Sunday, August 29, 2010

अशोकस्तम्भ, पुष्करिणी ताल र मायादेवीको आँसु

“मायादेवीले कस्तो कल्पना गरेकी थिइन् होला आफ्नो नवजात शिशु राजकुमार सिद्धार्थको भावी अनुहारमा ? राजकुमारको रुपमा बढ्दै गएको शिरपोषधारी एउटा सामन्ती राजाको कठोर अनुहार जुन सिद्धार्थकै बाबु सुद्धोधनजस्तै वा सम्पूर्ण मोहबन्धन त्यागेर बनवासी एउटा तपस्वीको ?” मायादेवी मन्दिर र शिद्धार्थ पुष्करिणाीको छेउ उभिँदा मेरो मनमा उठेको प्रश्न थियो यो । पक्कै पनि उनले सिद्धार्थलाई भावी बुद्धका रुपमा त अवस्यै देखेकी थिइनन् होला ! सानै राज्यको भए पनि एउटा राजाकी छोरी, त्यस्तै अर्को राजाकी पटरानी, मायादेवीको कल्पनामा समेत चिवरधारी शान्तिकामी भावी बुद्धको रुपानुमान अकल्पनीय हुनुपर्छ ! म अहिले यस्तै सोचिरहेको थिएँ !

नवजात शिशुको भावी रुपको उनले जेजस्तो कल्पना गरे पनि त्यो मात्र कल्जना नै त थियो । आफ्नो पूर्वानुमान वा चाहना पछि गएर नमिल्दा अनुभव हुने दुःख त्यो सुखद कल्पानाभन्दा धेरै बढी पीडादायक हुन्छ, यो स्वभाविक हो । प्रसवपीडाको कष्टकर तर मीठो अनुभूतिका बीच सांसारिक अस्तित्वमा पहिलो आवाजसँगै आफूलाई संपूर्ण स्वास्नी मान्छे बनाएर मातृत्व सुख दिन आइपुगेको त्यो नवजात शिशु–अनुहारमा मायादेवीले राजदर्वारको राजसी सुखभोग छाडेर जङ्गल पस्ने साधु सिद्धार्थको कृशक्लान्त अनुहार पक्कै देखेकी थिइनन् होला ! तर पछि सिद्धार्थ राजसी सुखभोग छाडेर जङ्गल पसेपछि कस्तोे अनुभव भयो होला मायादेवीलाई ? के भनेर सम्झाइन होला सद्यःप्रसूता बुहारी यशोधरालाई उनको भरपुर जवानीको मादकतालाई समेत उपेक्षा गर्दैं राजाहुनुको साटो छारो जोगी भएर तपस्यामा वनवासी भएपछि ? देवदहको त्यो निर्जन वनमा शिद्धार्थ जन्माउँदाको सुखानुभूतिको भरमा कसरी विताइन् होला उनले आफ्नो भावी जीवन !

लुम्बिनी विकास क्षेत्रका दुई मध्ये एक प्रमुख आकर्षणको केन्द्र मायादेवीको मन्दिर देखेपछि मेरो मानसपट्को तुलिकामा कोरिएका मायादेवी र यशोधराको पुत्र–पति वियोगबाट विह्वल विरहिणाी अनुरहारले मलाई लखेटीरहन्छ । कुनै पनि एउटा कुरा पाउन अर्को केही गुमाउनैपर्छ, यो स्वभाविक हो । तर शिद्धार्थ गौतम गौतम बुद्धहुनुको प्राप्तिमा मायादेवी र यशोधराले गुमाएका पुत्र–पति स्नेह–सान्निध्यको मूल्य बढी थियो वा शिद्धार्थको प्राप्ति, त्यो एउटी आमा र एउटी पत्नीबाहेक अरूले आकलन गर्न सक्तैन सायद ! त्यसैले त्यो जाँच्ने कसी के हुनसक्छ, यो पनि मेरो अनुत्तरित प्रश्न थियो त्यतिखेरको !

