Thursday, June 18, 2015

कस्तो आदर्श ? –विजय चालिसे

(वैजयन्ती–३७,निबन्ध अङ्क३,वैशाख–जेठ २०७२ मा प्रकाशित) 

मानिस कुनै न कुनै आदर्शको खोजीमा हुन्छ । संभवतः हामी पनि त्यस्तै आदर्श खोजिरहेका छौं । तर यो आदर्शको खोजीमा कतै हामी आफैंलाईबिसँदै त छैनौ ? केलाइ र कसलाई आदर्श मान्ने ? के हामीले छनोट गरेका आदर्श वास्तवमैं आदर्श हुन् ? समय समयमा आन्दोलित पार्न थालेका छन् मलाई यस्ता प्रश्नहरूले । 

पश्चिमी संस्कृति, खानपान र रहनसहनतर्फ सर्वाधिक आकर्षित केही हामी सहरी युवा आफ्ना व्यवहार र आदर्शमा पनि तिनै कुरालाई महत्व दिन चाहन्छौं । विगत जनआन्दोलनमा एकातिर हज्जारौं नेपाली युवा आँखाभरि नयाँ नेपालको सपना बुन्दै ज्यान हत्केलामा राखेर सङ्घर्षमा होम्मिए, अर्कोतिर तिनै युवामध्ये केही आफूले मानेका तिनै आदर्श अर्थात् भौतिक चमकदमकको संसारतिर पलायित हुने उपक्रममा व्यस्त रहे । अरु त अरु आन्दोलन हाँक्नेहरू समेत सत्ता र अकूत सम्पत्ति आर्जनको अन्धदौडमा आदर्श र सपनाको लीलाम गर्दै गए ! विदेश पलायन हुनेहरूको आदर्श भाँडा माजेरै भएपनि कुस्त ग्रिन डलर कुम्ल्याउने रुमानी सपना थियो भौतिक सुखको पर्याप्त सुखानुभति नैतिनको आदर्श थियो ! यता क्रान्ति र युगान्तकारी परिवर्तनको लागि नेतृत्व गरिरहेछौ ंभन्नेहरू डन÷स्मगलर विदेशी एजेन्टहरूका ब्रिफकेसहरूमा कैद हुँदै गए । यो क्रम अझै रोकिएको छैन । भौतिक सुखानुभूतिको मृगमरीचिका पछि दौडिने यो दौडका सहभागीहरू दिनानुदिन बढिरहेकै छन् । 

आज हामी आफ्ना सबै कुरा बिर्सँदै छौं । हामी पश्चिमाभिमुख भएर आदर्शको खोजी गरिरहेछौं । तिनै पश्चिमा चमकदमक र टेलिभिजनका पर्दामा बलात् उभ्याइएका व्यक्तित्व अनि लादिएको संस्कृतिलाई आदर्श ठान्न थालेका छौं ? पश्चिम र पूर्वका विकट गाउँमा जन्मेर व्यक्तित्व विकास गर्दै तिनै पश्चिमी समाजमा आफूलाई इज्जतसाथ उभ्याउन सक्ने सामथ्र्य भएर पनि आफ्नै गाउँ र समाजको सेवा र विकासमा रमाउने महावीर पुन र सन्दुक रुइतहरू हाम्रा आदर्श बन्न सकेका छैनन् । न त खेलाडीको नाउँमा विदेश पुगेर देशकै बेइज्जत गर्दै लुकेर भौतिक सुख खोज्ने कतिपय कलाकार–खेलाडीलाई नैतिक थप्पड दिँदै विजयी–चर्चित बनेर आफ्नै देशको गौरव राख्न स्वदेश फर्कने खेलाडी–कलाकार पारसहरू नै हाम्रा आदर्श बन्न सकेका छन् । आफ्नै कोहीलाई आदर्श माने पनि ती कि टेलिभिजनको पर्दामा मुकुण्डो भिरेर चमकदमक साथ देखिने सोजिवका रसिला अनुहार हुन्छन्, कि त राजनीति र कथित समाज र अधिकारवादी नक्कली मुखौटाहरू ! तिनै नाउँमा विदेशी स्वार्थका झण्डा बोक्ने सुकिला अनुहार कै बिगबिगी छ अहिले । भानु,, मोती, धर्मभक्त, शुक्रराज, दशरथचन्द र गङ्गाला, देवकोटा, लेखनाथहरूलाई समेत आदर्शको श्रेणीबाट विस्थापित गरिसक्यौंहामीले । 

