Friday, July 13, 2012



Your changes have been saved.

जयन्ती निबन्ध अङ्क वैशाख–जेठ २०६९ मा प्रकाशित ललित निबन्ध 

निर्बाध घुम्न चाहन्छ मन । क्रमबद्धता भत्काउँदै स्वतन्त्र ! अराजकता पनि हो सायद्, एक किसिमले यो बेरोकटोक उडने चाहना । अराजक नै भए पनि आखिर मनै नहो, चाहन्छ कहिलेकाहिँ निमग्न आकासिँदै निविड बादलभित्रको अगम संसारमा कावा खान ! मन हलुकोमा रुवाजस्तै हलुको र गह्रुँगोमा सिसाजस्तै गह्रुङ्गो पनि हुन्छ सायद । त्यसैले त कतै अरुको दुःखमा दुखी भएर दुःख निवारणमा आफूलाई पूरै समर्पण गर्न तत्पर केही रुवाजस्तै हलुका बुद्धका मनहरू देखिन्छन्, कतै अरुको दुःखमा सुखानुभूति पाउने सिसाजस्तै कठोर मनहरू ! हावाजस्तै हलुको होस् वा सिसाजस्तै गह्रुङ्गो– मन आखिर मनै हो । यो उड्न चाहन्छ, यसलाई उड्नबाट रोक्न पनि त सहज छैन ।  कुनै सीमाभित्र थुनिएर बस्न नचाहनु सबै मनको प्रकृति न हो । त्यसैले सीमा भत्काएर पनि त बुर्कुसी मार्न चाहन्छ मन कहिले काहीँ !   पर...धेरै पर क्षितिजपारि पहाडको कापबाट सूर्य अस्ताउँछ, र त्यही पर...क्षितिज निकटको पहाडी कापबाट बिस्तारै फेरि नवचन्द्रको उदय हुन्छ ! दिनको पहुँलो सुनजस्तो उज्यालो सूर्यप्रकाशको ठाउँमा रातको पूर्णचन्द्र चिहाउँदा दूधिलो शीतल  जुनेली उज्यालोमा नुहाएर धरतीका कुनाकुना मुस्कुराउँदछ । सूर्य र चन्द्र धरतीका दुई आँखा हुन्, जसको नानीमा सौन्दर्य निखारिन्छ; सभ्यता मुस्कुराउँदछ र नवसिर्जनाको सृष्टिगीत गुञ्जन्छ ! तिनै धरतीका दुई आँखा निहारेरै त सायद मेरा प्रथम विश्वकविले कविताको पहिलो स्वर गुन्जाएथे यस धरतीमा– तमसोमा ज्योतिर्गमय ! धरतीको यही कुनामा प्रस्फुटित त्यो कविताजस्तै मेरो सम्पूर्ण जीवनयात्रा पनि त अँध्यारोमा उज्यालो अर्थात् ज्योतिको खोजी नै न हो !उज्यालोको आकाङ्क्षा नराख्ने को होला ? सबैमा हुन्छ उज्यालो पािउने आकाङ्क्षा । उज्यालो पाउनु अगिअँध्यारोको हिसाबकिताव राख्ने कुरामा भने कसैको वास्ता हुँदैन सायद ! तर अँध्यारोको हिसाबकिताब बिना उज्यालोको खोजी कसरी सम्भव होला र ? यस अर्थमा उज्यालो खोज्नेले अँध्यारको हिसाबकिताब राख्नै पर्ने होइन र । कसले राख्ने अँध्यारोको हिसाब ? तस्कर, भ्रष्ट र पेशेवर राजनीतिकर्मीसँगै हातेमालो गरेर अगि बढिरहेको मेरो वर्तमानमा अँध्यारोकै वर्चस्व छ, यसर्थ के अर्थ अँध्यारोको हिसाबकिताब राख्नु नराख्नुको ? प्रश्न यस कोणबाट पनि उठाउन सकिन्छ होला । शक्ति धनको पर्दाभित्र लुकेकोछ, अनि सत्ता त्यही शक्तिबाट प्राप्त हुन्छ । जनता त निश्चित समयमा पूजा गरेर मन्छाउने दोबाटोको भूत नहो ! अथवा खोपाको देवता न हो मान्छे ? भूत, जो आफैंमा अदृश्य विगत हो, देवता जो आफैं शिला हो । तिनलाई खोपामा राख वा मन्दिरमा, पूजा गर वा तिरस्कार