Saturday, March 11, 2017

सरकारसँग पुस्तक तथा साहित्य प्रकाश्नसम्बन्धीस्पष्ट नीति नै छैन

४।   मध्यान्ह        शनिवार २८ फागुन २०७३, ११ मार्च २०१७, Saturday


काठमाडौंको आरुबारीमा जन्मिएर सोही ठाउँलाई कर्मथलो बनाउँदै आएका वरिष्ठ साहित्यकार विजय चालिसे
चार दर्जाभन्दा बढी कृतिका कृतिकार हुन् । गोरखापत्र संस्थानको अध्यक्षसमेत भएर काम गरिसकेका
सर्जक, वरिष्ठ साहित्यकार चालिसेसँग मध्यान्ह शनिवारका लागि रामकुमार पण्डित क्षेत्रीले लिएको
न्तर्वार्ता ।
साहित्यको कुन चाहिँ विधामा लेख्न र पढ्न रुचि राख्नु हुन्छ ?

मेरो लेखनको मूल पक्ष आख्यान (कथा) नै हो । कथापछि नियात्रा र बालसाहित्य पनि मैले अत्यन्त रुचिपूर्वक लेख्दै आएका विधा हुन् । मैले साहित्यका पं्राय सबै विधा– कथा, उपन्यास, लोकसाहित्य अनुसन्धान, निबन्ध, नियात्रा, नाटक, हास्यव्यङ्ग्य, कविता,  आमसञ्चार र पत्रिकारिताका साथै समीक्षा तथा समसामयिक राजनीतिक विषयमा पनि कलम चलाएको छु । ती सबै सङ्गृहीत गर्ने हो भने हरेक विधा–उपविधाका छुट्छुट्टै कृति तयार हुन्छन् । त्यसो भए पनि म आफूलाई मूलतः कथाकार ठान्दछु र अनि नियात्राकार र बालसाहित्यकार । त्यसपछि मात्र अरु । नेपाली साहित्यको इतिहास लेखक र समालोचकहरूको मूल्याङ्कनमा पनि मेरो कथाकार र नियात्राकार र बालसाहित्यकार व्यक्तित्व नै अरुभन्दा अगाडि छन् ।

सुरु सुरुमा कविता लेखेर साहित्य साधना सुरु गरे पनि समाज, परिवेश र चरित्रको यथार्थपरक चित्रणमा र अभिव्यक्तिका लागि मलाई कथा विधा नै सर्वाधिक सहज र प्रभावकारी लाग्छ । यसैले प्रमुख विधाका रूपमा म कथा लेख्ने गर्छु । साहित्यका विविध विधाका आफ्ना आफ्ना अलग महत्व छन् । कहिले आफूले भन्न खोजेको कुरालाई कथाका माध्यमद्वारा प्रभावकारी अभिव्यक्ति दिनसकिनेजस्तो लाग्छ, र कथा लेख्छु । कथामा पनि आधुनिक विज्ञानको अधारमा भावी विश्वको परिघटना हेर्दा तिनलाई विज्ञानकथाबाट प्रकट गर्न सकिने विश्वासमा म विज्ञानकथा पनि समान रूपमा लेख्छु । कहिले कतै घुम्ने अवसर पाउँछु, अनि मनमा उठेका अनुभव र अनुभूतिलाई निजात्मक अनुभवका रूपमा नियात्रा निबन्धमा पोखिन खोज्छु । सबैको विवरण लेख्नु सायद जरुरी नहोला ।

यसैले मेरो पठन  अभिरुचि पनि आख्यन् (कथा उपन्यास) मैं बढी छ । त्यसपछि म जीवनी संस्मरण, नियात्रा र बिन्धहरू पढ्न बढी रुचाउँछु ।

भनिन्छ एउटा रचना राम्रो लेख्न अरूका सयवटा रचना पढ्नु पर्छ । यस भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ?

