Monday, August 30, 2010

मुम्बई छेउको साँ–ग्रिला र पुराकथाका विम्बहरू

यो यात्राक्रममा भारतको अतिव्यस्त शहर मुम्बई र शान्त–सुन्दर भए पनि नागरी भौतिकतामा थिचिँदै गएको नासिकबाट त्रयम्बकेश्वर पुग्दा जेम्स हिल्टनको साँ–ग्रिला र पुराकथाका विम्बहरू जतातै फिँजारिएका थिए । आँखा अघिल्तिर मेरो आफ्नै देश नेपालको सादृश्य शान्त प्रकृति नाच्दैथियो । नासिकको मूल नगरकेन्द्रबाट जति उता लाग्यो प्रकृतिको अर्कै छटा, अर्कै मोहकता, र पौराणिकताको स्पर्श र सुवासले हामीलाई लठ्याउन थालिसकेको थियो । नेपाली पर्वतीय सौन्दर्यको लघुरुप– मिनिएचर झैं लाग्थ्यो नासिकको नगरकेन्द्रबाट ३६ किलोमिटर जति मात्र परस्थित गोदावरी नदीको उद्गमस्थल त्रयम्बक !

यहाँको ब्रह्मगिरि पर्वतमा गौतम श्रृषिले शिवजीको कठोर तपस्या गरेका थिए रे, यो एउटा किम्बदन्ती ! शिवको आशिर्वाद पाएर तिनै गौतम श्रृषिले गौमती, गङ्गा र गोदावरी नदीलाई स्वर्गबाट धरतीमा ल्याएका थिए रे ! ग्रिक मिथक प्रमिथियसले स्वर्गबाट आगो ल्याएजस्तै मानवहितमा जलशक्ति–प्रयोगको यो मानवीय प्रयत्न त्यस्तै एउटा अर्को मिथक थियो सायद । स्वर्गबाट झर्दाको तीब्र गङ्गा–बेग मत्थर गरी संभाव्य धरती–विनाश रोक्न उनै गौतमले कुश–ब्रत गरेका थिए रे त्यहाँ । त्यसैले जलनियन्त्रणको मानवीय प्रयत्नको पनि कथा थियो यो किंवदन्ती । त्यहीँदेखि नै कुशब्रत तीर्थ भनेर चिनिन थाल्यो , यो क्षेत्र । सहयाद्री पर्वत ऋङ्खलामा ब्रम्हगिरि पर्वतको काखमाथि थुपुक्क बसेकोे यो सानो नगर त्रयम्बकेश्वर सँच्चिकै सुन्दर थियो । महाराष्ट्रका थोरै ठण्डा जलवायुयुक्त सुन्दर प्राकृतिक स्थानमध्येको एउटा यो सानो नगर मुम्बईको कोलाहल नजिकै रहेर पनि त्यसबाट अछुतो थियो ।

भारतभर फैलिएका प्रमुख बाह्रमध्येको एक मानिने ज्योतिर्लिङ्ग र त्रयम्बकेश्वर मन्दिर यसका प्रमुख आकर्षण थिए । सोमबारका दिन त्रिनेत्रयुक्त शिव अर्थात त्रयम्बकेश्वरको मूर्तिलाई खटमा बोकेर पुजारीहरू मन्दिर प्रदक्षिणा गराउँछन्– यो नित्यचलन हो । पेशवा शासन कालमा जीर्णोद्वार गरिएको त्रम्व्यकेश्वर मन्दिरमो दिव्य ३१ वर्षसम्म ७६८जना शिल्पकारको परिश्रम पोखिको थियो रे ! यो जीर्णोद्वार भएको थियो, सन् १७५५देखि १७८५ अर्थात नानासाहेब पेशवाको शासनकालमा । मन्दिर परिशरमा रहेको शिलालेखले यस्तै भन्थ्यो । पूर्व–पश्चिम १६० र दक्षिण–उत्तर १३१ फिट फैलिएको थियो यो पूर्वाभिमुख मन्दिर । १८५ फिट गोलाकार व्यास र ५६ मिटर अग्लो यो मन्दिरको संरचना यन्त्राकार थियो । मन्दिर शिखरमा पाँच स्वर्ण कलस र पाँचै गोपुरवाला मन्दिरको निर्माण ढुङ्गैढुङ्गाबाट भएको छ, ध्वजाहरू पञ्चधातुले बनेका छन् । मन्दिरको पश्चद्वारको पाश्र्वमा उत्कीर्ण कमलले सजिवताको भ्रम दिन्थ्यो । मानिसहरू प्रर्थनामा रमाइरहेका थिए, प्रज्वलित द्वीपसमूहको मन्दप्रकाशबीच शिवजीको स्वयम्भूस्थान दर्शनमा हराइरहेका देखिन्थे । सौभाग्यशाली भनिने केहीले त्रम्व्यकेश्वर–शिवलिङ्गमा आसिन ब्रह्मा, विष्णु र महेशको दर्शन पाउँछन् रे ! शिवलिङ्ग मुनिको एउटा सानो खोपिल्टोजस्तोमा स–साना आकृति देखिन्थे, त्रिदेवका लघुआकृति । यिनै ईश्वरत्रयका नाउँमा मन्दिरको नाउँ नै त्रम्व्यकेश्वर रहे छ । त्रिनेत्रयुक्त शिवको मन्दिर भएकोले पनि यही नाम प्रचलित बन्यो हाम्रा मार्गदर्शक मेरा साढु भाइ अशोक यस्तै सनाउँदै थिए । स्वर्णभूषण सज्जित यो मन्दिरका त्रयम्बकेश्वर शिव–मूर्तिको पञ्चमुखी स्वर्ण मुकुटलाई हरेक सोमवार, परेवा तिथि, कार्तिक पूर्णिमा र शिवरात्रिका अवसरमा कुशावत तीर्थमा लगी स्नान गराएर शोभायत्रासहित ल्याएर फेरि मूर्तिमा पहिराइन्छ, अशोक भन्दै थिए ।

