Sunday, March 3, 2013

हाकोनेले देखेन मेरो देश !

हाकोनेले देखेन मेरो देश !
–विजय चालिसे

(भृकुटी समालोचनात्मक एवम् अनुसन्धानात्मक–सांस्कृतिक त्रैमासिकको पूर्णाङ्क १६, साउन–भदौ–असोज २०६९ मा प्रकाशित नियात्रा) 
“होइन, के खोजिरहनुभएको ?” नातिनी आयुषाले बालरेलदेखि जाँतेपिङसम्म सबै चढ्ने पालो पु¥याइसकेपछि सबैजना त्यो विश्रामकक्षबाट बाहिरिने तर्खरमा लागिसकेछन् । म भने एकोहोरो भित्तामा केही खोजिरहेको देखेपछि लक्ष्मीले छक्क पर्दै गरेकी थिइन् त्यो प्रश्न । 
“हेर..हेर..आलोक, हाम्रो देशको भण्डा कहाँनिर छ, मैले त फेलै पार्न सकिन !” लक्ष्मीको प्रश्नको परोक्ष जवाफ दिन्छु म, अलोकलाई मेरो देशको झण्डा खोज्न अह्राएर । 
“खोइ, छैन त !” उसले पनि चारैतिर भित्तामा गौरसँग हे¥यो । विभिन्न देशका राष्ट्रिय झण्डा राखिएको त्यो भित्ताको वारपार दोहो¥याइ–तेह¥याइ हेर्दा पनि नदेखेपछि नकारात्मक जवाफ आयोे आलोकबाट पनि । 
ओहो...यतिका देशका राष्ट्रियध्वजलाई सम्मानपूर्वक स्थान दिसक्ने जापानको यो हाकोनेले कसरी बिस्र्यो मेरो देशलाई ? मेरैदेशका सिद्धार्थ गौतम बुद्धको उपदेशलाई आदर्श मान्ने जापानले कसरी बिर्सन सकेको होला तिनै बुद्धको देश नेपाललाई ? अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वबन्धुत्वको सम्मान गर्ने जापानको हाकोनेले यसरी र्बिसन हुनथ्यो त मेरो देशलाई ? के यति महत्वहीन छौं हामी विश्वरङ्गमञ्चमा ? मनभरि प्रश्न अनेक प्रश्न थिए, मुटुभरि अमिलोपन र पीडाको सर्पदंश ! जापानकैं टोकियोस्थित ओमिया हाचिमानागु स्मारकमा यस अनघि भेटएकी मेरो नेपाललाई चिन्ने जापानी केटीबाट पाएको सद्भाव र प्रभाव समेत चकनाचूर हुनपुग्यो यतिखेर मेरो मनबाट । त्यो आत्मीयता र सद्भाव दिनसकेन मलाई हाकोनेले ! त्यसैले मन झनै अमिलियो । 

कोदोमो–नो–कुनी बालभूमि अर्थात् चिल्ड्रेन्स ल्याण्ड, तस्बीरः विजय
“होइन, दूतावासले पनि चासो राख्नुपर्ने होइन र गणेशजी, यस्तो कुरामा ? यो त राष्ट्रिय पहिचानबिस्तारको पनि त प्रश्न हो नि ! त्यहाँ पुग्ने लाखौं लाख मानिस र केटाकेटीले हेर्थे, संसारमा नेपाल भन्ने देश पनि छ भन्ने बुझ्थे । एउटा राष्ट्रिय झण्डा उपलब्ध गराएर उचित ठाउँमा अनुरोध गर्ने हो भने त्यसले ठाउँ पाउनु त्यति ठूलो कुरा पनि त होइन होला ?” पछि टोकियोस्थित नेपाली दूतावासमा महामहिम राजदूत गणेश योञ्जनले दिनुभएको निम्तोमा रात्रिभोजकालागि पुग्दा उहाँको ध्यानाकर्षण गराएको थिएँ मैले ।
गणेशजीको परिवारका अतिरिक्त मेरो समूहका चारजना बाहेक अरु पनि तीन–चारजनाको उपस्थिति थियो त्यस रात्रिभोजमा । जापानमा पर्यटन व्यवसाय गरेर बसेका एकजना नेपाली र जापानी टेलिभिजन एनएचकेका एकजना पत्रकार पनि थिए । 
गणेशजीले थप केहीगर्न सक्ने अवस्था थिएन । पछिल्लो हप्ता नै उहाँ आफ्नो पदावधि सकेर स्वदेश फर्कँदै हुनुहुन्थ्यो । एनएचकेका पत्रकारले त्यतिविन गम्भीर चासो के लिन्थे ? त्यसैले चासो हामी नेपालीले नै लिनु पर्ने हो । हाम्रो नियोगका स्थायी कर्मचारी सांस्कृतिक सहचारी वा राजदूतका सहयोगीहरूले लिनु पर्ने हो । त्यसको सम्भावना थिएन । पछि नेपाल पत्रकार सङ्घ टोकियो शाखाले दिएको रात्रिभोजका अवसरमा सुनिएको दूतावासका उच्चस्तरीय कर्मचारी र निकटतम सहयोगहरू कसरी देशको भन्दा आफ्ना गूटकालाई राज्यकोष खर्चेर विशेष पुरस्कारप्राप्तिको रणनीत निर्माणार्थ निजी व्यक्तित्व प्रवद्र्धनमैं निमग्न छन् भन्ने सुनिएको थियो । त्यो सुनेपछि तिनबाट के होला र भन्ने लाग्नु स्वभाविक थियो । नभए तिनै नेपाली प्रतिनिधिहरू पनि त पुगेका थिए होलान निय यस्ता ठाउँमा ? तिनले पनि देखेहोलान यो आफ्नो देशप्रतिको उपेक्षा । देखेको भए किन गरेनन् कुनै प्रयास ? तिनै प्रश्नको महासागरकाबीच टोकियोस्थित नेपाल र नेपाली पर्यटन व्यवसायी मित्रलाई इङ्गित गर्दै भनेको थिएँ– तपाइँहरू सबै नेपालका वास्तविक दूत हुनुहुन्छ, जापानमा बस्ने तपाइँ नेपालीहरूले बढी चासो राख्नु पर्ने हो नि, होइन र ? मेरो कुरामा उहाँले स्वीकृति जनाउनुभयोे र पहल गर्ने वचन पनि प्रकट गर्नुभयो । पछि कुनैबेला फेरि हाकोेने पुग्न पाइएछ भने देखिएला, यो वचनबद्धता पूरा भयो कि भएन ? 