जे होस् म अहिले मायादेवीको मन्दिर भएको त्यही ठाउँमा उभिएको थिएँ– जहाँ शिद्धार्थ गौतमले सन्सार आगमनको पहिलो उद्घोष गरेका थिए, नवजात शिशुको प्रथम रोदनसँगै । भावी बुद्ध अर्थात् शिद्धार्थ गौतम जन्मेको त्यो ठाउँ त्यतिबेला न उनकोे पितृप्रासाद्–राजदर्वार थियो, न मातुलगृह नै । मायादेवी माइतका लागि हिंडेकी थिइन, देवदह । इतिहासकारहरू भन्छन– देवदह कपिलबस्तुको शाक्यगणराज्यका समकक्षँी रामग्राम कोलीय गणराज्यमा पथ्र्यो । प्रसवावस्था माइतमा बिताउनु पर्ने परम्परा निर्वाह गर्न हिंडेकी मायादेवीको त्यो प्रसवपीडाले उनलाई माइत पुग्ने समय समेत दिएन । यशोधरा माइत नपुग्दै बुद्धजन्माउने प्रसवपीडामा छ्टपटाइन्, यही आजको मायादेवी मन्दिर अर्थात त्यतिखेरको एउटा निर्जन घना बनमा । त्यही बनको एउटा सालवृक्षमुनि उनले मातृत्वको प्रथम सुखानुभूति प्राप्त गरिन्, चरम नारी सन्तुष्टिको अपूर्व अनुभवमा सरोबर बनिन् ।

छेउमैं एउटा पोखरी देख्छु– सिद्धार्थ पुष्करिणी ! मेरा आँखा कल्पनाको कुचिलिएर सिद्धार्थ जन्मपछिको दृश्यहरूमा रङ्ग भर्न थाल्छन् । प्रसवपीडाको मीठो कुत्कुती पछि सृष्टि–पूर्णताको अनुभूतिले धन्यधन्य भएकी एउटी आमा सुन्दर सन्तानको अनुहार हेरे केही अगाडिका सबै पीडा–वेदना विर्सिरहेकी छे ! आफ््नै अंश, त्यो नवजात शिशुलाई सुम्सुम्यउँदै म्वाइँ खाँदै अपार तृप्तिको रसास्वदन गर्छे । केही बेरपछि सुस्तरी उठ्दै बडो जतनले शिशुलाई बोकेर पोखरी छेउ लान्छे । उसका साथ लागेका सुरारेहरू आफ्नी राजकुमारीको सेवागर्न अर्थात नवजात राजकुमारको सरसफाईका लागि अग्रसर हुन्छन् । मायादेवी ती सबैलाई रोक्छिन्, लाग्छ त्यतिखेर त्यो अपूवै सुखको अनुभूति उनी कसैसँग बाँड्न चाहन्नन् । आफू एक्लै भोग्न चाहन्छिन् नवजातपुत्रलाई प्रथमस्नान गराउनुको आनन्द ! आफ्नो सिर्जनालाई आफ्नै हातमा खेलाउन पाएको त्यो असिम आनन्दको क्षणमा प्रसवकालीन बेदनाका सामान्य आभाषसम्म आउन दिन्नन् उनी आफ्नो अनुहारमा ! आखिर राजकुमारी मायादेवी पनि एउटी स्वास्नी मान्छे नै त हुन्, उनी पनि अरु सामान्य स्वास्नीमान्छे भन्दा कसरी फरक हुनसक्थिन ?

हो यही पोखरी थियो, भनिन्छ जहाँ शिद्धार्थको जन्मपछि मायादेवीले उनलाई स्नान गराएकी थिइन, आफूले पनि स्नान गरेकी थिइन । यसरी मायादेवीको यो शिलाविम्व अर्थात मानवपूजित मूर्ति हेरेर म अहिले पनि सृष्टिको एउटा अनुपम प्रसववेदनाको अनुमान गरिरहेको थिएँ । अचेतनमैं मूर्ति अगाडि हातजोडेर उभिएको म, अमूर्त भगवानको नभएर सायद आफूभित्र एउटा श्रृष्टि हुर्काउने ममतामयी आमाको समर्पणप्रति नतनमस्तक थिएँ त्यतिखेर ! यो प्राचिन मन्दिरले मात्र अब लुम्बिनीको विशालता र महानतालाई थेग्न सक्तैन सायद, त्यसैले अहिले यसकै छेउमा मायादेवीको विशाल नवनिर्मित मन्दिर ठडिइसकेको देख्दैछु म !

