात जापानी काबुकी हेर्ने ।

जापानको मात्र नभएर विश्वकै सबैभन्दा धेरै प्रकाशित हुने योमुरी सिम्बुन पछिको दोश्रो ठूलोे दैनिक आसाही सिम्बुनको भ्रमण हाम्रालागि निकै उपयोगी थियो । उनीहरूको सम्पादन कक्षहरू यति साधनसम्पन्न थिए गोरखपत्रका हामी पत्रकारकालागि ती कल्पनाबाहेक केही हुन सक्तैनथे । राजनीतिक, आर्थिक, वैदेशिक, मनोरञ्जन, खेलकुद, संपादकीय, अपराध, संसद्, विज्ञान लगायत हर क्षेत्रमा, हर विषयमा संपादन–संकलनकालागि अत्याधुनिक साधनसंपन्न भिन्दाभिन्दै डेस्क वा विभागहरू ! तिनमा कार्यरत आ–आफ्ना विषयमा विशेषज्ञताप्राप्त उच्चप्रशिक्षित संपादक–रिपोर्टरहरू ! संपादकीय कक्षहरूसँग पूरै नेटवर्किङ भएको अत्याधुनिक कम्ग्युटराइज्ड प्रेसप्रणाली, उत्पादन कक्षदेखि वितरणकालागि लैजाने सवारी साधनसम्म स्वतः डिस्प्याच हुने स्वचालित यान्त्रिक सञ्जाल ! तातो सिसाको मोनो र लाइनो टाइपको युगबाट पहिलो पुस्ताको फोटो प्रणालीद्वारा अक्षर छापिने पुरानो खाले कम्प्युटरको भेरी टाइपमा केही वर्ष अघिमात्र प्रवेश गरेका र सबै विषयमा सबैले जानकार हुनुपर्ने वाध्यताका हाम्रा लागि यी सबै नै अनौठा थिए, आश्चर्यजनक थिए । सात वर्ष अघि मैले बेलायतमा देख्दा पनि मुद्रण र ुञ्चार प्रविधि यति विकसित भै सकेको थिएन, त्योभन्दा निकै विकसित देखिन्थ्यो यो मुद्रण प्रविधि । प्रेस प्रविधि र सञ्चार जगत कति दू्रत गतिमा विकसित भइरहेको रहेछ भन्ने पनि यो उदाहरण थियो सायद ।

प्रातः संस्करण ९० लाख र सायं संस्करणमा ५० लाख गरी दुबै संस्करणमा दिहुँ करिब डेढ करोढ सङ्ख्यामा छापिने योमुरी सिम्बुन जापानको सबै भन्दा ठूलो दैनिक थियो भने त्यस पछिको दोस्रो थियो यो आसाही सिम्बुन । दुबै संस्करण गरेर सवा करोड प्रति दिनहुँ निक्लने आसाही सिम्बुनको प्रसारसङ्ख्या र प्रविधि हाम्रालागि कल्पनातीत थिए । प्रकाशनको अध्यक्षका सचिव तथा सचिवालयका प्रमुख माकोतो मुतोहका साथै राजनीतिक समाचार कक्षका एसोसिएट एडिटर फुमियो इकेउची हामीलाई स्वगत गर्न र आवश्यक जानकारी दिन खटिएका थिए । उनीहरूको साथमा थिए मन्त्रीपरिषद तथा संसद् प्रतिनिधि समाचार हेर्ने कक्षका सहप्रमुख वाकामिया, स्टाफ राइटर एफ. योसिमुराका र प्रचार तथा विक्री प्रवद्र्धन विभागका प्रमुख माकिको कानेको । उनीहरूबाट पत्रिकाको संपादन, मुद्रण, वितरण आदि पक्षका बारेमा उपयोगी जानकारीका साथै अवलोकनक्रममा सस्तिार जानकारी पाएर निकै लाभान्वित भएका थियौं हामी ।

योमुरी र आसाही सिम्बुन मात्र होइन माइनिची, चुनिची, निहोन केइजाई र साङ्केई सिम्बुनजस्ता साना मानिने अरु दैनिक अखबारहरू समेत दैनिक ६० देखि २५—३० लाखसम्म बिक्री हुन्छन, यो जानकारी आश्चर्यजनक थियो हाम्रोलागि । संसारमैं सबैभन्दा बढी पाठक रहेको जापानमा प्रत्येक दुईदेखि तीन जना मानिसका भागमा एउटा दैनिक अखबार पर्छ रे ! मुद्रण र सञ्चार प्रविधिमा विश्वकै नेतृत्व गर्ने जापानी प्रेसले अत्याधुनिक छपाइ प्रविधिको प्रयोग गर्नु आश्चर्य थिएन, तीब्र गतिमा छाप्ने क्षमताका आधुनिक छापाखाना तथा कम्प्युडराइज्ड टाइप सेटिङतथा पेज मेक–अपका अतिरिक्त अन्य सुविधा त झनै सामान्य कुरा मान्नु पर्छ ।