एकदमैं सत्य लाग्छ यो भनाइ । नेपाली लगायत विश्वसाहित्यका उत्कृष्ट र स्तरीय साहित्यको अध्यनले कुनै पनि लेखकको दृष्टिकोणलाई फराकिलो र गम्भीर बनाउँछ ।

एउटा लेखकले भएजति सबैको पुस्तक पढ्न सम्भव हुँदैन । पुस्तकै मात्र पढ्ने हो भने लेख्ने कुन बेला भन्ने समस्या आउन सक्छ । यसलाई यहाँले कसरी लिनु भएको छ ?

यसैले त छनोटको महत्वपूर्ण भूमिका रहन्छ । स्रष्टा र सृजना दुवैका आधारमा प्रतिनिधिमूलक कृतिहरूको सूची बनाएर पठनअभ्यासलाई अगि बढाउनु उपयुक्त होला कि ? संसारभरमा प्रकाशित त के कुरा नेली भाषाकैं पनि सबै कृति पढ्न सकिँदैन । त्यसैले मानवीय दृष्टिकोण र साहित्यिक मूल्यका कृतिको छनोट गर्नु आवश्यक छ । यसका लगि पूजीँवादी अर्थतन्त्रको प्रमुख हतियार विज्ञापनबजारमा पोखिएका भ्रमबाट भने मुक्त पर्छ । बढी चर्चामा आउनु र ठूला ठूला सञ्चारमाध्यमका प्रायोजित विज्ञापनजन्य टिप्पणी, समीक्षा र स्तम्भ भरमार लेखिनु–लेखाइनु र छापिनुले मात्र स्तरीयताको निर्धारण गदैन । यसको आधारमा मात्रै कुनै कृति मात्र मानवीय दृष्टिकोण र साहित्यिक मूल्ययुक्त छ भन्न सकिँदैन । हो, तपाइँ हामी कतिजना आफैंले कुनै बेला स्तरीय र आदर्श मानेका कतिपय व्यक्तित्वसमेत पूजीबजारको तिनै विज्ञापन निर्माताहरूसँग बिकिरहेको देख्दा तिनले गरेका कृतिको धुवाँदार प्रशंशालाई नै सत्य ठान्ने भ्रममा पर्ने सम्भावना पनि नरहेको होइन । यस्तै भ्रममले सही अर्थमा मूल्यमा आधारित नेपाली माटोको सुगन्ध बोक्ने कृति र व्यक्तित्व भिल्लका देशका मणि बनिरहेका छन् । रातारात प्राज्ञत्वको थेग्नै नसक्ने भारी बोकाएर वरिष्ठ बनाइने दलीय राजनीतिको कसीजस्तै रातारात महान् लेखक जन्माउने वर्तमान अभ्यास कतिपय सही ठाउँमा परेपनि अधिकांश विज्ञापन कलाको बल छउन्जेलमात्र प्रभावकारी हुन्छ भन्नु अनुपयुक्त नठानिएला ! हाम्रो छनोट यो भ्रमबाट मुक्त रहनुपर्छ । यसका लागि पुराना लेखकका कालजय कृति र यस्ता अत्यधिक चर्चामा आएका र नआएका समकालीन साहित्यकारका प्रतिनिधिमूलक केही पुस्तकको आध्ययन गरेर आफैं पनि सही छनोटको अभ्यास गर्नसकिन्छ कि जस्तो लाग्छ ।

भर्खरै लेख्न सुरु गरेकाहरूले अध्ययन कम गरेको भरमै धेरै लेखेका देखिन्छ । यसरी लेख्नेहरूको लेखाइमा गुणात्मकता नभएको भन्ने पाठकीय गुनासो सुनिन्छ । उनीहरूलाई कस्तो सुझाउ उपयुक्त होला ?