चौथो र सातौं शताब्दीतिरै चिनियाँ यात्री थामियान र ह्वेनसाङ्गले आफ्ना यात्राबृत्तान्तमा वर्णन गरेका महत्वपूर्ण अर्को स्मारकचिन्ह अशोकस्तम्भ मेरो अर्को आकर्षणको केन्द्रविन्दु थियो । मानवबस्तीको प्रसारशून्यता र आवश्यक संभारको अभावमा त्यो शिलास्तम्भ कालान्तरमा गएर लोपोन्मुख हुनु अस्वभाविक थिएन, त्यसैभयो । इतिहासले यही भनेको छ । तर इतिहास भए पछि हराएकै भए पनि त्यसलाई खोजेमा फेला पार्न सकिन्छ, त्यसैले नै डा.फ्युहररले त्यतिबेलाका बडाहाकिम खड्गशमशेरको सहयोगमा त्यो इतिहासलाई फेला फेरि समाते । खने, खोस्रे र उत्खनन् गरेर उनले त्यो लगभग भूगर्भभित्र हराइसकेको अशोकस्तम्भलाई फेरि सन्सारको सामु ठड्याइदिए ।

आफ्नै कारणले कलिङ्गको युद्धमा सिर्जित विभीषिकाबाट जागेको वैराग्यबोधका कारण शान्तिको खोजीमा लागेका सम्राट अशोकको त्यही शान्तिप्रयास र भगवान बुद्धको जन्मस्थानको प्रमाणका रुपमा स्थापित यो अशोकस्तम्भ इतिहासको एउटा सबल आधार बनिरहेको थियो । इतिहासको जीवित सत्य उद्घाटित गरिरहेको थियायसले– शक्ति मद, शान्तिको चाहनाबाट आखिर पराजित भएरै छाड्छ । सम्राट अशोकको युद्धउन्माद पनि यसरी नै परास्त भएको थियो, त्यसको जीवन्त प्रमाणका रूपमा अशोकस्तभ्मले त्यही बताइरहेको थियो । इतिहासको गौरवलाई थुपुक्क आफ्नो पोल्टामा हालेर पर्यटक आकर्षणको पासोफाल्ने मेरो छिमेकी बठ्याइँलाई झुठो सिद्ध गर्न समेत ठूलो योदान दिएको थियो यो स्तम्भले । अर्थात भगवान बुद्धको जन्म नेपालको यही भूभागमा भएको दरिलो प्रमाण समेत रहेको यो अशोक स्तम्भ बाईस सय वर्षभन्दा बढी समयदेखि निरन्तर उभिंएर आफैं आफ्नो इतिहासको प्रामाणिक दस्तावेज बनिरहेको छ ।

