Thursday, December 25, 2014

राष्ट्रिय संस्कृति, भूमण्डलीकृत सांस्कृतिक साम्राज्य र सञ्चारमाध्यम –विजय चालिसे

(भृकुटी–१९,समालोचनात्मक एवं अनुसन्धानात्मक साहित्यिक–सांस्कृतिक सङ्ग्रह, सांस्कृतिक अध्ययन विशेशाङ्क असार, २०७०)


१. राष्ट्रिय संस्कृति र लोकसंस्कृति तथा लोकजीवनः

संस्कृतिमा ‘लोक’ पूर्वपद मिलेर समस्तपदका रुपमा ‘लोकसंस्कृति’ र ‘साहित्य’मा ‘लोक’ पूर्वपद लागेर ‘लोकसाहित्य’ बनेको छ । संस्कृति, साहित्य अदि शब्दमा पूर्वपदका रुपमा मिलेर जनता र जाति विशेषको अर्थ दिने ‘लोक’ शब्दको व्युत्पत्ति संस्कृत व्याकरण अनुसार लोक दर्शने धातुमा घञ् (अ) प्रत्यय लागेर (लोक+घञ् (अ)=लोक) बनेको मानिन्छ । यो धातुको अर्थ देख्नु वा हेर्नु हो । त्यसैले यो हेर्ने वा देख्ने जनसमुदाय नै लोक हो । ‘लोक’ शब्दको सामान्य अर्थ हुन्छ लोकजगत वा ग्राम्यजगत । तिनै सामान्यजनको जीवनलाई ग्राम्यजीवन भनिन्छ र तिनै सामान्य लोकजनद्वारा स्वतस्फूर्त स्वभाविक रूपमा गर्ने गरेका अभिव्यक्ति, सिर्जना, विधिव्यवहार, रहनसहन, अर्थात् लोकजीवनका सामान्य जनसमुदायको समष्टिगत ज्ञानवैभव लोकसंस्कृति वा लोकवार्ता हो भने लोकको उपभोगका लागि, लोकलाई उपभोक्ता बनाउन औद्योगिक उत्पादनसमान निर्मित भौतिक तथा अभौतिक संस्कृति लौकिकसंस्कृति वा पपुलर कल्चर हो । यो लौकिक संस्कृति यथार्थमा संस्कृतिको व्यापारीकरण गर्ने सशक्तमाध्यम हो ।    
लोकसंस्कृति लोेकजीवनको सचेत सिर्जना र व्यवहारका यावत कुराहरू समाहित गर्ने समग्र लोकशिल्पचातुर्य हो, जुन भाषा, चिह्न, सङ्केत, विश्वास, परम्परा, वेषभूष, खानपान, रहनसहन आदिका रूपमा मूर्तिकरण हुन्छ । यसैबाट जातीय तथा समष्टिगत राष्ट्रिय सभ्यताको निर्माण हुन्छ । अर्थात् कुनै पनि राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिविम्ब देखिने शिल्प, विचार, दर्शन, आदि कार्यकलापको परिष्कृत स्वरूप त्यसको मौलिक संस्कृति हो । अनन्तपूर्वदेखि आचारविचार आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुप झल्कने मौलिक संस्कृति कलासाहित्य, दर्शनभाषा, धर्म, सामाजिक रीतिस्थिति आदि मूल्यपरम्पराको माध्यमबाट विकसित राष्ट्रिय सभ्यताको बाहक पनि हो । 
नेपाली साहित्यकोश भन्छ, “लोकजीवनसँग युगानुकूल भएर आफ्नै आत्मा र आफ्नै मुटुको स्पन्दनमा आफ्ना जीवनशैलीलाई सरस र सुन्दर तथा सुखमय र कल्याणामय बनाउनका खातिर तिनीहरूद्वारा सिर्जना गरिएको मनोवैज्ञानिक अभिव्यक्तिले लोकसंस्कृतिको रूपधारण गर्न पुग्यो जसभित्र थरीथरीका लोकविश्वास, लोकमान्यता र लोकपरम्पराहरू, लोकरीतिरिवाज र लोकप्रथाहरू तथा उखानटुक्का, गाउँखानेकथा, दन्त्यकथा, लोकगीत आदि समावेश हुन आउँदछन् ।” प्रत्येक जाति, प्रत्येक ठाउँ र प्रत्येक देशको आफ्नै परम्परागत व्यवहार हुन्छ । सङ्क्षेपमा यही  व्यवहारलाई नै लोकसंस्कृति भन्न सकिन्छ । यिनै व्यवहारबाट आआफ्नो जाति, धर्म, राष्ट्र आदिको परिचय गराउन सहयोग मिल्छ । अनि अनेकतामा विस्तारित यिनै संस्कृतिले एकतामा समाहित भएर राष्ट्रिय संस्कृतिको स्वरूप लिन्छ । देशको भौगोलिक तथा जातीय विविधताद्वारा निर्मित बहुविध रीतिरिवाज, चालचलन, रहनसहन, बोलीबचन, धर्मकर्म, कला–साहित्य, दैनिक उपभोग्य सामानको प्रयोग, जीवनशैलीजस्ता मानवका दैनिक जीवनमा परम्परादेखि प्रवाहित लोकमान्यता, धारणा र सम्पदाले एउटा सिंगो संस्कृतिको निर्माण हुन्छ । 
निचोडमा, संस्कृति कुनै पनि राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिबिम्ब देखिने शिल्प, विचार, दर्शन, आदि कार्यकलापको परिष्कृत रुप हो । समाजको यथार्थ स्वरुप झल्कने संस्कृति लामो समयदेखि मानिसका आचार–विचार, कला–व्यवहार आदिमा विकसित हुँदै आउँछन् । त्यसैले कला–साहित्य, दर्शन–भाषा, धर्म–सामाजिक रीतिस्थिति आदि मूल्यपरम्पराले नै सभ्यताको निर्माण गर्छन् । 

२. दोहोरो चुनौतीमा राष्ट्रिय संस्कृतिः

हाम्राजस्तो विकासका दृष्टिले पछिडिएका राष्ट्रले सांस्कृतिक दृष्टिमा दोहोरो चुनौती बेहार्नु परिरहेको छ । पहिलो, सामन्ती संस्कृतिका संवाहक जनविरोधी संस्कृतिलाई जनसंस्कृतिमा रूपान्तरण गर्ने चुनौती । दोस्रो, सोभियत सङ्घको विघटनसँगै विश्व बैंक र अन्तर्राष्टिय मुद्राकोषलाई अघि सारेर अमेरिकी नेतृत्वले अघि बढाएको खुला बजार अर्थव्यवस्था र भूमण्डलीकरण प्रक्रियासँगै विकसित भएको उपभोक्तावादको छद्म भेषमा प्रसारित साम्राज्यवादी लौकिक संस्कृतिको दुष्प्रभावबाट सिर्जित बाह्यसंस्कृतिको आक्रमणबाटजोगिने चुनौती । 
नेपाली समाजमा सहरी जनसंख्याको सम्पन्न र नवधनिक वर्गको एउटा हिस्सा आधुनिकताका नाउँमा बाहिरी संस्कृतिको अन्धाधुन्द अनुकरण गरिरहेको छ । यही समाजको अर्को सर्वाधिक ठूलो हिस्सा आर्थिक सामाजिक शोषणको हतियारका रूपमा विकसित गलत संस्कार र व्यवहारलाई नै वास्तविक संस्कृति ठानेर अझै शोषण–उत्पीडनको जीवन भोगिरहेको छ । यसरी एकथरी आप्mनो मूल्यमा आधारित सांस्कृतिक पक्षहरुलाई लहैलहैमा त्याग्दै स्वच्छन्दता र नियन्त्रणहीन उन्मुुक्ततालाई आधुनिक सभ्यताको पहिचान ठान्ने गल्ती गरिरहेका छन् भने, अर्काथरी राष्ट्रिय र जातीय संस्कृतिका नाउँमा सामन्ती सत्ता टिकाउन हतियारका रूपमा प्रयोग गरिँदै आएको आर्थिक–सामाजिक शोषण र विभेदको पर्खाल खडा गर्न सघाउने विभिन्न रीतरिवाज र धर्मपरम्पराहरूबाट अझै शोषण तथा अन्धविश्वासबाट मुक्त हुनसकिरहेका छैनन् । फलतः एकातिर हाम्रो राष्ट्रियजातीय संस्कृतिलाई हलिउड र बलिउडकासाथै बहुराष्ट्रिय निगमद्वारा उत्पादितप्रवद्र्धित बाह्य संस्कृतिबाट विस्थापित हुने खतराम पुगिरहेका छ, अर्कातिर बोक्सी र छूवाछूतजस्ता सभ्यताकै अभिशापहरुबाट नेपाली समाज मुक्त हुन सकिरहेको छैन । यस बारेमा बेलाबखत चिन्ता प्रकट गर्ने विज्ञजनबाट पनि संस्कृतिका नाउँमा चलाइएका गलत विधिव्यवहारको संस्कार र परिमार्जन गर्ने तर्पm त्यति चासो राखेको पाइँदैन । यसरी नेपाली संस्कृतिमा घुसेका गलत व्यवहारको परिमार्जन हुननसक्नु र बाह्य  सांस्कृतिक अतिक्रमणको अन्ध अनुसरणमा होमिनुको दोहोरो चापमा नेपाली सभ्यता र संस्कृति अहिले नराम्ररी चेपिएको अनुभव हुन्छ । 

