Tuesday, May 14, 2013

कतै देखिएन विज्ञान !

(युवामञ्च, वर्ष २५ अङ्क १२, २०७० जेठ अङ्मा प्रकाशित  विज्ञानकथा )

–विजय चालिसे
विशाल भवनको चारैतिर कडा सुरक्षा व्यवस्था थियो । बाहिर प्रवेशद्वारमा विद्युतीय परिचयपत्र पहिचान यन्त्र थियो । त्यो पहिचान यन्त्रमा आफूले पाएको आफ्नो परिचयपत्र घुसारेर मिसिनमा दुवैहातको पञ्जा फिँजारेपछि मात्रै परिचयपत्र मिसिनले भित्र पस्ने अनुमति दिन्थ्यो । त्यसैले सही परिचयपत्र बेगर पस्न खोज्ने जोकोही पनि सजिलै समातिन्थ्यो । यदि कुनै गलत मान्छेले भित्र पस्ने दुस्साहस ग¥यो भने हातमा हरबखत आगो ओकल्न तयार हतियारहरू बोेकका सुरक्षाकर्मीहरूको हातबाट उम्कन सम्भव नै थिएन । त्यो सुरक्षा घेरा छिचोल्दा विज्ञानका पाइला सधैं गहु्रँगो हुन्थ्यो ।
विज्ञान केही समयअघि मात्रै विशेष अनुसन्धान परियोजनका लागि यो प्रयोशालामा अनुबन्धित भएको थियो । नेपालजस्तो सानो देशबाट आएर पनि अनुसन्धानको क्षेत्रमा राम्रो स्थान बनाएको थियो उसले । अध्ययनपश्चात केही समय यतै ठूला वैज्ञानिकको साथमा काम गरेर अनुभव हासिल गरी स्वदेश फर्कने सोचेर नै उसले यो अनुसन्धान योजनामा काम गर्न स्वीकारेको थियो ।
आफू अनुबन्धित रहेको त्यो विशेष अनुसन्धान परियोजना के हो भन्ने चाहिँ ऊ र उसँग काम गर्ने सहयोगी कसैलाई थाहा दिइएको थिएन । सहयोगीका रूपमा उसहित पाँचजना प्रतिभावान् वैज्ञानिक कार्यरत थिए । उनीहरूले दुईजना प्रमुख वैज्ञानिकको निर्देशनमा यो प्रयोग गर्नुपर्ने थियो । ती निर्देशक पुराना वैज्ञानिक थिए, संसारमैं नाम चलेका नोवेल पुरस्कार विजयी ! काम बारे थाहा नभए पनि त्यति ठूला वैज्ञानिकहरूसँग काम गर्न पाइने आकर्षण नै पर्याप्त थियो उनीहरूका लागि । हुन पनि ऊजस्ता नयाँ वैज्ञानिकका लागि उनीहरूसँग एक पटक भेट पाउनु त ठूलो कुुरा थियो भने सँगै काम गर्न पाउनु त कता हो कता !
