Monday, December 22, 2014

यो त मान्छे नै होक्यार ! –विजय चालिसे

(कल्पतरुका, द्वैमासिक–५४, वर्ष १३, अंक ३ २०७१असोज–कार्तिक)

“यो त मान्छे नै होक्यार, दुरुस्तै छ त बोलिहाल्ला जस्तै !” महात्मा गान्धी, मदर टेरेसा र लेडी डायनाको मैनमूर्तिसँगै बसिरहेको सुट टाइमा सजिएको जापानीजस्तै एउटा आकृतिलाई देखेर लक्ष्मीले अचम्म मान्दै भनी । हुन पनि सबै आकृति जीवन्त थिए । त्यसमा पनि त्यो जापानी त जुरुक्कै उठेर हात मिलाउन आउलाजस्तै !
हामी वाक्स म्युजियममा थियौं, टावरभित्रको तेस्रो तलामा । टोकियो टावरको यही तलामा थिए भूत घर, गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र टावर ग्यालरी ! टावरकै विशेष आकर्षण थिए यी । हामी १९७० देखि सञ्चालित मैन मूर्तिहरूको सङ्ग्रहालयमा थियौं । सुरुमा लण्डनमा बनाएर यहाँ ल्याइएका थिए रे मैनका मूर्तिहरू । यी मूर्ति र मैनमूर्ति सङ्ग्रहालयले मलाई २६ वर्ष अगाडिको कालखण्डमा पु¥याएका थिए– त्यतिबेला हेरिएको लण्डनस्थित म्याडाम टुसादको मैनमूर्ति सङ्ग्रहालयमा ।
हुन पनि टोकियो टावरको म्याडम टुसादको मैनमूर्ति सङ्ग्रहालय कक्षामा जता हे¥यो त्यतै यस्तै विश्मित तुल्याउने दृश्य थिए । कतै दुरुस्त आइन्स्टाइन थियोरी अफ रिलेटीभिटीको व्याख्या गरिरहेजस्तै  देखिन्थे, कतै  माओ, लेनिन र होचिमिन्हहरू आ–आफ्नो युग हाँकिरहेजस्तै लाग्थे । अनि कतै बसिरहेका थिए बेलायतका चर्र्चित प्रधानमन्त्री चर्चिल ! राजनीतका गुरुगम्भीर व्यक्तित्व मात्र थिएनन् त्यहाँ सन्सारका लाखौं युवा मनका धड्कन स्वप्नसुन्दरी र सपनाका राजकुमारहरू पनि थिए । रजतपटका कलाकार मेरिलिन मुन्रो लगायतका विश्वप्रसिद्ध स्वप्नसुन्दरी सिनेनायिका र नायकहरू थिए ! विश्वप्रसिद्ध ललितकलाका मास्टरहरूका कmाकृति थिए, कलाकार थिए थिए उनीहरूको क्रियाशील दृश्यहरू । कतै विश्वप्रसिद्ध कलाकार लियोनार्दो द भिन्सीको कालजयी कृति द लास्ट सपरको प्रतिकृतिले लोभ्याइरहेका थियो, कतै मोनालिसाको रचनाक्रममा एकातर्फ चित्रफलकमा तयार हुँदै गरेको १६ औं शताब्दीको विश्वविख्यात तैलचित्र मोनालिजाको तयार हुँदै गरेको चित्रले । अनि अर्कोतिर मोनालिजाको पोजमा देखिने एउटी सुन्दरी मोडेल अर्थात कला इतिहासकाहरूका अनुसार तत्कालीन ल्फोरेन्सका धनी व्यापारीकी पत्नी लिजा मोडेल बनेर उभिएकी, अचल र अर्को छेउमा मोडेल मोनालिजालाई गौरसँग हेरिरहेका दा भिन्सिीको तैलचित्र ! दा भिन्सीले मोनालिसाको सिर्जना गरिरहँदाको मुड समात्ने प्रयास गर्ने त्यो चित्र आफैंमा पनि सुन्दर थियो, कालजयी ! अरु पनि धेरै थिए यहाँ यसरी मन लोभ्याउने कलाका सुन्दर अनुकृति र मैनका जीवन्त मूर्तिहरू ! तीसँगै बसेर, उभिएर फोटो खिचाउँदै क्यामरामा कैद गर्दै गयौं हामी ती सुन्दर क्षणलाई । अहिले बीस वर्ष अघिका सम्झना पनि तिनै मैनका अनुकृतिजस्तै जीवन्त भएर उघिएका थिए मेरा अगाडि । हो बीस वर्ष अघि पनि यसरी नै अभिभूत तुल्याएका थिए यी मैनका यी जीवन्त कलाकृतिले ।