२.१.आन्तरिक चुनौती र अपेक्षित सांस्कृतिक आन्दोलन

आज नेपाली जनताले राजनीतिक क्षेत्रमा प्राप्त गरेका अभूतपूर्व ऐतिहासिक उपलब्धिलाई जोगाउनका लागि पनि अबको हाम्रो आन्दोलन सांस्कृतिक आन्दोलनको दिशा तर्फ लक्ष्यित हुनु जरुरी छ । सांस्कृतिक क्रान्तिकै जगमा राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र अग्रगमनले दिगो स्वरूप ग्रहण गर्दछ । राजनीतक सन्दर्भमा सांस्कृतिक आन्दोलनको प्रभावको उदाहरण भर्खरै प्राप्त गणतन्त्रको पृष्ठभूमिलाई मान्न सकिन्छ । संस्कृतिक रूपमा फैलाइएको  अवतारवादको भ्रमबाट नेपाली जनताले मुक्ति पाएपछि नै सात सालदेखिको गणतन्त्रको नेपाली चाहनाले मूर्त रूप लिनसक्यो । 
नेपाली समाजले यस दिशामा केही चासोे देखाउन थाले पनि राज्य र राजनीतिक पक्षले यसतर्फ अझै आवश्यक मात्रामा ध्यान दिएको छैन । परिवर्तित राष्ट्रिय राजनीतिको सन्दर्भमा आज संंस्कृतिका विविध प्रश्न, समस्या र चुनौतीबारे गंभीर छलफलबाट नै स्पष्ट नीति–कार्यक्रम अवलम्बन गर्न सकिन्छ । तसर्थ अहिले लोकतान्त्रिक संस्कृति निर्माणको दिशा, नेपाली संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव तथा त्यसको परिणाममाथि नियन्त्रणको उपायका साथै भावी सांंस्कृतिक आन्दोलन र त्यसको दिशा के कस्तो हुने भन्ने विविध प्रश्नका उत्तर खोज्नु अत्यन्त आवश्यक छ । लामो समयदेखि  नेपाली राज्यसत्तामा नियन्त्रण राख्दै आएको सामन्ती राजतन्त्र राजनीतिक रुपमा समाप्त भए पनि लामो समय यसलाई जोगाउन सफल देखिएका संस्कृतिकाअनेकौं पक्षहरू अझै जीवित छन् । यिनबाट छुटकारा पाउनका लागि सांस्कृतिक आन्दोलनको आवश्यकताछ । राजनीतिक मात्र होइन आर्थिक–सामाजिक कुनै पनि क्षेत्रले उपयुक्त सांस्कृतिक शुद्धिकरण बिना सही दिशा र गति लिन सम्भव देखिँदैन ।
वल्र्ड कमिसन अन कल्चर एन्ड डेभलपमेन्ट (१९९५) ले “संस्कृतिलाई साध्यको दास होइन, यो ती साध्य स्वयम्का लागि सामाजिक आधारका रूपमा हेरिनुपर्दछ । (culture is to be considered not as a servant of ends, but as the social basis of those ends themselves) भन्ने स्वीकार गरेर संस्कृतिले मानवीय अस्तित्वको अर्थ दिन्छ र विकासका आधुनिक आयाममा मानव विकासका अभौति अर्थात् सांस्कृतिक पक्षको त्यत्तिकै महत्व छ भन्ने कुरालाई महत्व दिएको यहाँ स्मरणीय छ ।
यस क्रममा विभिन्न प्रश्न खडा हुनसक्छ के हामी आफ्नो सांस्कृतिक मूल्य कायमै राखेर आर्थिकसामाजिक तथा मानवीय विकासलाई गति दिन सक्छौं ? आधुनिकतालाई कसरी हेर्ने ? हाम्रोजस्तो राष्ट्रले नेपाली राष्ट्रिय मूल्यलाई कायम नै राखेर आधुनिकतामा प्रवेश गर्न सम्भव छ ? भूमण्डलीकरणको युगमा राष्ट्रियताको सन्दर्भलाई हेर्ने दृष्टिकोणकस्तो हुनुपर्छ ? आदि...आदि....। यी प्रश्न र सन्दर्भलाई राष्ट्रियतामा आधारित पहिचानको सन्दर्भमा हेरिनु जरुरी छ । आजको गणतान्त्रिक नेपालमा म को हुँ ?, हामी को हौं ? जस्ता पहिचान सम्बन्धी प्रश्न तीब्रताका साथ उठिरहेका छन् । यस पृष्ठभूमिमा समग्र राष्ट्रिय पहिचानयुक्त जाति, भाषा, लिंगजस्ता समूहपहिचान र विकासको अवधारणसँग राष्ट्रिय संस्कृतिको सुदृढीकरणका बाटाहरू पहिल्याउनु अत्यन्त जरुरी भएको छ । वि.सं. २०६२÷६३ को जनआन्दोलन पश्चातको संघीय गणतन्त्रात्मक नेपालमा सबैभन्दा चर्कोसँग उठेको वर्तमानका यी पहिचानको खोजीलाई सही तरिका र उद्देश्यबाट उठाउन र संवोधन गर्न नसिकँदा विभिन्न जटिलताहरू देखा परिरहेका छन् । यी जटिलताबाट कसले र कसका लागि उठाइरहेको छ यस्ता प्रश्न ? कसप्रति संबोधित छ यो प्रश्न ? कुन सन्दर्भ र पृष्ठभूमिमा यो उठाइँदै छ ? र कुन अवस्था र उद्देश्यका लागि उठाइँदैछ ? भन्नेजस्ता विभिन्न प्रश्नहरू उठिरहेका छन् । यी प्रश्नहरूको सही उत्तर नखोजुन्जेल यो जटिलताको गुत्थी सुल्झिन कठिन छ । इतिहास भन्छ युरोपेली