Wednesday, November 7, 2012

जापानी कथा अभिशप्त रात writer सातोमी तोन अनुवादः विजय चालिसे

नवयुग २०६९ असोज अंकमा प्रकाशित


(जापानलाई फूलैफूलको देश, साकुराको देश भनिन्छ । थरी थरीका फूलको सौन्दर्यका पारखी हुन् जापानी जनता ! तिनै फूलमध्ये चेनी वासाकुरा फूलको सौन्दर्य त्यसको पत्रपत्र झरेर सबै धरतीलाई रङ्गीन बनाउनुमा छ– जापानीहरूको विश्वास हो यो । त्यसरी नै क्यामेलियाको फुस्रो खाले रातो पूmल भने पत्रपत्र भएर झर्दैन, सिङ्गै पूmल झर्छ रे मानिसको गिँडिएको शिरजस्तो– पूरै टुक्रिएर ! जापानीहरूको विश्वासमा क्यामिलियाको फूल झर्नु अशुभको सूचना हो ! वान्तो (टोकियो–योकोहामा भौगोलिक क्षेत्र) मा गएको महाभूकम्प लगत्तै भएको विनाशको पृष्ठभूमिमा लेखिएको प्रस्तुत कथा मूलतः क्यामेलियाको त्यही फूल झर्नु अशुभ हुन्छ भन्ने अन्धविश्वासमाथि आधारित रहेको छ । यो कथाको प्रकाशन सन् १९२३ मा भएको हो । )
     उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको थियो ।
    पत्रिकाको पन्ना पल्टाउँदैगर्दा उसका आँखा बीस वर्षीय युवती भतिजीतिर पुगे । ती दुवैको विछ्यौना लगभग जोडिएको थियो, आधा फिटको पनि फरक थिएन होला । झन्डैझन्डै जोडिएजस्तै ! भतिजी ऊतिरै फर्केर सुतेकी थिई । मस्त निद्रामा परेकी भतिजीको अनुहार अत्यन्तै सुन्दर थियो । मखमली कम्बलले पूरै ढाकिएको उसको शरीरबाट कम्बलबाहिर आँखा मात्र देखिएका थिए । उसले भतिजीको अनुहार पहिलोपल्टझैं गडेर हेरी, एकोहारो । ऊ मनमनै भन्दै थिइ्– कति सोझी र सरल छ यो केटी !
ऊ भतिजीसँग हाँसखेल गर्न चाहन्थी, खुलेर हाँस्न चाहन्थी । उता भतिजी साँचोमा कुँदेकी मूर्तिजस्तै निश्चल, शान्त निदाइरहेकी थिई । यतिसम्म शान्त कि...उसले सास फेरेको आवाज समेत सुनिँदैनथ्यो । ऊ मनमनै हाँसी । भतिजी निदै्रमा चल्मलाएर कोल्टे फर्कँदा भुइँमा भर्खरै फेरिएको हलुका तातामी (चकटी) केही स¥यो, र त्यसबाट निस्केको हावाको मसिनो झोक्काले भतिजीको अनुहारमाथि असरल्ल फैलिएको नरम कपाल फर्फरायो ।
केही बेर ऊ पत्रिकामा पढ्दै गरेको कथा कहाँ पुग्यो भनेर सम्झने कोशिसमा हराई । निद्रा आँखाबाट कोसौं टाढा भागिसकेको थियो ।      
    बाहिर कतै टाढा...रेलको इन्जिनले लामो सिट्ठी बजायो । त्यस्ता यदाकदा सुनिने छिटपुट आवाज बाहेक रात अत्यन्त शान्त थियो, निस्तब्ध ! यस्तो निस्तब्धता उसले यसअघि अनुभव गरेकी थिइन । उसलाई घरधन्दा गर्ने सहयोगी महिलालाई पनि उठाएर आफ्नै नजिक ओछ्यान जोडेर सुताउँजस्तो लाग्यो । त्यसो भए तीनैजना सँगै हुन्थे । तर रातको यतिबेला उसलाई उठाउनु पनि ठीक लागेन । ऊ फेरि पढ्नमैं मन भुलाउन थाली । कथामा नायक नायिकाको सम्बन्ध चरम सीमामा पुगेको थियो र पनि त्यस्तो कुनै खास घटना भएको थिएन । पुरुष पात्र निर्जीव निर्जीव भएकोले उसको सम्झनामा उत्रिन सकेको थिएन । त्यसैले उसलाई कथाका कुनै कुराले पनि खाुसै आकर्षित गर्न सकेको थिएन । र पनि ऊ कथा भने निरन्तर पढिरहेकी थिई ।