यस अघि नै जापान पुगेकोपाचौं दिन रातको समयमा बाहिरैबाट केहीबेर हेरेर फर्केको टोकियो टावरमा आज २०६८ असोज १७ (४ अक्टोबर २०११) दिन बिताउने गरी आएका छौ हामी यात्राको एघारौं दिन अपराह्न । चाँडै भन्दा भन्दै पनि पुग्दा साढे बाह्र जति भइहाल्यो ।
विगत आधा शताब्दीदेखि लाखौं दर्शकलाई मनोरन्जन दिँदै आएको थियो टोकियो टावरले ।  फ्रान्सको एफिल टावरकै प्रेरणाबाट नाइएको रे यो ३३३ मिटर अग्लो सुन्दर मिनार ! टोकियोको मिनातोमा स्थित सन् १९५८ मा निर्मित यो मिनार झट्ट हेर्दा मनोरञ्जन टावर लाग्दथ्यो । यथार्थमा यति मात्र थिएन यो । मनोरञ्जन दिनुका साथै जापानी जापानी टेलिभिजन र रेडियो स्टेसनहरूलाई प्रसारण सुविधा दिइरहेको थियो यसले । त्यसैले यो जापानी विकास यात्रालाई आधुनिक सञ्चार प्रणालीको मेरुदण्ड बनेर सघाइरहेको थियो ।
मिनारको फेदीमा बनेको “फुट टाउन” सहर नभए पनि उटा सहरजस्तै थियो यात्रुले खोजेका सबै कुरा पाइने । आफूभित्र स्रग्रहालय, रेस्टुराँ र  पसलहरू थापेर ग्राहक बोलाइरहेका थियो यसको चार तले भवन संरचना । पहिलो तलामा थिए अक्वेरियम, ग्यालरी, रिसेप्सन हल, ४०० जना अटाउने टावर रेस्टुरा, ठूलो सपिङ कम्प्लेक्स र सोभेनियर पसलका साथै फेमिली मार्टहरू ! माथिल्लो तलाको १५० मिटर उँचाइसम्म पहिलो अवलोकन केन्द्र भनिन्थ्यो र यहीँ थिए यसभन्दा माथिल्लो अवलोकन कक्षमा पु¥याइने तीनवटा विजुली भ¥याङ । निरन्तर आन्तरिक र वाह्य दर्शनार्थी पर्यटक बोकेर तलमाथि गरिरेहेका थिए यी विजुली भ¥याङ ।
“ऊ...देख्नुभयो, संसद्भवन भवन डाइट र शाही दर्बार ?” २–३ किलोमिटर उत्तरतिर देखाउँदै  निस्केको आलोकको आवाजले हामी सबैको ध्यान खिच्यो । हामी पनि लाम लागेर विजुली भ¥याङ भित्रिएको एकै छिनमा मुख्य अवलोक कक्षमा पुगिसकेका । आहो कति तीब्र गति– आँखा झिमिक्क गर्न नपाउँदै त्यति माथि चढाउने ! चारैतिर सफा चहकिलो पारदर्शी सिसाबाट लगभग ३६० डिग्रीको कोणमा ठोक्किँदै थिए समग्र टोकियोका वैभव र भौतिक विकासका गगनचुम्वी संरचाहरू ! विज्ञान–प्रविधिकै क्षेत्रमा युरोप अमेरिकालाई चुनौती दिइरहेको आफ्नै एसियाको देश जापानको टोकियोलाई यसरी नियाल्नु आफैंमा रोमान्चक अनुभव थियो ! अनि बडो सानले गजधम्म बसिरहेका थिए आलोकले देखाएका संसद् भवन र जापानी सम्राटको प्रसिद्ध आवास ।.... अरु अरु असङ्ख्य गगनचुम्बी भवनहरू !