धेरै लेख्नु खराब कुरा होइन तर धेरै लेख्नुभन्दा थोरै लेखे पनि रामै्र लेखूँ भन्ने सोच राख्नु बढी आवश्यक होजस्तो लाग्छ । आखिर धेरै लेखे पनि थोरै लेखे पनि लेखिएका सबै कृति वा रचना उत्तिकै स्तरीय र उत्कृष्ट हुन्छन् भन्न सकिन्न, हुँदैन पनि ! त्यसैले लेख्ने र पढ्ने दुवै कुरा समय खोज्ने बौद्धिक कार्य हुन् । यी दुवैलाई यथासम्भव समय दिनु स्तरीय लेखनका लागि निश्चय नै उयुक्त हुनजान्छ । स्तरीय  र गम्भीर लेखनका लागि अवश्य नै बढीभन्दा बढी अध्ययनको खाँचो रहन्छ । यसबाट आफ्नो लेखनमा शैली, विचार र कला पक्षमा सुधार ल्याउन सहयोग मिल्छ । तर यस प्रक्रियामा सोझो प्रभाव र शैलीग्रहणको अनुकरणबाट भने जोगिनु जरुरी छ ।

विशेष गरी युवा पुस्ता र नारी स्रष्टाहरूले प्रेमको विषयलाई जोड दिएका पाइन्छन् । उनीहरूले माया प्रेममै लेख्नु पर्ने हो कि देश प्रेममा पनि ?

प्रेम शाश्वत छ । आफू, आफ्ना परिवार, समाज र देशलाई माया गर्ननसक्ने मान्छे यथार्थमा न इमानन्दार र समर्पित लेखक  बन्न सक्छ, न आफूलाई जन्माइ हुर्काइ योग्य बनाउने माटो र राष्ट्रको सपुत नै बन्न सक्छ । त्यसैले प्रेमका विषयमा लेखिनुलाई अस्वाभाविक र असान्दर्भिक भन्न हुन्न । तर त्यो प्रेम विषयको लेखनलाई “आधुनिक, उदार र खुलासमाजको लागि” भन्दै लेखिएका आजका केही नाङ्गा लेखनजस्तो भने हुनुहुन्न । मात्र शारीरिक आकर्षण र यौनभावनाको उत्प्रेरक बन्ने लोभबाट मुक्त भई शाश्वत प्रेम विषयलाई आख्यानको विषबस्तु बनाइन्छ भने त्यसलाई बेठीक भन्न सकिँदैन ।
 
यहाँको रचनाहरूमा देश प्रेम प्रशस्तै पाइन्छन् । एउटा लेखकले आफ्नो रचनाबाट राजनीतिज्ञलाई प्रभाव पार्न सक्ला ? सक्छ भने कसरी ?
राजनीतिज्ञ भनिनेहरूमा पठनशीलता छ र तिनीहरूसम्म यस्ता साहित्यबारे जानकारी पु¥याउन सहयोग गर्ने इमान्दार तथा बिकाउ मनोविज्ञानबाट मुक्त निष्पक्ष समीक्षक र समालोचनाको अभ्यास हुने हो भने नेपाली सािहत्यमा लेखिएका राष्ट्रिय स्वाभिमानप्रति  सचेत जुनसुकै लेखनबाट प्रभाव पुग्न सक्छ । हिजो हेर्नुहोस्, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, महाकवि देवकोटा, ह्रृदयचन्द्र सिंह, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद  रिमाल, रमेश विकल पारिजात, मोदनाथ प्रश्रित लगायतका अग्रगामी सृजनाहरूकै जगमा विकसित राजनीतिक आन्दोलनहरूले ठूला ठूला परिवर्तन ल्याएको हाम्रै इतिहास छ । युरोपेली साहित्यमा पनि यस्ता अनेकौं दृष्टान्त पाइन्छन् ।