पहिलोपल्टको यस्तै एउटा घटनाके सम्झना भएको थियो त्यतिबेला । सन् १९९२ को कुरा हो त्यो पहिलोपल्ट जापान पुग्दाको । त्यतिबेला पनि तत्कालीन महामहिम राजदूत, संभवतः केदारभक्त माथेमा, लाई भेट्न दूतावास पुगेका थियैं । दूतावासका कोठाचोटा जताततै विदेशी कार्पेट र कलाकृतिले सजाइएको थियो । त्यो विदेशी बस्तुप्रतिको दूतावास मोह देखेर त्यतिबेला पनि महामहिम राजदूतसँग सोधेको थिएँ– नेपाली कार्पेट राख्न सकिँदैनथ्यो र दूतावासमा ? त्यसबाट कमसेकम वजार प्रवद्र्धनलाई केही मदत त हुन्थ्यो ? 
जवाफ झनै रोचक थियो, लाचारीमा भिजेको– नेपाली कलाकृति र कार्पेटजस्ता बस्तु किन्न बजेट नै पुग्दैन । त्यसैले नेपाली कार्पेटभन्दा यतै पाइने सस्तो कार्पेट र कलाकृति खोजेर राख्नु पर्ने हाम्रो वाध्यता छ ! 
यस्तै धेरै कुरा भएका थिए, यतिबेला पनि दूतावासमा । 
छाडौं, यो प्रसङ्ग । दुखेको मुटु थामेरै मनभरि प्यारो देश र राष्ट्रिय झण्डा सजाएर लाग्यौं हामी हाकोनेका अरु दर्शनीय कुराहरुमा भुल्न । 
यो थियो मेरो दोस्रोपल्टको जापान भ्रमणको आठौं दिन । विगत आठ दिनदेखि छोराबुहारी आलोक र सीताको आग्रहमा म र मेरी श्रीमती टोकियो मैं थियौं । यसपालिको दशैं उनीहरूसँगै मनाउने गरी यता आएका हाम्रालागि आज जुरेको थियो टोकियोबाहिरको हाकोने घुम्ने साइत ! यसपल्टको जापान भ्रमणमा रात नबस्नेगरी पुगिने टोकियोबाहिरका एकदिने भ्रमणलाई मैले प्राथमिकतामा पारेको थिएँ । त्यसै अनुरुप आलोकले योजना बनाएको थियो र त्यसै योजनाको एउटा भाग थियो यो टोकियोबाट मात्र १०० किलोमिटर परको रमाइलो रोमञ्चाक उपत्यकाभ्रमण । 
जापानको आसिगाराशिमो जिल्लाको कानागावा प्रिफेक्चरमा पर्ने हाकोने सर्वाधिक पर्यटक पुग्ने जापानका पर्यटकीय नगरमध्येकै एउटा थियो । हाकोनेको तातोपानीका स्नानकुण्ड र झर्ना (ओन्सेन) त पर्यटकहरूका विशेष आकर्षण नै भइहाले । टोकियोदेखि नै सुनिएको थियो धेरै कुरा छन् यहाँ हेर्नका लागि– हाकोने बोटानिकल गार्डेन अफ वेटल्यान्ड, जापानकै पहिलो खुला सङ्ग्रहालयका रूपमा सन् १९६९ स्थापना गरिएको हाकोने खुला सङ्ग्रहालय, सक्रिय ज्वालामुखीको उपत्यका, आसी ताल र रोपवे र केवलकार आदि...आदि...। खुला कलासङ्ग्रहालयमा हेर्न पाइने प्रसिद्ध कलाकारहरूका आधुनिक र समकालीन मूर्ति, पिकासो कक्षका सङ्ग्रह, केटाकेटीको खेल्ने ठाउँ, प्राकृतिक तातोपानीको कुण्डजस्ता आदि...आदि...। धेरै कुरा थिए ७ हजार वर्ग मिटर क्षेत्रमा फैलिएको हाकोनेको त्यो प्रदर्शनी स्थलमा ! सुन्दर पहाडी पर्यटकीय क्षेत्र हाकोने यात्राका लागि हामी सबै उत्साहित थियौं । पर्यटन उद्योगबाटै अर्थतन्त्र थेग्दै आएको हाकोने सहर त्यति ठूलो थिएन, मात्र ९ हजार वर्ग किलोमिटरजति मात्रै थियो यसको क्षेत्रफल । 
मन पुतली झैं फुर्फुर उडिरहेको थियो हाम्रो– फुजीसान अर्थात् जापानी गौरवको प्रतीक माउन्ट फुजीको निकटतम हाकोने पहाडको फेदीमा आसिनो–को तालको सफा ऐनाजस्तै पानी । त्यही पानीमा तैरिएको फुजी पर्वतको मोहक र भव्य शाही रूपदर्शनका लागि मन चौ चौ थियो हामी सबैको ! हाकोनेका मनमोहक दृश्यलाई आकासगामी विजुली रेल र तारे बाकस डिब्बा अर्थात केबलकारमा बसेर नियाल्नु ! आहा, कति रमाइलो होला ? त्यहाँ पुग्नु अघि मनैमन पूर्वानुमानमा डुब्दै आएको थिएँ म केही दिन अगाडिदेखि नै– आहा, कति रमाइलो होला माथि केबल कारबाट देखिने ती आकर्षक दृश्यहरू ! 
