Tuesday, February 6, 2018

त्यो त भइहाल्छ नि...! –विजय चालिसे

 
धन्यवाद, मधुपर्क ! धन्यवाद श्रीओम, तुलसीजी ।
(मधुपर्क पूर्णाङ्क ५८५, २०७४ फागुन अङ्कमा प्रकाशित कथा)
“गाउँघरमा आफ्नै उमेरका साथीभाइ ओच्छ्यानमै गुडुल्किइरहने बेला बिहान पाँच बजेदेखि हामी बालभिक्षुको दिनचर्या शुरु हुन्थ्यो ।” पासाङ हामीसामु विगतस्मृतिका बिस्कुन फिजाउन आफैंलाई तयार बनाउँदै थिई ।
छरितो शरीर, हाँसिरहेजस्ता चाम्किला पानीदार अँखा, हिउँरङको गोरो अनुहारको बीच गालाका दुबै पट्टी पाकेका मुस्ताङ्गी स्याउ झैं रक्तिम आभायुक्त फक्रँदो जवानी । पासाङको आकर्षणबाट जो कोहीलाई पनि उम्कन कठिन पथ्र्यो । गाढा रातो अर्थात मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गाकोे पोशाकले गोरो हिमाली कसिलो व्यक्तित्वलाई झनै आकर्षक तुल्याउन सफल थियो । महझैं मीठो बोली र निश्छल प्राकृतिक हिमाली सौन्दर्यको मोहनीयुक्त आकर्षण, साँच्चिकै चमत्कारपूर्ण लाग्थ्यो उसको सौन्दर्य । विजुली चाल र मिजासिलो, मधुर व्यवहारले ममात्र होइन उसलाई देख्ने जोकोही यसरी नै मोहनी आकर्षणमा डुब्न पुगेका थियौं । साँच्चैकी हिमकन्या वा महादेवजस्ता फक्कडलाई समेत मायामोहमा आकण्ठ डुवाउन सक्ने रुपसी पार्वतीको प्रतिरूप लाग्दै थिई त्यो केटी तर परम्पराको कठोर साङ्लोमा बाँधिएकी ऊ भने कसैको प्राप्तिमा तपस्यारत किन्नरकन्या थिइन, सम्पूर्ण मानवीय चाहनालाई आफैंभित्रको अन्धगुहामा धकेल्न वाध्य एउटी प्रतिनिधि युवती मात्र थिई ।
हामी यतिबेला उत्तरी हिमाली भेगको एउटा विश्रामगृहमा थियौं । विश्रामगृह पस्नासाथ एउटा ठूलो साझा कोठा थियो । त्यही साझा पहुना कोठाको बीचतिर चार–छ वटा काठका कुर्सी गोलाकार रखिएका थिए । कुर्सीहरूको माझ टेबिल र टेबिलमुनि गहिरो खाडल देखिन्थ्यो । त्यही खाडलमा भर्भराउँदो गरी बलिरहेको गोलको आगाको रापले पूरै कोठ मज्जाले तताएको थियो । हामी अगेनाको वरिपरि गोलाकार राखिएका कुर्सीमा न्यानो ताप्दै तातो चियाको रमरम आनन्द लिइरहेका थियौं । झ्यालबाट सुुटुक्क छिरेको साँझपखको अस्ताउँदो कलिलो घाम झ्यालको सिसाबाट छिरेर कोठामा छरिएको थियो । त्यसरी छिरेको अस्ताउँदोे घामको रक्तिम सिंदूरे आभाको लुकामारीले वातावरण अरू रोमाञ्चक लाग्थ्यो । अझ लुकामारी गरिरहेको सिन्दूरे घामले यताउता फ¥याक फरुक गरिरहेकी सुन्दरीको गाला चुम्दा झनै मादकता छरिएको थियो उसका निर्दोष र निश्छल हिमाली सौन्दर्यमा । उसलाई भने ती कुनै कुराको मतलब थिएन । ती सबै कुराबाट पूरै अनभिज्ञ देखिन्थी त्यो भिक्षुणी अर्थात, आनी !
