Tuesday, August 17, 2010

भाषाले देश बन्दैन........!

गोप पुस १४ गते प्रकाशित
अनौपचारिक
भाषाले देश बन्दैन........!
–विजय चालिसे
केही समय अघि चुनाव प्रचारको सिलसिलामा भारतकी काङ्ग्रेस नेतृ सोनिया गान्धीले भनेकी थिइन–“कविताले देश चल्दैन, न त सुशासन नै दिन सक्छ ।” विपक्षी नेता अटलविहारी वाजपेयी कवि पनि भएकाले, उनको भावुकताप्रति लक्ष गर्दै भनिएको हुनुपर्छ यो, भावुकताले देश चल्दैन, सुशासन दिन सक्दैन । उनको कविता भन्ने भनाइमा भाषा–साहित्यका समग्र विधालाई संकेत गरेको हुनुपर्छ । सोनिया गान्धको यो धारणा भाषा–साहित्यलाई निरर्थक र अनुत्पादक ठान्ने हाम्रा अधिकांश राजनीतिकर्मी, नीतिनिर्माता, योजनाकार र उच्चपदस्थ अधिकारीहरूको सोचाइसँग मेल खान्छ । उनको त्यो भनाइ पढेर केही वर्ष अघि सरकारी प्रसारण माध्यमका एकजना तत्कालीन प्रमुखले व्यक्त गरेका यस्तै भनाइको सम्झना हुन्छ ।
गोखापत्र दैनिककै संपादकको कार्यकक्षमा नेपाली सञ्चारमाध्यमहरूमा देखिने भाषिक असावधानी अर्थात लेखन–उच्चारणमा पाइने अशुद्धिका बारेमा चर्चा चरिहेको थियो । त्यही क्रममा ती सरकारी सञ्चारमाध्यमका प्रमुखले सोनिया गान्धीको अहिलेकै शैलीमा भनेका थिए– छाड्नोस् यस्ता कुरा, भाषाले देश बन्दैन । रमाइलो के थियो भने उनी आफैं प्रतिष्ठित चलचित्रकर्मी थिए र सार्वजनिक सञ्चारमाध्यमका प्रमुख पनि । एउटा चलचित्रकलाकार स्ययम् भाषा–संस्कृतिको संवाहक मानिन्छ । त्यसमाथि उनी त नेपाली भाषा, साहित्य, संस्कृति र सूचनाको सम्बद्र्धन गर्ने घोषित उद्देश्यबाट सञ्चालित सार्वजनिक सञ्चारमाध्यमकै हर्ताकर्ता ! उनमा त्यस्तो धारणा हुनु हामी सबैका लागि आश्चर्यको कुरा थियो । अहिले नेपाली भाषा, संस्कृति र साहित्यको संबद्र्धन गर्न भनी स्थापित एउटा अर्को सरकारी प्रतिष्ठानको सदस्य बने पछि उहाँको त्यो धारणामा केही परिवर्तन आयो कि आएन, थाहा छैन ।
हो भाषाले मात्र देश बन्दैन, साहित्यले मात्र देश बन्दैन । भाषा–साहित्य आफैंले सुशासन पनि ल्याउँदैन । तर देशबनाउँछु भन्नेहरूलाई भाषा–साहित्यले माटो र मानिसप्रति संवेनशील बनाउँछ । उचित–अनुचित कुनै पनि तरिकाले धन कमाएपछि समाजमा सम्मानित र शक्तिसाली होइन्छ भन्ने देश बनाउँछु भन्नेहरूमा आज देखिन थालेको सोचाइमा गुणात्मक परिवर्तन ल्याउनका लागि भने भाषा र साहित्यले नै सघाउँछ । देशको विकास भनेको भौतिक विकासमात्र निष्चय नै होइन । जति नै धनी भए पनि देशले आफ्नो पहिचान खोज्छ, आफ्नो पनको विशिष्ठता खोज्छ र आफ्नो जातीय पहिचान पनि खोज्छ । यसो नभएमा उसले आफूलाई चिनाउन सक्दैन । यो पहिचान, यो आफ्नोपनको विशिष्ठता, यो जातीय पहिचान राष्ट्रिय भाषा, साहित्य र संस्कृतिले नै दिन्छ । बन्दुकले होइन विचारले, भावनाले परिवर्तन ल्याउन प्ररित गर्छ । त्यसैले भाषा, साहित्य संस्कृति आफैंमा विकास नहोला, सुशासनको साधन नहोला, शान्ति, परिवर्तन, विकास र सुशासनलाई बलियो आधार भने यसैले दिन्छ ।
