Wednesday, May 7, 2014

सुन्दर शैली र बिम्बमा उदभाषित‘नर्थ सी को किनारबाट’.......!– विजय चालिसे


एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियोसाहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना चाहिएको थियो । अनि कृति उपलब्ध गराएपछि केही प्रतिक्रियाको अपेक्षा गर्नु हामी सर्जकको स्वाभाविक चाहना हुने भइहाल्यो । कविता पढ्न मलाई त्यतिबिन रौस नलाग्ने भए पनि सात समुद्रपारीबाट एकजना साहित्यकार मित्रको अनुरोध अस्वीकार गर्न सक्ने कुरै थिएन र मैले त्यही मुहार पुस्तिकामार्फत आफ्नो ठेगाना दिएँ । नभन्दै त्यसको दुई–तीन हप्ता जतिपछि एउटा आकर्षक पुस्तक हातप¥यो । डिमाइ आकारमा ३० वटा शक्तिसाली कविता उनिएको एउटा कवितासङ्ग्रह । कृति थियो ‘नर्थ सि को किनारबाट’ ! 
पुस्तकको शीर्षकबाटै यी कविताहरू अवश्य पनि विभिन्न कारण विदेशी भूमिमा आप्रवासन भोगिरहेको कुनै सम्वेदनशील मनको दुःख–सुख र पीडाको अनुभूतिजन्य काव्यात्मक अभिव्यक्ति हुनुपर्छ भन्ने अनुमान गर्न कठिन थिएन । पुस्तक पाएर पनि तुरुन्तै पढ्ने अवसर जुटाउन सकिएन । इमान्दारीपूर्वक भन्ने हो पढ्ने क्रममा कविता मेरो पहिलो प्रार्थमिकतामा पर्दैैंन । आख्यान, निबन्ध (नियात्रा, संस्मरण, जीवनी आदि) र आमसञ्चार पछि बचेको समयमा मात्र कविता मेरो छनोटमा पर्नेगर्छ । त्यसैले पढौंला, पढौंला भन्दैमा दिनहरू चिप्लँदै गए । पत्राचारमा अल्छी गर्ने मेरो खराब बानीका कारण पुस्तक प्राप्तिको सूचना समेत पठाउन सकेको थिइन । त्यसैबीच त्यही मुहार पुस्तिकाको विजुली हुलाक अर्थात मेसेज बक्सले बडो नम्र गुनासो बोकेर ल्यायो— “हजूर सादर नमस्कार । सम्झनास्वरूप प्रेषित गरेको मेरो पुस्तक प्राप्त गर्न सक्नुभयो कि भएन ? डेढ महिना बढी भयो पठाएको । तपाइँहरूसम्म पुगे सन्तोष मिल्ने थियो प्रिय लेखकहरूमा एक पुष्प राखेसरी । धन्यवाद ।” हुबहु यिनै थिए विजुली हुलाकले ल्याएको चिठी । दीपेन्दं्रजीको यो सन्देशले मलाई साह्रै लज्जित तुल्यो, र लाज पचाएरै पुस्तक प्राप्तिको जानकारी सहित पढेर प्रतिक्रिया पठाउने वचनबद्धता प्रकट गरेँ । मेरो त्यो वचनबद्धतापछि पनि नर्थ सी मा धेरै पानी बगिसक्यो । दीपेन्द्रजीले त मबाट कुनै प्रतिक्रिया पाउने आशा समेत मारिसक्नुभयो होला ! पढेर प्रतिक्रियाका शब्द कोर्ने जाँगर जुटाउँदा जुटाउँदै दिनहरू फेरि चिप्लँदै गए, त्यसरी नै ! क्षमा चाहन्छु दीपेन्द्रजी, आफ्नो यो दीर्घसूत्रतामा ! 
