Sunday, May 20, 2018

मृत्युस्पर्श र टिकट बिनाको रोमाञ्चक यात्रा !

शीर्षक  देखेर तपाईँलाई अनौठो लाग्ला । विना टिकट बस यात्रा त गरिंदैन भने बिना टिकट त्यो पनि हवाइ यात्राको कुरा । पत्याउन त्यति सजिलो पनि नलाग्ला । मलाई भने त्यो संझेर अझै पनि रोमाञ्च हुन्छ । कल्पना जस्तै लाग्ने यो कुुरा जोमसोम विमानस्थलमा भोगेका थियौं तेज र मैले । २०५८ कार्तिकको समय थियो त्यो । तेज र म श्रीमान श्रीमती नै मुक्तिनाथ यात्रामा थियौं । पोखरासम्म बस र त्यहाँदेखि विमानमा जोमसोम आएका हाम्रो योजना घोडेपानी हूँदै नयाँ बाटो भएर फर्कने थियो । त्यसैले हवाइजहाजको एकोहारो टिकट लिएर गएका थियौं ।
तर यात्रा निश्चित हुदैन, जीवनयात्रा सोचेझैं सरल रेखामा चल्दैन । हामीलाई पनि त्यस्तै भयो । कागवेनीबाट ठाडै ढुंगे बाटो, उडाउला झैं तेज हावाको झोक्का सहँदै टाङटुङ टिङटाङको समवेत सङ्गीतधून बजाउँदै तल झर्दै गरेका खच्चरका लामसँग बच्दैबच्दै उकालो लाग्दै थियौं हामी । तेज र प्रतिभारश्मि भाउजू हामीभन्दा तगडा देखिन्थे, ठम ठमहिँडेर केही अगि लाग्दै थिए उनीहरू । म श्रीमती लक्ष्मीलाई साथ दिँदै पञ्चमीको पाइला सार्दै थिएँ । लक्ष्मीको गहँ्रुङ्गो झोला प्रतिभा भाउजुृले बोकेर सघाउनुृ भए पनि उनलाई हिँड्न गाह्रो अनुभव हुँदै थियो । टिङ्ग्रे गाउँ नाघेपछि त उनलाई लेक लागिहाल्यो । भखैरै मुटुसम्बन्धी समस्याबाट मुक्त भएकीले चिकित्सकको  बिस्तारै हिँड्नु, जाँदा हुन्छ भन्ने सल्लाह पाएर मात्रै मुक्तिनाथ यात्राको आँट गरेका थियौं ।
तेज र भाउजु अगाडि गइसके । साँझ पर्नै लागेकोले होला बाटो लभग जनशून्य छ । पारिपाटि पहेँलै देखिने माटो र चट्टानी भिर–पहिरो मात्रै देखिन्छ । भिरका भित्तामा चमेरा, काग र गिद्धका गुँडयुक्त खोपैखोपा ! कतैकतै साना थुम्का बाहेक हरियाली कतै देखिँदैनथ्यो ।
लक्ष्मी हिँड्न नसकेर बाटोछेउमैं थचक्कै बसिहालिन । त्यो उचाइलाग्ने समस्याबाट मुक्तिपाउन अदुवा र टिम्बुर पनि चपाइन, स्वास लिन केही सजिलो भयो । त्यसपछि फेरि अर्को सकस्याले समात्यो– पिँडुला फर्केर हिँड्नै नसक्ने भयो उनलाई । धेरै अग्लो पनि होइन, ३ हजार २ सय मिटर मात्र थियो यो ठिङ्गे वा  खिङ्ग्रीको उँचाइ ! अझै ५०२ मिटरमाथि चढ्नुछ मुक्तिनाथको मन्दिर भेट्न । नअगाडि जानुृ, न जोमसोम फर्कनु ! 
अँध्यारोको बर्कोले धरतीलाई आफ्नो कालो छायाँभित्र बिस्तारै लुकाउँदै थियो । झारकोट  नपुगी बस्ती कतै देखिँदैन । मनमा अत्यासकोपहिरो जााँदैछ । लक्ष्मीलाई भर दिँदै घिस्रिएरै भए पनि झारकोट पुग्नुको विकल्प छैन । केही माथि घिस्रिँदै पुगेपछि त लगभग बेहोसै भएर लडिन् लक्ष्मी । मुटुको बिरामी । मन आत्तियो, कतै अर्धांङिगीनीसँगको विछोडको पीडा बोकेर त फर्कनु पर्ने होइन घर । स्निफर सुँघाउँदै बु्रफिन ख्वाएर हात गोडामा हलुका मसाज गरेपछि बिस्तारै होसमा आइन उनी । उनको त्यो अवस्थासँगै आँखा रसाए खुशीले र उनले होइन, आफू स्वयम्ले पुनर्जीवन पाएजस्तो अनुभव गरेँ मैले । ओफ....मान्छे कसरी एकै क्षणमा एक युगको भन्दा बढी पीडा अनुभव गर्न पुग्दोरहेछ ! कसरी निमेषभरमा पीडाको अग्निसागर छिचोल्न पुग्दो रहेछ । त्यही एकक्षणले मलाई राम्ररी महसुस गराएको थियो ।
“ल न, विरामी परेर विचल्लीमा परियो । माथि होटेलसम्म लगिदिनोस् न !”