  “मृत्युदण्डको सजाय पाएका ज्यानमारा अपराधीले भरिएको जेलमा पनि हुँदैनहोला यति कडा सुरक्षाव्यवस्था !” एउट वैज्ञानिक अनुसन्धान केन्द्रमा यतिबिन सुरक्षा व्यवस्था देख्दा उसलाई अचम्म लाग्थ्यो ।
गहु्रँगो पाइला सार्दै प्रवेशद्वारको परिचय पहिचान कक्षतिर लाग्यो विज्ञान । केही दिन यता  बढाइएको सुरक्षा व्यवस्था देख्दा उसलाई यो ठाउँ जेलखानाजस्तै लाग्न थालेको थियो । परिचयपत्र परीक्षक यन्त्रबाट अनुमति पाएर हतियारधारी सैनिकले ढोका खोलिदिए पनि सकिँदैनथ्यो सुरक्षाजाँच । गिद्धकाजस्ता तीखा आँखाको एक्सरेले भित्रैसम्म गडाइरहेका चिसा व्यवहारका सुरक्षाकर्मीहरू त्यसपछि पनि शरीरको भित्री अङ्गवस्त्र समेत नछाडी लुगा खोतल्थे । त्यो शरीर छामछाम छुमछुमपछि बल्ल सकिन्थ्यो दोस्रो तहको जाँच र बल्ल आ¥आफ्नो अनुसन्धान कक्षभित्र पस्न पाइन्थ्यो । त्यहीभित्र थियो उनीहरूको यो विशेष परियोजना अनुसन्धानकक्ष ! राष्ट्रिय प्राथमिकताको परियोजना थियो यो विश्वशक्ति मानिने एउटा राष्ट्रका प्रथम नागरिककै विशेष अग्रेसरतामा सञ्चालित अनुसन्धान ! यति कुरा पनि उसले पछि खण्ड खण्डमा जान्न पाएको थियो ।
उनीहरूलाई राष्ट्रप्रमुख आउने दिन विहान मात्रै त्यसको जानकारी दिइएको थियो, त्यो पनि महामहिम राष्ट्रप्रमुखको उपस्थितिरहँदासम्म आ–आफ्नो कक्षबाट ननिस्कने कडा उर्दीको रूपमा ! त्योभन्दा अगाडि सुइँको समेत पाएका थिएनन् उनीहरूलाई ।
राष्ट्रप्रमुखलाई विशेष जानकारी गराउने कक्षको सुरक्षा व्यवस्था झपनै कडा थियो । ऊजस्ता अनुसन्धान सहयोगीहरूलाई समेत त्यता जाने अनुमति थिएन । त्यो गोप्यताले परियोजना बारे जान्ने उत्सुकता तीब्र हूादै थियो विज्ञानमा । आफैंले काम गरिरहेको परियोजनाको वास्तविक लक्ष र उद्देश्य के रहेछ भन्ने जान्ने जिज्ञासा अस्वाभविक पनि थिएन । तर जान्ने कसरी ? अनुमति बेगर त्यसको सम्भावना थिएन । महामहिमलाई ब्रिफिङ गर्ने विशिष्ट कक्ष ध्वनिनियन्त्रक थियो, पूरै साउन्ड प्रुफ ! भित्रबाट बाहिरको सबै दृश्य देखिने पारदर्शी, कक्षको बाहिरबाट भने भित्रको केही नदेखिने, नसुनिने ! त्यसैले लुकेर भित्र हेर्न वा सुन्न सम्भव थिएन । त्यसो गर्ने हो भने सजिलै समातिइन्थ्यो !