साम्राज्यवादको भौगोलिक–सांस्कृतिक विस्तारसँगै अतिक्रमित भूगोलका जातीय भाषा, संस्कृति र राष्ट्रिय पहिचान समाप्त हुँदै जान थालेपछि त्यसको दुष्प्रभावबाट ग्रसित पश्चिमी संस्कृति र भाषा आदिका विरुद्धमा बिस्तारै उठ्दै गएको प्रश्न हो विश्वसन्दर्भमा यो ‘म को हुँ’ को सांस्कृतिक प्रश्न । त्यही कुरा अहिले हामीकहाँ सांस्कृतिक भन्दा पनि राजनीतिक रूपमा बढिरहको छ । नाम, लिङ्ग, पहिचान, जातिगत पहिचान, राष्ट्रियता, भाषा, धर्मजस्ता कुरा समाहित हुने “म को हुँ” भन्ने सांस्कृतिक प्रश्न वास्तवमा राजनीतिसँग भन्दा संस्कृति र समग्र मानव विकाससँग गाँसिएको प्रश्न हो ।
सांस्कृतिक रूपान्तरण सोचेजति सजिलो नहुने भएकोले यसका लागि निरन्तरको गम्भीर छलफल आवश्यक रहन्छ । नेपाली जातीय संस्कार र संस्कृतिका विविध पक्षमा कतिपय असल र आवश्यक तत्वहरू विद्यमान् भए पनि यसभित्र धर्मका नाउँमा घुसाइएका कार्मकाण्डीय विकृतिहरूले प्रत्यक्ष र परोक्ष रूपमा समेत अवतारवाद र सामन्ती राजतन्त्रलाई टिकाउन मद्दत गर्दै आयो । त्यो कर्मकाण्डीय सोच अभ्यासमा अझै पनि अत्यन्त दरिलो छ । आज यो भ्रमबाट नेपाली जनताले राजनीतिक रूपमा मुक्ति पाए पनि सांस्कृतिक रूपमा अझै लोकजीवनका कर्मकाण्डीय पद्धति र बरव्यवहारमा यो कायमै छ । तसर्थ २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धिलाई नगुम्ने गरी सुरक्षित राख्ने हो भने अब सबैको ध्यान समयानुकूल अग्रगामी संस्कृतिको संवद्र्धन तर्फ लाग्नु अपरिहार्य छ ।
यसका लागि नेपाली संस्कृतिमा अन्तर्भूत जनसंस्कृति वा जनमुखी लोकसंस्कृतिको पहिचान पहिलो आवश्यकता हो भने हाम्रा संस्कार संस्कृति र व्यवहारमा विद्यमान् त्याज्य पक्षहरूको पहिचान र तिनको उपयुक्त र वैज्ञानिक प्रतिस्थापन अर्को आवश्यकता । हाम्रा व्यवहारमा रहेका मूल्यपरक मानवीय पक्ष र जनविरोधी सामन्ती सोचका आधारहरूको पहिचानविश्लेषण बिना यो संभव छैन । त्यसपछि मात्रै हाम्रा संस्कार र संस्कृतिका अग्राह्य पक्ष र अन्तरबस्तुलाई प्रतिस्थापन गर्नउपयुक्त विकल्पको निकास खोज्न सम्भव हुन्छ । त्यो विकल्पको अभावमा सिर्जना हुने खाडल तत्काल पुर्न नसकिए बाह्य विकृत संस्कृतिका अग्रह्यले कुराले त्यो खाली ठाउँ भर्नखोज्नु स्वाभाविक हुन्छ । 
हाम्रा परम्परागत संस्कार र संस्कृतिमा सबै कुरा नकारात्मक र अवैज्ञानिक मात्र छैनन् । न त ती सबै सकारात्मक र ग्राह्य मात्रै छन् । कतिपयमा मानवीय संस्कार, संस्कृति र वैज्ञानिक चेतनायुक्त सकारात्मक शाश्वत पक्षहरू छन् भने, कति पुरातन रुढीआधारित सामन्ती सोच र सत्ताका हतियार बन्दै आएका जनविरोधी पक्ष । ती शाश्वत पक्षलाई छोप्दै आएका रुढी र अन्धविश्वास मिल्काएर लोकसंस्कृति र संस्कारका उज्याला रूपको परिमार्जन सकारात्मक बन्न सक्छन् । त्यसरी नै आज नयाँ संस्कृति निर्माणको प्रश्न उठिरहँदा दैवी सिद्धान्त, परलोक र पुनर्जन्मवाद, जातिवादी वर्णव्यवस्था र भाग्यवादजस्ता अग्राह्य पक्षका अतिरिक्त अन्य सकारात्मक पक्षको खोजी पनि त्यत्तिकै जरुरी छ ।
यस यथार्थका बीच विभिन्न प्रश्न उठ्नु स्वाभाविक छ । यस आलेखको उद्देश्य यी समग्र प्रश्न र पक्षहरूको विस्तृत अध्ययन गर्नु होइन, यसतर्फ विद्वत् वर्गको ध्यान आकृष्ट गर्नु मात्र हो । किन भने हाम्रो सन्दर्भमा गर्नु पर्ने धेरै काम बाँकी नै छ । आजसम्म हामीले सबै कुरा अरुकै धारणा, दृष्टिकोण र सन्दर्भमा विकसित सिद्धान्त–अवधारणको आधारमा गर्दै आएका छौं । त्यसैले हाम्रो आफ्नो सन्दर्भमा विकास र संस्कृतिको सम्बन्ध राम्ररी केलाइनु जरुरी छ, हाम्रो आफ्नो सामाजिक–सांस्कृतिक मूल्यको आधारमा विकास अवधारणलाई विश्लेषण गरिनु जरुरी छ अनि मात्र विकासलाई हेर्ने हाम्रो दृष्टिकोण र अवधारणा आफ्नो राष्ट्रिय वा एसियाली मूल्यका आधारमा निर्धारण गर्न सम्भव हुनेछ ।