एकजना स्थानीय मान्छे एउटा रित्तो घोडा डोहो¥याउँदै आएको देखेर जागेको आशा पनि “घोडामा काठी छैन, काठी नभएको घोडा तिमीहरू चढ्नसक्दैन ।” भन्दै उसले बाटो तताएपछि निराशामा बदलिएको थियो । हुनपनि घोडामा काठी थिएन । त्यसैले काठी नभएको घोडामा उकालो चढ्नु सजिलो थिएन । त्यसमाथि जिउ नै थाम्न नसक्ने बिरामी मान्छे ! तर पनि उसले अरु केही सहयोग गर्न सकिन्छ कि भन्नेसम्म नसोधी टाप कसेको देख्दा भने मनमा नमीठो प्रश्न उठेको थियो– के अलिकति पनि मानवता बाँकी छैन मान्छेमा ? 
मेरो प्राथमिक उपचारले केही काम गरेछ । लक्ष्मी केही तङ्ग्रेर बिस्तारै उठेर हिँड्ने कोशिस गर्न थालिन । अर्को उपाय पनि थिएन । पञ्चमीको पाइला चाल्दै केही माथि पुग्दा तेज झारकोट पुगेर एउटा होटेलमा बासको व्यवस्था मिलाइवरि हामीलाई नै खोज्दै आएपुग्यो । । अनि अरु ढुक्क लाग्यो कमसेकम बासको त व्यवस्था भयो । बास पनि नपाइएको भए ? एकातिर तेजले, अर्कातिर मैले भरदिएर बल्लतल्ल लक्ष्मीलाई प्रकाश लजसम्म पु¥यायौं ।
होटेल पुगेर तातोपानीको सेकाइ, कोठाभित्रको तातो वातावरण र तातो चियाको गर्माहटको असर अनि औषधिका रूपमा मार्फाको थोरै सेवन गरेर लक्ष्मी विछ्यौनामा आरामगर्न सुतेपछि बल्ल होटेलको वातावरणमा भिज्न हामी तल ओर्लियौं ।
प्रकाश लजका मालिक थिए छेवाङ आङमा गुरुङ । मिज्यासिला र सहयोगी । श्रीमती अमेरिका पुगेको बेला कुक तालिम लिएर आएपछि खोलेका रहेछन् यो प्रकाश लज । उनीपनि फरासिली थिइन । जेठो छोरा त्यहीँ थियो, पोखरामा आठ कक्षा पढ्दै रहेछ । अहिले विदामा आमाबाबुलाई सघाउन भनी घर आएको । छोरी काठमाडौतिर बौद्धमा छात्रवृत्ति पाएर त्यहीँको गुम्बामा बसेर शिक्षा लिँदै छन् रे । अर्थात आनी बन्ने तर्खरमा लगाएका थिए उनलाई । होटेलको त्यो वातावरण सफासुघ्घर । खाना मीठो र स्वादिलो । चारकोठाको होटेलमा दुईवटा हामीले कब्जा ग¥यौं, अर्को एउटामा स्विस केटाकेटीको जोडी र अर्कोमा दुईजना झुमा केटी अर्थात् आनी ! त्यतातिर गुरुङ र शेर्पा जातिमा माहिली छोरीलाई सानैमा गुम्वा पठाएर आनी बनाउने पुरानै चलन थियो । तिनै आनी कतै मन्दिरमा झुमा बनेर र कतै गुम्बामा आनी बनेर देवपुत्रीका नाउँमा गुृरू र विद्यार्थीहरूको सेवा गरेर जिन्दगी बिताउँछन् । तिनका यौवनका उन्मादहरू सबै सपनामा स्खलित हुन्छन् तिनै गुम्वा र देवमन्दिरमा ।
होटेलमा खान र खुट्टा डुबाएर थकाई मार्न पर्याप्त तातोपानी उपलब्ध थियो । तल लबीमा एउटा ठूलो टेबलमुनि भर्भर आगो बलिरहेका परम्परागत अँगेनो थियो । त्यसको वरिपरि घुँडासम्म कम्बलले छोपेर आरामपूर्वक जिउ तताउन बस्ने आसन थिए । जापानी परम्परागत होटेलमा देखेको थिएँ यस्तै अँगेनो, हामी कहाँ  यहीँ देखियो ।
विहान उठ्दा लक्ष्मी लगभग तयार भैसकेकी थिइन् माथि मन्दिर उक्लन । पूरै त के ठीक हुन्थ्यो, यहाँसम्म आएर पनि मन्दिर पुग्न नपाइएला भन्ने त्रासले गर्दा सायद आत्मबल बलियो बनाएकी थिइन उनले !