पदमार्ग छेउको यो विश्रामस्थल अर्थात प्रचलित भाषाको लजकी मालिक्नी उसकी ठूली आमा थिइन । ठूलोबाबु दावा गुरुङ प्रायः पोखरा वा भारतका सीमावर्ती शहरहरूमा हिमाली जडीबूटीको व्यापार गर्न जान्थे । विश्रामगृहको सम्पूर्ण जिम्मेवारी ठूलीआमाकै काँधमा थियो । कहिलेकाहीँ गुम्बाबाट छुट्टी पाउँदा ऊ पनि ठूली आमाकहाँ एक दुई रात बिताउन आउने गर्थी । अनि आएको बेला ठूली आमालाई सघाउने काम त स्वाभविकै भइ हाल्यो । आज यस्तै मौका परेको थियो सायद । लजमा हमी बाहेक अरु पनि पाँच–सातजना पाहुना थिए । सबैलाई खाना, चिया र अरु फर्मायसी बस्तु तयार गर्ने र ओसार्ने काममा ठूलीआमालाई सघाइरहेकी थिई ऊ ।
“तपाइँ त भिक्षुणीजस्ती देखिनुहुन्छ । यो लजमा किन नि ?” हामीमध्ये कसैको जिज्ञासामा बिस्तारै खुल्दै गएकी थिई ऊ । त्यो पनि एकैपटक होइन, किस्ताबन्दीमा । शुरुमा त बोल्नै चाहेकी थिइन । हुनसक्छ हाम्रो सामान्य र शालिन व्यवहारका कारण होला, बिस्तारै खुल्न थालेकी ऊ ।
“म आनी हुँ, यहीँ नजिकै गुम्बामा बस्छु । गुम्बाको रेखदेख, सरसफाइ र पूजापाठमा जीवन बित्छ सर !” यसरी बिस्तारै हामी उसको विगत र वर्तमानमा प्रवेश गरिरहेका थियौं । विगतस्मृति गर्दा जीवनजस्तै उसको अनुहारमा पनि उतारचढाव देखिन्थे । कहिले उज्यालो आभा फैलँदै जान्थ्यो, कहिले पीडाको ग्रहणले अनुहारको उज्यालोलाई खोसिदिन्थ्यो ।
ऊ आमाबाबुकी माहिली छोरी थिई । उसभन्दा माथि दाजु पेम्वा थियो, पछाडि बहिनी कासाङ । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । यसरी त्यही माहिली छोरी हुनुको नियति भरजीवन भोग्न अभिशप्त थिई ऊ भिक्षुणीको रूपमा सबै नारीसुलभ चाहनालाई बलि चढाएर ।
“हो...., गाउँघरमा हामै्र उमेरका केटाकेटी उठेका पनि हुँदैनथे । गुम्वामा हामी सात–आठ वर्ष उमेरका बालभिक्षुहरूको दिनचर्या विहान पाँचैबजेबाट शुरु भइसक्थ्यो । त्यसभन्दा अगाडि नै नित्यकर्म सकेर हामी दुई घण्टालामो प्रातकालीन प्रार्थनाका लागि गुम्बाको अग्रभागमा भेला भइसक्नु पथ्र्यो । त्यहीँबाट शुरु हुन्थ्यो हाम्रो दैनिक जीवन । मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गो पोशाकमा सजिएका हामी बाहिरकाले हेर्दा भने एउटै लाग्थ्यौं सायद ! कुनै अलग परिचय थिएन हाम्रो । गुम्बाको फराकिलो प्राङ्गणमा लाम लागेर प्रार्थना सक्नासाथ अर्को लाम शुरु हुन्थ्यो– कौलाका लागि । कौला खाइसक्दा नसक्दै साढे आठ बजेत फेरि पढ्नको लगि आ–आफ्नो कोठामा पुगिसक्नुपथ्र्यो ।”
उसको आँखामा कहिले वाल्यकालीन जीवनमा भोगिएका सीमित खुशीका क्षणले छाडेका उज्याला रेखा छरिन्थे, कहिले सानैमा बाबुआमाको काखबाट खोसिएर गुमाएको वात्सल्य प्रेमको अभावसृजित वाल्यमनोभावजन्य पीडास्पद अनुभूतिका धूमिल ग्रहण । त्यो देखेर अपराधबोधले समेत चिमोट्न खेज्दै थियो हामीलाई – किन बेकारमा कोट्याएछौं उसको विगत !