तर वैज्ञानिक न थियो विज्ञान । उसलाई ध्वनिनियन्त्रक कक्ष अर्थात् साउन्डप्रुफ कक्षभित्रको आवाज सुन्न सकिने सानो यन्त्रको सम्झना भयो । केही वर्ष अघि विश्वविद्यालय नेपालमैं पढ्दा प्रोजेक्ट वर्कको रूपमा उसले त्यो यन्त्र बनाएको थियो । त्यसको दुई भाग थियो । एउटा ध्वनिनियन्त्रक कक्षबाहिरको अलि पातलो खालको झ्यालको जोर्तीतिर नदेखिने गरी घसार्न सकिने सानो पिनजस्तो चुम्वकीय ध्वनि आकर्षण खण्ड र अर्को गोजीमा रहने आफैंले माध सनिने ध्वनि प्रसारक खण्ड । आजसम्म खासै काम नआए पनि सानो भएकोले हरबखत उसको साथमैं रहन्थ्यो यो यन्त्र । उसले सोच्यो– अहिले काम आउँछ कि त यो ! त्यही सोचेर सबैको आँखा छलेर उसले त्यो सानो पिनजस्तो यन्त्रलाई भित्रको आवाज टिप्न सक्ने ठाउँ खोजेर लुकायो । भित्र राष्ट्रप्रमुखलाई ब्रिफिङ गराउने समयमा उनीहरूलाई आ–आफ्नै प्रयोगशालाकक्षमा बाहिर ननिस्कने आदेशको पालना गरिरहेका थिए । 
“अँ त...कहाँ पुग्यो तपाइँहरूको किलर भइरस प्रोजेक्ट ?” परियोजनाका बारे राष्ट्रप्रमुख बोआमाको प्रश्न थियो त्यो ।
“लगभग अन्तिम चरणमा छ, महामहिमज्यू ! सूत्र तयार भइसक्यो, आम उत्पादनका लागि काम हुँदैछ । यसबारे थप व्याख्या डा. प्mयान्टमले गर्नुहुने छ ।” परियोजना प्रमुखले अरु कुरा बुझाउने जिम्मा प्रमुख निर्देशक वैज्ञानिक डा. फ्यान्टमतिर सारे ।            
डा. फ्यान्टमले परियोजना बारे महामहिमलाई दिएको जानकारीबाट विज्ञानले थहा पायो ऊ एउटा त्यस्तो परियोजनाम काम गर्दैरहेछ जुन कामको उद्देश्य छिमेकी साना देशहरूमा जैविक आक्रमणलाई सघाउनु थियो । गुप्त रूपमा थालिएको उनीहरूको यो किलर भाइरस परियोजनाको प्रमुख उद्देश्य रहेछ खतरनाक खालको जीवाणु विकास गरेर आफूसँग सिँगौरी खेल्न खोज्ने देश र त्यसका जनतामाथि प्रयोग गर्नु ! सुनेर विज्ञानको आङै जिरिङ्ग भयो । ओहो त्यो जीवाणुयुक्त ग्यास स–साना बेलुनमा भरेर अर्को देशको चाहेको ठाउँमा छाड्दा हावाको घर्षणले रासायनिक प्रतिक्रि भएर बेलुन फुट्दा हैजाभन्दा घातक ती जीवाणु सहजै मान्छेको सम्पर्कमा आउँथे । हावामा फैलिएका ती खतरनाक जीवाणु मानिसको शरीरभित्र पसेर केही दिनमैं रक्तवीजजस्तै एकबाट लाखौंको सङ्ख्यामा बिस्तारित हुन्थे र मानिसको रक्तनलीमा प्रवेश गरी सम्पूर्ण रगत चुस्दै मुटुमा पसेर मृत्युको मुखसम् पु¥याइदिन्थे । त्यसैले आणविक हतियारभन्दा खतरनाक थियो यो थाहै नपाई लाखौंको हत्या गर्ने जीवाणु उत्पादन र प्रसारको योजना ! आफू त्यस्तो योजनाको सहयोगी बनेको सत्य थाहा पाएपछि ऊ अपराधबोधले ग्रस्त थियो ।
कतिखेर कोठामा फक्र्यो त्यो पनि होस रहेन उसलाई । कानमा एउटै कुरा गुञ्जिइरकेको थियो “वैज्ञानिक बनेर मान्छेको भलो हुने काम गर्नू ! मानिसको हितमा नयाँ नयाँ कुरा पत्ता लगाएर देशकै नाम राख्नू !”