छापा र प्रसारण माध्यम धेरै समय अघिदेखि नै प्रभावशाली रहँदै आएका छन् जापानमा । दोश्रो विश्व युद्धको अन्त्यसम्म जापानी प्रेस सरकारद्वारा नियन्त्रित थिए, अहिले तिनले पर्याप्त स्वतन्ता उपभोग गरिरहेका छन् । व्यापारिक विज्ञापन अति ठूलो उद्योग बनेको छ र जापान अहिले अमेरिका पछिको दोश्रो ठूलो बजारका रुपमा स्थापित छ । टेलिभिजन र अखबार अत्यन्त महत्वपूर्ण विज्ञापन–माध्यम बनेका छन् । जापानी प्रेस विश्वकै ठूलो पुस्तक प्रकाशन उद्योग मानिन्छ, टोकियो प्रकाशनको प्रमुख केन्द्र । हजारौं आवधिक पत्रिका वा म्यागाजिनको पनि प्रकाशन हुन्छ, जसमध्ये आधा जति साप्ताहिक पाइन्छन् । सबै ठूला अखबार उच्च संपादकीय स्तरका हुन्छन् र विहान तथा साँझमा गरी दुई–दुई संस्करण छापिन्छन् । धेरै अखबारको प्रसार राष्ट्रव्यापी छ । यसका अतिरिक्त केही प्रान्तीय अखबारको प्रसार संख्या पनि उल्लेख्य छन् । क्योडो न्युज सर्भिस र जिजी प्रेस जापानका ठूला समाचार एजेन्सिीका रूमा कार्यरत छन् ।

भर्खरै अफसेट प्रेसको युगमा प्रवेश गरेको मेरो गोरखापत्र र निजी क्षेत्रमा केही अघि मात्र ठूलो आकारको दैनिक प्रकाशन सुरु मेरो मेरो देश कम्प्युटर नेटवर्किङको परिचय पाउने क्रममैं थियौं सायद त्यतिबेला । सबै कुरा यान्त्रिक माध्यमबाट सञ्चालन गर्ने उनीहरूको प्रसार संख्या त हाम्रालागि कल्पना मात्रै थियो । उनीहरूको अखबारको प्रसारसंख्या झण्डै मेरो देशको जनसंख्या बराबर हुन आउँथ्यो । ती सबै जानकारी मेरालागि विष्मयकारी थियो, कल्पनातीत !

जापानी प्रेसको त्यो विकास र प्रविधि देख्दा विश्मय नमेटिँदै धेरै वर्षदेखि प्रदर्शन हुँदै आएको त्यहाँको प्रसिद्ध परम्परागत नृत्य नाटक काबुकीले अर्को नविर्सने प्रभाव छाडेको थियो ! जापानमा प्रचलित अनेकौं थिएटरमध्ये अति लोकप्रिय रहेका नो र काबुकी सयौ वर्षदेखि निरन्तर चल्दै आएका छन् । १४औं शताब्दीको उत्तरार्धमा विकसित नो जापानीहरूको धान रोप्ने र काट्ने परम्परागत धार्मिक नृत्य डेङ्गाकु र सारुगाकुको मिश्रित तथा विकसित रूप मानिन्छ । यसको विकास जैन बुद्धधर्मका अनुयायी कानामी उनका छोरा जेआमीले १४औं शताब्दीको उत्तरार्धमा गरेका हुन् रे ! नोभन्दा केही पछिको काबुकी १७औं शताब्दीको प्रारम्भमा विकसित भयो । सुरुमा नारी कलाकारद्वारा मात्रै खेलिने यो महानाटक काबुकीमा अहिले पुरुष र महिला दुबैथरी पात्र सहभागी हुन्छन् । यसमा अहिले पनि इडोकाल (सन् १६०३–१८६८)को पोशाक प्रयोग हुन्छ । विश्वकै ठूलामध्येको एक मानिने टोकियोस्थित यो काबुकी–जा थिएटर २८ मिटर चौडा थियो र यसमा २५९९ जना मानिस बस्नपुग्ने सिटको व्यवस्था थियो । जापानी भाषा नबुझ्ने हामी विदेशीका लागि अङ्ग्रेजी अनुवाद यन्त्र उपलब्ध भएकाले बुझ्न खासै समस्या परेन । यो देख्दा मलाई लागेको थियो हाम्रा पनि त मल्लकालदेखिका परम्परागत नृत्यर नाटिकाहरू छन् । तिनको स्थायी प्रदर्शन गर्ने यस्तै थिएटरहरू भए विदेशी पर्यटकहरूकालगि कति थप आकर्षण बन्न सक्थ्यो, नेपाली परम्परागत कला–संस्कृतिको पनि रामै्र परिचय दिन सकिन्थ्यो । तर दुर्भाग्य हामी आफ्ना कलासंस्कृतिलाई भन्दा विदेशी नाचगान र संगीतमा बढी गर्व गर्न थालेका छौं । आफ्ना परम्परागत कला, संस्कृति, भाषा र रहनसहनको संरक्षण र आधुनिक विकासका अवसरलाई कसरी साथसाथै लान सकिन्छ भन्ने जापानी अभ्यासबाट खोइ कहिले सिक्ने हामीले ! उनीहरू आफ्ना सकारात्मक परम्पराप्रति गौरव गर्दै तिनको संरक्षण र संबद्र्धनमा मरिमेट्छन् । आधुनिक बन्ने होडमा उनीहरू आफ्नोलाई बिर्सँदैनन्, हामी आफ्ना सबै कुरा विर्सिए पश्चिमी अनुकरणमा नकली मयुर बन्नमैं गौरव मान्छौं । जसले आफ्नो संस्कृति विसंन्छ उसले विकासको गतिलाई समात्न सक्दैन, सायद यही भनिरहेको जापान मलाई त्यति बेला !