टावरको दक्षिणतिर समुद्र छेउको टोकियो खाडीमा विशाल पंखा फिँजाएर बसिरहेजस्तै देखिन्थ्यो नयाँ सहर ओदाइवा । ओदाइवा क्षेत्रको गौरव रेन्वो ब्रिज र फुजी टेलिभिजनको मुख्य कार्यालय टडकारै देखिन्थे । त्यहाँबाट अलि वर समुद्री किनारामा रहेको मेरिटाइम साइन्स म्युजियमको भव्य भवन, अनि विमानहरू उडउँदै ओलराल्दै गरिरहेका टोकियो अन्तर्राष्ट्रिय विमानस्थल (हानेदा) ! उता सिनागावाको कुनोमा सगौरव उभिएको जापानकै सबैभन्दा अग्लो भवन ल्यान्डमार्क टावर र पश्चिमतर्फको योकाहामा, एबिसु गार्डेन प्यालेसको विशाल गनचुम्बी भवन ! सिवुया तर्फ देखिने आशाही टेलिभिजन, रोपोङ्गी हिल र एनएचके टेलिभिजन केन्द्रका भव्य दर्शन । अनौठो अनुभूतिको सिर्जना गरिरहेथ्यो यी सबै कुराका दृश्यले । उत्तरतर्फको टोकियो मिडटाउनको टोकियोकै सबैभन्दा अग्लो गर्वोन्नत भवन, सिन्जुकुका आकास छुँला झैं गरिरहेका गगनचुम्बी भवनसंरचना सबै नै विश्मयकारी देखिन्थे मजस्ता गरिव देशका झुपडबासीहरूका लागि !
माथिबाट देख्दा बामपुड्के लाग्थे टोकियोका यी गगनचुम्बी भवनहरू । साना बिन्दुजस्ता देखिन्थे सबै संरचना र विशाल नगरहरू । पूर्वतर्फको युएनो पार्क, आसाकुसा सबै नै साना थिए, मुस्किलैले ठम्याउनु पर्ने । हो त विशाल संसारमा सबै एउटा बिन्दु नै त हुन् । नजिकबाट देख्दा जति नै विशाल देखिए पनि टाढाबाट हेर्दा आखिर सबै नै सना बिन्दु नै त हुन् । विशाल ब्रह्माण्डमा आखिर सबैको नै एउटा बिन्दुकोभन्दा बढी अस्तित्व कसको नै छ र ?
त्यहाँका प्रमुख कुरा औंल्याएर अवलोकन कक्षका चारैतिर राखिएका नक्साले दिशानिर्देश गरिरहेका थिए । नक्सा केही पर एकातिर माउन्ट सुकुवा देखाएइरहेको थियो । गिन्जातिरको टोकियोमा फुजी टेलिभिजन टावर र त्यसको विपरीततिर देखिँदैथियो टोकियो डिस्ने रिजोर्ट र वल्र्ड ट्रेडसेन्टरहरू ! त्यतैतिर देखिएको टेकियो प्रिन्स होटेलले केहीबेर नोस्टाजिक तुल्यायो मलाई । बीस वर्ष अगाडि यसैको एउटा कोठामा केही दिन आश्रय लिएको सम्झना आँखा अगाडि झल्झली आइरहे ।
“मौसम अलि सफा नभएर हो, नत्र यहाँबाट माउन्ट फुजी पनि देखिन्छ ।” ओहो...कति अग्लो रहेछ त यो लगभग सन् २०११ सम्म नै जापानको दोस्रो अग्लो मानवनिर्मित संरचनाका रूपमा परिचित टोकियो टावर ! आसाकुसाकै छेउमा निर्मित नयाँ टावर टोकियो स्काइलाई टोकियो टावरको यो अवलोकन कक्षबाट हेर्दै झट्ट लाग्यो– अब भने यसले आफ्नो त्यो परिचय गुमाउने छ । स्काइ ट्रीले खोस्नेछ अब यसको यो परिचय !