२.२. बाह्य चुनौतीः

आजको सबैभन्दा ठूलो चुनौती बाह्य संस्कृतिको प्रभावबाट राष्ट्रिय तथा जातीय संस्कृतिलाई कसरी जोगाइराख्ने भन्ने हो । बाह्य संस्कृति भन्नाले नेपाली संस्कृतिमा रहेको विचारधारा, व्यवहार मूल्यका अतिरिक्त जनताले निर्माण गरेको प्रतिपक्षीय चेतनाद्वारा प्रचलित जनसंस्कृतिलाई ध्वंश गर्न चाहने विदेशी हस्तक्षेपकारी नकारात्मक संस्कृतिलाई बुझ्नु आवश्यक छ । यीमध्ये आध्यात्मिक रहस्यवादका नसाका रूपमा यथास्थितिलाई टेवा दिएर विकासको गतिलाई ऋणात्मक प्रभाव पारिरहेकोभारतीय सांस्कृति पहिलो हो । नेपाली संस्कृतिमाथि सुरुदेखि नै पर्दै आएको छिमेकी प्रभावले धाकिर्मक र अन्य सम्प्रदायहरूका आधारमा आध्यात्मिक रहस्यवादका विविध रूपको प्रभाव विस्तार हुँदै आएको छ । हामीलाई पुँजीवादी भावधारामा उपभोक्तावादी सोच र संस्कृतितर्फ आकर्षित गरिरहेको छ । हाम्रो अर्को चुनौती भनेको पश्चिमी र त्यसमा पनि मूलतः अमेरिकी लौकिक संस्कृतिको विस्तारले पुँजीवादी भावधारामा उपभोक्तावादी सोच र संस्कृतिको प्रसार गर्दै राष्ट्रिय भावधाराबाट युवापुस्तालाई विमुख गराउने रणनीतिमाथि कसरी सन्तुलित नियन्त्रण कायम गर्ने भन्ने नै हो । यी दुवै प्रवृत्तिले काल्पनिक भ्रम र सपनाको सन्सारमा भुलाएर वास्तविक समस्या र तिनको समाधानबाट दिशान्तर गर्ने काम गरिरहेका छन् । यो प्रवृत्तिमा अन्तर्निहित उद्देश्य संस्कृतिलाई आमउपभोग्य बस्तुको रूपमा उत्पादन र प्रसार गरेर आमसंस्कृति (Mass Culture) को बजार प्रबद्र्धन गर्नु हो । यीे आम उत्पादनले संस्कृतिको उपभोगजन्य रुपान्तरण गरेर सही संस्कृतिक मूल्यलाई गलत ढङ्गमा अर्थान्तरण गरिरहेका छन् । यसरी विशेषज्ञता प्राप्त उद्योगका रुपमा संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण (modification of culture) ठूलै चुनौती बनेर स्थानीय अल्पसङ्ख्यक संस्कृतिमाथि खतरा बनिरहेको छ । यी चुनौतीलाई विभिन्न आधारमा हेरिनु जरुरी हुन्छ ।
भूमण्डलीकरण र विश्वग्रामको अवधारणामा फैलँदो पश्चिमी सांस्कृतिक साम्राज्यले बजारीकरण वा उपभोक्ताकरजस्ता रणनीतिद्वारा विकासोन्मुख साना अर्थतन्त्र भएका राष्ट्रहरूमा बहुराष्ट्रिय निगमहरू मार्फत चुनौतीको सिर्जना गर्ने काम सञ्चारमाध्यम र अन्य सम्बन्धका कारण तीब्र गति लिइरहेको छ । सांस्कृतिक अतिक्रमणका कारण साना कमजोर राष्ट्रका आफ्ना मूल्य, मान्यता र संस्कृतिको भूमिका गौण हुँदैछ । यसबाट आजको पुस्तामा आफ्नो राष्ट्रिय तथा जातीय संस्कृतिका साथै राष्ट्र र राष्ट्रियता समेत गौण ठान्ने प्रवृत्ति बढिरहेको देखिँदैछ । 
पश्चिमी एकाधिकारका विश्वसञ्चार संयन्त्र, बहुराष्ट्रिय निगम, पुँजीवादी अर्थतन्त्रका प्रसारक विश्वसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यो नयाँ खाले साम्राज्यवादी संस्कृतिको प्रसारका प्रमुख अभियन्ता बनेर भूमिका निर्वाह गरिरहेका छन् । काल्पनिक भ्रम र सपनाको सन्सारमा भुलाएर वास्तविक समस्या र तिनको समाधानबाट दिशान्तर गर्ने यो नयाँ साम्रज्यवादी अभियान अन्तर्गत सांस्कृतिक उत्पादनद्वारा सांस्कृतिक मूल्यको गलत अर्थान्तरण भइरहेका छन् । पश्चिमी मूल्यका ती आमसांंस्कृतिक उत्पादसँग स्थानीयतामा आधारित संस्कृतिले प्रतिस्पद्र्धा गर्नसक्ने क्षमता हुँदैन र राष्ट्रिय संस्कृतिका सही मूल्यहरू विस्थापित हुँदै जान्छन् । जाति, समाज र राष्ट्रकै जीवन्त स्वरुप संस्कृतिमाथि यसरी उपभोक्तावादी बाह्य संस्कृतिको प्रभाव बढ्दो छ । भाषा, साहित्य, आमसञ्चार, श्रव्यदृश्य माध्यमबाट आउने चलचित्र, संगीत, र कम्प्युटर प्रविधिले फैलाउने कम्प्युटर गेमजस्ता लोकप्रिय उत्पादनले केटाकेटीदेखि नै मानसकि रुपमा गरिहरो प्रभाव पारिरहेको छ । पश्चिमी बहुराष्ट्रिय उत्पादन खानेकुरादेखि पहिरनसम्मका उपभोग्य बस्तुसँगै भित्रिइरहेका नयाँ खाले पश्चिमी संस्कृतिले हाम्रा विधिव्यवहार, खानपान र जीवनपद्धतिलाई उनीहरूकै जीवनपद्धति अनुरुप मोड्दै छ ।
सञ्चारमाध्यमको विकास र तिनको पश्चिमा नियन्त्रणले ठूला र सम्पन्न धनी मुलुकको संस्कृतिलाई संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सघाइरहेको छ भने साना गरिब मुलुकका मौलिक राष्ट्रिय संस्कतिमाथि तीब्र अतिक्रमणका कारण ती संस्कृति विलुप्त हुने दिशामा अग्रसर हुँदै छन् । अन्तर्राष्ट्रिय पुँजीवाद र सांस्कृतिक साम्राज्यवादलाई मलजल गर्दै आएको शीतयुद्धको अन्त्यपछि विकसित नयाँ विश्वव्यवस्थाले भू–मण्डलीकरणको माध्यमबाट बहुराष्ट्रिय निगम र आइएनजिओका आडमा पश्चिमा शक्तिसाली समाजको आर्थिकसांस्कृतिक वा समाजको उच्चतम संरचनामाथि नियन्त्रण गर्ने प्रयासमा सफलता पाए । सञ्चार क्रान्तिद्वारा निर्मित विश्वग्रामले यो प्रक्रियालाई अरु तीब्र बनायो । यसरी आज संस्कृतिको बजारीकरणजस्ता नयाँ रणनीति प्रयोग गरेर वैचारिक असर विस्तार गर्दै मानिसलाई तिनका अनुभवको गलत व्याख्या गर्न प्रेरित तुल्याइरहेका छन् । जर्मनअमेरिकी सञ्चार सिद्धान्तकार हन्नाह आर्डेन्टको ‘बजारनिर्देशित आमसञ्चारमाध्यमले निर्देशित मनोरन्जनको माध्यमद्वारा संस्कृतिलाई विस्थापनको बाटोमा लैजान्छ’ भन्ने भनाइ सत्य सिद्ध गरेको छ । 
प्रारम्भिक सामाजिक प्रणालीमा दैनिक जीवनको संस्कृति भौगोलिक रूपमा एक्लिएका समुदायद्वारा निर्माण र नियन्त्रित हुन्थे । त्यतिबेला राजा र ठूला जमिन्दारबाट समग्र सामाजिक प्रणाली नियन्त्रित हुने भए तापनि ती समाज र समुदायका अलग्गै आफ्नै संस्कृति हुन्थे । लोक–संस्कृतिद्वारा नै तिनका दैनिक जीवन निर्देशित हुने गर्थे । तर आधुनिक सामाजिक प्रणालीमा प्रवेश गर्दै जाँदा दैनिक जीवनको संस्कृतिमाथि उच्च वा कुलीन वर्ग अर्थात एलिटहरूद्वारा हस्तक्षेप गरिएको आमसंस्कृतिको सुरुआत हुँदै गयो । यसैलाई विज्ञहरू संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण भन्छन् । यी नयाँ स्वरूपहरूले प्रभावकारी रूपमा वैचारिक असर फैलाएर मानिसलाई तिनका अनुभवको गलत व्याख्या गर्न प्रेरित गरेर आम मानिसलाई आफ्नै रूचि र स्वार्थका विपरित लाग्न हौस्याउने गरेका छन् । यसरी उनीहरू विकासोन्मुख समाज र तिनका सामाजिक प्रणालीलाई आफ्नो मुठीभित्र बन्द राख्नुका साथै संस्कृतिलाई नाफामूलक उद्योगमा परिणत गर्ने काममा अभूतपूर्व सफलता पाइरहेका छन् ।
यसबाट सिर्जित अवस्थाको गाम्भीर्यलाई बुझेर नै होला युनेस्कोको विश्व घोषणापत्र ‘आवर क्रिएटिभ डाइभर्सिटी–१९९५’ मा यस्तो भनिएको हुनुपर्छ “संस्कृतिलाई उपभोग्य बस्तुको रूपमा उत्पादन गर्ने प्रवृत्तिले कला र संस्कृतिलाई आयआर्जनको उत्पादित तत्वका रूपमा प्रस्तुत गरेर लोकसंस्कृतिको अमूर्त भावात्मकता, इतिहास र संस्कृतिक मूल्य, मूल्य निर्माण गर्ने अन्तर्निहित केन्द्रीय अङ्ग र सीमान्तीकृत लोकजीवनका समुदायको परम्परा  आदिको असान्दर्भिकरण गर्दै सांस्कृततिक अभ्यासको खास अर्थलाई नष्ट गर्दछ (The commodification of culture and the creative arts decontextualizes and destroys the meaning of cultural practices. Equating the arts as income-generating products eliminates the spirituality, history and value of cultural practices, the central ingredient that maintains values and celebrates the traditions of disadvantaged communities.)” भनिएको  हुनुपर्छ ।