हाकोने सीता र अलोकका लागि भने नौलो थिएन । हामी दुईले हाकोने प्रत्यक्ष देखेका थिएनौं । प्रत्यक्ष नदेखेको भए पनि सुनेका र पढेका कुराले नजिकको परिचितजस्तै लाग्न थालिसकेको थियो यो । यात्राको तयारीमा अघिल्लो साँझ पूरै हाकोनेको वेभसाइट हेरेरै बिताउँदा यसलाई अझै नजिकबाट चिनेको थिएँ । रुट सजिलै थियो– घरबाट लोकल स्टेसन निसी एइफुकुमा इनोकासिरा लाइनको रेल समातेर सिबुया र सिबुयाबाट सिन्जुकुलाइनको सिन्कान्सेन अथवा अर्को एक्प्रेस । त्यो एक्सप्रेस समातेर ओदावारा ओदाक्यु रेललाइनहुँदै हाकोने योमोतो स्टेसनमा उत्रिएपछि फेरि अर्को हाकोने टोजन रेल चढेर गोरा स्टेसन । गोरा पुगेपछि त सुरुभइहाल्छ हाकोनेको रोमाञ्चक दृश्यावलोकन ! त्यसमाथि मलाई बाटो सम्झन आवश्यक पनि थिएन । आलोक स्वयम् नै हाम्रो पथप्रदर्शक र यात्रा आयोजनकर्ता थियो । 
सीता विहानैदेखि यात्राको तयारीमा व्यस्त थिइन । अलि दरिलै कौला खाएर घरबाट विहान ८.३० बजे निस्किए पनि सिबुया पुगेर अर्ध–एक्सप्रेस रेल चढ्दैमा दश बज्न खोजिहाल्यो । सिबुयाबाट ९० मिनेटको थियो ओदावाराकालागि रेलयात्रा ।
टोकियोका मानवसागर र गगनचुम्वी भवनहरूको जङ्गललाइै छाडेर हामी जतिजति टोकियोबाट बाहिर लाग्थ्यौं, उतिउति हामीलाई जापानी बाह्य प्राकृतिक सौन्दर्यले मोहनी लगाउँदै जान्थ्यो । मानिस र घरैघरको जङ्गलको स्थान बिस्तारै खुला ठाउँहरूले लिँदै गएकाथिए । रेल लाइनकै छेउमा बस्तीहरू, बजारहरू, ठूलाठूला नदी र तिनै नदीले बनाएको फाँटमा लहलहएका धानबाली । कतैकतै मिसिनले त्यही लहलहाइरहेका पाकेको सुनौला धानबाली धानबाली काटिरहेका किसानहरू ! आहा बल्ल पो देखियो जापानको बाहिरी रूप । 
केही दिनदेखि टोकियोका चमकदमक र विशाल संरचनाले लाठ्टयाएका हाम्रा आँखा ती सुनौला धानखेतका मोहनी आकर्षणले साँच्चै अभिभूत थिए, शीतल भएका थिए हाम्रा आँखा शीतलजल हालेजस्तै । आहा...कति सुन्दर छ प्रकृति । कति महान छ यसको रचना, यसको सृष्टि ! टोकियोबाट यता आइपुग्दा मरुभूमिबाट हरियालीपूर्ण सुन्दर बगैँचामा पुगेजस्तो अनुभव हुँदैथियो । यताउता हरिया बनले ढाकिएका सानासाना अग्ला थुम्काथुम्की । ग्रामीण जापान त बल्ल पो देखियो ! टोकियोका कहलाएका मानवनिर्मित कृत्रिम पार्कभन्दा कम आकर्षक थिएनन् यी प्राकृतिक वनजङ्गल । रेलको गति र सिसाको पर्दाले अवरोध नपु¥याउने आशा साहित ती दृश्यलाई क्यामरामा कैद गर्दै रेलको गतिसँगै अगि बढ्यो हाम्रो यात्रा । नभन्दै ठीक डेढ घन्टामा रोकियो सेमी एक्सप्रेस रेल ओदावारामा र हामीले त्यसबाट ओर्लेर हाकोनेको काखमा पु¥याउने अर्को स्थानीय रेल समात्यौं –हाकोने टोजन लाइन ! घुमाउरो बाटो, साँघुरो रेलमार्ग र नागबेली उकालो चढ्दै गएको त्यो रेलमार्ग हाकोने यात्रीकैलागि मात्र सञ्चालित थियो सायद् ! 