सिंगो झारकोट र मुक्तिनाथ क्षेत्र पूरै हिउँको चिसो सिरेटो र ओसिलो वातारणमा निथ्रुक्क भिजेको थियो । रानीपौवाको सुन्दर प्रकृति र अलि विकसित खालको पूरै ब्युँझिनसकेको बजारबस्ती नाघेर हिन्दु र बौद्ध दुवै सम्प्रदायकाले उत्तिकै श्रद्धा गर्ने धार्मिक सहिष्णुताको प्रतीक मानिँदै आएको मुक्तिनाथ पुग्दा पनि घटेको थिएन उनको आत्मबल । अर्धवृत्ताकार रूपमा रहेका १०८ धारा मुक्तिनाथ, नरसिंह अवतार, ज्वालामाई, शिवमन्दिर, पातालगङ्गा आदिलाई पृष्ठभागमा राखेर हिउँ झैं चिसोपानी ओकलिरहेका थिए । आँटिला धर्मभिरु तीर्थयात्रीहरू त्यो चिसो हिमजलमा थुर्थुराउँदै स्नान गरिरहेका दृश्य साँच्चिकै आँटिलो दृश्य लाग्थ्यो । नसक्ने हामी हातले एकदुई धाराको पानी थापेर शिरमाथि सेचन गर्दै स्नान गरेको बहाना गथ्र्यौं ।       
जे होस्, बिस्तारै मन्दिर पुगेर दर्शनगरी होटल फर्कन देखाएको लक्ष्मीको आत्मबल प्रशंसनीय थियो तर यो भिरालो बाटो हिँडेर जोमसोम पुग्नु लक्ष्मीका लागि अब सम्भव थिएन । त्यसैले अघिल्लै दिन घोडाको व्यवस्था गर्न भनेकोले एउटी पाारसिली किशोरी कासाङ तम्तयार रहिछे होटेल पुग्दा । खानपिन गरेर बिदा भयौ ंमुक्तिनाथको त्यो मनोरम काखबाट ।
किशोर वयमैं पढलेख छाडेर बूढा बाबुआमा र ससाना भाइबहिनी स्याहार्दै बसेकी त्यो किशोरी परिवारमा एक्ली कमाउ सन्तान थिई । गुरुङ बाबु र क्षेत्री आमाकी सुन्दर छोरी कासाङ वर्षभरि मुस्ताङमा दुःखजिलो गर्थी र हिउँद लागेपछि समूहमा भारत पसेर जरीबूटी आदिको व्यापार गर्थी परिवार पाल्न । लक्ष्मीलाई उसको जिम्मा लाएर चिन्तारहित थियौं हामी, जोमसोमको प्रत्यागमन यात्रामा । उसैले खोजेर जिम्मा लाएकी मुक्तिनाथ लजमा पुगेर सरसामान बिसाएका थियौं । 
अब अर्को समस्या आइलाग्यो मेरोलागि । जोमसोमसम्म घोडामा आइपुगे पनि लक्ष्मीका लागि पहिले सोचेजस्तै घोडेपानी भएर हिँड्दै जाने कुरा सम्भव थिएन । अब केगर्ने ? तेज र म दुवैको मुक्तिनाथ यात्राको उद्देश्य तिर्थाटन मात्र थिएन । त्योभन्दा बेसी नयाँ ठाउँको यात्राबाट अनुभव बटुल्नु र पछि सकेको नियात्रात्मक संस्मरण लेख्नु थियो । यसको लागि प्लेन र बसको यात्रा त्यति सघन हुन सक्दैनथ्यो ।
त्यसैले मेरो कारण तेज पनि यो अवसरबाट वञ्चित नहोस भनेर भनेको थिएँ– हामी प्लेनको टिकट पाएपछि पोखरा हुँदै काठमाडौं फर्कन्छौं, तिमी जाऊ न त पहिलेकै यो्जना अनुसार !
हामीलाई छाडेर फर्कन के मान्थ्यो तेजको मनले ? यस्तो यात्रामा तेज मित्र मात्र होइन, सधैं एउटा परिपक्व र जिम्मेवार अभिभावकका रूपमा समेत प्रस्तुत हुनेगर्छ ! अनि सुरु भएथ्यो हाम्रो पोखरासम्म पुग्न प्लेनको चारवटा टिकट खोज्ने महायुद्ध !
त्यतिबेला आर.एन.एसी. र साङ्ग्रिलाको उडान मात्रै थियो जोमसोममा । दिनको एक एक उडान हुन्थे । दश एघार बजेपछि कडा हावा लाग्ने भएकोले त्यसभन्दा पछि विमान अवतरण सम्भवै थिएन । त्यसैले टिकट पाउनै मुस्किल । जतिबेला गए पनि “बुक भैसक्यो, भोलि आउनोस्, हुन्छ कि हेरौंला ।” भन्दै फिर्ता पठाउँछन् । भित्रभित्रै मुर्मुरिएर फर्कनु बाहेक के पो गर्न सकिन्थ्यो र ? मजबुरीका नाम महात्मा गान्धी ! छैन भनेको टिकट ब्ल्याक मार्केटमा सजिलै पाइने कुराको हामीले भेउ नै पाएनौं ।
त्यो टिकट खोजको कोलम्बस अभियान बल्ल बल्ल टुङ्गियो । बिचल्ली परेका हामी यात्री १८ जना पुगिसकेका रहेछौं । त्यसपछि बल्ल हामीमाथि दया पलाएर हो वा विशेष उडानको दुईगुना मूल्यबाट हातलागी हुने थप कमिसनको आकर्षणले हो, आर.एन.एसी.का कर्मचारीहरूले बल्तल्ल एउटा विशेष अर्थात् चार्टर्ड उडानको व्यवस्था गरिदिए । त्यसपछि पछि बल्ल ढुक्क हुन पाएका थियौं !