मानिस किन आफ्नै रक्तउन्मादमा नशाको अनुभव गर्छ ? त्यो उन्मादमा बुद्धअगाडिका पनि मात्तिए– सभ्यता र शक्तिको आवाहनमा मानिसले रामायण लड्यो, महाभारत लड्यो । बुद्धले त्यही युद्ध– रोग, भोक र मरणशीलताको विरुद्ध शान्तिको महापथ देखाएपछि पनि हामीले लड्न छाडेनौं ! धेरै युद्धहरू लड्यौं हामीले र अझै लडिरहेका छौं । हामी जमिनका लागि लड्यौं, शक्तिका लागि लड्यौं र वादका लागि पनि लड्यौं, लडिरहेकौ छौं ! भर्खरै, हामी तेलका लागि लड्यौं ! हामीले शासन हत्याउन लडाइँ ग¥यौं, व्यापार हत्याउन पनि लडाइँ नै ग¥यौं र लडिरहेछौं अर्काेलाई आफूभन्दा सानो र कमजोर देखाउन । हामी आफूलाई शान्तिको पूजारी देखाउन पनि बमबन्दुक पड्काएरै लडिरहेका छौं, अरुलाई प्रजातन्त्रको पाठ सिकाउने नाउँमा पनि युद्धै लडिरहेका छौं, जहाँ यथार्थमा प्रजानामधारी नामधारी शक्तिहीन जनता नै शिकार बनेका छन् । अरू धेरै युद्ध लडेर कलिङ्गको युद्धमा लाशहरूको पहाड खडा गरेपछि मात्र युद्धपिपासु सम्राट अशोकको रक्तप्यास शान्त भएथ्यो र त्यसपछि मात्र उनी शान्तिमार्गका बुद्ध अनुयायी बनेका थिए सायद ! बुद्धपरिनिर्वाणको लगभग २०० वर्ष पछिको कालखण्डमा आएर मानव लाशमाथि उभिएका अशोकलाई बल्ल शान्तिको मर्मबोध भएथ्यो, र नै यो अकोकस्तम्भको उत्थापन हुन पुग्यो । यो स्तम्भ पनि मात्र शान्तिकानाको स्तम्भ थिएन कि ? यसको पछडि पनि उनको सामन्ती सम्राटीय उपस्थितिलाई इतिहासमा सुरक्षित गर्नुको प्रबल चाहना प्रमुख थियो सायद । यो ठाउँमा समेत आफ्नो उपस्थितिबोध गराउने इच्छाले प्रवल भूमिका खेलेको हुनसक्थ्यो यो शिलास्तम्भ स्थापनाको अभ्यन्तरमा । तर जे होस् स्तभ्ममा उत्कीर्ण अक्षरब्रह्मले भने एउटा इतिहासको सत्यलाई प्रमाणीकरण गरिदिएको छ– भगवान् बुद्ध यहीं ठाउँमा जन्मिएका हुन् ।

अशोक स्तम्भको छेउमा उभिएर म सोचिरहेको थिएँ– बुद्ध अघि होस् वा पछि, सधैं मानवरक्तमा उन्मादित हुने यो मेरो अमानवीय मनोविज्ञानमा खोइ कहिले आउँछ परिवर्तन ? आज पनि त म शक्ति र सभ्यताकै नाउँमा आफ्नै रगतको अबीर खेलीरहेकै छु, त्यही रगतको अमानवीय उन्मादमा रमाइरहेकै छु । रगत, त्यसले चाहे अमेरिकाको नाउँमा इराकलाई रङ्गाओस्; चाहे मेरै रुकुम र रोल्पामालाई भिजाओस्, त्यो बगेको रगत मेरै हो, मेरै आफन्तहरूको हो ! आखिर जहाँ, जसले, जसरी बगाएको भए पनि त्यो रगत मेरै हो, म मानिसकै त हो ! मेरो रगतको त्यो छिट्टाले आखिर मेरै बुद्धको अनुहार नै त रक्तरञ्जित बसिनरहेको छ ।

लामो समयदेखिको कुशासन, हत्या हिंशा र अशान्तिको भुङ्ग्रोमा पिल्सिएको कथित शान्ति क्षेत्रको म अशान्त नागरिक, विश्वभर शान्तिको सन्देश फिजाएर मानिसबाट महामाव बनेका बुद्धको जन्मस्थल लुम्बिनीको काखमा केही भए पनि मानसिक शान्ति अनुभव गर्ने कोसिस गरिरहेको छु । साली जानुकाको छोरीको बिहेको उपलक्ष्यमा मुम्बई जाने क्रमसँगै अघिल्लो साँझ भैरहवा आएदेखिनै यो ठाउँ घुम्ने योजना बनाएका थियौ हामीले । त्यसैले पशुपतिको जात्रा, सिद्राको व्यापार थियो यो हाम्रो लुम्बिनी यात्रा ! यो पूर्ण पारिबारिक यो यात्रामा मेरो साथ थिए मेरी श्रीमती लक्ष्मी, छोरी अञ्जु, सालो बद्री, उसकी श्रीमती र उनीहरूकै मामाको छोरो बिल्टु तथा उसको साथी सुरेन्द्र ।