२.३. भूमण्डलीकरण र राष्ट्रिय संस्कृतिमा यसको प्रभावः 

विश्वसमाजका सामाजिकसांस्कृतिक, आर्थिकराजनीतक र प्राविधिक सबै क्षेत्रमा एकीकृत विश्वव्यापी सञ्चालनद्वारा वैचारिक नियन्त्रण समेतको विश्वव्यवस्था भूमण्डलीकरणलाई सर्वप्रथम प्राध्यापकरोल्याण्ड रोबर्ट्स ले “विश्वको सङ्कुचन र विश्वलाई समष्टीगत एकाइका रूपमा बुझ्ने दृष्टिकोण (All the processes by which the peoples of the world are incorporated into a single world society)” भनी परिभाषित गरे भने अर्का विद्वान् एन्थोनी गिडेन्सले “सुदूर स्थानीयतलाई जोड्ने विश्वव्यापी सम्बन्धहरूको विस्तारीकरण” भने । 
हुन पनि आज पुँजीवादकै साम्राज्यवादी विस्तारको नयाँ रूप भूमण्डलीकरणका कारण राष्ट्रिय सीमारेखा भत्किँदै गएको छ । खुला बजार र व्यापारव्यवस्था, बजारद्वारा निर्देशितनियन्त्रित पुँजी र जनसङ्ख्याको विश्वव्यापी खुलापन तथा आवागमनले सिर्जना गरेको अन्तर्निभरता निरन्तर बढ्दो छ । परिणास्वरूप सबै साना मुलुक, समाज र जातिका संस्कृतिहरू पश्चिमा बहुुराष्ट्रिय निगमका विश्वव्यापी उत्पादन तथा सांस्कृतिक उद्योगद्वारा उत्पादिक आमसंस्कृतिबाट नराम्ररी प्रभावित भइरहेका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोद्वारा सन् २००१ को नोभेम्बर २ मा जारी सांस्कृतिक विविधतासम्बन्धी विश्व घोषणापत्रले यो यथार्थलाई केही हदमा स्वीकारेको छ ।
माथि नै भनियो शीतयुद्धको अन्त्यपछि विकसित भएको यो नयाँ विश्व व्यवस्था अर्थात् भूमण्डलीकरण यथार्थमा अन्तर्राष्ट्रिय पुँजीवाद र पुँजीतथा सूचना र सञ्चारको अनियन्त्रित सीमापार प्रवाहमा आधारित छ । त्यसैले भूमण्डलीकरणको प्रशंशा मात्र होइन आलोचना पनि हुने गरेका छन् । साना मुलुकहरू यो विश्वव्यवस्था अन्तर्गत बहुराष्ट्रिय निगम तथा विरानो मूल्य र मान्यतायुक्त विषयको प्राधान्य रहने विदेशी सञ्चार माध्यमहरूले आफ्नो शक्ति र क्षमतालाई चुनौती दिनुका साथै अवमूल्यन गरिहेको अनुभव गरिरहेका छन् । भूमण्डलीकरणका विरुद्ध स्थानीय संस्कृतिको अवमूल्यन गरेर जताततै हलिउड उत्पादित बहुसंस्कृतिको साम्राज्य स्थापना गरिरहेको आरोप लाग्ने गरेको छ । यो आरोपका पछाडि पर्याप्त आधारहरू पनि छन् । टेड टर्नरको सीएनन, रुपर्ट मोर्डखको अमेरिकी फक्स न्युज र टेलिभिजन च्यानल र माइकल आइजनरको डिस्ने इण्टरनेसनलका साथै हलीउड नियन्त्रित बहुराष्ट्रिय सञ्चारनिगमका साथै पश्चिमा उपभोक्ता बहुरष्ट्रिय उद्योहगहरूको मुठीमा आजको सिङ्गो विश्व कैद हुँदै गइरहेकोछ । यही पृष्ठभूमिमा स्यामुयल हण्टिङटनले भूमण्डलीकरणले यथार्थमा परम्परागत जातीय तथा सांस्कृतिक सामाजिक आन्दोलन बढाएको धारणा प्रकट गरेका हुनुपर्छ ।
सोभियत संघको विघटन र शीतयुद्धको अन्त्यपश्चात बजार अर्थतन्त्र र प्रजातन्त्र प्रमुख केन्द्रमा आएकाछन् । बजार व्यापारको विस्तारले संसारभरकै समाजमा सामाजिकआर्थिक अवस्था र संस्कृतिको क्षेत्रमा तीब्र परिवर्तन ल्याएको छ । वास्तवमा सञ्चार प्रविधि र मुद्राकोष, विश्वबैंक आदिद्वारा प्रबद्र्धित सरकारी नीतिबाट प्रोत्साहित बजार बिस्तारको स्तर र प्रभावले नयाँ उँचाइ प्राप्त गरिरहेको छ र पुँजीवाद तथा बजार बिस्तारको निरन्तरताले सर्वाेच्चता प्राप्त गरिरहेको छ । यो भूमण्डलीकृत सामाजिक जीवनको अधिकांश भाग विश्वव्यापी प्रक्रियाद्वारा निर्धारित हुने भएकोले राष्ट्रिय संस्कृति, राष्ट्रिय सीमा र राष्ट्रिय  अर्थतन्त्र लोप हुँदै छन् । खुृला बजार अर्थतन्त्रका प्रवक्ताहरूले जति नै यसबाट विकासगति तीब्र भएको दावी गरेपनि अङटाडकै प्रतिवेदनले त्यो देखाउँदैन । विश्व अर्थतन्त्र अति सुस्त गतिमा अघि बढेकोले पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन, धनी र गरीवबीचको खाडल बढ्दैछ । सञ्चार प्रविधिको अभूतपूर्व विकासले सिंगो संसारलाई खुम्च्याएर सञ्चारविद् मार्सल म्याक्लुहानको विश्वग्रम अवधारणालाई यथार्थमा परिणत गरेसँगै पश्चिमी तथा अमेरिकी उपभोक्तावादी संस्कृतिको भूमण्डलीकृत स्वरूपले अभूतपूर्व तीव्रता ग्रहण ग¥यो । यसबाट आन्तरिक आर्थिकसामाजिक क्षमतामा कमजोर रहेका हाम्राजस्ता राष्ट्रको सांस्कृतिक जीवन बिस्तारै प्रभावित हुँदै गएको देखिंँदै छ ।