मुक्तिनाथबाट फर्केको तेस्रो दिन बल्ल फर्किने तय भयो त्यो विशेष उडानबाट । पैसा बुझाइयो, टिकटको कुरै छैन । भोलिपल्ट विमान आयो, कर्मचारीले लाम लगाएर भित्र पसाए– अझै पनि टिकटको कुरै छैन !
कत्ति गर्दा पनि हात परेन टिकट र बिना टिकट सम्पन्न भयो जोमसोम–पोखराको अविश्मरणीय हवाइयात्रा !
धन्न केही भएन ! कुनै दुर्घटना हुन पुगेको भए बेवारिसे मृत्यु मर्ने रहेछौं हामी । न नाम, न परिचय । विमा रकम पाउने त कुरै भएन !
विजय निवास, आरुबारी ।

Tuesday, February 6, 2018

त्यो त भइहाल्छ नि...! –विजय चालिसे

 
धन्यवाद, मधुपर्क ! धन्यवाद श्रीओम, तुलसीजी ।
(मधुपर्क पूर्णाङ्क ५८५, २०७४ फागुन अङ्कमा प्रकाशित कथा)
“गाउँघरमा आफ्नै उमेरका साथीभाइ ओच्छ्यानमै गुडुल्किइरहने बेला बिहान पाँच बजेदेखि हामी बालभिक्षुको दिनचर्या शुरु हुन्थ्यो ।” पासाङ हामीसामु विगतस्मृतिका बिस्कुन फिजाउन आफैंलाई तयार बनाउँदै थिई ।
छरितो शरीर, हाँसिरहेजस्ता चाम्किला पानीदार अँखा, हिउँरङको गोरो अनुहारको बीच गालाका दुबै पट्टी पाकेका मुस्ताङ्गी स्याउ झैं रक्तिम आभायुक्त फक्रँदो जवानी । पासाङको आकर्षणबाट जो कोहीलाई पनि उम्कन कठिन पथ्र्यो । गाढा रातो अर्थात मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गाकोे पोशाकले गोरो हिमाली कसिलो व्यक्तित्वलाई झनै आकर्षक तुल्याउन सफल थियो । महझैं मीठो बोली र निश्छल प्राकृतिक हिमाली सौन्दर्यको मोहनीयुक्त आकर्षण, साँच्चिकै चमत्कारपूर्ण लाग्थ्यो उसको सौन्दर्य । विजुली चाल र मिजासिलो, मधुर व्यवहारले ममात्र होइन उसलाई देख्ने जोकोही यसरी नै मोहनी आकर्षणमा डुब्न पुगेका थियौं । साँच्चैकी हिमकन्या वा महादेवजस्ता फक्कडलाई समेत मायामोहमा आकण्ठ डुवाउन सक्ने रुपसी पार्वतीको प्रतिरूप लाग्दै थिई त्यो केटी तर परम्पराको कठोर साङ्लोमा बाँधिएकी ऊ भने कसैको प्राप्तिमा तपस्यारत किन्नरकन्या थिइन, सम्पूर्ण मानवीय चाहनालाई आफैंभित्रको अन्धगुहामा धकेल्न वाध्य एउटी प्रतिनिधि युवती मात्र थिई ।
हामी यतिबेला उत्तरी हिमाली भेगको एउटा विश्रामगृहमा थियौं । विश्रामगृह पस्नासाथ एउटा ठूलो साझा कोठा थियो । त्यही साझा पहुना कोठाको बीचतिर चार–छ वटा काठका कुर्सी गोलाकार रखिएका थिए । कुर्सीहरूको माझ टेबिल र टेबिलमुनि गहिरो खाडल देखिन्थ्यो । त्यही खाडलमा भर्भराउँदो गरी बलिरहेको गोलको आगाको रापले पूरै कोठ मज्जाले तताएको थियो । हामी अगेनाको वरिपरि गोलाकार राखिएका कुर्सीमा न्यानो ताप्दै तातो चियाको रमरम आनन्द लिइरहेका थियौं । झ्यालबाट सुुटुक्क छिरेको साँझपखको अस्ताउँदो कलिलो घाम झ्यालको सिसाबाट छिरेर कोठामा छरिएको थियो । त्यसरी छिरेको अस्ताउँदोे घामको रक्तिम सिंदूरे आभाको लुकामारीले वातावरण अरू रोमाञ्चक लाग्थ्यो । अझ लुकामारी गरिरहेको सिन्दूरे घामले यताउता फ¥याक फरुक गरिरहेकी सुन्दरीको गाला चुम्दा झनै मादकता छरिएको थियो उसका निर्दोष र निश्छल हिमाली सौन्दर्यमा । उसलाई भने ती कुनै कुराको मतलब थिएन । ती सबै कुराबाट पूरै अनभिज्ञ देखिन्थी त्यो भिक्षुणी अर्थात, आनी !
