Friday, May 11, 2012

रोबोरामको विद्रोह विज्ञानकथा

(गरिमा, वैशाख २०६९ परुर्णङ्क ३५३ मा प्रकाशित)


–विजय चालिसे
“ओहो कस्तो हिउँजस्तै भएछ घर त ! रोबोरामले आज हिटर चलाउन पनि बिर्सेछ कि क्या हो ?” उसले साथीतिर हेर्दै भन्यो ।
घरभित्रको वातावरण हिउँ झैं चिसो थियो । यसअघि कहिल्यै यस्तो भएको थिएन । उसको यन्त्रमानव रोबोराम सधैं घरभित्रको तापक्रम हेथ्र्यो । आफ्नो मालिकका लागि अनुकूल हुने गरी घरभित्रको तापक्रम मिलाउँदथ्यो । तर आज भने हिटर नचलाइएकोले घरभित्र बस्नै नसकिने चिसो थियो, हिउँजस्तै कठ्याङ्ग्रिने चिसो ! त्यतिमात्र होइन आज घर पूरै अव्यवस्थित देखन्थ्यिो । सबैतिर अस्तव्यस्त । घरभित्र पस्नासाथ  त्यस्तो देखेर अल्फाबिटा छक्क प¥यो । किन, के भयो आज यसलाई ? आज  रोबोरामले कोठा समेत सफा गरेको छैन जस्तो छ । कहिल्यै यस्तो गर्दैनथ्यो । बाहिरबाट घर फर्कँदा सबै कुरा ठीक ठाक पाउँदथ्यो उसले । त्यसका लागि रोबोराम चौबीसै घन्टा खटिरहेको हुन्थ्यो ।
“होइन, आज तिम्रो रोबो घरमैं पो छैन कि, के हो ? नभए त उसले बिर्सने कुरै छैन । यो रोबो तिमी–हामीजस्तै मान्छे हो र बिर्सन्थ्यो ! यी सबै काम सधैंका लागि उसको दिमाग अर्थात् प्रोग्राममैं सेट गरिएको हुन्छ होइन र ?” आज उसकहाँ नै खाना खान भनी आएकी आएकी साथी सिग्माले आशङ्का प्रकट गरी ।
“होइन, त्यसो त नहुनु पर्ने हो ! घरभन्दा बाहिर जाने त उसको सर्किटमा कुनै आदेश नै दिइएको छैन । त्यसैले घरबाहिर निस्कने त कुरै भएन !” उसले जवाफ दियो ।
सिग्मासँग त्यसो भने पनि वास्तवमा के भएको हो भन्नेमा आफैं अनभिज्ञ थियो ऊ । त्यसैले उसका मनमा अनेकौं प्रश्न खेल्दै थिए– हो त, घरमैं भएको भए किन यसरी सबै काम लाथलिङ्ग ? एउटै काम भएको देखिँदैन । कतै यसका पुर्जामा केही खराबी त आएन ? घर ल्याउँदा राम्रै थियो । रोबोरामको चुनाव ऊ आफैं रोबो बजार गएर राम्ररी जाँचबूझ गरीवरी ल्याएको थियो । उसका सबै विशेषता बुझेरै ल्याएको हो । रोबोराम बजारमा त्यतिबेलासम्म उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको रोबोट थियो, अत्यन्त विकसित र सर्वगुण सम्पन्न ! भखैरै छ महिना भयो उसले घरमा ल्याएको । अल्फाबिटाले आजसम्म उसको कुनै कामबाट निराश हुनु परेको थिएन । तर आज.....