त, त्यसरी बिहानै हिँडेका हामी पूर्वनिर्धारित यात्रामार्ग र साधनबाटै गोरा पार्कको तोगेन्डी प्लेटफार्ममा ओर्लियौं, हाकोने टोजन रेलबाट । यो विसाउनीबाट हामीलाई माथि लिएर जाने जिम्मेवारी बोकेको थियो हाकोने–सेन्जोन केबलकारले । त्यहाँबाट गोराको पारिपटिको तल फेदीको आसीताल पु¥याउने जिम्मा भने हाकोने रोपवे सेन्जानको थियो । गोरा हाकोनेको तलमाथि गर्ने रज्जुमार्ग अर्थात् रोपवेको प्रारम्भबिन्दु थियो । बिसौनी नजिकै लोभ्याइरहका थिए हाकोने सेकिसो प्रदर्शन कक्ष र देवदारुका सुन्दर तरुपङ्क्ति अर्थात् प्राचिन सेडार एभेन्युले ! 
हलुका भोक पनि लाग्न थासिकेको थियो यतिन्जेलमा । यसभन्दामाथि खाने ठाउँ भेटिन्छ भेटिँदैन, त्यो पनि थाहा थिएन । त्यसैले यहीँ धेरथोर पेटपूजा गरेर उकालो लाग्ने रज्जुमार्ग समात्ने सल्लाह ग¥यौं हामीले ।
खाना खाँदाको घटना पनि बिर्सनै नसकिने कथा बन्यो । विफ र पोर्क बाहेकका खाना पाइने होटेल खोज्दाखोज्दा एउटा होलाजस्तोमा हेरेर पस्यौं । खाद्यसूची अर्थात मेनुमा भने खाइहालौं भनेजस्तो केही देखिँदैन ! केटाकेटीदेखि नै नखाइएकोले होला आफूलाई दिगमग लाग्ने विफ, बफ र पोर्कबाट बच्न खोज्ने बानीले निकै असजिलो पाथ्र्याे प्राय यस्ता विदेश यात्रामा ! अनि किराफट्याङ्ग्राजस्तै देखिने सीफुड पनि त्यति मन खोलेर खान नरुच्ने, दिगमिग लागिहाल्ने । यसो हेर्दा चाउमिन नै ठीक लाग्यो । आलोकले हाम्रालागि चाउमिन र अरु केही त्यस्तै मगायो । लक्ष्मीकालागि भने सीताले घरैबाट चना–परौटा बनाएर ल्याएकी थिइन । त्यही निकालेर दिइन् । लक्ष्मी स्वादले खान मात्रै के थालेकी थिई, खानु न ओकल्नु भइहाल्यो ! लक्ष्मीले घरबाट ल्याएको खानेकुरा खानथालेकी देख्नासाथ चमेनागृहकी एउटी अधबैंसे सेविका चिच्याउँदै आइन्पुगिन् । उनी हातको निषेधसूचक कैंँचीको इसाराले हामीतिर देखाउँदै चिच्याइरहेकी थिइन्– “नो...नो...” ! 
उनको त्यो कर्कस आवाज हामी सबैको गलामा निल्दानिल्दैको खाना अड्काउन पर्याप्त थियो । लाटोले पनि बुझ्थ्यो, तिमीहरूले ल्याएका खानेकुरा खान पाइँदैन, नखाओ ! त्यहीँको बाहेक अन्तबाट लगेर खान नहुने रहेछ, हामीलाई के थाहा यो कुरा ? कि त सूचना लेखेर राख्नुपथ्र्यो !
तिनको नियम जे भएपनि त्यो अधबैँसे सेविकाको व्यवहार जापानी शिष्टाता र भद्रता अनुकूल भने थिएन । उनको त्यो अभद्र व्यवहार देखेर आलोक पनि कड्कियो उनीहरूकै भाषा, जापानीमा– “तिम्रो मेनेजरलाई बोलाऊ, यो खान नहुने हो भने सबै फिर्ता लैजाऊ । केही पनि खाँदैनौं हामी तिम्रो रेस्टुराँमा ।” भित्र काउन्टरबाट त्यो सबै हेरिरहेकी होटेलमालिक्नी हो वा मेनेजर, एएटी अर्की महिला हतार्रिंदै हामीतिरै आइन् । उनको इशारापछि ती अधबैंँसे सेविका भने सुइ थिचेको खेलौनाजस्तै चुप लागेर भान्छातिर फर्किइन्, केही पनि नबोलेर !
