Tuesday, August 17, 2010

नेपाली लेख्य–शैलीको विकासमा सञ्चार माध्यम-–विजय चालिसे

नेपाली लेख्य–शैलीको विकासमा सञ्चार माध्यम
–विजय चालिसे
भाषा र गद्य लेख्य–शैलीः
सञ्चार र साहित्य दुबैको माध्यम भाषा हो । त्यही भाषाको खास रूप वा लेख्य अभिव्यक्तिको खास तरिका शैली वा विधाको रूपमा स्थापित हुनेगर्छ । नेपाली बृहत् शब्दकोश१ ले छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेदलाई गद्य मानेको छ भने साहित्यिक रचनामा लेखकका व्यक्तिविशेषताको छाप दिने वा विषयबस्तुका अनुकूल भाव अभिव्यक्ति हुने खास ढाँचालाई साहित्यको शैली मानेको छ । त्यरी नै नेपाली साहित्य कोश२ ले बोलिने या उच्चारण गरिने अभिव्यक्तिको माध्यम अथवा छन्दविहीन रचनाका अर्थमा गद्यलाई लिएको छ । गद्य छन्दविहीन भएर पनि लयात्मक र सुललित हुनक्छ । त्यसैले त्यस्तो लयात्मक र सुललित गद्यलाई महाकवि देवकोटाले पोथी गद्यको नाउँ दिएको हुनुपर्छ । माधुर्य, ओज र प्रसादलाई काव्यका प्रमुख तीन गुण मानिन्छन् । यी तिनै गुणको अपेक्षा पद्यमा जत्तिकै गद्यमा पनि रहन्छ । अभिव्यक्तिको प्रमुख र सशक्त माध्यम गद्य एकार्थकता तथा बस्तुपरकताका कारण बस्तुनिष्ठ, व्यवहारोपयोगी ज्ञान का साथै साहित्यका आख्यान, नाटक, निबन्धजस्ता विधाहरूको समेत माध्यम बनेको छ । विद्वान्हरू गद्यको बढी सरोकार बुद्धि वा तर्कपरक मस्तिष्क पक्षसँग रहने बताउँदछन् ।
गद्यलाई कुनै पनि लेख्य भाषामा अभिव्यक्तिगत उन्नयनको कसी मान्ने गरिएको पाइन्छ । गद्य शैलीको सामथ्र्यका आधारमा नै भाषाको शक्तिसामथ्र्य जाँचिने भएकाले पूर्वीय काव्यशास्त्री वामनले “गद्यं कवीनां निकषं वदन्ती” भन्ने निचोड निकालेको हुनुपर्छ । पद्यात्मक भाषिक अभिव्यक्ति सीमित विधामा मात्र प्रयोग हुने गर्छ भने गद्य साधारण बोलीचालीदेखि अनेकौं विधाको लेखन–अभिव्यक्तिसम्म फैलिएको छ । बुद्धि वा तर्कपरक मस्तिष्कपक्षसँग गद्यको बढी सरोकार रहने हुँदा बस्तुनिष्ठ रूपमा विवेचना गर्नु पर्ने गहन तथा गम्भीर विषयको द्विविधामुक्त, सुस्पष्ट, एकार्थक अभिव्यक्तिमा गद्यको अपरिहार्यता रहन्छ३ । यही कारण इफोर इभान्स निक्र्योल गर्छन–कुनै पनि राष्ट्रको गद्य पद्यभन्दा धेरै महत्वपूर्ण हुन्छ४ ।
नेपाली गद्य
नेपाली गद्यको क्रमिक अध्ययनका आधारमा यो भाषा प्रारम्भमा कामकाजी व्यवहारको माध्यमका रूपमा मात्र सीमित थियो भन्ने विज्ञहरूको अनुमान छ । संभवतः नेपाली भाषा र यसको गद्य रूप लामो समयसम्म लोकजीवनले श्रुतिपरम्परामा अभिव्यक्ति दिँदै आएका लोककथा, लोकोक्ति आदि लोकसाहित्य र सामान्य लोकवाणीका माध्यममा हुर्कँदै गयो ।
नेपाली भाषाले अभिलेखीय भाषाका रूपमा लेख्य स्वरूप ग्रहण गरेको स्पष्ट प्रमाण लगभग एक हजार वर्ष भन्दाअघि पुग्न सकेको देखिँदैन । नेपाली भाषामा लेख्य रूपको सबैभन्दा पुरानो प्रमाण साके ९०३ को दामुपालको दुल्लु शिलापत्र मानिएकोले अर्को प्रमाण फेला नपरुञ्जेल लेख्य नेपाली भाषाको इतिहास त्यसैबाट सुरु भएको मान्नुपर्ने हुन्छ । त्यसपछि मात्र नेपाली गद्य भाषाले आफूलाई उत्कीर्ण अभिलेखबाट ज्योतिष, चिकित्सा आदि व्यवहारोपयोगी विषयका ग्रन्थहरूको निर्माणमा फैलाउँदै गयो५ । संभवतः १४५७ तिरको अनुमान गरिएको भास्वतीको अनुवाद नआउञ्जेलसम्म नेपाली भाषा अभिलेखीय स्वरूप शैलीमा सीमित रह्यो । यसरी अभिव्यक्ति क्षमता बढ्दै जाने क्रमसँगै नेपाली गद्य भाषाले पन्ध्रौंं शताब्दीतिर आफूलाई अभिलेखबाट फैलाउँदै लगेको अनुमान गरिएको छ । यही क्रममा १५५० तिरको अनुमान गरिएको राजा गगनीराजको यात्रामा आइपुग्दा नेपाली गद्य भाषाले केही मात्रामा भए पनि साहित्यिक शैली र स्वरूप ग्रहण गर्न थाल्यो । यसरी भास्वती, गगनीराजको यात्रा र खण्डखाद्य(१६४८) आदिमा प्रयुक्त भाषाले प्राचीन नेपाली गद्यको प्रारम्भिक झल्को दिए भने वाज परीक्षा(१७०० तिर), ज्वरोत्पत्ति (१७७३), प्रायश्चित प्रदिप आदिमा प्रयुक्त गद्यले माध्यमिक कालीन गद्यको लक्षण देखाउँदै नेपाली गद्य भाषाले विकासको अरू खुड्किलो तय गरेको विज्ञहरूको धारणा पाइन्छ । अझ नेपाल अधिराज्यको एकीकरणपश्चात देखिएका महाभारत विराटपर्व (१८२७), हितोपदेश मित्रलाभ(१८३३), हास्यकदम्ब (१८५५), मुद्राराक्षस (१८९२) आदि कृतिका साथै पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१) ले आधुनिक गद्य स्वरूपको केही झल्को दिइसकेका थिए । भीमसेन थापाकालीन नेपालमा नेपाली गद्य भाषा आख्यान र नाटकमा मात्र सीमित नरहेर संधिपत्र, वंशावली, यात्रावर्णन, नीति शास्त्र आदिका समेत माध्यम बनिसकेका थिए ।
निश्चय नै अभिलेखकालीन भाषा र प्रेमनिधि पन्तको प्रायश्चित प्रदीप, पृथ्वी नारायण शाहको दिव्योपदेश र जीवनी, शक्तिबल्लभ अज्र्यालको जयरत्नाकर तथा हास्यकदम्ब नाटकका नेपाली अनुवाद, सुन्दरानन्दको रामायण आदिलाई केलाउने हो भने यिनमा नेपाली गद्य साहित्यको प्रारम्भिक जग राम्ररी हालिएको पाइने छ । अन्वेषकहरूको भनाइमा अभिलेखकालीन गद्यको नेपाली भाषाभन्दा प्रारम्भिक नेपाली साहित्यको भाषामा प्रशस्त भिन्नता र विशेषता भेटिन्छन् । नेपाली पत्रकारिताको सुरुआत भए पछि सञ्चारमा प्रयुक्त र साहित्यमा प्रयुक्त भाषामा समेत उल्लेख्य भिन्नता फेला पर्छन् । यहाँ चर्चाको मूल विषय यो होइन, यस क्षेत्रको विज्ञ पनि म होइन । तसर्थ नेपाली सञ्चार माध्यम, त्यसमा पनि मूलतः छापामाध्यमले नेपाली गद्यको प्रारम्भिक विकासमा पु¥याएको सहयोग बारे सङ्क्षिप्त चर्चा गर्नु मात्र यसको उद्देश्य रहेको छ । तैपनि वि.स. १९५८ वैशाख २४ गते नेपालमा समाचारपत्रका रूपमा सबैभन्दा पहिला देखा परेको सरकारी प्रकाशन “गोरखापत्र”बाट नेपाली पत्रकारिता र आमसञ्चारको युग प्रारम्भ हुनुपूर्व नेपाली भाषाको माध्यमिक कालखण्डमा आएर नेपाली साहित्य र गद्य शैलीमा देखिन थालेका आधुनिकताको पूर्वाभास तथा त्यसका प्रयोक्ता मोतीराम र उनका समकालीन साहित्यकारहरूका जीवनी, नाटक, उपन्यास, कथा, निबन्धआदिले दिएको योगदानको संझना नगर्नु कृतघ्नता हुने छ ।