के नै पो फरक पर्छ र ? न तिनम संवेदना हुन्छ, न सद्चेतना ! फरक त तिनै ठूला भवन, ठूलो आम्दानी र सत्ताको साँचो मुठीमा बन्द राखी गजधम्म बसेका तस्कर, भ्रष्ट र राजनीतिका व्यापारीलाई पर्छ । जो बिना शासनको वास्तविक बागडोर लगाममा खिचिन सक्दैन । त्यसैले फरक तिनै परोक्ष शक्तिकेन्द्र र विदेशी महाप्रभुसँग लगनगाँठो नकस्दा पर्छ सायद, जससँगको लगनगाँठो बेगर आजको सत्ता मुठीमा आउँदैन ....। चारैतिर आँखा ठोक्किने गगनचुम्वी आधुनिक दरबारहरूका ती सत्तानियन्त्रक ! उ... होर्नोस् त तिनैका त हुन् नि ती आलिसान दरबारहरू । त्यो तस्करको, त्यो भ्रष्ट हाकिमको र ऊ त्यो पेसेवर राजनीतिकर्मीको । सनातन सत्तासूत्र यिनै त हुन, जसको गठबन्धनमा पिल्सिँदैछ आजको मेरो मूल्य, मान्यता, चरित्र र आस्था ! यी हर कालखण्डमा सत्तासँगै लगनगाँठो बाधेर शक्तिसाली बन्छन्, सत्ताकै गठबन्धनमा कस्एिको हून्छ, पेसेवार राजनीतिकर्मीको इमान । कमाउनु यिनको धन्दा बन्छ । त्यसैले यिनलाई चिढ्याएर उज्यालोभन्दा अगाडिको अँध्यारोको हिसाब गर्ने हिम्मत हतपती जुटाउन नसकेका हौंंला हामीले ! तर समयमाथि विश्वास गर्नुपर्छ, समयले नै जुटाउने छ त्यो हिम्मत ! ढिलोचाँडो समयले खोज्नेछ यो अँध्यारोको हिसाबकिताब ! आशा गरौ, आशा नै त जीवन हो । भावी जीवनयात्राको पाथेय ! जाति, धर्म र सम्प्रदायले सल्काएको घृणाको दावानलमा मेरो सिंगो देश पिल्सिँदै छ आज । संविधानसभा मात्र होइन, मेरो देशकको पूरै अनुहार झुल्सिन थालेको छ आज आगोको त्यो रापबाट । आफैंलाई अरुभन्दा महान् ठान्ने माक्र्सवादी–माओवादी नेताहरू जब माक्र्सवादी दर्शनको कन्था घोक्दै जाति, भाषा र साम्प्रदायिताको आगोमा विभाजनको चारु होम्छन्, तब लाग्छ– सिद्धान्त र दर्शनभन्दा ठूलो मत रहेछ, सत्तासुन्दरीको मादक स्पर्श गराउने मत !  नभए समाजवादी वर्र्गविज्ञानको चुरो किन ठान्थे यी आफूलाई नेता ठान्नेहरू सिद्धान्त र दर्शन सबैलाई रक्तरन्जित तुल्याएर ? यही घाइते दर्शनको विभीषिकाद्वारा डसिनु नै नियति हो त मेरो वर्तमानको ? किन सर्पदंशको यो पीडा सहन अभिशप्त छौं हामी वर्तमानमा ? दर्शनका सबै सम्यक आयाम यसरी निस्तेज हुँदै जानुको स्थिति चिन्तनीय त छ नै, विभीषिकापूण पनि बनिरहेकोछ मेरालागि ! ओहो...कति पीडादायी वर्तमान, यन्त्रणापूर्ण समय ! शताब्दीयौंदेखि धर्म, रंग, मान्यता र अहम्मन्यतामा विभक्त मानवताले के कहिल्यै सही र गलतको निक्र्योल गर्नसक्ला ? आशा गरौं, सक्ला । आशा नै जीवन हो, र जीवन नै आशाको मूल !  