“इन्डियन फुड ?” लक्ष्मीअगाडिको उनकै चमेनागृहको प्लेटमा पस्किएको चनातर्कारी र परौटा अनि कागती हो कि केको अचार देखेर उनले सोधेकी थिइन ।
“यो नेपाली खाना हो, इण्डियनसँग पनि मिल्छ । हामी इण्डियन होइन, नेपाली हौं । माउण्ट एभरेष्ट र बुुद्धको देशबाट आएका !” हामीलाई आफूले ल्याएको खानेकुरा खाने अनुमतिसहित उसले हाँस्दै गरेकी त्यो प्रश्नको आलोकले शिष्टापूर्वक नै जवाफ दियो । “नेपाली फुड” भन्ने सुनेर अरु जिज्ञासु देखिएकी थिइन् उनी । त्यसपछि त राम्रै सेवा र व्यवहार पायौं हामीले । 
समुद्र सतहभन्दा साढे आठ हजारजति मिटरमाथिको यो गोरा स्टेसन हाकोने–टोजन केबलकारका साथै हाकोने कोमागाताके रोपवेको समेत प्रवेश मार्ग थियो । जापानी र विदेशी केटाकेटीहरू स्टेसनको बाहिरको विश्रामस्थलमा घुमिरहने सानो बालरेल चढेर रमाइरहेका थिए । गोरा स्टेसनको त्यो ओदाक्यु हाकोनेमा निःशुल्क बालरेल चढ्दा निकै रमाएकी थिइ नातिनी आयुषा । हाकोने टोजन केबलकार तलको यो बिसौनीदेखि झन्डैझन्डै समानान्तर रेखामा ठाडैमाथितिर जाने र ओर्लने गरिरहेको देखिन्थ्यो ! यो बिसौनीबाट २१४ मिटर उचाइमा थियो सेन्जानस्टेसन, १.२ किलोमिटर माथि । अढाइसयजति यात्री अटाउने रेलको डिब्बाजत्रै केबलकार ठाडै झरेजस्तो लाग्थ्यो माथिबाट आउँदा । फनिकुलर रेल पनि भन्दना रहेछन् यसलाई । टिकट लिएर केहीबेर लाममा बसेपछि हामीलाई लिएर त्यहाँबाट फेरि माथि नै उक्लिएको रेल दशै मिनेटमा पुगिहाल्यो सेन्जान बिसौनी ! ओहो कति छिटो उक्लिएको यति अग्लो उकालो ! यो हाकोनेको सबैभन्दा अग्लो बिसौनी थियो ! गिनेज बुक अफ वल्र्ड रेकर्डले संसारकैं सबैभन्दा लामो र व्यस्त “गोण्डला लिफ्ट” भन्ने नाउँ दिएको रहेछ यसलाई । 
लगभग चार किलोमिटर लामो यो रोपवेले आफ्नो छोटोसमयको यात्रामैं पनि आफ्ना यात्रुलाई तिनको रोजाइअनुसार विभिन्न पाँच बिसौनीमा छाड्दैलिँदै माथि चढ्दै गयो । ती सबै भिराला स्टेसनका छेउछाउ संग्रहालय थिए, मन्दिर, मूर्ति र अरु धेरै दर्शनीय कुरा थिए ! ती कुरा हेर्न चाहनेहरू आफूले चाहेको बिसौनीमा ओर्लन्थे, आनन्द लिन्थे र फेरि माथिल्लो बिसौनी पुग्न रोप वे चढेर माथि पुग्थे । यसरी सबै कुरा हेर्न समय पुग्नेहरू मनचाहेका सबै बिसाउनी ओर्लिएर सबै कुरा हेर्दै आनन्द लिन्थे । त्यसो गर्न समयले नदिने हामीजस्ता पर्यटक बीच बीचमा नओर्लिकन एकैचोटि सेन्जेनमा ओर्लन्थे । यसैले गर्दा यति छोटो यात्रामा पनि बीचबीचमा रोकिँदै रोकिँदै आफ्ना यात्रु ओराल्ने–चढाउने गर्दै माथि चढ्दै गयो केबलकार । 
ती ठाउँमा पुगेर सबैकुरा हेर्न हाम्रोजस्तो एकदिने घुमाइमा सम्भव थिएन । यसका लागि मानिसहरू तीनदिने कार्यक्रम (प्याकेज प्रोग्राम) बनाएर आउने गर्थे । त्यसैले हामी बीचबीचमा नओर्लीकन सिधै माथिल्लो शिखर स्टेसन सेन्जानमा गएर ओर्लियौं । यो स्टेसन हाकोनेको शिखरमा थियो । यहाँबाट चारैतिरका दृश्य देखिन्थे, टाढाटाढाका सुन्दर रमाइला दृश्यहरू ! त्यो देख्दाको अननन्द नै अर्कै थियो, वर्णनातीत ! तल बस्ती, बाटा, ताल र हरियालीपूर्ण थुम्काथुम्कीजस्ता डाँडाहरू छात्तीमा बोकेर लमतन्न पस्रिएको थियो सुन्दर उपत्यका । त्यसकै एक छेउमा आसी ताल छात्तीभरि पर्यटक भुलाउन साना ठूला बिजुली डुङ्गा, हाते डुङ्गा, र साना ठूला सिंगारिएका जहाजहरू बोकेर बसिरहेका देखिन्थ्यो– चन्द्राकार ! 