आज के भयो, यसलाई ? सधैं उसले गर्दै आएको भ्याकुम क्लिनर चलाएर कोठा सफा गर्ने काम पनि गरेको थिएन । भित्ताको रेडियो सेन्सिङ दृष्यपर्दाले कोठाभरि धूलाका कणहरू उडेको देखाइरहेको थियो । घर–कोठा ताजा तुल्याउने सफा ताजा हावा फाल्ने मिसिन पनि चलेको थिएन । ऊ सँधैं यी सबै काम सकेर घरमा उपभोग्य समानाहरू के–के छ, के–के छैन हेरेर तिनको अर्डर पठाउने काम गथ्र्यो । आज त्यो कुनै काम पनि गरेको थिएन । रोबोरामको े देब्रे हात जडिएको घडीकै एउटा सुइ दबाएर नभएका सामानहरू मगाउन सकिन्थ्यो । त्यो सुइ थिचेपछि त्यसको पर्दामा सबै उपभोग्य तथा अरु आवश्यक घरायसी सामानको सूची देखापथ्र्यो । सामानको त्यो सूचीमा चाहिने बस्तु र मात्रा हेर्दै चिनो लाएर सुइ थिचेपछि नेटवर्क जोडिएको आपूर्तिकर्ता र वितरकहरू कहाँ आवश्यक आदेशको सूचना पुग्थ्यो । त्यसरी विद्युतीय किनमेलको आदेश पाउनासाथ आदेश लिने डिपार्टमेन्टल स्टोरहरू आ–आफ्ना विद्युतीय परिवहन सञ्जाल अटोभरियामा राखेर मागेका सामान घरमा पठाउँथे । कम्प्युटर प्रोग्रामिङ अनुसार सञ्चालन हुने सामान ओसारपसार गर्ने ती अटोकार अर्थात अटोभरिया र त्यसका सहयोगी यन्त्रमानव अर्डर गरिएका सामान घरमा पु¥याएर आदेशकर्ता अर्को यन्त्रमानवलाई जिम्मा लगाएपछि मात्रै फर्कन्थे । यी अटोभरिया कम्प्युटर प्रोग्रामबाट विनाचालक चल्ने स्वचालित साना सवारीसाधन थिए । सबैतिर बस्तीबस्तीमा यी साधनहरू चल्ने अलग्गै बाटोहरूको जालो नै तयार गरिएका थिए । अटोभरियाका कम्प्युटरमा सामान पु¥याउनु पर्ने घरको ठेगाना, बाटो घर र टोलको नक्सा, सामान बुझ्ने रोबोटको संकेत नम्बर र नाम आदि प्रोग्राम गरिन्थ्यो । अटोभरियाहरू त्यसै अनुसार घर–घरमा लगेर सामान बुझाउँथे । घरबाहिर पुग्नासाथ उनीहरू सामान बुझ्ने रोबोको कम्प्युटरमा सङ्केत दिन्थे । त्यो सङ्केत पाएपछि घर–घरमा काम गर्ने बामदार रोबोटहरू सामान बुझेर लैजान्थे, तिनको राखनधरन गर्थे । दूध, इन्धन र सवारीका साधनमा प्रयोग गरिने ग्यासजस्ता बस्तु भने घरमैं जडान गरिएका पाइपद्वारा आउँथे । ती सामान आदेशअनुसार भान्छा र ग्यारेजमैं मागिएको परिमाणमा उपलब्ध हुन्थे । उसको घरमा ती सबै सामानको आदेश दिने र बुझबुझारथ गरी राखनधरन गर्ने काम पनि रोबोरामकै थियो । यी कुनै काममा आजसम्म रोबोरामले कुनै त्रुटि गरेको थिएन । तर आज.....! 