पदमार्ग छेउको यो विश्रामस्थल अर्थात प्रचलित भाषाको लजकी मालिक्नी उसकी ठूली आमा थिइन । ठूलोबाबु दावा गुरुङ प्रायः पोखरा वा भारतका सीमावर्ती शहरहरूमा हिमाली जडीबूटीको व्यापार गर्न जान्थे । विश्रामगृहको सम्पूर्ण जिम्मेवारी ठूलीआमाकै काँधमा थियो । कहिलेकाहीँ गुम्बाबाट छुट्टी पाउँदा ऊ पनि ठूली आमाकहाँ एक दुई रात बिताउन आउने गर्थी । अनि आएको बेला ठूली आमालाई सघाउने काम त स्वाभविकै भइ हाल्यो । आज यस्तै मौका परेको थियो सायद । लजमा हमी बाहेक अरु पनि पाँच–सातजना पाहुना थिए । सबैलाई खाना, चिया र अरु फर्मायसी बस्तु तयार गर्ने र ओसार्ने काममा ठूलीआमालाई सघाइरहेकी थिई ऊ ।
“तपाइँ त भिक्षुणीजस्ती देखिनुहुन्छ । यो लजमा किन नि ?” हामीमध्ये कसैको जिज्ञासामा बिस्तारै खुल्दै गएकी थिई ऊ । त्यो पनि एकैपटक होइन, किस्ताबन्दीमा । शुरुमा त बोल्नै चाहेकी थिइन । हुनसक्छ हाम्रो सामान्य र शालिन व्यवहारका कारण होला, बिस्तारै खुल्न थालेकी ऊ ।
“म आनी हुँ, यहीँ नजिकै गुम्बामा बस्छु । गुम्बाको रेखदेख, सरसफाइ र पूजापाठमा जीवन बित्छ सर !” यसरी बिस्तारै हामी उसको विगत र वर्तमानमा प्रवेश गरिरहेका थियौं । विगतस्मृति गर्दा जीवनजस्तै उसको अनुहारमा पनि उतारचढाव देखिन्थे । कहिले उज्यालो आभा फैलँदै जान्थ्यो, कहिले पीडाको ग्रहणले अनुहारको उज्यालोलाई खोसिदिन्थ्यो ।
ऊ आमाबाबुकी माहिली छोरी थिई । उसभन्दा माथि दाजु पेम्वा थियो, पछाडि बहिनी कासाङ । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । यसरी त्यही माहिली छोरी हुनुको नियति भरजीवन भोग्न अभिशप्त थिई ऊ भिक्षुणीको रूपमा सबै नारीसुलभ चाहनालाई बलि चढाएर ।
“हो...., गाउँघरमा हामै्र उमेरका केटाकेटी उठेका पनि हुँदैनथे । गुम्वामा हामी सात–आठ वर्ष उमेरका बालभिक्षुहरूको दिनचर्या विहान पाँचैबजेबाट शुरु भइसक्थ्यो । त्यसभन्दा अगाडि नै नित्यकर्म सकेर हामी दुई घण्टालामो प्रातकालीन प्रार्थनाका लागि गुम्बाको अग्रभागमा भेला भइसक्नु पथ्र्यो । त्यहीँबाट शुरु हुन्थ्यो हाम्रो दैनिक जीवन । मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गो पोशाकमा सजिएका हामी बाहिरकाले हेर्दा भने एउटै लाग्थ्यौं सायद ! कुनै अलग परिचय थिएन हाम्रो । गुम्बाको फराकिलो प्राङ्गणमा लाम लागेर प्रार्थना सक्नासाथ अर्को लाम शुरु हुन्थ्यो– कौलाका लागि । कौला खाइसक्दा नसक्दै साढे आठ बजेत फेरि पढ्नको लगि आ–आफ्नो कोठामा पुगिसक्नुपथ्र्यो ।”
उसको आँखामा कहिले वाल्यकालीन जीवनमा भोगिएका सीमित खुशीका क्षणले छाडेका उज्याला रेखा छरिन्थे, कहिले सानैमा बाबुआमाको काखबाट खोसिएर गुमाएको वात्सल्य प्रेमको अभावसृजित वाल्यमनोभावजन्य पीडास्पद अनुभूतिका धूमिल ग्रहण । त्यो देखेर अपराधबोधले समेत चिमोट्न खेज्दै थियो हामीलाई – किन बेकारमा कोट्याएछौं उसको विगत !