हो, ज्वामुखी मात्रै नौलो थियो हाम्रालागि । अरु त मेरै देशमा जताततै देखिन्थे यीभन्दा बढी आकर्षक प्राकृतिक दृश्यहरू ! तर ती सबै भिल्लको देशका मणि बनिरहेका थिए । पर्यट वर्षका नाउँमा हल्ला गर्नेहरू ती स्वर्गीय ठाउँहरूमा पर्यटक पु¥याउन आवश्यक पर्ने पूर्वाधार निर्माण कुनै चासो राख्दैनथे । सतही काममा अबौं अर्वको बजेट स्वाहा गनुलाई नै उपलब्धि ठान्ने मानसिकता थियो मेरो देशको । यो प्रवृत्ति रहुन्जेल यो विडम्बनाबाट मुक्तिको कुनै सम्भावना पनि छैन सायद् । आवश्यक पूर्वाधार तयार गर्नसके एउटा मात्र होइन, सयौं हाकोने तयार हुनसक्छन् मेरो देशमा ! त्यसकोलागि आवश्यकता थियो र, छ प्रतिबद्धताको, प्रभावकारी योजना र त्यसको कार्यान्वयनको जुन हामीकहाँ कहिल्यै देखिन सकेन । तातो पानीको ताल र कुण्ड छैन कि मसँग, विश्वकै सर्वोच्च खिरहरू छैनन् कि, के छैन हामीसँग ? 
“जता हे¥यो जमिनबाट धुवँ नै धुवाँ निस्केको देखिन्छ नि, जमिनमुनि इँटा पोल्ने भट्टाहरू पो छन् कि कसो ?” लक्ष्मीकै हुनुपर्छ, जिज्ञासा थियो यो । त्यो हामीलाई लिएर गएको गोण्डला लिफ्ट अर्थात् हाकोने कोमागाताके रोपवे सेन्जेन स्टेसनको नजिक पुग्दा तल देखिएको एउटा सानो उपत्यकाजस्तो खोँचमा जतातैबाट धुवाँ निस्किरहेको देखियो । हुन पनि जङ्गलमा लागेको आगोबाट निस्किएको धुवाँ भनुभने हामी पुगेको यो बेला त्यतिविन वनजंगल पनि देखिएको थिएन । अग्ला खैरा चट्टानी पहाडको खोँचका बीच धुवाँ निस्किएका ती ठाउँमा त झनै बोट विरुवा देखिएनन् । त्यसैले इँटाभट्टा वा यस्तै केही हुनसक्ने लक्ष्मीको अनुमान त्यति नमिल्दो थिएन सायद् ! 
“होइन, यो त सक्रिय ज्वामुखीले गर्दा जमिनबाट निस्केको सााच्चिकैको धुवाँ हो, मामु !” आलोकले प्रस्ट्याएपछि हामी चकित थियौं– ए...ज्वालामुखीबाट निस्केको धुवाँ पो पो रे’छ यो ! 
होत...कानागावा प्रिफेक्चरमा पर्ने ओवाकुदानी हाकोने पहाडमाथिको त्यो सानो उपत्यकामा गोण्डाला लिफ्टबाट अगि देखिएको दृश्य त धरतीमुनिको सक्रिय ज्वालामुखीका दुलाहरूबाट निस्किइरहका धुवाँको सञ्जाल पो रहेछ त ! तीन हजार वर्षजति अगाडि माउन्ट फुजीमा ज्वालामुखी फुट्दा बनेको रे यो उपत्यका । त्यसबेलादेखि निरन्तर धुवाँ ओकलिरहेका रहेकोरहेछ यो धरती र यसभित्रका सक्रिय ज्वालामुखीहरूले ! ओहो कति रोमाञ्चक छ यो धरतीको कथा, कति कौतुकपूर्ण छ धरतीभित्रका रहस्य र सच्चा जादु ! यथार्थमा फ्युमारोलिक नामको ग्यासबाट निस्केको थियो यो धुवाँ । हाइड्रोजन सल्फाइड र सल्फर डायोअक्साइड क्लोराइडजस्ता विषालु ग्यास फालिरहने यो सक्रिय ज्वालामुखी क्षेत्र ११ किलोमिटर व्यासमा फैलिएकोछ रे । 
“स्वागतछ, तपाइँलाई यो नर्कको उपत्यकामा !” त्यो अग्लो स्टेसन सेन्जानमा गोन्डाला लिफ्ट रोकिनासाथ हामीसँगै आएका गाईडसहितका पर्यटकको स्वागतमा तिनै गाइडको मुखबाट निस्किएको यो स्वागत अभिव्यक्ति सुनेर हामी सबै नै छक्क प¥यौं । स्वागत पनि नर्कमा रे ? के भन्छन् यो गाइड ? 