यो साल नासिक र त्रयम्बकेश्वर निकै व्यस्त छन् । आउँदो वर्ष वर्षभर नै चल्ने कुम्भ मेलाको मुख्य अर्थात शाही स्नानपर्व अगष्ट १७ तारिख (२०६० साउन ३२) मा पथ्र्यो । मेलाकोे चहलपहल भन्दा सात–आठ महिना अगाडि नै आइपुगेका हामी परदेशी त्यो मेलाको झलक टेलिभिजनको पर्दामा हेरेर चित्त बुझाउन वाध्य थियौं । प्रत्येक १२ वर्षमा सिंहस्त वृहस्पतिका अवसरमा मनाइने कुम्भ मेला सुरु हुने लगभग छ महिना अगाडि हामी पुगेको नासिक र त्रयम्बकेश्वर त्यसको तयारीमा अहिलेदेखि नै व्यस्त थियो । त्यतिबेला गोदावरी नदी र रामकुण्डमा डुबुल्की मारेर मोक्ष खोज्ने लाखौं श्रद्धालु भक्तहरूलाई उपयुक्त सुविधा दिन सिङ्गो नगर प्रशासन क्रियाशील थियो । आन्तरिक पर्यटन बृद्धिको यो अवसरलाई कसरी स्थायी अवसरमा ढाल्ने उसको गंभीर चिन्त थियो । मूल स्नानका दिन यहाँ स्नानार्थ आउने अनुमान गरिएका पन्ध्र–बीस लाख मानिसलाई उपयुक्त सुविधा पु¥याउनु त्यति सलिजो पनि थिएन । गोदावरी नदीको किनारको कुशाब्रत तीर्थ त्रयम्बकेश्वर र नासिककको रामघाट (पञ्चवटी) वा कुण्डमा मुख्य स्नानका लागि भारतमात्र होइन नेपाल र अन्य मुलुकबाट समेत असङ्ख्य यात्रीहरू आउने गर्छन् ।

यो सबै देखेर मैले थोरै भए पनि पीडाबोध भएको थियो मलाई । मेरै गोदावरीमा पनि त ठीक यही समय बाह्रवर्षे उही सिंहस्त लाग्दै छ । मेरो गोदावरी मेलाको उद्भव पनि तिनै पौराणिक किंवदन्ती नै हुन् । एकजना नेपाली श्रृषि सधैं योगवलद्वारा दक्षिण भारतको गोदावरी पुगी नित्य गङ्गास्नान गर्थे । ती श्रृषिको कष्ट देखेर गङ्गा खुशी भईन् । उनले भनिन्–अबदेखि यहाँ आउने कष्ट गर्नुपर्दैन । म तिम्रो नजिकै उत्पत्ति हुनेछु । त्यही वचन अनुसार ललितपुरको गोदावरी क्षेबमा कुण्डको रुपमा गङ्गा उत्पत्ति भइन् । यो किंवदन्ती सुनिन्छ । त्यसैले म पनि त मेरो गोदावरी मेलाको आवश्यक प्रचारप्रसार गरी सुव्यवस्थित गरेर स्वदेशी विदेशी तीर्थयात्री आकर्षित गर्न सक्थें । खोई सिकेको मैले यताबाट यस्ता कुरा ? के यताका खराब कुरामात्र सिक्नुपर्ने मेरो नियति हो ? नभए मैले भारतीय धार्मिक–सांकृतिक महत्वका स्थलहरू आफूलाई कति व्यवस्थित राख्छन् र त्यबाट प्रत्यक्ष–परोक्ष लाभ लिनसक्छन् भन्ने सिक्नु पर्ने होइन र ? हाम्रा पनि त छन् यस्ता ठाउँहरू, जहाँ राम्रो व्यवस्था गरेर लाखौं यात्रुहरू आकर्षित गर्न सकिन्छ । तर हामी दृष्टिहीन नेपाली सोच्छौं मात्र, गर्देनौं । यो मेरो यथार्थ हो । अहिले यी कुराहरू सोच्नुको सायद कुनै अर्थ छैन ।