वास्तवमा म्याग्दीको बिकट गाउँमा जन्मेर आजका धेरै नेपाली युवाको सपनाको देश अमेरिका पुगेर उच्च शिक्षा हासिल गरिसक्दा पनि त्यहाँको चमकदमकपूर्ण जीवनसँग नलोभिई स्वदेशकै सेवामा समर्पित हुने महावीर पुनहरू हामी नेपाली युवाका वर्तमान आदर्श बन्नु पर्ने हो । विदेशमा इज्जतको जीवन बाँच्न सक्ने भएर पनि स्वदेशका निमुखा नेपालीलाई जीवनदृष्टि बाँडिरहेका रुइतहरूले हाम्रो आदर्श बन्ने सामथ्र्य राख्नुपर्ने हो । यी केही उदाहरण मात्र हुन्, जो हाम्रा आदर्श बन्न सक्ने सामथ्र्य राख्छन्, –यस्ता आदर्श व्यक्तित्व समाजका प्रत्येक क्षेत्रमा पाइन्छन् चाहे त्यो राजनीति होस्, मूल्यपरक कला–साहित्य होस्, विज्ञान र प्रविधि होस वा समाजका अन्य क्षेत्र हुन् । 

कति विडम्बनापूर्ण समय बाँचिरहेछौं हामी । विश्वका अरु युवाहरुजस्तै सरहरबजारका अवशरप्राप्त हामी जतिबेला “भ्यालेण्टाइन डे” को ज्वरग्रस्त उन्मादमा हराउँदै छौंं । त्यही उन्मादमा उन्मुक्त प्रेम साट्न व्यस्त थियौं ठीक त्यति नै बेला हाम्रा दिदीवहिनीका यौवन स्वदेशर विदेशी माटोमा लुटिँर्दै छन् । प्रेमले शाश्वतता गुमाएको छ । भ्यालेन्टाइन प्रेममा यौवनको कच्चा मस्तीलाई नै यथार्थ प्रेम मान्न थालेकेछे म आजको भ्यालेन्टाइन पुस्ता । 

समाज एकातिर सहरी सभ्यताको नाउँमा बाहिरी संस्कृतिको अन्धानुकरण गर्नमा आँखा चिम्लिएर दौडिरहेको छ,अर्कातिर यही समाजको ठूलो हिस्सा सामान्य स्वतन्त्रतासमेत उपभोग गर्न नपाएर अझै सभ्यताको आदिम जीवन भोग्न वाध्य बनिरहेको छ । एकातिर हाम्रो समाज आफ्रनो बहुमूल्य निधि र संस्कृतिक पक्षहरुलाई बाहिरी लहैलहैमा लागेर त्यग्दै स्वच्छन्दता र नियन्त्रणहीन उन्मुुक्ततालाई आधुनिक सभ्यताको पहिचान ठान्दैछ,अर्कातिर बोक्सी र छूवाछूतजस्ता सामाजिक सभ्यताका अभिशापबाट मुक्त हुन निरन्तर छट्पटाइरहेको छ । आफ्नो इतिहासका हरेक गर्वसूचक घटनाहरूलाई विस्मृतिको चिहानमा पुरेर सात समुद्र पारिका सन्त भ्यालेण्टाइनको प्रेमगाथा घोकेर आयातीत प्रेमदिवशको नशामा उन्मादग्रस्त बन्ने गरेको छ अहिले सहरी युवा पुस्ता  । 

प्रेम मानवीय सौन्दर्य हो, जीवनको शाश्वत पक्ष ! यो सडक प्रदर्शनको कुरापनिहोइन सायद्, यो त दुईजनाबीचको समर्पणको नितान्त व्यक्तिगत कार्यव्यापार हो । यसलाई सडक,पार्क र होटेल केविनका मधुरो रोमाञ्चक प्रकाश तथा उत्तेजक संगीतको रमाइलोमा रागात्मक शारीरिक आर्षणसँग साटेर प्राप्त गर्न सकिंदैन । हाम्र आफ्ना पनि पे्रमाभिव्यक्ति गर्नेे धेरै संस्कृतिक अवसरहरु छन्,पर्व र दिवशहरु छन् । रोदी घरमा शाश्वत मायाप्रीति साट्ने हाम्रो आफ्रनै संस्कृतिक परम्परा छ । दोहरीमा मन जितेर जीवन साथी रोज्ने हाम्रो आफ्नै अभ्यास छ । देउडामा मन मिल्ने साथी रोज्ने र उसलाई जीवन साथी बनाउने नेपाली संस्कृतिकै सुन्दर अभयास छ । ऋतुराज वसन्तको यो उत्सव हाम्रो आफ्नै प्रेम दिवश होइन र ? बहुसंस्कृतियुक्त हाम्रो समाजमा खोजिपसे युवाह्रदयका प्रेम भावना साटासाट गर्नेे यस्ता अरु पनि धेरै अभ्यास र अवसरहरु प्रसस्त फेला पर्नेछन् । यिनमा यौनजन्य आकर्षणभन्दा बढी भावात्मक प्रेमको शाश्वतता हुने गर्छ,जुन पश्चिमी बजार नियन्त्रित उपभोक्तवादी समाज र संस्कृतिको खुलापनमा पाइन सहज छैन । चाहे त्यो खुला बजारमा गरिने प्रेम प्रदर्शन होस् वा शारीरिक आशक्तिको जालो फाल्ने स्वअस्मिता गुमाएर आफूलाई उपभोग्य बस्तुमा अनुवाद गर्ने कथित आधुनिकता होस् ।  