कुरा बुझेपछि रमाइलो लाग्यो, ए...ठीकै पो रहेछ त । यो धुवाँ ओकलिरहने अनौठो उपत्यकाको पुरानो नाउँ नै रहेछ त नर्कको उपत्यका ! अहिलेको नाउँ ओवाकुदानीको अर्थ पनि “विशाल उम्लिइरहेको उपत्यका” नै रहेछ । यस अगाडि यसको पुरानो नाम ओ–जिगोकुले पनि “विशाल नर्क” कै अर्थ दिन्थ्यो ! हुनपनि चारैतिर सक्रिय ज्वालामुखीको यो उपत्यका कुनैपनि मानवका लागि कतिबेला चिहान अर्थात नरकका रूपमा परिणत हुनसक्छ, कसले भन्न सक्थ्यो र ? कुनै ज्वालामुखी विष्फोट भयो भने ? कसलाई थाहा, पृथ्वीभित्रको भौगर्भिक चालाको ? त्यस्तो हुन गएमा धरतीको गर्भ पड्किएर निस्क्ने आगोको लप्का र धरतीले ओकलेको लाभाको कालगह्वरमा सम्पूर्ण मानववस्ती हराउन सक्थ्यो, मानिसको मात्र त के कुरा ? त्यसैले अत्यन्तै सार्थक लाग्थ्यो नाम ! मानव सुरक्षाका दृष्टिले नर्क नै त थियो यो उपत्यका ! समुद्र सतहबाट १ हजार ४४ मिटरको उचाइमा रहेको यो सक्रिय ज्वालामुखीको उपत्यका चारैैतिर सल्फरयुक्त धुवाँका साथै तातोपानीको कुण्ड र झरनाका सञ्जालले ढाकिएको थियो । 
यो अनौठो उपत्यकाको ओवाकुदानी स्टेसनमा ओर्लनासाथ तीव्र गन्धके धुवाँको गन्धले टाढैदेखि स्वागत गरिरहेको थियो । अनि तिनलाई साथ दिँदै आएका थिए जमिनमा ठाउँठाउँबाट निस्किेका सेता धुवाँका वादल र पानीका साना साना तातोपानीका झरनाका अनौठा आवाजहरूले ! भूकम्पीय क्षेत्र भएकोले पाइतालामुनिको खोक्रो जमिन कतिबेला विष्फोटितहुने हो, भन्ने एकप्रकारको मनोवैज्ञानिक भयले ग्रस्त तुल्याइ नै हाल्थ्यो यो नर्कको उपत्यकाले । चारैतिर गन्धकको धुवाँ मिसिएको वातावरणमा गन्धककै अनौठो गन्ध मिसिएको थियो र चर्किएका धरतीका छिद्रहरूबाट निस्किएका पानीका झरनार जलकुण्डबाट निरन्तर स्वाभाविक आवाज आइरहेको सुनिन्थ्यो । यी सबैको सम्मिश्रण समग्रमा यो उपत्यकालाई नर्कको उपत्यका सिद्ध गर्न पर्याप्त थिए । मनोवैज्ञानिक तवरमा केही भय अनुभव हुनु स्वाभाविक थियो त्यो ज्वालामुखीको उपत्यकामा ! तर समग्र उपत्यकाको त्यो मोहकता सबैखाले मनोवैज्ञानिक भय हटाउन सफल थियो । 
केही पर अर्को रमाइलो दृश्य हामीलाई नै पर्खिरहेको थियो । तातो पानीको झरना र कुण्डमा कुखुराको फुल डुबाउँदै उसिनेर छोडाउँदै खानेहरूको लर्कोले हामी सबैको ध्यान खिचिरहेको थियो । पानीमा हाल्नुअघि सेतो देखिने फुल पानीमा डुबाउन नपाउँदै उसिनिइसक्थ्यो र निकाल्दा सेतो रूप गुमाएर पूरै कालो भइसक्थ्यो । हाकोनेको प्रमुख आकर्षणमध्येको अर्को प्रमुख आकर्षण थियो यो ओवाकुदानीको फुलचमत्कार ! 
कुखुराको त्यही कडासँग उसिनिइएको फुल “कुरो–तामागो” किनेर खानेको ताँती थियो ओवाकुदानीमा । कोही उपहार तथा खानेकुराको विक्री गर्न त्यहीँको पसलमा राखिएको काँचो फुल किनेर आफैं पानीमा डुबाउँदै खाँदै गरेका देखिए, कोहीे उसिनेरै बेच्न राखेको फुल किनेर खाँदै थिए । जापानीहरूको विश्वास रहेछ एउटा “कुरो–तामागो” खाँदा मान्छेको सात वर्ष आयु बढ्छ । तर दुईटा र आधाभन्दा बढी भने खान हुँदैन रे, खायो भने अनर्थ हुन्छ रे । किन होला, २१ वर्षभन्दा बढी उमेर बढाउन खोजेमा अनर्थ हुने ? त्यसको जवाफ कतै भेटिएन । जापानीहरूको यो परम्परागत विश्वास पनि कम रमाइलो थिएन । त्यही विश्वासका कारण फुल खाएर आयु बढाएको भ्रम साँचिरहेको लामै लाम थियो मानिसको ! प्रष्ट थियो, ज्वामुखीको कारण प्रकृतिले नै तताएको भक्भकी उम्लेको पानीमा डुबाउन नपाउँदै फुल उसिनइसक्थ्यो । त्यसरी उसिनइएको फुलको गन्ध गन्धकजस्तै आउँथ्यो र पानीमा मिसिएको गन्धक र फलामले गर्दा नै बोक्रादेखि भित्रैसम्म कालो बन्थ्यो त्यो फुल । 