जे होस् मेरो अहिलेको एक मात्र अभीष्ट मुम्बईबाट ११० किलोमिटर पर को पश्चिम काशी, नासिकलाई संपूर्णमा आफूभित्र समाहित गर्नु । अनेकौं नामधारी नासिकले आफूलाई पद्मनगर पनि भनाउँछ, कारण सत्य युगमा ब्रम्हाजीले यही नासिकमा पद्मासन कसेर सृष्टिको खाका खिचेका थिए रे ! त्रेतायुगका रामले यही नासिकमा केही समय विताए थे रे । त्यही बेला नासिकको पञ्चवटीले एउटा सभ्य भनिने आर्यजातिले गरेको असभ्य व्यवहारको साक्ष्य बन्नुपरेको थियो–प्रेम याचनारत एउटी नारीको नाक काटिनुको त्रासदीपूर्ण घटनाको द्रष्टा भएर ! सुर्पणाखाले लक्ष्मणसँग प्रेमको याचना गर्दा उसले पाउनु पर्ने दण्ड के आफ्नो नाक कटाउनु नै थियो त ? के आफूलाई सभ्य र असुरलाई असभ्य भनाउने आर्य आदर्शपुरुष मानिएका रामका आज्ञाकारी भाइ लक्ष्मणको त्यो कार्य क्रूरतापूर्ण थिएन ? कू्रर असभ्यतालाई रोक्नु आर्यसभ्ताका आदर्श मानिने रामको दायित्वमा पर्दैनथ्यो र ? त्यसैले लाग्छ यो ठाउँ सुर्पणखाले स्वाभाविक चाहनाको प्रतिकूल भोग्नु परेको अन्यायद्रष्टा बन्नुपर्दाको अपराधबोधबाट केही पीडित पनि छ । आर्य जातिले अन्य अर्थात रक्षसंस्कृति विरुद्ध देखाएको असहिष्णुताको अर्को गलत उदाहरण रेखाङ्कित भएको साक्ष्य भोग्नुको यो पीडाबाट सके यसले कहिल्यै मुक्ति पाउने छैन । त्यसैले सुर्पणखाको नाक काटिएकैले नासिक भनाएर यो ठाउँले आफूलाई कुनै बेला एउटी असहाय नारीले प्रेमचाहनाको प्रतिफल अपमानित हुनुपुेको दृष्टान्त जीवित राख्यो । रामायणको त्यो प्रकरण र साक्षीे यो ठाउँको किम्बदन्तीले मेरो मनमा अनेकौं प्रस्न जन्माइदिएका थिए !