    फट्ट......। उसको तकियाको नजिकैबाट आवाज आयो । रातको निस्तब्धतामा आएको त्यो आवाजले मौनता भङ्ग गरिदियो ! अकस्मात आएको थियो त्यो आवाज । न त्यो आवाज आउनुअगि केही भएको थियो, न आवाज आएपछि नै केही भएको थियो । तर पनि उसको अनुमानमा निश्चित रूपले पक्कै केही कुरा चटाइमाथि खसेको हुनुपथ्र्यो ।  के हुनसक्छ त्यो खसेको कुरा....? जे होस्, उसले त्यो खसेको कुरा हेर्ने साहस जुटाउन सकिन । पत्रिकालाई बिस्तारै ओछ्यानमाथि राखेर आफ्नो वायाँ हात पनि कम्बलभित्र घुसारी र दुबै हात छात्तीमाथि राखी । भर्खरै भित्र घुसारेको चिसो हात पनि भित्रको तातोहातको न्यानोमा डुब्यो ।      
    भतिजीको चिच्याएको आवाज सुनियो । भतिजीका तिखा आँखा उसैलाई गौरसँग नियालीरहेका थिए ।
“के हो, के भयो सेच्यान ?” चिच्याएको सुनेर उसले भतिजीलाई सोधी ।
फुपूको प्रश्नमा केटी कम्बलसमेत उठी र फुपूको जिउमाथि शिर राखेर पल्टँदै भनी, “केही होइन !”
“सेच्यान, भनन के भयो ?”
सेच्यानले शिर केहीमाथि उचाल्दै भनी, “नसोध्नोस्...मलाई केही थाहा छैन... !”
उसले भतिजीको शिर आफ्नो जिउबाट पन्छाइ र ओछ्यानमाथिको तकियाभन्दा परसम्म आँखा तानेर हेरी । ओछ्यानभन्दा केही पर झ्यालको छेउमा सजाइएर राखेको क्यामिलियाको फूल भुइँमा खसेको थियो । पुरानो घरबाट आउँदा बगैँचामा फुलिरहेको क्यामेलियाको पूmल छाडेर आउन सकिन उसले र हाँगैसमेत भाँचेर ल्याएकी थिइ । त्यही क्यामेलियााको केही पूmल हाँगैससमेत भ्mयालछेउको फूलदानीमा सजाएर राखेकी थिई ! उसको भ्mयालको हरियो पू्mुलदान रातो क्यामेलियाको एक साता पुराना फूलले लगभग ढाकिएको थियो ।
“केटाकेटीपन नगर !” उसले भतिजीलाई सान्त्वनाभरिएको स्वरमा स्नेहपूर्वक भनी । फुपूको सान्त्वनापछि सेच्यान ओछ्यानबाट उठी ।
“के भयो र ?” सेच्यानले सोधी ।
“त्यही त... म पनि सोध्दै छु !” फुपूले भनिन्, “ तर तिमीले....!”
“मैले केही गरेको छैन ?”
“केही गरिन रे ? किन चिच्याएर मलाई त्यसरी आधा आँखा तरेकी त ?”
“तपाइँ त पहिले नै डराउनु भएको थियो । पढ्न समेत छाडेर हात कम्बलभित्र लुकाउनु भएको थियो त्यतिबेला ! कि होइन ?”
“तिमीले देखेकी थियौ र ?”
“मैले त घरमा चोर पस्यो कि भन्ने पो ठानेकी !”
“मूर्ख कुरा नगर न ! ब्युँझन चाहिँ कसरी ब्युँझ्यौ नि ?”
“तपाइँले बोलाएपछि त ब्युँझेकी हुँ नि !”
“ के भनेकी ? कहाँ बोलाएँ र मैले तिमीलाई ?”
“के...रे...? तपाइँले बोलाएको होइन ?”
“होइन त !”
त्यसो भए सपना देखिछु क्यारे ।”
“त्यो आवाज क्यामेलियाको थियो सायद्, क्यामेलिया खस्दा निस्केको आवाज ।”
“होइन...होइन, त्यस्तो कुरा नगर्नोस !”  सेच्यान फेरि फुपूसँगै टाँस्सिई ।
“सेच्यान, किन तिमी यतिबिन तर्सिएकी हँ ?”
“तपाइँले किन यस्तो कुरा गर्नुभएको त !”