हामीले वास्ता नगरे पनि विदेशीहरू कसरी साना साना कुरालाई पनि गहिरिएर हेर्छन भन्ने एउटा उदाहरण राखौं । नेपालमा नेलीहरूको हिन्दु संस्कार विषयमा विद्यावारिधि गर्ने क्रममा जापानबाट भर्खरै नेपाल आएकी एउटी विद्यार्थी केटीले केही समय अगाडि एउटा प्रश्न गरेकी थिई–के नेपालको सरकारी कामकाजको राष्ट्र भाषा अङ्ग्रेजी हो ? उसको कुरा सुनेर म पहिले त म अलमलिएको थिएँ– के भन्छे यो केटी ! तर कुरा बुझेपछि आफैंलाई लागेको थियो हो त राजधानीका जतासुकै देखिने सूचना पाटी, संकेत पाटी, नाम पाटी, विज्ञापन पाटी आदि हेर्दा नेपालको राष्ट्रिय र कमाकाजको भाषा कतै अङ्ग्रेजी त होइन भनेर अलमलमा पर्नु त्यति अनौठो होइन । राजधानीका सडक छेऊ, पसल, कार्यालय, सार्वजनिक स्थल प्राय सबैतिर देखिने नामपट्, सूचना, विज्ञापन, प्रचारसामग्रीहरूमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग देखेर उसलाई नेपालको सरकारी र कमाकाजी भाषा अङ्गे्रजी हो कि भन्ने लाग्नु स्वभाविकै थियो । हुन पनि विदेशीहरू प्रवेश गर्ने थानकोट नाका होस कि त्रिभुवन विमानस्थल, बाटाका सबै तिर शतप्रशितजस्तै साधारण र बिद्युतीय विज्ञापन पाटी, सूचना सामग्रीमा एक मात्र अङ्ग्रेजी को. प्रयोग गरिएको देखिन्छ । ९० प्रतिशतभन्दा बढी नै होलान् अङ्ग्रेजीमा मात्रै लेखिएका यस्ता सामग्री । महानगरपालिकाले आफ्नै निग्रानीमा भाडामा ठाउँ उपलब्त्र गराएर राख्न दिएका सडक छेउका खम्बा, सडक पेटी र सार्वजनिक ठाउँहरूका सबैजसो विज्ञापन र प्रचार सामग्रीमा समेत अङ्ग्रेजी बाहेक नेपाली भाषा कतै भेटिँदैन ।
राजधानीका सडक छेउ देखिने विज्ञापन, सूचना र प्रचार सामग्री हेर्ने होभने बडो मुस्किलले एक–दुई शुद्ध नेपाली भाषामा पाइएला । यस्ता साग्री तीन प्रकारका देखिने गर्छन–पहिलो हिन्दी र नेपालीको ठिमाहा वा वर्णशङ्कर, दो.श्रो नेपाली र अङ्ग्रेजीको ठिमाहा वा वर्णशङ्कर र तेश्रो नेपालीको कतै नामनिशाना नभएको अङ्ग्रेजी मात्र प्रयोग भएका । कमसेकम अरु जुन भाषाको प्रयोग गरे पनि नेपालीमा चाहिँ अनिवार्य गरिनु पर्छ भन्ने चेतना कहिल्यै आएन हामीमा । रेडियोसुिन्नोस्, टेलिभिनजन हेर्नोस अखबार पढ्नोस् जतासुकै तपाइँ यिनै ठिमाहा भाषाका विज्ञापन र सूचना सामग्री पाउनु हुनेछ । वाटिका स्याम्पु लाएर “भित्रैदेखि निखार ÷मुहारमा सदाबहार” ल्याउन उक्साउने विज्ञापन होस् कि, दाँतलाई स्वस्थ राखेर “गजबको ताजगी” ल्याउने क्लोज अप दन्तमञ्जन वा “टुथपेष्ट” होस् हिन्दी नेपालीको ठिमाहा