आमाको न्यानो काखबाट खोसिएर गुम्बाको कठोर अनुशासित जीवनमा प्रवेश गरेका शुरुका दिन त उसलाई चरीजस्तै भुर्र उडेर कहिले आफ्नै घरगाउँ पुगूँजस्तो हुन्थ्यो । हरबखत घरको यादले सताइरहन्थ्यो । आमा भेट्न आउँदा कतिपटक रुँदै पछि नलागेको पनि होइन । आमा भने ललाइफकाइ गुम्बैमा छाडेर जान्थिन । आमाले छाडेर गएपछि धेरै बेर गुम्बाको एउटा कुनोमा रुँदै बस्थी ऊ । महिनौ महिनापछि बल्ल अभ्यस्त हुँदै गएकी थिई गुम्बाजीवनसँग ।
“त्यतिबेला आमाले आफूलाई मायानै गर्दिनन् भन्ने लाग्थ्यो । त्यसैले आँसु लुकाउँदै गएकी आमाको कोमल मनको चित्कार समेतको अनुमान गर्न सकेकी थिइन मैले । धेरै पछि मात्रै बुझेँ – उसकोजस्तो गरिव परिवारमा सन्तान पाल्नुको बोझ कम गहु्रङ्गो थिएन । त्यही बोझबाट बच्नका लागि यस्तै उपाय नै त बाँकी रहन्थ्यो ! हुन पनि आनी वा झुमा र लामा बन्न गुम्बामा पस्ने सबै नै गरीबबाबुआमाका छोराछोरी हुन्थ्यौं । मेरो परिवार पनि यस्तै थियो । भाइ सानै थियो । बाबु वषर््ाभरिको सामल थेग्न पुग्ने कमाइ गर्न आठ महिनाजति घरवरिपर नै सामान खेप्थे । हिउँदमा मङ्सिरदेखि फागुनसम्मका चार महिना हिउँलले बाहिर निस्कनै सकिँदैनथ्यो । हिउँले गर्दा त्यता हुँदी काम पाइँैनथ्यो । पाए नै पनि घरबाहिर निस्कनै नसकिने चिसोमा काम गर्न सक्ने कुरै भएन । त्यसैले हिउँदको बेला उनीजस्ता धेरै मानिस इण्डियातिर लाग्थे । त्यताहँुदो व्यापार वा काम गरेर लाइखाई जोगिने १०–१५ हजार रुपियाँ पनि ठूलै आमदानी ठानिन्थ्यो । तानतुन गरी यसरी नै वर्षदिनको घरखर्च चल्थ्यो ।”
उसको मात्र नएर हिमाली भेगमा बस्ने उसका जस्ता सबै गरीब परिबारको साझा नियति थियो यो । गाउँठाउँमा सामान बोक्ने काम नपाएपछि हिउँद लाग्नासाथ गाउँ रित्तिन्थ्यो । सक्नेजति अबैंसे, बूढापाका र तन्नेरा–तन्नेरीहरु प्राय भारत वा नेपालकै विभिन्न ठाउँतिर लाग्थे । भारत पुगेर केही भाँडामाझ्ने काममा लाग्थे, केही धनी मानी भारतीयको मोटर सफागर्ने काम फेला पार्थे । कोही होटलमा काम पाउँथे, कोही यतैदेखि जम्मा गरी लगेको हिमाली जडिबूटी र शालिग्रामहरुको व्यापार गर्थे । केही वर्ष यतादेखि भारतीयहरू नै यता आएर ती बस्तुको व्यापार गर्न थालेकाले जडीबूटी पनि त्यति बिक्दैनथ्यो । येनकेन चार–पाँच महिना उतै बिताएर धेरैजसो घर फर्कन्थे, कोही उतै बस्थे । त्यसैले गाउँमा बूढाबूढी र साना नानीहरु बाहेक कोही भेटिँदैनन् । हिउँले सबै ढाकेर घरबाहिर निस्कन नसकिने हुनाले हिउँ नपग्लिन्जेलका लागि पुग्नेगरी घरभित्रै पीठो, चिया, सात्तु आदि खानेकुराहरुको व्यवस्था गरिन्थ्यो । त्यही खाएर बूढाखाडा, केटाकेटी र थोरै जवान युवा युवती घरभित्रै बस्थे । खाने पानीसमेत घरको छानाको सानो दूलो पारेर हिउँ झार्दै पगालेर जम्मा गर्नु पथ्र्यो ।
बाबुआमा एकप्रकारले सुकुम्बासी थिए, घडेरी बाहेक खेतबारी केही थिएन । हुने कै पनि फापर, जौजस्ता हिमाली हावापानीमा उब्जने थोरै उब्जनीले वर्षदिनको गुजारा चल्दैनथ्यो । त्यसैले बाबु आमाले पनि मन नमान्दा नमान्दै पठाएका थिए होलान्, उसलाई गुम्बा ।
“त्यसमाथि म परेँ, माहिली छोरी । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । छोरीलाई गुम्बा पठायो भनेर कसैले औला उठाउने कुरा पनि थिएन ।” ऊ विगतस्मृतिमा पूर्णतया हराइरहेझै लाग्थी । आँखा शून्यमा कतै एकोहोरो गडिरहेका थिए । लाग्थ्यो ऊ वर्तमान छिचोलेर वाल्यकालीन संसार नियालीरहेकी छ ।