साढे चार हजार रुपियाँमा एउटा माइक्रो बस लिएर विहान नौबजे काठमाण्डौं छाडेका थियौं हामीले । सङ्कटकालको पीडावशेष ठाउँठाउँको कडा सुरक्षाजाँचबाट सिर्जित गत्यावरोधका कारण साँझ छ बजे मात्र भैरहवा पुग्नसकेका थियौं– पूरै दिन गुमाएर । अझ पत्रकारको परचयले सुरक्षा जाँचमा निकै होलो अनुभव गर्न पाएको थिएँ मैले । त्यो छुट नपाइएको भए हझ कति समय लाग्थ्यो भैरहवा पुग्न– निश्चित थिएन । भैरहवा पुगेर होटेल साम्बलामा आश्रय लिए पछि नै लुम्बिनीको अन्तराष्ट्रिय आकर्षणको यो ठाउँको पनि भ्रमण योजना बनाएका थियोै हामीले । भोलिपल्ट साँझ पौने सात बजे मात्र गोरखपुर नासिसिक रेलको आरक्षण भएकोले हामीसँग झण्डै आधादिनको समय थियो त्यता बिताउन । हाम्रो टोलीमा अरुका लागि त्यो ठाउँ नौलो थिएन, अगाडि पनि हामी पुगिसकेका थियों । लक्ष्मी र अञ्जुुका लागि भने त्यस्तो अवसर यस अघि प्राप्त नभएकोले त्यो समयको उपयोग विशेष उनीहरूलाई त्यहाँ पु¥याउने उद्देश्यले प्ररित थियो । त्यही योजना अनुसार नै हामी साढे सात सय रुपियाँमा एउटा सबारी साधन मिलाएर यहाँ आइपुगेका थियौं– २०५९ मंसिरको १९ गते बिहान ।

यो ठाउँमा आएपछि मेरो मनमा उब्जेको अर्को अनुभूति थियो–कति शिथिल छ, हाम्रो विकासको गति ! यसको ज्वलन्त उदाहरण बनेर लुम्बिनी विकास क्षेत्र आफैं ठिङ्ग उभिएको थियो । सन् १९८५ सम्ममा योजना कार्यान्वयन गरिसक्ने लक्ष्य सहित सन् १९७२ तिरै सुरु भएको लुम्बिनी विकास गुरुयोजना आज लक्ष्यित समयभन्दा लगभग दुई दशक पछाडि पनि अपूरो नै थियो । यो देख्दा यस्तो अनुभव हुनु अस्वाभाविक थिएन सायद ! विश्वव्यापी सहभागिता र सहयोगको सिङ्गो प्रयोगस्थलको त यो हालत छ भने अन्यत्र के होला, सहज अनुमानको विषय थियो यो ।

लाग्छ, पुरातात्विक क्षेत्र, लुम्बिीग्राम, र अन्तर्राष्ट्रिय गुम्बाविहार गरी तीन क्षेत्रमा विभाजित तीनै वर्गमाइल क्षेत्रफलमा विस्तारित यो गुरुयोजनाले पूर्ण विकासको अवस्था पार गर्न अझै लामो समय प्रतीक्षा गर्नु पर्ने छ । लुम्बिनीग्राम क्षेत्रमा स्कुल, व्यापारिक केन्द्र, होटेल, पर्यटन सुविधा आदिका लक्ष्यित व्यवस्था पूरा हुन अझै लामै समयको प्रतीक्षा गर्ने पर्ने छ । विभिन्न मुलुकका संस्कृतिको झलक दिने भिन्न शैलीका बौद्ध विहार र गुम्बाहरूको निर्माण क्षेत्र अर्थात गुम्बाविहार क्षेत्र पनि अझै निर्माणाधीन नै छ । कुनै व्यक्ति वा देशले ९९ वर्षको लिजमा जमिन लिएर विहार–गुम्बा निर्माण गर्न सक्ने यो क्षेत्रमा जापानी, श्रीलङ्काली, ताइवानी, चिनीया, कोरियाली आदि धेरै मुलुकद्वारा निर्मित गुम्बा–विहारहरू केहीको निर्माण सम्पन्न भै ससकेको छ, केही निर्माणाधीन छन् र केही सुरु नै गरिएका छैनन् । संयुक्त राष्ट्रसंले सन् १९८६लाई अन्तर्राष्ट्रिय शान्ति वर्ष घोषणा गरेपश्चात राष्ट्रसंघबाट ल्याएर प्रज्वलित गरिएको ग्यासबाट बल्ने अखण्ड शान्तिद्विपले विश्वलाई र बुद्ध जन्मेको मेरै देशलाई कति प्रेरित गर्न सक्ला– यो प्रश्नको उत्तर स्वयम् लुम्बिनीले पनि मलाई दिन सकेको छैन । प्रतीक्षा र खोजी मानवीय सभ्यताको सबल सम्बल हो । म पनि यही प्रश्नको प्रतीक्षा र खोजीमा आफ्नो यायावरी प्रबृत्तिलाई गति दिन्छु यहाँबाट बिदा मागेर !