स्वाद पाइन्छ । एक्टिभ ह्विल डिटर्जेन्ट वा धूलो साबुनको “अफरमा यस्तो जोर छ, हात्ती पनि हुन्छ कमजोर”को भाषा होस् कि “२०००जना पार्टी, ५०० जना क्याटरिङ, र २२८ जना बफेटको क्षमता भएको चाइना एण्ड वल्र्ड रेष्टुरेण्ट प्रालि”को सन्देश होस् सबैमा यही ठिमाहापन पाइन्छ । “आज भोलि मेरो परिवार कन्हैयाको दिवाना” हुनु त सामान्य भैसक्यो । भनिन्छ, कुनै पनि राष्ट्रको पहिचान, जातीय चिनारी र पनको नामोनिशान मेटाउनु छ भने सबैभन्दा पहिले त्यो राष्ट्रको भाषा–संस्कृति ध्वस्त पार्नुहोस् । हाम्रो सन्दर्भमा भाषा–संस्कृतिमाथि भइरहेको प्रहार र त्यसको रोकथमामा राज्यको उदासीनता देख्दा लाग्छ कतै हामी आफ्नै पहिचन मेटाउन लागिपरिरहेका त छैनौं ! अनि ती नेपाली प्रशासक–कलाकर्मीले भनेको भाषाले पनि कतै विकास हुन्छ भन्ने भनाइको सम्झना हुन्छ ।
आज राष्ट्र भाषा नेपालीमा बोल्ने–लेख्ने पाखे र गाउँले ठहरिन्छ, मुखिया–खर्दार भन्दा बढी योग्य ठानिँदैन । अब त पालेको जागिर खान पनि अङ्ग्रेजी जान्नुपर्ने भैसकेको छ, जो पर्रर अङ्ग्रेजी बोल्छ, लेख्छ ऊ जताततै राम्रै मोलमा बिक्छ । भाषा ज्ञानको माध्यम हो, बृहत् ज्ञान–विज्ञानको भण्डारमा पस्न हिन्दी–अङ्ग्रेजी मात्र होइन अरु भाषा–माध्यमको पनि आवश्यकता पर्छ । तर अहिले भाषालाई नै ज्ञान ठान्ने जुन प्रवृत्तिको विकास भइरहेछ त्यो चाहिँ स्वागतयोग्य मान्न सकिँदैन । ज्ञानको खोजीमा भन्दा आफूलाई महङ्गो मोलमा विकाउने र विदेशी, त्यसमा पनि गोरा छालाई रिझाएर योजना–परियोजना फुत्काउने स्वार्थ ले नै हामी विदेशी भाषाको अन्धमोहमा फसिरहेका छौं । त्यसैले होला हाम्रा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, राजनीतिक नेताहरूमा विदेशी भाषामोह अझ बढी देखिन्छ । देश विदेश जहाका पनि कार्यक्रमहरू हुन् उनीहरू सजिलै आफ्नो कुरा राख्न सकिने आफ्नै राष्ट्र भाषामा बोलेर आवश्यक भए बरु त्यसकोअनुवाद प्रति उपलब्ध गराउनु भन्दा टुटेफुटेको विदेशी भाषामा लाजलाग्दो अभिव्यक्ति दिनुमा गौरव ठान्छन् । मन्त्री–प्रधानमन्त्रीहरूका औपचारिक भ्रमणमा राज्यको ढुकुटीबाट लाखौं खर्च हुन्छ, त्यो खर्चबाट एकजना दोभाषे र अनुवादकको खर्च जुटाउन नसकिने पक्कै हुँदैन होला । विदेशी सञ्चारमाध्यममा प्राय आउने उनीहरूको यस्तै अल्पज्ञानी भाषामोहले राष्ट्रिय स्वाभिमान घाइते हुनपुगेका अनेकों उदाहरण पाइएलान् ।
ड्ड

1 comment:

  1. साह्रै राम्रो प्रस्तुती ।
    तर अहिलेका नेताहरुमा बिचार पोख्न सक्ष्यम नेताहरु पनि प्रशस्तै छन् नी बुवा ! तर बेइमानहरुको भिडमा परेपछी बिचार र आवाज मलिन भएका मात्र हुन । समयले फेरी ती आवाजलाई बुलन्द बनाउछ। निरास मात्र हुनुपर्ने भैसकेको छैन।

    ReplyDelete