बहिरबाट आउँदैन जीवनमूल्य, आफैंभित्र विकसित हुने कुरा हो यो । युगचेतनाले आत्मपहिचान गराउँदछ, आत्मपहिचानले सबैलाई साथै लिएर अगिबढ्ने क्षमताको विकास गराउँदछ ! तर किन बिर्सिँदै छु म आज सहनौ भुनक्तुको यो मेरो आर्ष वचन ? यो वा उको बहानामा किन म आज एक्लै हिँड्ने उपक्रममा छु ? सानो समूह वा गुटलाई सम्पूर्णता ठान्ने मानसिकता कताबाट आयो ममा ? मेरो दिमागमा घरिघरि प्रश्नले घन ठोक्छ, र जवाफ कतैबाट आउँदैन । सायद आजको मेरो यो त्रासदीको मूलमा पनि यही विश्वासको सङ्कट पहरो बनेर ठडिएको छ, र त्यही विश्वासप्रतिको अनास्थाले नै म गाँसिनुमा नभएर टुक्रिनुमा आनन्दप्राप्तिको भ्रम हुर्काइरहेछु । लाग्छ, विश्वासको सङ्कट आजको मेरो युगीन यथार्थ हो । र, यसकै जगमा म आफैंप्रति अविश्वासको अग्लो पर्खाल खडा गर्दछु, आफैंप्रतिको संदिग्धता हुर्काउँदै हुन्छु । अविश्वस्त छु आफैँप्रति ! यही विश्वासको संकट र सन्दिग्धताकै कारण आस्था आस्था रहेन, व्यापार बन्यो; सबै अर्थ गुमाएर सिद्धान्त मात्र मुखौटो रह्यो ! हुन त, संशय सत्य अन्वेषणको सोपान पनि हो । प्रश्न त्यतिबेला जन्मन्छ, जब मनमा संंशय रहन्छ । संशयले नवीन सोचको आविष्कार गर्दछ । विचरशून्यता जीवित मृत्यु हो, जसमा जीवनको स्पन्दन हुँदैन । चिन्तन र सत्यका बीच अनेकौं भावबोधका तरङ् उठ्नेगर्छन् । तर त्यो संशयको के भूमिका जसले सत्य अन्वेषण गर्नुको साटो सत्यलाई नै लुकाउने प्रयत्न गर्दछ, मानवतालाई शासक–शोषित, धनी–गरिब र हुँदाखाँदा र हुँदा खानेकाबीच नभएर जाति–भाषाको आधारमा विभाजनको विषवृक्ष रोप्दछ !   यही गलत जीवनमूल्यप्रतिको मोहले आधुनिकताको नाउँमा विकृति बिस्तार गरिरहेकोछ । त्यही आधुकिताको भ्रमित आकर्षणमा सम्मोहित छन् अत्याधुनिक भनाउने आजका कथित शिक्षित सहरी नारीहरू ! आज आफूलाई अरुभन्दा सभ्य र आधुनिक देखाउने अस्वस्थकर मानसिकताको होडमा त्यही भ्रमको अस्वस्थ घुम्टो ओढ्दै आजभन्दा भेलि अनावृत्त बन्दैछन् यिनीहरू । तामझामपूर्वक सौन्दर्य प्रतियोगितामा नाचिने कठपुतली नाच र टपलेस तथा विकनी व्युटीका नाउँमा शरीर–सौन्दर्यको हाटबजारमा लामबद्ध बन्नेहरूको बढ्दो भीड लाग्दोछ वर्तमानमा । त्यसैमा गौरवबोध गर्न थालेका छन् आजका यी सभ्य नारी बहुराष्ट्रिय कम्पनीले नचाउने कठपुली नाचमा रमाउँदै ! सर्वाधिक महँगा उपभोग्य बस्तुका रूपमा लामबद्ध बन्नुमा गौरव गर्न थालेका छन् यी आज । पहिले नै लेडिज रुम र ग्रिन रुम नामधारी अँध्यारा कोठामा शरीर नापजाँच गरेर प्रतियोगिताको परिणाम अग्रिम निर्धारण गरिने यी कथित सौन्दर्य प्रतियोगिताको नाटक आफैंमा एउटा भ्रम भएको पनि चेत छैन यिनलाई । त्यही प्रतियोगिताका नाउँमा वृद्धखेखि बालकसम्मालाई नङ्ग्याउने होडमा तिनै आर्थिक साम्रज्यवादका अभियन्ताले सफलता पाइरहेका छन् । सोध्न मनलाग्छ –नारी हुन कि पुरुषको टेबिलमा पस्किएका स्वादिष्ट व्यञ्जन यी आफूलाई सबैभन्दा शिक्षित, सभ्य र सक्षम ठान्ने अधुना कठपुतलीहरू ? व्यञ्जन त पस्किनैका लागि हो, चाख्नैका लागि हो ! आफैंलाई