आमाको न्यानो काखबाट खोसिएर गुम्बाको कठोर अनुशासित जीवनमा प्रवेश गरेका शुरुका दिन त उसलाई चरीजस्तै भुर्र उडेर कहिले आफ्नै घरगाउँ पुगूँजस्तो हुन्थ्यो । हरबखत घरको यादले सताइरहन्थ्यो । आमा भेट्न आउँदा कतिपटक रुँदै पछि नलागेको पनि होइन । आमा भने ललाइफकाइ गुम्बैमा छाडेर जान्थिन । आमाले छाडेर गएपछि धेरै बेर गुम्बाको एउटा कुनोमा रुँदै बस्थी ऊ । महिनौ महिनापछि बल्ल अभ्यस्त हुँदै गएकी थिई गुम्बाजीवनसँग ।
“त्यतिबेला आमाले आफूलाई मायानै गर्दिनन् भन्ने लाग्थ्यो । त्यसैले आँसु लुकाउँदै गएकी आमाको कोमल मनको चित्कार समेतको अनुमान गर्न सकेकी थिइन मैले । धेरै पछि मात्रै बुझेँ – उसकोजस्तो गरिव परिवारमा सन्तान पाल्नुको बोझ कम गहु्रङ्गो थिएन । त्यही बोझबाट बच्नका लागि यस्तै उपाय नै त बाँकी रहन्थ्यो ! हुन पनि आनी वा झुमा र लामा बन्न गुम्बामा पस्ने सबै नै गरीबबाबुआमाका छोराछोरी हुन्थ्यौं । मेरो परिवार पनि यस्तै थियो । भाइ सानै थियो । बाबु वषर््ाभरिको सामल थेग्न पुग्ने कमाइ गर्न आठ महिनाजति घरवरिपर नै सामान खेप्थे । हिउँदमा मङ्सिरदेखि फागुनसम्मका चार महिना हिउँलले बाहिर निस्कनै सकिँदैनथ्यो । हिउँले गर्दा त्यता हुँदी काम पाइँैनथ्यो । पाए नै पनि घरबाहिर निस्कनै नसकिने चिसोमा काम गर्न सक्ने कुरै भएन । त्यसैले हिउँदको बेला उनीजस्ता धेरै मानिस इण्डियातिर लाग्थे । त्यताहँुदो व्यापार वा काम गरेर लाइखाई जोगिने १०–१५ हजार रुपियाँ पनि ठूलै आमदानी ठानिन्थ्यो । तानतुन गरी यसरी नै वर्षदिनको घरखर्च चल्थ्यो ।”
उसको मात्र नएर हिमाली भेगमा बस्ने उसका जस्ता सबै गरीब परिबारको साझा नियति थियो यो । गाउँठाउँमा सामान बोक्ने काम नपाएपछि हिउँद लाग्नासाथ गाउँ रित्तिन्थ्यो । सक्नेजति अबैंसे, बूढापाका र तन्नेरा–तन्नेरीहरु प्राय भारत वा नेपालकै विभिन्न ठाउँतिर लाग्थे । भारत पुगेर केही भाँडामाझ्ने काममा लाग्थे, केही धनी मानी भारतीयको मोटर सफागर्ने काम फेला पार्थे । कोही होटलमा काम पाउँथे, कोही यतैदेखि जम्मा गरी लगेको हिमाली जडिबूटी र शालिग्रामहरुको व्यापार गर्थे । केही वर्ष यतादेखि भारतीयहरू नै यता आएर ती बस्तुको व्यापार गर्न थालेकाले जडीबूटी पनि त्यति बिक्दैनथ्यो । येनकेन चार–पाँच महिना उतै बिताएर धेरैजसो घर फर्कन्थे, कोही उतै बस्थे । त्यसैले गाउँमा बूढाबूढी र साना नानीहरु बाहेक कोही