“भनेपछि, चिया चमेना पनि नख्वाई पठाउने भयौ आज ! तिम्रो रोबोले पक्कै खानेकुरा बनाएको छैन होला त ?” सिग्माले शङ्का प्रकट गरी ।
अल्फाबिटा भान्छामा गयो । त्यहाँको अवस्था पनि उस्तै थियो । फ्रिजमा पनि पकाउनु पर्ने काँचो तर्कारीहरूबाहेक अरु केही देखिएन । लगभग रित्तै थियो । त्यहाँ तयारी खाने कुरा केही थिएन । फ्रिजमा तताएर खाइहाल्ने तयारी खानेकुरा पनि केही देखेन । अघि–पछि रोबोराम सधैं नै मालिकको इच्छाअनुसारको खाना तयार गरेर राख्दथ्यो । भएका तयारी खाना तताउँथ्यो । खानेकुरा टेबिलमा सजाएर राख्दथ्यो । अर्थात घरका सबै काम रोबोराम बिना कुनै त्रुटि सम्पन्न गर्ने गथ्र्यो । तर.........तर आज ? रोबोरामले गर्नुपर्ने कुनै काम गरेको थिएन । न त फ्रिजमा ताजा खानेकुरा भरेको थियो, न कोठा तताउने व्यवस्था नै गरेको थियो । घरकोठा ताजा बनाउन फ्रेसनर त झन के खोल्थ्यो ।  
“पक्कै तिम्रो रोबोरामको प्रोग्राममा केही गडबडी आएको हुनुपर्छ । ब्याट्री सकिएर होइन होला त ?” सिग्माले थप शङ्का प्रकट गरी ।
“हो पक्कै पनि यसको कुनै पुर्जामा केही खराबी आएछ क्यारे । नत्र यस्तो नहुनु पर्ने ! आखिर मेसिननै त हो, जति विकसित र आधुनिक भए पनि सानो कुरा विग्रियो भने त्यसमा समस्या अइहाल्छ । नत्र....बिर्सने त कुरै भएन, मान्छे हो र हामीलेजस्तो बिर्सन !” आफ्नो त्यस्तो शङ्का प्रति अल्फाबिटा आफैं फिस्स हाँसिदियो । हुन पनि केही यान्त्रिक खराबीबेगर उसले नियमित रूपमा निर्धारण गरिएको काम पूरा गर्न बिर्सने कुनै संभावना थिएन । हर काम उसको दिमागमा निर्धारण गरेको समय र विधि अनुसार उसबाट रिठ्ठो नबिराई पूरा हुने गथ्र्यो । त्यसैले उसलाई पनि लाग्यो– पक्कै सिग्माले भनेजस्तै कि त रोबोरामको सकिर्टमा केही खराबी आयो, कि उसको शरीरमैं जडिएको व्याट्री चार्ज गर्ने स्वचालित चार्जरले काम गरेन । त्यो चार्जरले काम गरेको भए व्याट्री आफैं चार्ज हुन्थ्यो । तर चार्जर पनि त कसरी बिग्रियो होला र ? १० वर्ष सम्मको त ग्यारेन्टी नै थियो चार्जरको ।
अल्फाबिटा आफैं पनि अनुभवी कम्प्युटर इन्जिनियर थियो । ऊ अहिले आफैं कम्प्युटरमा कृत्रिम जेहन अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको विकास सम्बन्धी परियोजनामा काम गरिरहेको थियो । उसको प्रयोग सफल भएमा यन्त्र मानवले चाँडै नै मानिसकै जस्तो सुझबुझ (कमनसेन्स) को लक्षण देखाउन थाल्ने उसको विश्वास थियो । त्यसो हुनसक्यो भने यी यन्त्र मानवहरू पनि मानिसजस्तै विचारवान हुनेछन् । यो प्रयोग सफल भयो भने अबका नयाँ पुस्ताका रोबोटहरू आदेश मान्ने बफादार नोकरको तहबाट त्यस्ता आदेश पालबाट राम्रो नराम्रो के कस्तो परिणाम प्राप्त हुन्छ भन्नेसमेत सोचविचार गरेर आफ्नो विवेकको प्रयोग गर्न सक्नेछन् । रोबोरामजस्ता  वर्तमान पुस्ताका रोबोटहरू त्यै तहमा विकसित भइसकेका थिएनन् । तर त्यति विकसित नभए पनि यिनमा समेत केही मात्रामा चेतनाको विकास भैसकेको थियो । यस्ता केही रोबोटहरू स्कुल, विश्वविद्यालय, प्रयोगशाला, कार्यालय, विक्रिकक्षका साथै घरेलु काममा पनि प्रयोग हुन थालेका थिए । यी काम गर्दा आफ्नो विवेक र सुझबुझको प्रयोग गरेर आफैं निर्णय लिन सक्दैनथे । यी आफ्नो प्रोग्राममा रहेका काम राम्ररी गर्न सक्दथे । यी मानिसहरूभन्दा बढी जाँगरिला, मिहिनती र दक्ष मानिन थालेका थिए । मानिसहरू फ्याक्ट्री, कलकार्खाना र दैनिक कामकाजमा चौबीसै घन्टा खटेर काम गर्न मान्दैनथे । मानिसलाई दिनको सात घन्टाभन्दा बढी काम लगाउन पाइँदैनथ्यो । उनीहरू एकजनाले काम गरेर पूरै परिवारको भरणपोषण पुग्ने गरी तलब भत्ताको  माग गर्दथे । त्यतिले नपुगेर बेलाबखत बन्द हड्तालका नाउँमा सबै काम ठप्प पारिदिन्थे । यी सबै कारणले गर्दा तिनका सञ्चालकहरू मानिसलाई भन्दा  रोबोहरूलाई बढी रुचाउँदथे ।
त्यसैले सबैभन्दा पछिल्लो पुस्ताको यो रोबोराम सितिमिती बिग्रिहाल्ने सम्भावना थिएन । न त यसले तोकिएको काम बिसर्ने र बिगार्ने सम्भावना नै थियो । तर आज रोबोरामले किन आफ्नो ड्युटी पूरा नगरेको त ? के भयो आज यसलाई ! ऊ चिन्तित देखियो, कतै रोबोरामका सबै यन्त्र प्रणाली त नष्ट भएन ?
