Wednesday, November 7, 2012

संस्मरण अब कहिल्यै सुन्न पाउन्न म त्यो स्नेहिल स्वर ! –विजय चालिसे

(आँखा साहित्यिक मुखपत्र १८, वर्ष ४३, अङ्क १८२०३९ असोजमा प्रकाशित)


“विजय सर, भोलि  कार्यक्रम छ, कार्ड त फेला पर्नु भयो होला नै, आउनु पर्छ है !” प्राय फोनको घण्टीसँगै सुनिने उहाँको त्यो आवाज अब सुनिँदैन कहिल्यै !
उहाँ अर्थात् घटराज भट्टराइलाई म सधैं दाइको सम्बोधन गर्ने गर्थें ।  दाइ भन्थेँ मात्र होइन, आफ्नै दाजुभाइको भन्दा बढी सम्मानभाव पनि राख्थेँ उहाँप्रति । मेरा आफ्ना कुनै दाजु नहुनुको कारण पनि हुसक्छ उहाँमा म दाजुकैजस्तो अभिभावकत्वको छहारी अनुभव गर्थें र पाउँथेँ  भाइकैजस्तो स्नेह र सद्भाव ! पशुपति क्याम्पसमा उहाँकै सहयोगी शिक्षक भएको कारण उहाँ भने सधँैं मेरो नामको पछाडि “सर”को फुर्को जोडिदिनुहुनथ्यो । उहाँकै आग्रह र अभिभावकत्वमा मैले २०४२ सालदेखि निरन्तर पशुपति क्याम्पसमा आंंशिक समय पढाउँदै आएको छु । हुन त उक्त क्याम्पस स्थापनार्थ बसेको पहिलो भेलाको पनि सहभागी नरहेको होइन म, तर विभिन्न कारणले गर्दा संस्थापन कालमा प्रध्यापक समूहको सदस्य बन्न सकिन मँ । विद्यालय स्तरको शिक्षण कार्य छाडे.र गोरखापत्रमा उपसम्पादकका रुपमा प्रवेश गरी बेलायतको छ महिने तालिम लिएर फर्केको वर्ष अर्थात् २०४२ को शैक्षिक सत्रमा भने घटराज दाइकै आग्रह र आकर्षणले मलाई पनि आफ्नो परिवार बनाइ छाड्यो पशुपति क्याम्पसले । यसरी आजपर्यन्त यो क्याम्पसमा आंशिक रुपले कार्यरत रहने यो अवसर मेरो चाहनाको प्रतिफलभन्दा पनि बढी उहाँकै सदासय थियो, उहाँकै आग्रह थियो । यो म कहिल्यै बिर्सन सक्दिन ।
उहाँसँगको मेरो पहिलो साक्षात्कार भने ३०–३१ सालतिर भएथ्यो सायद चारखाल स्थित जिल्ला प्रशासन कार्यलयमा । त्यति बेला उहाँ काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रशासक हुनुहुन्थ्योजस्तो लाग्छ । मैले धेरथोर पढ्दै आएका कवि–समालोचक घटराज भट्टराईसँगको त्यो परिचय र भेट उहााको मृत्युपर्यन्त स्नेह र सद्मावको सम्बन्ध रह्यो, जुन सबैसँग रहन सक्दैन ।
    नयाँ शिक्षा प्रणाली लागु भएर पहिलो समूहको प्राइभेट परीक्षा खुले पछि एम एको प्रथम वर्षको परीक्षा उत्र्तिर्ण गरी २०३५ सालमा म राष्ट्रिय विकास सेवा अन्तर्गत डोटी पुगेँ । त्यसकै प्रतिफल निकै मिहिनेत गरेर सङ्कलन गरेका सामग्री हरूको उपयोग गरेर मैले “डोटेली लोक संस्कृति र साहित्य” शीर्षक शोधपरक कृति तयार गरेँ । त्यसमा भूमिकाका लागि अनुरोध गर्ने क्रममा मेरो मनामा आएको पहिलो नाम थियो घटराज भट्टराई । बाबा (रमेश विकल) बाट पनि त्यसका लागि स्वीकृति पाएपछि एक दिन फैकास्थित उहाँकै निवास पुगी सङ्कोच मान्दै पाण्डुलिपि दिएर भनेको थिएँ– एनडिएस बस्दा डोटीको लोक संस्कृतिसम्बन्धी एटा पुस्तक तयार गरेको छु, त्यसमा दाइले भूमिका लेखिदिनुहुन्छ कि भनेर दुःख दिन आएको ! मनमा कता कता डर थियो, एउटा सिकारु लेखकको पहिलो यस्तो कृति, कतै उहाँ फुर्सद छ्रैन, अरुलाई नै लेखाउनोस् भनेर पन्छने पो होकि । तर आफूभन्दा पछिका लेखकलाई हरतरहले उत्साह दिने घटराज दाइले पाण्डुलिपि केही बेर सर्सति हेरेर भन्नु भयो– निकै मिहिनेत गर्नुभएको रहेछ, म लेख्छु । एक हप्ता पछि लिन आउनुहोस् न है ! उहाँको त्यो स्वीकृतिबाट उत्साहित भएर फर्केको थिएँ म त्यस दिन । नभन्दै एकहप्ता पछि जाँदा भूसिमका तयार थियो । साझा प्रकाशनले पनि त्यो पाण्डुलिपि स्वीकार ग¥यो २०३९ मा प्रकाशनमा आयो मेरो “डटेली लोक संस्कृति र साहित्य” । त्रिभुवन विश्वविद्यालयले पनि लोक संस्कृति विषयक पाठ्यक्रममा सन्दर्भ पुस्तकका रुपमा समावेस गरेर मेरो यत्साह बढाइदियो र यसरी यो पुस्तक छापिनु र विश्वविद्यालयको पाठ्यक्रममा रहनुमा पनि परोक्षमा घटराज दाइको भूमिका र सहयोगले पनि ठूलै काम गरेको हुनुपर्छ ।
त, “विजय सर, भोलि फलानो कार्यक्रम छ, कार्ड त फेला पर्नु भयो होला नै, आउनु पर्छ है !” भन्ने उहाँको त्योे आत्मीयतापूर्ण आमन्त्रण प्राप्त गर्ने सौभाग्य उहाँको असामयिक देहावसन पछि अब मैले गुमाएको छु । ममात्र होइन मजस्ता धेरै धरैले यो सौभाग्य गुमाएका छौं ? उहाँकान सान्निध्यलाभ गुमाएको छौं । अल्प तर मीतभाषी सधैं स्थितप्रज्ञ झैं लाग्ने घटराज दाईको त्यो आत्मीयता पूर्ण सम्बन्धको पूर्ति संभवतः अरुबाट संभव छैन मजस्ता धेरैका लागि ।
बासस्थल राजधानीको केन्द्रदेखि लगभग १०–१२ किलोमिटर टाढारहेको उत्तरपूर्वी गाउँ फैका, राजधानीको केन्द्रमा अवस्थित रत्नराज्य क्याम्पसमा बिहान सबेरैको अध्यापन र पशुपति क्याम्पसको सम्पूर्ण व्यवस्थापन भार ! त्यतिले नपुगेर डेढ–दुई दर्जन साहित्यिक, सामाजिक र सांस्कृतिक संस्थाहरूको जिम्मेवारीपूर्ण पदाधिकार, मजस्तो एउटा सामान्य मानिसको सक्रियताले भ्याउन सक्ने कुरा थिएन सायद । तर घटराज दाइ त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जो धेरैका लागि असम्भव ती भारहरूलाई एक्लै सफलतापूर्वक बहन गरेर चुनौती दिन सफल देखिनु हुन्थ्यो । केही वर्ष यता जुन यातायातको सुविधा विस्तार भएको छ, शुरुमा त त्यो पनि थिएन । फैकादेखि चावहिल वा बौद्धसम्म हिँडेर मात्र बस वा त्यस्तै कुनै यातायातको साधन उपलब्ध हुनसक्थ्यो राजधानी सहर पुग्न । चाहेको भए मोटर साइकल मात्र होइन, सानोतिनो मोटर किनेर पनि त्यो कष्टमय यात्रालाई सुगम तुृल्याउने हैसियत सायद नभएको होइन जस्तो लाग्थ्यो उहाँसँग । तर सधैं सादा जीवन–उच्च विचारको दर्शनलाई आफ्नो जीवको प्रयोगशाला बनाउँदै आउनुभएका घटराज दाइ त्यस्ता कुरामा खर्चेर विलाशितापूर्ण जीवन बाँच्नुभन्दा आफ्ना साधन र स्रोतले आफ्नै वरिपरिका आश्रित परिवार, भाइभतिजा, नातागोतालाई सहयोग पु¥याउनुमैं बढी आफ्नो कर्तव्य ठान्नु हुन्थ्यो सायद र, आफू परिश्रमलाई पूजा ठानेर आननन्दित रहनुहुन्थ्यो । आफ्नै मिहिनेत, अथक परिश्रम र आफ्नो क्षेत्रमा निरन्तरको समर्पणबाट आप्mनै भरमा माथि उठेका घटराज दाइको सबैभन्दा ठूलो विशेषता र अनुकरणीय पक्ष पनि संभवतः यही थियो । उहाँको त्यो कहिल्यै नथाक्ने गतिशीलता र परिश्रम देखेर मलाई श्रद्धेय साहित्यकार श्यामप्रसाद शर्माले आफ्नो एक घण्टा विताउन शीर्षक निबन्धमा परोक्ष उल्लेख गर्नु भएका अर्का श्रद्धेय दाजु स्वर्गीय वलराम श्रमजीवीको सम्झना हुने गथ्र्यो, जसलाई निन्धमा श्यमप्रसाद दाइले सबै काम ठीक समयमा गर्ने अर्थात घडीको सुइको चालमा चल्ने समयचेतका उदाहरणका रुपमा प्रस्तुत गर्नु भएको थियो । सुविधाविहीन काँठमा बसोबास गरेर सहरी सुख सुविधाभोगीहरूसँग प्रतिस्पद्र्धामा खरो उत्रने स्वयम् मेरा पिताजीजस्तै आफ्नो प्रेरण स्रोतकामा रुपमा म स्वर्गीय भैरव अर्याल पछि घटराज दाइलाई नै पाउने गर्छु । घटराज दाइको अनेकौं पुरस्कार संस्था र साहित्यिक सामाजिक संघसंस्थाहरूसँगको सक्रिय संलग्नाता, अझ ती संघसंस्थालाई जीवन्तता दिने निरन्तरको सक्रियता साँच्चै नै अनुकरणीय लाग्थ्यो मलाई ।
त्यो व्यस्तता र सक्रियतामा पनि हरेक वर्षजस्तो नयाँ नयाँ कृतिहरूको सिर्जना– कति बेला लेख्ने होला ? यो मेरे सधैंको प्रश्न रहने गथ्र्याे । रक्सी सेवन विना आधुनिक साहित्यकार–पत्रकार बन्न नसकिने भ्रमित धारणाका बीच चुुरोटसम्मको दुव्र्यसन नभएका घटराज भट्टराई त्यस्ता भ्रान्त धारणाको ज्वलन्त दृष्टान्त लाग्नुहुन्थो मलाई ! सुन्थेँ– विहानै तीन चार बजे उठेर नित्यकर्म, पूजापाठ सकी आफैं गाई दुहेर आफैंंले तताएको एक गिलास दूध पिएपछि घर छाड्ने घटराज दाइ बेलुका घर फकँदा रात परिसकेको हुन्थ्यो । अध्यापन, क्याम्पस व्यवस्थापन, अन्य विभिन्न संस्थाहरूको मिटिङ–कार्यक्रम भेटघाटमा सिङ्गो दिन बाहिरै बिताएर रात छिप्पिएपछि घर फर्कने दैनिन्दिनमा दिभरको त्उयो थकाइ बिर्सेर रात अबेरसम्म लेखनमा हराउनुकै प्रतिफल थिए ती निरन्तरका सिर्जनाहरू; ठेलीका ठेली पुस्तक र सिर्जना–अनुसन्धानका प्राप्तिहरू ! कहिले कतै कसैबाट सुनिने गथ्र्यो– सङ्ख्या भए पनि स्तरमा त्यति गंभीरता रहेन लेखक–अन्वेषक घटराज भट्टराईमा । त्यस्तो सुन्दा लाग्थ्यो– होला, तर सङ्ख्या नभई स्तर पनि त हुँदैन । तर पनि साहित्य सेवाका नाउँमा राष्ट्रका समस्त स्रोत–सामग्रीमाथि कुण्डली मारेर सुविधापूर्ण अन्वेषण–अनुसन्धान गर्ने केही अन्वेषकका शोधभन्दा निश्चय पनि कम लाग्नैनन् मलाई घटराज दाइका शोध अनुसन्धान ! कहिले आसाम, कहिले सिक्किम र कहिले तिनै कुण्डलीमार सुविधाभोगी भाषा–साहित्य सेवीहरूको निगाहमा मात्र त्यस्ता सामग्री हेर्न पाउने साधन–श्रोतविहीन घटराज–शरद्चन्द्र–शिवरेग्मीजस्ता जस्ता सच्चा साहित्यिक खोजकर्ताहरुको योगदान ती कोठैमा सबै साधन उपलब्ध गराउन सक्षम सुविधाभोगी अन्वेषकहरूका भन्दा धेरै मुल्यवान लाग्छन् मलाई ! विभिन्न पुरस्कार र सम्मानबाट सम्मानीत, कवि, यात्रानिबन्धकार, अन्वेषणपरक जीवनीकार र समीक्षक, प्रतिभै प्रतिभा र नेपाली साहित्य, नेपाली लेखक कोश, डोल्पाकी छोट्टी, गोसाइँकुण्ड, भानुयात्रा, आशुकवि शम्भुका काव्यकृति, लुकेका कवि र कविता, माध्यमिक कालीन कवि र कविता, शम्भुरचनावली, प्राचीन पद्यसङ्ग्रह, महाकवि देवकोटाको जीवनी आदि के तिनीहरूले भनेजस्तै सबै स्तरहीन छन् त ? यसको उत्तर सायद इतिहासले दिने नै छ । एकेडेमीले लाखौंको बटेट छुटएर बनाउन नसकेको लेखक कोष एक्लै आफ्नो परिश्रममा तयार गरेर देखाइदिने घटराजको योगदाना लाग्छ, कसैले छोप्न खोजेर पनि छोप्न सकिँदैन ।
सगरमाथाको ओखलढुङ्गा सेर्नामा जन्मिएर प्रशासन सेवा त्यागी प्राध्यापन र भाषा–साहित्यलाई आफ्नो जीवनको अभीष्ट ठान्नुबाट उहाँको सेवामुखी प्रवृत्ति प्रष्ट हुन्छ । लोक सेवा दिएर प्रशासन सेवामा लागी प्रशासनिक उच्च पदमा पुगी पद, प्रतिष्ठा र जायज–नाजायज सम्पत्ति आर्जन गर्ने पढेलेखेका धेरैको इच्छा हुन्छ । ३० को दशकमैं शाखा अधिकृत बनिसकेका घटराज दाइले प्रशासन सेवमां रहेर ती कुरा प्राप्त गर्नु असम्भव थिएन । तर पद छउञ्जेल पाइने पदीय सम्मानलाई भन्दा शिक्षा–भाषा–साहित्यको समर्पणपूर्ण सेवाको बदलामा पाइने आम नेपालीको स्नेह र मायालाई नै सर्वोपरी ठान्ने उहाँको  दृष्टिबोधकै कारण हुनु पर्छ सरकारी अधिकृतको सेवा समेत त्यागेर सेवाको यो क्षेत्र रोज्नु भयो उहाँले । प्रशासनमैं रहेको भए उहाँले पद पाउनुहुन्थ्यो होला, जायज–नाजायज आर्जनले भौतिक सम्पत्ति पनि आर्जन गर्नु हुन्थ्यो होला, तर लोकप्रिय प्राध्यापक, शिक्षा क्षेत्रका सफल संयोजक र सफल अन्वेषक–सत्यिकार–भाषासेवीका रुपमा यति धेरै लोकप्रियता र इज्जत भने सायद पाउन सक्नुहुन्नथियो होला । यी दुईमध्ये एकको छनोट कुनै वाध्यता थिएन । उहाँको आफ्नै स्वेच्छाको छनोट थियो जसबाट पनि उहाँभित्रको व्यक्तित्वको पक्ष प्रष्ट हुन्छ ।
यो मुलुकको विडम्बना नै भन्नु पर्छ शोध–सिर्जना र योगदान तथा प्राज्ञिक दृष्टिले घटराज भट्टराईको कँध नभेट्ने कतिले नामको अगाडि डाक्टर (पी.एच.डी.) र प्राध्यापकको विश्वविद्यालयीय उपाधिको फुर्को गाँसने अवसर पाएका छन्, जसबाट उहाँलाई वञ्चित गरायो त्रिभुवन विश्वविद्यालयलय । एकेडेमीमा नपुगी प्राज्ञ नहुने नेपाली विडम्बनामा देखिने अर्को थप विडम्बना विश्वविद्यालयको डिग्री बेगर जति विद्धता र योग्यता भए पनि विद्वान् र प्रतिस्पद्र्धी नठानिने मानसिकताका शिकार घटराज भट्टराई आफैं बन्नु पुग्नु भयो । सतीको श्राप परेको भनिने यो मुलुकमा घटराजहरू यसरी नै पछि पर्छन् र कथित ठूलाहरूको ठेकेदारी गद्दी वरिपरि गणेशपरिक्रमा गरेर गूटउपगूटको घेरा बनाउन सफलहरू विना क्षमता–योग्यता घटराजहरूलाई पाखा पारेर सधैं दानवी अट्टहास छाड्ने गर्छन् ।  
साहित्य, भाषा–साहित्य र शिक्षा सेवामैं सम्पूर्ण जीवन उत्सर्ग गर्ने घटराजदाइजस्तो बहुआयामी व्यक्तित्व विरलै हुने गर्छन् ।
आरुबारी
कात्तिक २७, २०६३