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टर, बेल्जियमद्वारा प्रकाशित डिमाई आकारमा ६२ पृष्ठमा समेटिएका यी तीस वटा कविता पढिसककेपछि भने पढ्न ढिलाइ गरेकोमा मलाई पछुतो लाग्यो । शुभेक्षामा जानकी गुरुङले भनेजस्तै “बेल्जियमको नेपाली समाजमा सक्रिय स्रष्टा र सामाजिक अभियन्ता” दीपक केसीका यी कविता “मानवीय जीवन भोगाइको साौन्दर्यपूर्ण अभिव्यक्ति वा मानवीय संवेदनाको यथार्थपरक प्रस्तुती” पो रहेछन् । स्वदेशभित्रका विसङ्गत परिस्थिति र तिनै परिस्थितिबाट सिर्जित देश र प्रियजन छाडेर बिरानो मुलुकको हिमानी र मरुभूमिका तप्त अग्निज्वाला खपेर मृत्युसँग लाप्पा खेन्न वाध्य नेपाली युवामनको पीडाको जीवन्त अभिव्यक्ति रहेछन् यी कविता ! कविको दृष्टिकोण पनि स्पष्ट छ । र त्यही स्पष्ट दृष्टिकोणभित्रै रहेर काव्य अभिव्यक्तिको गन्तव्य पछ्याउँछन् दीपेन्द्र । यो उनको कथनलाई सङ्ग्रहभित्रका कविताहरूले राम्ररी नै पुष्टी गरेका छन् । 
हो, दीपेन्द्र र दीपेन्द्रजस्ता हजारौं युवा जीवन बाँच्ने सम्बल जुटाउने महासमरमा अहिले नर्थ सीदेखि तप्त मरुभूमिसम्म दिमाग र पाखुरी चलाउँदै मोर्चाबद्ध छन् । उत्तरी सागरका सिरेटो र मध्यपूर्वका मरुभूमिका तातोसँग लाप्पा खेल्दै हर क्षण उनीहरू बाध्यतापूर्वक छाडेर आएका प्रेयसी सम्झिरहेका छन् पल पल र आफन्त प्रियजनहरू सम्झेर छटपटाइरहेका छन् मनमै । आहा कति सुन्दर अभिव्यक्ति यो विहेपछि मधुरात्री समेत नसक्दै प्रेयसी र प्रियजनलाई चटक्कै छाडेर विदेशीनु पर्दाको पीडा । हेरौं “विवश प्रणय” (पृ.४) र “यूरो, डलर, पाउण्ड र जिन्दगी” (पृ.१६) शीर्षक कविताका केही अंशः  
अझै अँध्यारै जस्तै लाग्छ
पहिलो छुट्टीमा तिमीलाई भित्र्याएर
“हनिमुन” को जुनेली बोकी हाजिरी जनाएको दिन 
पहिलै वर्षगाँठ
सम्झनै सम्झनामा 
तिमीले उता
र, मैले 
यता मनाएको दिन ।
×××
दुई वर्ष पुग्न आँटिसक्यो 
युरोको शिकारी जङ्गल पसेको
×××
आँखा जोरेको क्षण
हाँस्दै आउँछे कान्छी छोरी अँगालोमा
काखैमा आउँछ छोरो
र प्रेयसी....
अनि सिङ्गो गाउँघर
बर्बराउँछ एक क्षण 
एउटा अत्यासलाग्दो ऐंठनसँगै ।
सक्षम नहुन्जेल यही गरिब मातृभूमि र अमामाबाबुको पसिनामा नुहाएर आफूलाई शिक्षित र योग्य बनाउन सफल आजका सुविधाभोगी पुस्ता अवसर पाउनासथ विदेशी पिआर र ग्रीन कार्डको मोहनीजालमा तिनै गरिब देश र आमा बाबुृलाई वृद्धाश्रमको आश्रय लिन वाध्य पार्दै पनि रमाउन सक्ने केही अवसरवादका पुजारीहरूलाई छाडेर हेर्ने हो भने खाडीका देश र अरु एसियाली मुलुकमा पाखुरी साटन् पुगेका रेमिट्यान्स भित्र्याउने हजारौं नेपाली युृवा मनका साझा पीडा र राष्ट्रप्रेमका भावना हुन् यी दीपेन्द्रका सशक्त अभिव्यक्ति । हो, उनीहरू विदेशी नागरिकता भिरेर त्यसप्रति गर्वबोध गर्नेहरूभन्दा अलग छन् र चाँडो भन्दा चाँडो स्वदेश फर्किने सपना साँचिरहेका छन् मनभरि ! कविकै शब्दमा “आकाश खुल्दैन यहाँ तर तर जीवन चलेकै छ । कति रमणीय गृष्महरू गुज्रिए, कति कठोर शिशिरहरू आफैंसँग जुधिरहेका छाल र खबरै नगरी आउने आँधीले उथलपुथल ल्याँउछ यो किनारमा । यिनैको समिप दिन दिनै घट्दैछ संसर्ग जीवनसँग, प्रकृतिसँग र समयसँग ।” यही परिवेशमा शब्द र अर्थका संयोजनहरूमा जीवनलाई बुझ्ने अभिलाषा सुन्दर शैली र बिम्ब तथा प्रतीकमा उदभाषित छन् अधिकांश कविता ! 