मोतीराम भट्टले नेपाली प्रियदर्शिका र रत्नावलीजस्ता संस्कृतका नेपाली नाटकलाई नेपाली भाषामा अनुवाद गरेर गद्यको प्रारम्भिक स्वरूपको निर्माण तथा विकासमा ठूलो योगदान दिए । मोतीराम भट्टपछि त्यत्तिकै योगदान दिने र नेपाली निबन्धका माध्यमबाट नेपाली गद्य शैलीको प्रस्ट स्वरूप निर्माण गर्ने शम्भुप्रसाद ढुङ्गेल यस क्षेत्रका अर्का महत्वपूर्ण व्यक्तित्व मान्नु पर्छ । यसरी नै शिवदत्त शर्माले अनुवाद गरेका वीरसिक्का (वि.सं.१९४६), गिरीशबल्लभ जोशीको वीरचरित्र (१९५६), लगायत त्यस कालखण्डमा नेपाली भाषामा अनुदित नलोपाख्यान, बेतालपच्चिसी, शुकबहत्तरी, तथा उर्दुफारसी भाषाबाट अनुवाद गरी नेपालीमा ल्याइएका जासुसी र तिलस्मी उपन्यासहरूले समेत नेपाली गद्य भाषाको विकासमा योगदान पु¥याउँदै गएको हुनु पर्छ । लक्ष्मीकान्त पन्थीका६ अनुसार यसक्रममा उपन्यास तरङ्गिणी र उपन्यास नामका शदाशिव शर्माद्वारा सम्पादित दुई औपन्यासिक पत्रिकाका माध्यमबाट पाँचवटा उपन्यासहरू प्रकाशित भएका छन र तीमध्ये दुईवटा अनुदित नै हुन् । यही कालखण्डमा देखिएका हितोपदेश मित्रलाभ, नलोपाख्यान, लालहिराको कथा, मधुमालतीको कथा, हात्तिमताइ र गुलवकाबलीका कथाहरूका साथै मोतीरामको भानुभक्त आचार्यको जीवन चरित्रजस्ता जीवनी, जङ्गबहादुरको बेलायत यात्रा, बत्तीस सालको रोजनाम्चाजस्ता यात्रा साहित्य र अन्य निबन्ध आदिले निश्चय नै नेपाली गद्य शैलीको विकासमा गहकिलो योगदान पु¥याएको हुनुपर्छ ।
नेपाली लेख्य–गद्य शैलीको विकासमा सञ्चार
सञ्चार तथा पत्रकारिताको महत्वपूर्ण प्रयोजन सूचना र विचार प्रवाह गर्नुका साथै समाजको भाषा संस्कार गर्नु पनि हो । यसले लोकको रूचिसँग कुनै संझौता नगरिकनै भाषिक–साहित्यिक दृष्टिले स्तरयुक्त सामग्री दिएर लोकरूचि र अभ्यासलाई प्रशिक्षित, उन्नत तथा सुसंंस्कृत तुल्याउन मद्दत गर्छ । सांस्कृतिक चेतनासँग सिधै जोड्न सकिने भएकाले गद्य भाषा–शैलीको निर्माण र परिष्कारमा यसको महत्वपूर्ण भूमिका रहन्छ । नेपाली भाषाको रोचक तथा संघर्षशील यात्रा–कथाको प्रमाण सुरक्षित राख्न सफल नेपाली अखबारका पुराना पन्नाहरूले यसको पुष्टि गरिरहेका छन् । यसको उदाहरण पादटिप्पण्ीमा उद्धृत गद्यांशबाट पनि पाइन्छ । आमसञ्चार र पत्रकारको भूमिका पनि सच्चा लोकनायक र साहित्यिक मनीषिको जस्तै हुन्छ । साहित्यकारले जस्तै सञ्चार र पत्रकारले पनि दिग्भ्रमित समाजलाई दिशा निर्देश गर्ने र प्राचीन ज्ञानसम्पदा तथा देशको ज्ञान–चेतनामा मडराउने बादललाई आफ्नो वाक्दिप्तिले फटाइदिने, खण्डित सांस्कृतिक चेतनाको उन्नयनमा सक्रिय रहने, रूढिग्रस्त सामाजिक चेतनाको स्तरलाई सजग र गतिशील भविष्यतर्फ उन्मुख गराउनेजस्ता भूमिका खेल्न सक्छ ।
अखबार, पत्रपत्रिकामा गरिने आवश्यक लेखन, संपादन र संयोजन पत्रकारिता हो । पत्रकारिताको काम पनि साहित्यको जस्तै सर्वसाधारण पाठकलाई सुसूचित र सुशिक्षित तुल्याउँदै आम मानिसको दृष्टिकोण र आवश्यकता प्रकटीकरणको माध्यम बन्नु हो । त्यसैले आर्थर मिलर ९ब्चतजगच ःष्ििभच० भन्छन्– एउटा असल अखबार आफैँसँग सम्वाद गरिरहेको राष्ट्र हो (ब् नययम लभधकउबउभच ष्क ब लबतष्यल तबपिष्लन तय ष्तकभाि) । संपादकीय यसको वौद्धिक मूल्यको मापन गर्ने आधार र जनमत निर्माणको स्तम्भ हो । सञ्चारमाध्यममा लेख्य–गद्य शैलीको नमूना संपादकीयले दिन्छ र यसले आम पाठकको तर्कसङ्गत गतिविधि अघि बढाउन मद्दत गर्नुका साथै उनीहरूलाई उपयुक्त र अग्रगामी दिशाको मार्गदर्शन गर्दै विद्यमान समस्याहरूको सकारात्मक समाधान गर्नमा सहयोग पु¥याउँदछ । असल साहित्यले पनि परोक्षमा यिनै काम गर्ने भएकोले साहित्य र पत्रकारितामा झिनो मात्र विभाजन रेखा रहने एकथरी धारणा पनि पाइन्छ । यही कारण पत्रकारितालाई हतारमा लेखिएको साहित्य भन्ने गरिएको छ । यी दुबैले हामीलाई आफ्नै र आफ्नो समाजको असल समझदारी विकास गर्नमा सघाउँछन्, मानवीय चरित्र, प्रकृति र सामाजिक जीवनको कलात्मक अभिव्यक्ति दिन्छन् । यी दुबैमा असल विचार र सौहाद्र्रपूर्ण मानिसको निर्माणमा प्रेरित गर्ने तत्वहरू हुन्छन् । समाजको जीवन–रेखा भएकाले यी दुबैले आत्मसम्मानपूर्ण र गौरवपूर्ण जीवन तर्फ पे्ररित गर्दछन् । मानव चरित्रको सूक्ष्म निरिक्षण गर्ने अन्तरदृष्टि प्रदान गर्नुका साथै पाठकीय रुचि बढाएर सुसंस्कारयुक्त जीवनबोध गराउँछन्। नेपाली गद्यको लेखनको विकासमा पत्रकारको अहम् भूमिका रहेको तथ्यले पनि यसको पुष्टि गर्छ । नेपाली पत्रकारहरूले नेपाली साहित्यको जातीय भूमिका निर्वाह गरेका छन् । कतिपय पुराना र नयाँ नेपाली पत्रकारहरू श्रेष्ठ साहित्यकारका रूपमा समेत परिचित छन् । नेपालका प्रथम पत्रकार मोतीराम भट्टदेखि चिरञ्जीवी शर्मा, बैजनाथ सेढाईँ, प्रेमराज शर्मा, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ह्रृदयचन्द्र सिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, चक्रपाणि चालिसे, माधवप्रसाद घिमिरे, पूर्णप्रसाद ब्राह्मण, वासुदेव लुइँटेल, गोविन्द गोठाले, श्यामप्रसाद शर्मा, श्रृषभदेव शास्त्री, शंकर कोइराला, भैरव अर्याल, बालमुकुन्ददेव पाण्डे जस्ता पुराना पुस्ताका साथै त्यस पछिका र वर्तमान पुस्ताका क्रियाशील कतिपय पत्रकारहरूका नाम यसको दृष्टान्तका रूपमा लिन सकिन्छ । नेपाली पत्रकारिताको माध्यमबाट नेपाली भाषा र लेख्य–गद्य शैलीको विकास गर्नमा साहित्य र पत्रकारिता दुबै क्षेत्रमा योगदान गर्ने यस्ता नामका साथै अरू पनि धेरै लेखक साहित्यकारको योगदान तथा भूमिका रहेको छ । पत्रपत्रिकाले लेखक साहित्यकारको सहयोग लिएर नेपाली गद्य शैलीको परिमार्जन गर्नुका साथै ती लेखक–साहित्यकारलाई पाठकसम्म पु¥याउने दोहोरो भूमिका खेलिरहेका छन् । प्रेमराजको तीखो कलम, बालकृष्ण समको कबाफिलो साहित्य, पूर्णप्रसादको जोशिलो लेख, सिद्धिचरणको क्रान्तिकारी भावना र माधवप्रसाद घिमिरेको पष्किृत विचार र धारा७ले नेपाली पत्रकारिता र यसका माध्यमबाट नेपाली भाषाको गद्य शैलीलाई परिष्कृत, परिमार्जित तुल्याउन मद्दत पुगेको भन्ने रामराज पौडेलको भनाइ यही सन्दर्भमा स्मरणयोग्य छ । नेपालका धेरै प्रसिद्ध लेखक कविहरूले यस पत्र (गोरखापत्र) कोे सेवा गरिसक्नु भएकोे छ औ गोरखापत्रले धेरै वर्षदेखि लेखक कविहरूलाई आफ्नो रचना यथाशक्य प्रकाशित गर्ने ठाउँ पनि दिँदै आएको छ भन्ने कुरा हामी गोपका पुराना फाइलबाट धेरै मौलिक रचना पत्ता लगाइ भन्न सक्तछौं८ भन्ने.टेकबहादुर नवीनको भनाइले पनि यही कुराको पुष्टि गर्दछ ।