संस्कृतिलाई उपभोग्य बस्तुको रूपमा उत्पादन गर्ने प्रवृत्ति (commodification of culture) अर्थात संस्कृतिको आम उत्पादनद्वारा स्थानीयतामा आधारित संस्कृतिको प्रत्यक्ष प्रंतिस्पद्र्धात्मक वितरण हुँदा के हुन्छ भन्ने विषयलाई लिएर विभिन्न विद्वानहरूले अध्ययन गरेका छन् । आलोचनात्मक सांस्कृतिक अध्ययनका क्रममा देखा पर्ने एउटा महत्वपूर्ण र चुनौतीपूर्ण पक्ष संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण (commodification of culture) नै हो । यस दृष्टिले आमसञ्चार माध्यम उभोग्य संस्कृतिको उत्पादन तथा वितरणमा विशेषज्ञताप्राप्त उद्योग हो । आजको हाम्रो यो अवस्थालाई सन् १९७३ तिर अमेरिकी सञ्चार सिद्धान्तकार हर्बर्ट सिलरले अगाडि सारेका सांस्कृतिक सम्राज्यवादी सिद्धान्तले राम्रै सँग प्रष्ट्याएको छ । उनले भनेका थिए पश्चिमी मुलुकका सञ्चारले विश्वलाई दबाएका छन् र यसबाट पश्चिमी दृष्टिकोण लादिएर तेस्रो विश्वको राष्ट्रिय संस्कृतिमाथि शक्तिसाली दवाब सिर्जना हुनगई तिनलाई नष्ट पार्ने संभावना प्रवल छ । हुन पनि उनले भनेजस्तै पश्चिमा बहुराष्ट्रिय निगमका उपभोग्य उत्पादन, हलीउड उत्पादित लोकप्रिय संस्कृति र तिनैद्वारा नियन्त्रित विश्वसञ्चार संयन्त्रहरूद्वारा तेस्रो विश्व भनिने हामी तिनै पश्चिमी जीवन शैली, विश्वास र सोचाइमा व्यामोहित हुँदै छौं । यसरी बिस्तारै तिनकै जीवनशैली र संस्कृति अनुसरण गरेर आफ्नो राष्ट्रिय र जातीय संस्कृतिबाट विमुख बन्दैछौं । यसरी उनीहरू संस्कृतिक वा समाजको उच्चतम संरचनामाथि नै नियन्त्रण गरेर आफ्नो प्रभाव बिस्तारमा निरन्तर सफल बन्दै गएका छन् । यसबाट विकासोन्मुख राष्ट्रहरूको संस्कृति र राष्ट्रिय उत्पादनलाई पश्चिमा तथा क्षेत्रीय विकसित राष्ट्रका बहुराष्ट्रिय निगमका उत्पादनले निलेर राष्ट्रिय उत्पादन समाप्त पार्नुका साथै आफ्नो मूल्यगत मैलिकता र स्वरूप समाप्त पार्ने निश्चित छ ।
औद्योगिक स्तरको सांस्कृतिक आमउत्पादनसँग स्थानीयतामा आधारित संस्कृतिको प्रतिस्पद्र्धा गर्ने क्षमता नहुनु स्वाभाविक हो । यसर्थ संस्कृतिको उपभोगजन्य रुपान्तरण, उत्पादन र व्यापक वितरण गर्ने क्रममा संस्कृतिको सही मूल्यहरूको समेत गलत तरिकाबाट अर्थान्तरण गरिने प्रवृत्तिले गर्दा राष्ट्रिय र जातीय संस्कृतिमाथि गम्भीर चुनौती सिर्जना भइरहेको छ । जर्मी टस्टेलले ‘टिन प्यान एलीले न्युयोर्कमा लोकगीतबाट धुन वा मेलोडी लिएर त्यसलाई छोटा आकर्षक गीतमा परिवर्तन गरी लोकप्रिय तुल्याएर आमउत्पाद गरेको ढाँचाले अमेरिकी सञ्चार उद्यमीहरूले विश्वव्यापी रूपमा आकर्षक सांस्कृतिक उपभोग्य बस्तुहरूको निर्माण गर्ने रणनीतिको विकास कसरी गर्छन भन्ने राम्रो उदाहरण हो’ भनेका छन् । यसरी दैनिक जीवनका लोकसांस्कृतिक पक्षलाई टुक्रा टुक्रामा लिएर पुनर्संरचना गर्नुबाट पार्ने असरका सम्बन्धमा आलोचनावादी सञ्चार सिद्धान्तकारहरूले मूलतः पाँचवटा बुँदा उल्लेख गरेका छन् । ती हुन्  पहिलो, दैनिक संस्कृतिका तत्वहरूलाई यसरी सजावट वा प्याकेजिङका लागि छान्दा त्यसलाई ज्यादै सीमित परिधिमा मात्र लिएर महत्वपूर्ण पक्षलाई वेवास्ता गरी जानाजान छाडिन प्रवृत्ति । दोस्रो, सजावटी प्रक्रिया अन्तर्गत संस्कृतिका ती छानिएका पक्षमा नाटकीय प्रक्रिया संलग्न गरिँदा कुनै एक पक्षको अतिशयोक्तिपूर्ण ढङ्गमा बढाइचढाइ गरिने र अरु त्यत्तिकै महत्वपूर्ण पक्षको उपेक्षा गरिने । तेस्रो, बजारव्यवस्थापन गरिँदा सांस्कृतिक उपभोग्य उत्पादनलाई दैनिक सांस्कृतिक जीवनमा हस्तक्षेपकारी ढङ्गबाट गरिनु । चौथो, प्राय सांस्कृतिक उद्योगको सञ्चालन÷नियन्त्रण आफ्नो हातमा राख्ने उच्च वा कुलीन पूजीपति वर्ग आफ्नो कामबाट आउन सक्ने दुष्परिणमबारे अनभिज्ञ रहनु र जानकारी भए पनि अनभिज्ञता देखाउनु । पाँचौं, यसरी दैनिक जीवनमा आउने व्यवधानले विभिन्न रूपमा दीर्घकालीन प्रभाव छाड्दै जान्छ । 