जापान आगमनको तेश्रोदिनको पहिलो कार्यक्रमले आफ्ना असहाय अपाङ्ग र बृद्धहरूप्रतिको जापानी संवेदनशीलता प्रदर्शन गर्नुका साथै आधुनिकताको दौड र विखण्डित संयुक्त परिवारको बढ्दो प्रवृत्तिले ज्येष्ठ नागरिकहरू कसरी परित्यक्त र अभिशापित जीवन जिउन बाध्य छन् भन्ने मिश्रित अनुभूति दिएको थियो मलाई । यो मिश्रित अनुभूति दिने ठाउँ थियो, युआई जुजी–काई नामक असहाय तथा बृद्धहरूको आश्रय र सेवाकालागि कार्यरत केन्द्र ! केन्द्रका निमित्त निर्देशक कुनिजी कुसाहारा र उनका सहयोगीहरूले सबै ठाउँँ घुमाउने र आवश्यक जानकारी दिने काम गरेका थिए हामीलाई । अपङ्ग–असहाय जीवन त त्यसै कष्टकर छँदैछ, परिवार विखण्डन र उमेर पुग्नासाथ परिवारसँग छुट्टिएर एक्लै बस्ने युवापुस्ताको पश्चिमा अभ्यासले तीब्रता पाउँदा जापानी वृद्धावस्था पनि क्रमशः अभिशापित बन्दैछ । ज्येष्ठ नागरिकहरू बुढेसकालमा परिवारबाट उपेक्षित भए पनि सम्मानजनक जीवन वाँच्न पाउन भनेर सरकारले यस्ता आश्रमहरू सञ्चालन गर्दै आएको छ । उनीहरूलाई उपयुक्त वातावरण र स्नेह दिएर घरेलु वातारिणको आभाष दिने काममा त्यहाँ कुनै कमी देखिँदैन । तर अभावमै भएपनि आफ्नै घरमा सन्तानसँग विताउन पाउँदाको बुढेसकालको आनन्द, आफ्नोपन र स्नेहभाव पराइ कर्मचारीहरूद्वारा सञ्चालित केन्द्रको त्यो वातावरणमा पाउनु संभव थिएन । सरकारले दिएको जतसिुकै सुविधा उपभोग गरिरहेका भए पनि उनीहरूको अनुहारमा कुनै उत्साह भेटिँदैनथ्यो, कुनै खुसीको रेखा फेला पर्दैनथ्यो ।