गोरखापत्र युग पछि आधुनिक पत्रकारितमा महत्तवपूर्ण स्थान राख्दै आएको त्यसपछिका दैनिक, साप्ताहिकदेखि वर्तमानमा प्रभावकारी भूमिका खेलिरहेका कान्तिपुर, समाचारपत्र, राजधानी, अन्नपूर्ण लगायतका छापामाध्यमहरूले पन यसरी नै नेपाली लेख्य गद्य शैलीको विकासमा उल्लेखनीय योगदान गर्दै आएका छन् । केही समाचारका भाषाले अनेपाली शब्द र वाक्य गठनलाई ध्यान दिएर भाषिक परिष्कारमा केही विकृति भित्र्याए पनि तिनमा कार्यरत पत्रकार मात्र होइनन, सिजर्नात्मक तथा अखबारी स्तम्भलेखनका माध्यमले सहयोग पु¥याईरहेका विभिन्न व्यक्तिहरूबाट समेत नेपाली लेख्य–गद्य भाषाको शैलीगत विविधताको विकास गर्न उल्लेख्य योगदान पुगिरहेको छ । नेपाली भाषाको प्रसारमा छापा बहेकका अन्य प्रसारण माध्यमले पनि उल्लेख्य सहयोग नगरेका होइनन्, तर यो छलफल विषय लेख्य–गद्य भाषा शैलीमा केन्द्रित रहेकोले यहाँ तिनका बारेमा विस्तृत छलफल संभव नहुनु स्वभाविक ठानिएला ।
राजकीय भाषाको रूपमा प्रशासनिक मान्यता र प्रयोगको अधिकार पाइसकेकोे नेपाली भाषाको लेख्य–गद्य शैलीले मुद्रण युगमा प्रवेश गरेपछि आफेनो विकासका लागि दरिलो आधार फेला पा¥यो । प्रधानमन्त्री जङ्गबहादुरले बेलायतबाट फर्कँदा आफूसँगै भित्र्याएका छापाखाना (१९०८) ले पु¥याएको सुविधाका कारण ऐन कानुनका साथै अन्य पुस्तकहरू प्रकाशित भए । विसं १९५० आषाढ शुक्ल पूर्णिमामा स्थापना भएको पशुपति छापाखाना९बाट व्यवसायिक मुद्रणको सुविधा प्राप्त हुन थाल्यो । यसरी मुद्रणका सुविधाका कारण प्रकाशनमा देखिएको गतिसँगै नेपाली लेख्य–गद्यले आफ्नो स्वरूप निर्माण गर्दै गयो ।
गिद्धे प्रेस आगमनको आधा शताब्दी पछि प्रकाशनमा आएको गोरखापत्र (१९५८)सँगै नेपाली लेख्य–गद्य शैलीको विविधतापूर्ण विकासका साथै भाषिक परिमार्जनलेको प्रयास र प्रक्रियाले अरू तीव्र गति लियो । यसपछि नै नेपाली भाषाले आफ्नो मानकताको खोजी ग¥यो, लेख्य–गद्य भाषाले विस्तारै शैलीगत विविधतामा प्रयोगगत क्षेत्रको व्यापकता पायो । यसरी प्राम्भिक दीर्घसूत्री प्रयोगको यात्रा क्रमलाई्र नेपाली छापा माध्यमको प्रकाशन अर्थात सञ्चार माध्यमको सहयोगले विकसित परिमार्जित तुल्याँदै निश्चित स्वरूप ग्रहण गर्न महत्वपूर्ण सहयोग ग¥यो । यो भनाइलाई अतिशयोक्ति नठानिएला । जयपृथ्वी बहादुर सिंहको सल्लाह र सहयोगमा देव शमशमशेरले लिएका शिक्षा प्रसार नीति अन्तर्गतको पाठशाला विस्तार तथा पाठ्पुस्तक तयार गर्ने अभियान, हलन्त वहिष्कार आन्दोलन (१९६५), गोरखा भाषा प्रकाशिनी समिति (१९७०) र भाषानुवाद परिषद्जस्ता संस्थागत प्रयत्नहरूले नेपाली लेख्य भाषाको यो यात्रालाई क्रमशः मानक रूप दिँदै अघि बढाए । देशभित्र र बाहिर समेत पुस्तक पत्रपत्रिका प्रकाशनकको क्रम चल्यो । नेपाली भाषाले शिक्षाको माध्यम हुने अवसर पायो । यसैबीच “चन्द्रिका (१९६९)” व्याकरण अस्तित्वमा आयो । नेपाली भाषालाई पट्ना विश्वविद्यालयमा मान्यता दिलाउन चालिएको नेपाली भाषमा ग्रन्थ निर्माणको अभियान नै चल्यो । यी सबै कुराले नेपाली गद्यलाई सुस्थिर रूप दिएर व्यवस्थित, परिमार्जित र समृद्ध बनाउन ठोस सहयोग पु¥याए ।
गोरखापत्र र अन्य छापा माध्यमको योगदान
नेपाली साहित्यको माध्यमिक कालमा प्रकाशन प्रारम्भ भएको गोरखापत्र विभिन्न विधाको साहित्यिक प्रयोगभूमि बनेर यिनलाई अघि बढाउन प्रयत्नशील रह्यो१० । कृष्णचन्द्रसिंह प्रधानको यो भनाइले नेपाली साहित्य र गद्य शैलीको विकासमा गोरखापत्रको योगदान अरु छर्लङ्ग हुन्छ । यसरी भाषिक अनुशासनको जग खडा भएर नेपाली गद्य सुस्थिर, व्यवस्थित र समृद्ध बनाउन तत्कालीन सञ्चार माध्यम विशेषगरी एकमात्र छापा माध्यम गोरखापत्रको महत्वपूर्ण योगदान रह्यो । “जुन देशमा अखबार बढ्दै गएको छ ती ती देशमा रोज बेरोज उन्नति बढ्दै गएको देखिन्छ । हुन पनि यस संसारमा सबैभन्दा मुख्य कुरा खबरै सब्द छ, पन्छीमा पनि खबरले आपसमा व्यवहार चलाएका छन्” भन्दै आफ्नो पहिलो अङ्कमा अखबारको महत्व र आप्mनो उपस्थितिको औचित्य सिद्ध गर्ने गोरखापत्र सुरुदेखि नै नेपाली भाषा–शैलीप्रति सचेत र सतर्क थियो । गोरखापत्रको भाषा तत्कालीन भाषाबाट प्रभावित११ भए पनि नेपाली भाषामा परिष्कार र एकरूपताको पक्षमा यसले आफ्नो जन्मकालदेखि नै जनमतको निर्माण गर्दै । “विद्वान्हरू आफ्नो भाषाको उन्नति गर्न लागुन्, अर्काको मुख न ताकुन्” भन्ने गोरखापत्रले आफ्नो प्रारम्भिक अवस्थामैं पटक पटक सम्पादकीय लेखेर नेपाली भाषाको महत्वतर्फ विद्वानहरूको ध्यानाकर्षण गरायो १२ ।
गोरखापत्रका ती धारणा र सामग्रीहरूले नेपाली भाषाप्रति चासो राख्ने त्यतिबेलाका बुद्धिजीवीहरूको चेतनालाई झक्झक्याउनुका साथै यसप्रति आम पाठकमा सचेतता वृद्धि गर्ने काममा पनि राम्रै मद्दत पु¥यायो । ती गद्यांशहरूले तत्कालीन नेपाली गद्य शैलीको राम्रँो नमूना समेत प्रस्तुत गरेका छन् । त्यति बेलासम्म सायद कथ्य र लेख्य भाषामा खासै भिन्नता देखा परिसकेको थिएन । संभवतः मुद्रण प्रविधि र मुद्राक्षरहरूको राम्रो विकास नभइसकेको अवस्थाका कारण चन्द्रविन्दु आदिको प्रयोगमा कठिनाइ थियो । हिज्जे र वर्णविन्यासको प्रयोगमा पनि एकरूपता आइसकेको थिएन । त्यो अवस्थामा पनि नेपाली भाषा शैलीको परिष्कार परिमार्जनमा गोरखापत्र अर्थात् तत्कालीन एकमात्र सञ्चार माध्यमको त्यो सचेततालाई सह्राहनीय मान्नु पर्छ । त्यसैले हलन्त वहिष्कारको पृष्ठभूमि र नेपाली भाषामा सुधारको उद्देश्य सहित चन्द्रिका व्याकरण (१९६९) निस्किनु अघि नै गोरखापत्रले “मातृभाषाको उन्नति” शीर्षक संपादकीय लेखेर यस दिशामा विद्वान्हरूको ध्यान आकर्षित गरेको थियो । संपादक प्रेमराज शर्माले शुद्ध नेपालीको सबाइ लेखेर नेपाली लेख्य भाषा शैलीको विकास तथा एकरूपताका पक्षमा आवाज उठाए१३। लागि यसरी गोरखापत्रले नेपाली पत्रकारिताको मात्र नभएर नेपाली भाषाको परिष्कारमा समेत बिर्सिनसक्नु गुन लगाएको छ ।