विकसित देशको तुलनामा हाम्रो देशमा साहित्यिक पाठक कम छन् । झन् आजकालको आधुनिक प्रविधिले धेरैको पढ्ने बानी नै हटेको छ । यस्तो चुनौतीलाई सामना कसरी गर्ने होला ?
निश्चय नै हाम्रो देशमा पढ्ने बानी बसेको जनसङ्ख्या अत्यधिक न्यून छ । एक त साक्षरताको सङ्ख्या नै कम छ, अर्को पढ्न चाहनेको पनि इच्छा अनुसार क्रय क्षमता हुँदैन । हो, हिजोको तुलनामा विशेष गरी बोर्डिङ नामधारी अङ्ग्रेजी माध्यमका उत्पादन र एघार–बाह्र कक्षाका विद्यार्थीहरूमा अलि बढी पठनशीलता देखिन्छ, तर तिनको रुचि नेपालीभन्दा बढी अङ्ग्रेजी भाषामा लेखिएका विदेशी लेखकका कृति तर्फ एकोहारिएको छ । यसले नेपाली साहित्यको पाठकमा अझै ह्रास आइरहेको तर्फ तथ्यले इङ्ति गर्छ । विज्ञापन कला नबुझेका प्रकाशक र तिनका सहयोगी लेखक–टिप्पणीकर्ताहरूको पुस्तकले प्रकाशनको उज्यालो देख्न पाएको छैन । “फलानो लेखकको फलानो कृति यति लाख बिक्यो, यति दिन वा महिनामैं यति संस्करण छापियो, फलानो लेखकसँग यस्तो कृति लेखाउन यति यति लाखको सम्झौता गरियो” भन्नेजस्ता “विज्ञापनस्टन्ट” को विश्वास गर्ने हो भने मात्रै, नत्र कुनै पनि बस्तुगत तथ्याङ्कले केही मात्रामा पाठक बढे पनि त्यस्तो नाटकीय वृद्धि भएको देखिन्न । यस पृष्ठभूमिमा भोलिका पाठक निर्माण तर्पm नै बढी ध्यान जानु पर्लाजस्तो लाग्छ । यसका लागि सरकारी नीतिमैं टोलटोलमा पुस्तकालय र अध्ययन केन्द्रहरूको निर्माण, दुर्गम गाउँघरमा घुम्ती पुस्तकालयको अभ्यास, अभिवाकमा आफ्ना छोराछोरीलाई पाठ्यपुस्तकका अतिरिक्त स्तरीय र उपयुक्त अतिरिक्त पुस्तक पढ्ने तर्फ प्रेरित गर्ने उत्प्रेरणा, प्रकाशकहरूमा रातारात कमाउने लोभका अतिरिक्त नेपाली साहित्यका नयाँ–पुराना स्तरीय र कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशनका लागि सस्ता गोजी संस्करणको प्रकाशनमा सक्दो योगदान गर्नु पर्छ । सरकारले पनि नेपाली साहित्यका नयाँ–पुराना स्तरीय कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन सामग्रीमा भन्सार छूट दिने र निश्चित प्रतिको खरिद गर्नुका साथै आयकरमा केही प्रतिशत कमी गर्ने नीति अख्तियार गरेर सहयोग पु¥याउनु राम्रो हुने छ ।  

यहाँले बाल साहित्यमा धेरै कलम चलाउनु भएको छ । यसको खास कारण के होला ?

पहिलो त हाम्रो पालासम्म पाइने कथावाचनको परम्परागत अभ्यासले नै यसतर्फ लाग्न प्रेरित गरेको हो । हिउँदमा मकै स¥याउँदा साँझ वा राती ननिदाउन्जेल काम सघाउन आउने बूढापाले सुनाएका दन्ते कथा, लोकथा केही भए पनि सुन्ने अवसर पाइन्थ्यो । ती कथाहरूले कल्पनाशीलताका साथै जीवन र जगतका बारेमा औपचारिक पाठ्यपुस्तकले भन्दा बढी ज्ञान दिन्थे । अर्कोतिर तिनका कथा भन्ने शैलीले लेखन र शैलीगत विकासमा समेत मार्गदर्शंन गर्थे । तिनैबाट प्रभावित भएर “मैले पनि लेखे त होला नि ?” भन्ने लाग्थ्यो । घरमा पिताजीलाई भेट्न ठूलाठूला साहित्यकारहरू आउनुहुन्थ्यो । उहाँहरूलाई देख्दा अहो लेख्यो भने त यस्तो भइनेरहेछ भन्ने लाग्थ्यो । त्यतिमात्र नभई पत्रपत्रिकामा अरूको नाम छापिएको लेखहरू पढ्दा आफ्नो पनि यसरी नै नाम छापिएहुन्थ्यो भन्ने रहर जाग्थ्यो । यिनै कुराहरूले लेख्न प्रेरित गरे सायद र लेख्न थालेँ, पहिलो बालकथा २०२८ सालमा गोर्खापत्र दैनिकमा छापियो ।