जापानी कथा अभिशप्त रात writer सातोमी तोन अनुवादः विजय चालिसे

नवयुग २०६९ असोज अंकमा प्रकाशित


(जापानलाई फूलैफूलको देश, साकुराको देश भनिन्छ । थरी थरीका फूलको सौन्दर्यका पारखी हुन् जापानी जनता ! तिनै फूलमध्ये चेनी वासाकुरा फूलको सौन्दर्य त्यसको पत्रपत्र झरेर सबै धरतीलाई रङ्गीन बनाउनुमा छ– जापानीहरूको विश्वास हो यो । त्यसरी नै क्यामेलियाको फुस्रो खाले रातो पूmल भने पत्रपत्र भएर झर्दैन, सिङ्गै पूmल झर्छ रे मानिसको गिँडिएको शिरजस्तो– पूरै टुक्रिएर ! जापानीहरूको विश्वासमा क्यामिलियाको फूल झर्नु अशुभको सूचना हो ! वान्तो (टोकियो–योकोहामा भौगोलिक क्षेत्र) मा गएको महाभूकम्प लगत्तै भएको विनाशको पृष्ठभूमिमा लेखिएको प्रस्तुत कथा मूलतः क्यामेलियाको त्यही फूल झर्नु अशुभ हुन्छ भन्ने अन्धविश्वासमाथि आधारित रहेको छ । यो कथाको प्रकाशन सन् १९२३ मा भएको हो । )
     उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको थियो ।
    पत्रिकाको पन्ना पल्टाउँदैगर्दा उसका आँखा बीस वर्षीय युवती भतिजीतिर पुगे । ती दुवैको विछ्यौना लगभग जोडिएको थियो, आधा फिटको पनि फरक थिएन होला । झन्डैझन्डै जोडिएजस्तै ! भतिजी ऊतिरै फर्केर सुतेकी थिई । मस्त निद्रामा परेकी भतिजीको अनुहार अत्यन्तै सुन्दर थियो । मखमली कम्बलले पूरै ढाकिएको उसको शरीरबाट कम्बलबाहिर आँखा मात्र देखिएका थिए । उसले भतिजीको अनुहार पहिलोपल्टझैं गडेर हेरी, एकोहारो । ऊ मनमनै भन्दै थिइ्– कति सोझी र सरल छ यो केटी !
ऊ भतिजीसँग हाँसखेल गर्न चाहन्थी, खुलेर हाँस्न चाहन्थी । उता भतिजी साँचोमा कुँदेकी मूर्तिजस्तै निश्चल, शान्त निदाइरहेकी थिई । यतिसम्म शान्त कि...उसले सास फेरेको आवाज समेत सुनिँदैनथ्यो । ऊ मनमनै हाँसी । भतिजी निदै्रमा चल्मलाएर कोल्टे फर्कँदा भुइँमा भर्खरै फेरिएको हलुका तातामी (चकटी) केही स¥यो, र त्यसबाट निस्केको हावाको मसिनो झोक्काले भतिजीको अनुहारमाथि असरल्ल फैलिएको नरम कपाल फर्फरायो ।
केही बेर ऊ पत्रिकामा पढ्दै गरेको कथा कहाँ पुग्यो भनेर सम्झने कोशिसमा हराई । निद्रा आँखाबाट कोसौं टाढा भागिसकेको थियो ।      
    बाहिर कतै टाढा...रेलको इन्जिनले लामो सिट्ठी बजायो । त्यस्ता यदाकदा सुनिने छिटपुट आवाज बाहेक रात अत्यन्त शान्त थियो, निस्तब्ध ! यस्तो निस्तब्धता उसले यसअघि अनुभव गरेकी थिइन । उसलाई घरधन्दा गर्ने सहयोगी महिलालाई पनि उठाएर आफ्नै नजिक ओछ्यान जोडेर सुताउँजस्तो लाग्यो । त्यसो भए तीनैजना सँगै हुन्थे । तर रातको यतिबेला उसलाई उठाउनु पनि ठीक लागेन । ऊ फेरि पढ्नमैं मन भुलाउन थाली । कथामा नायक नायिकाको सम्बन्ध चरम सीमामा पुगेको थियो र पनि त्यस्तो कुनै खास घटना भएको थिएन । पुरुष पात्र निर्जीव निर्जीव भएकोले उसको सम्झनामा उत्रिन सकेको थिएन । त्यसैले उसलाई कथाका कुनै कुराले पनि खाुसै आकर्षित गर्न सकेको थिएन । र पनि ऊ कथा भने निरन्तर पढिरहेकी थिई ।
    फट्ट......। उसको तकियाको नजिकैबाट आवाज आयो । रातको निस्तब्धतामा आएको त्यो आवाजले मौनता भङ्ग गरिदियो ! अकस्मात आएको थियो त्यो आवाज । न त्यो आवाज आउनुअगि केही भएको थियो, न आवाज आएपछि नै केही भएको थियो । तर पनि उसको अनुमानमा निश्चित रूपले पक्कै केही कुरा चटाइमाथि खसेको हुनुपथ्र्यो ।  के हुनसक्छ त्यो खसेको कुरा....? जे होस्, उसले त्यो खसेको कुरा हेर्ने साहस जुटाउन सकिन । पत्रिकालाई बिस्तारै ओछ्यानमाथि राखेर आफ्नो वायाँ हात पनि कम्बलभित्र घुसारी र दुबै हात छात्तीमाथि राखी । भर्खरै भित्र घुसारेको चिसो हात पनि भित्रको तातोहातको न्यानोमा डुब्यो ।      
    भतिजीको चिच्याएको आवाज सुनियो । भतिजीका तिखा आँखा उसैलाई गौरसँग नियालीरहेका थिए ।
“के हो, के भयो सेच्यान ?” चिच्याएको सुनेर उसले भतिजीलाई सोधी ।
फुपूको प्रश्नमा केटी कम्बलसमेत उठी र फुपूको जिउमाथि शिर राखेर पल्टँदै भनी, “केही होइन !”
“सेच्यान, भनन के भयो ?”
सेच्यानले शिर केहीमाथि उचाल्दै भनी, “नसोध्नोस्...मलाई केही थाहा छैन... !”
उसले भतिजीको शिर आफ्नो जिउबाट पन्छाइ र ओछ्यानमाथिको तकियाभन्दा परसम्म आँखा तानेर हेरी । ओछ्यानभन्दा केही पर झ्यालको छेउमा सजाइएर राखेको क्यामिलियाको फूल भुइँमा खसेको थियो । पुरानो घरबाट आउँदा बगैँचामा फुलिरहेको क्यामेलियाको पूmल छाडेर आउन सकिन उसले र हाँगैसमेत भाँचेर ल्याएकी थिइ । त्यही क्यामेलियााको केही पूmल हाँगैससमेत भ्mयालछेउको फूलदानीमा सजाएर राखेकी थिई ! उसको भ्mयालको हरियो पू्mुलदान रातो क्यामेलियाको एक साता पुराना फूलले लगभग ढाकिएको थियो ।
“केटाकेटीपन नगर !” उसले भतिजीलाई सान्त्वनाभरिएको स्वरमा स्नेहपूर्वक भनी । फुपूको सान्त्वनापछि सेच्यान ओछ्यानबाट उठी ।
“के भयो र ?” सेच्यानले सोधी ।
“त्यही त... म पनि सोध्दै छु !” फुपूले भनिन्, “ तर तिमीले....!”
“मैले केही गरेको छैन ?”
“केही गरिन रे ? किन चिच्याएर मलाई त्यसरी आधा आँखा तरेकी त ?”
“तपाइँ त पहिले नै डराउनु भएको थियो । पढ्न समेत छाडेर हात कम्बलभित्र लुकाउनु भएको थियो त्यतिबेला ! कि होइन ?”
“तिमीले देखेकी थियौ र ?”
“मैले त घरमा चोर पस्यो कि भन्ने पो ठानेकी !”
“मूर्ख कुरा नगर न ! ब्युँझन चाहिँ कसरी ब्युँझ्यौ नि ?”
“तपाइँले बोलाएपछि त ब्युँझेकी हुँ नि !”
“ के भनेकी ? कहाँ बोलाएँ र मैले तिमीलाई ?”
“के...रे...? तपाइँले बोलाएको होइन ?”
“होइन त !”
त्यसो भए सपना देखिछु क्यारे ।”
“त्यो आवाज क्यामेलियाको थियो सायद्, क्यामेलिया खस्दा निस्केको आवाज ।”
“होइन...होइन, त्यस्तो कुरा नगर्नोस !”  सेच्यान फेरि फुपूसँगै टाँस्सिई ।
“सेच्यान, किन तिमी यतिबिन तर्सिएकी हँ ?”
“तपाइँले किन यस्तो कुरा गर्नुभएको त !”
“मैले के त्यस्तो कुृरा गरेँ र डराएकी त तिमी ? आफैं हेर न, फूलदानीबाट भुइँमा क्यामेलियाको फूल खसेको !”      
“अहँ...म हेर्दिन...!
“पागल नबन न ! क्यामेलियाको हाँगाबाट एउटा पुूmल झरेको थियो अगि, त्यसैको आवाजले तिम्रो निद्रा खुलेको हुनुपर्छ ।”
“ओहो...त्यतिमात्रै हो त ?” सेच्यानले टाउको घुमाई र डराउँदै फुपूको काँधमाथिबाट चियाएर झ्यालतिर हेरी ।
“ओहो...त्यो फुस्रो रातो फूल कति कति डरलाग्दो देखिएको !”
“रातो हेस् वा सेतो फूल झर्ने बेला भएपछि झरिहाल्छ नि !”
“तर..तर कस्तो रगतमा रङ्गिएजस्तै फोहर देखिएको !”
“टिपेर फालिदेऊ न त ...!”
“अहँ.. म त सक्दिन फ्याँक्न, तपाइँ नै फालिदिनोस् न !”
“ठीक छ त, त्यहीँ रहोस्, के नै हानि हुन्छ र ? विहान उठेर फालौंला !”
“होइन...हेर्नै सक्तिन म त यो !”
“नचानिे कुरा नगर ! मलाई सुत्न देऊ ।” यसपल्ट उसले झर्किँदै भनी । भतिजीलाई एकातिर धकेलेर ऊ कम्बल टाउकोसम्मै तानेर सुती ।
“तपाइँ त बेइमन हुनुहाँदोरहेछ, फुपू !” फुपूले धेकेल्दा केही डराएकी सेच्यान जहाँको त्यहीँ कम्बल तानेर गुटुमुटु हुँदै सुती, मानैंो डर भगाउन खोज्दै थिई ऊ । 
कम्बलभित्र दुबै निस्तब्धतामा डुबे । सेच्यान केहीबेर चुपचाप पल्टिरही । तर केहीबेरमैं निस्सास्सिएजस्तो भएपछि डराउँदै बिस्तार टाउको कम्बलबाहिर निकाली । फपू अर्कोतिर कोल्टे पर्केर सुतेकी थिइ । कम्बल अगिजस्तै फुपूको गर्धनसम्मै तानिएको थियो । सेच्यान अर्को कोल्टे र्फिर्कई ।
बत्तीदानी अर्थात् ल्याम्पसेडबाट निस्केको मधुरो उज्यालो कोठाको पर कुनासम्म फैलिएको थियो । काठको सुपरिचित पर्दामा कुाँदिएकी सत्रौं शताब्दीकी सुन्दरीको बहुमूल्य चित्रको  अनुहारमा मृत्युको छाया परेजस्तै लाग्यो उनीहरूलाई ।
“लौन...मलाई त डर लाग्यो !” सेच्यान डराएर फेरि कोल्टे फेरि ।
सेच्यानको छटपटाहट देखेर उसलाई हाँसो उठ्यो । यो हँसी उसको स्वभावभन्दा विपरित थियो । ज्यादै कम अवसरमा मात्रै हाँस्थी ऊ । तर यतिबेला ऊ नरम कम्बल नाकसम्म तानेर मज्जाले हाँसी । आँखा चिम्लििएर हाँस्दै थिई ऊ लामोसमयसम्म । सुरुमा सेच्यानले उसलाई देखेर पनि नदेखेजस्तै गरी, तर कतिबेर ?
सेच्यानले फेरि फुपूको अनुहारमा हेरी । तर यतिबेला फुपूको अनुहार उसको आफ्नै अनुहार जस्तै देखी उसले ! सेच्यान आफैं पनि मरीमरी हाँस्न थाली । सेच्यान हाँसेको आवाजले उसको हाँसोले बिथोलियो । ठन्डी रातको शान्त वातावरण उनीहरूको हाँसोले नराम्ररी बिथोलियो । उनीहरूको मनमा काउकुती लागेजस्तै भइरहेको थियो र, हाँसिरहेका थिए एकनास ! उनीहरू हाँसो दबाउने कोशिस गर्थे, तर मनमनै लागेको काउकुतीले हाँसो थाम्नै दिँदैनथ्यो । अनौठो स्थिति थियो, ऊ जति सोच्थी उसलाई सबै कुरा त्यत्ति नै हास्यास्पद लाग्थ्यो !
रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी
२०६९ भदौ १९ ।                 


नेपाली प्रगतिशील पत्रकारिता विजय चालिसे


(गोप कर्मचारी संघ २०६७ बाट प्रकाशित स्मारिका २०६९ असोजमा प्रकाशित)


साहित्यिक पत्रकारिताको विश्वसन्दर्भ
आधुनिक पत्रकारिताको अवधारणा नै पश्चिमबाट आएकोले साहित्यिक वा अन्य विषयगत पत्रिकाको अर्थ पनि अङ्ग्रेजीको म्यागाजिनकै अर्थमा खोज्नु पर्ने हुन्छ । इन्साइक्लोपिडिया एन्कार्टाले समाचार, लेख, कविता, कथा वा अन्य प्रकारका लेखन समाविष्ट निश्चित समयमा नियमित प्रकाशित हुने प्रकाशनलाई आवधिक प्रकाशन वा म्यागाजिन भनेको देखिन्छ । यो स्वरूप–संरचनाका हिसाबले पनि समाचारपत्रभन्दा भिन्न हुन्छ । अधिकांश अखबारले समाचारलाई प्राथमिकता दिन्छन्, आवधिक प्रकाशनका पत्रिकाले विशेष प्रकारका घटना र समाचारको विश्लेषणपरक सामग्रीलाई आफ्नो प्राथमिकतामा राख्दछन् । यो विशिष्ट उद्देश्यभित्र सामग्रीहरूको सन्तुलित समायोजनलाई ध्यान दिइन्छ । सन् १९९०को दशकयता इण्टरनेटको विकासले अखबार र आवधिक प्रकाशनको यो संरचनागत स्वरूपमा भने ज्यादै झिनो मात्र अन्तर देखिन थालेको छ ।
पश्चिमी पत्रिकाको विकास हेर्ने हो भने जर्मनीको एर्वाबाउलिक मोनाथ्स (१६६३–६८)वा मासिक छलफल (भ्चदबगष्अिजभ ःयलबतजक(ग्लतभचचभमगलनभल०, फ्रान्सेली जर्नल डेस स्काभान्स १६६५ (व्यगचलब िमभक क्अबखबल), र अङ्ग्रेजी रोयल सोसायटी अफ लण्डनको फिलोसफिकल ट्रान्ज्याक्सन १९६५ (एजष्यिकयउजष्अब ित्चबलकबअतष्यलक) आदि प्रारम्भिक समयका पत्रिकाले सामान्यतया कला, साहित्य, दर्शन, र विज्ञान विषयमा निबन्धहरूको प्रकाशन गर्ने गरेको उल्लेख पाइन्छ । अठारांैं शताब्दीका आवधिक प्रकाशनहरूमा बेलायतबाट प्रकाशित ट्याट्लर (१७०९–११), द स्पेक्टेटर (१७११–१२), ¥याम्बलर (१७५०–५२), र स्यामुल जोन्सनद्वारा स्थापित द आइडलर (१७५८–१७६०) आदि निबन्ध विषयक सर्वाधिक प्रसिद्ध पत्रिका मानिन्छन् । अठारौं शताब्दीको उत्तरार्धतिर फ्रान्स र जर्मनीका आवधिक प्रकाशनहरूले सम्बन्धित समाचारका रूपमा सामान्य जानकारी पनि दिनथाले । तीमध्ये लामो समयसम्म प्रकाशित जर्मनीको प्रसिद्ध अल्जेमेइन लिटरेचर जाइटुङ वा जनरल लिटरेरी न्युज (१७८५–१८४९) नवीन साहित्यिक विचारसँग सम्ब्न्धित मान्थ्यिो ।
मनोरञ्जनका विविध समग्रीयुक्त आधुनिक संसारको पहिलो आवधिक पत्रिका अङ्ग्रेजीको द जेण्टलम्यान्स म्यागेजिन (१७३१–१९०७) देखि यस्ता आवधिक प्रकाशनमा म्यागाजिन शब्दको प्रयोग हुनथाल्यो । यस पत्रिकामा राजनीतिक विवाद, निबन्ध, कथा, कविता आदि समावेश गरिन्थे । यो त्यस समयको अत्यन्तै प्रभावशाली प्रकाशन थियो । अमेरिकी राजनेता तथा वैज्ञानिक बेञ्जामिन फ्र्याङ्कलिनले स्थापना गरेका जनरल म्यागाजिन र हिस्टोरिकल क्रोनिकल तथा अमेरिकी मुद्रण उद्योगी एण्ड्र्यु ब्राडफोर्डले स्थापना गरेका दुई पत्रिकाको आदर्श नमुना बेलायतको त्यही द जेण्टलम्यान्स म्यागाजिन भएको उल्लेख पाइन्छ । सन् १९४१मा प्रकाशित ती दुबै प्रतिद्वन्दी पत्रिका केही महिनाभन्दा बढी भने चल्न सकेनन् । तर पनि अमेरिकी म्यागाजिनको इतिहासमा प्रथम वास्तविक अमेरिकी म्यगेजिन तिनै दुई मानिन्छन् ।
उन्नाईसौं शताब्दीको युरोपमा ग्राहम्स म्यागाजिन (१८२६–१८५८), र सदर्न लिटरेरी म्यासेन्जर (१८३४–१८६४)जस्ता गम्भीर प्रकारका मासिक र त्रैमासिक साहित्यिक रिभ्युहरू प्रकाशनमा आए । यी दुबै पत्रिकामा लेखक र समालोचकका रुपमा एडगर एलेन पोको संलग्नता थियो । त्यस्तै न्यु इङ्गल्याण्ड ट्रान्सिडेण्टलिष्टहरूको जर्नलका रूपमा प्रकाशित द डायल (१८४०–१८४४) अर्को प्रसिद्ध प्रकाशन मानिन्थ्यो । सुरुमा यसको सम्पादनमा मार्गरेट फुलरको संलग्न रहे पनि पछि राल्फ वाल्डो इमर्सनजस्ता प्रख्यात लेखक–साहित्यकारले यसको सम्पादन गरेको पाइन्छ । उन्नाईसौं शताब्दीको उत्तराद्र्धमा आएर पत्रिकाहरू सचित्र हुन थाले । साजसज्जामा विशेष ध्यान दिन थालियो । त्यही समयको पञ्च नामक साप्ताहिक बृटिश पत्रिकाले लेख र व्यङ्ग्यचित्रका माध्यमबाट प्रवाह हुने विचारोत्तेजक तथा बुद्धिमत्तापूर्ण  अभिव्यक्तिका लागि प्रसिद्ध पायो । यसको अनुकरण जर्मनी र अमेरिकाका पछिल्ला प्रसिद्ध प्रकाशन सिम्प्लिसिसिमस (१८९६–१९४४; १९५६–१९६७) र द न्युयोर्कर ( १९२५) ले गरे ।
उन्नाईसौं शताब्दीमा चित्रसज्जा र छपाइ सुविधामा भएको विकास तथा सुधारले युरोप र विशेषतः अमेरिकामा बहुप्रसारको युग प्रारम्भ ग¥यो । फलतः सुरूचिपूर्ण साजसज्जा र  स्तरीय उत्पादनयुक्त पत्रिकाको प्रकाशन तथा पाठक सङ्ख्या र प्रकारमा समेत निकै बृद्धि भयो । यो क्षेत्रमा अमेरिकी मासिक हार्पर म्यागाजिनले अभूतपूर्व क्रान्ति ल्याइदियो । त्यसको लगत्तै सचित्र म्यगाजिनको सर्वाधिक सफल उदारहरण तथा हार्परको प्रतिद्वन्दीका रूपमा सेन्चुरी (१८८१–१९३०) र स्क्राइबर्स म्यागाजिन (१८८७–१९३९) देखा परे । विलियम डिन हावेलजस्ता प्रख्यात लेखक–समालोचकद्वारा सम्पादित द एटलाण्टिक (१८५७) मूलतः साहित्यिक पत्रिकाको रूपमा प्रख्यात भयो । सुरुमा द एटलाण्टिक मन्थ्लीका नाउँमा प्रकाशित हुँदै आएको यो पत्रिका अहिलेसम्मै निरन्तर प्रकाशित भइरहेको छ । बीसौं शताब्दीको प्रारम्भतिर स्मार्ट सेट (१९००–१९३०), भ्यानिटी फेयर (१९१३–१९३६), अमेरिकन मर्करी (१९२४–१९५१) जस्ता अरु विशेषप्रकारका साहित्यिक स्वाद दिने विभिन्न म्यागाजिनहरू प्रकाशनमा आए । अमेरिकी मर्करीको सम्पादन प्रसिद्ध समालोचक एच.एल. मेन्केन तथा जर्ज जिन नाथनले गर्थे ।
त्यसैबीच बीसौं शताब्दीको पूर्वाद्र्धभरि नै कथित साना पत्रिकाहरूको प्रकाशनले साहित्यकोे विकासमा निकै सघाउ पु¥यायो । आकारमा साना र सीमित पाठकका लागि प्रयोगात्मक लेखनलाई प्राथमिकता दिने यस्ता पत्रिकाहरूमा पोइट्री (१९१२), डायल (१८८०–१९२९) र केन्योन रिभ्यु (१९३९–१९७०) ले अनेकौं नयाँ लेखक जन्माए । यही क्रममा अनेकौं विश्वविद्यालयहरूले साहित्यिक त्रैमासिक पत्रिकाहरूलाई आर्थिक सहयोग गर्न थाले । स्याटर डे रिभ्यु अफ लिटरेचर (१९२४ जुन सन् १९७३ मा आएर स्याटरडे रिभ्यु वल्र्डको नाउँमा आउन थाल्यो, द न्युयोर्कर (१९२५), द नेसनल रिभ्यु आदि गम्भीर प्रकाशनहरूको प्रकाशनसँगै अमेरिकामा पत्रिका पाठकको सङ्ख्या निकै बढयो ।

पत्रकारिता र साहित्यिक पत्रकारिताः
सामयिक प्रकाशन वा पत्रिका सम्पादनको क्रममा प्राविधिक संपादन र सम्पादकीय सामग्रीको अर्थपूर्णसंयोजन तथा सम्पादनकुशलता आवश्यक हुन्छ भन्ने रोएना फग्र्युसनको भनाइ हाम्रो सन्दर्भमा अझै अर्थपूर्ण बन्न सकेको छैन । यसको अभावमा कुनै पनि पत्रिकाको प्रमुख पक्ष त्यसका पाठ्य सामग्री हुन् र पत्रिकाको आकारप्रकार, पृष्ठ, साजसज्जा, कलाकृति आदि सबै नै तिनै पाठ्सामग्रीको वृत्तमा घुम्छन् भन्ने सिद्धान्तले खासै प्राथमिकता पाउन नसक्नु स्वभाविक हो । यही कारण आफ्ना पाठक वा लक्ष्यित समूहको चाहना, आवश्यकता र रुचिलाई राम्रोसँग बुझेर प्राप्त सामग्रीहरूमाथि राम्रो न्याय दिनसक्ने विषयगत ज्ञान, स्पष्ट दृष्टिकोण, असल संपादकीय कौशल संपादनकर्मीका आवश्यक गुण र क्षमता हो भन्ने फग्र्युसनको भनाइ हामीमा कत्तिको लागु हुन्छ, यकिन भन्न सकिँदैन । सम्पादनक्रममा प्रत्येक अङ्कमा केकस्तो विशेष सामग्री दिने, सम्पादकीयमा के कस्तो विषयलाई उठाउने, कुन विशेष पक्षमा विशेष पाठ्य सामग्री तयार गर्ने–गराउने भन्ने जस्ता कुरामा आवश्यक सोच र योजना हाम्रो सन्दर्भमा अज्ञात नै देखिन्छ । यिनै कारण सम्पादनको अर्थ सामान्यतया लेखकद्वारा प्रकाशनार्थ प्रेषित सामग्रीलाई सामान्य ह्रस्वदीर्घ सच्याएर थपाथप पेजमा राख्दै जाने कार्यव्यारमा नै सीमित पाइन्छ । व्यक्तिगत प्रयासमा निस्कने साहित्यिक पत्रकारितामा यस्तो हुनु त्यति अस्वाभाविक नठानिएला । तर संस्थागत केही प्रकाशन पनि यो मनोवृत्तिबाट उम्कन नसक्नु भने विडम्बना नै मान्नुपर्छ । यसले गर्दा एक दुईलाई छाडेर सबै पत्रिका एकै खाले स्वाद, स्वरूप र संरचनाका देखिएर कुन पत्रिकाको विशेषता के हो भन्ने खुट्याउन कठिन पर्छ । केहीले पद्यप्रधान, केहीले गद्यप्रधान बनाएर अलग्गै पहिचान दिने प्रयास नगरेका होइनन्, तर तिनमा समेत विशिष्टताको अभाव नै देखा पर्छ । राष्ट्रिय स्तरका संस्थागत पत्रिकाका संपादकहरूले नै साहित्यक समाचारका टिपोटलाई सगर्व नाम सहित छापिने वैचारिक स्तम्भ ठान्ने गरेको देखिनुबाट हाम्रो संपादकीय स्तर के कस्तो छ, अनुमान गर्न कठिन पर्दैन ।