हामी कति स्वदेश मैं बसेर पनि आफ्नो भाषा र संस्कृतिको उपेक्षा गर्दै विदेशी नागरिकले झैं विदेशी भाषामा बड्डाउनुलाई उन्नति ठान्दछौं, त्यसैलाई सभ्यता मान्दछौं र यसरी सबै कुरा जडौरी भिरेरै आनन्दित हुन्छौं । उता दीपेन्द्र केसीहरू राष्ट्रियता प्रतिको आशक्ति र भाषा प्रतिको मोहबाट झन् झन् खिचिन्छन् र राष्ट्रिय भाषामा भावहरूको प्रवाह गरेर आफ्नो राष्ट्रिय पहिचानको खोजीमा निमग्न हुन्छन् । हो, कवि दीपेन्द्रले भनेजस्तै उनी यी कवितामा अन्तप्रेरणाका अनुभूतिहरूमा डास्पोरिक समाजका वाध्यता, विवशता र सङ्घर्षका कथाव्यथाका साथै राष्ट्र भित्रका बेथित–विसंगति र तिनले सिर्जना गरेका विदेशिनुका पीडा आदि पक्षलाई उपयुक्त बिम्ब र प्रतीकका माध्यमबाट दरिलोसँग अभिव्यक्त हुन सफल छन् ।  
नेपालीहरू युगौंदेखि सामन्ती राज्यसत्ताको उत्पीडन, राष्ट्रिय आत्मसमर्पाणवाद तथा कुलीन वंशीय राजजनीतिको दिशाहीन तथा भेदभावपूर्ण आर्थिक–सामाजिक प्र्रणालीका बिरुद्धमा सङ्र्घषरत रहे । यसैको श्रृङ्खला थियो माओवादी जनविद्रोह । त्यसमा हजारौं विद्रोही छापामारले ज्यान गुमाए, द्वन्द्व क्रममा छापामारका साथै सेना र असङ्ख्य निर्दोष नेपाली नागरिकले ज्यान गुमाए । अन्ततः संयुक्त जनआन्दोलनले नेपाललाई नयाँ युगमा प्रवेश गरायो– गणतन्त्रको युगमा ! तर त्यस आन्दोलनको योद्धा मात्र होइन जनतासमेत आज फेरि यो गणतन्त्रमा पनि त्यत्ति नै उपेक्षित नै छ । हिजो योग्य भएर निरङ्कुशताका बिरुद्ध ज्यान अर्पँदै सङ्घर्षका मोर्चामा भिड्ने छापामारहरू इन्च टेपको हिसाबमा अयोग्यताको खिताब भिरेर अपमानित जीवन बिताउन विवश छन् आज । तिनका नेतहरू भने सत्तामद्मा तिनलाई देख्न समेत छाडेका छन् । यो यथार्थ हो जसलाई दीपेन्द्रले सुन्दर भावशैलीमा वाणी प्रदान गरेका छन् (अयोग्य छापामारलाई पृ. १०) यसरीः  
काँधमा धेरै तारा थाप्यौं
खै ? सही ग¥यौ कि गलत ?
तर अन्त्यमा अयोग्य भयौं ।
दीपकको कवि जीव र जगतलाई यथार्थको कसीमा घोटेर हेर्न चाहन्छ, मात्र भावुकतापूर्ण रोमाण्टिकताको आँखाले होइन । त्यसैले उनी गुराँस फुलेको पाखा पहराभित्रका पीडा र कष्टलाई पनि देख्छन् । राजा त्रिभुवनले जेलका कैदी देखेर “यिनले दूध भात पनि खान पाउँदैनन् ?” भने रे भन्ने अनुश्रुतिजस्तै सम्पन्नतामा बाँच्ने शहरी मान्छेलेजस्तो गुराँसको फूलभित्रको सौन्दर्य मात्र देख्दैनन् दीपक; आँसुले व्याख्या गरेको देख्छन् उनी गुराँस र सिङ्गो पाखा रोएको बिम्ब ठड्याएर ( तिमी र म पृ. १३ )।  
अन्तैको चावीबाट यन्त्रमानव झैं चल्नेहरूमा सीमा अतिक्रमण र आन्तरिक मामिलाका हस्तक्षेप रूपी बलात्कारका बिरुद्धमा अलिकति मात्रै पनि राष्ट्रप्रतिको जिम्मेवारी र स्वाभिमानबोध हुन सकेमा भोलि अरु कसैले अर्कैको नियन्त्रणमा चल्नु पर्ने थिएन कि ? (नचले हुन्न ? अरुबाट पृ. २१) भन्ने अहम् प्रश्नको प्रक्षेपण गर्दै दीपक आफ्ना कवितामा सीमानामा बलात्कार थिचोमिचो हुँदा, स्तम्भ सारेर सीमा मिचिँदा समेत केही बेल्न नसक्ने दल र तिनका नेतारू (चावी उतै छ, पृ. ३१) तिर चोरी औंला ठड्याउँछन्् । उनमा तीव्र राष्ट्रियताबोध छ र, छ पर्याप्त राष्ट्रिय स्वाभिमानको बन्दनीय अनुभूति । दीपकका यिनै जनप्रतिबद्धता, राष्ट्रप्रेमको भावना र माटोप्रतिको आस्थाले खिचरै तानिएको छ मजस्तो कविता पढ्न अल्छी मान्ने पाठक पनि यस सङ्ग्रहभित्रका कविताहरूमा ! 
