Friday, October 7, 2016

कृष्णा

(शब्दाङ्कुर मासिकको भदौ २०७३ अङ्कमा प्रकाशित )
“कृष्णा....कतिबेर लाएको, छिटो आऊ” आपूmलाई पर्दा नौनीझैं कोमल बन्न सक्छे ऊ । अहिले पनि उसको स्वर त्यत्तिनै कोमल सुनिन्थ्यो, मीठो मिश्री घोलेजस्तै ! साविककी दिदी थिइनन् अहिले उनी, न त अघिपछिकोजस्तो कर्कस,थियो उनको स्वर । तर कृष्णालाई भने कानमा पगालेको सिसा पसे झैं लाग्यो त्यो दिदी भनाउँदीको आवाज !
“आएँ....आएँ....कत्ति कराइरा’को ।” त्यसैले झर्किँदै जवाफ फर्काई कृष्णाले ।
यो दिदीको अनुहारबाट मात्र होइन यसका कारण दिदी भन्ने शब्दसँगै वितृष्णा हुने गर्छ उसलाई । यो दिदी अर्थात्, रेडलाइट एरियाकी कोठी सञ्चालिका । त्यसैले हिजो आज दिदी शब्द सुन्दा फिस्स हाँसिदिन्छे ऊ । के यस्तै हुन्छन् दिदीहरू ? कुनै पनि दृष्टिले दिदीको सम्बोधनयोग्य ठान्दिन कृष्णा त्यस अनुहारलाई । उसलाई यो पवित्र शब्दको सम्बोधन गर्नुपर्दा यो शब्दकै घोर अपमान भएजस्तो लाग्छ ।
कृष्णा आफ्नो वाल्यकाल सम्झन्छे, गाउँको सामान्य जीवन सम्झन्छे र सम्झन्छे यो नरकम आउनुपूर्वको धुमिल घामछाया । राजधानीबाट टाढा नभए पनि सबै दृष्टिमा सुविधा विहीन उत्तरी जिल्लाको एउटा आदिम गाउँमा बित्यो उसको बाल्यकाल । गाउँको पुछारमा थियो उसको सानो छाप्रो । साहुको जग्गामा बल्ल तल्ल बनाएको एक पाखे पराले छाप्रो नै उसको संसार थियो । बाबु आमा अर्काको ज्यालामजुरी गरेर जेनतेन परिवारको छाक टार्थे ।
गाउँ प्राय उसकै बाबुकोजस्तै ससाना झुप्राले भरिएका थिए । ठूला पक्की घर मुस्किलैले दुईचरवटा देखिन्थे । र ती दुई चार ठूला पक्की घरमध्येको रोजा भने एउटै मात्र थियो जमिन्दार बाजेको घर । दर्बारजस्तै ठूलो देखिन्थ्यो ती जमिन्दार बाजेको घर । यसरी गाउँ अभावै अभावको पहाड झेल्ने कृष्णाको बाबु मिझार कान्छाजस्तै बहुसङ्ख्यकको झोपडीहरूले भरिएका थिए ।
आमाको न्यानो काख पनि लामो समय पाउन सकिन कृष्णाले । डेढ वर्षजति पछि नै आमाले बहिनी पाउने भइन् । सधैं अभाव र कुपोषणमा हुर्केकी उसकी आमाका लागि त्यो गर्भकाल साँच्चिकै काल बनेर आयो । प्रसवकै समयमा अत्यधिक रक्तश्राव भएर आमाको मृत्यु भयो । पेटभित्रकी बहिनी पनि जीवित जन्मिन सकिन । यसरी आमाको न्यानो काख गुमाएर अलच्छिनी र टुहुरीको संबोधन कमाएकी कृष्णाबाट बाबुको माया पनि अरु बाँडियो । उसलाई लाग्छ, बाँडिएको मात्र होइन वास्तवमा खोसियो नै । अर्थात केही समयपछि बाबु मिजार कान्छाले अर्की आमा ल्याए । अनि त अमा गुमाएकी कृष्णा पूरै उपेक्षित हुन पुगेकी थिई ।