“हेरौंन त, रोबोराम कहाँ र कुन अवस्थामा छ ?” सिग्माले सुझाव दिई ।
सिग्माको सुझाव ठीक लागे पनि रोबोरामलाई खोज्नुभन्दा अगाडि उसले पहिले घरलाई बस्न लायक  आरामदायी तुल्याउनु आवश्यक ठान्यो । पहिलो आवश्यकता त घर तातो बनाउनु नै थियो । उसले आफ्नै हातकोे घडीमा रहेको सानो घुन्डी अर्थात् सुई थिचेर तरङ्ग–पातो (वेभ प्याड) सञ्चालन ग¥यो । त्यो हुन्डीले तरङ्ग–पातो नियन्त्रण गरेर घरभित्रका सबै यान्त्रिक काम गर्न सकिन्थ्यो । रोबोराम यसरी नै आफ्नो काम सम्पन्न गर्ने गथ्र्यो । आज रोबोरामको साटो अल्फाबिटाले नारी घडीको घुन्डी थिच्नासाथ कोठा तताउने र उज्यालो दिने प्रणाली सञ्चालन भयो । अब कोठाभरि मद्धिम दुधालू उज्यालो प्रकाश फैलियो । बिस्तारै चिसो पनि कम हुँदै गयो । चिसो हटेर कोठा बिस्तारै न्यानो हुँदैगयो । त्यसपछि यही तरङ्ग पातोद्वारा अर्को घुन्डी थिचेर उसले बगैँचामा जडिएको पानीको फोहरा चालु ग¥यो । बिहानैदेखि फोहरा नचलाइएकोले पानी नपुगेर बगैँचामा बोटबिरुवा ओइलाएजस्ता देखि थालेका थिए । त्यो काम पनि सकिएपछि उसले भान्छाको फ्रिज र भँडार (स्टोर) मा पर्याप्त खाना भए–नभएको हे¥यो । नभएका आवश्यक सामानको अर्डर पठायो । तरङ्ग–पातोको अर्को घुन्डी दबाएर आफ्नो मास्टर कम्प्युटर प्रणालीमा स्वास्थ्यसम्बन्धी अद्यावधिक अभिलेखहरू हे¥यो । आजै भुक्तानी नगरी नहुने बिलहरूको रकम ई–व्याङ्किङ मार्फत पठाउने काम पनि सक्यो । काम गर्ने बानी नभएकोले यति गर्दा पनि थाकेको अनुभव ग¥यो उसले । मनमनै सोच्यो, पुर्खालेजस्तै सबै काम हातगोडा चलाएरै गर्नु पर्ने भएको भए के हुन्थ्यो होला ?  