कुम्भ मेलाको आफ्नै किम्वदन्ती पाइन्छ । धार्मिक साहित्य अनुसार यो कथा मृत्युमाथिको विजय अर्थात अमृत चाहना र प्राप्तिप्रयासको कथा हो– समुद्रमन्थन अर्थात मानवसौर्यको गाथा हो । यो दुई सभ्यताबीचको सङ्घर्ष र जालझेलपूर्ण श्रमशोषणको पनि कथा हो । देव–दानव मिलेर समुद्रमन्थन गरे । शारीरिक श्राममा देवभन्दा दानवले बढी पसिना खर्चे । दुई संस्कृतिको साझा श्रमको परिणति समुद्रबाट अमृत निस्कियो । त्यसपछि सुरु भयो श्रमशोषण र प्राप्तिलाई जाति–सभ्यताको एकाधिकारमा सीमित गर्ने प्रपञ्च, जसले द्वन्द र संघर्ष निम्त्यायो । त्यसैले त्यो वर्ग वर्ग बीचको संघर्ष थियो, जाति जाति बीचको संघर्ष थियो र थियो सभ्यता सभ्यता बीचको संघर्ष । त्यो संघर्षबाट पनि मानिसले कुनै गतिलो पाठ भने सिकेन । त्यो सिकेको भए फेरि युद्ध, संघर्ष, द्वन्द र शोषणका इतिहास लेखिने थिएनन् । अगडिदेखि प्रथम, द्वितीय, र अझ निकट भूतका इराक युद्धका विभीषिका मानिसले भोग्नु पर्दैनथ्यो सायद् ! जे होस समुद्रमन्थनबाट निस्किएको अमृत आफ्नै मात्र जातिले पाओस् भन्ने स्वार्थपूर्ण सङ्घर्षबाट सिर्जित द्वन्द कुम्भ–किंबदन्तीको मूलमा रहेको छ । सत्य युगमा देवदानव मिलेर गरेका समुद्रमन्थनबाट प्राप्त अमृत घडा वा कुम्भ आफ्नै जातिले मात्र उपभोग गर्न पाउन्, दानवको हात नपरोस् देवताहरूको दुरभिसन्धी थियो । त्यही बमोजिम योजना बन्यो । अमृतको घडा लिएर इन्द्रपुत्र जयन्त आकाशमार्गबाट भागे । आफूहरूमाथि धोका भएको थाहा पाएर दानवहरूल पिछा गरे । बाह्र दिनसम्म देव–दानका बीच भीषण युद्ध भयो । यही क्रममा जयन्तले बोकेका कुम्भबाट छचल्किएर पृथ्वीका हरिद्वार, प्रयाग, उज्जैयनी र यही श्रीक्षेत्र पनि भनिने त्रम्व्यकेश्वरमा अमृतका केही थोपा खसे । दानवले अमृत नपाउन् भनी चन्द्रमा, सूर्य, र बृहस्पितिले खसेका थोपा र अमृत भरिएको घडाको सुरक्षा गरे । यसैले जव सूर्य,चन्द्र र बृहस्पति कुंभराशिमा प्रवेश गर्छन् त्यही बेला कुम्भ मेला लाग्छ । देवता र दानवका बीच १२ दिनसम्म युद्ध भएको र उनीहरूको बाह्र दिन मानिसको १२ वर्ष हुने भएकोले प्रत्येक बाह्र वर्षमा कुम्भ मेला लाग्ने गर्छ –किम्बदन्तीको भनाइ हो यो । वैष्णव संम्प्रदायले रामघाटमा जय श्रीराम र त्रयम्बकेश्वर कुशावर्तक क्षेत्रमा शैवहरूले शिवको जयघोषसहित मनाउने यो कुम्भमेलामा यो वर्ष यी दुई संप्रदायका बीच अस्वथ प्रतिस्पद्र्धा समेत देखियो । यसले पनि हामी हिन्दुहरूमा कति पातलो सहिष्णुता छ, सिद्ध गर्छ ।

भनिन्छ– त्रयम्व्यकेश्वरको प्रवेशद्वार अञ्जनेरी छैठौं शताब्दीमा चालुक्य राजवंशको आधिपत्यमा थियो । त्यस पछि त्यहाँ राठौर, यादव, मुसलमान र पेशवाहरूले क्रमैले शासन गरे । मुस्लिम शासन कालखण्डमा ध्वस्त गरिएका अनेकौं मन्दिर र धर्मस्थलहरू त्यसपछिको पेशवा शासनकालमा जिर्णोद्वार गरियो । लगभग पाँच सय वर्ष अघिसम्म पनि त्रयम्बकेश्वर र अञ्नेरी बाक्लो जङ्गलले ढाकिएको विकट स्थल थियो । चौद्धौं शताब्दीपूर्व यो अञ्जनेरी ठूलो शहर थियो रे । त्यसपछि यो नगर नासिक सहित बहामिनी राज्यमा गाभियो र जागिरको रुपमा शाहजी भन्ने भारदारललाई दिइयो । पछि शाहजहाँले महाराष्ट्रबाट आफ्नो अधीनमा लिएर यो जागिरलाई सैनिक आधार क्षेत्रका रुपमा विकसित गरे । औरङ्गजेवको शासनकालमा अकाली खान भन्नेले यहाँका धेरै मन्दिर भत्काएर मस्जिद बनाए । निजाम पछि सन् १९२०मा कोलीहरू यसका शासक बने । अन्त्यमा आएर सन् १७७२मा फेरि यसलाई महाराष्ट्रले आफ्नो नियन्त्रणमा लिएर धार्मिक क्षेत्रका रुपमा विकसित ग¥यो । यसरी अनेकौं आरोह–अवरोह भोगेर पनि नासिक र अञ्जनेरीले आफ्नो गौरवपूर्ण विगत इतिहासलाई सुरक्षि राखेको छ । अञ्जनेरीको आजको प्रमुख आकर्षण मुद्रा अध्ययनसम्बन्धी भारतीय अध्ययन संस्था ( क्ष्लमष्बल क्ष्लकतष्तगतभ ायच ल्गmष्कmबतष्अ क्तगमष्भक) नै हो । सन् १९८० तिर निर्मित यो संग्रहालय एसियामैं एकमात्र मानिन्छ मुद्रा संग्रहालय मानिन्छ ।