भेटिँदैनन् । हिउँले सबै ढाकेर घरबाहिर निस्कन नसकिने हुनाले हिउँ नपग्लिन्जेलका लागि पुग्नेगरी घरभित्रै पीठो, चिया, सात्तु आदि खानेकुराहरुको व्यवस्था गरिन्थ्यो । त्यही खाएर बूढाखाडा, केटाकेटी र थोरै जवान युवा युवती घरभित्रै बस्थे । खाने पानीसमेत घरको छानाको सानो दूलो पारेर हिउँ झार्दै पगालेर जम्मा गर्नु पथ्र्यो ।
बाबुआमा एकप्रकारले सुकुम्बासी थिए, घडेरी बाहेक खेतबारी केही थिएन । हुने कै पनि फापर, जौजस्ता हिमाली हावापानीमा उब्जने थोरै उब्जनीले वर्षदिनको गुजारा चल्दैनथ्यो । त्यसैले बाबु आमाले पनि मन नमान्दा नमान्दै पठाएका थिए होलान्, उसलाई गुम्बा ।
“त्यसमाथि म परेँ, माहिली छोरी । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । छोरीलाई गुम्बा पठायो भनेर कसैले औला उठाउने कुरा पनि थिएन ।” ऊ विगतस्मृतिमा पूर्णतया हराइरहेझै लाग्थी । आँखा शून्यमा कतै एकोहोरो गडिरहेका थिए । लाग्थ्यो ऊ वर्तमान छिचोलेर वाल्यकालीन संसार नियालीरहेकी छ ।
“एकरस जीवन बित्यो बाल्यकालमा । दिउँसोको खाना खाएपछि अपरान्हतिर चियाको लागि घण्टी बज्थ्यो । हामी चिया खाने कोठामा लाम लाग्थ्यौं । लगभग सात–आठ वर्षउमेरका हामी केटाकेटीहरू सबै नै सामान्य बालजीवनबाट अलग्याएर बुद्धका अनुयायी बनाउन समर्पित गरिएका जीव थियौं । चाहना विपरित बलात समर्पित बलि ! चियाको समय सकिएको घण्टी बज्थ्यो । हामी फेरि अध्यनका लागि हतार हतार कोठातिर लाग्थ्यौं । साढे चार–पाँच बजे कक्षा सकिए पछि बल्ल बालसुलभ प्राकृतिक संसारमा हराउन र बालस्वरुपमा फर्कन केहीबेर मुक्ति मिल्थ्यो । रातको आठ बजे त विछ्यौनामा पुग्नु परिहाल्थ्यो ।” केही बेर रोकिएर लामो निश्वास छाड्छे ऊ ।
उसका आँखामा विगतकालीन कहालीलाग्दो अन्तरपीडाका मसिना धर्साहरू देखापर्दै जान्छन् । “ठूला धार्मिक मेला बाहेक गुम्बा छाडेर बाहिर निस्कने अनुमति हुँदैनथ्यो । शनिबार एक दिन केहीबेर टेलिभिजन सम्म हेर्ने पाइन्थ्यो, नत्र आधुनिक मनोरञ्जन के हो उसलाई थाहै थिएन । जाडोमा अघिपछि तेङ्गोमाथि ज्याकेट खाप्न पाइए पनि पूजापाठको बेला त्यै पनि लाउन पाइँदैनथ्यो । जाडोले धामी कामेझैं काम्दै पूजामा बस्नुपथ्र्यो ।”