माथि भनिएजस्तै यो अभियानलाई अघि बढाउन गोरखापत्रले सक्रिय सहयोग दिँदै संपादकीय मार्फत अरुलाई मातृभाषाको उन्नतिका लागि लागीपर्न समेत जोरदार आग्रह ग¥यो । यसले आफ्नो प्रारम्भिक कालमैं लेखन शैलीको विकासका लागि मार्गदर्शन र मापदण्ड तयार गरेर लेख लेख्ता ध्यान दिनयोग्य कुराहरू१४ मात्र सिकाएन, वाक्यविन्यास र शैलीतर्फ पनि विशेष ध्यान दिँदै गयो१५ । यसकै फलस्वरूप गोरखापत्रले सुरुमा प्रयोग गर्दै आएको पूर्णविरामको ठाडो धर्कोका ठाउँमा विन्दुको प्रयोग गर्न थाल्यो । विभक्तिका चिन्हहरू छुट्टै लेख्ने आफ्नो पूर्वअभ्यासमा परिवर्तन ल्यायो । पछि गोरखा भाषा प्रकाशिनी समितिबाट नेपाली भाषा कसरी लेख्ने भन्ने विषयमा नियमको सवाइ तयार भएपछि यसले विभक्तिका चिन्हहरू जोडेर लेख्न थालेको पाइन्छ ।
गोरखापत्रले नेपाली गद्य भाषाको शैली र व्याकरणगत विषयका साथै समग्र नेपाली भाषा–साहित्यको उन्नयनमा सघाउन आफ्नो संपादकीय मार्फत बारम्बार आह्वान ग¥यो । “भाषा हो जीवनी हाम्रो सारा वैभव उन्नति”१६ भन्ने नारा दिँदै विदेशी भाषा मोहलाई निरुत्साहित गर्ने तथा नेपाली भाषा शैलीको परिमार्जन–सुधार गर्ने सार्थक अभियान नै चलायो । गोरखापत्रले नेपाली गद्य भाषामा सुरुदेखि नै सरल शैलीमा जोड दिँदै आयो, जुन सञ्चारमा प्रययोग गरिने गद्य शैलीको विशेषता पनि हो । माथि कै संपादकीयमा यसले स्पष्ट भनेको छ– “गोपमा छापिन आउने लेखमा खबरको भाषाको हकमा पनि अलङ्कार नभएको, ज्यादै सरल, बोलीचालीमा पदहरू नै छ्यासछ्यास्ती भएको र छोटाछोटा वाक्यहरूको प्रयोग भएको हुनुपर्छ । वर्णमालाको मात्र ज्ञान भएको नेपालीले पनि गो.प. चाख मानी पढ्न सकोस् । भाषाको हकमा चाहिँ गो.प. अझ यत्तिको सरल हुन खोज्छ ।”१७
नेपालकै पहिलो छापा गोरखापत्रका साथै नेपाली भाषाका अरू पत्रपत्रिकाले नेपाली उपन्यास, कथा, निबन्ध आदिका माध्यमबाट भर्खरै हुर्कँदै गरेको नेपाली साहित्य र भाषा शैलीको विकासमा प्रयोगको भूमि प्रदान गरे । यिनले समाचार, सूचना र विभिन्न अखबारी स्तम्भका साथै विभिन्न साहित्यिक विधाका माध्यमद्वारा नेपाली भाषामा गद्य शैलीको विकास, परिमार्जन र नयाँ नयाँ प्रयोग समेत गर्दै गए । यसरी साहित्यिक तथा अन्य विविध गद्य शैलीको विकासक्रममा अखबार पत्रपत्रिकाहरूको सर्वाधिक महत्वपूर्ण योगदान रहेको स्पष्ट हुन्छ । छापा माध्यममा प्रयुक्त भाषाले विशेष गरी निबन्धात्मक साहित्यिक अभिव्यक्तिका माध्यमबाट संस्मरण दैनिकी, रिपोर्ताज, प्रतिवेदन, अन्तर्वार्ता र पत्रात्मक आदि विविध गद्य शैलीको विकासमा सहयोग पु¥याए । पत्रकारिताका प्रमुख भाषा–शैलीमध्येका वर्णनात्मक, चित्रात्मक र रिपोर्ताज शैलीको पं्रभाव गद्य साहित्यमा समेत परेको छ, सिर्जनात्मक लेखनले पनि यिनलाई समेटेको छ ।
यही क्रममा गोरखापत्रले नेपाली गद्य शैलीमा प्राचीन प्रवृत्तिहरू तोडेर नयाँ परम्परा र शैलीको शुरुवात गरेको थियो भन्दा अतिशयोक्ति नहोला । प्रजातन्त्रको प्रादुर्भाव भएपछि नेपाल रेडियो अस्तित्वमा नआउञ्जेलसम्म नै साहित्यिक पत्रिका बाहेक नेपाली आमसञ्चारको माध्यमका रूपमा गोरखापत्र बाहेक अरुको खासै उपस्थिति थिएन । यसकारण पनिे नेपाली गद्य शैलीको विकासमा सञ्चार माध्यमले पु¥याएको योगदानको चर्चा गर्दा गोरखापत्रकै वृत्तमा यसको अध्ययन हुनु अपरिहार्य छ । संवत् १९५८ वैशाख २४ गते पहिलोपल्ट साप्ताहिक रुपमा प्रकाशनमा आएको चारपन्ने गोरखापत्रले कहिले हप्ताको एक दिन, कहिले दुई दिन र कहिले तीन दिन, कहिले सानो र कहिले ठूलो आकार हुँदै पूरै आधा शताब्दीसम्म आफूलाई नेपाली खबर पत्रिकाको पर्याय बनायो । पछि अरु साहित्यिक पत्रिकाहरू देखिनुका साथै साहित्यिक पत्रिका शारदाले महत्वपूर्ण स्थान लिएता पनि आम सञ्चार क्षेत्रमा २००७ सालको उत्तरार्धसम्म नै गोरखापत्र बाहेक आम सञ्चारका अरु छापा तथा प्रसारण माध्यम देखिएनन् । प्रजातन्त्र प्राप्तिको केही वर्ष अघि म्युनिसिपल पत्रिका (२००४) निस्किए पनि त्यो अखबार थिएन । रेडियो नेपालको प्रसारणसँगै मानक नेपाली भाषा शैलीको प्रभाव आम नेपाली श्रोतासम्म पुग्न थाल्यो । ह्रृदयचन्द्र सिंह प्रधानको संपादनमा साप्ताहिक जागरण (२००७ फागुन ४) र सिद्धिचरण श्रेष्ठको संपादनमा दैनिक आवाज ( २००७ फागुन ४) प्रकाशित भए पछि मात्र गोरखापत्र बाहेकका अरू छापा अस्तित्वमा आए । नेपाल रेडियोले प्रसारण माध्यमको जग बसाल्यो । जागरण र दैनिक आवाज पनि दीर्घायु बन्न सकेनन् । मूर्धन्य साहित्यकारद्वयको सम्पादनमा प्रकाशित ती छापाले समाचार र विचार दुबैका माध्यमले नेपाली लेख्य¥भाषा र गद्य शैलीलाई परिमार्जित तथा आकर्षक तुल्याएर नेपाली भाषा शैलीको विकास तथा र्शैलीगत विविधताको निर्माणमा सहयोग पु¥याए । त्यसपछि समाज (२०११), हालखबर (२०१३), नयाँ समाज (२०१४), समीक्षा (२०१७), नयाँसन्देश (२०१८), मातृभूमि(२०१९) आदि छापाहरू प्रकाशनमा आए । अघिल्ला चरणका छापाको भन्दा यिनका आयु लामो रह्यो । यिनले नेपाली भाषा र गद्यशैलीको विकासमा विविधता ल्याउँँदै प्रयोगका केही अभ्यासलाई पनि अघि बढाए । दैनिक समाजले गद्य पठन अभिरूचिको विकासमा सहयोग पु¥यायो भने हालखबरले गोरखापत्रले जुँगेदाइको चिट्ठीले सुरु गरेको सूक्ष्म व्यङ्ग्यप्रधान गद्यशैलीलाई निकै अघि बढायो । यसका संपादक दाताराम शर्मा र सहयोगी श्यामप्रसाद शर्मा, भैरव अर्याल लगायत त्यतिबेलाका गद्यशिल्पीहरूको माझिएको कलमले नेपाली गद्य शैलीको प्रयोग र सुगठित स्परूप निर्माणमा महत्वपूर्ण भूमिका खोलेको देखिन्छ । लगभग सात वर्ष मात्र निस्किए पनि यसको योगदान महत्वपूर्ण रह्यो । जनमत सङ्ग्रहको घोषणापश्चात