अनि आमा बाबु दुवैको काख गुमाएकी कृष्णाको वाल्यकाल नाताकी एक मात्र फुपूूको सामिप्य र संरक्षणमा बित्यो । सन्तान नभएकी विधवा फुपू पनि एक्लै थिइन्, उनलाई पनि मुखबोलाउ साथी र सानोतिनो सहयोगीको आवश्यकता थियो नै । कृष्णाबाट फुपू त्यो आवश्यकता पूरा गर्थिन् र कृष्णाले पनि एउटा आश्रय पाएकी थिई, एउटा संरक्षण भेटेकी थिई र थिई एक हर लाउन र दुई छाक खाने समस्याबाट मुक्ति ! तर त्यही आश्रय र संरक्षण पनि उसले धेरै समय पाउन सकिन । चौबीस घण्टे म्यादी जरोले फुपूुको ममता समेत खोसियो । त्यसपछि त ऊ संसारमैं नितान्त एक्ली हुन पुगेकी थिई, बीच आकाशमा चुडिँएको चङ्गाजस्तै ।
त्यसैले उसका कुनै दिदी छैनन्, थिएनन् । दिदीकस्ती हुन्छे, वास्तवमै उसलाई थाहा छैन । उसले आज दिदी भन्दै आएकी कोठीकी मालिक्नीजस्तै हुन्छन् त दिदीहरू ? ऊ अनुमान गर्छे, यो द्रव्यपिशाच राक्षसीजस्ता त पक्कै पनि हुँदैनन् होला वास्तवमा दिदीहरू ।
त्यही आश्रयविहीनताकको अवस्थामा फुपूूको गाउँकै एकजना मामा भनिने मानिससँगै ऊ राम्रो कमाउने जागिर खान शहर पुगेकी थिइ । गाउँमा निकै बोलबाला थियो त्यो मामा भनाउने मान्छेको । महिनामा पन्द्र दिन हराउने त्यो मामा सारा गाउँकै शान ठानिन्थे । उसको चुरीफुरी देखेर प्रभावित नहुने कोही थिएन । उसले लामो समयदेखि गाउँका हुर्केका चेलीहरूलाई राम्रो जागिर ख्वाइदिने भनी शहर लग्ने गथ्र्याे । त्यसैले पनि गाउँमा उसको राम्रो प्रभाव थियो, निकै दबदवा थियो ।
जन्मेदेखि अभावै अभावको महासगरमा हेलिँदै आएका विपन्न गाउँलेहरू छोरी बहिनी वा कुनै सन्तानलाई राम्रो जागिर ख्वाएर अभाव र गरिवीको खाल्डो पुर्न पाउँदा खुशी नै हुन्थे । त्यसैले आफ्नी छोरी चेलीलाई कमाउने जागिरमा लगाइदिएर घरमा टीनको छानो हाल्ने सपना पूरा गरिदिने ती कथित मामा किन गाउँकै प्यारो नमानियुन् ?
तर, त्यसरी उनको भनाइमा “राम्रो कमाइ हुने जागिर” खाएर शहर पस्नेहरू भने कहाँ छन्, कुन हालतमा छन् वा कता हराउँथे गाउँलेहरू पत्तै पाउँदैनथे । अर्को अर्थमा गाउँलेलाई त्यसको वास्ता पनि रहँदैनथ्यो । त्यसरी राम्रो काम पाएका बिरलाकोटी चेली मात्रै आक्कलझुक्कल गाउँ फर्कन्थे । गाउँमा गएर पनि आफ्नै बिजोग र मनस्थितिको हत्या गरिएको कुरा कसरी पो बताउन सक्थे र उनीहरू । र बेला बेलामा तिनै मामा गाउँ आएर छोरीले पठाएको कमाइको पैसा भनेर केही नोट थमाइदिन्थे बाबु आमाको हातमा र उनीहरू टीनको छानो र नयाँ नानाको सपना पूरा गर्ने तर्खरमा लाग्थे कसले राखोस उनीहरूको अवस्थाबारेमा चासो ? चासो हुन्थ्यो त चेलीको कमाइबाट लाग्ने टीनको छानो र राम्रैगरी मनाउन पाइने चाडपर्वसँग मात्रै । अहिले त्यस्तै लाग्छ कृष्णालाई !