२.४. बाह्यसंस्कृतिको प्रभावबिस्तारमा सहयोगी सञ्चारमाध्यमः

सञ्चारप्रविधिको अभूतपूर्व विकासका कारण साँघुरिएको विश्वले सानो गाउँको स्वरूप लिएर बढीभन्दा बढी आम जनताको पहुँचसम्म सञ्चार सुविधा पु¥याउन जति सम्भव बनाएको छ, त्यति नै ठूला र सम्पन्न धनी मुलुककोसंस्कृति संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सहयोग पु¥याइरहेको छ । सांस्कृतिक अध्ययन अन्तर्गत र्चिर्चत शब्द ‘सञ्चार संस्कृति’ ले सञ्चारको प्रभावबाट बीसौ शताब्दींदेखि शुरुभएर आजसम्मै विकसित पश्चिमा पुँजीवादी समाजको यही सन्दर्भलाई सङ्केत गर्दछ । सांस्कृतिक अध्ययनका अध्येताहरू उपभोक्तावादी संस्कृतिको नामले समेत सम्बोधन गरिने सञ्चार संस्कृतिलाई नै ‘आमसंंस्कृति’ वा ‘लोकप्रिय संस्कृति’ मान्दछन् । आमसंस्कृति आमसञ्चारको उत्पादन भएकोले लोप्रिय संस्कृति र आमसञ्चारका बीच सहजीवी सम्बन्ध रहन्छ; यी एकअर्काको अत्यन्त निकट सहयोगमा निर्भर रहन्छन् ।
संस्कृतिको अध्ययन गर्ने अनेकौं विद्वान्ले सांस्कृतिक रूप (अधिसंरचना वा सुपरस्ट्रक्चर) र राजनीतिक अर्थव्यवस्था (आधार वा बेस) काबीच अध्ययन गर्न माक्र्सेली विश्लेषण पद्धतिप्रयोग गरे । अध्येताहरू एउटा विशेष माध्यम वा सन्देश शब्दकोशीय परिभाषाको साटो कसरी विचारधारा, सामाजिक वर्ग, राष्ट्रियता, जातीयता र लिङ्गजस्ता कुरासँग सम्बन्धित हुन्छ भन्ने कुराको अध्ययन तर्फ केन्द्रित रहे । विभिन्न समाजमा विद्यमान् सांस्कृतिक प्रक्रियाको अध्ययन गर्ने यो सांस्कृतिक अध्ययन अन्तर्गत नारीवादी सिद्धान्त, सामाजिक सिद्धान्त, राजनीतिक सिद्धान्त, इतिहास, दर्शन, साहित्य सिद्धान्त, सञ्चार सिद्धान्त, चलचित्र÷भिडियो अध्ययन, राजनीतिक अर्थप्रणाली, सङ्क्रमण अध्यन, सङ्ग्रहालय अध्यन र कलाइतिहास÷आलोचनाजस्ता विविध विषय समाहित रहेका छन् । सांस्कृतिक अध्ययनले अर्थकसरी निर्माणहुन्छ, कसरी संप्रेषण हुन्छ, र विद्यमान् संस्कृति अनुसार सामाजिक, राजनीतक तथा आर्थिक क्षेत्रमा  निसृत हुन्छ भन्ने बुझ्ने प्रयास गर्दछ । भूमण्डलीकरणको पृष्ठभूमिमा सांस्कृतिक शक्तिको व्याख्या गर्दा सांस्कृतिक हैकमवादी सिद्धान्त (थ्योरी अफ हेजीमोनी) वा नायकत्व सिद्धान्तका साथै गुमस्तासंस्था वा एजेन्सीजस्ता नयाँ सिद्धान्तहरू विकास हुँदै गए ।
दोस्रो विश्वययुद्धको अन्त्यपश्चात शुरु आमसञ्चारले ल्याएको वृहत्तर सांस्कृतिक तथा सामाजिक परिवर्तनका कारण आमसंस्कृतिलाई सञ्चारसंस्कृति अर्थात् मिडिया कल्चरका रूपमा समेत बुझ्न थालियो । यथार्थमा उपभोक्ता  संस्कृति वा आम उपभोगको संस्कृतिको अर्थमा आमसंस्कृतिको विकास भयो र यसले मूल्यमा आधारित जनसंस्कृतिमाथि नियन्त्रण गर्दै गयो । त्यही देखेर नै हुनुपर्छ, रोजेनबर्ग र ह्वाइट सम्पादित मास कल्चर शीर्षक पुस्तकमा अमेरिकी सञ्चारविद् ड्वाइट म्याक्डोनाल्ड (Dwight MacDonald) ले ‘लोकप्रिय संस्कृति सही संस्कृतिको मूल्य घटाउने भ्रष्टिकरण हो र यसभित्र मूल्यमा आधारित उच्चसंस्कृतिक साथै लोककलाका लागि समेत गम्भीर चुनौती अन्तरनिहित छ (ःबकक अगतिगचभ अयलकतष्तगतभक ब नचबखभ, गलचझष्ततष्लन तजचभबत तय ज्ष्नज अगतिगचभ, बक धभिि बक ँयपि ब्चत।) ’ भनेका हुनुपर्छ । ड्वाइटजस्ता आलोचकहरूका अनुसार रुचि र मूल्यहीन औद्योगीकृत बहुउत्पादनका कलाबस्तुले उच्चमूल्ययुक्त कलाकृति र वास्तविक लोकसंस्कृतिलाई विस्थापित गरिरहेका छन् । यो आमसंस्कृति दोस्रो विश्वयुद्धपश्चात देखाप¥यो र चलचित्र, टेलिभिजन र अखबारजस्ता भूमण्डलीकृत आमसञ्चार प्रणालीको शक्तिसँगै शक्तिशाली बन्दै हलिउड संस्कृतिको विश्वव्यापी प्रसार गर्दैगयो । नभन्दै सन् १९५० यता आम जनताले नभएर टेलिभिजनले जनमतको निर्माणमा प्रमुख भूमिका खेल्न थाले । अमेरिकी बहुराष्ट्रिय निगमका प्राधिकारमा रहेका उपभोक्तावादी विचारधाराद्वारा निर्देशित एक्काइसौं शताब्दीको पश्चिमी विश्व निरन्तर पुनरावृत्त आमसञ्चार संस्कृतिका माध्यमकै सहयोगमा सर्वसाधारणलाई सूचनामाथि विचार गर्ने समय नै नदिएर वास्तविक आमसञ्चार उपभोक्ताको न्यूनीकरण गरिरहेको छ । अघिल्ला शताब्दीहरूमा आमसञ्चारले राष्ट्रिय चरित्र र पहिचान निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा यस शताब्दीमा भने माथिको प्रवृत्तिका कारण राष्ट्रिय सीमा असान्दर्भिक बन्दै गएको छ । राष्ट्रिय संस्कृति र पहिचानलाई पार्ने असर कम गर्नका लागि लिइनु पर्ने सतर्कताका साथै राष्ट्रिय सञ्चार माध्यमलाई बाह्य माध्यहरूसँग प्रतिस्पद्र्धामा जानसक्ने वातावरणको निर्माण गर्न नसकेमा हामीजस्ता साना मुलुकहरूको राष्ट्रिय पहिचान नै लोप हुनसक्ने खतरा टाढा छैन ।
यसरी संस्कृतिको संवद्र्धन, विस्तार र अतिक्रंमणजस्ता सबै पक्षमा सबैभन्दा सहयोगीको भूमिका आमसञ्चार माध्यमले खेलिरहेको छ । सञ्चार क्रान्तिले सिर्जना गरेको विश्वग्रामले ठूला र संपन्न धनी मुलुकको संस्कृतिलाई संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सघाइरहेको छ । हो केही सीमित मात्रामा यसले राष्ट्रिय संस्कृतिलाई प्रचारप्रसार गर्न सघाएको छ, तर सम्पन्न ठूला संस्कृतिको व्यापक उत्पादन र प्रसारको भेलमा यो प्रयास अर्थपूर्ण बन्न सकिरहेको छैन । फलतः आजको युग साना गरिब मुलुकका राष्ट्रिय संस्कतिमाथि तीब्र अतिक्रमण गरेर समाप्त पर्ने दिशा तर्फ अग्रसर हुँदै छ भन्ने भनाइ पूर्ण असत्य देखिँदैन । वेषभूषा र खानपिनमा त यिनको प्रभाव नराम्ररी देखिइनै सकेको छ, अब भाषा र पर्व, चाड र रहनसहनका क्षेत्रमा पनि तिनैको वर्चस्व देखिन थालेको छ । यसरी यिनै सबै कारणले नेपाल लगायत विकासोन्मुख साना मुलुकका आफ्ना संस्कृति लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । ठूला माछाले साना माछालाई कप्लक्कै निल्नुको मत्स्यन्याय शाश्वत सत्य हो । त्यसैले ठूला माछाले सानालाई निलेजस्तै विश्वसूचना साम्राज्यका नियन्ता पश्चिमी संस्कृतिले हाम्रा राष्ट्रिय–जातीय संस्कृतिहरुलाई धमाधम निल्ने क्रम सुरु गरिसकेको छ । बच्ने कोसिस नै नगरी ठूला माछाको मुखमा आफैं पस्नु र बच्नका लागि उपाय र केही भए पनि प्रतिकार गर्नुमा निश्चय नै अन्तर रहन्छ । त्यसैले पनि विभिन्न रुप र रङ्गमा पसिहेका बाहय संस्कृतिलाई सकभर नियन्त्रण गर्ने खालको उपयुक्त नीति कार्यान्वयन गर्ने तर्फ हाम्रो  गम्भीर ध्यान जानु आवश्यक छ भन्दा बढी नहोला । 