राष्ट्रपुकार, जनजागृति, साप्ताहिक मञ्च, विमर्श, देशान्तर, दृष्टि, प्रकाश, छलफल, पुनर्जागरण, नेपाल पोष्टजस्ता छापाहरू प्रकाशनमा आए । तिनले नेपाली मिसन पत्रकारिताका साथै भाषा र गद्य शैलीको विकासमा धेरथोर सहयोग पु¥याउँदै गए । यसरी २००७, २०१७ र २०३६का दशकहरूमा विभिन्न दैनिक, साप्ताहिक अखबारहरू प्रकाशित हुँदै गएता पनि तिनमा समेत अधिकांशले स्थायित्व पाउन सकेनन् । संस्थागत स्वरूप लिन नसकेका ती प्रकाशनहरू प्रसार, पहुँच र प्रभावका दृष्टिले समेत त्यति सशक्त थिएनन् । यस हिसाबले जनआन्दोलन पश्चात ठूलो आकारको दैनिक प्रकाशन कान्तिपुरको प्रकाशन नहुञ्जेलसम्म नै नेपाली पत्रकारिताकोजस्तै भाषा साहित्यको विकासमा पनि गोरखापत्रको भूमिका र प्रभाव पूर्ववत नै कायम रह्यो । गोरखापत्र बाहेकका ती अरु अखबारहरूले पनि आफ्नो सीमा र क्षमताले भ्याएसम्म पत्रकारिताका साथै नेपाली भाषा र विशेषतः गद्य शैलीको विकास–परिमार्जनमा यथाशक्य सहयोग नगरेका होइनन् । तर केहीलाई छाडेर एउटै सम्पादकले सबै काम गर्नु पर्ने र दक्ष जनशक्तिको अभाव रहने त्यस्ता अधिकांश प्रकाशनमा शुद्धता, समाचार विचारको प्रस्तुतीमा विविधता तथा एकरूपताको अभाव नै रह्यो । तर पनि जनआन्दोलन पूर्वको नेपाली पत्रिकारिता र भाषा तथा लेख्य–गद्य शैलीको विकासमा मासिक तथा दैनिक पकिाहरूले जस्तै साप्ताहिक पत्रिकाहरूले समेत आफ्नो क्षमता अनुसार योगदान दिएका छन् । तसर्थ नेपाली साहित्यको मात्रै नभएर नेपाली भाषामा गध्य शैलीको विकासमा सञ्चार माध्यमको भूमिकासम्बन्धी अध्ययन गर्दा समेत सुरुदेखि पछिसम्म नै गोरखापत्रको भाषा र सामग्रीलाई मुख्य आधार सामग्री मानेर अघि बढ्नु पर्ने वाध्यता रहन्छ ।
नेपाली अखबारको पर्याय बनेको गोरखापत्रले सुुरुदेखि नै एडिटर्को राय, देशान्तर समाचारजस्ता विभिन्न स्तम्भ अन्तर्गत गद्य विधाका जीवनी, लेख, निबन्ध, कथा, उपन्यास, स्वास्थ्य, भाषा–साहित्य लगायतका विविध विषयमा गद्य सामग्रीहरू प्रकाशित गर्दै आयो । सुरुमा पौराणिक गद्याख्यानको भाषा शैलीबाट प्रभावित देखिने गोरखापत्रले विस्तारै आफ्नो गद्य शैलीलाई पत्रकारितामा प्रचलित शैली अर्थात् सरलता, स्पष्टता, सङ्क्षिप्तताको प्रवृत्तितर्फ स्थापित गर्दै गयो । छापा वा अन्य सञ्चार माध्यमको गद्य शैलीले समाचार तथा लेखरचनालाई यथासंभव सङ्क्षिप्त रूप दिएर सारगर्भित तथा सुरूचिपूर्ण बनाउने तर्फ विशेष ध्यान दिने गर्दछन् । यो गद्य शैलीमा प्राय कहिले, कहाँ, के, को, किन, कसरीजस्ता मूलभूत प्रश्नके उत्तर सन्निहित हुने गर्दछ । शैलीगत प्रस्तुती कौतुहलको सिर्जना गर्ने भएर पनि यो द्वैधर्थक, गूढात्मक, र अनेकार्थक खालको अभिव्यक्तिबाट मुक्त रहन्छ । अर्थात पत्रकारिताको गद्य शैली प्राय स्पष्ट, निर्दिष्ट तथा असंदिग्ध हुन्छ । वर्णनात्मक भएर पनि यो सरल तथा आकर्षक हुन्छ । गोरखापत्र लगायत नेपाली सबै छापा माध्यमले यो शैलीगत विशेषताको विकासमा सहयोग पु¥याइरहेका छन् । गोरखापत्रले यसखाले गद्य शैलीलाई लगभग सुरुतिरै स्थापित गर्ने प्रयास थालेको अनुभव हुन्छ । प्रारम्भमा यसले अपनाएको गद्य शैलीमा सुरु मैं कथाबस्तु वा आख्यानको तेरिज प्रस्तुती, वर्णनात्मकता, मूल कथाभित्र उपकथाको उपस्थिति र वार्ता वा सवादको आधिक्यजस्ता माध्यमिक कालीन नेपाली गद्याख्यानका प्रवृत्तिहरू स्पष्ट देखिन्छन् । पौराणिक आख्यानहरूको अनुवाद र तिनैबाट प्रेरित आख्यान लेखनको प्रारम्भिक अभ्यासले गर्दा गोरखापत्रको प्रारम्भिक भाषिक प्रस्तुती तिनै पौराणिक शैलीबाट प्रभावित हुनु स्वाभाविक थियो । यसरी सुरुमा तिनै पौराणिक परम्पराबाट प्रभावित भए पनि नेपाली गद्य शैलीको विकास र प्रायोगिक विविधतालाई अघि बढाउँदै गोखापत्रले नेपाली गद्य भाषाको प्राचिन प्रवृत्तिहरूलाई क्रमशः तोड्दै गयो, नयाँ परम्परा र शैलीको प्रारम्भ गर्दै गयो । गोरखापत्रका साथै यसभन्दा अघिका गोर्खा भारत जीवन र गोर्खे खबर कागत् आदि र तीभन्दा पछिका उपन्यास तरङ्गिणी, सुन्दरी, गोर्खे खबर पत्रिका, सुन्दरी, माधवी, गोर्खा खबर, चन्द्र, गोर्खाली, चन्द्रिका, जन्मभूमि, गोर्खा संसार, तरुण गोर्खा, नेपाली साहित्य सम्मेलन पत्रिका आदि विविध प्रकाशनले नेपाली गद्य शैलीको माध्यमिक स्वरूप निर्धारण र विकासमा सहयोग पु¥याए । शारदा (१९९१) ले यो माध्यमिककालीन स्वरूपलाई आधुनिकता तर्फ डोहो¥यायो । यसरी नेपाली साहित्य, विशेष गरी कथा, उपन्यास, निबन्ध–जीवनी विधालाई प्राचिन प्रवृत्तिबाट मुक्त गराएर माध्यमिक प्रवृत्ति तर्फ उन्मुख गराउनुका साथै नेपाली गद्य शैलीलाई अभिलेखकालीन गद्य शैलीबाट माध्यमिक, उत्तर माध्यमिक हुँदै आधुनिक युगतर्फ उन्मुख गराउने काममा समेत यी सञ्चारमाध्यहरूको धेरथोर योगदान रहेको छ । यिनमा निरन्तर प्रकानमा रहेको गोरखापत्रको योगदान सबैभन्दा बढी रहनुृ स्वभाविक पनि हो । दाताराम शर्माको एउटा संस्मरणले कसरी जनमानसमा गोरखापत्र नेपाली भाषाको मानक आधार बनेको थियो भन्ने घतलाग्दो उदाहरण प्रस्तुत गर्दछ । उहाँ भन्नुहुन्छ– एकपल्ट लोक सेवा आयोगको अधिकृत तहको परीक्षामा बस्न खोज्ने दुई युवक मसँग नेपाली भाषा पढ्न आए । उनीहरूले लेखेको मैले सच्याउँदा मलाई “गोरखापत्र” अनुसार लोखेका हौं भन्ने जवाफ दिए । म असजिलोमा परें । मलाई पत्याएर आएका ती युवकहरूलाई गोरखापत्रमा पनि कहिलेकहीं गल्ती हुनजान्छ, गल्ती हुन जाने कारण यी यी हुन् भनेर बुझाउन निकै गाह्रो प¥यो । नेपाली भाषाको लिखित रूप सिकाउन गोरखापत्र ककसको गुरु बन्न पुगेको हुन्छ अन्दाज गर्न सकिँदैन १८ ।