नेपाली पत्रकारिता र साहित्यिक पत्रकारिताको प्रारम्भ
सुरुमा नेपाल बाहिरबाट प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारिताले नेपाली साहित्यको विकास, प्रसार र सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै जनचेतना बढाएर एकतन्त्री राणा शासनका विरुद्ध विद्रोहको स्थिति निर्माण गर्नमा ठूलै मद्दत ग¥यो । गोरखा भाषा प्रकाशिनी समितिको स्थापना हुनुपूर्वसम्म नै नेपालभित्रको साहित्यिक गतिविधि, यसको प्रचारप्रसार र नेपाली भाषामा सहित्य लेखन तथा अनुवादजस्ता विविध क्षेत्रमा साहित्यिक पत्रकारिता प्रमुख माध्यम रह्यो ।
बेलायत भ्रमणबाट फर्कँदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले विसं १९०८मा ल्याएका गिद्धेप्रेससँगै नेपाल पनि मुद्रण युगमा प्रवेश ग¥यो । नेपालभित्रै छापामाध्यमको प्रारम्भ हुन भने त्यसपछि पनि झण्डै आधा शताब्दी पर्खनु प¥यो । पहिलो छापाखानाका रूपमा गिद्धे प्रेसको आगमन भएपछि छापाखानाको संख्या क्रमश बढ्दै जानुका साथै नेपालमैं पनि यस्ता छापाखानाहरू निर्माण हुन थाले । फलतः मुद्रण कार्यमा सरलता आएर नेपालभित्रैबाट प्रकाशन संभव हुनपुग्यो । यही क्रममा नरदेव–मोतीरामको प्रयासमा नेपालमा व्यवसायिक पाशुपत छापाखाना खुल्यो र त्यही छापाखानाबाट सुधासागर (१९५५) प्रकाशनमा आयो ।
नेपाली साहित्यिक पत्रकारितको ऐतिहासिक सन्दर्भहरूका बारेमा अन्वेषकहरूबाट पर्याप्त चर्चा भइसकेको छ । तसर्थ यसको सामान्य पृष्ठभूमि मात्र उल्लेख गरेर नेपाली साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाबारेको चर्चाभित्र यो पत्रलाई सीमित राख्नु उपयुक्त हुने छ ।
ऐतिहासिक सन्दर्भको सङ्क्षिप्त चर्चा गर्दा अर्को प्रमाण फेला नपरेसम्म नेपालबाहिरबाट प्रकाशित युवाकवि मोतीराम भट्टको गोरखा भारत जीवन (१९५०) लाई नै पहिलो नेपाली पत्रिका मान्नु पर्छ । यस दृष्टिले विसं १९५० लाई समग्र नेपाली पत्रकारिताकै प्रारम्भविन्दु मान्दा नेपाली साहित्यिक पत्रकारिताले एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसकेको छ । यो समय त्यति लामो नभए पनि नरदेव पाण्डे मोतीकृष्ण शर्माको सम्पादन प्रकाशनमा नेपालभित्रैबाट निस्किएको पहिलो साहित्यिक पत्रिका सुधासागर (१९५५) समेत नमुनाका लागिसमेत कतै उपलब्ध नहुनुको विडम्बनाबाट नेपाली पत्रकारिताको इतिहास मुक्त छैन । केही अङ्क निस्किएर बन्द भएको सुधासागरको लगत्तै विक्रम सम्वत् १९५८ वैशाख २४ देखि गोरखापत्र प्रकाशनमा आयो । नेपालकै जेठो अखबार गोरखापत्रले साहित्यिक सामग्रीहरूलाई पनि उत्तिकै प्राथमिकता दिएर नेपाली पाठकमा पढ्ने बानीको विकास गर्न सघायो । तर पनि मूलतः यो समाचारपत्र भएकोले यसलाई विशुद्ध साहित्यिक पत्रकारिता मान्न सकिँदैन ।
यही क्रममा नेपाली साहित्यिक पत्रकारिताको विकासमा नेपाल र नेपाल बाहिरबाट प्रकाशित भएका उपन्यास तरङ्गिणी (१९५९), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१), गोर्खाली (१९७२), चन्द्रिका (१९७४), जन्मभूमि (१९७९), तरुण गोर्खा (१९८५), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८) आदिको उल्लेख्य योगदान रह्यो । नेपाली साहित्य र साहित्यिक पत्रकारिताकै सन्दर्भमा कोसे ढुङ्गा मानिने शारदा (१९९१) मासिकको प्रकाशनपश्चात नेपाली साहित्यिक पत्रकारिताले नयाँ युगमा प्रवेश ग¥यो । शारदाको योे यात्रामा नेपाल भित्र र बाहिरबाट प्रकाशित हुने उद्योग (१९९२), उदय (१९९३), साहित्य स्रोत (२००४), आँखा (२००५), पुरुषार्थ (२००६), भारती ( २००६) आदि पत्रिका सहयात्री बनेर साथ दिँदै प्रजातन्त्रपूर्वको नेपाली साहित्यिक पत्रकारितालाई अघि बढाए । त्यतिबेला सम्म साप्ताहिक रहेको गोरखापत्रलाई केहीबेर विर्सिदिने हो भने नेपाली सञ्चारमा सुरुदेखि २००७ सालसम्मको यो अवधिभर नै साहित्यिक पत्रकारिताको प्रभुत्व रह्यो । यसरी लामो समयसम्म नेपाली साहित्यको प्रकाशन, प्रचारप्रसार र संवद्र्धनका लागि एकमात्र सहयोगी माध्यम साहित्यिक पत्रकारिता नै रहँदै आयो ।
विसं २००८ पछिको प्रजातन्त्रोत्तर कालीन नेपालमा वाक् तथा प्रकाशन स्वतन्त्रतामा आएको खुलापनले साहित्यिक पत्रिकाको प्रकाशनमा पनि थप जाँगर देखापर्नु स्वाभाविक थियो । फलतः यस अगाडिदेखि नै प्रंकाशित शारदा र उद्योग (१९९२) का अतिरिक्त साहित्यश्रोत (२००४), पुरूषार्थ (२००६), सेवा (२००८), प्रतिभा (२००९), प्रगति (२०१०, नौलो पाइलो (२०१२), इन्द्रेणी (२०१३), धरती (२०१३), साहित्य (२०१६), नेपाली (२०१६) आदि साहित्यिक पत्रिकाहरू प्रकाशनमा आए । यिनले प्रथम प्रजातन्त्रकालीन नेपालको साहित्यिक विकासमां महत्वपूर्ण योगदान दिए । २०१७ सालको अनुदारवादी राजनीतिक प्रणालीको प्रारम्भपश्चात ओझेल परेको शारदापछि नेपाली साहित्यिक पत्रकारितामा अर्को कोसे ढुङ्गो बनेर रूपरेखा (२०१७) देखाप¥यो । त्यसलाई अर्को महत्वपूर्ण प्रकाशन रचना (२०१८) ले सशक्त रूपमा साथ दियो । शारदा पछि लामो समयसम्म नेपाली साहित्यिक पत्रकारिताको नेतृत्व गरेको रूपरेखा अहिले अस्तित्वमा नरहे पनि आफूलाई त्यत्तिकै महत्वपूर्ण स्थानमा स्थापित गर्दै आएको रचनाले भने धर्मराउँदै भए पनि आफ्नो सार्थक उपस्थिति देखाइरहेको छ । यी दुई उल्लेख्य साहित्यिक पत्रिका पछि हिमानी (२०१९), सिंहनाद (२०१९), भानु (२०२०), रत्नश्री (२०२०) आदिले नेपाली साहित्यिक पत्रकारिता र साहित्य–संस्कृतिको उन्नयनमा उल्लेख्य योगदान दिँदै आए । यही लहरमा मुकुट, विहान, अरुणोदय, फूलपाती, नयाँ कविता, विम्व, सञ्चय, प्रतीक, सुनगाभा, रमझम, बान्की, सुस्केरा, उत्साह, विदेह आदिको सशक्त उपस्थिति रह्यो ।
यसरी लामै समय नेपाली साहित्यिक पत्रकारिताको नेतृत्व शारदा, रूपरेखा–रचनाजस्ता निजी क्षेत्रका साहित्यिक प्रकाशनले लिँदै आए । यही क्रममा मधुपर्क (२०२५) को प्रकाशन नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा अर्को कोसे ढुङ्गो सावित हुन पुग्यो र यो क्रमलाई गरिमा (२०३९) ले अरू अघि बढाउँदै आएको छ । यिनै कालखण्डका अघिपछि गरेर प्रकाशनमा आएका सकल्प, सन्दर्भ, अभिव्यक्ति, कल्पना, पारिजात, सिउँडी, उत्साह, वेदना, शिलान्यास, साँग्रिला, त्रिफला, मिर्मिरे, समष्टी, बगर, दोभान, समकालीन साहित्य, कविता, प्रज्ञा, नागार्जुन, ज्ञानगुनका कुरा, अभिनव, कल्पतरु, उन्नयन, नव कविता, कलम, विपुल, सुगन्ध, मञ्जूषा, तन्नेरी, बन्दना, प्रलेस, आरोहण, दायित्व र ज्योतिदेखि शब्द–संयोजनसम्मका मासिक–द्वैमासिक–त्रैमासिक–चौमासिक आदि पत्रिकाहरूले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिँदै आएका छन् । त्यसरी नै विभिन्न समस्या बेहोर्दै राजधानी बाहिरबाट प्रकाशित भइरहेका जनमत, जुही, सास्वत, सौरभ, सगर, आँकुरा, संपे्रषण, सासंक, सूर्याेदय, सारथी, दीपशिखा, पल्लव, पाथीभरा, शब्दद्वीप, अनुराग, सौगात, प्रोत्साहनजस्ता पत्रिकाहरूको योगदान पनि बिर्सन सकिँदैन । यी नामहरू पूर्ण होइनन्, यो सानो आलेखमा सबै नाम उल्लेख गर्न सम्भव पनि देखिँदैन ।

नेपाली प्रगतिशील पत्रकारिताः प्रारम्भ र विकास
यथास्थितिका विरुद्धमा गतिशील अग्रगामी समाज निर्माणका लागि गरिने लेखन र पत्रकारिता प्रगतिशील साहित्य र पत्रकारिता हो । समाजका शोषित–उत्पीडित र सीमान्तीकृत मान्छेका लागि तिनको चेतना वृद्धि गरेर समाजमा गुणात्मक परिवर्तन ल्याउनु यथार्थमा प्रगतिशील पत्रकारिताको प्रमुख लक्ष हो । प्रकृति स्वयममा परिवर्तनशील छ । त्यो नियमित परिवर्तनकोक्रममा मानव समाजमा पनि निरन्तर परिवर्तन, परिष्कृति र उत्कृष्टताको प्रक्रिया चली नै रहन्छ । समाजिक विकासको क्रममा आर्थिक–सामाजिक प्रक्रियालाई आफ्नो नियन्त्रणमा राखेर समाजलाई अर्धसामन्ती खालको यथास्थितिमा राखेर आफ्नो वर्गको स्वार्थमा प्रयोग गर्न चाहने वर्गसमूहका विरुद्धमा विचारनिर्माण र चेतनाको स्तर बढाउने तर्फ प्रगतिशीलहरू क्रियाशील रहन्छन् ।      
माथि पत्रकारिता र साहित्यिक पत्रकारिता बारे सङ्क्षिप्त चर्चा भयो । विश्वसन्दर्भमा हेर्ने हो भने वि.सं. १९०५ अर्थात् सन् १९४८ मा माक्र्स–एङ्गेल्सको नेतृत्वमा “कम्युनिस्ट घोषणा–पत्र” जारी भएपछि प्रगतिशीलता र प्रगतिवादको विषयमा चर्चा सुरुभयो । यसरी माक्र्सवादसँगै प्रगतिवादको बारेमा चर्चा चल्न थाल्यो । पत्रकार स्वयम् वर्गीय समाजको प्रभावबाट अछुतो नभए पनि प्रगतिशील पत्रकारिताको उद्देश्य सही सूचना दिनुका साथै आमूल परिवर्तनका पक्षमा उन्मुख गर्दै जनमतको सिर्जना गर्नु रहँदै आएको छ ।
इलियोनिस विश्वविद्यालयका प्राध्यापकत्रय फ्रेड एस. सिवर्ट ९ँचभम क्। क्ष्भदभचत०, थियोडोर पिटर्सन ९त्जभयमयचभ एभतभचकयल० र विल्बर श्राम ९ध्ष्दिभच क्अजचबmm० ले विश्वमा प्रचलित प्रेस प्रणाली र सञ्चालन प्रक्रियाको गम्भीर अध्ययन गरे । त्यो अध्ययनको निचोड थियो– “प्रेसले सधैं आफूले काम गर्ने सामाजिक–राजनीतिक संरचनाको पृष्ठभूमिमा मात्र आफ्नो स्वरूप ग्रहण गर्छ” । सामाजिक ढाँचापरक ९लयचmबतष्खभ० दृष्टिकोणमा आधारित त्यो अध्ययनले भिन्न खालका समाजमा आमसञ्चारले कसरी काम गर्छ भन्ने सिद्धान्त तय ग¥यो । सन् १९५६ मा प्रकाशित ‘फोर थियोरिज अफ द प्रेस’ शीर्षकमा प्रकाशित त्यस अध्ययनले माक्र्सवादसँगै आएको प्रेस प्रणलीलाई “साम्यवादी वा सोभियत प्रेस सिद्धान्त” का रूपमा समाहित ग¥यो । प्रगतिशीलपत्रकारिता यही सिद्धान्तअन्तर्गत विकसित हुँदै गएको देखिन्छ ।
यसरी सोभियत सञ्चार सिद्धान्त समेत भनिने साम्यवादी प्रेस सिद्धान्तको सैद्धान्तिक अवधारणा साम्यवादी शासन व्यवस्था (ऋयmmगलष्कत क्थकतझ) सँगै बीसौं शताब्दीको प्रथम चरणतिर अर्थात् सन् १९४८मा कम्युनिस्ट घोषणापत्रको घोषणासँगै विकसित भएको हो । त्यसैले यसको प्रतिपादन र विकास कम्युनिस्ट वा साम्यवादी सिद्धान्तको विकास सँगसँगै कार्लमाक्र्स र जर्ज हेगेलजस्ता दार्शनिकहरूबाट भयोे । माक्र्स–एङ्गल्सले प्रयोग गरेका जर्मन सिद्धान्त “शासक वर्गको विचार नै शासकीय विचार हो” भन्ने दर्शनमा आधारित यो सिद्धान्तले साम्यवादी राज्य प्रणालीमा सञ्चारमाध्यमलाई जनताको सामाजिकीकरण गर्ने साधनका रूपमा हेर्ने गर्छ । साम्यवादी दृष्टिकोणमा सञ्चारका माध्यम विचारको मानसिक उत्पादनका साधन मानिने भएकाले यो विचारको मानसिक उत्पादन गर्ने माध्यममाथि पनि कम्युनिस्ट पार्टीको माध्यमबाट श्रमिक वर्गद्वारा नै नियन्त्रण हुनुपर्छ ।
माइकल कुञ्जिक (ःष्अजबभ िप्गलअशष्प) ले आफ्नो कन्सेप्ट अफ जर्नलिजम कृतिमा अरू प्रेस सिद्धान्त र यो साम्यवादी प्रेस सिद्धान्तका बीच प्रमुख तीन महत्वपूर्ण भिन्नता उल्लेख गरेका छन् । पहिलो., साम्यवादी प्रेस सिद्धान्त अन्तर्गतका सञ्चारमाध्यममा अरू सञ्चार माध्यमको जस्तो नाफामुखी प्रवृत्ति रहँदैन । दोस्रो,. यसमा समाचार र विचार प्रस्तुतीमा विषयको विविधिकिरणलाई दोस्रो प्राथमिकतामा राखिन्छ । र, तेस्रो. अधिनायकवादी प्रेस सिद्धान्त यथास्थितिमुखी हुन्छ भने साम्यवादी प्रेस सिद्धान्त अन्तर्गतका प्रेस वा सञ्चारमाध्यमहरूले कार्यक्रम वा उद्देश्य निर्धारण गर्दा विकास र सामाजिक रूपान्तरण वा परिवर्तनलाई प्रमुख लक्ष्य बनाउँछन् ।

नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालद्वारा वि.सं. २००५ चैत २३ गते (५ अप्रिल १०४९) उक्त कम्युनिस्ट घोषापत्रको नेपालीमा अनुवाद भयो । अनि त्यसैको पछिल्लो वर्ष उनै पुष्पलाल लगायत पाँच संस्थापक नेताको प्रयासमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसपछि नेपालमा पनि प्रगतिशीलता र प्रगतिवादका बारेमा विचारधारात्मक अध्यन, छलफल र चर्चापरिचर्चा हुन थाले । फलस्वरूप प्रगतिशील–प्रगतिवादी साहित्य र पत्रकारिताले उपयुक्त वातावरण पाउँदै गयो । यसरी यी दुई ऐतिहासिक धटनासँगै नेपाली साहित्य र पत्रकारितामा प्रगतिशीलता र प्रगतिवादको चर्चा र प्रयोग दुवै हुन थाले । कम्युनिस्ट पार्टीको स्थापनाले प्रगतिशील विचारधाराका लेखक, साहित्यकार र पत्रकारलाई संगठित भएर यसतर्फ लाग्ने वातावरणको समेत निर्माण ग¥यो । २००७ सालको क्रान्तिले एकतन्त्री राणा शासनको अन्त्य गरे पनि सामाजिक संंरचनाको सामन्ती–अर्धसामन्ती स्वरूपमा खासै परिवर्तन ल्याउन सकेन । त्यसपछिको समयमा भने सान्तवादी शोषण–उत्पीडनका विरुद्धमा जनचेतनाको स्तर बिस्तारै उकास्ँिदै गयो । अनि माक्र्सवादबाट प्रभावित नेपाली साहित्यकार–पत्रकारहरूले प्रगतिशील–प्रगतिवादी साहित्य–पत्रकारिता प्रारम्भ गरे । (नेपाली साहित्यकोश, पृ. ४९५) ।
कम्युनिस्ट पार्टीको स्थापनाले प्रगतिशील विचारधाराका लेखक, साहित्यकार र पत्रकारलाई संगठित भएर यस तर्फ लाग्ने वातावरणको समेत निर्माण भयो । अनि नेपालमा २००७ साल पछि माक्र्सवादबाट प्रभावित नेपाली साहित्यकार–पत्रकारहरूले प्रगतिशील–प्रगतिवादी साहित्य–पत्रकारिता प्रारम्भ गरे । (नेपाली साहित्यकोश, पृ. ४९५।)  ।
यसरी नेपाली समाज र साहित्यमा जस्तै नेपाली पत्रकारितामा पनि विचारधारात्मक प्रभाव रहेको छ । समाजमा मानवीय प्रवृत्ति अनुरुप नै नेपाली पत्रकारितामा पनि मूलतः यथास्थितिवादी, पुँजीवादी– प्रजातान्त्रिक, र अग्रगामी प्रगतिशील गरी मूलतः तीनवटा धारहरूको अस्तित्व रहँदै आएको छन् । प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका दुवै आन्दोलमा नेपाली पत्रकारिता समग्रम दुई धारमा विभक्त देखिए । पहिलो धार थियो संस्थापन पक्षीय अर्थात् सुरुका राणा र पछिका पञ्चायत समर्थक यथास्थितिवादी धार । दोस्रो थियो निरङ्कूशतावादी राणा शासन तथा पञ्चायत बिरोधी प्रजातान्त्रिक धार । सात सालको प्रजातन्त्र स्थापनापूर्वको आन्दोलनमा भर्खरै संगठान्तक स्वरूप लिन लागेको कम्युनिस्ट आन्दोलनका सकर्थक चिन्त्क, साहित्यकार पत्रकारहरूको प्रयासमा प्रगतिशील लेखन र पत्रकारिताले जग हाल्ने तर्खर गररेहेका भए पनि त्यो आन्दोल मूलतः प्रजापरिषद्, नेपाली राष्ट्रिय काङ्ग्रेस (पछि नेपाली काङ्ग्रेस) कै अगुवाइमा रहेकोले त्यतिबेलाको पत्रकारिताले राणा शासन बिरुद्ध प्रजातन्त्रको स्थापनामा जे सकेको योगदान गरे । सात सालपछि नेपाली पत्रकारिता सशक्त रूपले अघि बढ्यो र निजी क्षेत्रमा पनि प्रशस्त प्रकाशन भए । विचारधारात्मक दृष्टिले समेत प्रतिबद्ध पत्रकारहरूको सङ्ख्या बढ्दै गयो । यो स्थिति अखबारी तथ साहित्यिक पत्रकारिताका दुवै पक्षमा सबल रह्यो । प्रजातन्त्रको अपहरण पश्चात नेपालको राजनीतिक आन्दोलनजस्तै पत्रकारिता पनि पञ्चायत समर्थक र विरोधी गरी दुईधारमा विभक्त रह्यो । यो कालखण्ड मात्र नभएर पछिल्लो लोकतान्त्रिक आन्दोलन २०६२–२०६३ मा समेत आ–आफ्ना वैचारिक दृष्टिकोण अलग भए पनि प्रजातन्त्रको पुनःस्थापनामा सुधारवादी प्रजातान्त्रि पत्रकारिता र प्रगतिशील पत्रकारिताका धारबीच प्रजातन्त्र पुनःस्थापनाको प्रश्नमा ऐक्यवद्धता रह्यो । यो दोस्रो धारभित्र पनि सामान्य सुधारवादी संसदीय प्रजातान्त्र समर्थक र प्रगतिशील–प्रगतिवादी धार भने क्रियाशील नै रहे । यसरी मूलभूत उद्देश्य र लक्ष दुवैको निरङ.कूश पञ्चायतको विरोधमा जनचेतनाको विकास र प्रजातन्त्र पुनःस्थापना रहे पनि सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक दृष्टिकोण र लक्ष भने अलग थिए । प्रजातन्त्रिक धार विद्यमान आर्धसामन्ती सामाजिक–सांस्कृति संरचनामा नै सामान्य सुधार गर्दै पूँजीवादी तथा बजारमुखी अर्थतन्त्रको समर्थकन गथ्र्यो, अर्को प्रगतिबाद उन्मुख प्रगतिशील धार भने सामन्तवादको विरुद्धमा श्रमजीवी वर्गको उन्नति र समाजवादी अर्थतन्त्रको पक्षधर रह्यो ।
यसरी यथास्थितिवादी, प्रजातान्त्रिक र प्रगतिशील गरी तीन धारमा विभक्त रहँदै आएको नेपाली पत्रकारिताको पहिलो धार परिवर्तन विरोधी हुनुका साथै यथास्थितिमा परम्परागत समाजिक मूल्य–मान्यता र शासनव्यवस्थाकै पक्षमा समर्थन जुटाउनु यसको उद्देश्य थियो । दोस्रो धारको पत्रकारिता सामान्यतः सुधारवादी संसदीय प्रजातन्त्रलाई नै परिवर्तन ठान्थ्यो र पुँजीवादी आर्थिक तथा सामाजिक पद्धतिको पृष्ठपोषण उसको आर्थिक नीति रहन्थ्यो । तेस्रो प्रगतिशील धार श्रमजीवी जनताको पक्षमा क्रियाशील रही वैज्ञानिक समाजवादी समाज र श्रमजीवी जनताको पक्षधरताका लागि राजनीतिक–सांस्कृतिक चेतनाको स्तर उकास्ने उद्देश्य राख्दथ्यो । प्रगतिशील पत्रकारिता भन्नु नै जनपक्षीय पत्रकारिता हो ।
प्रगति शब्दको निर्माण गम् धातुमा प्र उपसर्ग लागेर बनेको छ र यसको शब्दोशीय अर्थ हुन्छ– अघि बढ्नु, उन्नति गर्नु वा परिवर्तन गर्नु । यही प्रगति अर्थात् यथास्थितिका विरुद्धमा प्रगति वा परिवर्तनका लागि लेखिने साहित्य र गरिने पत्रकारिता प्रगतिशील पत्रकारिता हो । यही प्रगतिशील पत्रकारिता र साहित्यले पछि गएर वादका रूपमा परिचय पाएपछि माक्र्सवादी दर्शनको विचारधारामा आधारित रह्यो प्रगतिवाद । त्यसैले प्रगतिबाद सामाजिक यथार्थवादका नाउँमा चलेको त्यो आन्दोलन हो जसले प्रारम्भमा जीवन र जगतका बस्तुसत्यलाई उद्घाटित गर्दै समस्त साहित्यिक चेतनालाई यथार्थ तर्फ उन्मुख गर्दछ (नेपाली साहित्यकोश, पृ. ४९३।) । यही कुरा पत्रकारिताको सन्दर्भमा पनि लागु हुन्छ । हुन त कुनै पत्रकार सामाजिक धरातलमैं उभिएर पत्रकारिता गर्दछ, तर सचेत दृष्टिले प्रगतिशीलताको पक्षमा काम गर्नुु अलग हो । तसर्थ सोझो हिसाबले भन्ने हो भने सचेत ढङ्गले शोषित–पीडित निर्धा निमुखा विपन्न किसान, मजदूर र श्रमजीवी वर्गका पक्षमा गरिने पत्रकारिता प्रगतिशील पत्रकारिता मान्नु पर्छ । तसर्थ प्रगतिशील पत्रकारिता गर्ने पत्रकारहरूमा पनि जनताकै माझबाट विकसित परिस्थितिबीच उनीहरूको सुखदुःःख, अनुभव र अनुभूति तथा शोषण–उत्पीडनक विरुद्धमा चेतनाको स्तर उच्च हुनु आवश्यक छ । किन भने प्रगतिशीलता कोरा नारा मात्र होइन, स्वयम् लेखक–पत्रकारको जीवनशैली पनि होे । नेपाली प्रगतिशील पत्रकारितामा पनि पत्रकारहरूको जीवन शैली चरित्र र अभ्यास आदि भने तदनुकुल देखिँदैन । यसबाट नेपाली प्रगतिशील आन्दोलनको प्रमुख लक्ष राष्ट्रिय सामन्तवाद र अन्तर्राष्ट्रिय सांस्कृतिक विस्तारवाद विरुद्ध राष्ट्रिय चिन्तनधारा समेत प्रभावित देखिँदै गएको देखिँदैछ, जुन अवश्य पनि अपेक्षित होइन ।  
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली पत्रपत्रिकाले खेलेको भूमिका एकदमै सकारात्मक छ । सात सालको राणा शासन विरुद्धको आन्दोलनलाई थप उर्जा दिन र राणा विरुद्ध जनचेतनाको विस्तार गरी प्रजातन्त्रका पक्ष्ँमा जजनमत निर्माण गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्यो । त्यसपछिका हरेक प्रजातान्त्रिक, लेकतान्त्रिक अन्दोलनहरूमा प्रेसको अहम भूमिका रहँदै आएको छ । हुन पनि “२००७ को सशस्त्र क्रान्तिमा होस या पञ्चायत विरुद्धको आन्दोलन होस् प्रजातन्त्र र मानवअधिकारको पक्षमा गरिएका सबै खाले आन्दोलनहरूमा नेपाली प्रेसले निकै सहयोग पु¥याएको छ ।” ((दहाल, २०५५,पृ ११ । )  ।
२००७ को आन्दोलनमा नेपली कम्युनिस्ट पार्टीको समेत सहभागिता रह्यो । तर त्यतिबेलासम्म यो शक्ति निर्णायक हिसाबले अगाडि आइसकेको थिएन । तसर्थ त्यतिबेलाको राजनीति मूलत संसदीय प्रजातान्त्रिक आन्दोलनको नारामा केन्द्रित रह्यो र प्रगतिशील कम्युनिस्टहरू प्ररम्भिक सङ्गठन निर्माणकै क्रममा रहे । यसैले गर्दा प्रजपरषिद्, नेपाल कम्युनिस्ट पार्टी र नेपाली राष्ट्रिय काङ्ग्रेसजस्ता तत्कालीन राजनीतक शक्तिहरूको साझा उद्देश्य निरङ्कुश  राणा शासनको अन्त्यका लागि लड्नु र त्यसो गर्नका लागि राणाहरूले छायामा परेको राजतन्त्रसँग हातेमालो गर्दे आन्तरिक शक्ति र बाह्य समर्थन जुटाउनु रह्यो । यसको प्रभाव नेपाली पत्रकारितामा पर्नु स्वाभाविक थियो । त्यसैले नेपाली पत्रकारिताको प्रजातान्त्रिक–सुधारवादी धार पनि यही उद्देश्यद्वारा निर्देशित रहनु स्वाभाविक थियो र यस पक्षमा समेत प्रगतिशील धारको सशक्त हस्तक्षेप रहेको देखिन्छ ।
त्यसपछिको कालखण्डमा नेपाली काङ्ग्रेसको आन्त्रिक खिचलोका कारण राजा त्रिभुवनले वचनबद्धता जाहेर गरेका संविधानसभा अभेझेलमा पर्दै गई राजा बलियो हुँदै जाँदा दुई तिहाइ मत प्राप्त गरेक ाबनेको नेपाली सरकार समेत अपदस्थ हुनपुग्यो । महेन्द्रले शासन हात लिएका त्यसपछिको अवधिमा राजनीतक दलहरू प्रतिबन्धित रहँदा त्यविरुद्धका प्रजातान्त्रिक आन्दोलनलई जीवि रख्ने काम मूलतः नेपाली प्रेसबाटै भयो । प्रेस विना त्यतिबेला कोही विदेशमा र कोही भूमिगत रही सन्चालन भइरहेका त्यतिबेलाका दलहरूलाई अस्तित्वमा राख्न र तिनका सीमित गतिविधलाई जनसमक्ष पु¥याएर जनसमर्थन जुटाउने काम प्रेसको सहयोगविना सम्भव थिएन ।  
स्वतन्त्र पत्रकारिता र प्रकाशनको दृष्टिले नेपाली प्रगतिशील पत्रकारिताको प्रारम्भ वरिष्ठ प्रगतिशील साहित्यकार–पत्रकार हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा साहित्य स्रोत (२००४) र जागरण साप्ताहिक (२००७ फागुन ४) बाटै भयो । वि.सं. २००४ मा नै वनारसबाट महाकवि लक्ष्मीप्रसाद देवकोटोका सम्पादनमा प्रकाशित युगवाणी साप्ताहिक नेपाली राष्ट्रिय काङ्ग्रेस नजिकको पत्रिका थियो । युगवाणीले राणा शासन विरुद्धको आन्दोलनमा नेपाल बाहिरबाट सङ्गठित रूपमा सशक्त आवाज निकालेर जनचेतनको स्तर बढाउने काममा उल्लेख्य योगदान ग¥यो । त्यसपछि २००५ कर्तिक २१ बाट प्रकाशित नेपाली काङ्ग्रेसको मुखपत्र नेपालपुकारले पनि त्यतिबेलाको आन्दोलनमा राणा शासन विरुद्ध जनचेतना बढाउन राम्रो भूमिका खेलेपनि ती प्रगतिशील धारका प्रकाशन नभएर नेपाली राष्ट्रिय काङ्ग्रेसको मुखपत्र थिए ।    
त्यतिबेलासम्म नेपाली छापा पत्रकारिता सरकारी नियन्त्रणमा प्रकाशित हुँदै आएको गोरखापत्र (१९५८) र सरकारी समर्थनमैं निस्किएका श्रृद्धिबहादुर मल्लको शारदा (१९९१), सूर्यभक्त जोशीको सम्पादनको उद्योग पाक्षिक (१९९२) बाहेक अरुको खासै अस्तित्व थिएन । शारदा मासिक प्रगतिशील वा जनपक्षीय प्रकाशन थिएन, तर पनि त्यसले युगसापेक्ष चेतनाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको स्वीकार्नु पर्दछ । यस पृष्ठभूमिमा सबैभन्दा पहिला निजी क्षेत्रबाट स्वतन्त्र रूपमा प्रकाशित वरिष्ठ प्रगतिशील पत्रकार–साहित्यकार ह्रृदयचन्द्र सिंह प्रधानको सम्पादन–प्रकाशनका दुई प्रकाशन साहित्य स्रोत (२००४) र जागरण (२००७) नेपालकै पत्रकारिताको इतिहासमा निजी क्षेत्रको पहिलो स्वतन्त्र पत्रकारिता मात्र नभएर प्रगतिशील पत्रकारिताको पनि प्रारम्भका रूपमा स्थापित रहेको स्पष्ट हुन्छ ।
यसरी नेपाली पत्रकारितामा स्वतन्त्र पत्रकारिताका साथै प्रगतिशील पत्रकारिताको समेत प्रथम प्रारम्भ बिन्दु वरिष्ठ प्रगतिशील साहित्यकार–पत्रकार हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा प्रकाशित साहित्य स्रोत (२००४) र जागरण साप्ताहिक (२००७ फागुन ४) बने । जागरण भने हृदयचन्द्र सिंह प्रधानका साथै केदारनाथ शर्मा समेतको सम्पादनमा निस्किएको उल्लेख पाइन्छ । नेपालमा छापी निस्केको पत्रहरूमा यो पहिलो राजनीतिक दृष्टिकोणको नेपाली पत्र हो र सही आदलोचना गरी जनजागृति गराउनु नै यसको पक्ष थियो (देवकोटा) । यो यथार्थमा ेपालको पहिलो प्रगतिशील साप्ताहिक थियो र नेपाली पत्रकारितामा प्रगतिशील छापा पत्रकारिताको प्राभविन्दु यही थियो । राजनीतिक रूपका रचना छापिने र राजनीतिक दृष्टिकोणबाट निस्किएको पत्रिका पहिला नेपाली पत्रिका पनि यिनै साहित्य स्रोत र जागरण बने (दहाल, २०५५, पृ १०) ।  भन्दा अतिशयोक्ति हुनेछैन ।
यसरी नेपाली पत्रकारिताको यथास्थितिवादी, प्रजातान्त्रिक र प्रगतिशील तीनवटा प्रमुख धारहरूमध्ये प्रगतिशील धारको सुरुआत प्रजातान्त्रिक धारभन्दा पनि पनि अगाडि सुरु भएको स्पष्ट हुन्छ । त्यसपछि मात्र नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठ र विशिष्ट आख्यानकार गोविन्द बहादुर गोठालेको सम्पादनमा  आवाज दैनिक (वि.सं.२००७ फागुन ८ ) को प्रकाशन भयो । आवाजले “नेपाली काङ्ग्रेसको समर्थन गर्दै प्रजातन्त्रको पक्षमा वकालत ग¥यो । (दहाल, पृ. १२ ।) ।
यसरी प्रगतिशील विचारधाराको नेपाली पत्रकारिता  साहित्यस्रोत (२००४), सेवा (२००८) र पहिलो साप्ताहिक अखबार जागरण (२००७) तथा तिनका सम्पादक–प्रकाशक ह्रृदयचन्द्र सिंह प्रधान र श्यामप्रसाद शर्माबाट भएकोे प्रष्ट छ । श्यामप्रसाद शर्माको प्रकाशन र बलभद्र शर्मा र सुरेन्द्रराज शर्माक्ँे सम्पादनमा  सेवा मासिक पत्रिकाको वीरगन्जबाट २००५ सालमैं दर्ता स्वीकृति प्राप्त भएको देखिए पनि राणा शासनको कठोर नियन्त्रणले गर्दा त्यतिबेला प्रकाशन गर्न सम्भव नएर २००८ सालमा मात्र प्रकानमा आयो (ओझा, २०६०, पृ. १८) । नेपाली पत्रकारितामा महिलाको सशक्त उपस्थिति समेत प्रगतिशील पत्रकारिताकै माध्यमबाट भयो । वि.सं. २००८ जेठमा प्रकाशन भएको “महिला” मासिक कामाक्षा देवी र साधना प्रधानको सम्पादनमा निस्किएको देखिन्छ । नेपाली पत्रकारितामा महिला सक्रियताको यही श्रृङ्खलामा पछि शशीकला शर्माको “स्वास्नीमान्छे” देखाप¥यो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली साहित्यकोश (२०५५का अनुसार भने “प्रगति” पत्रिकाको माध्यमबाट सर्वप्रथन नेपालमा प्रगतिवादले प्रवेश ग¥यो, तर प्रगतिका सम्पादक र उनका सहकर्मीहरू सिद्धान्ततः प्रगतिशील विचारधाराका थिएनन् ।” (नेपाली साहित्यकोश, २०५५) ।
यसरी नेपाली अखबारी पत्रकारितामा गोरखापत्र पछि निजी स्तरमा प्रकाशित भएको जागरण साप्ताहिक (२००७ फागुन ४) ले नै प्रगतिशील पत्रकारिताको समेत जग बसालेको भए पनि दैनिक प्रकाशनका दृष्टले प्रगतिशील पत्रकारिता त्यति दिगो बन्न सकेको देखिँदैन । त्यसपछि पशुपतिदेव पाण्डे र पछि मणिराज शर्माको सम्पादनमा आएको समाज दैनिक (२०११ भदौ ११) र बिन्दुनाथ प्याकुरेलको सम्पादनको हालखबर (२०१३) जस्ता त्यस प्रारम्भिक कालखण्डका प्रकाशनको नेपाली पत्रकारितामा महत्वपूर्ण प्रभाव र हस्तक्षेप रह्यो । यसरी समाज र हालखबरले सही आलोचना गरे पनि ती मूलतः प्रगतिशील प्रकाशन थिएनन् ।