“एकरस जीवन बित्यो बाल्यकालमा । दिउँसोको खाना खाएपछि अपरान्हतिर चियाको लागि घण्टी बज्थ्यो । हामी चिया खाने कोठामा लाम लाग्थ्यौं । लगभग सात–आठ वर्षउमेरका हामी केटाकेटीहरू सबै नै सामान्य बालजीवनबाट अलग्याएर बुद्धका अनुयायी बनाउन समर्पित गरिएका जीव थियौं । चाहना विपरित बलात समर्पित बलि ! चियाको समय सकिएको घण्टी बज्थ्यो । हामी फेरि अध्यनका लागि हतार हतार कोठातिर लाग्थ्यौं । साढे चार–पाँच बजे कक्षा सकिए पछि बल्ल बालसुलभ प्राकृतिक संसारमा हराउन र बालस्वरुपमा फर्कन केहीबेर मुक्ति मिल्थ्यो । रातको आठ बजे त विछ्यौनामा पुग्नु परिहाल्थ्यो ।” केही बेर रोकिएर लामो निश्वास छाड्छे ऊ ।
उसका आँखामा विगतकालीन कहालीलाग्दो अन्तरपीडाका मसिना धर्साहरू देखापर्दै जान्छन् । “ठूला धार्मिक मेला बाहेक गुम्बा छाडेर बाहिर निस्कने अनुमति हुँदैनथ्यो । शनिबार एक दिन केहीबेर टेलिभिजन सम्म हेर्ने पाइन्थ्यो, नत्र आधुनिक मनोरञ्जन के हो उसलाई थाहै थिएन । जाडोमा अघिपछि तेङ्गोमाथि ज्याकेट खाप्न पाइए पनि पूजापाठको बेला त्यै पनि लाउन पाइँदैनथ्यो । जाडोले धामी कामेझैं काम्दै पूजामा बस्नुपथ्र्यो ।”
सुन्दैमा पनि द्रवीभूत हुन पुगेका थियो हाम्रो मन । ओहो कसरी खोसिन्छन्ं बल्यकाल मेरा देशका गरीब शिशुहरूको । कुनै जात वा जतिको मात्र होइन यो खोस्ने–खोसिने नियति । हिमाली डोल्मा र पासाङहरू मात्र होइन सुदूर पहाडी राधा, सीता वा गीताले भोगिरहेका नियति पनि यही हो । गरिवी र अज्ञानले परम्पराका नाउँमा तिनका वाल्यकाल मात्र नभएर नारीसुलभ हरेक चाहना र जैविक आवश्यकता समेत खोसिइरहेको छ । चाहे, आनी वा झुमाको् नाउँमा होस्, चाहे देवदासी वा देवकन्या वा देवदासीको नाउँमा– अझै धेरै छन् मैले जोगाएका विकृत विसङ.्गत परम्पराका शिकार ।
“साँच्चै कति कठोर जीवन विताएर आएकी छ हगि यो केटीले । त्यसैले होला, आगोमा पोलिएर निख्खर बनेकी शुद्ध सुनजस्तै लाग्छे यो केटी, कञ्चन, साँच्चिकै कञ्चन ।” उसको यो मोहनी आकर्षण र उसले भोग्दै आएको जीवन देखेर मेरो मुखबाट निस्किन पुगेका थिए सुस्तरी यी शब्द ।
“साह्रै अनुशासित र कठोर थियो होला हगि गुम्वामा त्यतिबेलाको जीवन !” हामीमध्ये कसैले प्रश्न ग¥यो ।
त्यो प्रश्नपश्चात पूर्वस्मृतिमा हराउँदै गई ऊ । उसका दृष्टि सुदूर भूततिर केन्द्रित हुँदै गएझैं लाग्दै थियो । कथावाचकको रूपमा आफ्नै पूर्व कथाको पारायण गर्दै थिई ऊ– हो त कति नरमाइला थिए ती दिन ! सधैं विहान पाँचै बजे उठ, नित्यकर्म सकाउ, विहानको कौलाका लागि लाम लाग । केहीबेर कसरत गर र लामो पट्यारलाग्दो कक्षमा बस । न आफूलाई मन परेको खान पाइन्थ्यो न खेल्न र घुमघाम गर्न । घर समेत वर्षमा एक दुई पल्ट चाडबाडमा मात्रै देख्न पाइन्थ्यो ।
“ओहो, निकै कठोर पो छ हगि गुम्बाको जीवन !” गुम्वाका बानलभिक्षुको दिनचर्या बारे उसले सुनाएका कुरा सुनिरहँदा हाम्रा अगाडि आफ्नै छोराछोरी झल्झली देख्दै थियौं । जो हरबखत वात्सल्यमा सरोबर छन् ।
“आनी र भिक्षु–भिक्षुणीहरूले घरजम गर्न हुँदै रे हो ? यस्तै भन्ने सुनेका थियौं हामीले, हो त ?” आफूले सुनेको कुराको आधारमा जन्मेको जिज्ञासा थियो यो ।
“हो, हामीलाई गुम्वा पसेपछि नै बिहे नगर्नें, एक छाक मात्रै खाने र शीलको पालना गर्ने कुरा सिकाइयो । ्त्यसरी सानैदेखि पालना गर्न सिकाइएको पञ्चशील नराम्रो पनि थिएन । त्यो भनेको हामीले गर्न नहुने पाँच वटा कुरा नै त हो । पालना गर्नु पर्ने ती आचरण झुठो नबोल्ने, जाँडरक्सी नखाने, व्यभिचार नगर्ने, यौन समागम र चोरी नगर्ने हो ।”