“मैले के त्यस्तो कुृरा गरेँ र डराएकी त तिमी ? आफैं हेर न, फूलदानीबाट भुइँमा क्यामेलियाको फूल खसेको !”      
“अहँ...म हेर्दिन...!
“पागल नबन न ! क्यामेलियाको हाँगाबाट एउटा पुूmल झरेको थियो अगि, त्यसैको आवाजले तिम्रो निद्रा खुलेको हुनुपर्छ ।”
“ओहो...त्यतिमात्रै हो त ?” सेच्यानले टाउको घुमाई र डराउँदै फुपूको काँधमाथिबाट चियाएर झ्यालतिर हेरी ।
“ओहो...त्यो फुस्रो रातो फूल कति कति डरलाग्दो देखिएको !”
“रातो हेस् वा सेतो फूल झर्ने बेला भएपछि झरिहाल्छ नि !”
“तर..तर कस्तो रगतमा रङ्गिएजस्तै फोहर देखिएको !”
“टिपेर फालिदेऊ न त ...!”
“अहँ.. म त सक्दिन फ्याँक्न, तपाइँ नै फालिदिनोस् न !”
“ठीक छ त, त्यहीँ रहोस्, के नै हानि हुन्छ र ? विहान उठेर फालौंला !”
“होइन...हेर्नै सक्तिन म त यो !”
“नचानिे कुरा नगर ! मलाई सुत्न देऊ ।” यसपल्ट उसले झर्किँदै भनी । भतिजीलाई एकातिर धकेलेर ऊ कम्बल टाउकोसम्मै तानेर सुती ।
“तपाइँ त बेइमन हुनुहाँदोरहेछ, फुपू !” फुपूले धेकेल्दा केही डराएकी सेच्यान जहाँको त्यहीँ कम्बल तानेर गुटुमुटु हुँदै सुती, मानैंो डर भगाउन खोज्दै थिई ऊ । 
कम्बलभित्र दुबै निस्तब्धतामा डुबे । सेच्यान केहीबेर चुपचाप पल्टिरही । तर केहीबेरमैं निस्सास्सिएजस्तो भएपछि डराउँदै बिस्तार टाउको कम्बलबाहिर निकाली । फपू अर्कोतिर कोल्टे पर्केर सुतेकी थिइ । कम्बल अगिजस्तै फुपूको गर्धनसम्मै तानिएको थियो । सेच्यान अर्को कोल्टे र्फिर्कई ।
बत्तीदानी अर्थात् ल्याम्पसेडबाट निस्केको मधुरो उज्यालो कोठाको पर कुनासम्म फैलिएको थियो । काठको सुपरिचित पर्दामा कुाँदिएकी सत्रौं शताब्दीकी सुन्दरीको बहुमूल्य चित्रको  अनुहारमा मृत्युको छाया परेजस्तै लाग्यो उनीहरूलाई ।
“लौन...मलाई त डर लाग्यो !” सेच्यान डराएर फेरि कोल्टे फेरि ।
सेच्यानको छटपटाहट देखेर उसलाई हाँसो उठ्यो । यो हँसी उसको स्वभावभन्दा विपरित थियो । ज्यादै कम अवसरमा मात्रै हाँस्थी ऊ । तर यतिबेला ऊ नरम कम्बल नाकसम्म तानेर मज्जाले हाँसी । आँखा चिम्लििएर हाँस्दै थिई ऊ लामोसमयसम्म । सुरुमा सेच्यानले उसलाई देखेर पनि नदेखेजस्तै गरी, तर कतिबेर ?
सेच्यानले फेरि फुपूको अनुहारमा हेरी । तर यतिबेला फुपूको अनुहार उसको आफ्नै अनुहार जस्तै देखी उसले ! सेच्यान आफैं पनि मरीमरी हाँस्न थाली । सेच्यान हाँसेको आवाजले उसको हाँसोले बिथोलियो । ठन्डी रातको शान्त वातावरण उनीहरूको हाँसोले नराम्ररी बिथोलियो । उनीहरूको मनमा काउकुती लागेजस्तै भइरहेको थियो र, हाँसिरहेका थिए एकनास ! उनीहरू हाँसो दबाउने कोशिस गर्थे, तर मनमनै लागेको काउकुतीले हाँसो थाम्नै दिँदैनथ्यो । अनौठो स्थिति थियो, ऊ जति सोच्थी उसलाई सबै कुरा त्यत्ति नै हास्यास्पद लाग्थ्यो !
रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी
२०६९ भदौ १९ ।                 


No comments:

Post a Comment