जानआन्दोलनद्वारा स्थापित बहुदलीय प्रजातान्त्रिक कालखण्ड नेपाली सञ्चार माध्यमको विकासका लागि स्वर्णयुग सिद्ध भयो । यही कालखण्डमा निजी क्षेत्रमा एक पछि अर्का ठूला आकारका संस्थागत प्रकाशन देखा पर्दै गए । आकार, पहुँच, प्रभाव र प्रसार आदि सबै दृष्टिमा सरकारी सञ्चार माध्यमको एकाधिकारको अवस्था कान्तिपुर प्रकाशनका दैनिक तथा साप्ताहिक छापामाध्यमहरूबाट तोडियो । सञ्चारमा बहुविचारको संपे्रषणका साथै ती समाचार–विचार विचार प्रक्षेपणको माध्यम भाषा–शैलीमा पनि विविधता देखा पर्नु स्वभाविक थियो । कान्तिपुर पछि अन्य दैनिकका साथै अन्य साप्ताहिक–पाक्षिक खबर पत्रिका र टेलिभिजन, एफएम रेडियो आदि विद्युतीय प्रसारण माध्यमहरू सञ्चालन हुँदै गए । यी सबै कुराले नेपाली भाषा र यसको गद्य स्वरूपले पहुँच र प्रभावको व्यापकता पाउनु स्वभाविक थियो र यसबबाट नेपाली गद्य शैलीको विविधतापूर्ण प्रयोग र विकासमा अभूतपूर्व सहयोग पुग्यो । तर पनि प्रसारण माध्यम मूलतः पाठ्य भाषा नभएर श्रव्यभाषा भएको हुँदा यिनमा कथ्यभाषाको बढी प्रभाव रहने हुँदा मानक गद्य शैलीको विकासमा यसले चाहेर पनि छापा माध्यमलेजस्तो सहयोग पु¥याउन नसक्नु स्वाभाविक हो ।
यसरी प्रसार, अधिराज्यव्यापी पहुँच तथा प्रकाशनको निरन्तरता र बहुसङ्ख्यक लेखक–साहित्यकारको सहभागिता आदिका दृष्टिले एक सय वर्षको पत्रकारिता इतिहासमा लगभग २०४६ सम्म नै केन्द्रविन्दुमा रहेके गोरखापत्रको एकाधिकार समप्त भयो । अब नेपाली छापामाध्यम र पत्रकारिताले व्यवसायिक तथा संस्थागत स्वरूप लिन थाले । कान्तिपुरको प्रकाशनबाट सुरू भएको यो यात्राले यसकै सहप्रकाशन साप्ताहिक, सर्वोत्तमका साथै हिमालय टाइम्स, आजको समाचारपत्र, लोकपत्र, श्री सगरमाथा, स्पेश टाइम, हिमाल खबर पत्रिका, अन्नपूर्ण पोष्ट, समय आदि प्रभावशाली दैनिक–साप्ताहि आदिका रूमा निरन्तरता पाइरहेको छ । यीमध्ये श्री सगरमाथा, लोकपत्र, स्पेश टाइम आदि लामो समयसम्म चल्न सकेनन् । हालसम्म नेपाल अधिराज्यबाट प्रकाशनका लागि इजाजत पाएका पत्रपत्रिकाको सङ्ख्या २४ सयभन्दा बढी पुगेका छन् । दर्ता भएका पत्रिकाहरूमध्ये ९४ प्रतिशत जति नेपाली भाषामा प्रकाशित हुन्छन् । हिजो सीमित पत्रकार तथा श्रष्टाको साधनामा सीमित नेपाली गद्य शिल्प धेरै भन्दा धेरै शिल्पीहरूबाट प्रयोगमा आउँदा यसमा शैलीगत विविधता आउनु सभाविक हो । यसबाट पनि सिद्ध हुन्छ आमसञ्चार माध्यम, विशेषतः छापामाध्यमको विकाससँगै नेपाली लेख्य–शैलीले प्रयोग र विकासको ठूलो फड्को मार्न सफता पाएको छ ।
यसरी नेपाली अखबारमा “एडिटर्काे राय” नामक संपादकीयको माध्यमबाट बस्न थालेको गद्य संरचना सञ्चार माध्यमको सहयोगमा विकसित हँुदै नेपाली गद्य शैलीको रूपात्मक विविधतामा झाङ्गिँएर, विकसित तथा परिष्कृत हुँदै गएको स्पष्ट हुन्छ । यो विकास यात्रामा नेपाली सञ्चारमाध्यमका रूपमा सात सालअघिको पचास वर्ष एकच्छत्र आधिपत्य जमाएको गोरखापत्रको नेतृत्वदायी प्रभाव सबैभन्दा महत्वपूर्ण रहनु स्वभाविक हो । डा.दयाराम श्रेष्ठ संभवको “....नेपाली भाषा, प्रचारकहरू र साहित्यिकहरूको निमित्त झण्डै आधा शताब्दीसम्म केवल गोरखापत्र नै एक मात्र गतिलो माध्यम रह्यो । गोरखापत्रको इतिहास नेपाली भाषाको क्रमिक इतिहास पनि हो ।”१९ भन्ने भनाइले पनि यसको पुष्टी गर्छ ।
सञ्चारमाध्य र भाषिक विचलन
भाषिक शुद्धता वा मौलिकताको पक्षमा आधारित भइ चालिएको भाषा आन्दोलन झर्रोेवाद (२०१३)ले नेपाली गद्य शैलीको विकास र निख्खरोपनको निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । नेपाली भाषा र मूलतः गद्य शैलीलाई निख्खरो तथा आफ्नै मौलिलकतामा विकसित गर्न यो आन्दोलनको ऐतिहासिक योगदान रह्यो । यसको प्रभाव नेपाली पत्रकारिताको भाषाशैलीमा पनि पर्नु स्वाभाविक थियो । यसबाट संस्कृतका तत्सम र हिन्दीका शब्द तथा वाक्य गठनले ग्रस्त हुनथालेको नेपाली भाषा र यसको गद्य शैलीलाई विशुद्ध नेपाली गद्य शैलीको रूपमा अघि बढाउन महत्वपूर्ण सहयोग मिल्यो । यसरी यसको प्रभाव स्वाभभाविक रूपमैं नेपाली सञ्चार माध्यमको भाषा शैलीमा पनि सकारात्मक रूपमा पर्दै गयो । यो अभियानले नेपाली गद्य शैलीको मौलिक रूपमा परिमार्जन गर्न ज्यादै ठूलो योगदान पु¥याएको कुरा बिर्सन सकिँदैन । यति भएर पनि यता आएर नेपाली भाषा, यसको वाक्य संरचना, शब्दचयन र समग्रमा नेपाली गद्य शैलीमा नै केही विचलन आउन थालेको चर्चा सुनिन थालेको छ । यसमा सबैभन्दा बढी जिम्मेवार पत्रकार र सञ्चारकर्मीलाई ठानिने गरेको छ । सञ्चार माध्यममा प्रयुक्त समकालीन भाषा शैलीमा सकारात्मक पक्ष र प्रवृत्ति प्रशस्त रहे पनि आमसञ्चारका भाषामा देखिने केही विचलनले सायद यो आरोपलाई एकदमै गलत ठान्न दिँदैन । निश्चय नै समकालीन सञ्चार भाषाका कारिगर आजका पत्रकारले भाषा विषयक आफ्नो दायित्वप्रतिको पूर्व सजगता र सचेतता बिर्सन थालेका हुन कि भन्ने लाग्नु स्वभाविक हो ।
पत्रकारिताको जग खडा गर्ने पुराना पुस्ताका पत्रकारहरूको भाषा—स्वाभिमान अत्यन्त प्रखर रहनुका साथै उनीहरूमा भाषा उन्नतिको प्रतिबद्धता दृढ रहेको प्रमाण नेपाली पत्रकारिताका पुराना पन्नाहरूले दिइरहेका छन् । उनीहरूमा नेपाली भाषाको शुद्धता तथा उत्थानको प्रश्न नेपाली भाषी समाजको उत्थानको प्रश्न हो भन्ने प्रष्ट दृष्टिकोण थियो । उनीहरूले ज्वलन्त जातीय प्रश्न र सांस्कृतिक चुनौतीका रूपमा भाषाको प्रश्नलाई अपेक्षित महत्व दिएका थिए । भाषा स्खलन र चारित्रिक शैथिल्य सांस्कृतिक सुस्तीको परिचायक हुन्छ भन्ने उनीहरूको विवेकको आग्रह थियो । आजको पुस्तामा त्यही स्तरको भाषा सचेतता भेटिँदैन । सरकारी सञ्चारमाध्यमहरूमा समेत नेपाली भाषालाई विशुद्ध रूपमा प्रयोग गर्नुको साटो उल्टै नेपाली शब्द बिगारेर प्रयोग गर्ने प्रवृत्ति बढ्दै छ । विदेशी शब्दहरूको अनावश्यक प्रयोप्रतिको मोह र अनुचित शब्दको बारंबार प्रयोग गर्ने प्रवृत्ति अनियन्त्रित हुँदैछ । यी सबै कारणले नेपाली भाषा र गद्य शैलीले आफ्नो मैैलिक पहिचनन र निख्खरोपन गुमाउने आशङ्का प्रकट गरिँदै छ । नेपाली भाषा सुधार सुझाव प्रतिवेदन २०५५को प्रतिवेदन समेतले यस विषयमा चिन्ता प्रकट गरेको स्मरणीय छ । यसबाट सञ्चार माध्यमले विगतमा नेपाली भाषा र गद्य शैलीको विकासमा जति सहयोग गरे, अहिले त्यति नै यसमा भाषिक विचलन र विकृति बढाउन मद्दत पु¥याइरहेका छन् भन्ने आरोप लाग्न थालेको देखिन्छ । यो आरोप संपूर्णमा सत्य नभए पनि निराधार र पूर्ण असत्य