अष्टशीलका सबै आचरण वास्तवमा राम्रा थिए, पालनायोग्य । ती मध्ये एउटा आचरणलाई भने हाम्रो दिमागले सहज रूपमा पचाउन सकिरहेको थिएन । सम्यक रूपमा पालना गरिने गृहस्थ जीवन र सम्यक यौन सम्बन्ध सृष्टिको निरन्तरता र सभ्यताको आधार होइन र ? व्यभिचार वर्जित मान्नु अत्यन्त उपयुक्त हो, तर सम्यक र सामाजिक दृष्टिमा स्वीकार्य शारीरिक सम्पर्क अर्थात यौन समागम ? त्यो त सृष्टिमा कुनै पनि जीवको जैविक आवश्यकता हो । सृष्टि र सभ्यताको निरन्तरता हो । यौन समागमको विरुद्धमा गुम्वाको प्रशिक्षण क्रममा जति नै नकारात्मक सोचको विकास गराइए पनि ती भिक्षुणीहरूमा मातृत्वको भोक र यौनको जन्मजात शारीरिक चाहना निर्मूल होला र ? यिनै शाश्वत प्रश्न मडराइरहेका थिए त्यतिखेर हाम्रो दिमागमा ।
यस्तो प्रश्न उठ्नुमा यता आएदेखि सुनिएका विभिन्न कुराको पनि योगदान थियो । सुनिन्थ्यो, यौनसम्बन्धको स्वीकृति नभएकोले प्राय भिक्षु–भिक्षुणी विबाह सम्बन्धमा गाँसिदैनन् । यता आएर भने बदलिँदो समयक्रमसँगै गुम्वाजीवनमा पनि केही खुला पन आएको छ । कहिले काहीँ गुम्वाका भिक्षु–भिक्षुणी पनि विवाह बन्धनमा बाँधिन थालेका छन् । यस्तै सुनेका थियौं हामीले ।
“हो, कहिलेकाहीँ यस्तो पनि देखिन्छ । हाम्रैं गुम्वाबाट पनि यसै वर्ष एकजना आनी साथीले गुम्वा जीवन त्यागिन् । मनमिल्ने भिक्षुसँग परिवार बसाल्न उनले गुम्वा छाडेकी थिइन ।” गाउँमा अरुबाट सुनेको कुराको उसबाट पनि यसरी पुष्टि भएपछि अपत्यार गर्ने कुरै भएन ।
“नरिसाउने भए एउटा कुरा सोधौं ?” उसको जवाफपश्चात सङ्कोच मान्दै दिमागमा मडराइरहेको जिज्ञासा मेट्न हामीबाट अर्को प्रश्न निस्कियो ।
“सोध्नोस् न । के हो त्यस्तो कुरा ?”
“गाउँघरमा आफूसरहका साथीसंगातीले काखमा नानी खेलाइरहेको देख्दा, विहे गरेर लोग्नेसँग सँगै हिँडेको देख्दा आफूलाई पनि बिहे गर्ने इच्छा जाग्दैन ? मन पर्ने कुनै युवकसँग जिन्दगी बिताउँजस्तो लाग्दैन ?” घुमाउरो प्रश्न गरेको थिएँ मैले । एउटी जवान केटीसँग सोझै यौन चाहनाको प्रश्न गर्नु निश्चय नै उपयुक्त हुँदैनथ्यो । त्यसैले परोक्षमा उसको मन चोर्ने प्रयत्न गरेका थिएँ ।
“त्यो त भइहाल्छ नि, हामी पनि त मानिसै हौं !”
अगेनोको आगोको राप र लुकेर उसको उन्नत भाल चुम्न कोठाभित्र पसेको अस्ताउँदा सूर्यको सिन्दूरे प्रकाशका साथै यो प्रश्नले फैलाएको अनुहारको रक्तिम आभा लुकाउन अर्कोतर्फ फर्किइ ऊ । सायद त्यसरी अनुहार लुकाउन खोज्नु आफूभित्रको शास्वत चाहना र वर्जित मातृत्वलाई अनावृत्त हुनबाट जोगाउने असफल प्रयास थियो कि ? हामी अनुमान मात्र गर्न सक्थ्यौं ।
विजय निवास, आरुबारी

Monday, January 22, 2018

Books penned by Vijaya Chalise













































Books penned by Vijaya Chalise



hotel rankivijayachalise.blogspot.com/2013/02/vijaya-chalise.htmlani kuero phatchhatrividhaprayog Pratyaropanbhagna aasthako  agnichakravMera Dui Pustak   aprilko belayatdoteli loksanskriti ra Sahityamanka tulikama
Samachar Sankalan tatha  Sankampadan photo 1 (3)aamsancharka dwanda aamsancharka media & ulture 

photo 3  photo 2 bijaya bookHamro oripariko BigyanBadalka ButtaharuSebaka Murti Dayabir photo 5book 3 Biswoprasiddha Bala KathasangrahaAmulya Upaharphoto 4Kisanbata Sikshhyabook 10Chatikiko Bandarvijaya chaliseka Balakathaharuphoto 3 (1)Yeti, AntarichhaKaka Kagphoto 4 (1)Ma Nepaliphoto 1 (4)photo 2 (2)Chi Chi Challo-Cover1526146_10202895476015431_4152460239963384732_nNaya Sathi-Natak CoverMngalgrahama BigyanMustangko GuphaLaluko Yatra Cover

  photo 1 (2)