हामी नासिक रोडबाट प्रस्थान गरे पछि सडकको दुबैकिनारामा अङ्गूर, स्ट्रबेरी र प्याजको लहलहाउँदो बालीले ढकमक्क देखिने अञ्जनेरी पुगेका थियौं । हनुमानकी आमा अञ्जनीको मन्दिर रहेको यो सानो नगर उनकै नामबाट अञ्जनेरी क्षेत्र बन्यो । यहीं नै हनुमानको जन्म भएको किम्बदन्ती रहेको छ । यही नासिक क्षेत्रमा रामले चौद्ध वर्षको वनबास विताएकाले यसलाई रामभूमि पनि भनिन्छ । अशोक, हाम्रा आतिथेय, हामीलाई एकएक बृतान्त सुनाउँदै थिए । स्कन्द पुराण भन्छ, भगवान रामले कश्यप ऋषिको आदेश अनुसार यही नासिकस्थित गोदावरीको किनारमा आफ्ना पिता दशरथको श्राद्धकर्म गरेका थिए । आज पनि भारतका सबै ठाउँबाट यहाँ आएर मानिसहरू आफ्ना मृतक आत्मीयहरूको आत्माको शान्तिका लागि श्राद्धकर्म गर्ने गर्छन ।

समुद्री सतहभन्दा लगभग ४२०० फिटको उँचाईमा रहेको पाँच शिखरयुक्त प्रसिद्ध ब्रम्हगिरि पर्वतको १८०० फिटजतिमा भूभागमा त्रयम्बकेश्वर नगर फैलिएको छ । यही ब्रम्हगिरि पर्वतमा अहिल्या र वैतरणा नामका नदीहरूको उद्गम भएको मानिन्छ । शिद्धपुरुष गोरखनाथले साधना गरेर सिद्धि प्राप्त गरेको भनिने गुफा र ब्रह्मगिरिको मध्यभागस्थित गङ्गाद्वार, हिरण्याक्षको विनाश गरेपछि वराह अवतार विष्णुले स्नान गरेको भनिने वराहकुण्ड यहाँका अन्य प्रसिद्ध स्थान रहेछन् । यहाँ रहेका १०८ शिवलिङ्ग गौतम श्रृषिले स्थापना गरेका हुन् भन्ने किम्बदन्त पनि पाइन्छ । यहाँको पञ्चवटी अर्थात गङ्गाद्वारको ठीक मध्यमा राममन्दिर र रामकुण्ड भनिने एउटा पवित्र कुण्ड छ, भनिन्छ यहाँ वनवास विताउँदा राम–सीता यही कुण्डमा स्नान गर्थे । अहिले २७ मिटर चौडा र १२ मिटर गहिरो यो रामकुण्ड नै कुम्भका अवसरमा स्नान गरिने प्रमुख स्थान हो । यो कुण्डमा मृतकको अवशेष वा खरानी विसर्जन गरेमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । पण्डित नेहरु, इन्दिरा गान्धी, यशवन्त चौहान जस्ता विविशिष्ठ भारतीय व्यक्तिहरूको मृतभष्म यही कुण्डमा प्रवाहित गरिएको थियो रे । रामकुण्डकै छेउमा लक्ष्मण र सीताकुण्ड रहेका छन् । यस्तै श्रीराम मन्दिरको छेउमैं सीता गुफा रहेछ । भनिन्छ, यही गुफामा सीताजी निवास गर्थिन रे । तपोवन पनि भनिने यो क्षेत्रमा यहाँ गोदावरी नदीको जलप्रवाहले बनाएका अनेकों गुफा पाइन्छन् । वर्ष याममा पानी भरिएर छोपिनेभए बाहेक अरुसमयमा यी गुफा देख्न सकिन्छ । यी गुफालाई ब्रम्हयोनी पनि भनिन्दो रहेछ ।

प्राय नन्दी विनाका शिवमन्दिर भेटिँदैनन । यहाँको कपालेश्वर मन्दिरमा भने नन्दीको उस्थिति थिएन । गोदावरी घाटको दृश्य स्पष्ट देखिने यो मन्दिरमा नन्दीको उपस्थिति नरहनुको कारणसम्बन्धी एउटा किंम्बदन्ती रहेछ । एकपटक क्रोधावस्थामा शंकरजीले ब्रम्हाजीको पाँचौं शिरभञ्जन गरिदिएछन् । क्रोध शान्त भएपछि शिव आपूmलाई ब्रम्हहत्या लागेकोमा दुखित हुँदै मुक्तिलोक पुगे । त्यति नै बेला शिवले गंगाजीको किनारमा एउटा बहरद्वारा ब्रह्महत्याबाट मुक्त हुने उपाय थाहा पाए । आफूलाई ज्ञान दिने त्यो बयललाइ गुरु मानी अब बाहन बनेर आफ्नो सामुन्ने नबस्नू भनेकाले यो मन्दिरमा नन्दी वा बसाहाको मूर्ति नराखिएको रे !