यस पृष्ठभूमिा वि.सं. २००७–२०१७ को अवधिमा “प्रतिक्रियावादीहरूका विरुद्ध स्वस्थ र सङ्गठित जनमतको निर्माण” गर्ने घोषित उद्देश्य सहित शङ्करनाथ शर्माको संपादनमा नेपाल समाचार (२०१२), “सैद्धान्तिक रूपमा नअलमलिई देश र जनताप्रति इमान्दार रहने” प्रतिवद्धता लिएर माणिकलाल श्रेष्ठको सम्पादनको समय (२०१३) र धनुषचन्द्र गौतमको सम्पादनको बाछिटा (२०१५) आदिको प्रगतिशील धारको नेपाली पत्रकारिताको जग बसाउन धेरथोर योगदान रहेको मान्नुपर्दछ । मङ्गलमान नेपालीको सम्पादनम प्रकाशित भूगोपार्क (२०१४) ले आफूलाई “सबै प्रजातान्त्रिक तत्वसँग बन्धुत्व कायम गरी प्रतिकृयावादी र पुनःरोत्थानवादीहरूको जगैदेखि उन्मूलन गर्न जन्मेको” उद्घोष गरेर आफूलाई प्रगतिशील धारमैं उभ्याएको देखिन्छ । यसरी नै यस अवधिमा तारिणीप्रसाद कोइरालाको सम्पादनमा निस्किएका दियालो (२०१३), उज्यालो (२०१४), कल्पना (२०१४) आदि प्रकाशनले आफूलाई प्रगतिशीलपथका प्रकाशन भनेर प्रगतिशील पक्षमैं उभ्याएका छन् । “नेपाली पत्रकारिताको दिशा दिग्भ्रमित हुँदै गएको र भर्खरै उदाउन थालेको प्रजातन्त्रमाथि पर्न थालेको प्रतिक्रियावादीहरूका मार विरुद्ध ढाल बन्ने” सम्पादकीय प्रतिबद्धतासहित आएको दियालोलाई सरकारले प्रकाशनमा रोक लगाएपछि “दियालोेले नेपाली पत्रकारिताको प्रगतिशील–पथमा बालेको दियोलाई अमरज्योति प्रदान गर्न आएको” भन्दै उनकै संपादनमा उज्यालो (२०१४) र “अल्पसङ्ख्याको आवाजलाई पनि कदर गर्ने” वाचा गरे कल्पना (२०१५) प्रकाशनमा आए । “वामपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने” घोषणा सहित आएको पहिलो प्रकाशन चाहिँ नया जमाना थियो । यसरी छापा पत्रकारिता अर्थात् अखबारी पत्रिकारितामा प्रगतिशील विचार राख्ने विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका अखबारहरू प्रकाशित भएका देखिए पनि प्रगतिशील पत्रकारिताको विकासमा दैनिक पत्रिकाको भन्दा साप्ताहिक र मासिक त्यसमा पनि साहित्यिक पत्रकारिताको बढी योगदान रहेको छ ।
प्रारम्भिक चरणको नेपाली प्रगतिशील पत्रकारितामा दैनिककोभन्दा साप्ताहिक अखबारको बढी योगदान रहेको देखिन्छ । भक्तबहादुर, गणेशप्रसाद श्रेष्ठ, सागरकुमार मिश्र, सुशीलनाथ र गोविन्द वियोगीको सम्पादनमा क्रमशः प्रजातन्त्र (२००९), मसाल (२०१०), प्रवक्ता (२०१४), श्रमिक (२०१५), लोकदूत (२०१५) आदिको प्रकाशन भएका देखिन्छ । यसपछि कोशराज रेग्मीको सम्पादनमा मोरङबाट जनवार्ता (२०१५), मदनमणि दीक्षितको सम्पादनमा समीक्षा (२०१७), महेशमणि दीक्षितको सम्पादनमा जागरण (२०२३) र हिरण्यलाल श्रेष्ठको सम्पादनको जनजागृतिले जनपक्षीय उद्देश्यमूलक (मिसन) पत्रकारिताको प्रारम्भ गरेको पाइन्छ र यसलाई पछि समीक्षा, दृष्ट, छलफल, मातृभूमि, रातो युगधारा, जनआह्वान र मोफसलबाट नयाँ युगबोधजस्ता साप्ताहिक पत्रिकाले अघि बढाए । राजनीतिक दल र तिनका गरितविधि प्रतिबन्धित रहेको त्यस कालखण्डमा रघु पन्त, नारायण ढकाल, गोपाल थपलिया, अग्निशिखा आदिको सम्पादन र सक्रिय पत्रकारितामा प्रकाश, छलफल, दृष्टि, संरचना आदि साप्ताहिकले नेपाली कम्युनिस्ट आन्दोलनलाई गति दिनुका साथै जनपक्षीय प्रगतिशील पत्रकारितालाई उल्लेख्य किसिमले अघि बढाए । सिधै राजनीतिक विचारको प्रसार सम्भव नभए पनि देशभर भएका अन्याय, अत्याचारशोषण, दमन, तथा श्रमजीवीहरूको वर्गीय स्वाभिमानका समाचार छापेर शोष–उत्पीडनका विरुद्धमा चेतना बढाउन उल्लेख्यकाम गर्दै प्रगतिशील छापा पत्रकारिताको मियोको काम गरे । यिनले सङ्गठन शक्ति र मुक्तिका लागि सङ्घर्षको अपरिहार्यताको चेतना विस्तार गरे । यसरी नै माध्यम, प्रकाश, जनआस्था, साँघु, मजुदूर (भक्तपुर), जनएकता, जनआह्वान, महिमा, काभ्रेपोस्ट (काभ्रे), जनसंघर्ष (रुपन्देही), जनदिशा, जनविद्रोह (मोरङ), नयाँ युगबोध (दाङ), मेची काली सन्देश (रुपन्देही), जनएकता, युगद्रष्टा, गाउँले देउराली (पाल्पा), सम्बोधन, श्रीसूर्योदय, श्रमिक (भक्तपुर) जस्ता साप्ताहिकहरूले नेपाली प्रगतिशील छापा पत्रकारितालाई उद्देश्यमूलक ढङ्गमा अघि बढाए । यीमध्ये पछिल्ला कालखण्डका अधिकांश पत्रिका अहिले पनि निरन्तर प्रकाशित छन् भने कतिपय अस्तित्वमा देखिँदैनन् । साथै यिनका स्वामित्व र सम्पादन नेतृत्वमा पनि निरन्तर हेरफेर भइरहेको देखिन्छ ।
विडम्बना नै मान्नुपर्छ, नेपाली कम्युनिस्ट आन्दोलनमा देखिने धारहरूसँगै नेपाली प्रगतिशील पत्रकारिताका यी प्रकाशन पनि राजनीतिक धारसँगै प्रभावित र विभाजित हुँदै आएका छन् । जे होस्, यसरी सुरु भएको नेपाली प्रगतिशील पत्रकारिताको गौरवशाली इतिहास अखबारी पत्रकारिता र साहित्यिक पत्रकारिता गरी दुवै क्षेत्रमा सशक्त रूपले अघि बढ्दै गएका छन् । सत्र सालपछि २०४६ को जाआन्दोलनपूर्व प्रगतिशील दैनिकको प्रकाशन त्यति सम्भव पनि थिएन । त्यसपछिको कालखण्डमा सगरमाथा प्रकाशन गृहबाट श्री सगरमाथा दैनिक र एभरेस्ट टाइम्स (२०५७) अङ्ग्रेजी भाषामा प्रकाशित हुन थाले पनि तिनले निरन्तरता पाउन सकेनन् ।
छापा पत्रकारितापछि नेपाली प्रगतिशील पत्रकारिताको विकासमा वैचारिक साप्ताहिक, पाक्षिक,  मासकि र आवधिक प्रकाशन अर्थात म्यागजिनहरूको त्यत्तिकै योगदान रहेको देखिन्छ । यिनमा प्रकाशलाल श्रेष्ठको सम्पादनको झिल्को (२०३६), श्याम श्रेष्ठको मूल्याङ्कन (२०३८), शम्भु श्रेष्ठको सम्पादनमा सूर्य मासिक (२०४८), अग्निशिखाको एक्काइसौं शताब्दी (२०५३), मुमाराम खनालको दिशाबोध (२०५५), लोककृष्ण भट्टराइको सम्पादनमा पुष्पलाल प्रतिष्ठानको नयाँ जनवाद (२०५५), अशोक सुवेदीको नौलो विहानी (२०५५), गोपाल सिवाकोटीको सम्पादनमा पौरख, कृष्णप्रसाद घिमिरेको सम्पादनको नवआकाङ्क्षा,  खेम थपलियाको हाम्रो जलजला (२०५९) आदि उल्लेख्य छन् जसले विगत आन्दोलनमा प्रतिशील पत्रकारिताको माध्यमद्वारा नेपाली समाजलाई विचारधारात्मक दृष्टिले संगठित र तयार गर्न महत्वपूर्ण सघाउ पु¥याए । यस्तै कम्युनिस्ट पार्टीहरूका मुखपत्र नवयुग, मसाल, जनमत, राँको, न्यु एरा, वर्गसङ्घर्ष, नयाँ जनवाद, जनसन्देश आदिको योगदान पनि स्मरणीय छ ।
मथि नै उल्लेख गरियो, नेपाली प्रगतिशील पत्रकारिताको विकासमा साहित्यिक पत्रकरिताको अत्यधिक योगदान रहेको छ । सहित्यिक पत्रकारितामा नारायणप्रसाद बास्कोटाको सम्पादनको प्रगति (२०१०) ले नेपालमा प्रगतिवादको प्रवेश गरायो भनिए पनि प्रगतिका सम्पादक र उनका सहकर्मीहरू सिद्धान्ततः प्रगतिशील विचारधाराका थिएनन् । त्यति भएर पनि प्रगतिले प्रगतिशील नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा जुन योगदान दिएकोछ, त्यो उल्लेख्य छ । तसर्थ घोषित प्रगतिशील साहित्यिक पत्रकारिताको प्रकाशनका दृष्टिले प्रलेस (२००८) लाई पहिलो कोसे ढुङ्गा मान्नु पर्नेहुन्छ । त्यसपछि पुष्कर शमशेरको सम्पादनमा जनसाहित्य (२०११), बालकृष्ण पोखरेलको सम्पादनमा नौलो पाइलो (२०१३), बालकृष्ण पोखरेलको सम्पादनमा नौलो पाइलो (२०१४), श्यामप्रसादको प्रकाशन र शशीकला शर्माको सम्पादनमा स्वास्नीमान्छे (२०१५), कृष्णदास श्रेष्ठका सम्पादनमा नयाँ जमाना (२०१५), चूडामणि रेग्मीको सम्पादनको छहारी (२०१५), श्यामप्रसाद शर्माकै सम्पादनमा साहित्य (२०१६), गोविन्दप्रसाद लोहनीको सम्पादनमा बगैँचा (२०१८) आदिको प्रकाशनले नेपाली प्रगतिशील पत्रकारितालाई अघि बढाउँदै लगे ।
बीसको दशकमा भवानी घिमिरेको भानु (२०२०) ले यो यात्रालाई अघि बढायो र कमलप्रसाद घिमिरेको विहान (२०२१) ले यसलाई निरन्तरता दियो । चिनिया सांस्कृतिक क्रान्तिको प्रेरणा लिएर वासुदेव शर्मा र राधाकृष्ण मैनालीको सम्पादन–प्रकाशनमा झापाबाट प्रकाशित पञ्चामृत (२०२५ को प्रकाशनसँगै ३० को दशकभरि नै नेपाली साहित्यिक पत्रकारितामा यसको प्रभाव प¥यो र पत्रकारिताका गतिविधिले तीव्र गति लियो । नेपालको कम्युनिस्ट आन्दोलनले चरम फुट लिएकै बेला कोशी प्रान्तीय कमिटीको झापा जिल्ला संगठनले वर्ग शत्रु सफाया आन्दोलन चलाए पछि एकातिर प्रगतिशील पत्रकारिताले केही भएपनि नयाँ उत्साह प्राप्त ग¥यो भने अर्कोतर्फ कठोर शासकीय नियन्त्रण छल्दै अघि बढ्न वाध्य बन्यो । त्यसपछि रामचन्द्र भट्टराईको सम्पादनमा सुस्केरा (२०२७), स्नेह सयमिको सम्पादनमा प्रतिभा (२०२९) मासिकको प्रकाशनले नेपाली प्रगतिशील साहित्यिक पत्रकारिताको विकासमा योगदान गरे ।
वि.संं. २०३० को दशकमा वेदना, संकल्प, सुस्केरा, उत्साह आदिको प्रकाशनले प्रगतिशील साहित्यिकmर साहित्यिक पत्रकारिताको आन्दोलनमा अत्यधिक महत्वपूर्ण प्रभाव पारे । वि.सं. २०३३ तिर सङ्कल्प, सुस्केरा, र वेदनाबीच चर्किएको विवाद निकै असहिष्णु तवरमैं सतहमा आयो । प्रगतिशील साहित्यकार–पत्रकार दुई पक्षमा नराम्ररी विभाजित बने । त्यसको असर नेपाली साहित्यिक पत्रकारितामा पर्नु स्वाभाविक थियो । त्यसपछिको प्रयत्नस्वरूप यसै दशकको नेपाली प्रगतिशील पत्रकारिता चर्को आपसी विभाजन र त्यसपछिको एकीकृत धारणाको विकासमा गरेर प्रगतिशील लेखकहरूको साझा मन्चका रूपमा रमेश विकलको सम्पादनमा आएको उत्साहको प्रकाशनजस्ता उल्लेख्य घटनाको समेत दशक रह्यो । एक आपसमा मतान्तर चर्काएरै प्रकाशित भए पनि यस कालखण्डका प्रगतिशील साहित्य र पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याउने साहित्यिक पत्रकाहरूमा दिल बरदान आदिको सम्पादनमा वेदना (२०३०), कुन्ता शर्माको सम्पादनमा संकल्प (२०३०), रघुपन्तको सम्पादनमा झिसमिसे (२०३५), रमेश विकलको सम्पादनमा उत्साह (२०३५), नारायण ढकालको सम्पादनमा लहर (२०३५), नौलो साहित्य (२०३६), श्रृषिराज बरालको सम्पादनमा त्रिकोण (२०३६) आदि उल्लेख्य देखिन्छन् ।
यसरी नै यस दशकमा प्रवीण जोशीको सम्पादनमा श्रृङ्खला मासिक (२०३५), कृष्णप्रसाद घिमिरेको स्वर (२०३५), हुकुमबहादर सिंहको सम्पादनमा हलकारा (२०३५), सुरेश आलेमगरको सम्पादनमा सेरोफेरो (२०३६), रामनाथ भट्टराईको सम्पादनमा नेपाली साहित्य (२०३९), चूडामणि रेग्मीको सम्पादनमा जूही (२०३८), बी. शर्माको सम्पादनमा मधुमास (२०३९), विजय चालिसे आदिको सम्पादनमा साँग्रिला (२०३९), रामनाथ भट्टराइको सम्पादनमा नेपाली साहित्य (२०३९) आदि साहित्यिक प्रकाशनले घोषित–अघोषित रूपमा प्रगतिशील नेपाली साहित्यिक पत्रकारितामा योगदान पु¥याएको देखिन्छ । यति मात्र नभएर यिनमध्ये धेरैले नेपाली समाजमा वर्गीय चेतनाको विकास गर्ने काममा समेत महत्वपूर्ण भूमिका निर्वाह गरे ।
त्यसपछिको कालखण्डमा परिजातको सम्पादनमा इन्द्रेणी साहित्य (२०४०), मोहन दुवालको सम्पादनमा जनमत (२०४०), मोहन सिटौलाको भारद्वाज (२०४०), पुण्यकार्कीको सम्पादनमा उदयपुर प्रलेसको नयाँ विहान (२०४४), जनकप्रसाद हुमागाइँको सम्पादनमा श्रृङ्खला त्रैमासिक (२०४५), मोदनाथ प्रश्रितको सम्पादनमा संस्कृति (२०४७), हरिहर खनालको सम्पादनमा जनसाहित्य (२०४८), ताराकान्त पाण्डेयको सम्पादनमा कलम (२०४९) आदि साहित्यिक पत्रिकाले नेपाली प्रगतिशील पत्रकारितामा महत्वपूर्ण योगदान गर्दै आएको देखिन्छ । त्यसपछि वि.सं. २०५० को दशकमा श्यामप्रसाद शर्माको सम्पादनमा प्रलेस (२०५०), नवराज रिजालको सम्पादनमा नवप्रज्ञापन (२०५०), राजकुमार के.सी.को सम्पादनमा विपुल (२०५०), डी.वी. हमालको सम्पादनमा झापाबाट समता लहर (२०५४), विनोद मञ्जनको सम्पादनमा शब्दपथ (२०५४), अशोक सुवेदीको सम्पादनमा नौलो विहानी (२०५४), विपिन आचार्यको सम्पादनमा झुल्का (२०५५), रामबहादुर थापामगरको सम्पादनमा सहयात्री (२०५६), रघुपन्तको सम्पादनमा युगदूत र मुक्तिमोर्चा, (२०५८), होम शङ्कर बास्तोलाको सम्पादनमा अन्तर्बोध (२०५८), प्रकाश सिलवालको सम्पादनको नागार्जुन (२०५८), धीरकुमार श्रेष्ठको शब्दाङ्कुर (२०५८), विजय खरेलको सम्पादनमा मेचीबाट सुसेली (२०५९), प्रकाश सिलवालको सम्पादनमा नागार्जुन (२०५९), खेम थपलियाको सम्पादनमा जलजला (२०५९) आदि प्रकाशनमा आएको देखिन्छ ।
साठीको दशकमा आर.सी रिजालको सम्पादनमा अक्षय अक्षर (२०६०), विवस वस्तीको सम्पादनमा शब्द संयोजन (२०६१), डा. गणेशप्रसाद बरालको सम्पादनमा हाम्रो सिर्जना (२०६३), रमेश श्रेष्ठको सम्पादनमा फिलिङ्गो (२०६३), दिल साहनीको सम्पादनमा बुटबलबाट जनघोष (२०६४), प्रकाश पन्थीको सम्पादनमा जनसंस्कृति (२०६५), घनश्याम ढकालको सम्पादनमा चन्द्रागिरि (२०६७), प्रमोद धितालको सम्पादनमा जनज्वार (२०६७), केशव सिलवालको सम्पादनमा प्रतिभा प्रवाह (२०६७) र बालकृष्ण बरालको सम्पादनमा लालुपाते (२०६७) का साथै खेम थपलियाको सम्पादनमा नयाँ यथार्थजस्ता पत्रिकाहरू प्रकाशित भई प्रगतिशील पत्रकारितालाई अघि बढाएको देखिन्छ ।
वि.सं. २०२५ पछि विभिन्न सामयिक प्रकाशनका साथै विद्यार्थी संगठनका मुखपत्रहरू पनि पर्याप्त सङ्ख्यामा प्रकाशित हुँदै आए । तीमध्ये आनन्ददेव भटट्को सम्पादनमा धरानबाट प्रेरणा (२०२१),  चूडामणि रेग्मीको सम्पादनमा झापाबाट मोती (२०२३), खगेन्द्र संग्रौलाको सम्पादनमा उषा (२०२५), मुरारीमोहन जोशीको सम्पादनमा चितवनबाट नौलो राँको (२०२७), मोहन दुवालको सम्पादनमा बनेपाबाट विगुल (२०२७), रमेश भट्टराइको सम्पादनमा मोरङबाट प्रकाश (२०२८), लक्ष्मणलाल नेवाको सम्पादनमा त्रिशूली (२०२८), मेघराज शर्माको सम्पादनमा आवाज (२०३०), माणिकलाल श्रेष्ठको सम्पादनको स्पन्दन (२०३४), कृष्णविनोद लम्सालको सम्पादनमा हाँक (२०३५), हरिहर खनालको सम्पादनमा जाँगर (२०३६), दुुर्गामोहन श्रेष्ठको सम्पादनमा नौलो कोसेली (२०३८), गणेश योन्जनको सम्पादनमा मुक्का (२०३९), र आगमन (२०४०) रामेश्वर फुयालको सम्पादनमा काग (२०४३), रमेशमोहन अधिकारीको सम्पादनमा सूर्योदय (२०४७), प्रकाशमान न्याछ्यौंको सम्पादनमा युगवाहक (२०४८), घनश्याम ढकालको सम्पादनमा गण्डकी संगम (२०५०), रविलाल अधिकारीको सम्पादनमा प्रलेस कास्कीको प्रकाशन साहित्य–प्रभा (२०५४), कुमार खकुरेलको सम्पादनमा सूर्यमुखी (२०५४), एकराज भट्टराइको सम्पादनमा मोरङ प्रलेसको प्रलेस (२०५५), बलभद्र भारतीको सम्पादनमा प्रलेस सुर्खेतको रातो थुँगा, आर. एम. डङ्गोलको सम्पादनमा त्रिशूली–त्रिवेणी (२०६२), आनन्ददेव भट्टकै सम्पादनमा वीरगन्जबाट प्रेरणाको प्रकाशन भएको देखिन्छ ।