सुन्दैमा पनि द्रवीभूत हुन पुगेका थियो हाम्रो मन । ओहो कसरी खोसिन्छन्ं बल्यकाल मेरा देशका गरीब शिशुहरूको । कुनै जात वा जतिको मात्र होइन यो खोस्ने–खोसिने नियति । हिमाली डोल्मा र पासाङहरू मात्र होइन सुदूर पहाडी राधा, सीता वा गीताले भोगिरहेका नियति पनि यही हो । गरिवी र अज्ञानले परम्पराका नाउँमा तिनका वाल्यकाल मात्र नभएर नारीसुलभ हरेक चाहना र जैविक आवश्यकता समेत खोसिइरहेको छ । चाहे, आनी वा झुमाको् नाउँमा होस्, चाहे देवदासी वा देवकन्या वा देवदासीको नाउँमा– अझै धेरै छन् मैले जोगाएका विकृत विसङ.्गत परम्पराका शिकार ।
“साँच्चै कति कठोर जीवन विताएर आएकी छ हगि यो केटीले । त्यसैले होला, आगोमा पोलिएर निख्खर बनेकी शुद्ध सुनजस्तै लाग्छे यो केटी, कञ्चन, साँच्चिकै कञ्चन ।” उसको यो मोहनी आकर्षण र उसले भोग्दै आएको जीवन देखेर मेरो मुखबाट निस्किन पुगेका थिए सुस्तरी यी शब्द ।
“साह्रै अनुशासित र कठोर थियो होला हगि गुम्वामा त्यतिबेलाको जीवन !” हामीमध्ये कसैले प्रश्न ग¥यो ।
त्यो प्रश्नपश्चात पूर्वस्मृतिमा हराउँदै गई ऊ । उसका दृष्टि सुदूर भूततिर केन्द्रित हुँदै गएझैं लाग्दै थियो । कथावाचकको रूपमा आफ्नै पूर्व कथाको पारायण गर्दै थिई ऊ– हो त कति नरमाइला थिए ती दिन ! सधैं विहान पाँचै बजे उठ, नित्यकर्म सकाउ, विहानको कौलाका लागि लाम लाग । केहीबेर कसरत गर र लामो पट्यारलाग्दो कक्षमा बस । न आफूलाई मन परेको खान पाइन्थ्यो न खेल्न र घुमघाम गर्न । घर समेत वर्षमा एक दुई पल्ट चाडबाडमा मात्रै देख्न पाइन्थ्यो ।
“ओहो, निकै कठोर पो छ हगि गुम्बाको जीवन !” गुम्वाका बानलभिक्षुको दिनचर्या बारे उसले सुनाएका कुरा सुनिरहँदा हाम्रा अगाडि आफ्नै छोराछोरी झल्झली देख्दै थियौं । जो हरबखत वात्सल्यमा सरोबर छन् ।
“आनी र भिक्षु–भिक्षुणीहरूले घरजम गर्न हुँदै रे हो ? यस्तै भन्ने सुनेका थियौं हामीले, हो त ?” आफूले सुनेको कुराको आधारमा जन्मेको जिज्ञासा थियो यो ।
“हो, हामीलाई गुम्वा पसेपछि नै बिहे नगर्नें, एक छाक मात्रै खाने र शीलको पालना गर्ने कुरा सिकाइयो । ्त्यसरी सानैदेखि पालना गर्न सिकाइएको पञ्चशील नराम्रो पनि थिएन । त्यो भनेको हामीले गर्न नहुने पाँच वटा कुरा नै त हो । पालना गर्नु पर्ने ती आचरण झुठो नबोल्ने, जाँडरक्सी नखाने, व्यभिचार नगर्ने, यौन समागम र चोरी नगर्ने हो ।”