पुराणमा यस्ता अनेकौं उल्लेख फेला पर्छन् । यस्तै एउटा किम्वदन्ती छ, गौतम–अहिल्या र गङ्गात्रिसन्ध्यासंबन्धी पौराणिक कथाको । प्रयाग क्षेत्र नजिकै यज्ञगर्न भनी ब्रम्हाजीले जमिन खन्दा एउटा स्वर्णजडित मञ्जूषा फेला पारेछन् । त्यो मञ्जूषाभित्र ब्रह्मा आफूले गरेका आफ्नो सृष्टिभन्दा पनि अति सुन्दर एउटी रुपवती युवतीलाई सुतीरहेकी देखे छन् । त्यो देखेर उनी चिन्तित भए–यति सुन्दरी युवतीलाई सुहाउने लोग्ने कहाँ पाउनु ? त्यही बेला आकाशवाणी भएछ–जसले पर्वत–द्वीप सहित पृथ्वीको तीनपल्ट परिक्रमा गरेर सबैभन्दा पहिले तपाइँसमक्ष आइपुग्छ, त्यसैैलाई यो कन्या दानमा दिनु । त्यो आकाशवाणी सुने पछि ऋषिमुनि र देवताहरूमा सबैभन्दा पहिले पृथ्वीको परिक्रमा गरेर ती कन्या प्राप्त गर्ने प्रतिस्पद्र्धा चलेछ । यही कारण ब्रंह्माजीको यज्ञकार्यमा बाधा आउनु स्वभाविक थियो ।

गौतम ऋषि पनि पृथ्वी परिक्रमाको लागि प्रयासरत थिए । त्यही क्रममा उनले बाटामा एउटी कपिला गाईलाई प्रसव अस्थामा भेटे । बैदिक सूक्तिको प्रमाणलाई आधार मानेर उनले त्यही प्रसवग्रस्त गाईको तीन पल्ट परिक्रमा गरेर ब्रह्मा कहाँ फर्के । आफूले तीनपल्ट पृथ्वीको परिक्रमा गरेर सबैभन्दा अगाडि आइपुगेकाले ती भूमिपुत्रीको विवाह आफूसँगै हुनुपर्छ, उनको दाबी थियो । ब्रह्माको मनमा शंका उठेकै बेला फेरि गौतम ऋषिले प्रसवावस्थाकी कपिलाको तीनपल्ट परिक्रमा गरेर उनको शर्त पूरा गरेकाहुँदा गौतमको भनाइ सत्य छ भन्ने आकाशवाणी भए छ । त्यसै अनुसार उनले ती धरतीपुत्रीको विवाह गौतमसँग गरिदिएका थिए रे । नारीको इच्छा, चाहनाको त्यहाँ पनि कनै मूल्य थिएन । पुरुषले प्रतिष्पद्र्धामा जितेर पाउने पारितोषिजसले जित्थ्यो, ऊ उसैको स्वामित्वमा हुन्थी । तिनै भूकन्या अहिल्या थिइन, किम्दन्तीको भनाइ छ । ब्रह्माजीको यज्ञ पूर्ण भएपछि गौतम ऋषिले आप्mनो आश्रम फर्कने आज्ञा मागे । ब्रह्माजीले भगवान सङ्कर देवगणसहित यही त्रम्व्यकेश्वर क्षेत्रमा निवास गरेकाले गौतमलाई पनि त्यही पहाडमा आश्रम बनाएर तपस्या गर्न भने, उनले त्यसै गरे । त्यसैले यो ठाउँलाई गौतमाश्रम पनि भनिन थाल्यो ।

त्रम्व्यकेश्वर क्षेत्रलाई त्रिसन्ध्या क्षेत्र पनि भनिंदो रहेछ । यससम्बन्धी पौराणिक किम्वदन्ती भन्छ– प्रारम्भमा समस्त सृष्टि जलमग्न थियो । नागशैय्यामा निद्रावस्थित प्रकृति र पुरुष अर्थात भगवान विष्णुले जागृत भएपछि यनीहरूले ब्रह्माजीलाई पुनः सृष्टि र पुननिर्माण गर्न अनुरोध गरेछन् । त्यो आग्रह अनुसार ब्रह्माजी लागे । तर आफ्नो इच्छा अनुसारको सृष्टि गर्न तीन पल्टसम्म असफल भएपछि ती पूर्वसृष्टिलाई नष्ट गरिदिछन् । त्यो असफलताले मानसिक रुपमा अशान्त ब्रह्माले त्यही त्रम्व्यकेश्वर क्षेत्रमा गएर तपस्या गरे । एकै साथ तीनवटी तेजस्वी कन्या देखापरे पछि ब्रह्माजीले सोधे छन्–तिमीहरू कोहौ ? तिनले भने– हामी कर्मकन्या हौं । तपाइँको तपस्याबाट प्रसन्न भएर तपाइँकै कर्म बनी अधीनस्थ हुन आएका हौं । त्यसपछि तिनै तीनकन्याको सहयोगमा ब्रह्माजीले आफ्नो चाहना अनुसारको सृष्टि गरे रे । त्यही बेलादेखि यो त्रम्व्यकेश्वर क्षेत्रको नाम त्रिसन्ध्या क्षेत्र पनि बनेछ । यो किम्बदन्ती सृष्टीयोगमा प्रकृति–पुरुषको अपरिहार्यताको प्रतीक कल्पना पनि हुनसक्छ ।