यो दृश्यले मलाई झस्काइदिएको थियो– कतै मेरो भोलिको पनि पूर्वदृश्य त होइन यो, मेरो नियति पनि यही त होइन ! म अर्थात मेरा नेपाली सन्तानहरू पनि त आज आधुनिक युगको अन्धदौडमा आफू सक्षम भएपछि बुढा बाबुआमाबाट पन्छिन थालेका छन् । कमाउने र करियर बनाउने धूनमा उनीहरूलाई पनि त घरमा सँगै बसेर केही क्षण स्नेह साट्ने फुर्सत समेत हुन छाडेको छ । यही दौड र यहप् धूनमा बूढा आमाबाबुलाई गाउँमैं छाडेर राजधानी सहर धाउँदै छौं, राजधानीले समेत त्यो सपना पु¥याउन नसकेर समुद्रपारका लाहुर धाउन थालेका छौं । यो क्रम र प्रवृत्ति यही रूपमा चल्दै जाने हो भने भोलिको मेरो बृद्धावस्था पनि त यस्तै सरकारी आश्रयगृहमा आफूहरूजस्तैको भीडमा एक्लै मृत्यु पर्खेरै बित्ने छ । त्यो पनि हाम्रो सरकारले सामाजिक भलाईको दायित्व पनि मेरो हो भन्ने ठान्यो भने ! भोलि मैले पनि त आज आफूलाई भेट्न कोही आउँदैछन् भन्ने समाचारले अनुहारमा खुसीको फूल फुलाएर प्रतीक्षरत यी जापानी बृद्धहरूजस्तै पराइ अनुहारमा आफन्तको छायाँ खोज्ने निरर्थक प्रयास गर्नु पर्ने छ ! यसरी जापानी बृद्धहरूको अनुहार भविष्यको आफ्नै अनुहार देख्दाको यो अनुभवले मात्र पनि त्यतिखेर मलाई भाउन्न भएथ्यों । जापानले दोश्रो विश्वयुद्ध पछि सामाजिक हितका कार्यक्रमलाई राज्यको दायित्व मान्दै आएको छ । सामाजिक इन्स्योरेन्स कार्यक्रम अन्तर्गत स्वस्थ्य, पेन्सन, बेरोजगारी, कामदार दुर्घटना क्षतिपूर्ति वीमाआदिका साथै वृद्ध, शारीरिक–मानसिक असहाय वा अपाङ्ग तथा सुविधाविहीन बालबालिकाहरूका लागि हेरचाह के्न्द्रहरूको समेत सञ्चालन गर्दै आएको छ । हामीले हेरोको सेवा केन्द्र यस्तै मध्येको एउटा थियो ।

त्यो मिश्रित अनुभूतिले अमिल्याएको मेरो मन त्यहाँबाट फर्केर जापान ब्रोडकास्टिङ कर्पोरेसन अर्थात एनएचके रेडियो–टेलिभिजन प्रसारणसंस्था पुगेपछि केही सङ्लिएको थियो । एनएजकेको अन्तर्राष्ट्रि सम्बन्ध विभागका निर्देशक तादाफुमी सुगियामाको स्वागत उनीबाट प्राप्त जानकारीबाट धेरै कुरा थाहा पाएका थियौं हामीले । अरु एसियाली मुलुकको तुलनामा मात्र होइन संसारकै अन्य देशमाभन्दा बढी रेडियो र टेलिभिजन प्रयोग हुन्छ जापानमा । नियमित प्रसारण टेलिभिजन सेट राख्नेहरूको लाइसेन्स फीबाट सञ्चालन हुने गरी १९२६मा सार्वजनिक संस्थाको रुपमा स्थापना भएको थियो जापान ब्रोडकास्टिङ कर्पोरसन अर्थात निप्पोन होसो केयोकाई वा एनएचके । यसले १९५३ देखि टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्नथाल्यो । १९५१ देखि निजी व्यापारिक टेलिभिजनको पनि प्रसारण सुरु भयो । एनएचकेले नेपाल टेलिभिजनको सहयोगमा प्राप्त भएका, नेपालमा आफैंले बनाएका र नेपाल आउने जापानीहरूले बनाएर उपलब्ध गराएका कार्यक्रम पनि प्राय प्रसारण गरिरहन्छ । नेपाललाई जापानीबीच चिनाउन यसले ठूलै योगदान गरेका अनुभव भएथ्यो मलाई त्यो देखेर ।

विश्वशान्तिका लागि अन्तराट्रिय इन्स्टिच्युटका अनुसन्धान निर्देशक सातो सिजाबुरोेसँगको भेटघाट पछि त्यो दिनलाई मात्र होइन, टोकियो बसाइको पहिलो चरणलाई पनि विश्राम दिएका थियौं हामीले । टोकियो विश्वविद्यालयको कलेज अफ साइन्स एण्ड आर्टस्का प्रोफ्रेसर सातो नेपाललाई राम्ररी बुझेका नेपाल विशेषज्ञ पनि थिए ।

No comments:

Post a Comment