अष्टशीलका सबै आचरण वास्तवमा राम्रा थिए, पालनायोग्य । ती मध्ये एउटा आचरणलाई भने हाम्रो दिमागले सहज रूपमा पचाउन सकिरहेको थिएन । सम्यक रूपमा पालना गरिने गृहस्थ जीवन र सम्यक यौन सम्बन्ध सृष्टिको निरन्तरता र सभ्यताको आधार होइन र ? व्यभिचार वर्जित मान्नु अत्यन्त उपयुक्त हो, तर सम्यक र सामाजिक दृष्टिमा स्वीकार्य शारीरिक सम्पर्क अर्थात यौन समागम ? त्यो त सृष्टिमा कुनै पनि जीवको जैविक आवश्यकता हो । सृष्टि र सभ्यताको निरन्तरता हो । यौन समागमको विरुद्धमा गुम्वाको प्रशिक्षण क्रममा जति नै नकारात्मक सोचको विकास गराइए पनि ती भिक्षुणीहरूमा मातृत्वको भोक र यौनको जन्मजात शारीरिक चाहना निर्मूल होला र ? यिनै शाश्वत प्रश्न मडराइरहेका थिए त्यतिखेर हाम्रो दिमागमा ।
यस्तो प्रश्न उठ्नुमा यता आएदेखि सुनिएका विभिन्न कुराको पनि योगदान थियो । सुनिन्थ्यो, यौनसम्बन्धको स्वीकृति नभएकोले प्राय भिक्षु–भिक्षुणी विबाह सम्बन्धमा गाँसिदैनन् । यता आएर भने बदलिँदो समयक्रमसँगै गुम्वाजीवनमा पनि केही खुला पन आएको छ । कहिले काहीँ गुम्वाका भिक्षु–भिक्षुणी पनि विवाह बन्धनमा बाँधिन थालेका छन् । यस्तै सुनेका थियौं हामीले ।
“हो, कहिलेकाहीँ यस्तो पनि देखिन्छ । हाम्रैं गुम्वाबाट पनि यसै वर्ष एकजना आनी साथीले गुम्वा जीवन त्यागिन् । मनमिल्ने भिक्षुसँग परिवार बसाल्न उनले गुम्वा छाडेकी थिइन ।” गाउँमा अरुबाट सुनेको कुराको उसबाट पनि यसरी पुष्टि भएपछि अपत्यार गर्ने कुरै भएन ।
“नरिसाउने भए एउटा कुरा सोधौं ?” उसको जवाफपश्चात सङ्कोच मान्दै दिमागमा मडराइरहेको जिज्ञासा मेट्न हामीबाट अर्को प्रश्न निस्कियो ।
“सोध्नोस् न । के हो त्यस्तो कुरा ?”
“गाउँघरमा आफूसरहका साथीसंगातीले काखमा नानी खेलाइरहेको देख्दा, विहे गरेर लोग्नेसँग सँगै हिँडेको देख्दा आफूलाई पनि बिहे गर्ने इच्छा जाग्दैन ? मन पर्ने कुनै युवकसँग जिन्दगी बिताउँजस्तो लाग्दैन ?” घुमाउरो प्रश्न गरेको थिएँ मैले । एउटी जवान केटीसँग सोझै यौन चाहनाको प्रश्न गर्नु निश्चय नै उपयुक्त हुँदैनथ्यो । त्यसैले परोक्षमा उसको मन चोर्ने प्रयत्न गरेका थिएँ ।
“त्यो त भइहाल्छ नि, हामी पनि त मानिसै हौं !”
अगेनोको आगोको राप र लुकेर उसको उन्नत भाल चुम्न कोठाभित्र पसेको अस्ताउँदा सूर्यको सिन्दूरे प्रकाशका साथै यो प्रश्नले फैलाएको अनुहारको रक्तिम आभा लुकाउन अर्कोतर्फ फर्किइ ऊ । सायद त्यसरी अनुहार लुकाउन खोज्नु आफूभित्रको शास्वत चाहना र वर्जित मातृत्वलाई अनावृत्त हुनबाट जोगाउने असफल प्रयास थियो कि ? हामी अनुमान मात्र गर्न सक्थ्यौं ।
विजय निवास, आरुबारी

No comments:

Post a Comment