नेपालको एउटा सानो गाउँबाट विदेशको भूमिमा छात्रवृत्ति पाएर विज्ञानमा उच्च अध्ययन गर्न भनी विदा हुँदाका बखत बाजेले भन्नुभएका शब्द थिए ती । तर...तर....? तर अहिले आफू त्यसको ठीक विपरित काममा सहयोगी बनेको उहाँले थाहा पाउनुभयो भने ....? विज्ञानले त्यसभन्दा बढी सोच्नै सकेन ।
प्रयोगशालाबाट फर्केर पनि अपराधबोधले रातभर निदाउन सकेन ऊ । आपूmले आदर्श मान्दै आएका परियोजना प्रमुख र वैज्ञानिकहरू यतिसम्म तल गिरेर मानवता विरोधी काम गर्नसक्छन् भन्ने उसले कल्पना पनि गरेको थिएन । त्यसमाथि मानवताको मसिहा भएको नाटक देखाएर कहिल्यै नथाक्ने यो मुलुकर यसका शासकवर्ग कति क्रुर र अमानवीय रहेछन्, सोच्दा पनि वाकवाकी लाग्यो उसलाई । उसका मनबाट सबै भ्रमहरू कुहिरो फाटे झैं फाट्दै थिए ।
कसरी रोक्ने यो मानवहन्ता योजनलाई ? कसलाई भन्ने यो कुरा ? उसले परियोजनाबारे थाहापाएको सुइँको मात्रै पाए भने पनि उसको ज्यान लिन सक्थे । त्यसैले संसारकै सबैभन्दा उदार प्रजातन्त्रवादी मसिहाको खोल ओढेर नौटङ्की गरे पनि विस्तारवादी नीतिको कार्यान्वयनमा कुनै लोकतान्त्रिक मूल्य, मान्यता र मानवीय आदर्श नहेर्ने यिनको यो आष्किारका योजना मानवताको बिरोधमा हल्ला गर्न पनि सक्दैनथ्यो ऊ । मानवतामाथि यतिसम्म खेलबहाड गर्न सक्ने यी अपराधीले सूचना लिक भएको थाहा उाए भने उसलाई कुनै हालतमा छाड्दैनथे र त्यो कुत्सित योजना पनि रोकिँदैनथ्यो । त्यो अवस्थामा नेपालमा भएको उसको परिवारसमेत सुरक्षित नरहन सक्थ्यो ।
यिनै अन्तद्र्वन्द्वले तूफान मच्चिएको थियो विज्ञानको मनमा । जानी नजानी त्यस्तो मानवविरोधी प्रयोगको हिस्सेदार हुनुपर्दाको पीडा उसका लागि असह्य थियो । त्यो मानवसंहार बचाउने र आफूलाई पनि कुनै आँच नआउने मध्यमार्गी बाटोको खोजमा सोच्दै सोच्दै थाकेर निदाउने गथ्र्याे । तर अहँ, जति सोच्दा पनि कुनै उपाय देख्दैनथ्यो ऊ ।
उता बाजेका कुरा घन झैं बजिरहेका हुन्थे । ऊ पनि विदेशी षडयन्त्र सफल पार्न प्रम विश्वयुद्धदेखि यताको लामो कालखण्डमा विदेशी युद्धपिपासाके हतियार बनेर अर्कैकालागि रगत बगाउने भाडाका सिपाहिँजस्तै एउटा कुतिसत अपराधग्रस्त महत्वाकाङ्क्षाको सहयोगी बन्नु नै हो त उसको नियति ? तर...तर कसरी बन्न सक्छ ऊ मानवविरोधी षडयन्त्रको अंश ! तर गर्नेेक...? मुक्तिको कुनै उपाय देख्दैन ऊ । अन्त्यमा धेरै सोचविचारपछि एउटा अठोटमा पुग्यो ऊ ! अनि मन शान्त भयो र धेरै दिनपछि मीठो निद्रा निदायो विज्ञान !  
एक हप्तापछि, हो...ठीक एक हप्तापछिको एक साँझ । सबैजसो स्टाफ निख्रिएपछि ठूलो विष्फोट सुनियो प्रयोगशालाभित्र । अनि निमेषभरमैं महान् भनिने देशको त्यो प्रयोग शाला खरानी भयो  । आगो र धुवाँको राप र आँचमा चारैतिर झलमल्ल भयो । प्रयोगशालाका प्राय सबै स्टाफ सुरक्षित भेटिए, नेपालको एउटा होनहार वैज्ञानिक विज्ञान भने देखिएन, कतै भेटिएन ! 
२०७० वैशाख १
विजय निवास, आरुबारी ।

No comments:

Post a Comment