अर्को कारण हामीले आफ्नो बाल्यकालमा धेरै बालसाहित्यका पुस्तक देख्न पाएनौ । पछिल्लो पुस्तामा त्यो अभाव पूरा गर्न आफ्नो तर्फबाट पनि केही सहयोग गर्न सकिन्छ कि भन्ने लागेर पनि यतातिर लागेको हुँ । साथै बालसाहित्यको नाउँमा अधिकांश लेखन कि त पुराना सहित्यका पुनर्कथनमा सीमित भएजस्तो लाग्यो, कि त प्रयोगका नाउँमा विदेशी आइएनजिओद्वारा निर्देिशत लेखनलाई नै मूलधारको बालसाहित्य ठान्नु पर्ने खतरा बढ्दै गएको देखियो । यस पृष्ठभूमिमा बालबालिकालाई वैज्ञानिक दृष्टि र चेतयुक्त कुराका साथै राष्ट्रिप्रेमको भावना पनि बालसाहित्यको माध्यमद्वारा दिन सकिन्छ कि भनेर पनि यसतर्फ लागेको हुँ ।  

बाल साहित्यको बजार राम्रो हुनुको मतलब, अब बिस्तारै साहित्यको भविष्य तयार हुँदै गरेको त होइन ?

हो, बाल साहित्यको बजार राम्रो हुनुको अर्थ बिस्तारै साहित्यको भविष्य तयार हुँदै गर्नुको सङ्केत मान्न सकिन्छ । अहिले बालसाहित्यका पाठक केही भए पनि बढेकै देखिन्छन् । अभिभावकहरूमा छोराछोरीलाई पाठ्यपुस्तक बाहेक अरु पढ्न दिनुहुँदैन भन्ने पुरानो धारणा फेरिन थालेको छ । विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने र बालसाहित्य पठनमा प्रोत्साहन दिने प्रवृत्ति बढ्दै गएको छ । बालसमूह, बालक्लबजस्ता बालकेन्द्रित तथा सञ्चालित संस्थाहरूको विकास हुनुका साथै बालसाहित्यका भित्ते पत्रिका, बालपत्रिका आदि प्रंकाशनको अभ्यासका कारण बालबालिकामा बालसाहित्यप्रतिको आकर्ष बढिरहेको छ । यो अवश्य नै भविष्यमा साहित्यका पाठक बढने सङ्केत हो । केटाकेटीमा बालसाहित्य पढ्ने बानी बसिसकेको बालपाठक भोलि ठूलो भएपछि प्रौढ साहित्यको गम्भीर पाठक बन्छ भन्ने अनुमान सुखद् अनुमान हो र साहित्यको विकासका लागि सकारात्मक सन्देश हो ।    

नेपाली साहित्यलाई विश्वमाझ पु¥याउन के गर्नु पर्ला ?