निष्कर्षः
नेपाली स्वतन्त्रताका प्रँय सबै सङ्घघर्षमा नेपाली पत्रकारिताको योगदान रहेको स्पष्ट छ । महाकवि देवकोटाले युगवाणीद्वारा सात सालको प्रजातान्त्रिक आन्दोलनमा जनजागृतिको विस्तारमा महत्वपूर्ण सन्देश दिएका थिए भने धरणीधर कोइराला, महानन्द सापकोटाजस्ता राष्ट्रवादी साहित्यकारहरूले यस्तै माध्यमद्वारा सामाजिक कुरीति र शोषण बिरुद्ध प्रजातान्त्रिक हक अधिकारकका लागि शङ्खघोष गरेका थिए । तत्कालीन अन्धकारयुक्त युगमानेपाली जनताको राजनीतिक चेतनाको स्तर उकास्न, प्रजातान्त्रिक हक अधिकारप्रति चेतना जगाउन र क्रान्तिकारी उत्सर्गको भावना विकसित गर्न पत्रकारिता र त्यसमा पनि साहित्यिक साहित्यिकारिले गरेको योगदान अत्यन्त उल्लेख्य र प्रगतिशील पत्रकारिताले यस क्षेत्रमा अत्यधिक योगदान गरेका छन् ।    
पुष्पलालद्वारा वि.सं. २००५ मा कम्युनिस्ट घोषापत्रको नेपालीमा अनुवाद गर्नुका सार्थ पछिल्लो वर्ष नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा प्रगतिशीलता र प्रगतिवादका बारेमा विचारधारात्मक अध्यन, छलफल र चर्चापरिचर्चा हुन थालेका हुन् । त्यसको प्रभावकै कारण नेपाली पत्रकारितामा स्वतन्त्र पत्रकारिताका साथै प्रगतिशील पत्रकारिताको थालनी समेत प्रगतिशील पत्रकारिताबाटै हुनपुग्नालाई गौरवपूर्ण मान्नुपर्दछ । साहित्यकार–पत्रकार हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा प्रकाशित साहित्य स्रोत (२००४) र जागरण साप्ताहिक (२००७ फागुन ४) नेपाली साहित्यका प्रथम जनपक्षीय पत्रकारिता थिए र यिनबाटै जनताको पक्ष्ँमा पत्रकारिताको सुरुवात मात्र नभएर निजी क्षेत्रमा नेपाली पत्रकरिताको प्रारम्भ समेत हुनपुग्यो । यो समग्र प्रगतिशील पक्षकै गौरवको विषय मान्नुपर्दछ ।

सन्दर्भ–सामग्री

१. इन्साइक्लोपिडिया अमेरिकाना, १९२, अमेरिकन कर्पोरेसन, न्यु योर्क ।
२. इन्साइक्लोपिडिया एन्कार्टा, २००४, अन लाइन एडिसन ।
३. उल्फ, टम, द न्यु जर्नलिजम, १९७५, पान बुक लिमिटेड, लण्डन ।
४. एभ्रिम्यान्स इन्साइक्लोपिडिया, १९७८ (सं. डी. ए. गिरिङ), जे.एम. डेन्ट एन्ड सन्स लि.।
५. ओझा, देवीप्रसाद, डा., २०६०, सुदूरपश्चिममा पत्रकारिता,
६. कृष्णप्रसाद पराजुली, साहित्यिक पत्रकारिताः विशुद्ध साहित्यिकता अथवा व्यवसायिकता, कार्यपत्र, प्रेसकाउन्सिल नेपालद्वारा  आयोजत साहित्यिक पत्रकारितसम्बन्धी अन्तक्र्रिया ।
७. चालिसे, विजय, समाचार सङ्कलन तथा सम्पादन, चौथो संस्करण २०६५, साझा प्रकाशन ।
८. ऐ.....ऐ, आमसञ्चार, द्वन्द र आतङ्कवाद, भृकुटी एकेडेमिक पब्लिकेसन्स, २०६० ।
९. ऐ.....ऐ, मिडिया एन्ड कल्चर २००८, विवेक शीर्जनशील प्रकाशन ।
१०. ऐ.....ऐ, आमसञ्चारका सिद्धान्तहरू, साझा प्रकाशन, २०६४ ।
११. ऐ.....ऐ, नेपाली सञ्चारमाध्यम र साहित्य, नागार्जुन, वर्ष ३ अङ्क २, पूर्णङ्क १०, २०६१ असोज–पुस, नागार्जुन साहित्यिक प्रतिष्ठान तथा साहित्यिक पत्रकार सङ्घको संयुक्त आयोजनामा आयोजित सञ्चारमा साहित्य विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
१२. द वल्र्ड बुक इन्साइक्लोपिडिया, १९६१, फिल्ड इन्टरप्राइजेज एजुकेसनल कर्पोरेसन, युएसए ।
१३. दाहाल, सुमन, २०५५, प्रजातान्त्रिक आन्दोलनमा नेपाली पत्रकारिताको भूमिका, त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभाग अन्तर्गत एम ए दोस्रो वर्षका प्रयोजनको लागि शोधपत्र ।
१४. देवकोटा, ग्रष्मबहादुर २०२४, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ।  
१५. देवीप्रसाद सुवेदी, साहित्यिक पत्रकारिताः समस्या र समाधान, कार्यपत्र, प्रेसकाउन्सिल नेपालद्वारा आयोजित गोष्ठी, २०५८
१६. नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, नेपाली साहित्यकोश २०५५।    
१७. पे्रस काउन्सिल नेपालका प्रतिवेदनहरू ।
१८. फग्र्युसन, रोएना, एडिटिङ स्मल म्यागाजिन १९६१, कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्क, लण्डन ।
१९. रामचन्द्र गौतम, साहित्यको विकास र सांस्कृतिक जागरणका लागि २१औं शताब्दीमा सञ्चार माध्यमको प्रयोग, भारतीय  स्वतन्त्रताको स्वर्णजयन्तीका अवसरमा भारतीय दूतावासद्वारा काठमाणौंमा आयोजित साहित्य र विद्युतीय माध्यम विषयक गोष्ठीमा प्रस्तुत हिन्दी पत्र ।
२०. विकीपिडिया, अन लाइन इन्साइक्लोपिडिया
१६. शिव रेग्मी, “शाारदा”का सम्पादकीय विचारहरू, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५८ ।

Friday, July 13, 2012



Your changes have been saved.

जयन्ती निबन्ध अङ्क वैशाख–जेठ २०६९ मा प्रकाशित ललित निबन्ध 

निर्बाध घुम्न चाहन्छ मन । क्रमबद्धता भत्काउँदै स्वतन्त्र ! अराजकता पनि हो सायद्, एक किसिमले यो बेरोकटोक उडने चाहना । अराजक नै भए पनि आखिर मनै नहो, चाहन्छ कहिलेकाहिँ निमग्न आकासिँदै निविड बादलभित्रको अगम संसारमा कावा खान ! मन हलुकोमा रुवाजस्तै हलुको र गह्रुँगोमा सिसाजस्तै गह्रुङ्गो पनि हुन्छ सायद । त्यसैले त कतै अरुको दुःखमा दुखी भएर दुःख निवारणमा आफूलाई पूरै समर्पण गर्न तत्पर केही रुवाजस्तै हलुका बुद्धका मनहरू देखिन्छन्, कतै अरुको दुःखमा सुखानुभूति पाउने सिसाजस्तै कठोर मनहरू ! हावाजस्तै हलुको होस् वा सिसाजस्तै गह्रुङ्गो– मन आखिर मनै हो । यो उड्न चाहन्छ, यसलाई उड्नबाट रोक्न पनि त सहज छैन ।  कुनै सीमाभित्र थुनिएर बस्न नचाहनु सबै मनको प्रकृति न हो । त्यसैले सीमा भत्काएर पनि त बुर्कुसी मार्न चाहन्छ मन कहिले काहीँ !   पर...धेरै पर क्षितिजपारि पहाडको कापबाट सूर्य अस्ताउँछ, र त्यही पर...क्षितिज निकटको पहाडी कापबाट बिस्तारै फेरि नवचन्द्रको उदय हुन्छ ! दिनको पहुँलो सुनजस्तो उज्यालो सूर्यप्रकाशको ठाउँमा रातको पूर्णचन्द्र चिहाउँदा दूधिलो शीतल  जुनेली उज्यालोमा नुहाएर धरतीका कुनाकुना मुस्कुराउँदछ । सूर्य र चन्द्र धरतीका दुई आँखा हुन्, जसको नानीमा सौन्दर्य निखारिन्छ; सभ्यता मुस्कुराउँदछ र नवसिर्जनाको सृष्टिगीत गुञ्जन्छ ! तिनै धरतीका दुई आँखा निहारेरै त सायद मेरा प्रथम विश्वकविले कविताको पहिलो स्वर गुन्जाएथे यस धरतीमा– तमसोमा ज्योतिर्गमय ! धरतीको यही कुनामा प्रस्फुटित त्यो कविताजस्तै मेरो सम्पूर्ण जीवनयात्रा पनि त अँध्यारोमा उज्यालो अर्थात् ज्योतिको खोजी नै न हो !उज्यालोको आकाङ्क्षा नराख्ने को होला ? सबैमा हुन्छ उज्यालो पािउने आकाङ्क्षा । उज्यालो पाउनु अगिअँध्यारोको हिसाबकिताव राख्ने कुरामा भने कसैको वास्ता हुँदैन सायद ! तर अँध्यारोको हिसाबकिताब बिना उज्यालोको खोजी कसरी सम्भव होला र ? यस अर्थमा उज्यालो खोज्नेले अँध्यारको हिसाबकिताब राख्नै पर्ने होइन र । कसले राख्ने अँध्यारोको हिसाब ? तस्कर, भ्रष्ट र पेशेवर राजनीतिकर्मीसँगै हातेमालो गरेर अगि बढिरहेको मेरो वर्तमानमा अँध्यारोकै वर्चस्व छ, यसर्थ के अर्थ अँध्यारोको हिसाबकिताब राख्नु नराख्नुको ? प्रश्न यस कोणबाट पनि उठाउन सकिन्छ होला । शक्ति धनको पर्दाभित्र लुकेकोछ, अनि सत्ता त्यही शक्तिबाट प्राप्त हुन्छ । जनता त निश्चित समयमा पूजा गरेर मन्छाउने दोबाटोको भूत नहो ! अथवा खोपाको देवता न हो मान्छे ? भूत, जो आफैंमा अदृश्य विगत हो, देवता जो आफैं शिला हो । तिनलाई खोपामा राख वा मन्दिरमा, पूजा गर वा तिरस्कार के नै पो फरक पर्छ र ? न तिनम संवेदना हुन्छ, न सद्चेतना ! फरक त तिनै ठूला भवन, ठूलो आम्दानी र सत्ताको साँचो मुठीमा बन्द राखी गजधम्म बसेका तस्कर, भ्रष्ट र राजनीतिका व्यापारीलाई पर्छ । जो बिना शासनको वास्तविक बागडोर लगाममा खिचिन सक्दैन । त्यसैले फरक तिनै परोक्ष शक्तिकेन्द्र र विदेशी महाप्रभुसँग लगनगाँठो नकस्दा पर्छ सायद, जससँगको लगनगाँठो बेगर आजको सत्ता मुठीमा आउँदैन ....। चारैतिर आँखा ठोक्किने गगनचुम्वी आधुनिक दरबारहरूका ती सत्तानियन्त्रक ! उ... होर्नोस् त तिनैका त हुन् नि ती आलिसान दरबारहरू । त्यो तस्करको, त्यो भ्रष्ट हाकिमको र ऊ त्यो पेसेवर राजनीतिकर्मीको । सनातन सत्तासूत्र यिनै त हुन, जसको गठबन्धनमा पिल्सिँदैछ आजको मेरो मूल्य, मान्यता, चरित्र र आस्था ! यी हर कालखण्डमा सत्तासँगै लगनगाँठो बाधेर शक्तिसाली बन्छन्, सत्ताकै गठबन्धनमा कस्एिको हून्छ, पेसेवार राजनीतिकर्मीको इमान । कमाउनु यिनको धन्दा बन्छ । त्यसैले यिनलाई चिढ्याएर उज्यालोभन्दा अगाडिको अँध्यारोको हिसाब गर्ने हिम्मत हतपती जुटाउन नसकेका हौंंला हामीले ! तर समयमाथि विश्वास गर्नुपर्छ, समयले नै जुटाउने छ त्यो हिम्मत ! ढिलोचाँडो समयले खोज्नेछ यो अँध्यारोको हिसाबकिताब ! आशा गरौ, आशा नै त जीवन हो । भावी जीवनयात्राको पाथेय ! जाति, धर्म र सम्प्रदायले सल्काएको घृणाको दावानलमा मेरो सिंगो देश पिल्सिँदै छ आज । संविधानसभा मात्र होइन, मेरो देशकको पूरै अनुहार झुल्सिन थालेको छ आज आगोको त्यो रापबाट । आफैंलाई अरुभन्दा महान् ठान्ने माक्र्सवादी–माओवादी नेताहरू जब माक्र्सवादी दर्शनको कन्था घोक्दै जाति, भाषा र साम्प्रदायिताको आगोमा विभाजनको चारु होम्छन्, तब लाग्छ– सिद्धान्त र दर्शनभन्दा ठूलो मत रहेछ, सत्तासुन्दरीको मादक स्पर्श गराउने मत !  नभए समाजवादी वर्र्गविज्ञानको चुरो किन ठान्थे यी आफूलाई नेता ठान्नेहरू सिद्धान्त र दर्शन सबैलाई रक्तरन्जित तुल्याएर ? यही घाइते दर्शनको विभीषिकाद्वारा डसिनु नै नियति हो त मेरो वर्तमानको ? किन सर्पदंशको यो पीडा सहन अभिशप्त छौं हामी वर्तमानमा ? दर्शनका सबै सम्यक आयाम यसरी निस्तेज हुँदै जानुको स्थिति चिन्तनीय त छ नै, विभीषिकापूण पनि बनिरहेकोछ मेरालागि ! ओहो...कति पीडादायी वर्तमान, यन्त्रणापूर्ण समय ! शताब्दीयौंदेखि धर्म, रंग, मान्यता र अहम्मन्यतामा विभक्त मानवताले के कहिल्यै सही र गलतको निक्र्योल गर्नसक्ला ? आशा गरौं, सक्ला । आशा नै जीवन हो, र जीवन नै आशाको मूल !  बहिरबाट आउँदैन जीवनमूल्य, आफैंभित्र विकसित हुने कुरा हो यो । युगचेतनाले आत्मपहिचान गराउँदछ, आत्मपहिचानले सबैलाई साथै लिएर अगिबढ्ने क्षमताको विकास गराउँदछ ! तर किन बिर्सिँदै छु म आज सहनौ भुनक्तुको यो मेरो आर्ष वचन ? यो वा उको बहानामा किन म आज एक्लै हिँड्ने उपक्रममा छु ? सानो समूह वा गुटलाई सम्पूर्णता ठान्ने मानसिकता कताबाट आयो ममा ? मेरो दिमागमा घरिघरि प्रश्नले घन ठोक्छ, र जवाफ कतैबाट आउँदैन । सायद आजको मेरो यो त्रासदीको मूलमा पनि यही विश्वासको सङ्कट पहरो बनेर ठडिएको छ, र त्यही विश्वासप्रतिको अनास्थाले नै म गाँसिनुमा नभएर टुक्रिनुमा आनन्दप्राप्तिको भ्रम हुर्काइरहेछु । लाग्छ, विश्वासको सङ्कट आजको मेरो युगीन यथार्थ हो । र, यसकै जगमा म आफैंप्रति अविश्वासको अग्लो पर्खाल खडा गर्दछु, आफैंप्रतिको संदिग्धता हुर्काउँदै हुन्छु । अविश्वस्त छु आफैँप्रति ! यही विश्वासको संकट र सन्दिग्धताकै कारण आस्था आस्था रहेन, व्यापार बन्यो; सबै अर्थ गुमाएर सिद्धान्त मात्र मुखौटो रह्यो ! हुन त, संशय सत्य अन्वेषणको सोपान पनि हो । प्रश्न त्यतिबेला जन्मन्छ, जब मनमा संंशय रहन्छ । संशयले नवीन सोचको आविष्कार गर्दछ । विचरशून्यता जीवित मृत्यु हो, जसमा जीवनको स्पन्दन हुँदैन । चिन्तन र सत्यका बीच अनेकौं भावबोधका तरङ् उठ्नेगर्छन् । तर त्यो संशयको के भूमिका जसले सत्य अन्वेषण गर्नुको साटो सत्यलाई नै लुकाउने प्रयत्न गर्दछ, मानवतालाई शासक–शोषित, धनी–गरिब र हुँदाखाँदा र हुँदा खानेकाबीच नभएर जाति–भाषाको आधारमा विभाजनको विषवृक्ष रोप्दछ !   यही गलत जीवनमूल्यप्रतिको मोहले आधुनिकताको नाउँमा विकृति बिस्तार गरिरहेकोछ । त्यही आधुकिताको भ्रमित आकर्षणमा सम्मोहित छन् अत्याधुनिक भनाउने आजका कथित शिक्षित सहरी नारीहरू ! आज आफूलाई अरुभन्दा सभ्य र आधुनिक देखाउने अस्वस्थकर मानसिकताको होडमा त्यही भ्रमको अस्वस्थ घुम्टो ओढ्दै आजभन्दा भेलि अनावृत्त बन्दैछन् यिनीहरू । तामझामपूर्वक सौन्दर्य प्रतियोगितामा नाचिने कठपुतली नाच र टपलेस तथा विकनी व्युटीका नाउँमा शरीर–सौन्दर्यको हाटबजारमा लामबद्ध बन्नेहरूको बढ्दो भीड लाग्दोछ वर्तमानमा । त्यसैमा गौरवबोध गर्न थालेका छन् आजका यी सभ्य नारी बहुराष्ट्रिय कम्पनीले नचाउने कठपुली नाचमा रमाउँदै ! सर्वाधिक महँगा उपभोग्य बस्तुका रूपमा लामबद्ध बन्नुमा गौरव गर्न थालेका छन् यी आज । पहिले नै लेडिज रुम र ग्रिन रुम नामधारी अँध्यारा कोठामा शरीर नापजाँच गरेर प्रतियोगिताको परिणाम अग्रिम निर्धारण गरिने यी कथित सौन्दर्य प्रतियोगिताको नाटक आफैंमा एउटा भ्रम भएको पनि चेत छैन यिनलाई । त्यही प्रतियोगिताका नाउँमा वृद्धखेखि बालकसम्मालाई नङ्ग्याउने होडमा तिनै आर्थिक साम्रज्यवादका अभियन्ताले सफलता पाइरहेका छन् । सोध्न मनलाग्छ –नारी हुन कि पुरुषको टेबिलमा पस्किएका स्वादिष्ट व्यञ्जन यी आफूलाई सबैभन्दा शिक्षित, सभ्य र सक्षम ठान्ने अधुना कठपुतलीहरू ? व्यञ्जन त पस्किनैका लागि हो, चाख्नैका लागि हो ! आफैंलाई आधुनिकताको नाउँमा व्यञ्जन बनाउँदै पस्काउन आतुर यी अनावृत्त सौन्दर्यपूजक अधुनातन निर्वाङ्ग सुन्दरीहरूले वास्तवमैं स्तन्त्रताको अर्थबोध गरेका छन् त ? स्वतन्त्रता र स्वच्छन्दताबीच के कुनै सीमारेखो कोर्नुपर्दैन ? अनि छोरीभन्दा आमा तरुनीको तरजमा मस्किने अधुना आमाहरूबाट के सिक्ने आजका पुस्ताले सही सौन्दर्यको अर्थ, सही नारी स्वतन्त्रताको अर्थ ? यही हो त सभ्यताको अर्थ ? यही हो सुसंस्कृत हुनुको स्वरूप ? संस्कृतिको अभिप्राय कला–सङ्गीत, नृत्य–नाटकजस्ता कुरामा मात्र सीमत नरहेर एटा सम्पूर्ण जीवन शैली हुनु पर्ने होइन र ? आंशिक रूपमा संस्कृतिको अभिप्राय परिष्कारको एउटा प्रक्रिया हुनुपर्ने हो । यस अर्थमा संस्कृति एउटा शक्ति मानिनु पर्ने हो । हामी आज त्यही संस्कृतिको शक्तिलाई चिन्न नसकेर अरुको सिकोमा अनावृत हुँदै आधुकि बनेको भ्रम हुर्काउँदै छौं । एक्काइसौं शताब्दीको सभ्यता र आधुनिकताको नाउँमा आफैंलाई हाटबजारमा लीलामी लाममा उभ्याउँदैछौं, नग्नशरीर सौन्दर्यको अधुनातन उपभोग्यबस्तुका रूपमा । यो त्रासदी पनि त आजको मेरै त्रासदी न हो ! आधुनिक सभ्यताका नाउँमा जसरी उपभोक्तवादी संस्कृति आजको मेरो जीवनशैली बनिरहेकोछ । थाहा छ, यसले ढिलो चाँडो समदर्शिता, सहिष्णुता, कृतज्ञताभाव र भानात्मक लगावजस्ता कोमल तन्तुका मूल्यवान धरोहरलाई समूल उखेल्दैछ, भत्काउँदैछ । के यही विडम्बनापूर्ण वेताल बोझ बोक्दै विक्रमादित्यको नियतिमा अनुवाद भएर यता यता भड्किइरहेछु छु त म ?   रातको सन्नाटामा सुन्दर सपना बुन्दै हुन्छु म जतिबेला मेरै संसारको यथार्थ भोग्दै दुबै हातले खाली पेट थिचेर कोल्टे फेर्दै हुन्छ मेरै एउटा अंश । तर म आशावादी छु, मनुष्यतालाई चुनौती दिने कुनै अर्को शक्ति छैन । मानिस निरन्तर चुननौती बेहोरेरै सभ्यताको इतिहासमा अगि बढिरहेकोछ । हावा, पानी र विकट प्रकृतिसँग जुध्दै यहाँसम्म आइपुगेको आजको म मान्छे जसरी अनेकौं चुनौतीसँग जुध्दै एकपछि अर्को आविष्कार गर्न सफल बन्यो, त्यसरी नै सफल बन्नेछ एकदिन यी मनुष्यतालाई चुनौती दिनेहरूसँग जुध्न !  जति नै उथलपुथल अर्थात्् प्रलयपछि पनि संसारले नयाँनयाँ रूपमा जीवन जन्माउँछ, सभ्यताले नयाँ गोरेटो खन्दै जान्छ ! जसरी प्रत्येक विहानीले आफ्नो प्रथम सूर्यकिरणसँगै जीवनको नयाँ अध्याय शुरु हुन्छ र निरन्तर गतिवान यो यात्रा नै त वास्तवमा जीवन हो–गतिशील जीवन ! उपभोक्तावादी आँखामा जीवन यो नहोला । तिनका आँखामा जीवनको अर्थ खानुपिउनु र मोेज गर्नुमा साँघुरिन्छ सायद्, जसरी उनीहरूको विस्तार पनि आफैंमा सीमित सेरोफेरोभित्र सकिन्छ, त्यो भन्दा अगि बढ्दैन सायद ! के त्यही नै हो त जीवन ?  अहँ, होइन...पक्कै होइन ...!विकल प्रतिष्ठान, आरुबारी,२०६८ चैत २६ ।