३. निष्कर्षः
परिवर्तित समाज र राजनीतिक परिस्थितिमा नयाँ सांस्कृतिक मूल्य र विद्यमान वैचारिक द्वन्द्वलाई सही निष्कर्षमा पु¥याउन नयाँ सोच, समझदारी र योजनाका साथ मिलेर अघि बढ्नु आवश्यक छ । वर्ग समाजमा संस्कृति विचारधाराको सम्वाहक हुने गर्छ र सांस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलनबाहिर रहन सक्दैन । विचारधात्मक परिवर्तन सांस्कृतिक क्रान्तिकै एउटा पाटो हुने हुँदा सांस्कृतिक क्रान्ति र रूपान्तरणको कुरा गर्दा परिवर्तनको बिन्दुमा पहिलो प्रहार र प्रतिस्थापन सामन्ती संस्कृतिमा हुनु पर्ने निश्चित छ । सांस्कृतिक क्रान्ति कै जगमा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र अग्रगमनको संभावना रहन्छ । यसका लागि उपुयुक्त सांस्कृतिक नीति र कार्यक्रम अपेक्षित हुन्छ । राजनीतिक सन्दर्भमा सांस्कृतिक आन्दोलनको प्रभावको उदाहरण भर्खरै प्राप्त गणतन्त्रको पृष्ठभूमिमा विकसित अवतारवादको भ्रमबाट नेपाली जनताले पाएका मुक्तिले दिइसकेको छ । यसर्थ परिवर्तित राष्ट्रिय सन्दर्भ र समय सुहाउँदोे राष्ट्रिय संस्कृति, नेपाली जातित्वको पहिचान, र गौरवको संबद्र्धन गर्न सक्षम हुने किसिमले सांस्कृतिक नीतिको तर्जुमा र कार्यान्वयन गर्दै सामान्य मानिस र अल्पसङ्ख्यक समुदायलाई शसक्त तुल्याएर तिनको संस्कृतिलाई महत्व दिँदै सांस्कृतिक बहुलवादलाई प्रोत्साहन गर्ने खालको नयाँ नीतिको खोजी अहिलेको टडकारो आवश्यकता हो ।
राष्ट्रिय संस्कृति र संस्कारका असल पक्षहरूलाई जोगाउन र खराब कुराको परिमार्जन गर्दै जानुका साथै  आफ्नो पन र जातीय सभ्यता जोगाउँदै नियन्त्रित रुपमा बाह्य संस्कृतिको सकारात्मक प्रभाव मात्र ग्रहण गर्ने अनुकुल वातावरणका बनाउनु अत्यन्त जरुरी छ । अवको हाम्रो राष्ट्रिय सांस्कृतिक नीतिकार्यक्रम नेपाली जनतालाई आफ्नो सस्कृति, राष्ट्रिय सम्पदा र असल परम्पराको जगेर्ना गर्ने जिम्मेवारी बारे सचेत र जागरुक बनाउन पे्ररित गर्ने गरी समयसुहाउँदो र आफ्नो राष्ट्रि संस्कृति, नेपाली जातित्वको पहिचान, र गौरवको संबद्र्धन गर्न सक्षम हुने किसिमको हुनु जरुरी छ । सामान्य मानिस र अल्पसङ्ख्यक समुदायलाई शसक्त तुल्याएर तिनको संस्कृतिलाई महत्व दिई सांस्कृतिक बहुलवादलाई प्रोत्साहनगर्नुका साथै नेपाली जनतामा आफ्नो सस्कृति, राष्ट्रिय संपदा र असल परम्पराको जगेर्ना गर्ने जिम्मेवारी बारे सचेत र जागरुक बन्न प्रेरित गर्ने नीति–कार्यक्रमबाट वाह्य अतिक्रमणलाई  केही मात्रामा भए पनि नियन्त्रण गर्न सफलता पाइने छ । यसबाट यावत राष्ट्रिय सांस्कृतिक विविधतालाई नीतिगत हिसाबमा नै एकीकृत गर्नुका साथै साँघुरिँदै गएको आजको विश्वमा सञ्चार माध्यमबाट आयातित बाह्य संस्कृतिको अतिक्रमणका कारण पर्दै गएको तीब्र चापलाई नियन्त्रण गरी आफ्नो राष्ट्रिय तथा जातीय संस्कृतिमाथिको खतरालाई नियन्त्रण गर्न सहयोग मिल्ने स्पष्ट छ । नेपालभित्रका सबै भाषा, रहनसहन, सकारात्मर र रचनात्मक रीतिरिवाज, चालचलन, खानपान, सकारात्मक धार्मिक प्रचलनको सम्मिश्रित स्वरूप नै सग्लो नेपाली संस्कृति हो भन्ने यथार्थलाई हृदयङ्गम गरेर आफूबीचको प्रतिस्पर्धालाई भन्दा सहकार्य र समानतापूर्ण विकासलाई प्रोत्साहन गर्ने खालको सांस्कृतिक–भाषिक नीति बेगर बाह्य संस्कृतिको अतिक्रमण नियन्त्रण सम्भव हुनसक्दैन । 
नेपाली संस्कृतिमा अन्तर्भूत जनसंस्कृति वा जनमुखी लोकसंस्कृतिको पहिचान पहिलो आवश्यकता हो । यो पहिचानका लागि सर्वप्रथम हाम्रा संस्कार संस्कृति र व्यवहारमा विद्यमान् त्याज्य पक्षहरूको पहिचान गरी तिनको प्रतिस्थापनका लागि पर्याप्त अध्ययन हुनु जरुरी छ । हाम्रा विधि–व्यवहारमा रहेका मूल्यपरक मानवीय पक्ष र जनविरोधी सामन्ती सोचका आधारहरूको पहिचानविश्लेषण बिना यो संभव छैन । यसो हुनसकेमा मात्र हाम्रा संस्कार र संस्कृतिका अग्राह्य पक्ष तथा अन्तरबस्तुलाई प्रतिस्थापन गर्नका लागि आवश्यक उपयुक्त विकल्पको विकास तथा खोजी सम्भव हुनेछ । यो निरन्तरको प्रक्रिया हुँदा नीतिगत रूपमैं स्थायी प्रकारको उच्चस्तरीय अध्ययन–अनुसन्धान संयन्त्रको निर्माण जरुरी हुनसक्छ । 

सन्दर्भ सामग्री

चाम्लिङ, पवन, (सं.), निर्माण, संस्कृति विशेषाङ्क सन् १९९९, निर्माण प्रकाशन सिक्किम ।
चालिसे, विजय, डोटेली लोकसंस्कृति र साहित्य, संस्करण २०५९, साझाप्रकाशन । 
नेराप्रप्र, नेपाली साहित्यकोश, २०५५ ।
शर्मा, मोहनराज खगेन्द्रप्रसाद लुइँटेल, २०६३, लोकवार्ताविज्ञान र  लोकसाहित्य, विद्यार्थी पुस्तक भन्डार । 
सुवेदी, हंसपुरे, नेपालीलोकजीवनः लोकविश्वास, २०५५, साझा प्रकाशन ।
Ardent, Hannah,the Crisis of Culture, 1961 (online).
Chalise,Vijaya, Media and Culture, BibekSirjanshil Publication P. Ltd, 2008.
Gidens, Anthony, the Consequences of Modernity, Stanford University Press, 1990.
Huntington, Samuel P., the Clash of Civilizations and the Remaking of World Order, New York,    Simon &            Schuster, 1996.
Lindolf, Thomas R., and Taylor, Bryan, C., Qualitative Communication Research Methods, Sage Publication, 2002.
Losito, Christina; Culture and Development: a new Paradigm, Centre for Creative Communities (Online)
Robertson, Roland, Globalization, Knowledge and society: readings from International sociology,(edited by             Martin Albrow, Elizabeth King) Sage publications, London, 1990.
----------            Social Theory and Global Culture, Sage publication, London, 1992.
Rosenberg, Bernard, andDavid Manning White (Ed.), Mass Culture, The popular Arts in    America, Glencoe, Free             Press, 1957.
Sardar, Ziauddin, Introducing Cultural Studies, Totem Books, 1994.
Schiller, Herbert Irving, Communication and cultural domination, International Arts and Sciences Press, New York,             1976.
Thomas, P.L. (Edit.), Ignoring Poverty in the U.S. the Corporate Takeover of Public Education,    Amazon.Com, 2012,(online).
Tunstall, Jeremy, the Media Are American, Oxford University Press, 2008.
UN, Human Development Report, 1999.
UNSCO,Our Creative Diversity-1995.
UNSCO, Universal Declaration on Cultural Diversity, 2001.
Wikipedia and othe concerning Wavesites.

No comments:

Post a Comment