“तिमी कुरै सुन्दैनौ, पहिला रोबोलाई के भएको हो त्यो त हेर ! सामान्य समस्या मात्रै रहेछ भने त बनाएपछि यी सबै काम उसैले गरिहाल्थ्यो नि !” जति भने पनि काममा मात्रै अलमलिएको देखेर सिग्माले अलि झर्किँदै भनीन् ।
“हुन त हो, तर त्यस्तो हिउँजस्तो चिसोका बस्न पनि त सक्नुप¥यो नि ! त्यसैले घर ठीकठाक गर्नुका साथै खानेकुराहरू नमगाए के खाने ? रोबोको मर्मत गर्न कम्पनीबाटै मानिस बोलाएर गर्नुपर्ने रहेछ भने यी काम गर्न ढिला हुँदैन ?” उसले जवाफ दियो ।
त्यो त हो, तर खासमा समस्या केहो भन्ने पनि त बुझ्नुप¥यो नि त !” उसको त्यो जवाफ सिग्मालाई चित्त बुझेजस्तो लागेन उसलाई ।
”ठीक छ, पहिले रोबोरामलाई यहीँ बोलाएर हेरौं । बोलाउँदा पनि आएन भने अनि जाउँला उसको च्याम्बरमा !” अल्फाविटाले थप सम्झाउँदै रोबोरामलाई बोलाउन भनी नारी घडीमैं जडिएको सङ्केत प्रसारक घुन्डी थिच्यो । कम्प्युटरप्रणाली र इन्टरनेट संयन्त्रले सुसज्जित त्यो सानो नारी घडी वास्तवमा सिङ्गो संसार थियो । त्यसबाट गर्न नसिकने काम कमै मात्र थिए । घरभित्र, घरबाहिर र अझ संसारको जुनसुकै कुनामा भए पनि यसको सहायताबाट संसारभरका दृश्यहरू हेर्न सकिन्थ्यो । भिडियो च्याट गरेर सचलचित्रद्वारा हेराहेर गर्दै एकअर्काको हाउभाउ हेर्दै आपसमा कुराकानी गर्न सकिन्थ्यो । एकजना मात्र होइन, धेरैसँग एकैचोटी टेलिकन्फरेन्स गर्ने सुविधा पनि धेरै पुरानो भैसकेको थियो । पर्सनल कम्प्युटर, ल्यापटप र आइफोनजस्ता साधनबाट यस्तो भिडियो च्याटिङ गर्न पाउने सुविधा पनि अहिले पुरानो भइसकेको थियो । अहिले त यही नारी घडीमा यी सबै सुविधा प्राप्त थिए । यसद्वारा एकै ठाउँमा बसेर सबै घरायसी उपकरण सञ्चालन गरी आफ्नो आवश्यकता पूरा गर्न सकिन्थ्यो । यसले गर्दा मानिसको शारीरिक गतिशीलता निकै शिथिल हुँदै थियो । हात खुट्टाले गर्नु पर्ने केही थिएन, न त पैदल हिँड्ने बानी नै बाँकी थियो । यसको अभाव उनीहरू मेसिनमा बसेपछि स्वचालित तवरमा हुने कसरत वा फिजिकल एक्सरसाइजबाट पूरा गर्दथे । 
“किन बोलाउँदा पनि आउँदैन यो रोबोराम ? पहिला त कहिल्यै यस्तो गर्दैनथ्यो, सङ्केत पाउनासाथ हाजिर भइसक्थ्यो । पक्कै यसमा यसमा केही खराबी नै  आएको हुनुपर्छ !” बोलाउँदा पनि रोबोराम नआएपछि उसले अनुमान ग¥यो ।
“जाउँ, हिँड उसको कोठामैं गएर हेरौं ।” अल्फाविटाले आदेशसूचक सङेत पठाएर पनि रोबोराम नआएपछि सिग्माले भनी ।
उनीहरू दुबै बैठककोठाबाहिरको रोबो च्याम्बरमा पुगे । रोबोराम भने कोठाको नरम गद्धावाल कुर्सीमा आरामले उपरखुट्टी लगाएर बसिरहेको देखियो । पछिल्लो पुस्ताको यो रोबोट हरप्रकारले मानिसजस्तै लाग्थ्यो । यसमा कमी थियो भने मात्र चेतनाप्रणालीको । नभए मानिसमा हुने सबै प्रकारका क्षमताहरू थिए यसमा । सरसरती हेर्दा पनि मिसिनजस्तो लाग्दैनथ्यो । त्यसैले हर कुरामा सक्षम थियो यो लगभग मानिसजस्तै ।