भारतको पश्चिमी राज्यस्थित महानगर मुम्बई यात्राको क्रममा भैरहवा तर्फ गइरहँदा अनायास मलाई लगभग तीन दशक अघि अर्थात विक्रम सम्वत् २०३० तिरको सम्झना आएको थियो । मेरो पहिलो त्यो तौलिहवा–भैरवा यात्रा देवीबहादुर अर्थात जनक थापाको सौजन्यमा सम्भव भएको थियो । उहाँकै निमन्त्रणामा हामी अर्थात म र हरिप्रसाद अर्याल साथ लागेका थियौं । जनकदाइ र हरिदाइ दुबैसँगको मेरो सम्बन्ध र मित्रता पनि अनौठै थियो । उहाँहरू दुबै मेरा पिताजीका समकालीन साथी । मसँग पनि साथीकैजस्तो सम्बन्ध रहन पुगेको थियो उहाँहरूसँग पछि गएर । साहित्यकार भैरव अर्यालको समेत अत्यन्त मन पर्ने साथी हरिदाइ र म दुबै जोरपाटीको चामुण्डा माध्यमिक विद्यालयमा पढाउँथ्यौं त्यति बेला । जनक दाइ मेरा पूर्व गुरू पनि हुनुहुन्थ्यो– म आरुबारीकै अरुणोेदय विद्यालयमा दुई–तीन कक्षामा पढ्दा उहाँले हामीलाई पढाउनु भएको थियो । पछि पेशाले वनविशेषज्ञ अर्थात रेञ्जर बनेका जनक दाइको तौलीहवामा जग्गा थियो र त्यहीं जानेक्रममा हामीलाई पनि घुमाउन लैजाने उहाँको निम्तो र व्यवस्था हाम्रा लागि अपूर्व उपहार बनेको थियो । हाम्रो त्यति बेलाको यात्रामार्ग पोखरा–बुटबल हुँदै गोरुसिङघे भएर तौलिहवा पुग्ने बाटो थियो । बुटबलबाट उता जोड्ने महेन्द्र राजमार्गको खण्ड निर्माणाधीन नै थियो । त्यस पछि धेरै पल्ट यता आए पनि त्यो पुरानो यात्रामार्ग कहिल्यै हिँड्ने अवसर पाइएको छैन । मुग्लिन–नारायणगढ सिधै पसार्रिएर सेतु बनेपछि पूर्व पश्चिम जता जान पनि यही प्यारो भयो, त्यो बाटो विरानो बन्यो । पोखरा बुटबल मार्गको बाँकी यात्राआनन्द आकासे चील गाडीले खोसिदियो । यिनै कारण एक करोड दश लाख वर्ष अगाडिका मेरा पुर्खा रामाथिपेकसको सभ्यतासेतु तिनाउ नदी र त्यसलाई छात्ती चिरेर बगाउने बुटवल अर्थात बटौली नटेकेको झण्डै जुगै भइसक्यो । हो, अन्त कतै जाने क्रममा यसको माथिभएर उडेका–गुडेका विमान–मोटर–बसभित्रबाट यसलाई अनुभव गर्नु बेग्लै हो ।