आधुनिकताको नाउँमा व्यञ्जन बनाउँदै पस्काउन आतुर यी अनावृत्त सौन्दर्यपूजक अधुनातन निर्वाङ्ग सुन्दरीहरूले वास्तवमैं स्तन्त्रताको अर्थबोध गरेका छन् त ? स्वतन्त्रता र स्वच्छन्दताबीच के कुनै सीमारेखो कोर्नुपर्दैन ? अनि छोरीभन्दा आमा तरुनीको तरजमा मस्किने अधुना आमाहरूबाट के सिक्ने आजका पुस्ताले सही सौन्दर्यको अर्थ, सही नारी स्वतन्त्रताको अर्थ ? यही हो त सभ्यताको अर्थ ? यही हो सुसंस्कृत हुनुको स्वरूप ? संस्कृतिको अभिप्राय कला–सङ्गीत, नृत्य–नाटकजस्ता कुरामा मात्र सीमत नरहेर एटा सम्पूर्ण जीवन शैली हुनु पर्ने होइन र ? आंशिक रूपमा संस्कृतिको अभिप्राय परिष्कारको एउटा प्रक्रिया हुनुपर्ने हो । यस अर्थमा संस्कृति एउटा शक्ति मानिनु पर्ने हो । हामी आज त्यही संस्कृतिको शक्तिलाई चिन्न नसकेर अरुको सिकोमा अनावृत हुँदै आधुकि बनेको भ्रम हुर्काउँदै छौं । एक्काइसौं शताब्दीको सभ्यता र आधुनिकताको नाउँमा आफैंलाई हाटबजारमा लीलामी लाममा उभ्याउँदैछौं, नग्नशरीर सौन्दर्यको अधुनातन उपभोग्यबस्तुका रूपमा । यो त्रासदी पनि त आजको मेरै त्रासदी न हो ! आधुनिक सभ्यताका नाउँमा जसरी उपभोक्तवादी संस्कृति आजको मेरो जीवनशैली बनिरहेकोछ । थाहा छ, यसले ढिलो चाँडो समदर्शिता, सहिष्णुता, कृतज्ञताभाव र भानात्मक लगावजस्ता कोमल तन्तुका मूल्यवान धरोहरलाई समूल उखेल्दैछ, भत्काउँदैछ । के यही विडम्बनापूर्ण वेताल बोझ बोक्दै विक्रमादित्यको नियतिमा अनुवाद भएर यता यता भड्किइरहेछु छु त म ?   रातको सन्नाटामा सुन्दर सपना बुन्दै हुन्छु म जतिबेला मेरै संसारको यथार्थ भोग्दै दुबै हातले खाली पेट थिचेर कोल्टे फेर्दै हुन्छ मेरै एउटा अंश । तर म आशावादी छु, मनुष्यतालाई चुनौती दिने कुनै अर्को शक्ति छैन । मानिस निरन्तर चुननौती बेहोरेरै सभ्यताको इतिहासमा अगि बढिरहेकोछ । हावा, पानी र विकट प्रकृतिसँग जुध्दै यहाँसम्म आइपुगेको आजको म मान्छे जसरी अनेकौं चुनौतीसँग जुध्दै एकपछि अर्को आविष्कार गर्न सफल बन्यो, त्यसरी नै सफल बन्नेछ एकदिन यी मनुष्यतालाई चुनौती दिनेहरूसँग जुध्न !  जति नै उथलपुथल अर्थात्् प्रलयपछि पनि संसारले नयाँनयाँ रूपमा जीवन जन्माउँछ, सभ्यताले नयाँ गोरेटो खन्दै जान्छ ! जसरी प्रत्येक विहानीले आफ्नो प्रथम सूर्यकिरणसँगै जीवनको नयाँ अध्याय शुरु हुन्छ र निरन्तर गतिवान यो यात्रा नै त वास्तवमा जीवन हो–गतिशील जीवन ! उपभोक्तावादी आँखामा जीवन यो नहोला । तिनका आँखामा जीवनको अर्थ खानुपिउनु र मोेज गर्नुमा साँघुरिन्छ सायद्, जसरी उनीहरूको विस्तार पनि आफैंमा सीमित सेरोफेरोभित्र सकिन्छ, त्यो भन्दा अगि बढ्दैन सायद ! के त्यही नै हो त जीवन ?  अहँ, होइन...पक्कै होइन ...!विकल प्रतिष्ठान, आरुबारी,२०६८ चैत २६ ।

No comments:

Post a Comment