कम्प्युटरको इतिहासमा पढिएका पुराना सबै कुरा अहिले एकादेशका कथा बनिसकेका थिए । मानवीय कल्पनाको उडान अनवरत अक्कासिँदै थियो । वैज्ञानिकहरू भविष्यका कल्पनाको उडानमा आज पनि उत्तिकै रमाइरहेका थिए । यी कल्पना पहिलेका भन्दा अझ ठोस र तार्किक देखिन्थे । आजका वैज्ञानिकहरूका अगाडि अगाडिका भन्दा भरपर्दा र विश्वासिला भविष्यद्रष्टा प्रविधि तथा संयन्त्रहरू उपलब्ध थिए । हुन पनि उसको आजको पुस्तासँग इतिहास र अनुभवका अपार भण्डारहरू उपलब्ध थिए । त्यसैले भविष्यलाई लिएर उसको पुस्ता अत्यन्त रोमाञ्चित देखिन्थ्यो । 
आभाषित सत्यको साकार प्रयोगका कारण यो सबै सम्भव हुन सकेको थियो । यही प्रयोगको सफलताका कारण आज इन्टरनेटमा मानिसहरूले बनाएका आभाषी चित्र ठीक मान्छले गर्नेजस्तै व्यवहार गर्नथालेका थिए । इन्टरनेट र टेलिभिजनबीचको दूरी घटेर इन्टरनेट मै यस्ता चित्र गड्न सम्भव बनेको थियो । यस्ता चित्रका आभाषित कृत्रिम मानिहरू आफ्नो अनुहारमा प्राकृतिक मानिसले जस्तै आफ्नो अनुहारमा जीवन्त भावात्मक अभिव्यक्ति ल्याउन सक्थे । च्याटब्याट नाउँका यस्ता चरित्र र वास्तविक मानिसका बीच साधारण दृष्टिले हेर्दा कुनै भिन्नता देखिँदैनथ्यो । कृत्रिम बुद्धिमत्तायुक्त यी आभाषी मानिस विद्यालयमा शिक्षकको काम गरिरहेका हुन्थे । टेलिभिजनमा समाचार पढिरहेका हुन्थे । यिनै आभाषी कलाकारहरू टेलिभिजनमा मानिसले जस्तै अभिनय गर्न थालिसकेका थिए । ती कृत्रिम अर्थात आभाषी भए पनि तिनको क्षमता र नाम मान्छे कै जस्तो हुन्थ्यो । यसरी कम्प्युटरका साथै रोबोट पनि मात्र कम्प्युटर र रोबोट नरहेर मानिसका अभिन्न समझदार साथी–सहयोगी बन्न थालिसकेका थिए । वैज्ञानिकहरूको अबको प्रयत्न ती यन्त्रमानवमा मानिसको जस्तै कला, सङ्गीत र अन्य सिर्जनात्मक काम गर्न सक्ने सीर्जनशील क्षमता विकसित गर्नु थियो । अल्फाबिटालगायतका कम्प्युटर इन्जिनियर र वैज्ञानिक–प्राविधिज्ञहरू यही कुरामा गहिरो शोध, अनुसन्धान र प्रयोगहरू गरिरहेका थिए । तिनको दावी थियो– अब मानिसकै जस्तो विवेकशील, शीर्जनशील र संवेदनशील क्षमतायुक्त यन्त्रमानवको विकास हुनका लागि धेरै समय पर्खनु पर्ने छैन । रोबोराममा यी सबै गुण विकसित नभइसकेको भए पनि पछिल्लो पुस्ताको यो अत्यधिक विकसित यन्त्रमानव थियो । 
अल्फाबिटा यी शोध–अनुसन्धानलाई लिएर कहिलेकाहीँ आफैंसँग गम्भीर तर्कना गथ्र्यो । यी शोध अनुसन्धान सफल भएर मानिसजस्तै विवेकशील, शीर्जनशील र संवेदनशील क्षमतायुक्त रोबोट पुस्ता विकसित भयो भने ? त्यसपछि रोबोट र हामी मान्छेमा के नै पो अन्तर बाँकी रहला र ? यस्ता प्रयोग सफल हुँदै जाँदा कतै मानिसको जन्म नै आमाको गर्भको सट्टा काखारनामा हुने त होइन ? यन्त्रमानव पनि मानिसकै जस्तो गुण–क्षमता सम्पन्न हुन पुगे भने कतै  तिनमा समेत मानिसकै जस्तो महत्वाकाङ्क्षा र चाहना बढ्दै जान के बेर ! त्यस्तोमा भोलि गएर मानिस र तिनका बीच आपसी द्वन्द नहोला र ? उसलाई लाग्थ्यो, भोलि गएर यस्तो नहोला भन्ने के छ ? साँच्चि नै त्यस्तो भयो भने.....?