मेरा आँखा अगाडि त्यतिबेलाको पोखरा, त्यतिबेलाको बुटवल, त्यतिबेलाको भैरहवा, र भर्खरै बन्दै गरेको पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गे खण्डको तस्बीर नाच्न थाल्छ । ती धुमिल तर आफ्नै आकर्षण लिएकां प्रकृतिजन्य स्वाभाविक प्रकृतिबाला झैं पूर्व चित्र र अहिलेको आधुनिक परिधान र साजश्रङ्गारमा लतपत्तिएको वाराङ्गना झैं लाग्ने नवरूप– कतै साम्यता फेला पार्नसक्दिन म यी ठाउँहरूमा । अहँ, कुनै कुरामा तुलनीय छैन, कतै कुनै अनुहार मिल्दैन । हो, धेरै सकारात्मक कुरा पनि पाएको छु मैले– तीन दशक अघि त्यता जाँदा मेरै भैरहवा–तौलिहवामा आफूलाई पराई पाएको थिएँ मैले ! भाषा, भेष, बरव्यवहार सबै पराई थियो त्यतिबेला, मसँग कुनै मिल्दैनथ्यो ! मेरो राष्ट्र भाषाले मलाई त्यहाँ आफ्ना कुरा राख्न वाणी दिँदैनथ्यो । त्यो भाषा बोलेर म दोहारो कुराकानी गर्न सक्दैनथें । बरू मेरो राष्ट्र भाषाको स्थान लिन छिमेकी हिन्दी चुरीफरी गर्ने गथ्र्यो । त्यहाँको म नेपाली स्वयम नेपाल जान्दैन थें । समग्र सोचसमझ र जानकारीमा नेपाल कतै पाइँदैनथ्यो–उपलब्ध पाठ्य र श्रव्यसामग्रीमा नेपाल कतै भेटिँदैनथ्यो । नेपालका प्रधानमन्त्रीको विम्ब भारतीय प्रधानमन्त्रीसँगै जोडिएर आउँथ्यो– अर्थात, नेपाल र भारत दुबैका प्रधानमन्त्रीमा भिन्नता देख्नेसम्मको विवेक र चेतना दिन सकेको थिएन मेरो नेपालले त्यतिखेर । अझैसम्म, राजधानी कै कतिपय ठाउँमा ‘इण्डिया इज माई कण्ट्री’को राग अलापिन्छ र जिम्मेवार अधिकारीहरू तीनै मन्त्रप्रसारकहरूको गुलियो चाटेर कानमा तेल हाल्छन््, राजधानी बाहिर के होला र त्यतिबेलाको मेरा सीमान्त क्षेत्रहरूमा के थियो होला, मलाई अनुमान गर्न कठिन पर्दैन । म नेपाली अझै भारतीय पाठ्यसामग्रीको पठनपाठनमा “जनगणमन...भारत भाग्य विधाता”को मन्त्रगानमा रमी रहेको छु भने त्यतिबेला कस्तो थियो होला, सहजै अनुमान गर्न सकिन्छ । अझै मेरो राजधानीको प्रमुख व्यापारिक केन्द्र नेरूलाई भन्दा भारूलाई स्नेहले बढी सुम्सुम्याउँछ, त्यति बेलाको मेरो सीमान्त नेपालले नेपाली रुपियाँलाई विरानो र भारुलाई आफ्नो ठान्नु अस्वभाविक पनि थिएन सायद् । मेरो राष्ट्रभाषा, मेरो भेष, मेरो बरव्यवहार सबै पराई बन्थ्यो, अहिले बिस्तारै परिचित हुन थालेको छ । यो सकारात्मक परिवर्तले अझै पूर्ण गति लिन नसके पनि अब आफ्नो गतिलाई धेरै बढाएको छ, यो मेरो मानसलाई एउटा गौरवको अनुभूति दिने सानै भए पनि आधार बनेको थियो यतिबेला । यिनै अनुभूति लिएर मैले भैरहवासँग बिदा लिएको थिएँ, गोरखपुर रेल समात्ने लक्ष्य लिएर आफ्नो यात्रालाई अघि बढाउने क्रममा ।



असार १, २०६०

गरिमा, वर्ष २१ अङ्ग ९ पूर्णाङ्क २४९, भदौ २०६०

No comments:

Post a Comment