मूल्यमा आधारित स्तरीय नेपाली साहित्यको स्तरीय अनुवाद र ती अनुवादको स्तरीय मुद्रण तथा विश्वबजारमा पुग्ने गरी  बजारप्रणालीको विकास । सरकारी टीकामा नेतृत्व र प्राज्ञ छानिने सरकारी प्रतिष्ठानहरूका साथै साझाजस्ता सहकारी प्रकाशनले स्तरीय अनुवाद गराउने र प्रकाशनमा सहयोग गर्ने तर्फ ध्यान दिनु पर्ने हो । हुन त त्यसरी हुने कृति चयन र अनुवादमा स्तरीयताभन्दा कथित कार्यकर्ता लेखकको दलीय भागबण्डाबढी प्रभावी हुनसक्ने संभावना पनि उत्तिकै छ । तर पनि लाजगालले एक दुई भए पनि कालजयी स्तरीय साहित्यले अनुवाद हुने अवसर पाउने छन् । सरकारले पनि यस्ता स्तरीय मूल्यवान कृतिको अनुवादमा निजी प्रकाशलाई प्रोत्साहन मिल्ने खालको पुस्तक नीति ल्याउनु आवश्यक छ ।  

यहाँलाई मन परेका साहित्यिक कृतिहरूको नाम बताइदिनुस् न !

सङ्ख्याका दृष्टिले पाँच सात हजार पुस्तक पढियो होला । ती सबैको सम्झना राख्नु सम्भव छैन । पढिएकामध्ये समकालीन कृतिको कुरा नगरौं, केहीको नाम लिँदा अरुमाथि अन्याय हुनजाने डर रहन्छ । पढ्दाखेरीको तात्कालिक प्रभावको भरमा मन परेको वा नपरेको भन्नु पनि बस्तुगत नहोला । त्यसैले तिनलाई समयको कसीमा घोटिन दिउँ । जहाँसम्म हामीभन्दा अगिल्लो पुस्ताको सृजना हो, तिनमा केही नाम लिनुपर्दा मलाई मन परेका नेपाली पुस्तकमा लेखनाथको तरुणतपसी, समको मुटुको व्यथा र मेरो कविताको आराधना, महाकवि देवकोटाका मुनामदन लगायत निबन्ध शाकुन्तलजस्ता महाकाव्य, गोपालप्रसाद रिमालको कविता र मसान नाटक, भूपि शेरचन, सिद्धिचरण र युद्धप्रसाद मिश्रका कविता, वीपीका तीन घुम्ती र सुम्निमा, गोविन्द गोठाले, विजय मल्ल, दौलत विक्रम बिष्ट रमेश विकलका कथा उपन्यास, भैरव अर्यालका हास्यव्यङ्ग्य निबन्ध आदि धेरै छन् । यी सबैबाट प्रेरणा लिन सकिन्छ । सबै नाम उल्लेख गर्नु सम्भव पनि छैन ।

विदेशी साहित्यमा शेक्सपियरको ह्यामलेट, मोपासाका र चेखबका कथा, गोर्कीका माँ, मेरा विश्वविद्यालयजस्ता जीवनपरक उपन्यास र जीवनी, छिमेकी साहित्यमा लुसुनका कथा उपन्यास, उर्दूका महान् लेखक प्रेमचन्दका कथा, शरदजोशी, श्रीलाल शुक्लाका मोहन राकेश आदिका कृति झट्ट सम्झनामा आउने केही नाउँ हुन् ।
   
अचेल पुरस्कारमा धाँधली हुने गरेको धेरै सुनिन्छ । पुरस्कारले साहित्यिक वातावरणमा कस्तो खालको असर पु¥याएको छ ? के साहित्यकारको लागि पुरस्कार अपरिहार्य हो र ?