पनि मान्न सकिन्न । यो विकृतिको नकारात्मक पक्ष र प्रवृत्तिबाट रेडियो टेलिभिजन र एफएमजस्ता विद्युतीय माध्यमहरू बढी मात्रामा दोषभागी देखिए पनि छापाामाध्यम पनि पूर्ण दोषमुक्त छैनन । चलचित्र क्षेत्रमा त यो भाषिक विकृति र विचलन सबैभन्दा बढी देखिन्छ । यिनका भाषाले एक किसिमको भाषिक अराजकता नै मच्चाएका छन् भन्ने आरोपलाई अतिशयोक्ति मान्न नसकिने अवस्था सिर्जना भइरहेको छ । बहुराष्ट्रिय निगमका विज्ञापनहरूको भाषि रूपान्तरणले नेपाली भाषाको हुर्मत नै लिएको अनुभव हुन्छ । अहिले आमसञ्चार र पत्रकारिताको क्षेत्रमा प्रविधिलाई जति ध्यान दिइन्छ, त्यति ध्यान भाषातर्फ दिने गरेको पाइँदैन । सञ्चारमाध्यमले यसरी एकातिर नेपाली गद्य शैलीमा सरलताको सकारात्मक विकास गरेको छ भने अर्कातिर गद्य शैलीको प्रमुख आधार भाषामा विचलन ल्याएर विशिष्ठ नेपाली शैलीलाई नराम्ररी प्रभावित पनि ंतुल्याइरहेको छ ।
भारतका एकजना प्रसिद्ध पुराना पत्रकार आचार्य शिवपूजन सहायले सन् १९४६मैं परिमलको संपादकीय टिप्पणीमा उठाएका प्रश्न आज हामी कहाँ उठ्न थालेको अनुभव हुन्छ । भाषिक अराजकताको विषयमा चर्चा गर्दै उनले भनेका थिए– दोषी वास्तवमा हामी पत्रकार हौं, जो आफ्ना पत्रिकाका माध्यमद्वारा भाषाको पवित्र क्षेत्रमा भ्रष्टता फैलाउँदै छौं२० । आजको हाम्रो सन्दर्भमा यो भनाइ पूर्ण सत्य नभए पनि सान्दिर्भिक भने देखिन्छ । हाम्रो सन्दर्भमा भाषिक अराजकता–उदासीनताका कारण पत्रकार मात्र होइनन् । पत्रकारले पाउने शिक्षाको स्तरदेखि मानक भाषाको स्वरूप निर्धारण र स्तरीकरण, एकरूपता र भाषिक चेतनावृद्धिका ठोस प्रयासहरूको अभाव पनि उत्तिकै जिम्मेवार छन् । तर विगतमा नेपाली भाषाको मानक र शैलीगत प्रयोगको प्रमुख आधार बनेको पत्रकारिताको भाषा अनाचार अधोगतिको मार्गमा अग्रसर हुनुमा धेरै मुख्यम कारणहरूमध्ये हामी पत्रकार पनि एउटा कारण हौं । पत्रकारिता शिद्ध गद्यशिल्पीहरूको हातबाट निक्लेर पेशेवरहरूको हातमा पुग्नु र अधिकांश पत्रकार यो पेशाको गुरुत्तर दायित्व तथा योे विधाको महत्वसँग परिचित नरहनुबाट यो आरोप स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । राजनीतिक मुहाबरा र लोकप्रिय राजनेताहरूको वाक्यविन्यास तथा शब्दप्रयोगलाई नै आदर्श मानेर तिनकै राग अलाप्दै तिनैका बोलीलाई आँखा चिम्लेर आम पाठकसम्म जस्ताको त्यस्तै प्रक्षेपण गर्ने होड यही पेशेवर मानसिकता र पेशागत गुरूत्तर दायित्वप्रतिको उदासीनताका कारण बढिरहेको अनुभव हुन्छ । हामी आजका पत्रकारमा यो दौडमा अनियन्त्रित गतिमा सहभागी कनिरहेका छौं । यो होडले नेपाली भाषा र गद्य शैलीको मौलिकता र नेपालीपनमा प्रतिकूल प्रभाव परिरहेको कुरा स्वीकार्नु पर्छ । यो काममा समाचारदाता, समाचार सम्पादक, लेखरचना सम्पादक, लेखक, स्तम्भकार सबै नै सहभागी रहेका छौं । फलत राजनीतिक भाषणमा प्रयुक्त पिँढी, भूमिका निभाउनु, मध्यनजर, हालाँ कि जस्ता शब्द र हिन्दी–अङ्ग्रेजी शैलीका वाक्य संरचनाहरूले नेपाली गद्य शैलीको निख्खरोपनमाथि नराम्ररी हस्तक्षेप गरिरहेका छन् । यो अभ्यास र प्रवृत्तिबाट सञ्चारको भाषा र गद्य शैलीले आफूलाई मुक्त गराउनु अत्यन्त आवश्यक देखिन्छ ।
पादटिप्प्णी÷सन्दर्भ
१.नेपाली बृहत् शब्दकोश (२०४०), नेराप्रप्र
२.नेपाली साहित्यकोश (२०५५), नेराप्रप्र
३. ऐ...ऐ...
४.सर्ट हिस्ट्री अफ इङ्लिस लिटरेचर
५.नेपाली साहित्य कोश ऐ..ऐ..
६. लक्ष्मीकान्त पन्थी, नेपाली साहित्यको विकासमा गोरखापत्रको योगदान –वि.सं. १९५८ देखि १९५१ सम्म, २०४१
७. रामराज पौडेल, गोरखापत्रको गौरवपूर्ण गाथा, गोरखापत्र २०१५ वैशाख २४
८. टेकबहादुर नवीन, गोखापत्रको एक झलक, गोरखापत्र, २०१५ वैशाख २४ ।
९.बालमुकुन्ददेव पाण्डे, सुनेका कुरा, गोरखापत्र ७५औं वार्षिकोत्सवांक, २०३३ व्रशाख २४ ।
१०.कृष्णचन्द्र सिंह प्रधान, गोरखापत्र र नेपाली साहित्य, गोरखापत्र ७५औं वार्षिकोत्सवांक, २०३३ व्रशाख २४ ।
११.लक्ष्मीकान्त पन्थी, ऐ...ऐ...
१२. जहांसंम मातृभाषाको सेवा पूरातौरले हुदैन. वहंसंम देशको उन्नति हुदैन. यस्को कारण योछ आमाका काखमा रहेर बालक्ले जत्तिको चाडो व्यबहार शिख्न शक्छ. उत्तिको चाडो बाबुको काख्मा रहेर पनि शिख्न शक्तैन. बोलिनजान्दै देखि आमाका काख्मा रहेर, व्यवहारको र बोलिको मिलान गरायेर व्यवहारपनि बोलिपनि जान्दै आयाको हुनाले, व्यवहारकोर बोलिका मिलान गर्ने तर्किप् बालकका दिलमा चढेको हरन्छ, र बाबुका, वा गुरूका बोलिको र व्यवहारको मिलान गरेर काज काम्मा होसियार हुन जाञ्छ .–गोरखापत्र, मातृभाषामा शिक्षा, संपादकीय, १९६६ माघ ११ ।
१३.मानिसको भाषा हुन्छ । त्यो भाषामा केही नियम हुन्छ । काम त जथाभाबी लेखेबोले पनि चल्दछ । तर यो कामचल्नु माने कवाज खेल्न न जान्ने सिपाहीबाट पनि लडाइँको काम चल्नु जस्तै हो । एउटा भाषामा चार पाँच थरि व्याकरणको चल्ती हुनु पनि आपसका मेलको कमी झल्काउने एउटा नजाति कुरो हो । सौभाग्य वश अब नेपाली मात्रमा यो दोषको विशेषता विलाउादै गएको बुझिन्छ....। –प्रेमराज शर्मा, शुद्ध नेपालीको सवाइ, गोरखापत्र, १९९४ असोज २ ।
१४. कुनै विषयमा आफ्ना भावनाहरूलाई पूर्ण—रूपले क्रमानुसार लिपिबद्ध गर्नु “लेख”कहलाउँदछ । प्रवन्ध, निबन्ध, आदि लेखकै नाम हुन् । कुनै लेख लेखता पनी तल लेखिएका कुराहरूमा ध्यान राख्नु पर्दछ ।
१.भाषा– सबै लेखमा एकै प्रकारको भाषा–शैली हुनुपर्दछ ।
२.शब्द– सजिला र मधुर, प्रचलित शब्दहरू रहुन् कठिन, अप्रचलित औ विदेशी शब्दहरूको प्रयाग नहोस् ।
३.अक्षर– अक्षरहरू स्वच्छ, सुन्दर, आकार ठीक भएका हुनु पर्दछ अर्थात् ‘प’ ‘य’ ‘घ’ ‘भ’ ‘म’ को आकार नछुट्टिने र त लेखता न को आकार न लेखता ज लेखता ज्ञको आकार हुने नहोओस् ।
४. अशुुद्धि– व्याकरण, तर्क औ विवरण आदिको अशुद्धि नरहोस् । जुन भाषाको लेख छ उसैका मतृ–भाषाका प्रचलित व्याकरण बमोजिमको भएमा लेखको मर्म स्पष्ट हुने हुन्छ ।