जे होस्, यो भविष्यमा हुनसक्ने सम्भावनाको कुरा थियो । अहिलेको उसको समस्या त्यो थिएन । अहिलेको समस्या त रोबोराम थियो । के कारणले आज रोबोराम काम नगरी बसेको हो भन्ने जान्नु उसको अहिलेको काम थियो । त्यही भएर ऊ रोबोरामको च्याम्बरतिर आएको थियो । मूल ढोकाबाट भित्र पस्नासाथ मूल बैठकसँगैको सानो कोठा रोबोरामको च्याम्बर बनाएको थियो उसले । च्याम्बरमा पुग्दा त रोबोराम मज्जाले च्याम्बरमा रहेको पर्सनल कम्प्युटर अर्थात् पीसीमा टेलिकन्फ्रेन्स पो गर्दै रहेछ ! कन्फ्रेन्समा ऊसहित एक दर्जनजति अरु घरका कामदार रोबोटहरू सहभागी देखिन्थे । उनीहरू भ्वाइस च्याटमा एकअर्कासँग छलफल गरिरहेका थिए ।
“होइन, जतिसुकै दबाब परे पनि हामीले आजदेखि शूरु गरेको यो “काम रोकौं आन्दोलन” फिर्ता लिनुहुन्न बुझ्नुभो’ साथीहो ! हामी यी मानिसका दासजत्तिकै चौबीसै घन्टा काममा जोतिन्छौं । एकछिन आरामगर्ने समय पाइँदैन । हामी मेसिन भएकोले मात्रै चौबीसै घन्टा कामै काममा जोतिनु पर्छ भन्ने छ र ? हाम्रो पनि त कामको निश्चित  समय हुनुपर्छ । त्यसैले अबदेखि हामीले पनि आफ्नो अधिकारका लागि आवाज उठाउनै पर्छ बुझ्नुभो !” मान्छेकै नेताले जस्तो भाषण गरिरहेको थियो एउटा रोबोट ।
“हो, हो....चौवीस घन्टामा १६ घन्टा मात्र काम गरे पुग्ने, एक दिन कामै नगरी आराम गर्न पाउनुपर्ने, बिना गद्धाको च्याम्बरमा बस्दाखेरी ठोक्किएर, घोटिएर हाम्रो शरीर कोरिने गरेकाले हामी बस्ने च्याम्बरमाभित्र नरम गद्धादार बस्ने ठाउँको व्यवस्था हुनु पर्नेजस्ता हाम्रा माग पूरा हुनै पर्छ । यी माग पूरा नहुन्जेल हामी कुनै काम पनि गर्दैनौं । यो मागपत्र सबैले आजै आ–आफ्ना मालिकलाई दिनु पर्छ...।” अल्फाबिटा र सिग्माको कानमा अर्को रोबोटको अवाज ठोक्कियो । तिनका कुरा सुनेपछि छर्लङ्ग भयो– रोबोरामले कुनै समस्याका कारण काम नगरेको होइन रहेछ । के अचम्म, ऊ त हडतालमा पो उत्रिएछ छ त !
“उफ्.... रोबोहरूमा बिस्तारै चेतनाको विकास हुनुको परिणाम हो योे !” उसले चिन्तित हुँदै आफैंसँग भन्यो । त्यही विकसित चेतनाको परिणामस्वरूप यिनीहरूलाई आफूमाथि शोषण भएको अनुभव हुन थालेछ । ऊ मनमनै सोचिरह्यो । आजको रोबोरामको यो निष्कृयता पनि उनीहरूलाई हरबखत काममा जोताउने मानवीय चाहनाका विद्ध विरोध प्रदर्शन पो रहे छ त !
रोबोहरूको त्यो चाल देखेर अल्फाबिटा गम्भीर सोचमा डुब्यो– के त अब हामी आफ्नै प्रतिद्वन्दी यन्त्रमानवको सृष्टि गरेर भोलिको सिङ्गो मानव समुदायका लागि समस्या त खडा गर्दै छैनौं ? यतिबेला ऊसँग त्यसको कुनै जवाफ थिएन  ।
विकल प्रतिष्ठान, आरुबारी