सबैलाई एकै टोकरीमा राख्दा पनि निष्पक्ष रूपमा सदासयपूर्वक दिइने जनस्तरका पुरस्कारमाथि अन्याय हुनजान्छ । किन भने सबै पुरस्कारमा धाँधली हुन्छ नै भन्ने पनि होइन । कतिपय निजी स्तरका पुरस्कार रकम र प्रभावमा ठूला राशिका पुरस्कारजति चर्चामा नआए पनि बिना पक्षपात प्रदान गरिँदै आएका देखिन्छन । कति ठूला भनिने चर्चित पुरस्कारमा भने धाँधली हुने, आफ्ना र अर्का भनी छुट्याइने गरेको पाइन्छ । सरकारी भनिने पुरस्कार जतिमा चाहिँ सरकार वा सम्बन्धित मन्त्रालयको आशिरवाद पाउन सफल भएका, पार्टीका साहित्यकार वा पार्टी निकट कार्यकर्ता आदि हुने गरेको आरोप लाग्ने गरेको छ । ती व्यक्तिको छनोट पार्टीभित्रकै नेताका चम्चा कथित साहित्यकार आदि नै हुन्छन् । यो आरोप धेरै हदसम्म सत्य पनि देखिन्छ । प्राय यस्ता पुरस्कार पाउन चाकडी र भनसुनको दण्डबैठक निकै नै हुने पनि सुनिने गर्छ, जसमा सत्यको मात्रा धेरै छ । निजी संस्थाका हुन् वा सरकारी–अर्धसरकारी, कथित सत्ता, शक्ति र तिनको निकटतालाई नै योगदान, ज्येष्ठता र वरिष्ठता मानिने भए पनि जनस्तरका निजी साधन स्रोतमा सञ्चालित सबैमा यस्तै हुन्छ भन्ने होइन । त्यसैले सबैलाई एकै दृष्टिले हेर्नु हुन्न कि ?

साहित्य प्रति सरकारी नीति कस्तो पाउनु हुन्छ ? साहित्य उन्नयनको लागि सरकारले कस्तो नीति अबलम्बन गर्नु पर्ला ?

केही कुरा माथि बालसाहित्य र अनुवादका सन्दर्भमा कुरा गर्दा पनि राखि सकेको हुँ । पहिलो कुरा त सरकारसँग स्पष्ट पुस्तक तथा साहित्यिक प्रकाशनसम्बन्धी नीति नै छैन । यस्ता नीत बनाइँदा पनि पार्टी र सरकारनिकट कथित ब्रान्डेड बुद्धिजीवी (जसको अनुहार बाहेक सरकार र पार्टीले अरुलाई कहिल्यै चिन्दैन) र स्वार्थसमूहका प्रकाशकहरूको सोचलाई नै सर्वाङ्ग ठान्छ । यसैले यस्ता नीति प्राय एकाङ्गी बन्ने गरेका छन् । त्यसैले भएको पुस्तक नीतिमाथि गम्भीर पुनर्मूल्याङ्कन हुनु आवश्यक देखिन्छ ।

सबै कुरा यो सानो वार्तामा उपयुक्त नहोला । त्यसैले व्याख्यातिर नलागी सङ्क्षेपमा यति मात्रै भनौं– नेपालको पुस्तक नीतिमा प्रकाशन, प्रवद्र्धन र प्रोत्साहनका त्रिपक्षीय दृष्टिकोण आवश्यक छ ।

यहाँले कथा, निबन्ध, नियात्रा, उपन्यास, बाल साहित्य आदिमा कलम चलाइरहेको पाइन्छ । समग्रमा रचना लेख्नलाई कुन चाहिँ विधा सजिलो र प्रभावकारी होला ?

साँच्चिकै साहित्य लेख्ने हो भने कुनै पनि विधा सजिलो छैन । समय, चिन्तन र व्यापकताका कारण आख्यान, महाकाव्य, नाटक, गम्भीर खालका ललित निबन्ध आदि अलि कठिन होला भन्ने लाग्छ । त्यस्तै सृजना नभए पनि गम्भीर समालोचनाका ग्रन्थ लेख्नु पनि  सायद सजिलो छैन होला । प्रभाव र त्यसको प्रभावकारिताको कुरा गर्ने हो भने असल साहित्य जुनसुकै विधाको भए पनि उत्तिकै प्रभावकारी हुन्छ जस्तो लाग्छ ।

यहाँ गोरखापत्र संस्थानको महाप्रबन्धक र अध्यक्ष दुबै भइसक्नु भएको छ । त्यस अनुभवमा समग्र मिडियाको चुनौती के होला ?

