Friday, August 14, 2015

हडताल –विजय चालिसे


(मधुपर्क लघुकथा विशेषाङ पूर्णाङ्क ५५५, वर्ष ४८, अंक ४, भदौ २०७२ मा प्रकाशित)

अस्पताल बाहिर विरामीहरूको खचाखच भीड थियो । चारैतिर कोलाहल मच्चिएको छ । पीडा मिसिएको दर्दनाक आवाजले वातावरण ढाकिएको भिजेको छ– ऐया .....दुख्यो....! लौन नि मर्नै लागेँ !
”डाक्टरसाब’ लौन बिन्ती  छ । दुईदिनदेखि पेट दुख्यो भनेर एकनासले छटपटाइ रहेको छ । थाम्नै मुस्किल परिसक्यो ! गाउँका अहेव  एपेन्डिस होकि के पो भन्थे । उता उपचार नहुने भनेर यता पठाका’ । फुट्योभने ज्यानै जान्छ रे’ डाक्टरसाब, लौन मेरो छोराको ज्यान बचाइदिनुप¥यो !” आाखाबाट भलभलती आाशु झारिरहेकी एकजना प्रौढ महिला विन्तीभाप गरिरहेकी हुन्छिन् ।
”हामी त हडतालमा छौं । हाम्रा कुन्नि कोहो डाक्साबको भोकहडताल नरोकिई बाहिरी विरामी नहेर्ने सर्कुलर छ । त्यसैले हामी केही गर्न सक्दैनौं, आमा !” एकजना चिकित्सकजस्ता लाग्ने सेतो एप्रोनधारीबाट जवाफ आउँछ ।
”लौन....डाक्टरसाब’ विरामीको ज्यानै जान लागिसक्यो । .....केही त गर्नोस् !” अर्को कुनाबाट त्यस्तै असहाय आवाज सुनिन्छ ।
“यहाँ त केही गर्न सकिँदैंन । बरु ऊ त्याँ’को नर्सिङहोम लगिराख्नोस्, म त्यहीँ गएर हेरौंला !” चिकित्सकजस्ता लाग्ने तिनै स्वेतवस्त्रधारी व्यक्तिको मसिनो स्वर निस्कन्छ । उनी विरामीका आफन्तहरू तर्फ सम्बोधित हुन्छन् !
वरिपरिका मानिसको आँखामा तीब्र जिज्ञासा देखिन्छ । तिनैमध्ये एकजना मुख फोरेरै भन्छन्– “होइन डाक्टरसाब’ निजी अस्पतालमा उपचारगर्न चाहिँ हड्तालले रोक्दैन ?”
“तपाइँ कुरै बुझ्नुहुन्न, सार्वजनिक अस्पतालमा पो हड्ताल त ! निजीमा काम गर्न कसले रोककोे छ र !” तिनै स्वेतएप्रोनधारी व्यक्तिको जवाफ थियो !              
२०७१ चैत २०
विजय निवास, आरुबारी ।

No comments:

Post a Comment