५. विराम– विरामका चिन्हहरूको योग्य प्रयोग हुनु पर्दछ अर्थात् र्अ–विराम चाहिने जगामा पद–विराम पद–विराम चाहिने जगामा पूर्ण–विराम अथवा उद्गारका जगामा प्रश्न कुरा नटुङ्गिइकन विश्रान्ति यस्तो नहोस् ।
६. अर्थ– लेख यस्ता प्रकारसँग लेखनु पर्दछ कि लेख रोचक र एकै पटक बाँच्तैमा अर्थ स्पष्टरूले झल्कने र अर्थको मर्म समेत सबै स्पष्ट बुझिने हुन जाओस् ।
७. आकार– लेख संक्षेपमा होस् तर उसमा कुरा भने कुनै छुट्न नपाओस् ।
८. आडम्बर– आफ्नो पाण्डित्य देखाउनाका निम्त्ति भावलाई जटिल वाक्य जटिल शदहरूमा लेख्नु त्यस्तै लम्बा चौडा भूमिका बाँध्नु उचित हाइन ।
९. अप्रासाङ्गिक विषय– लेख लेखदा यौटा कुरो लेखनु छ प्रसङ्गका विषयमा बहकिंदै गराएर अनावश्यक विषय लेखनु र अश्लील (फोहोर शब्द) व्यर्थका कुरा लेखनु उचित होइन । पुनरुक्ति अर्थात् एउटै कुरालाई घुमाइ फिराई बारम्बार लेखनु लंबा भूमिकाका साथ एउटै कुरो अथवा एउटै कथा मात्र लेखेर लेख समाप्त गर्नु इत्यादि दोषबाट बचनु पर्छ ।
१०. खण्डन– एउटा कुरो वर्णन– पूर्वक लेखतै गएर फेरी उसै लेखमा उसको बिरूद्ध कुरो लेखनु उचित होइन । अथवा अर्थान्तरले उल्टा झल्कने पनी हुन नपाओस् ।
११.क्रम– लेखका जति जति भावहरू छन् ती सब एक एक उचित क्रमसँग रहून् उट्पटङ रीतले नलेखनु किन भने टोपीको शोभा शिरमा हुन्छजुत्ता गोडामैं सुहाउँछ ।
१२. अनुच्छेद– एक अनुच्छेद विषयको एउटै अथवा दुईटा होस् । यदि भाव ठूलो अथवा गंभीर भएदेखि ता उसलाई धेरै अनुच्छेद्मा पनी लेख्न शकिन्छ ।
१३. समय– लेख लेख्ता लेखनुभन्दा पहिले खूब सोच विचार गरेर आफना मनमा भाव ठीक गराउनू लेखन थाले पछी भाव विचार थरी रहन प्रायः नपर्ने जस्तो होस् । समयउपर खुब ध्यान पुराख्न एक दुई खण्डको विस्तृत वर्णन गर्दामानै पायिएको समय वितिजान्छ अनी अरू खण्ड त्यसै छेट् जाने नहोओस् ।
लेख–प्रणालीः लेख लेखने दुई प्रणाली छन्– ती दुइ प्रणलीमा पहिला वैज्ञानिक दोस्रा साहित्यिक । पहिला प्रणली अनुसार वर्णित विष भिन्न–भिन्न भागहरूमा विभक्त भएर प्रत्येक भाग यथानियम उसै यथाकैमबाट छुट्टा–छुट्टा भएको हुन्छ । दोश्राका अनुसार वर्णित विषयको कैञौ छानि– छानि लिएका कुरांहरू विषयको कडाइ नगरेर जसका पछि जे लेखता सुविस्ता हुन्छ उसलाई उस्तै हिसाबले कुशलतासँग छेट्याएर लेखनु पर्दछ कि पाठकहरूले विना परिश्रमले नबताइकन पनी सबै कुरा जानून् अथवा उस्तै छुट्टाछुट्टै विषयउ वा गंभीर छ भने विषयमा जो जोजान्न योग् कुराछन् उनीह्रूलाई स्थूल रूपले सम्म ता जान्न शकुन् । –लेख लेख्ता ध्यान दिने योग्य कुराहरू, गोरखापत्र, १९९० पुस ११ ।
१५. अक्षरविन्यासको वादविवाद मेटिएको हुनाले खालि त्यतापट्टि मात्र होइन, वाक्य विन्यास र शैली तर्फ पनि हाम्रो विषेष ध्यान खिचिँदैगएको छ । अङ्ग्रेजीको प्रभावले अब जहाँ पायो उहीँ “जब,तब, र कि” इत्यादि हाली रचना गर्ने प्रथा बढ्दै गएको थियो, त्यसलाई धमाधम नेपाली शैलीमा ढाल्न लाग्यौं । जस्तो– ‘जब भाइ आए तब म गए’ँ को सट्टामा ‘भाइ आए पछि म गएँ’, हरि रिसायो र रामलाई कुट्यो र उसलाई निकाल्यो र ढोका थुन्यो, को सट्टा ‘हरि रिसाएर रामलाई कुट्यो अनि उसलाई निकाली ढोका थुन्यो’, ‘रामले भन्यो कि तिमी जाऊ’ को सट्टा ‘रामले तिमी जाऊ भन्यो,’ लेख्न थाल्यौंं । –पुष्कर शमशेर जवरा, –श्री ३ महाराजका उदयमा भाषाको विकास, गोखापत्र १९९९ भदौ १६, जुद्दशमशेरको राज्यारोहण संवन्धी उदयोत्सव विशेषंक ।
१६. नेपाली हाम्रो मातृ भाषा र राष्ट्र भाषा दुबै हो । आफ्नो भाषामा गौरव र प्रेम राख्नु प्रत्येक नेपालीको कर्तव्य हो । अब त झन १९७७ देखि पट्ना विश्वविद्यालयबाट हुने आइए र बिएको परीक्षामा समेत नेपाली एक विषय लिन पाउने भएको छ । मातृ भाषा पे्रमीहरूका निम्ति यो कम गौरवको विषय होइन । भाषाको सेवा देशको सेवा पनि हो । आमाको गर्भबाट झरेदेखि आखिरी अवस्थामा वाक्य नरन्जेलसम्म मातृभाषासँगको हाम्रो सम्बन्ध उत्तिकै गाढा रहन्छ । प्रत्येक नेपालीले कुनै न कुनै अवस्थामा मातृ भाषाको टहल र उन्नतिपट्टि ध्यान अवश्य दिनै पर्छ । हाम्रो सम्पादकीय विभागमा केही दिन अघि स्वास्थ्यको एउटा लेख आयो । लेख थियो लमलमष्टे अंग्रजीमा । लेखक चाहिं चारभञ्ज्याङभित्रकै ठेट नेपाली । नेपालीले लेखेको लेखले गोपमा छापिन पाउँदा अंग्रेजीको रूप लिएको देख्दा गोप संपादकीय विभागलाई आश्चर्य लाग्यो । जे भए पनि सो लेख सपादकीय विभागले अनुवाद गरी छाप्यो गोपमा ।
नेपाली माटोमा हुर्की बढेका नेपालीहरूको आफ्नो भाषामा प्रेम अवस्य हुनै पर्छ । जुनसुकै भाषा होस् न त्यसको अध्ययनले मानिसको संकुचित विचारलाई विकसित गराउन सक्छ, जरुर । तर विरानो भाषामा रङ्गिन र डुबुल्की मार्न त हामीले हुँदैन । आखिर जीवनको गौरव र जीवनको प्रत्येक खुड्किलोमा हामीलाई नभै नहुने ता “मातृ भाषा” नै हो । यो कुरा देश र मातृभाषा प्रेमीहरूले कहिल्यै बिर्सनु हुँदैन । –भाषा हो जीवनी हाम्रो सारा उन्नति वैभव, संपादकीय, गोरखापत्र, २००२ जेठ १६)
१७. गोरखापत्र संपादकीय २००२ जेठ १६ ।
१८. दाताराम शर्मा, गुरु गोरखापत्र, गोरखापत्र ७५औं जन्मोत्वाङ्क, २०३३ वैशाख २४ ।
१९.नेपाली साहित्यको इतिहासको अध्येता भएको नाताले मैले गोरखापत्रमा सं.१९५८देखि सं १९९१ सम्म प्रकाशित भएका साहित्यिक रचनादि ऐतिहासिक महत्वको रहेको ठानेको छु । खास गरी यस अवधिका बीचमा नेपाली गद्यतर्फ यस पत्रिकाले गरेको योगदान मूल्यवान् छ । म के ठान्दछु भने– नेपाली कथालाई गतिशील स्वरूप प्रदान गर्न र नेपाली कथामा आधुनिकताको बीजारोपण गर्न गोरखापत्रको ऐतिहासिक भूमिका छ; र नेपाली निबन्धको स्वरूप निर्धारण गर्न यस पत्रिकाको ठूलो हात छ । यसरी नेपाली गद्यका आख्यान तथा आख्यानेतर दुबै क्षेत्रलाई यस पत्रिकाले विकासको टेवा दिएको स्पष्ट देखिन्छ । –डा. दयाराम श्रेष्ठ, मेरो भनाइ, नेपाली साहित्यको विकासमा गोरखापत्रको योगदान –वि.सं. १९५८ देखि १९५१ सम्म, लक्ष्मीकान्त पन्थी, २०४१ ।
२०.कृष्ण विहारी मिश्र, पत्रकारिता इतिहास और प्रश्न, १९९३, वाणी प्रकाशन, नइदिल्ली ।

२०६२ असार ५
आरुबारी

No comments:

Post a Comment