हो आफ्नो माटोमा धरौटी छोडिआएको अतीतलाई सम्झँदै विदेशी माटोलाई नै बाँकी जावानी अर्पण गर्न अभिशप्त छन् आजका धेरै नेपालीहरू (शुभकामना ! जवानीको शहरलाई पृ. ३०) । तर पनि उनीहरू निराश छ्रैनन्, आस्थाको उज्यालोले मसाल सल्काएर उज्योलोको खोजीमा साथ दिने हजारौं युवाको उज्यालो खोज्न साथ दिनेहरूलाई बीचैमा छाडेर स्वार्थको खेतीगर्नेहरूलाई चुनौती दिँदै प्रतिबद्ध छन उनीहरू अब फेरि नठगिनका लागि पुनः एक पटक “झुलो–चक्मक” चलाएर नयाँ उज्यालो जन्माउन र नयाँ उज्यालो दिन (मेरो उज्यालो बोक्नेहरूसँग पृ. २५) । यही ठगाइमा परेर ओल्लो किनार, पल्लो किनार गर्दै जीवनको अधिकांश समय तुइनमा भुण्डिएरै मृत्युदर्शन गरिरहेका हजारौं सच्चा नागरिक हरेक दिन मुत्युस्पर्श गरिरहेका छन् र गोठ र गोबरमा राष्ट्रियता र नाङ्गा पाखा र खोरियामा लोकतन्त्रका साथै सिस्नु घारीमा विकास खोज्ने हजारौं सच्चा नागरिकहरू निराश निराश छन् आज ( काठमाडौंको पैतालामुनि –पृ.३२–३३) !  
कवि यी सबै बिडम्बनाका कारक ठान्छन् आफूलाई हाम्रो भाग्य विधात ठान्ने सिंहदरबारको शासकीय वृत्तमा रहेको पराधीन मानसिकता । त्यही मानसिकताले हामी आज आफ्नो निर्णय आफैं गर्न समेत नसक्ने अवस्थाम पुगिरहेका छौं (निर्णय हुन बाँकी छ –पृ.३७) सधैं सबै कुरा कतै कसैको इशारा पर्खेर मात्र गर्न अभ्यस्त बनिरहेका छौं हामी ।  यसैलेत हाम्रै सामल खाएर बाँच्नेहरूले कहिल्यै हाम्रो गीत गाएको सुनिएन, कहिल्यै  हाम्रो आफ्नो भाग्यको मीठो सिलोकसम्म लेख्ने जाँगर चलाएको देखिएन । तर पनि निराश छैन स्रष्टाको कलम, उनी शाश्वत यात्राको नयाँ शृङ्खला फेरि शुरु गर्ने उद्घोष गर्छन् विपना जन्माउने सपना (पृ. ६१) शीर्षक कविताका माध्यमबाट ।  
हो, सबै कुरा अपेक्षा गर्न सकिँदैन एउटै प्रारम्भिक कृतिमा । परिमार्जनको आवश्यकता सधैं नै रहन्छ । राता रारात महान् सृजनाको सपना देख्ने केही स्वप्नजीवीलाई बिर्सने हो भने लेखन सृजनाको लामो अभ्यासजन्य साधना पनि हो । दीपेन्द्रले सस्तो लोकप्रियताको खोजीमा लागेर पक्कै साधनाको निरन्तरतालाई बिर्सने छैनन्, यो मेरो विश्वास हो । आगामी सृजना अरु सुन्दर बन्दै जाउन्, अझै जीवनपक्षीय हुँदै जाउन्– मेरो हार्दिक शुभकामना ! 
विजय निवास
आरुबारी
 !

No comments:

Post a Comment