Sunday, July 8, 2012

ओह्...नेपारु ! (मिर्मिरे मासिकको संस्मरण अङ्क वैशाख–जेठ २०६९ मा प्रकाशित) - विजय चालिसे


“ओह्...नेपारु !” साँझपख संयोगले आइपुगिएको एउटा मन्दिरमा भेटिएकी जापानी युवतीको त्यो आश्चर्यमिश्रित अभिव्यक्तिले मलाई सुखद् आश्चर्यमा पारेको थियो । धेरै जापानीहरूका लागि अपरिचित मेरो देश नेपाल, कमसेकम यो केटीका लागि त अपरिचित रहेन छ ! होस्, यो प्रसङ्ग केहीबेर पछिकालागि थाती राखौं । यतिबेला, हामी टोकियोको सुगिनामी–कु भनिने एउटा महानगरभित्रको सहरमा थियौं, एउटा उपनगरमा । काठमाडौंदेखिको लामो पट्यारलाग्दो लगभग दुई दिने यात्रा र त्यस यात्राको थकान मेटिएको थिएन । थकानले नै होला जापान पुगेको भोलिपल्टको पहिलो बिहानी साढे सात बजेसम्मै ओछ्यान मैं थियौं हामी । हुन त त्यताको जीवन शैली नै थियो, राति अबेरसम्म घरबाहिरको रमाइलो भोग्नु र विहान अबेर मात्र उठ्नु ! तर हामी भने त्यो जीवनशैलीबाट अलग थियौं । त्यसमाथि हिजो  नारिताबाट घर आइपुग्दैमा रातको नौ बजिसकेको थियो । खाना खाएर साली गायत्री र छोरी आयुमी घर फर्केपछि बल्ल सुत्ने तर्खरमा लागेका थियौं । त्यसैले रात छिप्पेपछि मात्रै पल्टेका थियौं ओछ्यानमा । लगभग दुई दिन लामो उडान र ट्रान्जिट कुराइको थकान पछि आरामदायी शयनमा प्राप्त निद्राको आनन्द, मजैले निद्रा लाग्नु अस्वाभाविक थिएन ।   आजको दिन थकाइ मार्ने भन्ने भएपछि आलोक अफिस जाने भयो । नित्यकर्म सकेर लक्ष्मी र म चाहिँ चिया नास्तापछि नजिकैको पार्कतिर निस्क्यिौ घुमघाम गर्न, प्रातःभ्रमणमा । मेरा लागि एकदमैं नौलो थियो यो सुगिनामी–कु । बीस वर्षअगाडिको मेरो पहिलो जापान भ्रमणमा परिचित हुन पाएको थिइन म यो सुगिनामी–कुसँग । यही सुगिनामी–कुमा थियो छोरो आलोकको घर । मेरी श्रीमती लक्ष्मीका लागि भने यो अपरिचित थिएन । लक्ष्मी तीन वर्षअघिमात्रै उसकी माहिली बहिनी गायत्रीको निम्तामा जापान पुगेकी थिई । त्यतिबेला ऊ यहीँ बसेकी थिई केही दिन छोरो आलोकसँग । त्यही कारण अहिले लक्ष्मीकै अगुवाइमा घर नजिकैको पार्कतिर लागेको थिएँ म । टोकियोका अरु पार्कभन्दा सानो हो रे यो पार्क । मेरा लागि भने निकै ठूलो र आकर्षक थियो यो । आहा...मेरो काठमाडौंसँग पनि यस्तै यस्तै पार्कहरू भैदिए ...! सहरबीच यस्तै सुन्दर हरियाली, सङ्लो पानी बगिरहेको सहरबीचको खोलो, रंगीविरंगी फूलका बगैँचाहरू, केटाकेटी खेल्ने आकर्षक ठाउँ, शौचालयदेखि सार्वजनिक स्नानकक्षसम्मको व्यवस्था ! आहा यस्तै भइदिए...। म दिउँसै सपना देख्दैथिएँ त्यतिबेला त्यो पार्क देखेर ..! पानीको धारामा समेत सङ्लो सफा पानी देख्न नपाउने मजस्ताको त्यो दिउँसै देखेको सपना साकार हुने कुनै संभावना थिएन सायद् । त्यसैले त्यही कल्पनामा मात्रै भएपनि हराएको थिएँ त्यतिबेला म । हरे, मेरो काठमाडौं, मेरो राजधानी...! पुराना ठूलाठूला चौरसमेत सबै मासेर कङ्गाल बनिरहेको काडमाडौंको टिठलाग्दो मलिन अनुहार आँखामा त्यतिबेला झल्झली आइरहेको थियो । उपत्यकाको सभ्यता हुर्काउने वागमती–विष्णुमती सबै नै ढल बनाएर गौरव मान्ने नेपालको म कथित सभ्य सहरी नागरिककालागि मध्यसहरभित्र बगाइएको त्यो पार्क र पार्कको बीचमा प्रवाहित सफा पानीको खोलोले धिक्कारिरहे जस्तै लागेको थियो मलाई त्यतिबेला ! मनभरि प्रश्न थिए, कसरी जोगाएका होलान, जापानीहरूले टोकियो महानगरकै एउटा नगरबीच बगिरहेको यो सफा खोलोलाई ? मेरो आश्चर्य स्वाभाविक थियो । अहा ! कति सफा पानी । त्यही पानीमा पौडिइरहेका कति सुन्दर रंगबिरंगी माछा, सेता हाँस र बकुलाहरू ! पार्क कतै खाली थिएन, सबै उमेरका मानिसहरू प्रातः भ्रमणको आनन्दमा निमग्न थिए । कतै खोला किनारका फलफूल र हरियालीले भरिपूर्ण पार्कको बीचमा पिङ, झुला र अरु बालमनोरन्जनका सुविधामा रमाइरहेका निर्दोष बालबालिकाहरूको सुन्दर स्वप्नसंसार देखिन्थ्यो ! कतै पार्कको बेन्चीमा आलिङ्गनबद्ध पे्रमीजोडी आ–आफ्ना भविष्यको सुन्दर स्वप्नसंसारमा हराइरहेका देखिन्थे । अनि कतै बृद्ध–बृद्धा र केटाकेटीलाई समूहमा डुलाउन ल्याउने युवायुवतीहरूको झुन्ड देखिन्थ्यो । र, कतै कुकुर डुलाउन आएका तरुना केटा र केटीहरूको हुल ! निकै व्यस्त । आफन्तबाट एक्लिएर वाद्र्धक्यको बोझले थिचिएकाहरूको पीडा साटासाट गरेझैं बात मारिरहेका वृद्धहरूको अर्को टिठलाग्दो जमात । मनमनै लाग्दैथियो, आहा...कतिको सुखदुःखको साक्ष्य रहेछ यो ! साँच्चि नै आकर्षक थियो यो पार्क मेरा लागि, मनै प्रफुल्ल तुल्याइदिने ।   टोकियो सुगिनामी वार्डको ओमिया नगरमा रहेको आलोकको घरैमुनि रहेछ यो मेट्रोपोलिटन वोदाबरी पार्क अर्थात् जापानी भाषाको कोएन । सुन्दरमात्र होइन, स्थानीय बासिन्दको प्रातः तथा सायम्कालीन भ्रमणका कारण अति नै व्यस्त देखिन्थ्यो यो । सुगिनामी बसुन्जेल हाम्रो पनि बिहान बेलुकाको समय बिताउने सुन्दर थलो बनेको थियो यही वोदावरी पार्क । निकै ठूलो भू–भाग समेटेको थियो यसले । जेम्पुकुजिगाना खोलोको किनारैकिनार पस्रिएको यो पार्कले अर्को हरियालीपूर्ण जेम्पुकुजी पार्कयताको ओमियालाई पनि छोएको थियो । त्यता हाचिमानागु मन्दिरलाई स्पर्श गर्दै पस्रिएको थियो यो । साँझ–विहानको जगिङ गर्नेहरू, विहानभर साना शिशुहरूको देखभाल गर्ने किन्डरगार्डेनका आयाहरूको रेखदेखमा पिङ र झुला खेल्दै रमाइरहेका सानासाना नानीहरू ! यी सबैले अरु आकर्षण थपेका थिए पार्कको । पार्कमा चिप्लेटी, पिङ, झुला के मात्र थिएन केटाकेटीका लागि आकर्षक खेलका साधन ? सबै सुविधा उपलब्ध थिए– बस्नका लागि व्यवस्थित बेन्च, खानका लागि सफा पानीको सार्वजनिक धारा र अन्य सुविधाकासाथै शौचनिवृत्तिकालागि सुविधासम्पन्न शौचालय । त्यो देख्दा लाग्थ्यो, तव न सभ्यताको गौरवमा शिर ठाडो पार्नसक्छ जापान ! कहिले आउला हामीले पनि त्यसरी नै गौरव गर्न सक्ने दिन ? हर कुरामा पौरखद्वारा प्रकृतिलाई चुनौती दिन सफल जापानीहरूको यस्तै पौरख र उन्नत सोचको परिणाम पो रहेछ त यो खोलो । पछि यो थाहा पाएपछि मनमनै चकित र नतमस्तक बनेको थिएँ म जापानीहरूको यो क्षमता र सोचप्रति । घरघरबाट नुहाएर, लुगाधोएर ढलमा फालिएको पानीजम्मा गरेपछि राम्ररी प्रशोध गरेर मिसाइएको पो रहेछ त यो खोलामा । त्यसैले खान भने हुँदो रहेनछ यो पानी । जलचरकालागि भने हानिकारक छैन रे । ओहो...सुनेर छक्कै परेको थिएँ । खहरेजस्तै खोलोमा खेर जाने पानी मिसाएर कसरी कलकल बगाएका होलान यी जापानीले ! कति सुन्दर प्रयोग, उपयोग गरेर खेर गएको घरघरको पानी जम्मा गरेर कृत्रिम खोलाको निर्माण गर्ने कति राम्रो तरिका ! केही पर... खोलाको छेउमैें थियो एउटा गहिरो पोखरी । बाक्ला रुखहरूको बीचमा थुपुक्क बसेको त्यो पोखरी निकै सुन्दर देखिन्थ्यो । पोखरीमा ठूलासाना रङ्गीविरङ्गी माछाहरू नाचिरहेका थिए ।  अनि तिनै सुन्दर माछा र तिनको स्वतन्त्र बहावको अवलोकन गर्न तल्लीन थियो किनाराभरि दर्शकको बाक्लो भीड ! थरिथरीका चराचुरुङ्गीको कलरवले सिङ्गो जङ्गल सङ्गीतमय बनिरहेको थियो । ती चराहरूको अध्ययन–अवलोकन गर्ने शोधार्थी र विद्यार्थीहरूको भीड पनि त्यहाँ त्यति नै बाक्लो थियो । भिडियोफिल्म खिच्नेहरू त्यत्तिकै सक्रिय थिए । त्यसैले आफैंमा एउटा अर्को आकर्षण थियो वोदाबरी पार्कको त्यो पोखरी । प्रकृतिप्रेमी जापानी र चराअध्येता विद्यार्थीका साथै सोखिनहरूका लागि स्वर्ग नै लाग्थ्यो त्यो ठाउँ । पार्कको त्यो पोखरी खण्डसँगैको चरा अवलोकन क्षेत्रमा जापानकै सर्वाधिक दुर्लभ चराचुरुङ्गीहरू देखिन्छन् रे । यसैले त चराप्रेमी र तिनको विशेष अध्ययन गर्ने विद्यार्थी र शोधार्थीहरूका लागि अत्यन्त आकर्षणको क्षेत्र बनेको रहेछ यो । त्यसैले पार्कमा आउनेहरूमध्ये नियमित आगन्तुक बाहेकका धेरैजसो यहाँ देखिने दुर्लभ चराहरूको अध्यन गर्न कै लागि आउँदा रहेछन् । यसरी जेनपुकुजी खोलो, वोदाबरी ताल, हरियो घना जङ्गल र सुन्दर फूल, माछा र चराचुरुङ्गीको कलरव अनि तिनैका मुक्त उडानले अत्यन्त आकर्षक बनाएका थिए पार्कलाई । स्थानीय मानिस विशेषगरी टाढा जान नसक्ने केटाकेटी र बुढाबूढीकालागि त समय बिताउने ठाउँ नै यही थियो । हलुका घुमफिर र मनोरन्जनका लागि झनै रुचिकर थियो यो बगैँचा । सुगिनामी बसुन्जेल हाम्रालागि पनि प्रातःभ्रमणको थलो बनेको थियो यो ।जापानी इतिहासको इडोकालमापनि यसको नाम “सुगिनामी” नै थियो रे । सुरुमा भने अलि लामो रहेछ– सुगिनामकी । सुगिनामकी, अर्थात् देवदारु र धुपीका तरुपङ्क्ति ! त्यतिबेला कुनै जमिन्दारको स्वामित्वमा रहेछ यो आजको सुगिनामी क्षेत्र । उनैले आफ्नो जग्गाको सीमानामा छुट्याउन वरिपरि देवदारु र धुपीका रूखहरू रोप्न लगाएछन् । तिनै धुपी र देवदारुका तरुपङ्क्तिबाट प्रचलित भएको रहेछ यो नाउँ ! अहिलेको यो सुगिनामी वार्ड चाहिँ सन् १९४७ मा स्थापना भएको रहेछ । महानगरीय टोकियोको आवासीय सहरका रूपमा परिचित सुगिनामी–कु नाउँको यो सानो इलाकामा मात्रै अहिले लगभग सवा पाँच लाख जापानी र ११ हजार जति विदेशीहरू बस्छन् रे । इडो कालको सुरुदेखि नै अस्तित्वमा रहेको यो सुगिनामी, टोकियोका २३ वटा विशेष वडामध्ये पश्चिमी भेगमा रहेको एउटा शान्त र सुन्दर बस्तीयुक्त वडा थियो । यसको पूर्वतर्फ अर्को प्रसिद्ध सहर थियो– सिबुया । दक्षिण तर्फ थियो, सेतागाया । अनि सुगिनामीको पश्चिम तर्फ मिताका नगर थियो । कान्दा नदी यही सुगिनामी भएर बग्दथ्योे । सुगिनामीे पश्चिमको जेन्पुकुजी पार्क र त्यही पार्कभएर बग्ने जेन्पुकुजी तथा मियोसोजी खोलाले यसको प्राकृतिक छटामा विशेष आकर्षण थपेका थिए । अनि यस वार्डका ज्यान थिए– कन्सर्ट हल, जापान फिल्हार्मोनिक अर्केस्ट्रा, सुगिनामी एनिमेसन म्युजियम, सुगिनामी हिस्टोरिकल म्युजियम, साइन्स म्युजियम, मायोस्योजी मन्दिर, मायोस्योजी पार्क र खोलो, जेन्पुकु टेम्पल पार्क र त्यहाँ अवस्थित टोकियो महिला क्रिस्चियन विश्वविद्यालय अनि ओमिया हाचिमानागु मन्दिर । अरु पनि धेरै थिए दर्शनीय ठाउँहरू !वोदाबरी पार्कको छेवैमा थियो सन् १९९८ मा निर्मित हिस्टोरिकल म्युुजियम । सानो भएर पनि अत्यन्त महत्वपूर्ण लाग्थे यहाँ सङ्ग्रहित सुगिनामीका प्राग्ऐतिहासिक र पछिल्लो कालखण्ड चिनाउने प्राचिन ऐतिहासिक बस्तुहरू । ती मूलतः यही सुगिनामी नगरको प्राचिन संस्कृति र सभ्यतासँग सम्बन्धित थिए । सुगिनामीको अर्को दर्शनीयस्थल थियो मायोस्योजी मन्दिर ! सन् १३२५ बनेको मूल स्वरूपमा भने थिएन यो । अहिले देखिने यो मन्दिरको पुनःनिर्माण १६४६ मा गरिएको रहेछ । मन्दिर नजिकै बगेको खोलोको किनारामैं थियो मोस्योजी पार्क ! यस्तै अरु पनि नौवटा ठूलासाना पार्क छन् रे यो सुगिनामी उपनगरभित्र । त्यसैले त गौरव गर्छ यो आप्mनो नागर सभ्यतामाथि ! सिंगो टोकियोको तुलनमा त्यति ठूलो थिएन यो वडा  तर यति सानो वडामैं यति धेरै सुन्दर पार्क ! आम्मा...मा...! साँच्चिकै लोभलाग्दो थियो यो पर्यावरणीय व्यवस्था । पैतीस चालीस लाखभन्दा बढी जनसङ्ख्याको बोझ बोकिरहेको मेरो काठमाडौंले आफ्नो नगरकेन्द्रमा एउटै गतिलो पार्क देख्न पाएको छैन । नत निकट भविष्यमा देख्न पाउने सम्भावना नै छ । त्यो सम्झँदा शिर झुकेको थियो मेरो लज्जाले । कति लज्जित र बाउन्ने छु म सुगिनामीको यो वैभवका अगाडि ! यो सानो ठाउँमा ८ वटाभन्दा बढी कलात्मक मन्दिर र आधा दर्जन भन्दा बढी संग्रहालय अनि त्यत्तिकै सङ्ख्यामा सांस्कृतिक केन्द्रहरूको उपस्थिति ! यिनले पनि जापानी सभ्यताको मौन वकालत गरिरहेका थिए । हुन त माल पाएर चाल नपाएकोले मात्र त हो, नत्र के नै पो कमी थियो र हामीसँग पनि ? भएका सभ्यताका मुहान नदीहरूलाई ढलमा परिणत ग¥यौं, पार्कलाई सेना र राजनीतिक दलका गतिविधिको भागबन्डामा चौटालाम्टा बनायौं । सहरलाई फोरहका थुप्रा र बस्तीका नाउँमा गन्दा बस्तीको विकासलाई नै उन्नति ठान्यौं । अनि यसैमा मख्ख छौं हामी, २१ शताब्दीका कथित सभ्य काठमाडौंका सुसंस्कृत नागरिकहरू ! फर्केर फेरि चिया, खानापछि केही बेर आराम गर्दागर्दै चार बजिहाल्यो । बाहिर हलुका पानी परिरहेको थियो पानीकै कारण बाहिर निकै चिसो थियो । तर पनि घुम्नै आएका हामी पानी र चिसोका कारण कोठैमा थुनिएर बस्न सक्दैनथ्यौं । त्यसैले अपराह्न केहीबेर घुम्ने उद्देश्यलिएर निस्कियौं हामी दुई जना अर्थात् लक्ष्मी र म । बाक्लो ज्याकेट, टाउको छोप्ने टोपी, हातमा लामो बिँड भएको ठूलो छाता– साँच्चिकै यात्रु थियौं हामी त्यतिखेर । घरबाट मुख्यसडक निस्कियौं हामी । घर फर्कन सजिलो होस् भनेर संकेतहरू गौर गर्दै थिएँ म । तर सडक चिह्न, घरका साइनबोर्ड, कुनै पनि सङ्केत पाटी बुझिने भाषामा थिएन । कतै देखिँदैनथ्यो मैले बुझ्ने भाषा । सबैतिर जापानी भाषामा लेखिएका सूचनापाटी र नामपाटी । अङ्ग्रेजीका साइनबोर्ड खोज्नु त कालो बादलले ढाकेको आकाशमा तारा खोज्नुजस्तै थियो । जेजति देखिन्थे, सबै जापानी खान्जी भाषामा लेखिएका नाम र सूचनाहरू ! अङ्ग्रेजीमा गरिएका प्रश्न बुझेर जवाफ दिने मानिस समेत हतपत्ति फेला पर्दैनथे । त्यतिबेला भाषाविहीन आदिमयुगको कुनै कालखण्डमा पुगेजस्तै अनुभव गर्दोथिएँ म ! बाहिरको मूल सडक भेटिनेभेटिने बेलामा अङ्ग्रेजीमा लेखिएको एउटा सङ्केतपाटी देखियो बल्लबल्ल । “पोस्ट अफिस” लेखिएको त्यो नामपट् मेरलागि ठूलै खोजी बनेकोथियो त्यतिबेला । मूल सडककै मुखमा थियो त्यो पोस्ट अफिस लेखिएको हुलाक घर । अनि मूल सडकको पारिपटि केहीपर अर्को पनि अङ्ग्रेजीमा लेखिएको सङ्केत पाटी देखियो– फेमिली मार्ट ! यिनै दुई अङ्ग्रेजी सङ्केतपाटीलाई घर फर्कँदा बाटो पहिल्याउने चिनो बनाएर अघि बढ्यौं हामी । अरु भने जता हे¥यो सबै उस्तै । कसरी पत्ता लाउनु जाने ठाउँ र पस्ने मोड ! हामीले यही अलमलमा दश मिनेटजति वायाँ हिँडेपछि सडक पार गर्ने आँट गरेनौं, वायाँतिरै मोडिएको सडकपेटी नछाडिकनै अघि बढ्यौं । मोड पार गरेर उता जाँदा अलमलिएर बाटो भभुलियोभने ? फर्कने बाटो अलमलिएर अन्तै पुगिए के गर्ने ! त्यही डरले आज पहिलो दिन नै यता उता गर्ने आँट गर्न सकेका थिएनौं । आएको सडकपेटी नछाडी जाँदा फर्कन त्यति समस्या हुँदैनथ्यो । त्यसरी अघि बढ्दाबढ्दै केहीबेर हिँडेपछि एउटा कलात्मक प्रवेशद्वार देखियो, अर्को मोडमा । त्यस द्वारले हाम्रो ध्यान खिच्नु स्वाभाविक थियो । समय धेरै थिएन, सिमसिम पानी र घना बादलका कारण अँध्यारो गाढा हुँदै थियो । हाम्रा जिज्ञासु आँखा भने त्यो प्रवेशद्वारभित्र हामीले  अनुमान गरेको मन्दिर वा कुनै दर्शनीय स्मारक नहेरी फर्कन मानिरहेका थिएनन् । आतुर थिए हाम्रा आँखा र मन दुवै ती हेर्नका लागि । त्यसैले अँध्यारो हुनलागे पनि हामी अघि बढ्यौं त्यही प्रवेशद्वार हुँदै । तीन–चार मिनेटजति अघि बढेपछि हामी एउटा ठूलो मन्दिर अगाडि उभिएका थियौं । मन्दिर दर्शनको समय नभएकोले होला, सिङ्गो मन्दिर परिसर सुनसान थियो । एउटा सूचना केन्द्र थियो । सूचना केन्द्रलाई विक्री केन्द्रका रूपमा समेत उपयोग गरिएको देखिन्थ्यो । बाहिरै परिसरमा मन्दिरमा चढाउने बस्तुकासाथै सम्झनाका लागि किनिने उपहार विक्रीका लागि सजाइएका देखिन्थे.। बत्तीको उज्लालोमा पर अर्को कुनोमा पनि त्यस्तै देखिन्थ्यो । पसलमा एउटी जापानी केटी बसेकी थिई । दर्शनार्थ आउने यात्रीको सेवामा बसेकी भीक्षुणीजस्तै लाग्थि त्यो जापानी विक्रेता केटी । झट्ट हेर्दा ऊबाहेक अरु कोही देखिँदैनथे मन्दिर परिसरमा । मन्दिर नजिकै पुगेपछि देखिई प्रार्थनाकक्षअगाडि उभिएर प्रार्थना गरिरहेकी एउटी जापानी युवती ! हामी सूचना केन्द्र र सोभेनियर पसलभन्दाअगाडि त्यही प्रार्थनाकक्षतिर बढ्यौं । हातमा क्यामरा थियो मेरो । बोल्ने बहानामा नै सही, मैले त्यही प्रार्थना गरिरहेकी युवतीलाई हाम्रो तस्बिर खिचिदिन अनुरोध गरेँ । अङ्ग्रेजीमा केही काम चलाउ संवाद गर्दिरहिछ त्यो केटी, त्यसैले सजिलो भयो ।“विल यु प्लिज हेल्प अस टु टेक सम पिक्चर्स ।” मैले अनकनाइ अनकनाइ अनुरोध गरेँ । “ह्वेर आर यु फ्रम ?...तिमी कुन देशबाट ?” मेरो अनुरोधसुन्नासाथ जिज्ञासा प्रकट गरी उसले । “नेपाल....म नेपालबाट ।” मैले दिएको सङ्क्षिप्त उत्तर सुनेर ऊ खुसी भएकी थिइ । “ओह्...नेपारु !” मेरो जवाफ सुन्नासाथ उसको मुखबाट निस्किएको थियो त्यो खुसीमिश्रित उद्गार ! उसको मुखबाट निस्किएको त्यो सुखद्आश्चर्य मिश्रित स्वर सुनेर मेरो खुसी सीमा रहेन । धेरै जापानीहरूका लागि अपरिचित भए पनि कमसेकम यो केटीले त चिनेकी रहिछे मेरो देशलाई, मेरो नेपाललाई ! त्यही सोचेर केही भएपनि नाक फुलाएको थिएँ मैले । उसले नेपाल बारे कहीँ कतै पढेकी र सुनेकी रहिछे संस्कृति विषयको अध्ययन गर्दा ।“नेपाल जाने मन छ । पाइने हो, होइन के थाहा ?” उसको चाहना सुनेँ । नेपालबारे सुनेर उसलाई पनि सकियो भने घुम्न जाने मन छ रे नेपाल ! जापान पुगेपछि कुनै एउटी जापानी नागरिकको मुखबाट मैले सुनेको यो नै पहिलो नेपालबारेको सुन्दर अभिव्यक्ति थियो । नेपालप्रतिको यो पहिलो जापानी अभिव्यक्ति सुनेर साँच्चि नै रमाइलो लागेको थियो । अनि त के थियो, खुसीखुसी खिचिदिई मन्दिरको पृष्ठभूमिमा उभिएका हामी दुईको फोटो । जापानी संस्कृतिको पनि विद्यार्थी रहिछ त्यो युवती । त्यसैले त्यस मन्दिर र मन्दिर दर्शनको परम्पराका बारेमा समेत आफूले जानेका कुराको बेलिबिस्तार लाएर जिज्ञासा मेटाएकी थिइ मेरो । मेरो प्रश्नमा उसले आफ्नो नाम पनि बताएकी थिइ, तर त्यो असजिलो नाम सम्झनै सकिन पछि । त्यतिबेलै कतै टिप्न बिर्सेकोमा अहिले पनि थक्कथक्क लागरिहेको छ । “ओमिया हाचिमानागु स्मारक (इजmष्थब ज्बअजष्mबलनग क्जचष्लभ) हो, यसको नाम ।” यही बताएकी थिइ उसले त्यो मन्दिरको नाम । त्यतिखेर प्रार्थनाकक्ष अगाडि मेरा आँखा जापानी बौद्ध मन्दिरको मुख्य मन्दिरकक्षमा जताततै देखिने शाक्यमुनि बुद्ध वा कुनै अमिताभ बुद्धहरूको भव्य तथा विशाल मूर्तिहरूको खोजीमा यताउता डुलिरहेका थिए । बुद्ध र अमिताभका नभए पनि अरु बौद्ध सन्त वा देवताहरूका मूर्ति त पक्कै होलान् ! यस्तै यस्तै सोच्दै थिएँ म । यसअघि बीस वर्षअगाडि जापान आउँदा घुमिएका नारा, क्योटो र टोकियोकै अरु बौद्ध वा अन्य मन्दिरहरूमा जतातै विशाल विशाल बुद्धका मूर्तिहरू देखेको थिएँ ! त्यसैले ममा यस्ता मन्दिर मूर्ति बेगरका हुँदैनन् भन्ने धारण बन्नु स्वाभाविक थियो ! तर खोइ....यहाँ त त्यस्ता कुनै मूर्ति देखिँदैनन् ! मन्दिरको त्यो मूल प्रार्थना कक्षले मेरोे पूर्वधारणा खण्डित तुल्याइदिएको थियो !“खोइ, बुद्ध वा बोधिसत्वहरूको मूर्ति त कतै देखिँदैन त ?” त्यही पूर्व धारणको जगमा मैले उसँग प्रश्न गरेको थिएँ । “खासमा यो मन्दिर होइन, धार्मिक स्मारक हो । तिमीहरूले बाहिर सडकछेउको ढोका देख्यौ नि, हो यस्तो ढोका भएकाजति सबै स्मारक हुन्, धार्मिक सन्त वा त्यस्तै कसैको अस्तु राखिएका वा कुनै धर्मको सम्झनामा निर्मित धार्मिक आस्थाको केन्द्र ! सुरुमा व्यक्तिगत रहेपनि पछि जनता र समाजको साझा धार्मिक स्थलमा परिणत हुँदै आएका छन् यस्ता स्मारकहरू । योपनि त्यस्तै हो, देवल वा देवमन्दिर होइन । यहाँ मूर्तिको नभएर ऊ त्यो क्रिस्टलको चम्किलो मिनारजस्तो गोलोकार अमूर्त आकृतिको आराधना गरिन्छ । त्यसैलाई ईश्वर मानेर प्रार्थना गर्छाैं हामी ! सबै जापानीहरू यही ज्योतिस्वरूप क्रिस्टल बिम्बका अगाडि नतमस्तक हुन्छन् र शिर झुकाउँदै प्रार्थना गर्छन् । अनि ऊ त्यो अगाडिको दानपात्रमा दानस्वरूप सकेको रकम अर्पण गर्छन् । त्यसपछि फर्कने बेलामा फेरि एकपटक शान्ति कामना गर्दै  झुकेर प्रार्थना गर्छन् ।” लामै बेलीबिस्तार सहित जानकारी दिएकी थिई उसले । बाहिर प्राङ्गणको अर्कोतर्फ पनि सजाएर राखिएका थिए ठूलाठूला मन्त्र लेखिएका कागतका लाल्टिनहरू, मन्त्र लेखिएका पताका, धनुष काँड, डुङ्गा, बहाना र साना साना मुङ्ग्राजस्ता काठका सुन्दर कलात्मक बस्तुहरू ! त्यो, बत्तीले झकिझकाउ उज्यालो परिसरमा यस्तैयस्तै अरु धेरैप्रकारका बस्तुहरू थिए धर्मिक आस्थासँग गाँसिएका चढौती र सम्झनाका कोसेलीहरू । कुनै किनेर त्यहीँ चढाइने चढौतीका लागि प्रयोग हुने बस्तु थिए, कुनै किनेर घरमा सम्झनास्वरूप लैजाने चिनोस्वरूपका कोसेली ! त्यही विक्रीस्थलले सानोतिनो सूचनाकेन्द्रको काम पनि गर्दोरहेछ । त्यो नेपालप्रेमी जापानी केटीबाट जे जति जानकारी पाइयो, त्यसले थप जानकारीको जिज्ञासा जगाउनु स्वाभाविक थियो । तिनै जिज्ञासा समन गर्ने क्रममा मैले सूचना केन्द्रकी त्यो जापानी केटीसँग स्मारक सम्बन्धी अङ्ग्रेजी भाषाको परिचयपुस्तिका मागेको थिएँ । समस्या थियो उही भाषाको । त्यसैले भाषा नबुझेर अलमल्ल परेकी थिई त्यो पसलकी केटी । अनि त्यही हामीलाई जानकारी दिने केटीले खान्जी अर्थात जापानी भाषामैं अनुवाद गरेर मेरो आवश्यकता सुनाइ क्यारे, सुन्नासाथ उसले भित्रपटि फर्केर केही भनी । भित्रपटि अरु बौद्ध भीक्षु पनि रहेछन् । तिनैमध्ये एकजनाले केहीबेर खोजेर एउटा अङ्ग्रेजी परिचय पुस्तिका थमाइदिए । हाचिमानागु मन्दिर बारे बाँकी धेरै जानकारी दिएको त्यही परिचय पुस्तिकाबाट पाएको थिएँ मैले । सन् १०६३ मा निर्माण भएको रहेछ यो टोकियोको सुगिनामी–कु स्थित ओहमिया हाचिमानागु धार्मिक स्मारक । यसको निर्माणभित्रको कथागर्भ पनि निकै लामो रहेछ । करिव साढे नौ सय वर्षजतिअघि हेयान कालमा वादशाह गोरेइजेईले जापानको उत्तरी प्रान्त मात्सुको गभर्नरमा नियुक्त गरेछन् लर्ड मिनामोतो–नो योरियोसीलाई । गभर्नरका रूपमा उनको प्रमुख जिम्मेवारी स्थानीय धार्मिक समुदायका विद्रोही आबे योरितोकीलाई नियन्त्रणमा लिनु रहेछ । त्यो जिम्मेवारी पूरा गर्न जाँदा जुन ३०, १०५१ का दिन उनी यही ओमिया हाचिमानागु मन्दिर रहेको ठाउँमा आइपुगेछन् । यहाँ आइपुग्नासाथ उनले अहिले मन्दिर भएकै ठाउँभन्दा ठीकमाथि आकाशमा बादलका पातला आठवटा चक्का देखेछन् । उनलाई त्यो बादलको आकार उनका स्वर्गीय गुरु हाचिमा ओकामीको आश्रममा राखिएको चिह्नजस्तै लागेछ । पछि विद्रोहीहरूलाई नियन्त्रण गरेर फर्कँदा उनले त्यही ठाउँमा आफ्ना गुरु हाचिमा ओकामीको सम्झनामा बनाएका रहेछन् यो स्मारक । मन्दिर बनेपछि यो ठाउँ पनि ओमिया कै नाउँले चिनिन थालेछ । ओमियाको अर्थ हुँदोरहेछ “विशाल मन्दिर” !त, यसरीे मार्गदर्शकविना निस्केको त्यो पहिलो दिनको हाम्रा पाइला निरर्थक भने हुन पाएन । त्यो ओमिया हाचिमानागुका कलात्मक सांस्कृतिक निधि अवलोकन गर्न पाएर सही गन्तव्य ठम्याउन सफल भएपछि सार्थक बनेको थियो आजको दिन । फर्कँदा भने केही समस्या झेल्नुप¥यो । पोस्ट अफिस मैले फर्कन राखेको चिह्न थियो । तर अहिले फर्कँदा त्यो सङ्केतपाटी कतै देखिएन, मूल सडकको भित्रीभागमा परेर छोपिएछ । फलतः हामी त त्यो छेडोलाई परै छाडेर निकै अगाडि पो बढिसकेछौं । लक्ष्मीको अन्दाजमा भने आइपुगेकै थिएन त्यो ठाउँ । ऊ अगाडि पनि आइसकेकी, मलाई भन्दा बढी जानकारी हुनु स्वाभाविक थियो । त्यसैले उसको अनुमान सही होला भनेर नै उसको निर्देशन पछ्याएको थिएँ मैले । तर धेरैबेर हिँडिसकियो, कहिल्यै आउँदैन त पोस्ट अफिसको त्यो चिनो ! जति पर गयो उतिउति नयाँनयाँ ठाउँ देखिएजस्तो लाग्दैथियो । मनमा अत्यास पनि बढ्दैथियो– नयाँ ठाउँ, हराइने त होइन ? हुन त बुहारी सीताले हिँड्ने बेलामा मोबाइल दिएकी थिइन्, यस्तै परेमा फोन गर्न । तर हत्तपत्ति किन उनलाई पनि अत्याउने ? यस्तै सोचेर फोन गरेको थिइन । आलोक त अफिसमैं थियो । जे होस्, एकपल्ट फेरि कोसिस गरेर मात्रै केही नलागे फोन गरौंला भन्ने सोचेर लक्ष्मीलाई आएकै बाटो फर्कन लगाएँ । नभन्दै मेरै अनुमान सही ठहरियो, केही बेर आएकै बाटो फर्केपछि पो देखियो त्यो अघि हामीले चिनो बनाएको पोस्ट अफिस ! 


Friday, May 11, 2012

रोबोरामको विद्रोह विज्ञानकथा

(गरिमा, वैशाख २०६९ परुर्णङ्क ३५३ मा प्रकाशित)