किंबदन्ती अरु पनि धेरै छन् । गङ्गा धरती अवतरणसंबन्धी अर्को एउटा पौराणिक किंवदन्ती पनि कम चाखलाग्दो छैन । यसका दुई पाठरुप भेन्छिन् । पहिलो, शिव–पार्वतीको विवाहमा ब्रह्माजीले पुरोहितको काम गरेका थिए । सप्तपदीको क्रममा ब्रम्हाजीले पार्वतीको पाउ छुँदा उनमा कामवासना जाग्रत भएछ । त्यो अवस्थामा वीर्यपात अस्वाभाविक थिएन । त्यसरी पतन भएको वीर्य अरुले नदेखून भनेर उनले त्यसलाई आफ्नै खुट्टाले पुछेछन् । तर वीर्यको अधिकांश भाग पुछिएन । नपुुछिएको त्यो वीर्य ६० हजार अणुमा विभाजित भई त्यसबाट ६० हजार बालऋषिको उत्पत्ति भएछ । यो लज्जास्पद स्थितिबाट बच्न ब्रम्हाजी त्यहाँबाट भाग्न खोजेछन् । शिवजीले त्यो कुरा बुझी हाले । उनले ब्रम्हाजीलाई रोके । पृथ्वीको सारतत्व निकाली आफ्नो कमण्डलुमा राखेर त्यसमा पवित्र जल भरे । प्रणव मन्त्रोच्चार गर्दै कमण्डलु ब्रम्हाजीलाई दिएर भने– अब फेरि काम वासना उत्पन्न भयो भने यही कमण्डलुको जल आचमनी गर्नू, ब्रम्हहत्या जस्ता सबै पाप नाश हुनेछ । गङ्गाजीको उत्पत्ति सम्बन्धी यो एउटा किम्वदन्ती हो । यो किम्बदन्ती सायद कामवासना र सौन्दर्य प्रतिको आकर्षण कसैको पनि नियन्त्रणमा रहँदैन भन्ने सत्यको परोक्ष पाठ पनि हो ।

दोश्रो, दानबीर बलिले सयौंपल्ट अस्वमेध यज्ञको प्रारम्भ गरे । इन्द्र र अन्य देवताको मनमा तपस्याको बलमा वलिले इन्द्रपद प्राप्त गर्लान भन्ने भय जन्म्यो । उनीहरू विष्णुकहाँ गएर यशोगान गर्न थाले । विष्णु खुसी हुँदै वामन अवतार लिएर वलिको यज्ञमण्डपमा पुगे । त्यहाँ उपस्थित दैत्यगुरु शुक्राचार्य लगायत ठूला बेदज्ञाता ऋषिहरूलाई शास्त्रार्थमा परास्त गरे । त्यसबाट प्रभावित भएका वलिले वामनको अभ्यर्थना गर्दै उनको इच्छा अनुसारको माग पूरा गरिदिने वचन दिए । वामनले तीन पाउ जमिन दानमा मागे । वामनले वलि अधिनस्थ भूलोक र देवलोक आफ्ना दुई पाइलामैं आफ्नो पारे पछि वचनका धनी वामनले तेश्रो पाउ आफ्नै शिरमाथि राख्न भने । विष्णुले दोश्रो पाउ सत्यलोकमा राख्नलाग्दा वलिले शिवजीबाट पाएको पवित्र जलले वामनको पाउ धोए । त्यसो गर्दा खसेको जल जमिनबाट चुहिंदै पाताल नपुगोस् भनी शिवले आफ्नो जटा थापेछन् शिवको जटामा धारण गरिएको त्यही पवित्र जल पछि गङ्गाजलको रुपमा प्रवाहित भएको हो रे !