 हो, आसाकुसाकै छेउको अर्को गगनचुम्बी मिनार स्काइ ट्री उद्घाटन पर्खिदै सर्वसाधारणलाई टोकियो टावरकोभन्दा दुई गुना अग्लोबाट टोकियो देखाउन आतुर थियो यतिबेला । तलबाट देख्दा टोकियो टावरलाई बामपुड्के तुल्याउने प्रयास गर्दै खिज्याइरहेझैं लाग्थ्यो ।
सुरुमा नयाँ टोकियो टावरको नामले परिचित टोकियोको सुमिदामा निर्र्मित स्काइ ट्री टोकियो टावरभन्दा झन्डै दुई गुनाले अग्लो छ, ६३४ मिटर ! टेलिभिजन र रेडियो प्रसारण, दृश्यावलोकन र खानपनि लगायतका मनोरन्जनकै लागि बनाइएको हो यो स्काइ ट्री मिनार पनि ! दिन दुईगुना रात चौगुना भौतिक विकासको सगर छुन दौडिरहेको जापान र टोकियोका प्रसारण संयन्त्रलाई अब टोकियो टावरले धान्न नसक्नु स्वाभाविक हो । टोकियो टावरभन्दा अग्ला अग्ला भवन संरचनाको निर्माण हुन थालेपछि त्योभन्दा अग्लो टेलिभिजन टावरको आवश्यकता अनुभव भयो टोकियोलाई । अनि शुरुभयो २००८ मा यो स्काइ टावरको निर्माण । आजको लगभग चार महिना पछि सन् २०१२ को फेबु्रअरीमा निर्माण सम्पन्न भएर मई २२ तारिखका दिन उद्घाटन पर्खेर बसेको छ स्काइटावर पर्यटक भित्र्याउन आतुर बनेर ! कार्यक्रम समेत तय भइसकेको छ । यसको एन्टेनाको टुप्पोको उँचाइ ६३४ र छानाको उचाइ ४९५ मिटर छ रे । सबैभन्दा माथिल्लो तला नै ४५० मिटरको उचाइमा छ यसको । सजावट र बत्तीको साजसज्जा मात्र पूरा हुन बाँकी थियो यतिबेला । चवालीस करोड अमेरिकी डलर त खर्चै लाग्यो रे यो बनाउन । अहिलेसम्मकै संसारको सबैभन्दा दोस्रो अग्लो टावर मानिन्छ यो, चिनको गान्झाउस्थित क्यान्टोन टावर पछि । क्यान्टोन टावर स्काइ ट्रीभन्दा पनि ३४ मिटर अग्लो छ रे ! विश्वकै सबैभन्दा अग्लो युनाइटेड अरब इमिरेट्सको दुवइमा बनेको १६० तले मानवनिर्मित बुर्ज खलिफा टावर ले अझ यी दुवैलाई होभ्याउँदै छ । सन २०१० मा सर्वसाधारणका निमित्त खुला गरिएको बुर्ज खलिफा  ८२९.३४ मिटर अग्लो छ, स्काइ ट्रीभन्दा पनि १९५ मिटरजति अग्लो !
स्काइ ट्री सञ्चालनमा आएपछि जापानी टेलिभिजन प्रसारणको क्षमतामा निकै बृद्धि आउनेछ । प्रसारण टावरको रूपमा प्रयोग भइरहेको टोकियो टावर गगनचुम्वी भवनहरूले घेरिँदै गएकाले डिजिटल टेरेस्टियल टेलिभिजन प्रसारणका लागि त्यति प्रभावकारी बन्न सकेको छैन । जापानी टेलिभिजन अहिलेसम्म मोनोलग र टेरेस्ट्रियल दुबै प्रणालीमा चलिरहेका भए पनि सन् २०१२ देखि टेरेस्ट्रियल प्रणालीमा मात्रै प्रसारण हुने सरकारले निर्णय गरिसकेकोले पनि यो नयाँ टावरको आवश्यकता देखिनु स्वाभाविक थियो सायद् ।
हो, मौसम सफा हुँदा जापानको सान फुजी पर्वतदेखि तोसुकुवा पहाडसम्म सबै नै छर्लङ्ग देखिन्छन् रे यहाँबाट ! हामीले भने देख्न पाएनौं । कक्षको भुइँ रहेको सिसाबाट टावरको तलको रमाइलोदृश्यका साथै यही कक्षको सिन्तो मन्दिर र सोभेनियर पसलहरू हेर्दै हामी चढ्यौं माथि पुग्न अर्को बिजुली भ¥याङ । विजुली भ¥याङले मिलिक्क गर्दा नगर्दै पु¥याएको २५० मिटर माथिको विशेष अवलोकन कक्षबाट हेर्दा देखिएको दृश्य पनि लगभग तिनै थिए, मात्र उचाइको अन्तर । सिंगो टोकियोको दृश्यावलोकन साँच्चि नै रमाइलो अनुभव थियो ।
त्यो दोस्रो अवलोकन कक्षबाट तल झरेर हरायौं हामी तेस्रो तलाका विभिन्न आकर्षहरूमा ।  वाक्स म्युजियम र गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र केही टावर ग्यालरी हेरे पनि भूत घरभने. हेर्न चाहेनौं ।
चार बजेछ, टावरबाट ओर्लँदा । खानपिनपछिको अबको हाम्रो गन्तव्य थियो जोजोजी मन्दिर । टोकियो टावर नजिकैको सिवा पार्कमा रहेको थियो यो मन्दिर । मलाई सम्झना थियो, म यस अगाडि जापान आउँदा बसेको टोकियो प्रिन्स होटेलकै केही उता छ जोजोजी अर्थात् जोडो सु मूल मन्दिर । यही मन्दिरको वरिपरि फैलिएको छ टोकियो टावरदेखि यो मिनातो सहरको नगरपालिका भवनसम्म विस्तारित सिवा कोएन अर्थात् सिवा पार्क । टोकियोकै प्रसिद्ध नगरमध्ये पर्छ मिनातो । टोकियो टावर, रोपोङ्गी हिलजस्ता पर्यटन आकर्षषका केन्द्र मात्र नभएर विश्वका अधिकांश दूतावासहरू रहेको अन्तराष्ट्रिय आवागमनको समेत केन्द्र थियो यो । नेपाल, बंगलादेशजस्ता केही अति कम विकसित बाहेक विश्वका ७२ वटा धनी देशका दूतावास र तीनवटा वाणिज्य दूतावास बसेका छन् रे यो मिनातो सहरमा !
