Friday, November 25, 2011

सम्झनाः एउटा प्रकाशपुञ्जको

(ग्राम निर्माण बन्धुमण्डल क्लब, आरुबारीद्वारा २०३६ कार्तिक ३ गते आयोजित ७१ औं देवकोटा जयन्तीका अवसरमा वाचन गरिको यो कविता प्रकाशनमा कतै दिइएको थिएन । अहिले ५२ वर्ष पछि मित्र रमेशजङ्ग थापाजीको अनुरोधमा त्यही पुरानो कविता स्रष्टा दर्पणको रचना विशेषंक (२०६८ साउन–असोज अङ्कमा प्रकाशित भएकोछ । यो कविता भयो भएन, प्रतिक्रियाको अपेक्षमा छ ! –विजय)

मलाई पागल महाकविन नै प्रिय लाग्छन्,
तिमीमा मेरो शत्शत् प्रमाण !
हो.....तिमी पागल थियौं–
तिमी उन्मादी थियौ
किनकि तिमी परम्पराप्रति विद्रोही थियौं !
नूतन चिन्तनधाराको प्रवाह थियो तिमीमा
त्यसैले
हल्काफुल्का गफ, स्तुति, रक्सी, रन्डी र जुवामा खोज्नेले
तिमीलाई नपाउँदा
अरुको दृष्टिले तिमीलाई पागल देख्यो
सबैको हाँमा हाँ नमिलाउँदा
सबैले सुन्दर ठानेको बस्तुलाई तिमीले रगत
र रन्डीको नाच देख्दा
सबैले सोझै बुभ्mने भाषा भन्दा अलग्गै, बेग्लै
तिमीले आफ्नै सर्वजनीन वाणीको आविष्कार गर्दा
संसारले तिमीलाई पागल ठान्यो !
हो..., भेडाहरूको बथानमा
तिमीले आफूलाई भेडो बनाउन नसक्दा
प्रभुजी मलाई भेडो बनाऊभन्दै
ईश्वरसँग प्रार्थना ग¥यौ–
त्यही वर्गीय स्वार्थमा रङ्मङ्गिएको
भेडो समूहले
तिमीलाई पागलको संज्ञा दियो !
धरतीपुत्रको कानमा जिन्दावादको मन्त्र गुनगुनाउँदा,
इन्साफमा प्राण होम्ने सुरिलो राग गुन्जाउँदा
मनिस भएर मानिसझैं बाँच्ने हुट्हुटी दिलाउँदा
क्रान्तिलाई हुरी झैं आह्वान गर्दा
बिरोध दुईले बन्दछ भन्दै
द्वन्द्वात्मकताको दुहाइ दिँदा
परिवर्तन–समानताका विरोधी शोषक बुर्जुवाहरूले
आफ्नो वर्गीय स्वार्थको बिरोध देखेर
त्यो शाश्वत मन्त्रगायक तिमीलाई
पागल भने !
पागल, मेरा प्यारा महाकवि,
मेरो शत्....शत्...प्रणाम !
तिमीले भाट–चारणका भन्दा
बेग्लै भाषा बोल्यौे,
त्यसैले तिमी पागल थियौ–
आँखा अगाडिको, देख्न नसक्नेका भीडमा
हजारहजार गुना टाढा देख्यौं, देखायौ
त्यसैले तिमी पागल थियौ !
शोषण–उत्पीडन र अत्याचार–अन्धपरम्परासँग
तिमीले विद्रोह गर्दा
नवीन चिन्तनधाराको प्रवाह गर्नखोज्दा,
तिमी उन्मादी भनियौ !
बिन्ती, चित्त नदुखाऊ
तिमी मात्र होइन, क्रान्तिपथका अरु अरु पनि त
तिम्रै पथगामी बनेर बहुलाए भनिएका छन् धेरै, धेरै !
त्यसैले बरु बिन्ती,
एउटा नवीन सृष्टिका लागि
सैन बनेको घाउ सुकाउनका लागि
एउटा नौलो, सर्वजनीन मान्यता स्थापनाका लागि
पगलकै संज्ञा ओढेर पनि
सत्यलाई छात्ती फुकाएर सत्य नै भन्न, देख्न सक्ने 
हिम्मत जुटाउन
अनन्त आकाश झैं फैलिएको
अनन्त दिव्यदृष्टि खोल्न
आफूजस्तै तिमी हामीलाई पनि
बल देऊ, हिम्मत देऊ !
तिमीजस्तै पागल सत्यप्रेमी बन्ने प्रेरणा देऊ
देऊ, तिमी आफूजस्तै दिव्य प्रकाशपुन्ज !

No comments:

Post a Comment