–विजय चालिसे
“ओहो कस्तो हिउँजस्तै भएछ घर त ! रोबोरामले आज हिटर चलाउन पनि बिर्सेछ कि क्या हो ?” उसले साथीतिर हेर्दै भन्यो ।
घरभित्रको वातावरण हिउँ झैं चिसो थियो । यसअघि कहिल्यै यस्तो भएको थिएन । उसको यन्त्रमानव रोबोराम सधैं घरभित्रको तापक्रम हेथ्र्यो । आफ्नो मालिकका लागि अनुकूल हुने गरी घरभित्रको तापक्रम मिलाउँदथ्यो । तर आज भने हिटर नचलाइएकोले घरभित्र बस्नै नसकिने चिसो थियो, हिउँजस्तै कठ्याङ्ग्रिने चिसो ! त्यतिमात्र होइन आज घर पूरै अव्यवस्थित देखन्थ्यिो । सबैतिर अस्तव्यस्त । घरभित्र पस्नासाथ  त्यस्तो देखेर अल्फाबिटा छक्क प¥यो । किन, के भयो आज यसलाई ? आज  रोबोरामले कोठा समेत सफा गरेको छैन जस्तो छ । कहिल्यै यस्तो गर्दैनथ्यो । बाहिरबाट घर फर्कँदा सबै कुरा ठीक ठाक पाउँदथ्यो उसले । त्यसका लागि रोबोराम चौबीसै घन्टा खटिरहेको हुन्थ्यो ।
“होइन, आज तिम्रो रोबो घरमैं पो छैन कि, के हो ? नभए त उसले बिर्सने कुरै छैन । यो रोबो तिमी–हामीजस्तै मान्छे हो र बिर्सन्थ्यो ! यी सबै काम सधैंका लागि उसको दिमाग अर्थात् प्रोग्राममैं सेट गरिएको हुन्छ होइन र ?” आज उसकहाँ नै खाना खान भनी आएकी आएकी साथी सिग्माले आशङ्का प्रकट गरी ।
“होइन, त्यसो त नहुनु पर्ने हो ! घरभन्दा बाहिर जाने त उसको सर्किटमा कुनै आदेश नै दिइएको छैन । त्यसैले घरबाहिर निस्कने त कुरै भएन !” उसले जवाफ दियो ।
सिग्मासँग त्यसो भने पनि वास्तवमा के भएको हो भन्नेमा आफैं अनभिज्ञ थियो ऊ । त्यसैले उसका मनमा अनेकौं प्रश्न खेल्दै थिए– हो त, घरमैं भएको भए किन यसरी सबै काम लाथलिङ्ग ? एउटै काम भएको देखिँदैन । कतै यसका पुर्जामा केही खराबी त आएन ? घर ल्याउँदा राम्रै थियो । रोबोरामको चुनाव ऊ आफैं रोबो बजार गएर राम्ररी जाँचबूझ गरीवरी ल्याएको थियो । उसका सबै विशेषता बुझेरै ल्याएको हो । रोबोराम बजारमा त्यतिबेलासम्म उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको रोबोट थियो, अत्यन्त विकसित र सर्वगुण सम्पन्न ! भखैरै छ महिना भयो उसले घरमा ल्याएको । अल्फाबिटाले आजसम्म उसको कुनै कामबाट निराश हुनु परेको थिएन । तर आज.....आज के भयो, यसलाई ? सधैं उसले गर्दै आएको भ्याकुम क्लिनर चलाएर कोठा सफा गर्ने काम पनि गरेको थिएन । भित्ताको रेडियो सेन्सिङ दृष्यपर्दाले कोठाभरि धूलाका कणहरू उडेको देखाइरहेको थियो । घर–कोठा ताजा तुल्याउने सफा ताजा हावा फाल्ने मिसिन पनि चलेको थिएन । ऊ सँधैं यी सबै काम सकेर घरमा उपभोग्य समानाहरू के–के छ, के–के छैन हेरेर तिनको अर्डर पठाउने काम गथ्र्यो । आज त्यो कुनै काम पनि गरेको थिएन । रोबोरामको े देब्रे हात जडिएको घडीकै एउटा सुइ दबाएर नभएका सामानहरू मगाउन सकिन्थ्यो । त्यो सुइ थिचेपछि त्यसको पर्दामा सबै उपभोग्य तथा अरु आवश्यक घरायसी सामानको सूची देखापथ्र्यो । सामानको त्यो सूचीमा चाहिने बस्तु र मात्रा हेर्दै चिनो लाएर सुइ थिचेपछि नेटवर्क जोडिएको आपूर्तिकर्ता र वितरकहरू कहाँ आवश्यक आदेशको सूचना पुग्थ्यो । त्यसरी विद्युतीय किनमेलको आदेश पाउनासाथ आदेश लिने डिपार्टमेन्टल स्टोरहरू आ–आफ्ना विद्युतीय परिवहन सञ्जाल अटोभरियामा राखेर मागेका सामान घरमा पठाउँथे । कम्प्युटर प्रोग्रामिङ अनुसार सञ्चालन हुने सामान ओसारपसार गर्ने ती अटोकार अर्थात अटोभरिया र त्यसका सहयोगी यन्त्रमानव अर्डर गरिएका सामान घरमा पु¥याएर आदेशकर्ता अर्को यन्त्रमानवलाई जिम्मा लगाएपछि मात्रै फर्कन्थे । यी अटोभरिया कम्प्युटर प्रोग्रामबाट विनाचालक चल्ने स्वचालित साना सवारीसाधन थिए । सबैतिर बस्तीबस्तीमा यी साधनहरू चल्ने अलग्गै बाटोहरूको जालो नै तयार गरिएका थिए । अटोभरियाका कम्प्युटरमा सामान पु¥याउनु पर्ने घरको ठेगाना, बाटो घर र टोलको नक्सा, सामान बुझ्ने रोबोटको संकेत नम्बर र नाम आदि प्रोग्राम गरिन्थ्यो । अटोभरियाहरू त्यसै अनुसार घर–घरमा लगेर सामान बुझाउँथे । घरबाहिर पुग्नासाथ उनीहरू सामान बुझ्ने रोबोको कम्प्युटरमा सङ्केत दिन्थे । त्यो सङ्केत पाएपछि घर–घरमा काम गर्ने बामदार रोबोटहरू सामान बुझेर लैजान्थे, तिनको राखनधरन गर्थे । दूध, इन्धन र सवारीका साधनमा प्रयोग गरिने ग्यासजस्ता बस्तु भने घरमैं जडान गरिएका पाइपद्वारा आउँथे । ती सामान आदेशअनुसार भान्छा र ग्यारेजमैं मागिएको परिमाणमा उपलब्ध हुन्थे । उसको घरमा ती सबै सामानको आदेश दिने र बुझबुझारथ गरी राखनधरन गर्ने काम पनि रोबोरामकै थियो । यी कुनै काममा आजसम्म रोबोरामले कुनै त्रुटि गरेको थिएन । तर आज.....! 
“भनेपछि, चिया चमेना पनि नख्वाई पठाउने भयौ आज ! तिम्रो रोबोले पक्कै खानेकुरा बनाएको छैन होला त ?” सिग्माले शङ्का प्रकट गरी ।
अल्फाबिटा भान्छामा गयो । त्यहाँको अवस्था पनि उस्तै थियो । फ्रिजमा पनि पकाउनु पर्ने काँचो तर्कारीहरूबाहेक अरु केही देखिएन । लगभग रित्तै थियो । त्यहाँ तयारी खाने कुरा केही थिएन । फ्रिजमा तताएर खाइहाल्ने तयारी खानेकुरा पनि केही देखेन । अघि–पछि रोबोराम सधैं नै मालिकको इच्छाअनुसारको खाना तयार गरेर राख्दथ्यो । भएका तयारी खाना तताउँथ्यो । खानेकुरा टेबिलमा सजाएर राख्दथ्यो । अर्थात घरका सबै काम रोबोराम बिना कुनै त्रुटि सम्पन्न गर्ने गथ्र्यो । तर.........तर आज ? रोबोरामले गर्नुपर्ने कुनै काम गरेको थिएन । न त फ्रिजमा ताजा खानेकुरा भरेको थियो, न कोठा तताउने व्यवस्था नै गरेको थियो । घरकोठा ताजा बनाउन फ्रेसनर त झन के खोल्थ्यो ।  
“पक्कै तिम्रो रोबोरामको प्रोग्राममा केही गडबडी आएको हुनुपर्छ । ब्याट्री सकिएर होइन होला त ?” सिग्माले थप शङ्का प्रकट गरी ।
“हो पक्कै पनि यसको कुनै पुर्जामा केही खराबी आएछ क्यारे । नत्र यस्तो नहुनु पर्ने ! आखिर मेसिननै त हो, जति विकसित र आधुनिक भए पनि सानो कुरा विग्रियो भने त्यसमा समस्या अइहाल्छ । नत्र....बिर्सने त कुरै भएन, मान्छे हो र हामीलेजस्तो बिर्सन !” आफ्नो त्यस्तो शङ्का प्रति अल्फाबिटा आफैं फिस्स हाँसिदियो । हुन पनि केही यान्त्रिक खराबीबेगर उसले नियमित रूपमा निर्धारण गरिएको काम पूरा गर्न बिर्सने कुनै संभावना थिएन । हर काम उसको दिमागमा निर्धारण गरेको समय र विधि अनुसार उसबाट रिठ्ठो नबिराई पूरा हुने गथ्र्यो । त्यसैले उसलाई पनि लाग्यो– पक्कै सिग्माले भनेजस्तै कि त रोबोरामको सकिर्टमा केही खराबी आयो, कि उसको शरीरमैं जडिएको व्याट्री चार्ज गर्ने स्वचालित चार्जरले काम गरेन । त्यो चार्जरले काम गरेको भए व्याट्री आफैं चार्ज हुन्थ्यो । तर चार्जर पनि त कसरी बिग्रियो होला र ? १० वर्ष सम्मको त ग्यारेन्टी नै थियो चार्जरको ।
अल्फाबिटा आफैं पनि अनुभवी कम्प्युटर इन्जिनियर थियो । ऊ अहिले आफैं कम्प्युटरमा कृत्रिम जेहन अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको विकास सम्बन्धी परियोजनामा काम गरिरहेको थियो । उसको प्रयोग सफल भएमा यन्त्र मानवले चाँडै नै मानिसकै जस्तो सुझबुझ (कमनसेन्स) को लक्षण देखाउन थाल्ने उसको विश्वास थियो । त्यसो हुनसक्यो भने यी यन्त्र मानवहरू पनि मानिसजस्तै विचारवान हुनेछन् । यो प्रयोग सफल भयो भने अबका नयाँ पुस्ताका रोबोटहरू आदेश मान्ने बफादार नोकरको तहबाट त्यस्ता आदेश पालबाट राम्रो नराम्रो के कस्तो परिणाम प्राप्त हुन्छ भन्नेसमेत सोचविचार गरेर आफ्नो विवेकको प्रयोग गर्न सक्नेछन् । रोबोरामजस्ता  वर्तमान पुस्ताका रोबोटहरू त्यै तहमा विकसित भइसकेका थिएनन् । तर त्यति विकसित नभए पनि यिनमा समेत केही मात्रामा चेतनाको विकास भैसकेको थियो । यस्ता केही रोबोटहरू स्कुल, विश्वविद्यालय, प्रयोगशाला, कार्यालय, विक्रिकक्षका साथै घरेलु काममा पनि प्रयोग हुन थालेका थिए । यी काम गर्दा आफ्नो विवेक र सुझबुझको प्रयोग गरेर आफैं निर्णय लिन सक्दैनथे । यी आफ्नो प्रोग्राममा रहेका काम राम्ररी गर्न सक्दथे । यी मानिसहरूभन्दा बढी जाँगरिला, मिहिनती र दक्ष मानिन थालेका थिए । मानिसहरू फ्याक्ट्री, कलकार्खाना र दैनिक कामकाजमा चौबीसै घन्टा खटेर काम गर्न मान्दैनथे । मानिसलाई दिनको सात घन्टाभन्दा बढी काम लगाउन पाइँदैनथ्यो । उनीहरू एकजनाले काम गरेर पूरै परिवारको भरणपोषण पुग्ने गरी तलब भत्ताको  माग गर्दथे । त्यतिले नपुगेर बेलाबखत बन्द हड्तालका नाउँमा सबै काम ठप्प पारिदिन्थे । यी सबै कारणले गर्दा तिनका सञ्चालकहरू मानिसलाई भन्दा  रोबोहरूलाई बढी रुचाउँदथे ।
त्यसैले सबैभन्दा पछिल्लो पुस्ताको यो रोबोराम सितिमिती बिग्रिहाल्ने सम्भावना थिएन । न त यसले तोकिएको काम बिसर्ने र बिगार्ने सम्भावना नै थियो । तर आज रोबोरामले किन आफ्नो ड्युटी पूरा नगरेको त ? के भयो आज यसलाई ! ऊ चिन्तित देखियो, कतै रोबोरामका सबै यन्त्र प्रणाली त नष्ट भएन ?
“हेरौंन त, रोबोराम कहाँ र कुन अवस्थामा छ ?” सिग्माले सुझाव दिई ।
सिग्माको सुझाव ठीक लागे पनि रोबोरामलाई खोज्नुभन्दा अगाडि उसले पहिले घरलाई बस्न लायक  आरामदायी तुल्याउनु आवश्यक ठान्यो । पहिलो आवश्यकता त घर तातो बनाउनु नै थियो । उसले आफ्नै हातकोे घडीमा रहेको सानो घुन्डी अर्थात् सुई थिचेर तरङ्ग–पातो (वेभ प्याड) सञ्चालन ग¥यो । त्यो हुन्डीले तरङ्ग–पातो नियन्त्रण गरेर घरभित्रका सबै यान्त्रिक काम गर्न सकिन्थ्यो । रोबोराम यसरी नै आफ्नो काम सम्पन्न गर्ने गथ्र्यो । आज रोबोरामको साटो अल्फाबिटाले नारी घडीको घुन्डी थिच्नासाथ कोठा तताउने र उज्यालो दिने प्रणाली सञ्चालन भयो । अब कोठाभरि मद्धिम दुधालू उज्यालो प्रकाश फैलियो । बिस्तारै चिसो पनि कम हुँदै गयो । चिसो हटेर कोठा बिस्तारै न्यानो हुँदैगयो । त्यसपछि यही तरङ्ग पातोद्वारा अर्को घुन्डी थिचेर उसले बगैँचामा जडिएको पानीको फोहरा चालु ग¥यो । बिहानैदेखि फोहरा नचलाइएकोले पानी नपुगेर बगैँचामा बोटबिरुवा ओइलाएजस्ता देखि थालेका थिए । त्यो काम पनि सकिएपछि उसले भान्छाको फ्रिज र भँडार (स्टोर) मा पर्याप्त खाना भए–नभएको हे¥यो । नभएका आवश्यक सामानको अर्डर पठायो । तरङ्ग–पातोको अर्को घुन्डी दबाएर आफ्नो मास्टर कम्प्युटर प्रणालीमा स्वास्थ्यसम्बन्धी अद्यावधिक अभिलेखहरू हे¥यो । आजै भुक्तानी नगरी नहुने बिलहरूको रकम ई–व्याङ्किङ मार्फत पठाउने काम पनि सक्यो । काम गर्ने बानी नभएकोले यति गर्दा पनि थाकेको अनुभव ग¥यो उसले । मनमनै सोच्यो, पुर्खालेजस्तै सबै काम हातगोडा चलाएरै गर्नु पर्ने भएको भए के हुन्थ्यो होला ?  
“तिमी कुरै सुन्दैनौ, पहिला रोबोलाई के भएको हो त्यो त हेर ! सामान्य समस्या मात्रै रहेछ भने त बनाएपछि यी सबै काम उसैले गरिहाल्थ्यो नि !” जति भने पनि काममा मात्रै अलमलिएको देखेर सिग्माले अलि झर्किँदै भनीन् ।
“हुन त हो, तर त्यस्तो हिउँजस्तो चिसोका बस्न पनि त सक्नुप¥यो नि ! त्यसैले घर ठीकठाक गर्नुका साथै खानेकुराहरू नमगाए के खाने ? रोबोको मर्मत गर्न कम्पनीबाटै मानिस बोलाएर गर्नुपर्ने रहेछ भने यी काम गर्न ढिला हुँदैन ?” उसले जवाफ दियो ।
त्यो त हो, तर खासमा समस्या केहो भन्ने पनि त बुझ्नुप¥यो नि त !” उसको त्यो जवाफ सिग्मालाई चित्त बुझेजस्तो लागेन उसलाई ।
”ठीक छ, पहिले रोबोरामलाई यहीँ बोलाएर हेरौं । बोलाउँदा पनि आएन भने अनि जाउँला उसको च्याम्बरमा !” अल्फाविटाले थप सम्झाउँदै रोबोरामलाई बोलाउन भनी नारी घडीमैं जडिएको सङ्केत प्रसारक घुन्डी थिच्यो । कम्प्युटरप्रणाली र इन्टरनेट संयन्त्रले सुसज्जित त्यो सानो नारी घडी वास्तवमा सिङ्गो संसार थियो । त्यसबाट गर्न नसिकने काम कमै मात्र थिए । घरभित्र, घरबाहिर र अझ संसारको जुनसुकै कुनामा भए पनि यसको सहायताबाट संसारभरका दृश्यहरू हेर्न सकिन्थ्यो । भिडियो च्याट गरेर सचलचित्रद्वारा हेराहेर गर्दै एकअर्काको हाउभाउ हेर्दै आपसमा कुराकानी गर्न सकिन्थ्यो । एकजना मात्र होइन, धेरैसँग एकैचोटी टेलिकन्फरेन्स गर्ने सुविधा पनि धेरै पुरानो भैसकेको थियो । पर्सनल कम्प्युटर, ल्यापटप र आइफोनजस्ता साधनबाट यस्तो भिडियो च्याटिङ गर्न पाउने सुविधा पनि अहिले पुरानो भइसकेको थियो । अहिले त यही नारी घडीमा यी सबै सुविधा प्राप्त थिए । यसद्वारा एकै ठाउँमा बसेर सबै घरायसी उपकरण सञ्चालन गरी आफ्नो आवश्यकता पूरा गर्न सकिन्थ्यो । यसले गर्दा मानिसको शारीरिक गतिशीलता निकै शिथिल हुँदै थियो । हात खुट्टाले गर्नु पर्ने केही थिएन, न त पैदल हिँड्ने बानी नै बाँकी थियो । यसको अभाव उनीहरू मेसिनमा बसेपछि स्वचालित तवरमा हुने कसरत वा फिजिकल एक्सरसाइजबाट पूरा गर्दथे । 
“किन बोलाउँदा पनि आउँदैन यो रोबोराम ? पहिला त कहिल्यै यस्तो गर्दैनथ्यो, सङ्केत पाउनासाथ हाजिर भइसक्थ्यो । पक्कै यसमा यसमा केही खराबी नै  आएको हुनुपर्छ !” बोलाउँदा पनि रोबोराम नआएपछि उसले अनुमान ग¥यो ।
“जाउँ, हिँड उसको कोठामैं गएर हेरौं ।” अल्फाविटाले आदेशसूचक सङेत पठाएर पनि रोबोराम नआएपछि सिग्माले भनी ।
उनीहरू दुबै बैठककोठाबाहिरको रोबो च्याम्बरमा पुगे । रोबोराम भने कोठाको नरम गद्धावाल कुर्सीमा आरामले उपरखुट्टी लगाएर बसिरहेको देखियो । पछिल्लो पुस्ताको यो रोबोट हरप्रकारले मानिसजस्तै लाग्थ्यो । यसमा कमी थियो भने मात्र चेतनाप्रणालीको । नभए मानिसमा हुने सबै प्रकारका क्षमताहरू थिए यसमा । सरसरती हेर्दा पनि मिसिनजस्तो लाग्दैनथ्यो । त्यसैले हर कुरामा सक्षम थियो यो लगभग मानिसजस्तै ।
कम्प्युटरको इतिहासमा पढिएका पुराना सबै कुरा अहिले एकादेशका कथा बनिसकेका थिए । मानवीय कल्पनाको उडान अनवरत अक्कासिँदै थियो । वैज्ञानिकहरू भविष्यका कल्पनाको उडानमा आज पनि उत्तिकै रमाइरहेका थिए । यी कल्पना पहिलेका भन्दा अझ ठोस र तार्किक देखिन्थे । आजका वैज्ञानिकहरूका अगाडि अगाडिका भन्दा भरपर्दा र विश्वासिला भविष्यद्रष्टा प्रविधि तथा संयन्त्रहरू उपलब्ध थिए । हुन पनि उसको आजको पुस्तासँग इतिहास र अनुभवका अपार भण्डारहरू उपलब्ध थिए । त्यसैले भविष्यलाई लिएर उसको पुस्ता अत्यन्त रोमाञ्चित देखिन्थ्यो । 
आभाषित सत्यको साकार प्रयोगका कारण यो सबै सम्भव हुन सकेको थियो । यही प्रयोगको सफलताका कारण आज इन्टरनेटमा मानिसहरूले बनाएका आभाषी चित्र ठीक मान्छले गर्नेजस्तै व्यवहार गर्नथालेका थिए । इन्टरनेट र टेलिभिजनबीचको दूरी घटेर इन्टरनेट मै यस्ता चित्र गड्न सम्भव बनेको थियो । यस्ता चित्रका आभाषित कृत्रिम मानिहरू आफ्नो अनुहारमा प्राकृतिक मानिसले जस्तै आफ्नो अनुहारमा जीवन्त भावात्मक अभिव्यक्ति ल्याउन सक्थे । च्याटब्याट नाउँका यस्ता चरित्र र वास्तविक मानिसका बीच साधारण दृष्टिले हेर्दा कुनै भिन्नता देखिँदैनथ्यो । कृत्रिम बुद्धिमत्तायुक्त यी आभाषी मानिस विद्यालयमा शिक्षकको काम गरिरहेका हुन्थे । टेलिभिजनमा समाचार पढिरहेका हुन्थे । यिनै आभाषी कलाकारहरू टेलिभिजनमा मानिसले जस्तै अभिनय गर्न थालिसकेका थिए । ती कृत्रिम अर्थात आभाषी भए पनि तिनको क्षमता र नाम मान्छे कै जस्तो हुन्थ्यो । यसरी कम्प्युटरका साथै रोबोट पनि मात्र कम्प्युटर र रोबोट नरहेर मानिसका अभिन्न समझदार साथी–सहयोगी बन्न थालिसकेका थिए । वैज्ञानिकहरूको अबको प्रयत्न ती यन्त्रमानवमा मानिसको जस्तै कला, सङ्गीत र अन्य सिर्जनात्मक काम गर्न सक्ने सीर्जनशील क्षमता विकसित गर्नु थियो । अल्फाबिटालगायतका कम्प्युटर इन्जिनियर र वैज्ञानिक–प्राविधिज्ञहरू यही कुरामा गहिरो शोध, अनुसन्धान र प्रयोगहरू गरिरहेका थिए । तिनको दावी थियो– अब मानिसकै जस्तो विवेकशील, शीर्जनशील र संवेदनशील क्षमतायुक्त यन्त्रमानवको विकास हुनका लागि धेरै समय पर्खनु पर्ने छैन । रोबोराममा यी सबै गुण विकसित नभइसकेको भए पनि पछिल्लो पुस्ताको यो अत्यधिक विकसित यन्त्रमानव थियो । 
अल्फाबिटा यी शोध–अनुसन्धानलाई लिएर कहिलेकाहीँ आफैंसँग गम्भीर तर्कना गथ्र्यो । यी शोध अनुसन्धान सफल भएर मानिसजस्तै विवेकशील, शीर्जनशील र संवेदनशील क्षमतायुक्त रोबोट पुस्ता विकसित भयो भने ? त्यसपछि रोबोट र हामी मान्छेमा के नै पो अन्तर बाँकी रहला र ? यस्ता प्रयोग सफल हुँदै जाँदा कतै मानिसको जन्म नै आमाको गर्भको सट्टा काखारनामा हुने त होइन ? यन्त्रमानव पनि मानिसकै जस्तो गुण–क्षमता सम्पन्न हुन पुगे भने कतै  तिनमा समेत मानिसकै जस्तो महत्वाकाङ्क्षा र चाहना बढ्दै जान के बेर ! त्यस्तोमा भोलि गएर मानिस र तिनका बीच आपसी द्वन्द नहोला र ? उसलाई लाग्थ्यो, भोलि गएर यस्तो नहोला भन्ने के छ ? साँच्चि नै त्यस्तो भयो भने.....?
जे होस्, यो भविष्यमा हुनसक्ने सम्भावनाको कुरा थियो । अहिलेको उसको समस्या त्यो थिएन । अहिलेको समस्या त रोबोराम थियो । के कारणले आज रोबोराम काम नगरी बसेको हो भन्ने जान्नु उसको अहिलेको काम थियो । त्यही भएर ऊ रोबोरामको च्याम्बरतिर आएको थियो । मूल ढोकाबाट भित्र पस्नासाथ मूल बैठकसँगैको सानो कोठा रोबोरामको च्याम्बर बनाएको थियो उसले । च्याम्बरमा पुग्दा त रोबोराम मज्जाले च्याम्बरमा रहेको पर्सनल कम्प्युटर अर्थात् पीसीमा टेलिकन्फ्रेन्स पो गर्दै रहेछ ! कन्फ्रेन्समा ऊसहित एक दर्जनजति अरु घरका कामदार रोबोटहरू सहभागी देखिन्थे । उनीहरू भ्वाइस च्याटमा एकअर्कासँग छलफल गरिरहेका थिए ।
“होइन, जतिसुकै दबाब परे पनि हामीले आजदेखि शूरु गरेको यो “काम रोकौं आन्दोलन” फिर्ता लिनुहुन्न बुझ्नुभो’ साथीहो ! हामी यी मानिसका दासजत्तिकै चौबीसै घन्टा काममा जोतिन्छौं । एकछिन आरामगर्ने समय पाइँदैन । हामी मेसिन भएकोले मात्रै चौबीसै घन्टा कामै काममा जोतिनु पर्छ भन्ने छ र ? हाम्रो पनि त कामको निश्चित  समय हुनुपर्छ । त्यसैले अबदेखि हामीले पनि आफ्नो अधिकारका लागि आवाज उठाउनै पर्छ बुझ्नुभो !” मान्छेकै नेताले जस्तो भाषण गरिरहेको थियो एउटा रोबोट ।
“हो, हो....चौवीस घन्टामा १६ घन्टा मात्र काम गरे पुग्ने, एक दिन कामै नगरी आराम गर्न पाउनुपर्ने, बिना गद्धाको च्याम्बरमा बस्दाखेरी ठोक्किएर, घोटिएर हाम्रो शरीर कोरिने गरेकाले हामी बस्ने च्याम्बरमाभित्र नरम गद्धादार बस्ने ठाउँको व्यवस्था हुनु पर्नेजस्ता हाम्रा माग पूरा हुनै पर्छ । यी माग पूरा नहुन्जेल हामी कुनै काम पनि गर्दैनौं । यो मागपत्र सबैले आजै आ–आफ्ना मालिकलाई दिनु पर्छ...।” अल्फाबिटा र सिग्माको कानमा अर्को रोबोटको अवाज ठोक्कियो । तिनका कुरा सुनेपछि छर्लङ्ग भयो– रोबोरामले कुनै समस्याका कारण काम नगरेको होइन रहेछ । के अचम्म, ऊ त हडतालमा पो उत्रिएछ छ त !
“उफ्.... रोबोहरूमा बिस्तारै चेतनाको विकास हुनुको परिणाम हो योे !” उसले चिन्तित हुँदै आफैंसँग भन्यो । त्यही विकसित चेतनाको परिणामस्वरूप यिनीहरूलाई आफूमाथि शोषण भएको अनुभव हुन थालेछ । ऊ मनमनै सोचिरह्यो । आजको रोबोरामको यो निष्कृयता पनि उनीहरूलाई हरबखत काममा जोताउने मानवीय चाहनाका विद्ध विरोध प्रदर्शन पो रहे छ त !
रोबोहरूको त्यो चाल देखेर अल्फाबिटा गम्भीर सोचमा डुब्यो– के त अब हामी आफ्नै प्रतिद्वन्दी यन्त्रमानवको सृष्टि गरेर भोलिको सिङ्गो मानव समुदायका लागि समस्या त खडा गर्दै छैनौं ? यतिबेला ऊसँग त्यसको कुनै जवाफ थिएन  ।
विकल प्रतिष्ठान, आरुबारी