ओवाकुदानीको त्यो रोमाञ्चक रमाइलो लछाडेर हामी लाग्यौं फेरि केबलकार तर्फ । अवको हाम्रो गन्तव्य थियो हाकोने पहाडको अर्को पाखोको फेदीमा रहेको तोगेन्दाई स्टेसन । त्यो फेदीको आसी तालसम्म पु¥याउन हाकोने कोमागाताके रोपवे तम्तयार थियो । यो रोप वे चाहीँ हाम्रो मनकामनाको केवलकारजस्तै देखिन्थ्यो । वायुभ¥याङ (एरियल लिफ्ट) पनि भनिने यो रोपवेले सेन्जानबाट हाकोनेका ओवाकुनदानी हुँदै तल फेदीको तोगेन्दाइलाई जोड्थ्यो । यसरी तलमाथि गर्ने यो हासिकुरासान रोपव जापानकै दोस्रो रोपवे रे ! लेक आसी पुग्ने आकर्षक दृश्वावलोकन मार्गको प्रमुख साधन थियो यो रोपवे । सन् २००१ सम्म यो सिंगल लाइन मात्र रहेछ । सेन्जानदेखि ओवाकुदानी बीचको यसको लम्वाइ लगभग डेढ किलोमिटर थियो । 
यो रोपवेको यो यात्रा अर्को रोमान्च थियो हाम्रालागि । मतापमा बिस्तारै माथिबाट तल झरिरहेको यो केवलकारजस्तै रोपवेबाट देखिने चारैतिरका रमाइला दृश्य साँच्चिकै आकर्षक थिए ! कतै अग्ला पहाड, कतै उपत्यकाको गहिरो गल्छीजस्तो निकास ! कतै पानी जमेका विशाल ताल र कतै ज्वालामुखी फुट्दा निस्केर बग्दाबग्दै जमेका लाभा अनि तिनै लाभामाथि हुर्केका बाक्ला बनजंगल ! साँच्चि नै मनोरम थियो यहाँबाट देखिने दृश्वावली ! ओकुवादानीबाट देखिने आसी तालको नीलो सफा पानी, मुखबाट धुवाँका मुस्ला फालिरहेका ओकुवादानी ज्वालामुखीका अनेकौं मुखहरू, र सफा मौसमा देखिने फुजी पर्वतको अत्यन्त सुन्दर दृश्य साँच्चिकै उल्लेख्य थिए ।
तलको तोगेन्दाइ स्टेसन छेउको आसी ताल आजको अन्तिम भ्रमणबिन्दु थियो हाम्रो । सन् ७५० मा हाकोने पहाडमा भएको ज्वालामुखी विष्फोटमबाट निस्केका लाभा जमेपछि निकास छेकिएर बनेको रे १९ किमि व्यासमा फैलिएको यो आसी ताल ! यतिबेला पनि तातो पानीका झरनाहरूमा नुहाएर आनन्द लिने र जहाज र डुङ्गामा चढेर आनन्द लिँदै तालभ्रमण स्वदेशी विदेशी पर्यटकको सङ्ख्या प्रशस्तै देखिन्थ्यो । तालको बीचमा उभिएको ऐतिहासिक मन्दिर केही परबाट धर्मावलम्वीहरू मात्र होइन, पर्यटकलाई समेत समान रूपले लोभ्याइरहेको थियो । कालाडेराको पश्चिमपटि स्थानीय सन्गोकुवारा क्षेत्रमा रहेको यो विशाल आसी तालमा समय नपुग्ने भएकोले जहाज चढेर घुम्न पनि पाएनौं हामीले । 
सफा मौसममा हाकोनेका तीन ठाउँबाट प्रष्टसँग फुजी शान देन्छि रे ! ती तीन ठाउँ थिए– हाकोने रोपवे, हाकोने माची नजिकैको दृश्यावलोकन स्थलको ताल अनि मोतो हाकोने र हाकोने डुटताचेड प्यालेस गार्डेनको अवलोकन स्थल ! 
यही ओदाक्यु हाकोनेको तोगेन्दाइ अवकोकन स्थल र जहाज चढ्ने प्लेटफार्ममा हामीले केहीबेर थकाइ मा¥यौं ! त्यहीँको डिपार्टमेन्टल पसलमा केही किनेर भोक मा¥यौं । केहीबेर तालको अवलोकन गर्दागर्दै समय चिप्लिइहाल्यो । वादलले गर्दा तालको सहतमा प्रतिबिम्बित देखिन्छ भनेको फुजी सानलाई देख्न पाइएन । बेलुकाको साढे पाँच बजिसकेकोले हामीसँग अब फर्कनुको विकल्प थिएन । सय किलोमिटर टाढाको टोकियो पुग्न पनि त निकै समय लाग्थ्यो । त्यसैले चाँडो गर्नैकालागि रोप वे र केबल कारबाट साँझको सुन्दर दृश्य हेर्दै फर्कने लोभ समेत पन्छाएर फर्कँदा रोपवे र केवलकारतिर लागेनौं हामी र बस समात्यौं, रेलसम्म पुग्नक लागि । जे होस्, कहिल्यै नबिर्सने बन्यो आजको एकदिने टोकियो बाहिरको यो भ्रमण ! 
विकल प्रतिष्ठान, आरुबारी