टोकियो टावरबाट निस्केदेखि नै यही सिवा पार्कबीचको सडकपेटी हुँदै बढेका थियौं हामी जोडो–बौद्ध सम्प्रदायको प्रमुख मन्दिर जोजोजी तर्फ । टोकियो टावरबाट मन्दिर तर्फं अघि बढिरहँदा झ्वाट्ट आका परेको टोकियो प्रिन्स होटेलले मलाई पूर्वस्मृततिमा पु¥याइदियो, केही बेर नोस्टाल्जिक बनँे । मलाई बीस वर्ष अगाडिको सम्झना व्युँताइदियो यो टोकियो प्रिन्स होटेलले ! त्यतिबेला जापान आउँदा यही होटेल थियो हाम्रो टोकियो रहुन्जेलको आवास ।
मन्दिर बाहिरै मूल प्रवेशद्वार नजिकै बौद्ध भीक्षु–भीक्षुणीहरूका रंगीन चिवरमा सजिएका सयौं स–साना पुतलीजस्ता मूर्तिहरू देखिए । बुद्धदर्शन अन्तर्गतको विशुद्ध भूमि सम्प्रदायमा पर्छ रे यो जोडो सु सम्प्रदाय । मन्दिर करिव ६ सय वर्ष पुरानो रहेछ, सन् १३९३ मा निर्माण भएको । सुरुमा जोडो स्कुलका रूपमा निर्माण भएको यो मन्दिरको वास्तविक नाम भने सानयेन–जान कोडो–इन जोजोजी रहेछ । अमिदा अर्थात अमिताभ बुद्धको विशाल मूर्ति मन्दिरको मूल मूर्तिका रूपमा स्थापित थियो । मन्दिरका अरु विभिन्न खण्ड र कक्षमा शाक्यमुनि बुद्धका तीन र अर्हतका सोह्रवटा मूर्तिहरू देखिन्थे । यसरी नै यस संप्रदायका संस्थापक होनेन शोनिनको पनि एउटा आकर्षक मूर्ति स्थापना गरिएको देखिनथ्यो । मूर्तिहरू बौद्धकला परम्परामा जापानी शैलीको प्रयोग देखिन्थ्यो र कलात्मक थिए सबै नै । मन्दिरको मुख्य द्वारका साथै दाइबोन्सो (विशाल घन्टा) जस्ता कलाका अनुपम कृतिहरू जापानी राष्ट्रिय सम्पदाकै अभिन्न अङ्ग मानिँदा रहेछन् । जापानी भाषा खान्जीमा अमितास्यु भनिने अमिताभ बुद्धको शाव्दिक अर्थ अपरिमित जीवन अर्थात इन्फिनिट लाइफ र अमिताभ को अर्थ अपरिमित प्रकाश (इन्फिनिटिभ लाइट) भनिन्छ ।
गौरवले छात्ती ढक्क फुल्यो ! नफुलोस् किन ? आखिर नेपाली भूमिले नै त जन्माएको हो गौतम बुद्धलाई, अमिताभ बुद्धलाई ! मेरा नेपाली बुद्धहरू यो विदेशी भूमिमा यसरी पुजिनु आखिर मेरै पुजा त हो, मेरै नेपाल आमाको पुजा ! तर आजको म के यो पुजा ग्रहण गर्ने सत्पात्र बन्ने प्रयत्नमा छु ? साथसाथै मन आफ्नै अन्तर्मनसँग प्रश्न गरिरहेका थियो यतिबेला ।
२०६९ माघ २२
विजय निवास, आरुबारी

No comments:

Post a Comment