हाम्रो पूर्वीय समाज खोलेर उदाङ्गो पार्नुमा होइन आवश्यक मात्रामा छोपिनुबाट सौन्दयको आकर्षण तथा कौतुहलको सिर्जना हुन्छ भन्नेमा विश्वास गर्छ । ठीक ढङ्गमा छोपिएको शरीरले जति आकर्षित गर्छ,सर्वाङ्ग खुला शरीरले त्यो आकर्षण दिन सक्तैन । यसले यौन उत्तेजना बढाउला, क्ष्ििणक रतिरागात्मक आकर्षण देला । चिरस्थायी आकर्षण र शाश्वत सौन्दर्यको चिरस्थायी प्रभाव भने यसले दिन सक्तैन । किनक अश्लीलता यौनविकृतिको विकासमा सहयोगी बन्ला, सौन्दर्यको मानक बन्न सक्तैन । यही कुरा प्रेमजस्तो मानवीय सभ्यताको महत्वपूर्ण र उच्चतम आविष्कारमा पनि लागु हुन्छ । प्रेम नितान्त निजी कुरा हो, यसको अर्थ गहन हुन्छ । यसले सडक, होटेल र पार्कको खुला प्रदर्शनबाट सही अर्थग्रहण गर्न सक्तैन । तसर्थ पश्चिमा शैलीका प्रेम दिवशहरुका नाउँमा उपहार साटासाट गर्नु र आफूले मनपराएकाहरुसँग प्रेम प्रकट गर्नुसम्म ठीकै हो, वाहिरी नै भए पनि यस्ता अवसरलाई प्रेमको भावना फैलाउने तर्फ संयमित अनुकरणसम्म राम्रै होला । तर यस्ता अवसरहरुमा देखिन थालेका उपहारसँगै एकआपसमा धेरैकुराहरु साट्ने प्रवृत्तिले विकृति मात्र बढ्ने कुरामा समयछँदै ध्यान पु¥याउन नपर्ला र ?  

विज्ञापनमा सुन्दर शरीरको बिस्कुन फिंजाउने बहुराष्ट्रिय भपभोक्तामुखी व्यापारिक जालोमा खेलौना बनेर हामीले आफ्नो पूर्वीय मूल्य विपरित लज्जालाई त्याग्न थालेका छौं, आदर्श विशर्जन गर्न थालेकाछौं । मिस हजुरआमादेखि मिस नातिनीसम्मका सौन्दर्य प्रदर्शनमा आफूलाई उपभोग्य बस्तुमा बनाउनुलाई नारी स्वतन्त्रताको पर्याय ठान्न ठालेकाछौं । लाग्छ, यस्तै आदर्शको खोजी गर्दैजाँदा इडियटबक्सका पर्दामा उभ्याइएका कृत्रिम आदर्श नै भोलिका यथार्थ आदर्श बन्न बेर छैन । प्रेमदिवशको नाउँमा भित्रिएको भ्यालेण्टाइन डेजस्तै अब तिनै पर्दा मार्फत हाम्रा शहरी बैठककोठामा ब्राजिलियन कार्निभलमा देखिने नाङ्गा महिलाहरुको उन्मुक्त र उत्तेजक साम्भा नृत्यको नेपालीसंस्करण सुरुहुन बेर लाग्नेछैन । कतिपय कुरा समाज, परंपर र जातीय संस्कारसापेक्ष हुनेगर्छन् । युरोपेली समाजमा बीच सडकमा युवायुवती आलिङ्गनबद्धभएर ओठ, गाला र शरीरका अङ्ग–प्रत्यङ्ग चाटाचाट र चुसाचुस गर्नु तिनको सभ्यता सुहाउँदो होला, संस्कृतिअनुकूल होला ! के तिनै कुरा पूर्वीय समाज र सभ्यतामा सुसंस्कृत मानिनसक्छन् ? हामी नाङ्गिनुलाई अश्लील मान्छौं, उनीहरु नमान्न सक्छन् । यसबाट भूगोल र संस्कृतिको पार्थक्य प्रष्ट हुादैन र ? 