अहिले मिडियालाई मात्र नाफामुखी उद्योग ठान्ने प्रवृत्ति बढिरहेको छ । सञ्चार गृहलाई बहुमाध्यम चलाउने दिने र पूँजीगत लगानीको भोलुमले प्रकाशन–प्रशारणको प्रसारप्रभाव निर्धारण गर्ने भएकोले सञ्चारमा बहुलवादको सिद्धान्त ओझेल पर्दै जान थालेको छ  । कमाउने होडमा मिडिया राष्ट्रिय संस्कति र सोचविरोधी वाह्यसंस्कृतिको संवाहक बन्दै जाने खतरा बढिरहेको छ । त्यसैले सञ्चार क्षेत्रलाई विशुद्ध उद्योगभन्दा पनि सामाजिक दायित्वसहितको जिम्मेवार क्षेत्रका रूपमा परिभाषित नगरिनु र वाक् तथा प्रकाशन स्वतन्त्रतालाई राष्ट्र र समाजप्रतिको उत्तरदायित्वभन्दा माथि राख्ने अहिलेको प्रवृत्तिबाट छुटकारा पाउनु राष्ट्रिय सञ्चारको प्रमुख चुनौति हो जस्तो लाग्छ ।

साझा संस्थामा वि. सं.२०४५–४८ को अवधितिर अंसियारको तर्फबप्रतिनिधित्व गर्ने निर्वातित सदस्य समेत हुनु भएको थियो । यस सम्बन्धमा केही प्रकाश पारीदिनु हुन्छ कि ?

निजी प्रकाशन अहिलेजस्तो व्यपक रूपमा नआएको अवस्थामा नेपाली साहित्य र समस्त वाङ्मयको उन्नयनमा नाफामुखी सोच मात्र नराखी राष्ट्रको सेवा गर्ने पवित्र संस्था थियो साझा प्रकाशन । त्यति बेला पनि अनियमितताहरू हुने गर्थे । त्यस्तो अनियमितामा सहभागी गराउन सञ्चलकहरूलाई पनि जिल्ला भ्रमण, जापान यात्रा, कृतिप्रकाशनमा प्राथकिताजस्ता प्रलोभनमा पारिने प्रयत्न गरिन्थे । त्यसमा फस्नेहरू आफ्नै कामले जिल्ला घुम्दा पनि साझाको सुविधा लिन्थे । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्य एक भएर सही कुरा अगि बढाउने र गलत कामको बिरोध गर्ने हो भने व्यवस्थापनले मात्र अनियमितता र भ्रष्टाचार गर्न सक्दैन । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्यको मिलेमतो भएपछि नै साझा मात्र होइन कुनै पनि संस्थाको दुर्गति सुरु  हुन्छ, जुन पछिल्लो समयमा साझा प्रकाशनल आफैंले देखाएको छ । विभिन्न संस्थाको नेतृत्व र सञ्चालनक्रममा पाएको मेरो अनुभव यही नै हो ।  

हालसालै प्रकाशमा आएको यहाँको ओह ... नेपारु नियात्राको बारेमा पाठकहरूलाई केही बताइदिनुस् न ।

कृतिगत प्रकाशनको हिसाबले यो मेरो अठ्चालीसौं पुस्तक हो, र तेस्रो नियात्रा सङ्ग्रह । यसमा पछिल्लो पटकको जापान भ्रमण गर्दाका अनुभव र अनुभूति समेटेको छु । पुस्तक पाठक सामु आएको छ, यसको बारेमा बोल्ने अधिकार पनि अब पाठक कै हो । म आफैंले आफ्नो कृतिको बारेमा भन्नु उपयुक्त नहोला कि ?
 
  अन्त्यमा सोध्न छुटेको तर भन्न चाहेको केही छ कि ?

सबै कुरा आइसके । भन्न बाँकी यति मात्र हो– मलाई सम्झनुभयो । त्यसका लागि युवा साहित्यकार–पत्रकार भाइ रामकुमार पण्डित र मध्यान्ह दैनिक परिवारप्रति हार्दिक धन्यवाद !  




No comments:

Post a Comment