यस्तै एक पटक शिवजी र गङ्गाजी एकान्त वार्ता गरिरहेका देखेरे पार्वतीमा सौतेनीभावका इष्र्या जागेछ । उनले मनमनै गङ्गाजीलाई आफ्नो मार्गबाट हटाउने विचार गरी गणेशसँग परामर्श गरिछन् । गणेशले आमाको चिन्ता समाप्त पार्न शिवजी सुतेको बेलामा उनको जटा काटिदिने सुझाव दिए । जटा काटेपछि गङ्गाजी आफैं आफ्नो बाटो लाग्छिन भन्ने उनको सोचाइ थियो । तर त्यो थाहापाएर शिवजी क्रोधित भएभने रिसको झोकमा सम्पूर्ण संसार नष्ट गर्लान् भन्ने पार्वतीलाई डर लागेछ । गणेशले सबै संसारको पनि कल्याण हुने र शिवले स्वयम् गंगाजीलाई मुक्त गरिदिने अर्को उपाय निकाल्ने विश्वास दिलाए । त्यही योजना अनुसार उनले वरुणलाई पानी नपार्ने आदेश दिए । धरतीमा हाहाकार मच्चियो, सबै ऋषिगण गौतम श्रृषिको आश्रममा शरण लिन पुगे । गौतम श्रृषि आफ्नो मन्त्र शक्तिले प्रत्येक दिन अन्न तयार गरेर उनीहरूलाई भोजन गराउँथे । गणेश पनि बृद्ध तपस्वीको भेष गरेर त्यही आश्रममा बस्न थाले । निकै वर्ष पछि गणेशजीले वरुणलाई वर्षा गराउने आदेश दिए । पानी परेपछि श्रृषिहरू आश्रम फर्कन चाहे, गौतम मानेन् । गौतमले बृद्ध तपस्वी रुपधारी गणेशलाई आफ्नो चिन्ता बताए । गणेशले उनको चिन्ता हटाउन उपाय गर्ने विश्वास दिलाए ।

गणेशले जया र स्कन्धलाई बोलाएर बृद्ध गाईको रुप लिई गौतम श्रृषिको सबै बाली नष्ट गर्ने आदेश दिए । बाली नष्ट गरेको देखेर गौतम रिसाएर तिमीहरूमाथि प्रहार गर्लान्, तिमीहरू चाहिँ मरेको अभिनय गर्नू । जया र स्कन्धले भनेजस्तै गरे । गाई मरे देखेर गौतमलाई गौहत्याको भ्रम प¥यो । गणेशकै सल्लाहअनुसार गङ्गलाई धरतीमा ल्याएर स्नान गरी पापबाट मुक्ति पाउन त्यहींको ब्रह्मगिरी पर्वतमा शिवजीको तपस्या गरे । वरदानमा शिवजीले गङ्गालाई जटाबाट निस्केर गौतम र लोककको हितगर्ने आदेश दिए । पार्वतीको मृुटुको काँडो पनि हट्यो, पृथ्वीमा गङ्गाको पनि उत्पत्ति भयो ।

आफ्नो प्रशंसासुनेर खुसी नहुने को होला ? विष्णु त यसमा कहलिएकै थिए । पुराणकथाका कुनै पनि अवतारमा विष्णु छलछाम र कूटनीतिका गुरु देखिन्छन् । इन्द्रहरू आफू पौरख गर्दैनथे, अरुले पौरख गरेर आफ्नो सिंहासन खोस्ला भनेर निरन्तर सशंकित भएर सुरक्षा होइन, षडयन्त्रमा लाग्थे । जब आफ्नो सत्तामाथि खतरा अनुभव गर्थे त्रिदेब, विषेष गरी विष्णुको चाप्लुसीमा लाग्थे । यी किम्बदन्तीहरूले के हाम्रो आफ्नै प्रबृत्ति र चरित्रको कथा हाल्दैनन् ? ब्रह्मा हुन् वा शिव वा राम, ती सबैसँग सम्बन्धित किंबदन्ती के हाम्रा आदिमानवका संघर्ष, सफलता–विफलता, आशक्ति–विरक्ति, छलप्रपञ्च, ईष्र्या, सौतेनीभाव आदिका कथा होइनन् ?

ब्रह्मगिरी पर्वतको उचाइ ४२४८ फिट र त्रम्व्यकेश्वर नगरभन्दा १८०० फिट अग्लो छ । सद्योजात, वामदेव, ईशान आदि नाम गरेका शिखरहरू भएका यो पर्वतमा धर्नशाला र त्यहाँ जानका लागि ५००वटा सिंढी बनाइएका छन् । त्रम्व्यकेश्वर नगरको उत्तरमा नील पर्वत नामक अर्को एउटा पहाड पनि छ । नीलाम्विका देवीको स्वयम्भू प्राकृतिक प्रतिमा रहेको यो पर्वतमा नागा दिगम्वर साधुको अखाडा पनि रहेको छ । यहीँबाट गङ्गाको उद्भव भएको छ र त्यहाँबाट केही परको कुशावत तीर्थमा पुगी विशाल बनेर ९०० माइल परको सागरमा मिल्छ । मुम्बई यात्राको सर्वाधिक आनन्खको क्षण मेरालागि त्रयम्केश्वर भ्रमण नै हुनपुग्यो । सुन्दर शान्त प्रकृतिदर्शन, किंवदन्तीहरूको जङ्गलमा मानवसभ्यताका आरोह–अवरोह, मानवीय संघर्ष र सभ्यताको द्वन्दका पूराकथाहरूको पुनस्मरण– आत्मनिरीक्षणको पनि अपूर्व अवसर थियो यो आर्यसभ्यताको लामो यात्राको !

मधुपर्क, वर्ष ३६, अङ्क ११, पूर्णङ्क ४१८, चैत २०६०

No comments:

Post a Comment