परिवर्तित मान्यता र पश्चिमी संस्कृतिको भेलले बगाइएका आजका हामी नवपुस्ताका “सभ्य आधुनिक” नेपालीहरुको दृष्टिमा गुप्ताङ्ग र कुचाङ्गमात्र छोपिएको शरीरमा देखिने ब्राजिलका साम्भा नृत्याङ्गनाहरुको त्यो रुप नाङ्गो नमानिन सक्छ । “सहरी सभ्यहरु” को बहुसङ्ख्यामा स्वसंस्कृति र स्वमूल्यको कुरागर्नेहरु गँवार र असभ्य पनि ठहरिन सक्छन् । आजको मोहनी अर्थात “ग्ल्यामर”को उन्मादले राजनीतिदेखि पेशा–व्यवसाय सबैलाई बेसरी गाँजिरहेको छ । आज हरेक संपादक आफ्नो प्रकाशन विकाउने मूल मन्त्र ग्ल्यामरलाई ठान्दछ । आजका हामी लेखक ग्ल्यामर कै खोजीमा भौंतार्रिंदै छौं । हामी पाठक गंभीकुराबाट परै बस्न रुचाउँछौं र ग्ल्यामरको नाउँमा हल्काफुल्का कुरालाई आजको आवश्यकता सिद्धगर्न कम्मर कसेर शीर्षासन गर्छौं । लाग्छ, गंंभीर कुराको कुनै आवश्यकता छैन ! काकाकुल झैं ग्ल्यामरको खोजीमा छौं, ग्ल्यामरको मृगमरीचिकामा भौंतार्रिंदै छौं । हामी समवेत स्वर सुनिरहेका छौं– ग्ल्यामर चाहियो, ग्ल्यामर ! लोभ्याउने, आकर्षित गर्ने र लैङ्गिक भेदबाट आकर्षण जागृत गर्ने विपरित लिङ्गप्रतिको रागात्मक आकर्षण अर्थात ग्ल्यामर प्रति हामी निकै आशक्त हुँदै छौं, व्यामोहित छौं र यस कै प्रतिफल आफ्ना मूल्य–मान्यतामा भन्दा अरुका  कुराहरुमा बढी लोभिन थालेका छौं । 

अरुको प्रति हाम्रो अत्यधिक मोह र सूचना साम्राज्यको मोहनी जालले दशैं तिहारलाई कप्लक्कै निलेर क्रिसमस डे र गुड फ्राइ डेको जालोमा पार्न सुरु गरिसकेको छ । दियो जलाएर बत्तीजस्तै अँध्यारो मास्ने उज्जल र दीर्घ तथा भावि जीवनको कामना गर्ने जन्मदिवसले उज्यालोको खोजी गर्न छाडेको छ । आज बलेको मैनबत्ती समेत निभाउँदै पश्चिमी धूनमा जिउ मर्काएर कस्तो जीवनको कामना गरिरहेका छौ ? यसो भन्नेको नामको पछाडि “सभ्यता नजानेको गँवार” विशेषण जोडिन सक्छ । हाम्रा सनही, मुर्चुङ्गा, मुरली, नर्सिङ्घा र मादलहरु अर्केष्ट्रा र व्याण्डको भीडमा हराउन थालेका छन् । पप, डिस्को, क्याब्रे, ब्रेकजस्ता “डान्स” हाम्रा आदर्शमा परिणत भइरहेकाछन् । हाम्रा मारुनी, रोदी, द्यौडा, दोहोरी, मारुनी, रत्यौलीसबै विस्थापित बनिरहेकाछन् । ठूला माछाले साना माछालाई कप्लक्कै निल्नुको मत्स्यन्याय शाश्वत सत्य हो । विश्वसूचना साम्राज्यका नियन्ता पश्चिमी संस्कृतिको सुरसामुखमा राष्ट्रिय–जातीय संस्कृति एकपछि अर्कोनिलिँदैछन् । हामी साना माछाहरु रमाई, रमाई तिनको मुखभित्र खुसीखुसींरमाउँदै प्रवेश गरिरहेका छौं ।

हामी खोज्नसक्दैनौं हाम्रो परिचय पश्चिमी अभ्यास र अनुकरणमा । रङ्गीन प्वाँख घुसारेर जसरी कौवा मयुर बन्न सक्दैन, अर्काको जडौरी भिरेर निश्चय पनि हामी हामी बन्न सक्दैनौं । हामीले हाम्रो आफ्नै आदर्शको निर्माण गर्नुपर्छ ! 
२०७१ फागुन १८विजयनिवास, आरुबारी ।


No comments:

Post a Comment